मेरो हातमा ‘जीवन्त सम्बन्ध’ पुस्तक परेपछि तलबल थामी नसक्नु भएको थियो । पढ्न सुरु गरिहालेँ । पुस्तक पढ्दै जाँदा म फकत पाठन रहेन, लेखक, डा. ओम मूर्ति अनिलको सहयात्री भइदिएँ ।

म घरी लेखकका पितामा आफ्ना दिवङ्गत पितालाई खोज्न बाध्य हुन्थे, घरी लेखकभित्र चल्दै गरेको अन्तर्द्वन्द्वमा आफू स्वयम् पनि सामेल भएको अनुभव गर्थे । घरी लेखककी आमाको अवस्थासित आफ्नी आमाको अवस्था दाँज्न बाध्य हुन्थे । घरी आफ्ना पुराना सङ्घर्षका दिनको संस्मरणमा हराउँथे, घरी आफ्नो वृद्धावस्थाको कल्पना गर्न थाल्थे, घरी सन्तान तथा आफन्तहरूबारे सोच्न बाध्य हुन्थे, घरी आफ्ना आधाअपुरा कामबारे गम्न थाल्थे, घरी कुनै विश्वासपात्रबाट पाएको पीडा तरोताज भएर आउँथे । पुस्तकको अन्तिम पानामा नपुग्दासम्म म लेखकको दुनियाँमा हराइरहे । कुशल लेखनका विभिन्न लक्षणमध्ये एक दमदार लक्षण यो पनि हो ।

जीवन्त सम्बन्ध

जीवन्त सम्बन्ध

“कोठा बन्द गरेर अरूले नदेख्ने गरी म एक्लै सोचमा लिन हुन्थे । किनकि त्यो मेरो निजी लडाइँ थियो । त्यहाँ सहानुभूतिको ठाउँ थिएन । घण्टौँसम्म मेरा आँखाबाट आँसु बग्थे ।” यी भाव लेखकले पुस्तकमा आफ्ना स्वर्गीय पितालाई सम्झिँदै प्रकट गरेका छन् । यस्ता मन नै निमोठिने भावहरू पुस्तकभित्र सयौँ ठाउँमा प्रकट गरिएका छन् ।

पढ्दै गर्दा मेरा आँखाअगाडि समेत मेरा स्वर्गीय पिताको अनुहार बारम्बार प्रकट भइरह्यो, आँखा टिलपिल भइरहे । आफूले गर्न नसकेका पितासित जोडिएका कतिपय अपुरा कामहरूबारे सम्झिन थालेँ । एक दुई पटक त अनुमति नमाग्दै नुनिला थोपा पनि झरे । मनमनै गुन्न बाध्य भए, जीवन्त सम्बन्ध पढ्ने अन्य पाठकको कस्तो हविगत भएको होला । अनि लेखक स्वयम् त भक्कानिएकै होलान् । पक्का होलान्, त्यो पनि पटकपटक । त्यही भएर होला, लेखकले आभारमा ‘आँसुलाई मसी बनाएर मैले पुस्तक लेखेँ’ भनेका हुन् । हुन पनि हो, हरेक पानामा आँसु, आवेग, बिछोड र सम्झनाको आँधीबेहरी नै छ ।

पुस्तकमा एक ठाउँ लेखकले लेखेका छन्, “संसारमा सबैभन्दा आश्चर्य कुरा के हो भनेर यक्षले प्रश्न गर्दा युधिष्ठिरले फर्काउँछन्- संसारमा हरेक पल मानिसले आफ्नो आँखाअगाडि प्राणीको मृत्यु देखिराखेको हुन्छ । उसको पनि एक दिन मृत्यु निश्चित छ । तर उसले मृत्युबारे कल्पना कहिल्यै कल्पना गर्दैन ।

यसभन्दा ठूलो संसारको आश्चर्य के हुन सक्छ ?” विपश्यनाका गुरुजी, श्रद्धेय सत्यनारायण गोयन्का भन्नु हुन्छ, “मृत्यु त शाश्वत सत्य हो, यसलाई अनिष्ट मान्नु नै हाम्रो ठूलो दुर्बलता हो ।” उनी स्वयम्ले शरीर त्याग्दा उनको अनुहारमा भय अथवा पिडाको झिनो अंश पनि थिएन ।  त्यस्तो सजग, सहज, सचेत मृत्युवरण गर्ने प्रज्ञावान् व्यक्तित्व विरलै हुन्छन् । लेखकले पनि महान् व्यक्तित्वहरू मृत्युवरणको चर्चा गरेका छन् । तथापि आफन्त गुमाउनुको पीडाबाट उठ्न त्यति सजिलो रहेनछ भन्ने पनि भाव प्रकट गरेका छन् । समयले घाउ दिन्छ भने समयले मलहम पनि लगाउँदो रैछ भन्ने सन्देश पनि दिन खोजेका छन् ।

पुस्तकमा एक ठाउँ लेखिएको छ “अनि मैले आमालाई भनेँ, आमा, हजार कोसिस गर्दा पनि बुबाले भगवान्को काख रोज्नुभयो ।” त्यो क्षणबाट म पनि गुज्रिसकेको छु, आफ्नो मनको आवेगलाई लुकाएर यसरी बोल्न सक्नु चानचुने काम होइन रै’छ । ‘त्यो क्षणको  कल्पना गर्दा मेरो आज पनि आङ सिरिङ्ग हुन्छ । यस्तो कठिन क्षणमा गर्ने किन ? के ? कसरी ? जस्ता हजारौँ प्रश्नवाचक चिन्ह मगजमा उम्रिन थाल्छन् । जवाफ दिने कोही हुँदैन ।’ यसबारे पुस्तकमा बिस्तारपूर्वक सम्झाउने प्रयास गरिएको छ । यस पुस्तकमा पुत्र-धर्म, पति-धर्म, पिता-धर्म, चिकित्सक-धर्म र सामाजिक-धर्म आदिबारे ठाउँठाउँमा चर्चा झिकिएको छ । साथसाथै हरेक धर्मको निर्वहन गर्दागर्दै ठूलै धर्मसङ्कटबाट गुज्रिनु परेको अवस्थाबारे पनि बडो रोचक ढङ्गले वर्णन गरिएको छ । लेखकलाई मृत्यु भोज ठीक लाग्दैन, सामाजिक-धर्मको निर्वहन गर्दागर्दै नरुचाएको काम गर्न बाध्य हुन्छन् । झुठो बोल्न चाहँदैनन्, तर कसैको ज्यान जोगाउने मनसायले बोल्न बाध्य हुन्छन् ।

मेरो विचारमा जीवन भनेको आरोह-अवरोह र घुम्तीले भरिएको एक यात्रा त हो । यात्रा सकिएको हुन्छ, तर गोडाका छाप जसको तस नै रहन्छन् । यो पुस्तकमा त्यही छापलाई लिपिबद्ध गरिएको छ । लिपिबद्ध गर्दैगर्दा लेखक बीचबीचमा चिकित्सकको रूप धारण गर्छन्, कहिलेकाहीँ अध्यात्मका विद्यार्थी भइदिन्छन् । अनेक ठाउँमा उनले पौराणिक ग्रन्थका कुराहरू पनि झिकेका छन् ।

कतिपय ठाउँमा लेखक मान्छेको भावनात्मक अवस्था र सोबाट हुने शारीरिक प्रभावबारे सरल पारामा सम्झाउने प्रयास गरेका छन् । आफ्ना सङ्घर्षका कथाहरू पनि सुनाएका छन् । बिहेअगाडिको प्रेमिल सम्बन्धबारे पनि रोचक ढङ्गले चर्चा झिकेका छन् । चिकित्सक होउन् अथवा उनका सहायक, उनीहरूभित्र पनि संवेदना हुन्छ, चिकित्साकाे क्रममा मरिजको खुसीमा रमाउँछन् भने मरिजलाई अप्ठेरो पर्यो भने रुन्छन् पनि । लेखकले ठाउँठाउँमा आञ्चलिक शब्दहरू प्रयोग गरेका छन् । मैथिली भाषीसँगको संवादलाई मैथिलीमा समेत राखिदिएका भए लेखन झनै स्वादिलो हुन्थ्यो । खैर, कुल मिलाएर यो पुस्तकमार्फत लेखकले आफूभित्र संरक्षित कुराहरूमध्ये सक्दो बढीसे  बढी कुरा पाठकसम्म ल्याउने प्रयासमा सफल भएका छन् ।

लेखकले अनेक गम्भीर विषयउपर वैचारिक शल्यक्रिया गरेका छन् । पुराना पुस्ताको जीवन उत्तरार्द्धतिर  लाग्दा उनीहरु आफूलाई असुरक्षित, एक्लो र उपेक्षित  किन अनुभव गर्न थाल्छन् ? पुस्तान्तरणको खाडलका कारण के के हुन सक्छन् ? खाडल पुर्ने उपाय के के हुन सक्छ ? यावत गहन विषयउपर लेखकले बडो सटिक र सरल दृष्टान्तका साथ जवाफ दिने प्रयास गरेका छन् । त्यति मात्र होइन, ‘असाध्य किसिमका रोगबाट गल्दै गएका मानिसभित्र शारीरिक मात्र होइन, भावनात्मक समस्याहरू देखा पर्न सक्छ । त्यतिबेला आफन्तले धैर्यधारण मात्र गर्ने होइन, रोगी मान्छेलाई भावनात्मक रूपमा आत्मबल दिन सक्नु पर्छ’ भन्ने कुरो चिकित्सकीय दृष्टिकोणबाट  समेत लेखकले सम्झाउने प्रयास गरेका छन् ।

निचोडबारे कुरो गर्ने हो भने लेखकले नयाँ पुस्तालाई सन्देश दिन खोजेका छन्, “पुराना पुस्तासँग ज्ञानको भण्डार हुन्छ, जति सक्छौ उनीहरूको कन्थो सुन । उनीहरूसँग माया र आशीर्वचनको खजाना हुन्छ, जति सक्छौ पाकाहरूको न्यानो सानिध्यतामा समय बिताऊ । उनीहरू जुन जमानामा हुर्किएका थिए, त्यो जमानाको हिसाबले उनको मनोभाव बुझ्ने प्रयास गर । उनीहरूका अपुरा अकाङ्क्षा के के हुन्, बुझ्ने प्रयास गर, जति सक्छौ, पुरा गर । उनीहरूको बृद्धहठलाई अन्यथा नलेऊ ।

आज उनीहरू जुन अवस्थामा छन्, भोलि म पनि त्यही पुग्दै छु- सदैव हेक्का राख्नू । औषधीले जिउको घाउ ठीक हुन सक्छ, मनको घाउलाई ठीक पार्न माया, सानिध्यता र परस्पर संवाद नै चाहिन्छ । फोटोअगाडि उभिएर पछुतो मनाउ गर्नुभन्दा आज नै आफ्नो व्यवहारलाई सच्याऊ । भोलि शब्दको भरमा नबस, जे गर्नु छ, आजै गरिहाल । कसैसित क्षमा माग्न छुटाएको छौ भने आज नै त्यो काम सक्याइ हाल । कसैप्रति आभारी छौ भने आज नै कृतज्ञता जाहेर गरी हाल ।”

प्रतिक्रिया लेख्दै गर्दा मलाई साहिर लुधियानवीको एउटा गीत कानमा सुसाइरह्यो, “संसार की हर शय का इतना ही फसाना है, एक धुँध से आना है, एक धुँध में जाना है…।”

खैर, तत्कालको लागि विट मार्ने बेला भयो । जाँदाजाँदै मैले ठोकुवा गरिहाले, “जीवन्त सम्बन्ध पढ्नै पर्ने पुस्तक हो । पुराना र नयाँ, दुवै पुस्ताले ।”