
शान्त, संयमित, सकारात्मक सोचका डा. गोविन्दराज भट्टराईद्वारा अनूदित—सलील ज्ञवालीको पुस्तक ‘विश्वविख्यात विद्वान्का दृष्टिमा पूर्वीय सभ्यता’ भर्खरै पढेकी थिएँ । अनुवाद कृति अनुवाद जस्तो पटक्कै लागेन । स्रष्टाको लेखन शैलीले निकै प्रभावित भएँ अनि दोस्रो कृति ‘मेरो दोस्रो बेलायत यात्रा’ पढेँ । पुस्तक निकै पठनीय, अध्ययनीय, सङ्ग्रहणीय रहेछ । स्रष्टाका कृतिमा युग चेतनाको मिठास पाइन्छ । मानवीय संवेदनाको झङ्कार सुनिन्छ । उहाँको साहित्यले पाठकलाई मनोरञ्जन भन्दा बढी बौद्धिक चेतनामा रम्न सिकाउँछ । अनुवाद, सम्पादन र मौलिक गरी वहाँका सत्तरी थान कृति पाठकका हात हातमा पुगिसकेका छन् । अझ निकै वटा पाइप लाइनमा छन् ।

निर्वाचित निबन्धावली
म छक्क परेँ – जीवनभरि पढ्न पुग्ने कृति लेखिसकेका स्रष्टालाई मैले पढ्न किन यति विलम्ब गरेछु । अनि तेस्रो पुस्तक ‘निर्वाचित निबन्धावली’ पढ्न आरम्भ गरेँ । विविधताले भरिपूर्ण छ सङ्ग्रह । भावात्मक, वैचारिक, प्राज्ञिक, वैश्विक, सामाजिक, सांस्कृतिक, भाषिक, डायास्पोरिक, प्राविधिक, नैतिक, पारिवारिक साथै मानवीय सहयोग र सद्भावले आलोकित छन् निबन्धहरू । चेतनशील प्राज्ञको प्राज्ञिक छाया प्रत्येक निबन्धमा मज्जाले झल्किएको छ । केही सिक्न, केही लेख्न, केही जान्न इच्छुक पाठकहरूका लागि यहाँ निर्वाचित निबन्धहरूले स्वयं प्राध्यापक भएर मार्गनिर्देशन गरेका छन् ।
समस्या तबसम्म समस्या हुन्छ जबसम्म समस्यालाई समस्याको रूपमा मात्रै हेरिन्छ । जब समस्यालाई चुनौतीको रूपमा स्विकारिन्छ तब समस्या अवसर बनिदिन्छ । डा.भट्टराईकृत ‘निर्वाचित निबन्धावली’ महाव्याधिको समयलाई चुनौती दिँदै रचिएको त्यस्तै एक पुस्तक हो । ‘विश्वभर मृत्युले ताण्डव मच्चाएको विध्वंसी समयमा पनि सिर्जना गर्न सकिन्छ है’ भन्ने दृष्टान्त पाइन्छ । उदाहरणीय कर्म बनेको छ । जीवाणुको महासमरमा जीवन बोध गरिएको दिव्य ज्ञानको नमुना बनेको छ । जीवनको वास्तविक आवश्यकता, लक्ष्य, उद्देश्य र श्वासको महत्वलाई नजिकबाट हेरिएको जीवन दर्पण बनेको छ । यो कृति पढ्दै गर्दा मैले झलक्क नैतिक दृष्टान्तका यी हरफहरू सम्झिएँ –
धर्म हो धीरको धर्य राख्नू दुःखजालमा
मानू मौनव्रती हुन्छ कोइली शीतकालमा ।
धीरको धर्मले नै कोरोनाको प्रतिकूल अवस्थामा पनि महान् उचाइको साहित्य साधना भयो ! विपत्तिमा हाँस्न सक्ने सामर्थ्य साँच्चै स्रष्टासँग रहेछ । मृत्यु–लीलाको स्वयं साक्षी भई निबन्धकारले समयलाई शब्दमा सादृश्य गरेका छन् । उच्च चेतनाको बहुआयामिक गुञ्जन सुनिन्छ निर्वाचित निबन्धावलीमा । सकारात्मक सोच राख्नुपर्छ भन्ने सङ्कल्प वाक्यमा मात्र सीमित नराखेर आफ्नै दैनिकीमा लागू गरेर यसरी देखाइदिएका छन्, “कोरोनादेखि डगडगी कामेर समय नाश गर्ने होइन, अझै पनि एउटा कविता रच्न सकिन्छ, एउटा कथा लेख्ने समय छ, उज्यालो नहुन्जेल लेख्ता एउटा राम्रो निबन्ध वा लघुउपन्यास भ्याइन्छ, महाकाव्यै आधा भ्याइन्छ, लेखिराख्नुस् तपाईँ गए पनि अरूले पढ्नेछन्, समयले पढ्नेछ, महाकालले महाप्रलय नरचुन्जेल । लाखौँलाई उठाए पनि आखिर तपाईँको समय भोग्ने तपाईँ नित्य एक्लैको समय हो, जहाँ पुगे पनि तपाईँ एकै मात्र हो, अरूको चिन्ताले शरीर नसुकाउनोस् । निहुरेर आफ्नो काममा लाग्नोस् (पृ–५५) ।”
निबन्धमा यस्ता ऊर्जाशील भावहरू पढ्दा त्यसै त्यसै हिम्मत भरिएर आउँछ । सकारात्मक चिन्तनले हृदय आह्लादित हुन्छ । उत्साह र सङ्कल्प सगरमाथाको टुप्पामा उक्लिन थाल्छन् ।
निर्वाचित निबन्धावलीमा समयचिन्तक स्रष्टाको पुस्तक मोह, पठन संस्कृति र नियमबद्ध जीवनशैलीलाई अनुसरण गर्न सकिन्छ । सङ्कटको दैनिकीबाट जीवनको परम उद्देश्यलाई नजिकबाट चियाउन सकिन्छ । निबन्धहरू पढ्दै गर्दा आँखामा निबन्धकारको भिन्न भिन्न छवि नाच्न थाल्छ । स्रष्टालाई पढ्दै जाँदा पाठकको—ज्ञानको विराटता उजागर हुँदै जान्छ ।
धेरै ठाउँमा काव्य जसरी अभिव्यञ्जित छन् निबन्ध । शब्दको जादु, भावनाको गहिराइ, संवेदनाको उचाइ र शिल्पको उत्कृष्टता बडो सङ्गठित छ । स्रष्टाले भोगेका अतीत, स्मृतिको पोयो, वर्तमान दैनिकी तथा भिन्न भिन्न समय अभिव्यक्त छ । स्रष्टाको जीवन सङ्घर्ष बडो प्रेरणादायी छ । पेशा, भाषा र आफ्नो कामप्रतिको लगनशीलता लोभलाग्दो छ । स्रष्टाको इमानदारी स्तुत्य छ । पेशाप्रतिको झुकाव, कामप्रतिको प्रतिबद्धता खुल्ला किताब जसरी पल्टिएको छ । जोश, जाँगर र हिम्मतको दीप बोकेर जीवनको आरम्भमा उभिएका स्रष्टासँग नजिक हुन सकिन्छ । निबन्धको निर्बन्ध आँगनमा अवकाश प्राप्त प्राध्यापकको दैनिकी डकुमेन्ट्री जसरी आएको छ । साहित्यको आँगनमा उज्यालोको बीउ छर्न कटिबद्ध भएका एक समर्पित भाषाप्रेमी अभियन्तासँग मज्जाले बात मार्न सकिन्छ । समय सचेत स्रष्टाको पुस्तक मोह, पठन संस्कृति र नियमबद्ध जीवनशैलीलाई अनुसरण गर्न सकिन्छ । सङ्कटको दैनिकीबाट जीवनको परम उद्देश्यलाई नजिकबाट नियाल्न सकिन्छ ।
शिक्षा नै संस्कृति र सभ्यताको जननी हो । पठन लेखन कार्यले नै मानवता चिर स्थायी रहनेछ भन्ने बोधका स्रष्टा पठन संस्कृतिको आह्वान यसरी गर्छन्, “एउटा कृति पढिसक्नु एक अध्याय हो । त्यो पूरा भएपछि फेरि अर्को एउटा कृति । एउटा रचना लेखिसक्नु अर्को अध्याय हो । बस्, त्यति मात्रै । त्यो लामो पैँतीस वर्षे बन्धन जीवन भोगिसकेँ, यो कारावास भोगिसकेँ । यसमा नपसेको भए बीचैमा भोक तिर्खाले मारिसक्थ्यो होला । तर सिर्जना गर्ने अदम्य उत्साह, क्षमता र शक्तिलाई कोर्रा लगाएर आफूलाई जबर्जस्ती कारागारमा हुलेँ र भोक तिर्खाको शरीर बचाएँ । अब म उन्मुक्त छु । तेजेस्वर बाबु ग्वङ्वले भनेझैँ अवकाशपछिको एक उन्मुक्त आकाश (पृ–८) ।”
फाल्गुनीलाई श्रीकृष्णले गीता ज्ञानले स्नान गराए जस्तै भयो मलाई पनि यी निबन्धहरू पढिसक्दा । म जस्तो भर्खरै कलम समाएको पुस्तालाई यो निबन्धावली साहित्य लेखन र पठनका लागि रोडम्याप भएर आएको छ । जागृत गर्ने शक्तिशाली निबन्धहरू छन् । यी आलेख व्यक्तिगत भएर पनि सार्वजनिक भोगाइ लाग्छन् । अतीतका घटना पनि सर्वकालिक छन् । यहाँ प्रविधिको सबल पाटोदेखि प्रविधिले खोसेको न्यानो कोसेलीको कुरा छ । क्षीण हुँदै गएको आत्मीयता र हार्दिकताका कुरा छन् । विश्व–ग्रामिणीकरणका गहकिला तर्क छन् । राष्ट्रका गम्भीर समस्या, सम्भावना र सद्भावना छन् । निबन्धका टोकरीमा एकै जातका फलफूल मात्र छैनन् । आँपमा पनि थरी थरीका आँप भएजस्तै एउटै विषयका पनि फरक स्वादका निबन्धहरू छन् । उन्नाइस वटा निबन्धका उन्नाइस वटै स्वाद छन् । यी निबन्धमा विषयवस्तु, समय, सन्दर्भ मात्र होइन जीवन जिउने कला छ । प्रतिकूल अवस्थामा पनि रमाएर बाँच्न सकिन्छ भन्ने सन्देश छ ।
सामान्य जस्तो लाग्ने स्रष्टाको दैनिकी बडो सन्देश मूलक छ । अनुकरणीय छ । स्रष्टा विराटनगर गएको समयमा श्रीमतीलाई उपचारको लागि दिल्ली लगिएको छ । कीर्तिपुरको घरमा पछि स्रष्टा फर्किँदाको त्यो दृश्य उच्च संवेदनाले भरिएको छ – “यस्तो कल्पिँदै ढोका खोलेर बैठकमा पसेँ र बिसाएँ । चिया पिउने कि तातो पानी ? सुनेजस्तो गर्छु । तर घरमा कोही छैन । आज विराटनगरको प्लेन ढिला भयो, टिकटै अबेलाको थियो ? सुनेजस्तो गर्छु तर बोल्ने कोही छैन, यस्ता संवादमा सहभागी भए जस्तो भएँ र माथि चढेँ । तर यत्रो घरमा कोही छैन । आफ्नै पदचाप बजेर आफ्नै कानमा ठोकिए जस्तो गर्छन् तर कोही छैन । नानीहरू! सेवा! ऋचा घरमा को छ हँ ? भने जस्तो गर्छु तर आज घरमा कोही पनि छैन ( पृ–३२ ) ।”
कृतिमा यस्ता यस्ता जीवन्त भावहरू छन् कि पाठकको हृदयलाई स्पन्दित गरेर जान्छन् । यी यस्ता निबन्धको भावमा मेरा आँखा बारम्बार अश्रुपूरित भए । हृदय करुणाले रुझ्यो । अक्षर अक्षरमा मानवीय संवेदना पोख्न सक्ने गजबको कलमलाई नमन पुनः पुनः नमन गरेँ ।
कृति अध्ययनमा घोत्लिँदा कानमा बारम्बार आनी छोइङ् डोल्माको गीत गुञ्जिरह्यो—
‘टह टह जून देखूँ कालो रातैमा
जीवन सङ्गीत सुनूँ म सुक्खा पातैमा
झुल्किन्छ है छाया वस्तु अन्सार
काँडाको आँखामा काँडै संसार ।’
कृति पढिसक्दा यस्तो लाग्यो यस तहको निबन्ध सङ्ग्रहमा भाषा, कला, प्रस्तुति र शिल्पको कुरा गर्ने मेरो ल्याकत नै छैन । स्रष्टाको लेखनी उसै अब्बल छ । मैले वैचारिक र सैद्धान्तिक पक्षमा मुख खोल्नु भनेको दिवामा दीप सल्काउनु जस्तै हो । निबन्धहरूको उचाइ र गहिराइ थाहा पाउन एकपटक निबन्धका एक एक माला गन्नै पर्छ । अनि तस्बिर आफैँ बोल्छ ।
यहाँ मलाई निबन्धले पारेको प्रभावका कुरा मात्र गरिरहेकी छु । मैले पनि भर्खरै साहित्य पढ्न लेख्न थालेकी । साहित्य साधारण मान्छेको बहसको कुरा होइन भन्ने एउटा सङ्कुचित विचार छ । मेरो मनमा उठेको यस्तो विचारको कालो बादल यहाँ निर्वाचित गरिएका निबन्धहरू पढेपछि स्वतः फाटेको छ ।
निबन्धकार फेरि भन्छन् जतिसक्यो लेख्ने गर्नुपर्छ । जति सक्यो पढ्ने गर्नुपर्छ, “किनभने फेरि नफर्किने जीवनमा हिँड्दाहिँड्दै बाटामा जे जे भेटिन्छ अनि जे भोगिन्छ, त्यसको उल्लेख नै साहित्य हो; त्यसैको अभिलेख नै साहित्य हो । अझ त्यसको कलात्मक प्रस्तुति । दिनानुदिन अनुभव गरिएका कुराहरू मनमा केही समय बसेर फेरि दिनदिन उडेर जाने बास्ना झैँ लाग्छन् । हाम्रा अनुभवहरू, सारा चिन्तन र संवेगहरू खुलै राखिएका कपूरका दाना रहेछन्, ती फेरि बिलाएर जालान् । साहित्य भनेको एकैछिनमा परिवर्तित हुने वा उजाडिने त्यस्तो तत्त्वलाई स्थिर राख्न गरिने सिर्जनाको जुक्ति रहेछ । साहित्य भन्नु नै संसार देखेर, सुनेर, पढेर, भोगेर उत्पन्न भएको कुरा हो । लेख्न थाल भाइ, आजै तिमी पनि (पृ– ६१) ।”
लेखकका यस्ता अभिव्यक्ति पढेपछि म ढुक्क भएकी छु । यो वाक्यांशलाई दोहोर्याएर पढेँ । हँ ! ‘लेख्न थाल भाइ’ मात्र लेखिएको छ त ! म झसङ्ग पनि भएँ कतै भाइलाई मात्र लेख भनेको त होइन ? बहिनीलाई त कतै सम्बोधनै छैन । आफैँसँग हाँसो पनि गरेँ ।
कुनै पनि स्रष्टाको लेखनी उसको परिचय रहेछ । स्रष्टासँग उसको साहित्यको गहिरो नाता जोडिँदो रहेछ । जति जति स्रष्टाको कलममा डुब्दै गयो उति उति स्रष्टालाई पाठकले निकटबाट बुझ्न सक्ने रहेछ । सफलता सजिलै प्राप्त हुँदैन भन्ने पाठ सिक्न पनि गहिरिएर यी निबन्ध पढ्न आवश्यक छ । स्रष्टाले काठमाडौँमा आएर गरेका जीवन संघर्षलाई हरेक पाठकले पढ्नु पर्छ । आजका भट्टराई चुट्की बजाएर प्रा. डा .गोविन्दराज भट्टराई भएका होइनन् । साइकल चलाउँदै धर्मस्थलीको उकालोमा पसिनाले निथ्रुक्क भई हप्याक हप्याक गर्दै अफिसमा चढेर युवा भट्टराईले नमस्कार चढाएको दृश्य पनि यहाँ देख्न सकिन्छ ।
पहिलो पटक उनलाई एसएलसीको कपी जाँच्ने अवसर आउँदाको छटपटी पनि देख्न सकिन्छ । त्यो कपी खाटमुनि लुकाएको दृश्य मज्जाले देखिन्छ । त्यो युवा मनोविज्ञानलाई निकै गहिरिएर महसुस गर्न सकिन्छ । बडो त्रासमा जाँचेको कपीको पैसा महिनौँपछि प्राप्त हुँदाको आनन्द पनि यहाँ हेर्न सकिन्छ ।
‘विषयको विविधता निबन्धको विशेषता’ भनेझैँ यहाँ समय सान्दर्भिक विषयहरू आएका छन् । आजको समयमा सक्षम, अब्बल र क्षमतावान् असङ्ख्य युवाहरू देश छोडेर बाहिरिने क्रम बढ्दो छ । युवाहरू पलायन भएसँगै देश खोक्रिँदैछ । शिक्षित युवाहरू अन्धकारमा हाम्फालेको नौलो संस्कृतिमा निबन्धकार निकै चिन्तित छन्, “नेपाली युवा –युवती योग्य भएपछि, शिक्षित भएपछि, कलाशील र कल्पनाशील भएपछि बङ् कि बङ् हाम्फाल्छन् । अन्धकारतिर हाम्फाल्ने रुचि र क्षमता उनीहरूको रगतमै हुन्छ । यो रक्तको परीक्षण भइसकेको छ (पृ–२६) ।”
देश प्रेमले हृदय दुखेको छ । यही माटोमा लडिबुडी गरेर हुर्किएका जाज्वल्यमान सन्तानहरू विदेशी भूमिमा बङ् कि बङ् कुदेका छन् । रोक्न सकिएको छैन । फर्काउन सकिएको छैन । क्षमतावान् सन्तान यही माटोमा सक्षम भएपछि आँखामा देश कसिङ्गर भएर बिझाएको पीडादायी समयको साक्षी हुनुपर्दा स्रष्टा हृदय व्यथित छ । देश खोक्रो भएपछिको परिणाम जान्दा जान्दै आँखा चिम्लिनु परेको छ । कान बन्द गर्नु परेको छ ।
स्रष्टा यहाँ व्यक्ति, परिवार, समाज, राष्ट्र हुँदै अन्तर्राष्ट्रिय स्तरसम्म संवेदनशील हृदय लिएर पुगेका छन् । नाकाबन्दीको समयमा निमोठिएको मन देशप्रेममा रुझेको छ । नेपालीहरूको विवशतामा छटपटिएको छ । राष्ट्रनायकहरू मतिभ्रष्ट हुँदा देश बिमार छ । देश लुटिएको छ । छिमेकीले दुखेको ठाउँमा अझ चिमोटेको छ । स्रष्टाले देखेका छन् आफ्नै मान्छेको मतिभ्रम । निरीह, दुर्बल भएको देशको घाउ निको हुन नदिने बाटामा सङ्कल्पित छन् धुन्धुकारिहरू । देशको बिग्रँदो अवस्थामा स्रष्टा हृदय निसासिएको छ । चित्त फाटेको छ । अन्तर्राष्ट्रिय हस्तक्षेपले मन भक्कानिएको छ । नेपालीहरूको विवशतामा हृदय काँपेको छ । स्वाभिमान माथिको प्रहारमा आत्मसम्मान जागेको छ । स्वाधीनता सलबलाएको छ ।
नाकाबन्दीमा मोदीको कुटिल चाल, सुष्मा स्वराजको अविवेकी कदमप्रति “माटिर्न लुथर किङ्को’ आवाजमा शब्दहरू वाचाल छन्, “भारतले जेजति सहयोग गर्दैछ, गर्नेछ, त्यो सबै व्यर्थ भीखको प्राप्ति जस्तो लाग्न थालेको छ । नेपाल बरु अविकसित रहनू, भोकै नाङ्गै सहनू तर हृदयमा नित्य एक जबर्जस्ती र सामन्त्याइँ पालेर बस्ने छिमेकी सामुन्ने नझुकी बरु समाप्तै हुनू । तर हाम्रा मान्छे रातोदिन उतै पुगेर लम्पसार हुन्छन् । कहिल्यै विश्वास गर्न नसकिने रहेछ कसैलाई; आफ्नै जातिलाई (पृ– १४८) ।”
वेद र उपनिषद्को भूमिमा हुर्किएका स्रष्टा सहयोग, सद्भाव, सेवा र एकतामा रमाएको देखिन्छ । सबै मान्छेहरूले हार्दिकता भुले भने संसार कस्तो होला उनी चिन्तित छन् । जिन्दगीको अभिप्राय नै डिलिट गरिदिने हो कि ! भन्ने निबन्ध मार्फत् मानवताको वकालत गरेका छन् । मान्छे खराब हुन सक्छ । तर देश, भाषा, घर्म, जातिलाई धिक्कार्नु सरासर गलत हो भन्दै लेखकले शान्तिपूर्ण आवाजमा मिठो प्रतिवाद गर्न सिकाएका छन् । यसरी निर्वाचित निबन्धवलीका रचनाहरूमा जीवन, जगत् र समयको आरोहअवरोह छ ।
अन्त्यमा भन्नुपर्दा साहित्यले दिने आनन्द, सन्तुष्टि, खुसी र सुख यहाँ अनुभूत हुन्छ । अनि विश्व साहित्यप्रति पाठकलाई जिज्ञासु बनाउँछ । साथै विश्व चर्चित स्रष्टाहरूको विचार तथा महान् वाणीलाई अझ गहिरिएर खोज्दै ज्ञानको दायरालाई फराकिलो बनाउन मद्दत गर्छ । ‘साहित्य साधना, जीवन उत्सव’ भन्ने भाव उठ्छ । हरेक परिस्थितिमा ऊर्जाशील भएर गुप्त सेवाहरू गर्दै हिँडेका स्रष्टाको कोमल हृदयलाई नमन गर्न मन लाग्छ ।
सकारात्मक चिन्तनका धनी भट्टराईको व्यक्तिगत जीवन कहानी बडो रमाएर पढ्न पाइन्छ । आत्मिक प्रेमको परिभाषालाई आत्मबोध गर्न सकिन्छ । सहअस्तित्वको दह्रो उदाहरण पढ्न र अवलम्बन गर्न सकिन्छ । माया, प्रेम, स्नेह, सहयोग र क्षमालाई जीवनका आयाम मान्दै जीवन उत्सव मनाउने कला सिक्न सकिन्छ । प्रेमिल संवेदित, कोमल हृदय छताछुल्ल भएर पोखिएको छ ।आफन्तको अभावमा छटपटिएको मन बडो मार्मिक भएर निबन्धको पर्दामा जीवन्त अभिनय गरेको देखिन्छ । आमाको माया, भाइको साथ, छोरीहरूको स्नेह, श्रीमतीको भरोसा, भाषा अनि विश्व शान्ति र मानवताका कुराले जीवनको परम सौन्दर्य मीमांसा उद्घाटन गरेका छन् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

