केही साताअघि हुनुपर्छ, नेपालमा सीबी गहतराज हो कि यस्तै केही नाम भएका इसाईहरूका नेतालाई एउटा टेलिभिजन संवादमा मैले देखेको थिएँ । उनीसँग संवाद गर्ने पत्रकारले चर्को स्वरमा प्रश्नहरू पोखेर ‘नेपालमा इसाईहरूले समाजको संस्कृति र सभ्यताको आधार भत्काएको’ आरोप लगाइरहेका थिए ! पत्रकार भने कुनै अन्तर्राष्ट्रिय व्यापारिक संस्थाको कर्मचारीझैँ सुट-टाइमा समेटिएर कुर्सीमा बसेका थिए ।
यस्तैमा गहतराजले पत्रकारतिरै औँलो सोझ्याएर प्रतिप्रश्न गरे, “यो तपाईंले जुन वस्त्र लाउनुभएको छ नि त्यो कुन संस्कृतिबाट आएको हो । तपाईंलाई थाहा छ ?” पत्रकार तथा संवादका लागि उपस्थित वार्ताकार दुवै नेपाली झल्काउने पोशाकमा थिएनन् ! आफैँसित प्रश्नका तरवारले काटी माग्न सञ्चारको इजलाशमा आएका ती आरोपीले राखेको प्रतिप्रश्नमा सपाट जवाफ दिन नसकेर प्रश्न सोध्ने पत्रकार नै ठाउँको ठाउँ मुर्छा परेका थिए ।
यति भएपछि मलाई पुग्यो । म लागेँ दौरा-सुरुवाल, कोट र टाइको अन्तरकथा खोज-अध्ययनतर्फ ! जीवनमा धेरै रहरले पहिलो चोटि दौरा-सुरुवाल लगाएर दौँतरीहरूलाई देखाउन बजारतिर निस्केकै दिन स्वयं ‘ख्यातनाम अराष्ट्रियतत्त्व’को अभियोग बोकेर जेल पसेको सम्झना आयो । इतिहासको घाउ धेरै पुरानो भएकाले आँखाहरू सुस्ताएर आँसु पोख्न छोडेका थिए । त्यसैले घाउको धुलो पखाल्न आँखाको सट्टा मनले नै अलिकति आँसु बगायो ! क्षणभर कल्पिएँ, ‘आखिर किन चाहिँ कुनै अमुक भूगोलमा सम्मानित पहिरन कुनै अन्य भूगोलमा राजद्रोहको सूत्रधार ठानिन्छ ?’ मनले सहज उत्तर दिएन । फेरि लागेँ अन्वेषणको यात्रामा उकालै उकालो !
अँ ! अनि आए यी कुरा ! आफूलाई सभ्य, भद्र-भलाद्मी र पक्का आधुनिक नेपाली मनुवा देखाउन दौरा-सुरुवालमाथि ढाकाटोपी ढल्काउने चलन सर्वमान्य भइसकेको छ । त्यसमाथि कोट भिरेर टाइ पनि कस्ने अनि ‘नेपाली संस्कृति’को नाममा ढाँडमा फलेको तरुलजस्तो भाषण गर्ने मान्छेहरू मैले प्रशस्तै देखेको छु । म त भाषण गर्न जान्दिनँ, जान्नेहरूमाथि ईर्ष्या पनि छैन ! भाषण गर्न जान्नु एउटा गजबकै कला हो । तर, कुनै पनि संस्कृतिमा वस्तुगत ऐतिहासिकताको ज्ञान छैन भने त्यो फिक्का ढर्राबाहेक केही पनि हुँदैन । हो, त्यो ढर्राचाहिँ नगरौँ भन्ने मात्र मेरो आशय !
पक्का नेपाली बन्नलाई खाँडीको लबेदा-सुरुवाल, कम्मरमा पटुकी र शिरमा फेटा (पगरी) चाहिन्छ । नारी पोशाकमा बालिकाहरूमा घाँघर तथा वयस्कमा गुन्यौ-चोली, फरिया-चौबन्दी चाहिन्छ । पहिरनले मात्र पुग्दैन; पक्का नेपाली बन्नलाई मन, वचन र कर्ममा दृढता पनि चाहिन्छ । ‘सांस्कृतिक कार्यक्रम’ को ब्यानर टाँगेर आयोजना गरिएका ‘स्टेज फङ्क्शन’हरूमा ‘मै छोरी सुन्दरी…’ गीतको लयमा नानीहरू नचाएर मात्र संस्कृतिको रक्षा हुँदैन ! साँच्चै भन्ने हो भने उहिलेको बेलायती दबाब र अहिलेको हिन्दुस्तानी प्रभावले गर्दा नेपालीपन अवसानको विन्दुतिर अग्रसर छ । खुसी हुँदाका रौसहरूमा त सामान्य ठानौँ, नेपालीका हरेक शोक समारोहहरूमा समेत ‘रम्बा हो हो’, ‘चुनरी के पिछे क्या है’ भन्नेजस्ता गीत गुञ्जन्छन् । पहिरनमा राजेस्थानी कुर्था-पाइजामा भिरेर पठानी नवाबझैँ पुरुष र पञ्जाबी कुर्थी, बनारसी साडी ढल्काएर नारीहरूले नेपाली संस्कृतिको ‘सद्भावना दूत’ बनेको स्वाङ गर्दै सांस्कृतिक धरातललाई नै ध्वस्त पारिसकेका छन् ।
यस्तो भ्रमित सभ्यताको वैशाखी टेकेर एक वस्त्र, एक खानपान, एक लवजको रागमा सांस्कृतिक एकताको बखान गरी समाजमा विग्रह, विभाजनको बिउ छर्दै पोशाकनिर्धारित परिचयको बिङ्गा लाउनु आधुनिकताको अभ्यास होइन, पराय गुलामीको पराकाष्ठा हो । हामीमा समाजका मूल्य-मान्यताको प्रणाली पर्गेल्ने दृष्टिकोण नै कोल्टे छ, एकपाखे छ । एक शताब्दी अघिसम्म बेलायती साम्राज्य ‘कहिल्यै घाम नअस्ताउने गरी’ विश्वका ५२ वटा देशमा फैलिएको थियो । त्यसपछि उनीहरूकै रहन-सहन, पहिरन, भाषा र व्यावहारिक संस्कृति विश्वसभ्यताको मानक बन्यो । न्यायप्रणाली, इतिहास र प्राज्ञिक दर्शनको दृष्टिकोण पनि त्यतैबाट टिपियो । स्थानीय दर्शनशास्त्र, जीवनशैली र सामाजिक मान्यताहरूलाई पनि त्यही आयातित दृष्टिको कसीमा जोखेर प्रायोजित निष्कर्षहरूलाई समाजविज्ञानको आधार बनाइयो ।
बेलायती भाषा व्यापार, वाणिज्य, शिक्षा, स्वास्थ्य, विज्ञान प्रविधि, कूटनीति आदिमा अनिवार्य माध्यमको रूपले उपयोगी सिद्ध हुन्छ । तर, त्यो माध्यम मात्र हो, त्यो नभई बाँचिँदैन भन्ने होइन । अथवा सम्पूर्ण सामाजिक जीवनको आधार, सभ्यताको कसी बेलायती संस्कृतिमा मात्र उपलब्ध छ भन्ने बुझाइ घातक भ्रमभन्दा बढी केही होइन । अहिले बेलायतीहरू भारतीय महाद्विप छोडेर गएको पनि एक शताब्दी नै हुन लाग्यो । तर, उनीहरूले यता छोडी गएको दृष्टिचेतना अझै पनि फैलिँदै छ । आधुनिक स्वाधीन भारत पनि बेलायतीले झैँ छिमेकी राष्ट्रको भूमि, समाज, संस्कृति र सम्पूर्ण चलायमान राजनीतिमाथि नै हाबी हुन चाहन्छ । अनि नेपालीलगायत अरूहरू चाहिँ त्यो भारतीय चाहनालाई कुनै न कुनै किसिमले स्वागत गरिरहन्छन् । नेपाली राम्रो गरी नबुझ्ने, नबोल्ने हिमालतिरका नागरिकहरू पनि हिन्दी सिरियल र सिनेमा हेरेर रमाउँछन् । ‘भारत औ नेपाल के बिच रोटी-बेटी का सम्बन्ध है’ भन्ने भाषणमा पर…र…र ताली पिट्ने उपल्लो दर्जाका नेपाली बौद्धिकहरूदेखि नै परलम्पट अभ्यासको प्रशिक्षण हुन्छ ।
भन्नलाई त केही मान्छेहरू ‘धार्मिक समारोहहरूमा पवित्र पोशाक लगाइन्छ’ भन्दछन् । तर, नवाबी शेरवानी, अंगरखाजस्ता पोशाकमा कहाँनेरको मौलिक धार्मिकता दर्शिन्छ ? राम्रो गरी सोध्यो भने कसैलाई केही पनि थाहा हुँदैन । त्यसो त नेपाली दौरा पनि धार्मिक पहिरन नै हो । दौरामा आठवटा तुना हुन्छन् जसलाई ‘अष्टमातृका’ भनिन्छ । ती हुन् ब्यागिनी, कौमारी (कुमारी), वाराही, ब्रह्मायणी, इन्द्रायणी, महेश्वरी, वैष्णवी र महालक्ष्मी । दौरामा पञ्चरत्न अथवा पञ्चबुद्धका प्रतीकहरूको पनि प्रयोग हुन्छ जसलाई पञ्चकल्ली भनिन्छ ! यसरी नै बन्दगला भएको दौराको भागलाई शिव वा किराँतेश्वरको घाँटीमा नागमालाको विम्बका रूपमा लिइन्छ !
आजको दौरामा ती पञ्चरत्न नहोलान् तैपनि अष्टमातृकाहरू छन् । रूप र आकारहरू जति फेरिँदै गए पनि आजको पुस्ताले यसलाई आधुनिक मानेको छैन । दौरा-सुरुवाललाई गाउँले, गोठाले, खेताले, अनपढ बुढ्यौली पुस्ताको पहिरन मात्र सम्झिने चलन हुर्किरहेको छ । हुन त यो पहिरनमा मात्र होइन, स्वत्व जनाउने सम्पूर्ण संस्कृति, कला र दर्शनमै खिया लागेको छ यतिबेला ! यद्यपि आफूबाहेकका अरूलाई दोषेर गुनासो पस्किनेभन्दा अलग त्यसको दोषभाग बेहोर्ने र नवचेतना जागृत गराउने कुनै उपाय र व्यक्तिहरू देखिएका छैनन् । अनि यसै परिबन्दलाई आधुनिकताको परिभाषामा पोक्याउनेहरूको सङ्ख्या बढिरहेको छ दिनदिनै !
यसो चित्त बुझाउनलाई भन्ने गरिन्छ: ‘समाजले जडताबाट मुक्त भएर व्यापक रूपमा परिवर्तनको धार समात्नु गर्वकै कुरा हो ।’ तर, त्यो परिवर्तन उन्नतिमुखी छैन भनेर त्यसो भन्नेहरूलाई पनि राम्रै थाहा छ । समाजको उन्नति भनेको इतिहासलाई बलियो संरक्षण प्रदान गर्दै आधुनिक विचारपद्दतिमा चेतनाको पारख गर्ने ल्याकत आर्जन गर्नु हो । त्यो आधुनिकता भनेको चाहिं के हो त ? आधुनिकता भनेको समाजको लागि सकारात्मक, हितकर तथा सभ्यतामुखी विकासक्रम हो । स्वाभिमानी चेतनामा नयाँ नयाँ आविष्कार तथा ज्ञानको भण्डारवृद्धि गर्नु समाजको उन्नति हो, आधुनिकीकरण हो । तर विडम्बना, यहाँ आर्थिक उन्नति र भौतिक विकासको दृष्टिले श्वेतचर्मीहरूको जीवनदर्शनलाई मात्र आधुनिक सभ्यताको आधार हो भन्ने भ्रम पालिएको छ । अनि दर्शनचेतनाको हिसाबले स्वत्वको रक्षा गर्छौं भन्नेहरू पनि उग्र ‘इण्डियन नेशनलिजम्’ले उपहार दिएका पत्रुहरूको संरक्षण गर्दै परायबाट आयातित संस्कारको किनमेल गर्नमै सक्रिय छन् । आधुनिकता, प्रौढता र प्राचीनताबिचको पार्थक्य नबुझेर भुमरीमा निसास्सिएको छ सिङ्गो समाज !
आधुनिकताले समाजलाई उन्नत, सुसंस्कृत, सभ्य, पुनर्जागृत गराउँछ तर, परायपरस्त गुलामीले नेपाली सामाजिक मूल्य-मान्यता र आदर्शलाई ध्वस्त पार्छ । आधुनिकता र आयातित गुलामीको चक्रबिच एउटा रौंजतिको धर्सा मात्र छ । त्यसको पहिचान गर्न निकै गाह्रो पनि छ । त्यो भेद खुट्ट्याउन सकेमात्र सांस्कृतिक दर्शनको मौलिकता र सभ्यता बाँच्छ । नत्र संस्कृति रक्षाको नाममा जति गफ हाँके पनि नतिजा फुइँयाँको डल्लासरह हुनेछ !
कुरो जे होस्, हामी पोशाक पहिरनको कुरा गरिरहेका थियौँ । आफूलाई राम्रो लागेको पहिरन लगाउनुमा कसैलाई कुनै आपत्ति हुनुहुँदैन । र, त्यो पहिरन धेरै मौलिकताहरूको ‘फ्यूजन’ हुनसक्छ ! तर, बुझाइमा ‘कन्फ्यूजन’ चाहिँ हुनु हुँदैन ! पूर्ण मौलिकता खोजियो भने फेरि अफ्रिकी आदिमानवको गाथामा पुगिएला ! लहराको कन्दनी र पातको लगौंटीतिर झरिएला । शरीरमा ठण्डी-ताप र लाज ढाक्न कपडा लगाउनै पर्छ अनि त्यो आफैँले सिर्जना नगरे कतै न कतैबाट ल्याउनै पर्छ ।
यद्यपि, कुनै पहिरन यो वा त्यो जाति/राष्ट्रियता झल्काउन, अमुक बन्नका खातिर लगाएको स्वाङ गर्नु चाहिँ महामूर्खता हो । न टाइ-कोट लगाएर कोही अङ्ग्रेज बन्न सम्भव छ न त कोही दौरा-सुरुवाल पहिरिँदैमा नेपाली वा बक्खु भिर्दैमा तिब्बती वा भुटानी बन्न सक्छ ! केही लगाएर कोही बनेको अभिनय गर्नु केवल ‘नक्कली’ आवरण हो । यस्तो कुरा नाटकहरूमा काम लाग्छ : यथार्थ जीवनमा होइन । यस्ता खाले नक्कली आवरणलाई मानिसहरूले सभ्यताको वैशाखी किन सम्झेका हुन्-अचम्म लाग्छ ! अबका मान्छेले पहिरनलगायतका सांस्कृतिक आधारशीलामा ‘फ्यूजन’ र ‘कन्फ्यूजन’ छुट्याउन जरुरी भएको छ । कन्फ्यूजन भनेको अज्ञानतापूर्ण अन्योलको स्थिति हो । सांस्कृतिक अज्ञानता मास्नलाई त्यसका ऐतिहासिक आधारहरूको अध्ययन गर्नुपर्दछ । हामी यहाँनेर नेपाली पहिरन कोट र ढाकाटोपीको चर्चामा मुखर भइरहेका छौँ ।
नेपाली मौलिकताको सन्दर्भमा कोटको चर्चा त्यति हुँदैन । तर, ढाकाटोपीलाई सगरमाथाझैँ उच्चो भनेर महिमा गान गरिन्छ । गोपाल योञ्जनले टोपी महिमाको एउटा गीत नै बनाएका छन्, “मेरो टोपी कैलाश को शिर जस्तो, मेरो टोपी हिमाली भीर जस्तो, कहिले पनि झुक्न नजान्ने… !” यद्यपि ढाकाटोपीको ऐतिहासिक मौलिकता खोज्दै गयो भने यो पनि अफ्गानिस्तानतिर जोडिन्छ । श्रीलङ्का र अरबका खाडीतिर पनि पुग्छ टोपी अस्तित्वको गाथा ! अनि उनीहरूसित त सगरमाथा छैन ! कैलाश पनि छैन ! उनीहरूले चाहिँ टोपीको गर्वगान नगर्ने ? गरे के आधारमा गर्ने ?
अफगानिस्तानका पूर्व राष्ट्रपति हमिद कारजायीदेखि अफगानी वंशजपुत्र तथा अरबको मक्कामा मामाघर भएका भारतीय स्वाधीनता संग्रामी मौलाना अबुलकलाम आजादसम्मले लगाएको टोपी नेपालमा ल्याएर सगरमाथा चढाउँदा कसरी मौलिक हुन्छ ? श्रीलङ्कामा त्यही टोपी लगाएका एक जना शिक्षाविद् टुवान बुराह्नुद्दिन जयाहको तस्बिरमा हुलाक टिकटसम्म बनेको छ । भारतकै कश्मीरदेखि गडवालसम्म प्रयोगमा रहेको टोपीलाई रङ फेरेर नेपालमा ‘स्वच्छन्द पहिरन’ को उपमा दिँदा कसरी मौलिक हुनसक्छ ? कश्मिरी टोपी, हिमाञ्चली र गडवाली टोपी, गान्धी टोपी हुँदै नेहरु टोपीदेखि महेन्द्र टोपी, गिरिजा टोपीसम्म आइपुग्दा रङबाहेक के-के भिन्नता भेटिन्छ? यस्ता प्रश्नमा लक्षित छलफलहरू आवश्यक छन् । पहिरन मात्र होइन, भाषा र संस्कृतिसम्म कति मौलिक-कति आयातित निर्धारण गर्न आवश्यक छ ।
संक्षेपमा यहाँ पनि सोही उद्देश्यतर्फ अल्पचर्चा उठाइएको छ । समष्टिमा जो जहाँ रहे पनि, जुन पेशा कर्ममा भए पनि सांस्कृतिक नेपालीपनको प्रसङ्ग उठेपछि नेपालको चर्चा जोडिन्छ नै ! वर्तमान नेपालको भौगोलिक तथा सांस्कृतिक ऐतिहासिकता समेटेर एकरूपता दिने व्यक्तित्वका रूपमा पृथ्वीनारायण शाहको नाम आउने गरेको छ । तर, के पृथ्वीनारायण शाहको शरीरमा कतै कोट र ढाकाटोपी थियो ? बलभद्र कुँवर, दामोदर पाँडे, श्यामसिंह थापा, भक्ति थापा, भीमसेन थापा आदिले ढाकाटोपी र कोट पहिरेका थिए ? के शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त र गंगालालहरूले कोट-टाई र ढाकाटोपी लगाएर शहीद भएका थिए ? यी प्रश्नका उत्तर खोजिनुपर्छ कि पर्दैन ?
नेपालीहरूले अपनाएको सांस्कृतिक वयमाथि अङ्ग्रेजी कोट र ढाकाटोपी कहिलेदेखि चढ्यो होला ? घाँटीमा टाइको पासो कहिलेदेखि बाँधियो होला ? यस्ता प्रश्नले तपाईँको टाउको कहिलेकाहीँ घोच्छ कि घोच्तैन ? कन्सिरी चिमोट्छ चिमोट्तैन ?
ढाका टोपीभन्दा पहिले नेपाली वयमाथि अङ्ग्रेजी कोट चढेको हो । यसको प्रसङ्ग निकै चाखिलो छ । यहाँहरूले ‘जंगबहादुरको बेलायत यात्रा’बारे सुन्नुभएको हुनसक्छ । आफ्नो तीन सरकारको अख्तियारी भाइ बमबहादुरलाई सुम्पिएर जंगबहादुर ४१ जनाको टोली लिई सन् १८५० जनवरी १५ (विसं १९०६ माघ ४), मङ्गलवारका दिन बेलायत हिँडेका थिए ! यसरी फिरङ्गी मुलुकको लामो यात्रामा हिँड्न अघि कस्तो खाले पहिरनमा जाने भनेर जंगेदरबारमा निकै खैलाबैला भएछ । खाँडीको दौरा-सुरुवालमाथि पटुकी कसेर, कम्मरमा खुकुरी सिउरेर जाँदा बेलाइतीहरूलाई आपत्ति होला कि भन्ने चर्चा पनि चलेछ । यही बेला कसैको सुझाव आएछ अङ्ग्रेजहरूले पोशाकमा कोट लाउने भएकाले दौरा-सुरुवालमाथि कोट पहिरिएर गएमा आपत्ति हुँदैन र बेलाइतीहरू खुसी पनि हुनेछन् !
केही टिप्पणीकारहरूले पानीजहाजमा बेलायत जाँदै गर्दा जंगबहादुरले कुर्था र धोतीमाथि परत शैलीको वस्त्र लगाएका बङ्गालीहरूलाई देखेका र त्यो मागेर लगाएका पनि उल्लेख गरेका छन् । परत भिरेपछि भारादारहरूले काइदा सुहाएको बताइदिए र जंगबहादुरले बेलायत पुगेपछि त्यही परतरूपको अङ्ग्रेजी कोट बेलायतीहरूबाट उपहार लिई आएका बताइन्छ । नेपाल फिर्तीपछि उनले सोही अनुसारको निर्णय गरेछन् । त्यस्तो निर्णयमा लागू भएको कोट पहिरनको अभ्यास पछि गएर राजा त्रिभुवन हुँदै महेन्द्रको पालामा राष्ट्रिय पोशाकको रूपमा घोषित भएको रहेछ ।
त्यो बेलाका नेपालीको औसत आर्थिक स्तर हेर्दा दौरा-सुरुवाल र कोट त दरबारिया भारादार र व्यापारी सेठहरूका लागि पनि धौ-धौ हुने रइसी घरानाको पोशाक थियो । रैतीहरूले अति कमसल खाँडीको भोटो र खाँडीकै कच्छाड लाउँथे । अलि हुनेखानेले मात्र लबेदा सिउन सक्थे । एकपल्ट राष्ट्रिय पञ्चायतको अधिवेशन सुरु हुँदै गर्दा मकवानपुरे सांसद रुपचन्द्र विष्टले बोराको दौरा-सुरुवाल पहिरेर सिंहदरवार प्रवेश गर्न खोजेको प्रसङ्ग पनि इतिहासमा छ । सर्वसाधारण नेपाली जनताको आर्थिक क्षमताले नभ्याउने पहिरनलाई राष्ट्रिय पोशाक बनाइएकोमा सांसद विष्टको यो बिम्बात्मक विरोध थियो । अतः दौरा-सुरुवालमाथि कोट लगाउने चलन दरबारिया परम्पराको रूपमा नेपालीहरूमाथि लादिएको हो भन्न कुनै आइतबार बार्नुपर्दैन !
आजकल लबेदा-सुरुवाल पहिरिनेहरू पटुकीको स्थानमा पित्तलको फिता कसेर हिँड्छन् । भुँडीमा यसरी फिता कस्ने परम्पराको थालनीबारे जवाहरलाल नेहरुले इल्लाहवाद जेलबाट आफ्नी १० वर्षीया छोरी इन्दिरालाई लेखेका ३० पत्रमध्ये एउटामा उल्लेख गरेका छन् । नेहरुको भनाइमा ठूलो भुँडी भएको एक जना भारतीय रइस धोतीमाथि कम्मरमा पित्तले फिता कसेर हिँड्थे । उनलाई मानिसहरू सोध्ने गर्थे: ‘पेटमा सधैँ सधैँ यसरी फिता किन बाँधेको ?’ ती रइसको उत्तर हुन्थ्यो रे: ‘मेरो पेटमा असीमित ज्ञान छ, यो फिताले कसेन भने त पेट फुटेर पोक्खी हाल्छ नि !’ आजभोलि पटुकी फ्याँकेर त्यसको ठाउँमा फिता कस्ने नेपालीहरूले पनि आफ्नो बडेमानको पेटमा असीमित ज्ञानको भण्डार भएको भ्रम पाल्छन् कि ?
अब टोपीको चर्चा उठाऊँ । नेपालीहरूले उहिले कस्तो टोपी लगाउँथे ? यो प्रश्नले पाठकहरूलाई बेस्सरी अलमल्याउन सक्छ । किनभने नेपाल भनिने भूभाग नै उहिले कहाँ थियो र नेपाली हुनु ? तनहुँ र गोर्खाबाट ढाकरमा सातु-सामल बोकेर ‘नेपाल हिँडेका’ हरू आजको राजधानी उपत्यका छिरेपछि मात्र ‘नेपाल आइपुगेको’ शानमा मक्ख पर्थे ।
कुरो जे होस्, यहाँ हामी अरू विषय छोडेर केवल टोपीको चर्चा गरिरहेका छौँ । आज नेपाली भनेर चिनिने मानिसहरू पहिले फेटा-पगरी, त्यसपछि फुर्के टोपी हुँदै बिर्के टोपीसम्म आइपुगेका थिए । ऊनीको धागोले बुनेको टुप्पीमा फुर्को भएको फुर्केटोपी त आजसम्म पनि गाउँ-घरतिर प्रयोगमा रहेकै छ । यसबारे खास बताउनुपर्ने केही छैन । भानुभक्त आचार्यदेखि मोतीराम भट्टसम्म पढ्न भ्याएकाहरूले बिर्के टोपीबारे पनि केही न केही जानेकै हुनुपर्छ । केही इतिहासकारहरूले फुर्के टोपी र बिर्के टोपीलाई एउटै बेलाका शिरपोस बताएका छन् । उनीहरूको कथनमा गाउँघरको सामाजिक स्तर दर्शाउन फुर्के र बिर्के टोपीको शिरपोस हेरिन्थ्यो । भनौँ बिर्के टोपी रइसहरूको र फुर्के टोपी ‘झुत्रे गरिब’हरूको । बिर्के टोपी पनि मौलिक नेपाली होइन । यो भारतको हिमाचलतिरबाट आएको हो ।
अब अर्को टोपीको प्रसङ्ग झिकौँ । मल्लकालमा सुरु भएको भादगाउँले (भक्तपुरे) टोपी पहिले काठमाडौँ उपत्यकाभित्र सीमित थियो । राजा त्रिभुवनले शिरपोस बनाएर टाउकोमा ढल्काइदिएपछि भादगाउँले टोपीले सिंहदरबारमा प्रवेश पायो । यद्यपि, अझै पनि भादगाउँले शिरपोस उपत्यकाभित्रै सीमित थियो । त्रिभुवनले सिंहदरबार भित्र्याएको भादगाउँले टोपीलाई केही समयपछि महेन्द्रले प्रोत्साहित गरेको ढाकाटोपीले लगभग विस्थापित नै गरिदियो । हुन त अझै पनि काठमाडौँ उपत्यका, विशेष गरी भक्तपुरे नेवारहरू शिरपोसको रूपमा भादगाउँले कालो टोपी नै लगाउँछन् । तथापि, ढाकाको मलमलबाट बुनिएको टोपीले प्रश्रय पाएपछि भादगाउँले कालो टोपीले आफ्नो ख्याति गुमाउँदै लगेको यथार्थ हो ।
विसं २०११ फागुन ३० गतेका दिन राजा बनेका महेन्द्र वीरविक्रम शाहको पालोमा दौरा-सुरुवालमाथि कोट र ढाका टोपीलाई सरकारी कामकाजमा अनिवार्य गरियो । त्यसपश्चात् नागरिकताका लागि लिइने तस्बिरमा पनि यसलाई कानुनी औपचारिकता मानिएपछि कोट र टोपीले आम-नेपाली पहिरनको रूपमा ख्याति कमाएको हो ।
०००
ढाका कसरी नेपाल छिऱ्यो त ? यसबारे केही चर्चा गरौँ ।
ढाकालाई उद्योगकै रूपमा नेपाल प्रवेश गराउने जंगबहादुरकी छोरी डम्बरकुमारी हुन् । सन् १८७३ मा जंगबहादुर राणाकी बहिनी कान्छीमैया महारानी (कसैले उनलाई जंगबहादुरकी अन्तरी छोरी पनि लेखेका छन्)-को विवाह काशीका प्रमुख सेनानी मान्यश्री महाराज प्रभूनारायण सिंह बहादुरसित भएको थियो । राणा दरबारमा ‘ब्याइते’ र ‘ल्याइते’ महारानीहरूबिच भेदभाव थियो भन्ने त पाठकहरूलाई ज्ञान छँदै छ । ब्याइते महारानीका छोराछोरी दरबारको सुखसयलमा रमाउँदा ल्याइतेका सन्तान अलपत्र हुन्थे । यस्तै अलपत्र बनेकी एक जंगबहादुर पुत्री डम्बरकुमारीलाई कान्छीमैया महारानीको घरेलु कामदारका रूपमा काशी लगेकी रहिछन् । यसरी कामदारका रूपमा काशी (बनारस) पुगेकी डम्बरकुमारीले पछि दालमण्डी भनिने स्थानमा ‘ढाकाली मुस्लिन’को आफ्नै व्यवसाय चलाएको प्रसङ्ग विभिन्न इतिहासकारहरूले राणाकालीन वृत्तान्तमा उल्लेख गरेका छन् ।
टोपी सन्दर्भको गाथा अनुसार काठमाडौँमा हिउँदको समय अत्यधिक ठण्डी हुन्थ्यो । मकलमा कोइला बालेर मानिसहरू घर तताउँथे । हुन त दरबारिया राणाहरूले यूरोपीय ढाँचाका उष्मकहरू पनि प्रयोग गर्थे । तर, त्यो राजमहलबाहिर जतासुकै उपलब्ध थिएन । जंगबहादुरकी प्रियपात्र पुतली महारानी चिसोबाट अति प्रभावित हुन्थिन् । उनलाई तिब्बतबाट आयातित ऊनीको बर्को, पस्मिनाको दोसल्ला आदि केही पनि उपयोगी भएनन् । विकल्पमा नरम, हल्का र तातो हुने कुनै वैकल्पिक चीजको खोजी गरिरहेकी थिइन् पुतली महारानी । यही बेला उनलाई काशीतिरै माइती भएकी आफ्नी सौता गंगा महारानीले खसम जंगबहादुरलाई उपहारस्वरूप ल्याइदिएको सुती र मलमल मिश्रित खास्टोको याद आयो ।
त्यसपछि पुतली महारानीले काशीमा रहेकी डम्बरकुमारीलाई पत्र लेखेर नेपाल बोलाइन् । नेपालमा बसेर घरेलु उद्योगकै रूपमा खास्टो कारखाना चलाएमा आफूले आर्थिक सहायता गर्नेसम्मको प्रतिबद्धता पुतली महारानीले पत्रमा जनाएपछि डम्बरकुमारीले प्रस्ताव स्वीकार गरिन् । पुतली महारानी जंगबहादुरकी प्रियपात्र भएकाले पनि उनको निकट हुन सबै लालायित रहन्थे । उनकै पोल्टामा रहन डम्बरकुमारीले पनि अवसर गुमाइनन् । त्यसपछि उनले भारतका वेश्यालयहरूमा बेचिएका नेपाली चेलीहरूसमेतलाई समेटेर प्रोत्साहित गर्दै खास्टो उद्योग सुरु गरिन् । यही उद्योगका लागि उनले बङ्गलादेशको ढाकाबाट धागो र कपडा आयात गर्न थालिन् । काशीमा हुँदै उनको त्यो व्यवस्था बनिसकेको थियो । नेपालमा यसरी सुरु भएको ढाका उद्योग विभिन्न रूपमा आजसम्म डम्बरकुमारीकै नाम स्मरण गर्दै अघि बढिरहेको छ ।
डम्बरकुमारीको ढाका उद्योगमा केवल मलमलको खास्टो र दोसल्ला बुनिन्थ्यो । यसले ढाकाटोपीको रूपान्तरण कसरी लियो होला ? पाठकहरूमा यो प्रश्नले अर्को जिज्ञासा धारण गर्नसक्छ । यसबारे पनि अल्प उल्लेख गरौँ ।
संयोगवश सन् १९५० तिर भारत पुगेका गणेशमान महर्जनले डम्बरकुमारीसित जम्दानी कपडा कारखानामा काम गरेका रहेछन् । नेपाल फर्किएपछि महर्जनले सन् १९५७ मा आफ्नै गृहनगर पाल्पामा ढाका टोपी उद्योग सुरु गरे । यही कारण यस टोपीको नाम ‘पाल्पाली ढाकाटोपी’ रहन गएको इतिहासका विभिन्न तथ्यहरूले औँल्याएका छन् ।
अब यसको नाम ढाका कसरी रह्यो भन्ने सन्दर्भमा पनि थोरै चर्चा गरौँ । सर्वप्रथम सन् १२९८ मा प्रकाशित ‘द ट्राभल्स’ नामक पुस्तकमा मार्को पोलोले यो कपडा वर्तमान इराकको मोसुलमा पाइने विश्वासको कारण यसको नाम ‘मोस्लिन’ अथवा ‘मुस्लिन’ राखिदिएका थिए । तर, मार्को पोलोको यो बयानलाई खारेज गर्दै बेलायती यात्री राल्फ फिचले सन् १५८३ मा आफूले यात्राको क्रममा भारतकै सोनारगाउँ (सोनारगाउँ अहिलेको बङ्गलादेशी राजधानी ढाका नजिकै पर्छ) मा विश्वको सर्वश्रेष्ठ मुस्लिन उद्योग फेला पारेको चर्चा उठाए । राल्फ फिचपछि अबुल फजलले सोनारगाउँको सरकारद्वारा अधिकतम मात्रामा विश्वोत्कृष्ट मुस्लिनका विभिन्न प्रकारहरू उत्पादन गरिएको खुलासा गर्दै त्यस बेलाका विभिन्न पत्रिकाहरूमा लेख लेखे ।
यसरी क्रमशः १७/१८ औँ शताब्दीमा मुगल साम्राज्यको बङ्गाल विश्वमा अत्यधिक मुस्लिन कपडाको निर्यातकर्ता बन्यो । सो समयको मुस्लिन कपडा निकासी/पैठारी गर्ने वैश्विक व्यापारकेन्द्र ढाकामा अवस्थित भएकाले केही समयको अन्तरालमा यस वस्तुको नाम नै ढाका रहन गएको थियो । संयोगवश सन् १८५१ मा बेलायतमा आयोजित सर्वदेशीय उद्योगहरूको महाप्रदर्शनीमा प्रवेश पाएपछि भने ‘ढाकाली मुस्लिन’ विश्वव्यापारको मुख्य कारोबारीय वस्तु बनेको हो । तपाईँहरूले नेपाली बोलीमा मलमल भन्ने सुन्नुभएको हुनुपर्छ । अरबी वा उर्दूमा मुस्लिन भनिएको यो वस्तुलाई बङ्गालीहरूले आफ्नो भाषामा मलमल भनेर भाषानुवाद गरेका थिए । पछि यो मलमल शब्द हिन्दी र नेपालीमा पनि आगन्तुक शब्दावलीको रूपमा आइपुगेको थियो, आजपर्यन्त प्रयोगमा छ !
यति धेरै कुरा अन्यान्य विषयमा गरियो । अब टाइको बारेमा पनि केही त भन्नैपऱ्यो । टाइको सुरुवात इसाई परम्पराको विश्वास प्रणालीसँग जोडिएको छ । इसा मसिह अर्थात् जिसस क्राइस्टलाई शूलीमा टाँगिएको बिम्बात्मक रूपमा यसको थालनी भएको हो । सन् १६१८ देखि लगातार ३० वर्षसम्म फ्रान्स र तत्कालीन पर्सियाबिच युद्ध चलेपछि सन् १६४६ मा आएर फ्रान्सेली सेनाले विजय हासिल गऱ्यो । सोही खुसीयालीको उत्सवमा फ्रान्सेली राजा लुई चौधौंले १७ अक्टोबर, १६४६ को दिन इसा मसिह सुलीमा चढेको बिम्बात्मक अर्थ लाग्ने गरी घाँटीमा क्रस आकारको पहिरन सेनालाई पहिऱ्याइदिए ! आज पनि लुई चौधौंले विजेता सेनालाई क्राइस्टप्रति समर्पित त्यही विशिष्ट उपहार दिएको दिन युरोप र अमेरिकामा टाइदिवसको रूपमा मनाइन्छ । अब टाइ भिर्नु आधुनिक सभ्यता हो कि परलम्पट अन्धानुकरणको दसी-नमुना हो भनेर मैले के नै भनिरहनुपर्ला र ! अतः माथि नै उल्लेख गरिएको -केही हुन वा कोही बन्नलाई पहिरन रोज्नु नाटक मञ्चनका लागि मात्र हो भनेर पुनः सम्झाउन नपर्ला !
अन्त्यमा दौरा-सुरुवालमाथि कोट र घाँटीमा टाइ कस्ने नेपाली महानुभावहरूलाई फेरि पनि भन्छु संस्कृतिमा ‘फ्यूजन’ र ‘कन्फ्यूजन’ मिसाएर भ्रम पाल्न अब छोड्नुपर्छ ! अनि एउटै खाद्य खाने, एउटै पहिरन लाउने, एउटै भाषा बोल्ने, एउटै विचार बोक्ने र एउटै कुरा सोच्ने मात्र राष्ट्रवादी नागरिक हुन्छ भन्ने बहुलट्ठीपनको घैँटो पनि अब फुटाउन जरुरी भएको छ । बहुलवादी विचारलाई अङ्गीकार गर्दै विभिन्नतामा एकताको भावसिर्जना र वृद्धि अबको सामाजिक यात्रा हो भनेर सबैले स्वीकार गर्नुपर्छ ! माथिदेखि पहिरनको सन्दर्भ चलेकोले पहिरनकै प्रसङ्गमा समापन गरौँ – सुलभ र सहज भए जति सबै थोक पहिरिनुहोस् र असली मानिस बन्नुहोस्, न्यायप्रेमी बन्नुहोस् ! पूर्ण ज्ञानचेतनाले आफ्नो परिचय स्वयं निर्धारण गर्नुहोस् । नजिकैको छिमेकका लागि हितको मान्छे बन्नुहोस्, तपाईंको त्यही अभ्यास राष्ट्रियहित मात्र नभई विश्वहितको कर्म हुनेछ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१२ कार्तिक २०८२, बुधबार 










