ज्येष्ठ नागरिक अभियन्ता मित्र श्रीधर लामिछानेज्यूद्वारा लिखित ‘सहज बुढ्यौली’ नामक पुस्तक हालसालै प्रकाशित भएको छ। यस पुस्तकको लोकार्पण महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री माननीय महेन्द्रकुमार राय यादवबाट भएको हो।

संयोगले यो पुस्तकको लोकार्पण कार्यक्रममा यसका पङ्क्तिकारलाई पनि सहभागी हुने  अवसर मिल्यो। भक्तपुर स्थित सिद्धि स्मृति प्रतिष्ठानको सभा कक्षमा प्रतिष्ठानका सञ्चालक श्री श्याम धौभढेलको सभापतित्वमा वरिष्ठ चिकित्सक  डा. गौरीशंकर लाल दास एवं वरिष्ठ पत्रकार श्री भैरव रिसालको समुपस्थितले कार्यक्रमको गरिमा झन् उम्दा भएको थियो। नयाँ वर्ष २०८० को आगमनसँगै यो पुस्तकको लोकार्पण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएपश्चात् एउटा पुस्तक किनेर मैले पनि घर ल्याएँ। पुस्तक रुचिपूर्वक आद्योपान्त मैले पढेँ र पढेपछि लेखकलाई पुस्तकका बारेमा आफूलाई मनमा लागेका दुई/चार कुरा पस्कने रहर भयो, केही भन्ने मैले सोच बनाएँ र त्यही म यहाँ लेख्दै छु-

“सहज बुढ्यौली”पुस्तकको नाम सुन्दा-पढ्दा सायद लाग्न सक्छ कतिपय युवा पिँढीलाई कि बुढ्यौली बाल, युवा र वयस्कभन्दा सहज हुने रहेछ भन्ठान्न पनि सक्छ। तर यस पुस्तकमा  बुढ्यौली सहज हुँदैन, सहजताका लागि के गर्न पर्छ के गर्न हुँदैन भन्ने व्यावहारिक पक्षको ज्ञान दिने यो पुस्तकको वास्तविक लक्ष्य हो- मैले बुझेको।

मानवीय जीवन यात्रामा सबैभन्दा विकट, असहज, बोझिलो, झन्झटिलो, दुखदायी एवं कष्टकर जीवनगाथा  हुने भएकाले यो अवस्थालाई कसरी सहज, सक्रिय, स्वस्थ, व्यस्त, मस्त, चुस्त र दुरुस्त राख्न सकिन्छ भन्ने यावत अनुभवहरूको सँगालो र दृष्टान्त यस भित्र समेटिएका छन् । यस पुस्तकमा बाह्र वटा विषय शीर्षकमा प्रस्तुत ज्येष्ठ नागरिकहरूको सामाजिक सन्दर्भ, उनीहरूको कथा व्यथा, स्वास्थ्य, बुढ्यौलीलाई सहज हुने संरचना, आरोग्यता, परिवार तथा स्याहारकर्ताहरूको दायित्व ,आत्मनिर्भरता,सरोकारवाला  र राज्यको दायित्व ,बुढ्यौलीमा देश,विदेशको यात्रा एवं ज्येष्ठ नागरिकप्रति  देखिने सामाजिक दुर्व्यवहार जस्ता महत्वपूर्ण कुराहरू यसमा भेटिन्छन् ।

साँच्चै भन्ने हो भने यो पुस्तक राज्यका ज्येष्ठ नागरिकहरूका लागि नीति निर्माण गर्न, ज्येष्ठ  नागरिकको हक अधिकार र सुख सुविधाको  अभियानमा समर्पित अभियन्ता,घर परिवारका सदस्यहरूका लागि बुढ्यौलीलाई कसरी सहज बनाउन सिकाउने, ज्येष्ठ नागरिकप्रति युवा, बालबालिका तथा सहयोग गर्ने व्यक्तिका लागि यो पुस्तक निकै राम्रो कोशे ढुङ्गा वा मार्ग निर्देशक बन्न सक्छ भन्ने कुरामा म विश्वस्त भएको छु।

यो किताब पढिसके पछि आफू पनि बुढ्यौलीको सँघार नाघेर अघि बढ्दै गरेको उमेरको भएकाले कसरी आफ्नो बाँकी जीवनलाई अझ बढी सक्रिय जीवनयापन गर्दै के कस्ता आहार, विचार र व्यवहारलाई सकारात्मक तरिकाले रूपान्तरण  गर्ने भन्ने विषयमा सचेतता र लगनशीलताको प्रखर आत्मबोध भएको छ। मलाई लाग्छ हर व्यक्तिले  “जीवनमा उमेर थप्ने होइन, बरु उमेरमा जीवन थप्नु पर्छ।”

यो पुस्तकको नाम “सहज बुढ्यौली” भए पनि “सक्रिय बुढ्यौली” जीवन यापन गर्नुपर्ने उद्घोष गरिरहेको महसुस भएको छ मलाई। हो यही सन्देश प्रवाह गरिरहेछ यो पुस्तकले। सबै खाले उमेरका पाठकले यो पुस्तक एक पटक अध्ययन गर्दा कुनै किसिमले पछुताउन नपर्ने र पढेबापत आफ्नो पाको उमेरमा जीवन यात्रालाई सहज बनाउन के कस्तो अवस्थाको आवश्यकता पर्ने, कुन कुन कुराको जोहो गर्न पर्ने रहेछ भन्ने कुरामा पनि यसले सहयोग गर्न मद्दत गर्नेछ। साथै पाको उमेरमा भावी दिनका लागि कस्तो पूर्व तयारीको आवश्यकता पर्छ त्यसको बारेमा पनि निकै राम्रो व्यावहारिक ज्ञान र मार्ग निर्देश  हुन सक्ने कुरामा पनि म ढुक्क छु।

ज्येष्ठ  नागरिकको सवालमा नेपाली भाषामा यति सरल र बोधगम्य भाषाशैलीमा बहुपक्षीय विषयवस्तुलाई सँगालेर लेखिएको पुस्तक सम्भवतः यो नै जेठो पुस्तक हो। यसका लागि पुस्तकका लेखक त हुँदै हुनुभयो, यसका अतिरिक्त सम्पादक श्री भण्डारीजी पनि धन्यवादको सुपात्र हुनुहुन्छ भन्ने आँट  आयो मलाई- धन्यवाद दुवैलाई । वास्तवमा राष्ट्रिय ज्येष्ठ  नागरिक महासङ्घ मार्फत ज्येष्ठ  नागरिक जिल्ला सङ्घ गठन भएका जिलाहरुमा कम्तीमा तीन-तीन प्रति यो पुस्तक वितरण हुन सके ज्येष्ठ  नागरिकहरूले यसबाट निकै उपलब्धि हासिल गर्न सक्ने थिए भन्ने विचार पनि म यहाँ व्यक्त गर्न चाहन्छु अनि यसमा सम्बद्ध मन्त्रालयको ध्यान आकृष्ट  भइदिए उत्तम हुने थियो भन्ने लाग्छ।यो पुस्तकमा थप्नु पर्ने र कटाउनु पर्ने विषय पनि हाललाई मैले केही देखेको छैन, २६४ पृष्ठको यो पुस्तक आफैमा पूर्ण नै छ।

पुस्तक  भित्र समेटिएका एक दर्जन सामग्री मैले विस्तारपूर्वक पछाडिबाट पढ्दै आएँ र पछि मात्र पुस्तकका बारेमा लेखिएका अन्य महानुभावहरूको मन्तव्य र भूमिका पढेँ।

यो किताब कसो कसो यसरी पढ्ने चाहना भयो, रमाइलै लाग्यो। वास्तवमा विषय क्रमलाई नछुट्ट्याई लेखिएको भए मेरो पढ्ने ढङ्ग गलत हुने हो, तर अलग अलग शीर्षकमा भिन्न भिन्न विषयमा वर्णन गरिएको र प्रत्येक  शीर्षक आफैमा पूर्ण भएकाले मलाई पछाडिबाट पढ्दा पनि कुनै क्रमभङ्ग भएको कतै पनि महसुस भएन, बरु आधा पुस्तक पढिसक्दा कुनै अर्को आधा पुस्तक पढ्ने  पाठक भेट भएको भए उहाँले किताब बारे अगाडिको कुरा गर्नुहुँदा म पछाडिको कुरा कोट्याउँथेँ र मैले चाहिँ आधा पढ्दा नै  सबै किताब पढिसक्या जस्तो भान पर्ने सम्भावना पनि थियो।

यी केही यो पुस्तकको बारेमा मलाई लागेका प्रतिक्रिया लेख्दै गर्दा यो पुस्तक खासगरी हाम्रो देशको सन्दर्भमा साठी वर्ष  पुगेका नागरिकलाई ज्येष्ठ  नागरिक ठहर गरिएकोमा प्रत्येक ज्येष्ठ नागरिकले यो पुस्तक फेला पारेर एक पटक मात्र होइन आफूलाई मन पर्ने वा आवश्यक पर्ने विषय क्रमको छनोट गरी बारम्बार पढ्न र पुस्तकलाई आफ्नै वरिपरि  सहजै खोजेको बेला फेला पार्न सकिने गरी राख्नुहुन पनि एक सरल पाठकको नाताले आग्रह  गर्न चाहन्छु।

यो किताब त्यति काम लाग्ने छ – ज्येष्ठ नागरिकहरूका लागि। अब मेरा कुराहरूलाई बिट  मार्ने क्रममा मैले यस पुस्तकका लेखक श्रीधर लामिछानेजीलाई सुरुमा मित्र भनेर सम्बोधन गरेर यो किताबको विज्ञापन र प्रचार प्रसार गरिरहेको छैन। तर एक पटक पढ्ने कुनै  पनि उमेरका पाठकले स्वयं अनुभूत गर्ने, आत्मसात गर्ने र ज्येष्ठ  नागरिकका निम्ति आवश्यक बौद्धिक खुराक रहेछ यो पुस्तक भन्ठान्नेछन् । मलाई यो किताब कसो कसो मन पर्‍यो, हुनसक्छ यो मेरो उमेरमैत्री भएर पनि होला। म भन्छु- मलाई मन पर्‍यो  त्यसैले अरूहरूलाई पनि मन पर्नै पर्छ भन्ने छैन ।

जीवन यात्राको क्रममा कुनै दुर्घटना नभै दीर्घ जीवन यापन गर्नेहरू समय चक्र अनुरूप बुढ्यौली या पाको जीवन जिउनु पर्ने त अनिवार्य सर्त तथा आर्य सत्य भएकाले आफ्ना मनले खाने अन्य साथीभाइ, छरछिमेकी, पुराना मित्र वा पढ्न रुचि हुने कसैलाई मिल्छ भने सौगातको रूपमा, कसैको  विवाहोत्सव(Anniversary)मा  बौद्धिक उपहारको रूपमा हस्तान्तरण गर्नु भए प उपहार दिइने वस्तुमा सकारात्मक परिवर्तन आई नयाँ  थालनीको सुरुवात हुन सक्छ भन्ने कुरामा म आशावादी छु।

जय होस् ! इति।