चार यात्री – सरस्वती अर्याल, भवानी खतिवडा, प्रभा बराल र रञ्जु दाहाल – एकै दिन, एउटै समयावधिका लागि, एउटै लक्ष्य साँधेर यात्रामा निस्केका । यात्रा काठमाडौँबाट डोल्पाको, विशेष गरी शे–फोक्सुन्डो तालसम्मको । दशैँको टीकापछिको समय, पानी परिरहेको ।

चारमध्ये दुईजनाका नियात्राका पुस्तक आइसके ।

भवानी खतिवडाको पुस्तक ‘आकाश ओढेको डोल्पो’, मङ्सिर २०८० मा पेज टर्नरबाट छापियो ।

रञ्जु दाहालको पुस्तक ‘डोहोडोहो डोल्पो’, फागुन २०८० मा भुँडीपुराण प्रकाशनबाट छापियो ।

यसरी हेर्दा भवानीको पुस्तक नै केही महिनाले जेठो भएको देखिन्छ । उनको किताब रञ्जुले पनि पढेको हुनुपर्छ ।

अब कुरा पाठकको । डोल्पा, पुग्नै गाह्रो । अधिकांश पाठकले डोल्पा बुझ्ने यस्तै पुस्तक पढेर हो । भवानीको पढेर डोल्पा बारे एउटा धारणा बनाएर बसेका पाठकले अलि पछि आएको रञ्जुको पुस्तक पढेर आफ्नो ज्ञानको सत्यापन गर्ने मौका पाउँछ । तुलना गर्ने मौका पनि पाउँछ । त्यो पाठकका अधिकारको कुरा भयो । र, यो मौका दिएको पनि एउटै यात्राका बारेमा दुईजनाले पुस्तक लेख्नुले नै हो ।

थोरै पृष्ठभूमिको कुरा गरौँ । २०७८, कार्तिक १ देखि १२ सम्मको डोल्पा यात्रा, चारजनाको । दशैँको टीका सकिँदा–नसकिँदै सुरु भएको यात्रा । कार्तिक – धान पाकेर खेत सुनौला भएका । पानी परेको ।

बाटोमा आइपर्ने सयौँ साना–ठूला गाउँ, सहर र बिसौनीलाई छोडौँ एकैछिन ।

पहिले स्तुतिपर्वबाट सुरु गरौँ ।

दुवै उम्दा छन्दकवि । दुवै नियात्राकार पनि । भाषामा सम्मोहक पकड दुवैको । दुवै लालित्यपूर्ण अभिव्यक्तिका धनी । दुवैजना वस्तुहरूको सूक्ष्मदर्शन र अद्भुत वर्णन गर्ने क्षमता राख्ने सर्जक । मैले चिनेसम्म दुवै ऊर्जावान् र दुवै सकारात्मक सोचका धनी, कर्मशील साधक । शुद्धाशुद्धिको ज्ञान असामान्य छ । रञ्जुका मूल्याङ्कनमा भवानी ‘एउटी साहसी पदयात्री’ (२३) । भवानीका अनुसार रञ्जु ज्यादै भावुक र कृतज्ञ । रञ्जुको एउटा भनाइ उनले यसरी उद्धृत गरेकी छिन्, ‘दिदी, तपाईंका इष्टमित्र नभएका जिल्ला छन् ?  कि छैनन् ?  तपाईंको आफ्नो व्यवहारले जोड्नुभएका यी सबै इष्टमित्रको ऋणभारले म थिचिएको थिचियै हुने डर भयो दिदी’ (२००) ।

यी दुई प्रतिभाशाली नियात्राकारका विवरणमा सम्मोहक भाषा र गहिरो चिन्तन पढ्न पाइन्छ । उदाहरण हेरौँ हो —

रञ्जु— ‘एक रत्तीको आकृतिबाट सुरु हुन्छ मानव–जीवन अनि थोरै पानीको मूलबाट सुरु हुन्छ खोलाको जीवन । खोल्सा, छाँगा, खहरे हुँदै बग्दै जान्छ; त्यति बाटो बढाउँदै जान्छ । घरीघरी छहरा–छाँगासँग मिसिन्छ अनि पूर्णता पाउँदै जान्छ र शान्त–अशान्त बन्दै बन्दै जान्छ । खोलाले यी छाँगा–छहरा, खोल्सा, खहरे आदिलाई साथमा लिएर आफू शक्तिशाली बन्न सकेन भने कसैसँग गाग्री, भाँडो आदिमा सुटुक्क चार दिवारभित्र छिर्नुपर्छ । फलामे पाइपभित्र कैदी बन्नुपर्छ । त्यसैगरी मानव पनि समयसँगै बग्न जानेन भने, ज्ञानको खोजीमा लागेन भने परनिर्भर बनेर कतै कैदी हुनुपर्छ ।’ (१०९)

भवानी—  ‘के जादू भनेको यही होइन त ? अकल्पनीय चमत्कार भनेको यही होइत त ? कालो तालको बीचबीचमा सृजित नीलाम्य बुट्टाहरू देखेर तीनछक परेका हामीलाई तालले फेरि अर्को चमत्कार देखायो । तालको केन्द्रभागमा सुनौला रङका लहर उम्रिँदै, लहरिँदै र फैलिँदै गए । तालको किनारतर्फको जलराशिचाहिँ एकदमै निख्खर सेतो रङमा परिणत भयो, छिनको छिनमै । कल्पना गर्नोस् त, एउटै तालभित्र एकै समयमा चारथरी रङको चमत्कार देख्न पाउँदाको अनुभूति कस्तो हुन्छ ? तालको यो विचित्र जादू हेर्दाहेर्दै खुशीले पागल पो हुन्छु कि जस्तो पनि लाग्दैछ मलाई । (१६७–६८)

यी दुई प्रतिभाशाली सर्जकले हामी पाठकलाई मानौँ आफूसँगै यात्रा गराइरहेका छन् । उनीहरूसँगै हामी छिनछिनमा आइपुग्ने झोलुङ्गे पुल पैदल तरिरहेका छौँ, पारिपट्टि अर्को गाडी चढिरहेको छौँ, छोटो दूरीका लागि पनि महँगो भाडा तिरिरहेका छौँ, थाकेँ भन्न पनि नपाई हिँडिरहेका छौँ, दायाँबायाँ नदी, छहरा, पहरा र जङ्गलको जादूमय सौन्दर्यमा लट्ठ छौँ । तर, सत्य के भने, यसो त अधिकांश नियात्राकारले गर्छन् । एक गम्भीर नियात्राकारको वास्तविक परीक्षा, यात्राका बीचबीचका पडाउहरूमा उभिएर उनीहरूले गर्ने ज्ञानको उत्खनन् वा गम्भीर चिन्तनमा देखिन्छ ।

यस यात्रामा यी दुई साधकले हामी पाठकसम्म पुर्‌याएका केही रोचक तथ्याङ्कले हाम्रो ज्ञानबर्धन गरेका छन् । जस्तो, चिन्डेबगर छेउको ज्वालामुखी र त्यसकै कारण खसेको भयावह पहिरो, मुसीकोट दरबार र मुसी बजैसँग सम्बन्धित किंवदन्ती, शे–फोक्सुन्डो तालको उत्पत्तिकथा, खलरूपीमा भेटिएका पदम बाको मानवतावाद र महिलाप्रतिको अपार सम्मान, बोन धर्म, पाल शेनतेन थासुङ छोलिङ गुम्बाको नालीबेली, बाला त्रिपुरासुन्दरीको मन्दिर र त्यसको उत्पत्तिकथा आदि कुराले पाठकमा नवीन ज्ञानको भरभूर सञ्चारण गर्दछन् । एउटा सार्थक नियात्राकृतिले प्रकृतिको सौन्दर्य, यात्रीको सजिलो–अप्ठ्यारो र सहयात्रीहरूबीच भएको हाँसीठट्टाभन्दा माथि उठेर यस्ता ज्ञान पस्कन सके मात्रै ती सार्थक भएको ठहर हुन्छ । त्यसरी हेर्दा, यी दुवै कृतिले नियात्रा हुनुको सार्थक लय समातेको देखिन्छ ।

एउटै यात्रा भएको हुँदा समानता त कति भेटिन्छन् कति । यस्तोमा कृति र कृतिकार छुट्टिने भनेकै दृष्टिमा, चित्रणमा, चिन्तनमा वा कोणहरू देखिने वैषम्यले हो । हेरौँ यी दुई कृतिमा देखिएको केही वैषम्यलाई ।

पहिलो वैषम्य दृष्टिकोणहरूमा देखिन्छ । ती वैषम्य विविध तहमा देखिएका छन् । हेरौँ ।

० ० ० ०

(क) घरपरिवार

घरपरिवारप्रति भवानी ज्यादै सकारात्मक देखिन्छिन् । घर छोड्ने बेलाको वर्णन गर्दै लेख्छिन्, ‘बोटो लाग्न हतारिएकी मलाई छोरो आदित्यराजले टीकाको थालीमा अक्षता तयार गरेर बैठककक्षमा डाक्यो । त्यो थाली शुक्रजी (पति) का हातमा थमायो र भन्यो, ‘आमालाई टीका लगाएर शुभकमाना दिनोस् त बाबा ! उसैले अह्राएबमोजिम टीका लगाएँ । (१७) । रञ्जुको कुराबाट ठम्याउने हो भने भवानीले यात्राकै बीचबीचमा पनि घरपरिवारसँग सम्पर्क गरि नै रहिन् । यात्रा सकेर घर फर्केपछिको भवानीको अभिव्यक्ति पनि उत्साहपूर्ण छ । भन्छिन्, ‘हुर्रे, घरै पो आइपुगियो त ।’ (२०९) यानि, घरको चौखट टेक्नु उनका लागि धेरै ठूलो उत्साहको कुरा हो ।

अर्कोतिर, रञ्जु पनि छोराछोरीप्रति ज्यादै ममतामयी देखिएकी छिन् । लेख्छिन्, ‘आमाले मलाई गर्नेजत्तिकै प्रेम गर्छन् मेरा छोराछोरीले मलाई’ (३५) । तर, श्रीमान्‌प्रति भने उनी ज्यादै असन्तुष्ट देखिन्छिन् । यात्राको योजना बनाउँदाबनाउँदै उनका पतिले भाँजो हाल्न खोजेको कुरा उनको लेखाइबाटै प्रतीत हुन्छ । यात्राभरि नै आफ्नो मोबाइल बज्ला र श्रीमान्‌को फोन आउला भन्दाभन्दै आएन भन्ने उनको भनाइ छ । यस्ता थुप्रै थुप्रै वाक्य छन्, जसबाट उनको श्रीमान्‌प्रतिको घोर असन्तुष्टि परिलक्षित हुन्छ । लेख्छिन्, ‘मलाई अरू सम्बन्धले भन्दा ‘स्वास्नी’ हुनुले (डोल्पा जान) यति छिटो नाम नटिपाइहाल्नुपर्ने थियो कि भन्ने दोमनले चस्का दिन थाल्यो । डरलाई डरकै पोल्टोमा छाडेर लोग्नेको अघिल्तिर खडा भएँ’ (३४) । यहाँ पतिलाई ‘लोग्ने’ भनिएको छ । यात्रा सुरु हुँदा भने उनका ‘पतिदेव’ मौन थिए भनिएको छ (३६) । ‘मैले भनेको मान्ने हो भने अहिले जानुपर्दैन’ भनेर श्रीमान्ले भनेको कुरा पछि उल्लेख छ (३६) ।

एउटा थप विवरण छ, जसबाट उनका पति पहिला पनि रञ्जुलाई यात्राको अनुमति दिन कन्जुस्याइँ गर्थे भन्ने बुझिन्छ । रञ्जु लेख्छिन्, ‘लाङटाङ यात्रामा ‘लोग्नेमान्छे पनि छन् सँगै जाने’ भन्दा पनि उहाँलाई तनाव भएको थियो, यहाँ छैनन् भन्दा पनि तनाव ?  ’ (३७) । अगाडि लेख्छिन्, ‘स्वास्नीलाई आफ्नो वशमा राख्नुपर्छ भन्ने पुरातन मान्यताको पुजारी बन्नुभएको हो कि ?  स्वास्नी घुम्न निस्कनु र लोग्ने घरमा बस्नु पुरातन परम्पराको विपरीत व्यवहार सहन गर्न नसक्नु पो भएको हो कि !’ (३७) ।

फेरि थप्छिन्, ‘यात्रारत बाटोमा मात्रै दोबाटो भेटिने कहाँ हो रहेछ र ! मनले पुर्‌याउने दोबाटोमा त झन् कति धेरै दुविधा हुँदारहेछन् हगि ! (३७) । यसै कारण उनले आफूलाई एक ठाउँमा ‘घाइते चरी’ भनेकी छिन् । लेख्छिन्, ‘भित्री चोट देखिँदैन नि है, साँच्ची ।’ (३९) । अर्को एक प्रसङ्गमा भन्छिन्, ‘घरबाट निस्कँदा लट्टाईको धागोसँगै बाँधिएकी चङ्गाजस्ती थिएँ’ (१२२) । बाटोमा पर्ने सिस्ने हिमाललाई बादलको घुम्टोले ढाकेको देख्दा पनि उनको भँडास उसै गरी आत्मगत बनेर निस्केको छ । लेख्छिन्, ‘गाडीको झ्यालबाट देखिएको सिस्ने हिमाल आफूजस्तै लाग्यो— बादलु घुम्टो शिरबाट हटिसक्दा पनि स्वतन्त्र मुस्कुराउन नसकिरहेको ।’ यहीँनेर उनले एउटा श्लोकको पनि रचना गरेकी छिन्, जसमा पनि उही भिक्टिम कार्ड पढ्न पाइन्छ—

‘किन ? कति ? कसरी ? के ? प्रश्नको रास चर्को

तन–मन सब मेरो, राज गर्ने छ अर्को

जतिजति म सुधारूँ, उत्ति बिग्रिन्छ चाल

म छु कठिन घडीमा धैर्य देऊ हिमाल । (४२)

प्रश्न त सोध्नैपर्छ— एउटा यात्रा विवरणको कृतिमा यो सबै आवश्यक थियो वा थिएन ?

घरको सानोठूलो असमझदारी लोकका अगाडि छताछुल्ल भयो त । हुन सक्छ, आफ्नै श्रीमान्‌को यस्तो चित्रण गरेर आफू पितृसत्ताको दलनमा निरीह बनेकी छिन् भन्ने सन्देश दिन खोजिरहेकी छिन् रञ्जु । यसो गर्नु उनको उद्देश्य हो भने त्यसमा उनी सफल छिन् । पाठकले सजिलै भन्न सक्छ— साह्रै गाह्रो रहेछ रञ्जुलाई घरमा । पितृग्रन्थीबाट ज्यादै ग्रस्त रहेछन् श्रीमान्‌ । तर, एकपक्षीय कुरा सुनेर कुनै पनि वस्तुनिष्ठ पाठक यस्तो निचोडमा पुग्नु हुन्छ जस्तो मलाई लाग्दैन । कतै रञ्जु भन्छिन्, ‘कसैकी आमा हुँ, त्यसैले साहसी बनेकी हुन्छु’ (३५) । एक साहसी नारीसँग यति पीडा त नहुनु पर्ने ! छ नै भने त, सहानुभूति राख्नुको विकल्प देख्दिनँ ।

‍० ० ० ०

(ख) समाज, सरकार र प्रशासन

हुन त यी पुस्तक यात्राका पुस्तक हुन् । तर धेरै ठाउँमा लेखकहरूले समाजको आचरणमाथि आफ्ना दृष्टिहरूको प्रक्षेपण गरेका छन् । कतै सरकार, कतै शासन–प्रशासन, कतै मान्छेहरूको रहन–सहन र कतै मेजवानी गर्ने तरिकामाथिका उनीहरूका दृष्टिकोणले दुवै लेखकहरूका अक्षरमा प्रवेश पाएका छन् ।

सरकार र प्रशासनलाई हेर्ने यी दुई यात्रीको देष्टिकोणमा धेरै भिन्नता पाइन्छ । भवानी सरकारी कर्मचारी तथा कर्मचारीतन्त्रप्रति आलोचनात्मक हुँदाहुँदै पनि उदार छिन्, तर दलगत राजनीति गरेर सरकारमा पुगेका शासक–मन्त्रीहरूप्रति ज्यादै रुष्ट देखिन्छिन् । लेख्छिन्, ‘अनि मन्त्री ? ऊ त उद्योगपतिसित साँठगाँठ गर्छ र किसानको मनोविज्ञानमाथि लाठी चार्ज गर्छ’ (२७), ‘कि तिमी पनि हाम्रै नेताजस्तै टुप्पिइसक्यौ हँ ?’ (३४), तथा ‘सरकारले त के नै पो गर्ने हो र! मात्र वातावरण बनाइदिए पुग्थ्यो । त्यति पनि गर्दैन र पो’ (१३९) ।

अर्कोतिर, साइनबोर्डहरूमा लेखिएका सरकारी अक्षरहरूले ‘आफन्तलाई झैँ हेरिरहेथे’ भन्न पुग्छिन् (१८६) । आफू निजामती कर्मचारी भएको र धेरैतिर सञ्जालमा आबद्ध भएकैले हो कि किन हो, निजामतीप्रति चाहिँ उनी ज्यादै उदार देखिन्छिन्, तर पनि यहाँको व्यथितिको उछितो काड्न भने छोडेकी छैनन् ।

साँखखोलामा बाढीले सखाप पारेको एउटा पक्की पुल देखेर लेख्छिन्, ‘सोचेँ, कस कसको लापरवाही र बेइमानीको चपेटामा पर्‌यो र बनिनसक्दै ढलेको होला यो दुर्गम भूगोलको दुर्लभ संरचना, धिक्कार होस्…सरकारको लगानीमाथि गद्दारी गर्नेहरूलाई सजाय कहिले होला त ? एकमनले मैलाई सोध्यो । अब दुई महिनामै मान्द्रो बटारिएझैँ बटारिएर आफैँ उक्किने कालोपत्रे बिछ्याउनेहरूलाई समेत उन्मुक्ति दिने स्वार्थी र भ्रष्टहरूको नेतृत्वमा छानविन समिति गठन हुन सक्छ । ब्रिफकेसको मोलमोलाइपछि साङ्खोलाकै बेइमानीका कारण पुल ढलेको हो भन्ने निष्कर्षसहितको प्रतिवेदनमा दस्तखत हुन्छ । अनि सदासदाका लागि फाइल तामेलीमा थन्किन्छ’ (५५) । अगाडि लेख्छिन्, ‘आफैँ सेवारत रहेको निजामती प्रशासनमा संलग्न भ्रष्ट, बेइमान र कलङ्कित मान्छेहरूलाई देख्नु र सुन्नुपर्दा लज्जाबोधले लल्याकलुलुक हुन्छु’ (५६) ।

निजामती क्षेत्रमा पटकपटक पर्ने सरकारी तुसारोप्रति उनी यहाँ पनि रुष्ट छिन् । लेख्छिन्, ‘नयाँ सरकारको पहिलो र महत्त्वपूर्ण काम भनेकै कर्मचारीको सरुवा हुन्छ । वल्लो मन्त्रालयको कर्मचारी पल्लोमा र पल्लोको तल्लोमा सार्ने रोग सबैजसो पार्टीमा छ’ (९८) । निजामती क्षेत्रका राम्रा–नराम्रा कामप्रति उनको दृष्टि वस्तुनिष्ठ छ, तर सरकारप्रतिको दृष्टि अलि बढी आग्रही भएको देखिन्छ ।

भवानीको एउटा विशेषता के देखिन्छ भने सहयोगीहरूप्रति उनी छाती फुकाएरै कृतज्ञता प्रकट गर्छिन् । ठाउँठाउँमा सरकारी कर्मचारी वा निकायका प्रतिनिधिहरूसँग सहयोग माग्न हिचकिचाउँदिनन् ।

उदाहरणका लागि, डोल्पाको प्रवेशद्वारामा रहेको प्रहरी चौकीमा सबैको नाम र ठेगाना टिपाउनुपर्ने नियम छ । सबैजना सशरीर जानुभन्दा भवानी एक्लै पोस्टमा जान्छिन् र त्यहाँ तैनाथ प्रहरीलाई अनुरोध गरेर एक्लैले सबैको विवरण टिपाउँछिन् (९५) ।

रञ्जुले चाहिँ यहाँ विवरण टिपाएको होइन, अर्को बाटो गएर चौकी छलेको भनेकी छिन् । उनलाई यो कार्य ‘भएको सरकार, प्रशासनको आँखा छलेको’ लाग्छ (८०) । अलि अगाडि छ बगर । बगरबाट साँझ छ बजेपछि गाडी अगाडि जान दिइँदैन । तर, भवानीलाई जसरी पनि दुनै पुग्न पाए हुन्थ्यो भन्ने छ । त्यसैले, उनी डोल्पाका तत्कालीन प्रमुख जिल्ला अधिकारी माधव ढकाललाई फोन गरेर आफूहरू चढेको गाडीलाई ढिलै भए पनि प्रवेश दिन विशेष अनुरोध गर्छिन् । सिडिओले प्रहरीलाई फोन गरेर अनुमति दिलाइदिन्छन् ।

साथै, दुनै नगएर बाटैमा पर्ने शूलीगाडमा ओर्लिएर शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जको अतिथिगृहमा वास बस्ने अनुरोध गर्छन् । ढकालको यस कार्यप्रति भवानीको टिप्पणी यस्तो छ— ‘ढुङ्गो खोज्दा देउता मिल्यो…अनजान ठाउँमा अल्मलिएका मान्छेलाई एउटा हितचिन्तक मित्रले गरेको यो सहयोगप्रति म भावाकुल र विनीत भएँ’ (९८) ।

माधव ढकालको यसै सहयोगप्रति रञ्जुको प्रतिक्रिया यस्तो छ— ‘फेरि पनि रोकेन हामीलाई नियम–कानुनले । त्यसो भनेर गर्व गरौँ कि आफूलाई नैतिकवान् सम्झिने लेखक हामी स्वयंले सोर्सफोर्स लगाएर नियम मिच्यौँ भनेर हीनताबोध…कालागौँडा चेकपोस्टमा नियम मिचेर आएको गाडी रोकेर चेकजाँच गर्ने प्रहरीले केही क्षण हामीलाई केरकार गरेपछि गाडीलाई अगाडि जान किन दिए होलान् ?  सिडियोका मान्छे ठूलै मान्छे रहेछन् कि यी लाचारहरूसँग बहस गर्नुभन्दा छाड्दिनु नै बेस ठाने हुन् ?’ (८२) ।

उता, निकुञ्जको जुन अतिथिकक्षमा सिडिओले वास मिलाइदिए, त्यसको बारेमा रञ्जु लेख्छिन्— ‘लामो समयदेखि अतिथिसत्कार गर्न नपाएर मुसा र पातपतिङ्गरले राम्रै राज गरेको निकुञ्जको अतिथिकक्षका कक्षपति बन्यौँ हामी चार’ (८३) ।

मेरो टिप्पणी — नैतिकताप्रति यत्तिकी सचेत रञ्जुले पालो मिचेर, सोर्स लगाएर रमाना गराइएको गाडीमा ‘जान्नँ’ भन्ने साहस देखाउनुपर्थ्यो । यसरी मिलाइदिएको सरकारी अतिथिगृहमा ग्लानि पालीपाली बस्नुभन्दा पैसा तिरेर कुनै होटलमा बस्ने हिम्मत गर्नुपर्थ्यो । दुर्लभ ठाउँमा, अप्ठ्यारोमा मिलाइदिएको वासमा ‘मुसा र पातपतिङ्गर’ थिए नै भने पनि यसरी लेखेर त्यस सदासयताको अनादर नगर्नु पर्थ्यो । त्यहाँ सेवा गर्ने कर्मचारीको मन, यो कुरा थाहा पाउँदा कस्तो हुन्छ ? उति कृतघ्न नहुँदै पनि हुन्थ्यो कि ? उनको टिप्पणीले लेखकहरू ज्यादै डिमान्डिङ हुन्छन् भन्ने गलत धारणा सञ्चारित हुन सक्छ ।

रञ्जु दाहालमा अर्को पनि ग्रन्थी सक्रिय भएको देखिन्छ । उनलाई लाग्छ, नेपाली समाज महिलाप्रति ज्यादै असहिष्णु छ । श्रीमान्‌प्रतिको उनको धारणा त माथि नै पढिहाल्यौँ । थप, डोल्पाको बाटोमा धेरैले ‘यो उमेरमा पनि यस्तो विकटतिर घुम्ने रहर ?’ (९८) भनेर प्रश्न गरेको बताउँछिन् । अगाडि भन्छिन्, ‘सत्तरी–असीका विदेशी प्रेमिल यात्रा गरिरहेछन्, जसलाई हाम्रो समाज सहर्ष स्वीकार्छ, सामान्य मान्छ । त्यही बाटोमा हामी भर्खर चालीस काटेका चार महिलाको यात्रा अस्वाभाविक किन देखिन्छ ?’ (९८) । तर, आजको मितिमा यो कुराले नेपाली समाजको चरित्रको प्रतिनिधित्व गर्न सक्दैन, र एकाध मान्छेले यसरी प्रश्न गरे पनि समग्र समाजले गर्दैन ।

अर्को कुरा, पर्यटनकै लागि प्रसिद्ध, र अनेकौँ पर्यटक आउने–जाने यस्तो ठाउँमा कसैले लिङ्ग र उमेरलाई हेरेर यस्तो टिप्पणी गर्दैन । गर्‌यो भने पनि त्यसलाई नेपाली समाजको स्वभाव भनेर सामान्यीकरण गर्न सकिँदैन । पृष्ठ १४४ मा रञ्जु लेख्छिन्, ‘चलाउनु नै छ जिन्दगीलाई, जस्तोसुकै होस् त्यसको स्वरूप । परिकल्पना गरिदिएकै त छ नि सामाजिक मूल्य र मान्यताले — त्यसैगरी घोसेमुन्टो लगाएर ।’ तर, कमसेकम आजको नेपाली समाजले यस्तो कल्पना गरेको छैन ।

० ० ० ०

(ग) फरक–फरक तथ्याङ्क, अलमलमा पाठक

डोल्पा नपुगेका हामी पाठकले यी दुई नियात्रा लेखकले दिएका विवरण र तथ्याङ्कमा विश्वास गर्नुको विकल्प छैन । अब यी दुई कृतिलाई अक्षर अक्षर, हरफ हरफ र पाना पाना तुलना गरेर हेर्ने हो भने यहाँ फरक फरक तथ्य फेला पर्छन् । यसको अर्थ, दुईमा एक जनाले पाठकलाई भ्रममा पारेको र अन्याय गरेको प्रतीत हुन्छ । को सही, को गलत — त्यसको निर्क्योल कसले गर्ने ? र, जसले गलत विवरण दियो, उसले पाठकमाथि गरेको अन्यायको क्षतिपूर्ति कसरी हुने ?

फरक परेका तथ्याङ्कका केही उदाहरण म उनीहरूकै शब्दलाई साभार गरेर राख्न चाहन्छु । कतिपय पाठकलाई यी वैषम्य ‘झिनामसिना’ पनि लाग्लान्, तर उही यात्रा, उही दिन, उही भूगोल — थोरै फरक पनि किन पर्नु र तथ्याङ्कमा ? दृष्टिकोणमा फरक परेको भए स्वाभाविक मान्न सकिन्थ्यो ।

१. भवानी भन्छिन्, दाङको खैरामा गाडी रोकिएन । लेख्छिन्, ‘त्यसपछि भेटिएथ्यो खैरा नामको हरियालीले ढाकेको बस्ती…प्रकृतिको कालिगडी र किसानको मेहनतले गम्किएको खैराको रमणीयतामा डुब्दाडुब्दै ओझेल परेथ्यो त्यो पनि’ (३२) । अर्कोतिर त्यसै खेराका बारेमा रञ्जु भन्छिन्, त्यहाँ गाडी रोकियो, उनी झरिन् र त्यहाँको माटोलाई प्रेमवश छोइन् । लेख्छिन्, ‘घोराहीबाट अगाडि बढेको केही समयमा ‘खैरा’ नाउँ गरेको गाउँ देख्दा म भावगम्य भएँ…’ (३२) । त्यसपछि चालकलाई गाडी रोक्न अनुरोध गरेको, चालकले गाडी रोकेको र आफू हुनहुनाउँदै तल झरेको भन्छिन् । लेख्छिन्, ‘मैले यौटा चाहना हासिल गरेँ । मैले दाङको माटो टेकेँ ।’ फेरि भन्छिन्, ‘टेकेँ । अब मेरो भोक र प्यास दुवै मेटियो । म तृप्त भएँ’ (३२) । भवानीका अनुसार यहाँ गाडी नै रोकेन, र कोही पनि झरेन । दुईमध्ये एकले हामीलाई ढाँटे ।

२. बाटोमा ‘राम्री’ नाउँ गरेको एउटा सानो ठाउँ आएको कुरा दुवैले गरेका छन् । भवानी भन्छिन्, ‘बल्ल आइपुगियो राम्री गाउँ ।’ त्यसको सौन्दर्यले आफू सम्मोहित भएको कुरा जरुर छ, तर राम्रीको सौन्दर्य जुगजुगसम्म कायम रहोस् भनेर बिदा भएको कुरा छ । यहाँ गाडी रोकिएको वा कोही झरेको कुनै कुरो छैन । उता रञ्जु लेख्छिन्, ‘गाडी रोकियो…उनी (चालक) ढोका खोलेर खुत्रुक्क झरे…‘मैले पनि भेटेर आएँ राम्रीलाई’ बडो गर्वका साथ भने उनले…’ (३३) । राम्री गाउँमा गाडी रोक्यो वा रोकेन, कोही झर्‌यो वा झरेन, कसैसँग भेटघाट गर्‌यो वा गरेन, कसको कुरो पत्याउनु पाठकले ? फेरि, सधैँ त्यसै रुटमा गाडी चलाउने चालकलाई राम्रीमा त्यत्रो चासो भयो होला र ?

३. मुसीकोट दरबारका बारेमा भवानीले एउटा विवरण प्रस्तुत गरेकी छिन् । उनका अनुसार अहिले मुसिकोट दरबार भएको ठाउँमा कुनै बेला राजाकी एक नोकर्नीले राजाको हराएको बँदेल फेला पारिछिन् । बँदेल फेरि हराएछ, फेरि पनि उनैले त्यसै ठाउँमा बँदेल फेला पारिछिन् । यही प्रक्रिया तीन पटक दोहोरिएछ । आश्चर्यमा परेका राजाले ती नोकर्नीलाई कुप्रीकोट दरबार बोलाएर सोधेछन् । नोकर्नीले सबै कथा भनेपछि उक्त ठाउँ हेर्न राजा आफैँ पुगेछन् र ज्यादै सुन्दर देखेर त्यहाँ आफ्नो दरबार सार्ने निर्णय गरेछन् । त्यसपछि, नोकर्नीलाई बोलाएर राम्रो काम गरेवापत के बक्सिस माग्छ्यौ माग भनेछन् । यसमा मुसीले भनिन् रे, ‘सरकार, मलाई निगाह हुन्छ भने यो देशले सम्झने इज्जत बक्सियोस् । यो दरबारको नाम मेरै नामबाट राखिबक्सियो भने म धन्य हुनेछु सरकार’ (६३) । अगाडि भनिएको छ, ‘अनि राजाले मुसीको माग सुनुवाइ गरेछन् । कुप्रीकोट राज्यको दरबारको नाम फेरिएर मुसीकोट दरबार बन्न पुगेछ’ (६३)

यसमा रञ्जुको विवरणमा बँदेलको कुरै आउँदैन । त्यहाँ ‘बँदेल गुफा’ पनि छ, जसको उल्लेख भवानीले गरेकी छिन् । यो यहाँको एउटा प्रमुख आकर्षण हो, तर रञ्जुले यो कुरा छुटाइन् । ल ठिक छ । उनको विवरणमा बँदेल भेटेको ठाउँको सौन्दर्यबाट राजा आकर्षित भएर दरबार त्यहीँ सारेको पनि कुरो आउँदैन । बरु के कुरा छ भने, राजा मानबहादुर शाहीले ‘काम गरेवापत तनखास्वरूप’ सुनचाँदी दिन चाहँदा मुसीले ‘सुनचाँदी त सिद्धिएर जान्छ, आफ्नो नाम पछिसम्म रहनेखालको केही काम गरिदिन’ राजासँग आग्रह गरिन् (५७) र त्यसरी उनको नामको दरबार बन्यो । तर, तनखाको सट्टा दरबार बनाइदिएको कुरा सत्य हो वा होइन थाहा पाइँदैन । त्यसबेलाका राजाले नोकर वा सुसारेहरूलाई काम गरेवापत ‘सुन–चाँदी दिने गरेको रहेछन्’ भन्ने कुरा कतै, कुनै तथ्याङ्कबाट पनि पुष्टि हुँदैन । फेरि, एक सामान्य सुसारेले तलबै छोड्छ भन्ने पनि लाग्दैन । बरु, बँदेल भेटिदिएकोले, र त्यो सुन्दर ठाउँ देखाइदिएर दरबार बनाउने वातावरण बनाइदिएकोले खुशी भएर, उनको माग मागबमोजिम राजाले उनका नाउँमा दरबारको नाम मुसीकोट दरबार गरिदिएको चाहिँ हुन सक्छ । एकजनाले दिएको विवरण सत्यभन्दा टाढा अवश्य छ नै ।

४. चिन्डेबगरछेउमा ज्वालामुखीका कारण पहिरो खसेको भवानीको भनाइ छ । भवानी लेख्छिन्, ‘झन्डै एक घण्टा बिताइयो यहीँ बसी–बसी’ (९१) । त्यसपछि भन्छिन्, ‘अन्ततः पाइला सार्यौँ । पाइला टुङ्गामा टेकिएनन् । कहिले ढुङ्गाका चेपमा चेपिए । कहिले टेकेको ढुङ्गासँगै धर्मराउँदै चिप्लिए…मलाई लाग्छ, हामीले पाच/सात मिनेटभित्र पहिरो छिचोल्यौँ होला’ (९२) ।

तर रञ्जु लेख्छिन् यहाँनेर उनीहरू कुनै ओढारमा बसे । लेख्छिन्, ‘बाटोमास्तिरको ठूलो ढुङ्गामुनिको ओेढारसम्म पुग्यौँ हामी, हातहातमा भएको मोबाइलको लाइट बालेर झोला बिसायौँ । ओढारमुनिको ढुङ्गालाई सम्म पारेर मिलायौँ । टक्र्याकटुक्रुक बस्यौँ अनि मधुरो उज्यालोमा एकअर्काको धमिलो अनुहार नियाल्यौँ…ढुङ्गाकै डरले अगाडि बढ्न नसकेका हामी यामानको ढुङ्गो शिरमाथि राखेर ढुङ्गाकै ओछ्यानमा, ढुङ्गाकै सिरानी राखेर भुसुक्क निदायौँ त्यही मजेत्रो ओढेर’ (७४–७५) । रञ्जुका अनुसार त ओढारमै बसे, निदाए । भवानीको लेखनमा ओढारको कुरै छैन । पहिरोकै छेउमा कोही कसरी यसरी निदाउन सक्छ ? एउटा पाठकलाई अल्मलिनुको विकल्प रहेन ।

५. खदाङबाट त्रिपुराकोट जाने गाडी चढ्यो टोली । अलि पर प्रहरी पोस्ट छ । भवानी भन्छिन्, चालकले उनीहरूलाई त्यहाँ गएर आआफ्नो नाम इन्ट्री गराउन सुझाए । अगाडि भन्छिन्, ‘मैले रञ्जुलाई गाडीमै बस्न भनेँ र आफूचाहिँ नाम इन्ट्री गराउन गएँ’ (९४) । इन्ट्री गराउनुको कारण उनका अनुसार यस्तो छ— ‘यहाँबाट उपल्लो डोल्पा गएका धेरै मान्छे बेपत्ता हुने गरेकाले ती उँभो गएपछि फर्के नफर्केको अभिलेख राख्न पनि हो । अनि, डोल्पाका दुर्लभ जडीबुटी र वन्यजन्तुको अवैध धन्दा रोक्नको लागि पनि हो’ (९५) । नाम टिपाउन एक्लै चेकपोस्ट पुगेकी भवानीलाई त्यहाँ तैनाथ प्रहरीले सुनाएको कुरा हो यो ।

उता रञ्जुको भनाइ अर्कै छ— ‘चढ्नै लाग्दा चालकले झोला जीपमा राख्नुस् अनि तपाईंहरू अलिक अगाडिसम्म हिँडेर जानुहोला भने । जसो भने, त्यसै त गर्नै पर्यो नि…पाँच–सात मिनेटपछि जीप आइपुग्यो, चढ्यौँ । अनि थाहा पाइयो — हामीलाई हिँडाउनुको कारण । चौकी छल्नलाई पो रहेछ । भएको सरकार, प्रशासनको आँखा छलिसकेपछि नभएको सरकारको केके फिक्री, होइन र ? ’ (८०) । तुलना गरौँ । भवानीका अनुसार सबै हिँडेकै होइनन्, केवल उनी गएर सबैको विवरण टिपाएकी हुन् । अर्को कुरा ‘चौकी छल्नलाई’ गरिएकै होइन । सधैँ त्यही गाडी चलाउने चालकले कतिचोटि चौकी छल्न–छलाउन सक्छ त्यो सानो ठाउँमा ?  अब, पाठकले कसलाई पत्याउनु ?

६. भवानी भन्छिन्, चौखादेखि नै उनीहरूसँग एक डोल्पाली महिला लाली मगर पनि थिइन् । उनी बिबिएस पढने विद्यार्थी हुन् र दिदीसँगै बसेर पढ्छिन् (९७) । उता रञ्जु भन्छिन्, लाली मगर खदाङबाट थपिएकी थिइन् र उनी स्वास्थ्य स्वयंसेविका थिइन् (८२) । दुई नियात्राकारमध्येका एकजनाले लाली मगरसँग राम्ररी कुरै गरेनन् भन्ने बुझिन्छ र विवरणलाई सटीक तरिकाले टिपेनन् भन्ने प्रस्ट देखिन्छ । ठगाइमा पर्‌यो विचरा पाठक ।

७. भवानीका अनुसार टोली खलरूपी पुगेर त्यहाँका पदमबहादुर मगरलाई भेटेको दिन उनले टोलीलाई टीका लगाइदिए । प्रभाले उनलाई २० रुपियाँ दिइन् । भवानी लेख्छिन्, ‘…उहाँले पनि जमरा लगाउनुभयो र तत्कालै बीस रुपियाँको नोट पदमबालाई दिन खोज्नुभयो’ (१०७) । यसबाट, यो पैसा जमरा लगाएर दिइएको दक्षिणा थियो भन्ने बुझिन्छ । उता रञ्जुले पनि पृष्ठ ८८ मा प्रभाजीले उनलाई बीस रुपियाँ दिन खोजेको तर उनले अस्वीकार गरेको लेखेको छिन् । तर, पैसा किन दिइएको हो, कारण कतै खुल्दैन । यसले, प्रभाजी स्वभावतः पैसा बाँड्दै पो हिँड्छिन् कि भन्ने भ्रम सिर्जना हुन्छ ।

८. शे–फोक्सुन्डो तालको उत्पत्तिको किंवदन्ती दुवै नियात्राकारले प्रस्तुत गरेका छन् । उनीहरू दुवैका सूचनाको स्रोत एकै जना हुन् – छेवाङ लामा । तर, एउटै स्रोतले दिएको विवरण फरक फरक छ । छेवाङलाई उद्धृत गर्दै भवानी लेख्छिन्, त्यस ठाउँमा कुनै बेला एउटी राक्षसनीले प्रवेश गरेकी थिई, र उसको एउटा हातमा पानीको एउटा बटुको र अर्को हातमा तेलको बटुको थियो (१५७) । उता रञ्जुका अनुसार राक्षसनीले बटुको होइन कमण्डलु बोकेकी थिई (१२७) । एउटै स्रोतबाट लिइएको जानकारीमा यो फरक किन ?  बटुको र कमण्डलु एउटै हो ? लोककथामा यस्ता वस्तुलाई प्रतीकको रूपमा प्रयोग गरिएको हुन्छ । अब, बटुको र कमण्डलुको प्रतीकात्मक अर्थ एउटै हो ? को ढाँटिरहेछ पाठकलाई ?

९. शे–फोक्सुन्डो ताल छेउछाउ एकजना सिडिओको लौरो हराएको छ । कसैले दिएको उपहार भएकोले उनी उक्त लौरो प्राप्त गर्न चाहन्छन् । भवानी भन्छिन्, त्यसै गाउँको एउटा भाइले भेटेर घर लगेको रहेछ । पछि त्यो लौरो लामा होटलका छेवाङले भेटेर, काठमाडौँ घर भएका डोल्पाका सिडिओलाई दिनू भनेर आफूलाई दिए (१६१) । उता रञ्जु भन्छिन्, हराएको लौरो छेवाङ आफैँले तालको छेउमा फेला पारे (१२९) । अब कसको कुरो पत्याउनु, र किन पत्याउनु ?

१०. अर्को प्रसङ्ग छ बाला त्रिपुरासुन्दरीको मन्दिर दर्शनको ।

भवानीका अनुसार मन्दिरको उत्पत्तिको नालीबेली र मन्दिरमा न्यौपाने ब्राह्मणले पूजा गर्ने परम्पारको कथा सुनाउने उनीहरूसँगै हिँडेका हीराचन्द्र धराला थिए (१९४) । भवानी लेख्छिन्,— हीराले भने, ‘काईगाउँ न्यौपानेहरूको बस्ती हो । त्यहाँका न्यौपानेहरू र बालात्रिपुरा सुन्दरीको उत्पत्तिकथा सँगै जोडिएर आउँछन् । कथा ज्यादै रोचक छ सुन्ने हो ?’ (१९४) ।

रञ्जुले यिनलाई ‘घोराला’ भनेकी छिन् (१४६) । उनको भनाइ छ, टोलीलाई मन्दिरको ‘धार्मिक, ऐतिहासिक पृष्ठभूमि र किंवदन्ती’ सुनाएको धरालाले होइन अपितु विष्णु न्यौपानेले हो (१४८) । भन्छिन्, ‘न्यौपानेको आँगनमा गोलघेरा बनाएर बस्यौँ हामी । विष्णुको छेवैमा बसेर म भलाकुसारी गर्न थालेँ । बाला त्रिपुरासुन्दरीका बारेमा उनले सुनाएका धार्मिक ऐतिहासिक र किंवदन्ती ज्यादै रोचक थिए’ (१८४) । यसै कथावाचनको क्रममा उनले त्यहाँ पूजा गर्ने न्यौपानेको कथा सुनाएको उल्लेख छ । तर, भवानीका अनुसार कथाचाहिँ मन्दिरसम्मै पुगेर हीराचन्द्र धरालाले सुनाएका हुन् ।

अब, कुरो कसको पत्याउनु ? कि बहुलाउनु हामी पाठकचाहिँ ?  भवानीले हीराले भनेको कथा सुन्ने आफू ‘एक मात्र श्रोता’ भएको कुरा प्रस्ट लेखेकी छिन् पृष्ठ १९५ मा । उसो भए, रञ्जुले हीराबाट होइन, विष्णु न्यौपानेबाट पो कथा सुनिन् कि ? फेरि एउटै समूहमा त यस्तो नहुनुपर्ने नि ? भवानीले एकजना ‘टीकादत्त न्यौपाने’ का घरमा गएर आलु खाएको लेखेकी छिन् (१९८) । कुनै न्यौपानेले कथा सुनाएको कुरा छैन । उता रञ्जु लेख्छिन्, ‘यही पावन तीर्थस्थलमै रहेछ दुनैमा भेट भएका विष्णु न्यौपानेको घर…उनको ‘चिया पिएर जाने’ आग्रहले खुशी थपिदियो…बाला त्रिपुरासुन्दरीका बारेमा उनले सुनाएका धार्मिक, ऐतिहासिक पृष्ठभूमि र किंवदन्ती ज्यादै रोचक थिए’ (१४८) । भेटिएका टीकादत्त न्यौपानेकी विष्णु? कथा सुनाउने हीराचन्द्र कि, विष्णु, कि को?

११. अब कुरा बाला त्रिपुरासुन्दरीको उत्पत्तिको ।

भवानी भन्छिन्, त्यो मन्दिर रहनुपूर्व त्यस ठाउँमा रहेको अचम्मको ओखल खन्दै जाँदा एक जना कोदालोधारी काजीले ‘अष्टलक्ष्मीको चित्र कुँदिएको तामाको थालीले छोपिएको तामाको अदान (ओदान), अदानमाथि बसाइएको घिउको कराही’ फेला पारेछन् । खन्दाखन्दै कोदालाले छोइएर तामाको थाली भुइँमा खसेछ । कोदालो खन्दै गरेका काजी तत्काल बेहोस भएर ढलेछन् । त्यो थाली भुइँमा खस्नासाथ घिउको कराहीबाट नौ थान पुतली उत्पन्न भएछन् र भुरुरु उडेछन्’ (१९५) ।

अब रञ्जुको कथा सुनौँ । लेख्छिन्— ‘खन्दै जाँदा विष्टहरूले यौटा तामाको कुँडेमा भकभकी उम्लिरहेको घिउ र छेवैमा बलिरहेको घिउको बत्ती भेटेछन् । खन्ने क्रममा त्यहाँबाट नौ वटा पुतली निस्किएछन् । जसमध्ये यौटा पुतलीलाई खन्ने औजार बाउसोले लागेछ । उक्त घाइते पुतली उत्तिखेरै शिलामा परिणत् भइछन् । अरू नौ वटामा तीन वटा पुतली विष्टहरूले समात्न सफल भएछन् । ती समातिएका पुतली पनि उत्तिखेरै शिलामा परिणत भएछन् । तिनै चार पुतलीका शिलालाई विष्टहरूले सानु मन्दिर राखेर पूजाआजा गर्न थालेछन्’ (१४९) ।

अब, कसको कथा पत्याउनु ?   कोदालोले पुतली काटेको हो वा होइन ? पुतली शिला भएको हो कि होइन ? ओदान थियो वा थिएन ? शिला बनेका पुतलीलाई पछि मन्दिरमा स्थापित गरिएको हो कि, ती पहिले उडेर विविध पीठमा पुगेका ?  भ्रमको जालो । पाठक अलमल ।

अर्को कुरा — भवानीका अनुसार ‘तिनै नौवटी देवीमध्ये बाँकीकी वागेश्वरी, जुम्लाकी कनकासुन्दरी, सल्यानकी खैरवाङ भगवती, बैतडीकी रणसैनी त्रिपुरेश्वरी, बाजुराकी बडिमालिका शक्तिपीठको रूपमा स्थापित हुन गएछन्’ (१९५) । उता रञ्जु भन्छिन्, ‘बाँकी पाँच पुतलीमा यौटी नेपालगन्ज पुगिछिन् । नेपालगन्जकी बागेश्वरी देवी तिनै हुन् रे । त्यसैगरी अर्की बाजुरा पुगिछिन्, ती बडिमालिकाको नामले प्रसिद्ध छिन् । अर्की जुम्ला सिँजा कणिकासुन्दरी, अर्की सल्यानकी भगवती र अर्की अर्घाखाँचीकी भगवती हुन् रे’ (१५०) । अब, जुम्लाकी कनकासुन्दरी कि कणिकासुन्दरी ? सल्यानकी खैरवाङ भगवती कि भगवती मात्रै ? भवानीकोमा भएकी बैतडीकी ‘रणसैनी त्रिपुरेश्वरी’ रञ्जुकोमा कहाँ गुम भइन् ? अनि, रञ्जुकोमा आएकी ‘अर्घाखाँचीकी भगवती’ भवानीकोमा कसरी गुम भइन् । यो त भयो उडेर गएका पाँच पुतलीअवतारको कुरो । रहेका चारचाहिँ डोल्पामै स्थापित भए । तिनका नाम, भवानीका अनुसार ‘देवी, बाला, त्रिपुरा र सुन्दरी’ (१९५) । रञ्जुका अनुसार तिनका नाम ‘बाला, त्रिपुरा, सुन्दरी र भगवती’ (१५०) ।

फरक त पर्‌यो नि ? ‘प्राचीन नेपाल’ नामक ग्रन्थमा अध्येता रत्नाकर देवकोटाले लेखेको ‘डोल्पाका प्रसिद्ध त्रिपुरासुन्दरी भगवती’ नामक लेखको पृष्ठ २ र ३ लाई आधार मान्ने हो भने भवानी खतिवडाको विवरण सत्य छ, र रञ्जुको विवरण त्रुटिपूर्ण छ । कसैले अनुरोध गरेमा यो पाठ म उपलब्ध गराउन तयार छु ।

१२. त्रिपुरासुन्दरीकै प्रसङ्गमा हीरालाई उद्धृत गर्दै भवानी भन्छिन्, ‘विक्रम संवत १११४ को समयको कुरा हो, यहाँ डोल्पाको साबिकको त्रिपुराकोट गढीमा विक्रम शाही नामका राजाको दरबार थियो’ (१९४) ।

अब रञ्जु लेख्छिन्, ‘ईशाको सत्रौँ शताब्दीतिरका राजा विक्रम शाहीको राज्य पूर्वमा मुक्तिनाथदेखि पश्चिममा जुम्लासम्म फैलिएको थियो रे’ (१५२) ।

अब, विक्रम शाही कहिलेका राजा ? भवानीले भनेजस्तो, १११४ मै उनको नामको दरबार थियो भने, उनको समय १११४ पूर्वको हुनुपर्छ । रञ्जुको कुरा पत्याउने हो भने ईशाको सत्रौँ शताब्दी । फरक पर्यो कम्तीमा पाँच शताब्दीको । पाठकले कसलाई पत्याउनु ?  के भन्नु ? फेरि, यहाँ ईश्वी संवतको कुरा असान्दर्भिक पनि छ । र, रञ्जुले ‘१११४ तिर अहिलेको यो मन्दिर भएको ठाउँमा यौटा धान कुट्ने ओखल थियो अरे…’ (१४९) पनि भनेकी छिन् । मिति र संवत यसरी बाझिँदा पाठकमाथि ठूलो अन्याय भएको छ ।

१२. छेप्कादेखि अगाडिको यात्रामा सँगसँगै हिँडेका युवाहरूको एउटा हूल पनि छ । त्यसमा दम्पतीजस्ता लाग्ने एक युवक र युवती पनि छन् । भवानी भन्छिन्, केटाले केटीलाई, र केटीले पनि केटालाई ‘भेलपुरी’ भनेर बोलाउँछन्’ (१३५) । उता रञ्जु चैँ भन्छिन्, ‘भेल केटा, पुरी केटी’ (९८) । पाठक अल्मलिनुको विकल्प छ त ?

१३. ठाउँका नामै फरक फरक छन् । भवानीले दिएका नाम हुन्— बगारा, शूलीगाड, कागने, करबगाड, पाल शेनतेन थासुङ छोलिङ गुम्बा आदि । रञ्जुले दिएका नाम हुन् बगरा, सुलीगाड, कागेनी, करपगाड, थासुङ चोलिङ गुम्बा । कसका नाम पत्याउनु ?

० ० ० ०

अन्य कमी–कमजोरी

भवानीको लेखनमा कतिपय कमजोरी देखिन्छन् । उनी बाटोमा आएका सबै सानाठूला गाउँसरहको नाम टिपूँ र पाठकको सामान्य ज्ञान बढाऊँ भन्ने सोच्छिन् । तर, त्यस्तो ‘इन्साइक्लोपैडिक डिटेलिङ’ नियात्रामा चाहिँदैन । कुनै पडाउ, बिसौनी, गाउँ वा सहरमा बिर्सनै नमिल्ने, अति नै उल्लेखनीय वा विशिष्ट घटना घट्यो, दृश्य देखियो, मान्छे भेटियो वा सन्दर्भ भेट्टाइयो भने त्यसलाई टिप्ने हो ।

भवानी कतिपय साहित्यकारहरूबाट ज्यादै प्रभावित छिन् । त्यो पाठकलाई थाहा छ । उनको कृतिमा तिनै साहित्यकारका कृति वा भनाइको बढी उल्लेख वा उद्धरण आउनाले उनको आलोचना गर्ने एउटा आधार दिन्छ । उनको लेखनमा यस कुरालाई न्यूनीकरण गर्दै लानु, अन्य लेखकलाई पनि उद्धृत गर्नु र आफ्नै शैलीलाई बढी खार्दै लानु अति आवश्यक देखिन्छ । गाडीबाट देखिएका प्रत्येक देवीथान र देउतालाई श्रद्धाले ढोगेको कुरा गर्छिन्, जसलाई ‘अलि बढी भयो’ भन्न सकिन्छ ।

कतिपय पात्रको भाषा उनीहरूको स्तरसम्म त देखिँदैन । ‘मदारीसम्मुख परेको सर्पझैँ’ जस्ता वाक्यांश मिस्फिट लाग्छन् । कतै ‘गढतीर’ कतै ‘गडतीर’ नहुनुपर्ने । एक ठाउँ भर्तृहरिको नीतिशतकको कुरो छ, तर स्रोतसन्दर्भ छैन । मूल श्लोक पनि उद्धृत छैन । छेलिङ गुम्बाका सन्दर्भमा लेख्छिन्, ‘यस गुम्बामा अन्यत्रका गुम्बाजस्तो रौनक देखिएन । धजापताकाको झिलीमिली छन्’ (१७०) । यहाँ, झिलीमिली छ भनेको हो कि छैन भनेको हो, बुझिएन । ‘छन्’ र तथ्यगत र व्याकरणगत दृष्टिले पनि मिल्दैन । अर्थमा भने ठूलै अनर्थ हुन गएको छ ।

रञ्जुको लेखनमा पनि यस्तै कमजोरी देखिन्छन् । भूमिकामा आफूलाई किताबको लती बताउने उनले तिनै थोरै लेखकहरूका रचनांशलाई उद्धृत गरेकी छिन्, जसको सान्निध्यमा उनी रहन्छिन्, काम गर्छिन् । यस कुराले उनको अध्ययन व्यापक छ भन्ने कुरा देखाउँदैन ।

ठाउँ विशेषको वर्णनमा उनलाई ज्यादै हतारो भएको बुझिन्छ । उनले दिएको मुसीकोट दरबार र बाला त्रिपुरासुन्दरीको उद्भवको विवरण ‘कर्सरी’ मात्रै हो । यिनी तथ्याङ्कलाई पनि खासै रुजु गर्दिनन् भन्ने त माथि नै प्रमाणित भइसकेको छ । सामूहिक यात्रा हो, तर रञ्जुको लेखन ज्यादै ‘म’ केन्द्रित देखिन्छ, मानौँ उनी एक्लै यात्रामा निस्किएकी थिइन् । ‘बेमौसमा देश खोज्न हिँडेकी म’ (५०), ‘पहिरोले थोरै बाटो त मेट्यो तर तुरुन्तै बाटो बनाइदिन सक्ने औजार — मभित्रको ‘शक्ति’ मेट्न सकेन । पार गरेँ मैले पहिरो’ (६३), ‘वाह ! सगौरव मैले डोल्पा टेकेँ’ (७४), ‘पाँच बजे पूर्ण उज्यालो नहुँदै छेप्का छाड्ने निर्णय लिएँ’ (१०७), ‘म पालामबाट उकालिँदै गएँ’ (११५), ‘साँच्चै पुगेँ म शे–फोक्सुण्डो’ (१२२) जस्ता वाक्य पढ्दा लाग्छ, यो कुनै सामूहिक यात्रा नभएर उनको एकल यात्रा थियो जस्तो लाग्छ । सामूहिक यात्राले समूहिकता अँगाल्नुपर्छ । सहयात्रीहरूलाई उसै गरी समेट्न सक्नुपर्छ ।

उनले जाजरकोटमा पाइने पत्थरमा ‘तुमोलिङ’ पनि सामेल गरेकी छिन्, तर त्यस्तो कुनै पत्थर हुँदैन । एकठाउँ भन्छिन्, ‘शरद्सँग बिदा हुँदै हेलिकप्टरबाट ल्याएका जीप चढेर हामी पनि लाग्यौँ त्रिपुराकोट’ (१४४) । यसले, डोल्पामा जीपलाई हेलिकप्टरले बोकेर लान्छ भन्ने भ्रम उत्पन्न हुन्छ । यो वास्तविकता हुनै सक्दैन । सायद, जीपका पार्ट्सलाई लगेर, उता जोडजाड पारेको हुनुपर्छ, तर रञ्जुको भनाइमा यो प्रस्टता छैन ।

फेरि, फर्कंदा दुनै बजारमा, कृषि विकास कार्यालयको क्वाटरमा, त्यहाँका प्रमुख शरद् लामाले अतिथ्य दिएको कुरा गर्छिन्, तर यो सम्पर्क कसरी भयो, के र कुन कारणले त्यहाँ पाहुना हुन पुगेँ, अत्तोपत्तो पाइँदैन । सूचना पर्याप्त छैन । फेरि, सरकारी जीप नै चढेर त्रिपुराकोट नजानुपर्ने रञ्जुजत्तिकी स्वाभिमानी लेखिकाले, जो यहाँको सिडिओका सम्बन्धमा लेख्छिन्, ‘रातमा समेत प्लेनको टिकट मिलाइदिन अनुनय–विनय गर्नेहरूको फोन उठाउनँदै भ्याई–नभ्याई हुन्छ…बिचरा, कति वेला जाओस् यिनको ध्यान डोल्पाको व्यवस्थापनमा !’ तर, उनले पनि सहयोग गरेको भन्दा बोझै थपेको देखियो नि, देखिएन र?

पृष्ठ १४६ मा ‘त्रिपुराकोटका कर्मचारी सङ्गठनका साथीहरू हाम्रै प्रतीक्षामा हुनुहुँदो रहेछ’ भनिएको छ, तर कुन कर्मचारी सङ्गठन भन्ने खुल्दैन । उनीहरू कसका र के कारणले प्रतीक्षामा बसे, थाहा पाइँदैन । खलरूपीका पदमबाले बर्दिया राष्ट्रिय निकुञ्ज गर्दै पच्चीस वर्ष सेवा गरेको बताउँछिन् (८८), तर उनी सैनिक थिए वा वन विभागका कर्मचारी, खुल्दैन ।

साथीहरूको फोटोप्रतिको अनुरागले यात्रा झन्झटिलो बनायो भन्ने रञ्जु, त्यसपछि पनि आफूले पटक पटक फोटो खिचेको उल्लेख गर्छिन् र आफ्नो कुरो आफैँ काट्छिन् । पृष्ठ १०० मा भन्छिन्, ‘सहयात्रीहरूको फोटो खिचाउने अतिशय आकाङ्क्षाले मभित्र बचेखुचेको फोटोको रहर मरेतुल्य भइरहेको थियो ।’ तर, १३६ मा लेख्छिन्, ‘शे–फोक्सुण्डोसँग मलाई प्रेमिल सम्बन्ध गाँस्नु थियो, गाँसे । प्रशस्तै फोटो खिच्नु थियो, खिचेँ ।’ फेरि पृष्ठ १३८ मा ‘डोल्पाली घोडा चढेर शे–फोक्सुण्डो किनारमा फोटो खिच्ने सानु रहर पूरा गरिहाल्यौँ हामीले ।’ आफैँले कायम गर्न नसक्ने घोषणा किन गर्नु ? आखिर, लामो र कठिन यात्रामा जाँदा फोटो खिच्नुमा के खराबी छ ? यो सबैले गर्छन् र गर्नु पनि पर्छ । खलरूपीका पदमबाप्रतिको रञ्जुको धारणा विरोधाभासी छ ।

अन्तिम टिप्पणी — बाटोमा भरअबरमा सहयोग गर्ने तथा अप्ठ्यारोमा वास दिनेहरूप्रति खासै कृतज्ञ पनि देखिन्नन् रञ्जु । कतै पनि त्यो उदार कृतज्ञता पढ्न पाइएन ।

० ० ० ० 

नमागिएको सल्लाह

केही नमागिएका सल्लाह पनि राखिहालूँ ।

सल्लाह नम्बर १ — समाज, सरकार र प्रशासनलाई ‘समान्यीकृत आँखा’ ले नहेरौँ । उदाहरणलाई विशिष्टीकृत गरौँ । सरकार भनिसक्दा सबै नकारात्मक पनि हुँदैनन् । कर्मचारी पनि सबै त्यस्ता हुँदैनन् ।

सल्लाह नम्बर २ — सामूहिक यात्रामा आधारित कृति हो भने पाण्डुलिपिलाई एकअर्कामाझ बाँडेर पढौँ, र बाझिएका कुरा मिलाऔँ । आधिकारिक लेखहरू पाइएलान् । खोजौँ, भिडाऔँ ।

सल्लाह नम्बर ३ — सत्य-तथ्यलाई बिगार्नु हुँदैन । कुनै सांस्कृतिक, भौगोलिक, ऐतिहासिक वा वैज्ञानिक तथ्य मान्छेपिच्छे फरक फरक हुँदैन । फरक पर्यो भने हाम्रो अध्ययनको कमजोरी हो, हतारो हो । त्यसो नगरौँ ।

सल्लाह नम्बर ४ — कुनै ठाउँको अतिशयोक्तिपूर्ण सौन्दर्यवर्णन गर्न यात्रा गर्नेलाई पनि आउँछ, नगर्नेलाई पनि आउँछ । वास्तवमा यो एउटा कवित्वपूर्ण बँठ्याइँ हो, र त्यो पोल पाठकले बुझिसकेका छन् । त्यस्ता वर्णनमा अलङ्कार कम, र अविष्कार बढी राखौँ ।

सल्लाह नम्बर ५ (र अन्तिम सल्लाह पनि) — भँडास, कुण्ठा, घरेलु कलह, कसैको अतिशयोक्तिपूर्ण प्रशंसा, असन्तुष्टि, कृतघ्नता, नकारात्मकता — यी भाव नियात्राको विधागत धर्मका लागि ज्यादै हानीकारक छन् । हामीमा यी भाव धेरै छन् भने, मैलेजस्तो, पीपलबोटे निबन्धतिर लागौँ, जति पनि हिर्काउन पाइन्छ, जसलाई पनि ।

अँ, यी दुई कृतिका बारेमा भन्नुपर्ने अझै एक दर्जनजति कुरा छन् । तर अब भयो, भन्दिनँ । यसै विधाको आधिकारिक संस्था भएका नाताले नियात्रा समाज नेपालले सूक्ष्म दृष्टिले पढोस्, तुलना गरोस् र भनोस् बाँकी कुरा । यस्तोमा बोलेन भने कस्तोमा बोल्ने उसले ? यसैको कार्यक्षेत्रभित्रबाट आएका भ्रामक र बेमेल कुराले साहित्यको हित कसरी गर्छ, हामीलाई देखाइदेओस् । जवाफ देओस् । अस्तु ।