
पशुपति—बुद्ध मन्दिर डालस, टेक्सास, अमेरिकाका संस्थापक अध्यक्ष डा. मुरली अधिकारी मूलतः आध्यात्मिक चिन्तन, सत्य मोक्ष साधना विधि अन्वेषण, तङ्खवशोध, सत्य मोक्ष विद्या वा साधना विधिको अनुसन्धान, स्वसाधना, प्रवर्धन आदिमा रुची राख्नुहुन्छ । सामाजिक, धार्मिक, सांस्कृतिक, आध्यात्मिक उत्थानमा पनि उत्तिकै क्रियाशील हुनुहुन्छ। डा. अधिकारीका ‘धर्मचक्र प्रवर्तन’, ‘महासतिपट्ठान सुत्त’, ‘विपश्यना साधना विधि’, ‘विवेक चुडमणि जस्ता पुस्तकहरू प्रकाशित भइसकेका छन् भने सरल ‘सत्य गीता’, ‘गीता विपश्यना विज्ञान’, ‘साङ्ख्ययोग’, ‘कर्मयोग’, ‘भक्तियोग’, ‘परमात्माका छ शाश्वत नियमहरू’ आदि गरी झन्डै एक दर्जन आध्यात्मिक पुस्तकहरू प्रकाशनको क्रममा छन्। प्रस्तुत छ साहित्य पोस्टका लागि विश्वराज अधिकारीले डा. मुरली अधिकारीसङ्ग गर्नु भएको कुराकानी।
अचेल के गर्दै हुनुहुन्छ ?
मेरो अध्ययन, अनुसन्धान र साधनाको क्षेत्र आध्यात्मिक क्षेत्र अझ मूलतः मोक्ष साधना हो । यो क्रममा हिजो आज म ‘सत्य गीता रहस्य’ नामक एक पुस्तक, जुन पुस्तक एक वर्ष अगाडि नै लेखिएको थियो, त्यही पुस्तकलाई परिमार्जन गरिरहेको छु ।
अर्थ क्षेत्रको विज्ञ हुनुहुन्छ, साहित्यमा लाग्ने यहाँलाई के ले प्रोत्साहित गर्यो ?
मूलतः म साहित्य भन्दा पनि आध्यात्मिक लेखन, अनुसन्धान, साधना आदि क्षेत्रमा क्रियाशील छु । म धेरै वर्षदेखि अमेरिकाको डलासमा स्थित पशुपति बुद्ध मन्दिरमा स्वयंसेवकको रुपमा क्रियाशील छु । डलास पशुपति बुद्ध मन्दिरमा भगवान् शिव र भगवान् बुद्धका दुई विशाल प्रतिमाहरु राखिएका छन् । यी प्रतिमाहरुले तपाईं स्वयंमा सृष्टीकर्ताद्धारा प्रदान गरिएको शिवतत्व वा बुद्धतत्वको सम्भावनालाई उजागर गर्दछन् । तपाईंको जीवनमा शरीर, इन्द्रिय, मन र बुद्धीको क्षेत्र (जून क्षेत्रमा हामीहरु बाँचिरहेका छौ) त्यो क्षेत्र भन्दा अझ गहिराइमा एक असाधारण शाश्वत क्षेत्र छिपेको छ भन्ने सत्यलाई उजागर गर्दछन् ।
स्वयंमा छिपेका शाश्वात तत्वको खोज तर्फ तपाईंलाई प्रेरीत गर्दछन् । सांसारिकताबाट आक्रान्त यो जीवनको गहिराइमा प्रवेश गरेर परम शान्ति, परम आनन्द, परम स्वतन्त्रताको शान्त महासागरमा निर्लिप्त डुब्न यही जीवनमा सम्भव छ भन्ने रहस्यलाई पनि प्रकट गर्दछन् । जब मैले डलासको मन्दिरमा राखिएका ती विशाल प्रतिमाहरुभित्र छिपेका नूतन जीवनका दृश्यहरुलाई बुझेँ । भगवान् बुद्धको सतत, शान्त नयनभित्र छिपेका जीवनको सनातन रहस्यलाई बुझेँ । यी प्रतिमाहरुले प्रतिबिम्बित गरिरहेका असाधारण जीवनका दृश्यहरुले मलाई अध्यात्मतिर र्कर्षित गर्यो । भगवान् बुद्धतर्फ आर्कषीत गर्यो । गीतातर्फ आकर्षित गर्यो । यही कारण म अध्यात्म वा जीवनमा छिपेको सत्यको खोजतर्फ आकर्षित भएँ । यो नै मेरो आध्यात्मिक लेखनको प्रेरणा बन्यो ।
भगवान् गौतम बुद्ध प्रति अति प्रभावित भएर किन उहाँबारे अध्ययन, चिन्तन, मनन गर्दै उहाँबारे अनेकन् सामग्रीहरु लेख्न रुचाउनु भयो ?
हामीहरु यो जगतमा साधारण दृष्टिको कारण बाँधिएका छौँ । हाम्रो जीवन देहसुख, इन्द्रिय सुख र मनको अहंभाव तृप्तिको सानो परिधिमा घुमिरहेको छ । हामीहरु जीवन पर्यन्त वैभव, सम्मान, इन्द्रिय भोग आदि जस्ता सांसारिक प्राप्तिहरु प्रति आकर्षित छौँ । यी प्राप्तिहरुलाई नै सर्वश्व मानिरहेका छौँ । यी वस्तुहरु प्राप्तिमा नै सम्पूर्ण जीवन अर्पण गरिरहेका छौँ । स्वयंलाई आन्तरिकतामा नष्ट गर्ने यी सांसारिक वस्तुहरुको प्राप्तिमा जीवनको सम्पूर्ण शक्ति र समय लगाइरहेका छौँ । भगवान् बुद्धले जगतका सम्पूर्ण मानिसहरुले यसरी असाधारण महत्व दिइरहेको, जीवननै अर्पण गरेर प्राप्त गर्न प्रयास गरिरहेका विषयहरुलाई ‘मीथ्या’ भनेर चटक्कै त्यागिदिनु भएको छ ।
यो क्षणमा प्रश्न उठ्छ कि आखिर भगवान् बुद्धभित्र कुन त्यस्तो अन्तरदृष्टि छिपेको थियो जुन दृष्टीको कारण भगवानले जगतका विषयहरुमा छिपेको मिथ्या पक्षलाई भेदन गरेर यो जगतका सम्पूर्ण प्राप्तिहरुलाई चटक्कै छोडिदिनुभयो ? भगवानले कसरी ऋतुकालीन दरबार, वैभवपूर्ण राजकुमारको रुपमा सम्मानित जीवन, सुन्दरी सेवीकाहरुद्वारा प्रदान गरिएको गीत, संगीत, नृत्य र अन्य सांसारिक भोगहरु, अत्यन्त सुन्दरी श्रीमती, एकमात्र पुत्र आदिहरुलाई त्याग गर्नुभयो ? भगवानकाे शान्त झैँ प्रतित हुने ति नयनभित्र कस्तो चेतना वा अन्तर्दृष्टि छिपेको थियो ? त्यो चेतनाको श्रोत के थियो? यी प्रश्नहरुले मलाई बुद्धतर्फ आकर्षित गर्दै लगे ।
जति जति म बुद्धलाई बुझ्दै गएँ, मैले उहाँमा छिपेका असाधारण असांसारिक पक्षहरुलाई पनि देख्दै गएँ । बुद्ध बाह्य रुपमा साधारण सांसारिक मानिस झैँ देखिनुहुन्थ्यो, तर आन्तरिक रुपमा उहाँ पूर्णतः पृथक हुनुहुन्थ्यो । पूणतः असांसारिक हुनुहुन्थ्यो । स्वयंको अस्तित्वमा तृप्त हुनुहुन्थ्यो । उहाँ त्यस्तो पुरुष हुनुहुन्थ्यो जो संसारमा बाँचेर पनि संसारबाट अस्पर्श हुनुहुन्थ्यो । यो संसार उहाँलई स्पर्शसम्म गर्न असमर्थ थियो । यो धर्तीमा मानिसको यस्तो असाधारण सुन्दर जीवन देख्न नै असम्भव छ । यो नै भगवान् बुद्धप्रतिको मेरो आकार्षणकाे कारण थियो । यही आर्कषणले मलाई भगवान् बुद्धको जीवनको अध्ययन र सुत्तहरु माथि भाव व्याख्या लेख्न प्रेरित गर्यो ।
भगवान् गौतम बुद्धको साधना यात्राको मूल मर्म के हो ?
जब तपाईं भगवान् बुद्धको साधना यात्रालाई गहिरिएर अवलोकन गर्नुहुन्छ, भगवानकाे साधना यात्रा ‘अस्वीकार’, ‘विद्रोह’ र ‘पुनः स्वीकार’ को यात्रा झैँ प्रतित हुन्छ । जब भगवानले मोक्ष खोजको यात्रा प्रारम्भ गर्नुभयो । उहाँले यो खोजको प्रारम्भ निर्वाण प्राप्त सद्गूरुको खोजबाट नै प्रारम्भ गर्नुभएको थियो । यो क्रममा भगवान् अनेकन परम्परागत धर्म, ईश्वर, गुरु, सम्प्रदाय, दर्शन, मत, सिद्धान्त आदिको सम्पर्कमा आउनुभयो । यो क्रममा भगवान् मोक्षको खोजीमा पारीव्राजक वा सन्यासको जीवन ग्रहण गरी अनेकन सम्प्रदाय, सिद्धान्त, वस्त्र, माला, अलंकार आदि ग्रहण गरी अनेकन् साधनाहरुमा साधनारत गुरुहरु, शिष्यहरुको सम्पर्कमा पनि आउनुभयो । यो क्रममा भगवानले यी अनेकन साधना विधिलाई स्वयंको जीवनमा पनि उतार्नुभयो । फेरि उहाँले यी सम्पूर्ण परम्परागत आध्यात्मिक दर्शन, मत, सिद्धान्त, साधना विधिहरु (जुन सिद्धान्त र विधिहरुलाई करोडौँ साधकहरुले ग्रहण गरिरहेका थिए) लाई अस्वीकार गर्नुभयो । असत भन्दै पूर्णरूपमा त्याग गर्नुभयो ।
यो क्रममा भगवानले आलार कालम, उद्धक रामपुत्त जस्ता उच्च गुरुहरुको शिष्यत्व पनि ग्रहण गर्नुभयो, जब भगवानले यी श्रेष्ठ गुरुहरुद्वारा प्रदान गरिएका साधना विधिहरुद्वारा मोक्ष प्राप्त गर्न असमर्थ रहनुभयो, उहाँले गुरु श्रद्धा, गुरु भक्ति आदिको परम्परागत मार्गलाई ग्रहण नगरी एक विद्रोहको मार्गलाई अनुकरण गर्दै यी गुरुहरुलाई पनि त्याग गर्नुभयो । गुरुत्यागलाई अपराध, पाप आदि मानिने त्यो समयमा भगवानले यो पापको मार्ग नै राज्नुभयो । यो क्रममा भगवानले यी गुरुहरुद्वारा प्रदान गरिएका उच्च पदहरु (जुन पदलाई स्वयं गुरुहरुले उच्च महत्व दिइरहनुभएको थियो) लाई पनि अस्वीकार गर्नुभयो । भगवानले अध्यात्म जगत भित्रका यी सांसारिक प्रलोभनहरु प्रति पनि विद्रोह गर्नुभयो ।
अन्तमा झण्डै ६ वर्षसम्मको परम्परागत शास्त्रहरु, मतहरु, दर्शन, विधि, गुरु आदि हरुको अनवरत अस्वीकार, विद्रोह र सत्यको खोजको निरन्तर प्रयास पश्चात जब भगवानले मध्यमार्गी सम्यक मार्गद्वारा निर्वाण प्राप्त गर्नुभयो, यो सम्यक मार्गलाई सत्य भनी ‘स्वीकार’ गर्नुभयो । यसरी बुद्धको साधना यात्रा मूलतः ‘अस्वीकार’, ‘विद्रोह’ र ‘पुनः स्वीकार’को परिधिमा घुमेको छ । यो नै भगवान् बुद्धको साधनाको मूल मर्म हो । भगवानकाे साधना यात्राले यो जगतका प्रत्येक साधकलाई साधनाको मार्गमा धर्म, ईश्वर, गुरु, सम्प्रदाय, दर्शन, सिद्धान्त, मत, वस्त्र, माला, आभूषण आदि जे जति देखा पर्दछन्, ति सम्पूर्ण प्रति अन्धदृष्टी, अन्धश्रद्धा, अन्धभक्ती आदि जस्ता धारणाहरुको आधारमा ग्रहण नगरी अध्यात्मका विषयहरुलाई स्वयंको अनुभूतिमा सत्य भए मात्र स्वीकार गर्न र स्वयंको अनुभूतिमा असत्य भए अस्वीकार र विद्रोह गर्दै साधना यात्रालाई सतत् सत्यतर्फ अगाडि बढाइरहन प्रेरणा प्रदान गर्दछ ।
भगवान बुद्धले यो मानव जगतलाई दिनु भएको मूल मोक्ष साधना विधि के हो ?
भगवान बुद्धले यो मानव जगतलाई दिनुभएको मोक्ष साधना विधि आर्य अष्टाङ्ग मार्ग साधना हो । यो साधनालाई ‘विपश्यना साधना’ पनि भनिन्छ । आठ वटा साधनाहरुको संयोजनबाट बनेको यो साधनामा शील साधना (सम्यक कर्म, सम्यक वाणी, सम्यक आजीविका) समाधी साधना (सम्यक स्मृति, सम्यक व्यायाम,सम्यक समाधी) प्रज्ञा साधना (सम्यक संकल्प, सम्यक व्यायाम) रहेका छन् । यस्तो आठ वटा साधनाहरुलाई जोडेर बनाइएको पूर्ण सत्य साधना विधि यो जगतमा कुनै आध्यात्मिक महापुरुषद्धारा प्रदान गरिएको आजसम्म देखिएको छैन । आठ वटा साधनाहरुलाई जोडेर भगवानले बनाउनुभएको यो असाधारण साधनाले निर्वाण कति दुरूह छ भन्ने तथ्यप्रति प्रमाणित गर्दछ ।
भगवान बुद्धको मोक्ष साधना विधि अन्यले व्याख्या गरेभन्दा किन पृथक छ ?
भगवान बुद्धको मोक्ष साधना गुरुकृपा, परमात्मा कृपा, तारक व्रम्हा आदि जस्ता अर्मूत, अस्पष्ट धारणाहरुमा आधारित मोक्ष साधना होइन । भगवान बुद्धको मूल मोक्ष साधना विधि (विपश्यना) धम्म वा प्रकृतिका शाश्वत नियममा आधारित छ । यो साधना विधिमा धम्म वा प्रकृतिका शाश्वत नियमहरु जुन नियमहरुले संस्कार (मनको विषयबाट उत्पन्न हुने दुखद् सुखद् संवेदना भोग गर्ने स्वभाव) प्राप्त गरेकोले तपाईंमा दुखचक्र, भवचक्र (पुर्नजन्म), लोकचक्र उत्पन्न गरिरहेका छन्, धम्म वा प्रकृतिका तिनै शाश्वत नियमहरुमा साधना संस्कार (समचित्त)का विजहरु छरेर प्रकृतिको यिनै शाश्वत नियमहरुलाई मोक्षको पक्षमा क्रियाशील गराउँदै निर्वाण प्राप्त गरिन्छ । यही कारण यो साधना विधि सत्य, स्पष्ट, वैज्ञानिक, भ्रमपूर्ण आध्यात्मिक धारणाहरु आदिबाट मुक्त छ । स्वयं भगवान बुद्ध र भगवान बुद्धको समयमा असंख्य साधकले यही विपश्यना विधिबाट निर्वाण प्राप्त गर्नुभएकोले यो सत्य मोक्ष साधना हो भन्ने पनि प्रमाणित गर्दछ ।
जब तपाईं वर्तमान समयमा प्रचलित अनेकन धर्म, ईश्वर, गुरु, सम्प्रदाय आदि द्वारा प्रचारित यो जगतका साधना विधिहरुलाई अवलोकन गर्नुहुन्छ, प्रायः यी सम्पूर्ण साधना विधिहरुको केन्द्रमा परमात्मा रहेको छ । यी साधना विधिहरुमा परमात्मा, परमात्मा भक्ति, परमात्मा शरण, परमात्मा कृपा, गुरु, गुरु भक्ति, गुरु श्रद्धा, तारक व्रम्हा आदि द्वारा मोक्ष प्राप्त हुन्छ भन्ने विश्वास गरिन्छ । तर आखिर कसरी यी साधना प्रक्रियाहरुले मोक्ष प्रदान गर्दछ ? यो केन्द्रिय प्रश्न नै अनुत्तरित छ । जुन अत्यन्त आश्चर्यपूर्ण प्रतित हुन्छ ।
भगवान बुद्धबारे यो जगतले धेरै कुरा थाहा पाउन सकेको छैन । त्यस्तो हो जस्तो लाग्छ ?
भगवान बुद्धकाे जीवन यो धर्तीमा असाधारण जीवन हो । यो धर्तीमा बुद्ध जस्ता महान् आध्यात्मिक पुरुषहरु विरलै विचरण गर्दछन् । कृष्ण, शिव जस्ता अवतारहरु पनि मानिसको रुपमा विरलै प्रकट हुन्छन् । यी महापुरुषहरु मात्र यो धर्तीमा जीवन, सत्य, बोध, मोक्ष आदिको मार्ग प्रदर्शित गर्न आएका हुन्छन् । हामीजस्ता मानिसहरु जो सांसारिक दृष्टी वा चक्षुबाट भगवान बुद्धको असाधारण जीवनलाई जब बुझ्न खोज्दछौँ, यो स्थितिमा बुद्ध वा बुद्धको जीवनलाई बुझ्न नै असमर्थ रहन्छौँ, किनकि असांसारिक मानिसको गहन, रहस्यपूर्ण, दिव्य जीवनलाई सतही सांसारिक चक्षुबाट बुझ्न सकिँदैन । बुद्ध, कृष्ण, शिव, जिसस आदिको जीवनलाई तपाईं त्यो स्थितिसम्म पूर्ण रुपमा बुझ्न नै सक्नुहुन्न, जबसम्म तपाईं स्वयंको जीवनको सांसारिक पक्षलाई नष्ट गरी स्वयंको शाश्वत जीवनलाई प्रकट गर्न सक्नुहुन्न । यसर्थ यो जगतले बुद्ध सम्बन्धमा धेरै कुरा थाहा पाउन सकेको छैन ।
यदि यो जगतले बुद्धको जीवनभित्र छिपेको रहस्यहरुलाई नभई बुद्धको बाह्य जिवनी, नैतिक उपदेश, दर्शन, सिद्धान्त आदिको बारेमा बुझ्न नसकेको हो भन्ने प्रश्न हो भने त्यो सत्य हो । स्मरण रहोस् भगवान बुद्ध सम्यक सम्बुद्ध हुनुहुन्छ । भगवान बुद्ध दार्शनिक, सिद्धान्तकार विद्वान, चिन्तक आदि हुनुहुन्न । यसैले जब सम्यक सम्बुद्धका सत्य वचनहरुलाई उपदेश, दर्शन सिद्धान्त, विचार आदिको लेपन लगाइन्छ, यो स्वयंमा भ्रमपूर्ण बन्न पुग्दछ ।
भगवान बुद्धले दिनुभएको ज्ञान र सन्देशलाई नेपालले किन प्रचार प्रसार गर्न नसकेको होला ? बुद्धबारे अध्ययन गरेका विज्ञहरुले ती कुराहरु जन समक्ष प्रभावकारी किसिमले किन राख्न नसकेको होलान् ?
जब तपाईं कुनै धर्म, त्यो धर्म विस्तार क्षेत्र, त्यो धर्मको प्रचारप्रसार, त्यो धर्मको अनुयायीहरुको संख्या आदि लाई गहिरिएर अवलोकन गर्नुहुन्छ, तपाईं स्पष्ट देख्नुहुन्छ कि यी सम्पूर्ण विषयहरुको पछाडि त्यो धर्मको अनुयायी (मूलतः राजा, राज्य आदि ) हरुको शक्ति जोडिएको हुन्छ । उदाहरणको लागि क्रिश्चियन धर्म यो जगतको सबैभन्दा बढी विस्तारित छ । यो धर्म वेद, उपनिषद् आदिको जन्मभूमी, भगवान कृष्ण, शिव, राम आदि जस्ता अवतारहरुको देश भारतमा पनि प्रवेश भएको छ । भगवान बुद्धको जन्मभूमी, ऋषि तपस्वीहरुको पूण्यभूमी नेपालमा पनि यो विस्तारित छ । आखिर किन ? किनकी यो सम्पूर्णकाे पछाडि क्रिश्चियन राष्ट्रहरुको शक्ति, श्रोत, सामर्थ्य, प्राथमिकता नै रहेको छ ।
जब तपाईं नेपालको इतिहासलाई हेर्नुहुन्छ, नेपाल कहिल्यै पनि महाशक्ति राष्ट्रको रुपमा रहेको पाइँदैन । पृथ्वी नारायण शाह भन्दा अगाडि हाम्रो देश स—साना बाइसी चौबीसी राज्यहरुमा टुक्रिएको थियो । नेपालको एकीकरण पश्चात पनि यो राष्ट्रका शासकहरुले आफ्नो ध्यान, शक्ति, श्रोत, सामार्थ्या आदि यो देशको सार्वभौम अस्तित्वलाई जोगाउन नै केन्द्रित गर्नुपरेको थियो । साथै भौगोलिक रुपमा अत्यन्त विकट रुपमा अवस्थित हाम्रो देश नेपाल इतिहासकालदेखि नै गरिबी, अज्ञान, अशिक्षा आदिले पीडित मुलुक थियो । प्राचीन नेपालमा शैक्षिक संस्थाहरु, आध्यात्मिक संस्थाहरु, उच्च शिक्षालयहरु आदिको सघन विकास पनि भएको थिएन । बुद्ध धर्मको गहन अध्ययनको लागि विश्वविद्यालयहरु पनि खुलेका थिएनन् । नेपालमा बुद्ध धर्म सम्बन्धमा विशिष्ट विद्वानहरु द्वारा लेखिएका प्राचीन कृतिहरु पनि खासै पाइँदैन । यर्थाथतामा वर्तमान समयसम्म पनि भगवानका ८४००० सुत्तहरुको नेपाली भाषामा ‘सत्य’ अनुवाद पनि भएको छैन । नेपालको यही आर्थिक, सामाजिक, बौद्धिक, शैक्षिक आदि पछौटेपनको कारण नै विगतमा नेपालले भगवानकाे सन्देशलाई प्रचारप्रसार गर्न असमर्थ रहेको हो ।
तर जब तपाईं वर्तमानलाई हेर्नुहुन्छ, वर्तमान समयमा नेपालमा भगवान बुद्धका जीवन, दर्शन, शिक्षा, सुत्त आदिहरुको अध्ययन, अध्यापन, अनुसन्धान, प्रकाशन आदिलाई प्रोत्साहन गर्न अनेकन धार्मिक संस्थाहरु, शैक्षिक संस्थाहरु, विश्व विद्यालय आदि पनि क्रियाशील छन् । वर्तमान समयमा धेरै लेखकहरुद्वारा भगवान बुद्धको जीवन, दर्शन, शिक्षा, उपदेश आदि सम्बन्धमा लेखिएका अनेकन लेखहरु, पुस्तकहरु पनि प्रकाशित भइरहेका छन् । जुन अत्यन्त सकारात्मक, आशापूर्ण, प्रसंशनीय छ । यो विश्वास गर्न सकिन्छ की नेपालकै माध्यमद्वारा भविष्य यो जगतका मानिसहरुले शनै शनै भगवान् बुद्धका कालातीत शाश्वत ज्ञानहरु प्रति जानकार हुँदै जानेछन् । नेपालद्वारा नै भगवानकाे ज्ञान, सन्देश, उपदेश आदि यो संसारभरि फैलिनेछ ।
तपाईंको व्यक्तिगत विचारमा भगवान बुद्धबारे हामीले जान्न किन आवश्यक छ ?
बुद्धको जीवन प्रश्नको जीवन हो । जहाँ जीवनसम्बन्धि प्रश्न उठ्दैनन्, त्यहाँ मानिसको जीवन देह, इन्द्रिय, मन र बुद्धिको परिधिभित्र नै समाप्त हुन्छ । देह सुख, इन्द्रिय सुख र मनको शान्ति खोज्दा खोज्दै हाम्रो जीवन समाप्त हुन्छ । संसारका साधारण मानिसले तपाईंमा जीवन सम्बन्धि प्रश्नहरु उठाउन सक्दैन । तपाईंको जीवनमा बुद्ध जस्ता असाधरण मानिसहरुको जीवनले मात्र प्रश्न उठाउन सक्दछ । जब तपाईंमा भगवान् बुद्धको जीवनबाट प्रेरित भएर प्रश्न उठ्दछ, त्यहाँ तपाईंको जीवनले कुनै अदृश्य शाश्वत मार्गलाई पछ्याउँदै स्वयं शाश्वतता तर्फ प्रवेश गर्दछ । मूलतः यही कारण वा स्वयंको जीवनभित्र छिपेको जीवनको रहस्यको अन्वेषणको लागि तपाईंले बुद्धलाई जान्नुपर्दछ ।
जब तपाईं भगवान् बुद्धको जन्मदेखि मृत्युसम्मका जीवन स्थितिहरुलाई गहिरिएर नियाल्नुहुन्छ, तपाईं देख्नुहुन्छ कि भगवान बुद्धका जीवनका सम्पूर्ण स्थितिहरु प्रश्नै प्रश्नले भरिएका छन् । जब तपाईं यी प्रश्नहरुको उत्तरलाई बुझ्दै जानुहुन्छ, तपाईं स्वयंको जीवनको गहिराइतर्फ नै जानुहुन्छ । तपाईं जीवनका शाश्वत क्षेत्रतर्फ नै जानुहुन्छ । मूलतः यही कारण हामीले बुद्धलाई जान्नुपर्दछ ।
जब तपाईं बत्तीस लक्षणले युक्त बालक; संसारको सीमामा नै बाँधिदिन पिता राजा शुद्धोधनले प्रायोजन गरेका ऋतुकालीन दरबारहरु, सुन्दरी सेविकाहरुको नृत्य, संगीत, सेवा, प्रत्यक्ष अप्रत्यक्ष कामुक हाउभाउ आदि माझ यी वस्तुहरुप्रति मिथ्यात्वको बोध गरिरहेको एउटा युवक; राजसभाको अध्यक्षको रुपमा पाइला पाइलामा प्राप्त हुने सम्मान, जयजयकार आदि प्रति व्यर्थताको बाेध गरिरहेको एउटा राजकुमार; मृतक, वृद्ध र रोगी मानिसहरुको दृश्यहरुले उत्पन्न गरेको गहन वैराग्यको भावमा डुबिरहेको एउटा वैरागी पुरुष; संसार त्यागको निर्णयपश्चात स्वयंको पत्नी र एक मात्र पुत्रको मोहको अदृश्य तर शक्तिशाली डोरीलाई चुँडालेर कुनै अज्ञात प्रदेशतर्फ अग्रसर सत्य खोजको यात्री; आदि जस्ता भगवान बुद्धका जीवनका दृश्यहरुलाई गहन अवलोकन गर्नुहुन्छ । के यी असाधारण दृश्यहरुले तपाईंको जीवनमा प्रश्नहरु उठाउँदैनन् ? जब तपाईं यी प्रश्नहरुमाथि गहिरिन थाल्नुहुन्छ, के तपाईं स्वयं पनि यी प्रश्नसँगै बुद्धत्वको शाश्वतमार्ग तर्फ विचण गर्नुहुन्न ?
यो यतिमा सीमित छैन, गृहत्याग पश्चात पनि भगवानका सम्पूर्ण जीवन स्थितिहरुले प्रश्नहरु नै उठाउँदछन् ।
अध्यात्मको संसार पाइला पाइलामा भाषाहरुले भरिएको त्यो संसार हो, जुन संसारमा जब एक अरब साधकहरु साधनामा प्रवेश गर्दछन्, ती एक अरब साधकहरुमध्ये मात्र एक दुई असाधारणबाहेक सम्पूर्ण साधकहरु ईश्वर, धर्म, गुरु, सम्प्रदाय धार्मिक मत, सिद्धान्त, धारणा, वस्त्र, माला, आभूषण आदिमा बाँधिएर नै समाप्त हुन्छन् ।
तपाईं सूक्ष्म दृष्टीमा जगतका विषयहरुमा छिपेका मिथ्यातत्वहरुलाई बोध गर्न सक्नुहुन्छ, तर जब विषय नै धर्म, परमात्मा, सत्य, मोक्ष, साधना आदि जस्ता अत्यन्त सुन्दर आवरणमा देखा पर्दछ , यो स्थितिमा अध्यात्मका यी विषयमा छिपेका असत् पक्षहरुलाई भेदन गर्न असम्भवप्रायः छ । तर भगवानले स्वयंको साधना यात्रामा देखापरेका धर्म, परमात्मा, गुरु, सम्प्रदाय, दर्शन, सिद्धान्त, मत, धारणा आदिको सुन्दर आवरणमा छिपेका मिथ्यात्वहरुलाई तिक्ष्ण दृष्टीले भेदन गर्दै निर्वाणको अमृतलाई प्राप्त गर्नुभएको छ । भगवानकाे यो असाधारण साधना यात्राले पनि साधकको मनमा प्रश्नहरु मात्र उठाउँछ । बुद्धको जीवन यो धर्तीको त्यो असाधारण जीवन हो, जुन जीवनले स्वयंको जीवन यात्राद्वारा नै यो जगतका मानिसहरुलाई जीवनको शाश्वत खोजतर्फ नै प्रेरित गर्दछ । यसर्थ स्वयंका जीवनभित्र छिपेको जीवनलाई बुझ्न, स्वयंको जीवनभित्र छिपेको सत्य जीवन मार्गतर्फ प्रवेश गर्ने मार्ग पहिल्याउन भगवान बुद्धलाई बुझ्नुपर्दछ ।
भगवान् बुद्धको ज्ञानलाई केवल एशियामा मात्र सीमित गरिएको छ । संसारभर फिजाउन सकिएको छैन । यो भनाइ केही हो ?
भगवानले यो संसारलाई प्रदान गर्नुभएको मूल ज्ञान ‘मोक्ष ज्ञान’ नै हो । भगवान बुद्धले प्रदान गर्नुभएका अहिंसा, दया, करुणा, प्रेम, परोपकार, सदासयता आदि जस्ता ज्ञानहरुलाई भगवानकाे मूल ज्ञान मान्न सकिँदैन । जबसम्म मानिसले भगवानकाे मूल मोक्ष ज्ञान (विपश्यना) द्वारा संस्कारका जराहरुलाई काट्न सक्दैन वा जबसम्म मानिसको जीवनमा संस्कारका अवरोधहरु रहिरहन्छन्, मानिसले प्रेम, करुणा, अहिंसा, परोपकार आदिलाई पूर्ण रुपमा जीवनमा उतार्न कदापी सक्दैन ।
धर्महरुको विस्तार कुनै न कुनै रुपमा राजा, राज्यको शक्ति र राजनीतिसँग जोडिएको हुन्छ । जहाँसम्म किन बुद्ध धर्म दक्षिण एशियामा मात्र सीमित छ भन्ने प्रश्न छ माथिको प्रश्न झैँ यो प्रश्न पनि बुद्ध धर्मको अनुयायी (मूलतः राजा, राज्य आदि) को शक्ति, सामर्थ्य प्राथमिकता आदिमा निर्भर गर्दछ । जब तपाईं बुद्ध धर्मको विस्तारलाई हेर्नुहुन्छ, यो धर्म मूलत दक्षिण एशियाली राष्ट्रहरु नेपाल, भारत, श्रीलंका आदि भन्दा पनि चीन, जापान, बर्मा, भीयतनाम, लाओस, कोरिया, ताइवान आदि देशहरुमा फैलिएको छ । जब तपाईं बौद्ध धर्मको इतिहासलाई हेर्नुहुन्छ, यो धर्म राजा अशोकको समयमा भारतमा मात्र नभइकन अन्य देशहरुमा फैलिएको थियो । राजा अशोकको निधनपश्चात जब अन्य धर्मका अनुयायी राजाहरुको उदय भयो, तत्पश्चात बुद्ध धर्मको विस्तार क्षेत्र पनि क्रमशः घट्दै गयो ।
तर जब वर्तमान समयलाई गहिरिएर हेर्नुहुन्छ, तपाईं बुद्ध धर्मका महायान, थेरावाद, वज्रयान आदि जस्ता दर्शनहरु नभइकन भगवान बुद्धको मूल साधना विधि ‘विपश्यना’ संसार भरी नै विस्तारै विस्तारै फैलिरहेको देख्नुहुन्छ । वर्तमान समयका शिक्षित मानिसहरु अनेकन् मत, सिद्धान्त, दर्शन, विचार आदि प्रति भन्दा पनि ‘शुद्ध मोक्ष साधना विधि’ प्रति आकर्षित भएको कारण नै भगवान् बुद्धको विपश्यना साधना संसारभरी फैलिरहेको हो ।
के विभिन्न धर्म मान्नेहरु पनि भगवान बुद्धले दिनुभएको परम क्षेत्रमा ज्ञानबाट लाभान्वित हुन सक्दछन् ?
तपाईंको जीवनमा धम्म वा प्रकृतिका ६ वटा शाश्वत नियमहरु क्रियाशील छन् । जब तपाईं गहिराइमा स्वयंको जीवनलाई अवलोकन गर्नुहुन्छ, तपाईं स्वयंमा ‘भूमिका शून्य’ हुनुहुन्छ । किनकी प्रकृतिका यी ६ वटा शाश्वत नियमहरुद्वारा नै तपाईंको जीवन सन्चालित छ । मैले मेरो पुस्तक विपश्यना साधनामा धम्मका यी शाश्वत नियमहरुको विस्तृत व्याख्या गरेको छु । यो संसारमा मानिस जुनसुकै धर्म, जाति, वर्ण, विशेष आदिको भए पनि यो सृष्टीमा मानिसको जीवन संरचना, यो जीवन संरचनाभित्र शाश्वत नियमहरुको कारण चलिरहेको जीवन प्रक्रिया, यो जीवन प्रक्रियाबाट उत्पन्न परिणामहरु अकाट्य रुपमा समान छन् ।
यो जगतमा मानिसको जीवन संरचना नै यस्तो छ कि यो संरचनामा जब इन्द्रियहरु र विषयहरुबीच मिलन हुन्छ, त्यो क्षणमा मानिसमा रागपूर्ण र द्वेषपूर्ण संवेदनाहरु उत्पन्न हुन्छन् । जब देह र चित्तमा सुखद् दुखद् संवेदनाहरु उत्पन्न हुन्छन्, मानिस यी संवेदनाहरुलाई भोग गरी दुखी सुखी भइरहन्छ । स्वयंको वर्तमान जीवनमा दुखचक्र र मृत्युपश्चात पनि भवचक्र, लोकचक्र उत्पन्न गरिरहन्छ । भगवान् बुद्धले यो संसारका मानिसहरुले प्रतिक्षण भोगिरहेको यो दुखचक्र र मृत्युपश्चात प्राप्त गरिरहेको भवचक्र, लोकचक्र आदिलाई नाश गरी निर्वाण प्रदान गर्ने ‘विपश्यना साधना ज्ञान’ सिकाउनु भएको छ । यो सार्वकालीन, सार्वजनिक, सार्वदेशिक सत्य मोक्ष ज्ञानलाई स्वयंका जीवनमा उतारेर यो जगतको कुनै पनि धर्म, जाति, वर्ण आदिको मानिस लाभान्वित हुन सक्दछ ।
यो अति यान्त्रिक युगमा भगवान बुद्धको ज्ञानले कसरी मानिसहरुलाई सुखपूर्वक बाँच्न सिकाउँछ ?
जबसम्म मानिसको चित्तमा संस्कारहरुको उपस्थिति रहन्छ, त्यो स्थितिसम्म मानिस जीवनमा सुख, शान्ति, र आनन्दपूर्वक बाँच्न सदैव असमर्थ नै रहन्छ । किनकी जब तपाईंमा संस्कारहरु उपस्थित रहन्छन्, त्यो स्थितिमा तपाईंमा छिपेका धम्म वा प्रकृतिका शाश्वत नियमले तपाईंका संस्कारलाई ‘स्वत:’ (automatically) प्रकट गरिरहन्छ । यो स्थितिमा तपाईंमा विषयहरु प्रति मनमा विचारहरु स्वतः उठिरहन्छन् । यी विचारहरु अनुरुप तपाईंमा स्वतः रागपूर्ण द्वेषपूर्ण संवेदनाहरु उत्पन्न भइरहन्छन् । तपाईं यी संवेदनाहरुलाई ‘स्वतः’ अवचेतन मनले भोग गरेर प्रतिक्षण दुखी सुखी भइरहनुहुन्छ । प्रतिक्षण दुख, निरासा, असन्तोष, अशान्ति, अस्थिरता आदिका धारामा उत्रने डुब्ने गरिरहनुहुन्छ । यो स्थितिमा तपाईं यो जीवनमा कहिल्यै पनि सुखपूर्वक बाँच्नसक्नुहुन्न । यो जीवनमा सुख, शान्ति, आनन्दपूर्वक बाँच्न संस्कारका जराहरुलाई नै नष्ट गर्नु पर्दछ । यसर्थ वर्तमान वैभवपूर्ण यान्त्रिक होस् वा अन्य कुनै पनि युग किन नहोस् मानिसले त्यो स्थितिमा मात्र शान्ति, सुख, आनन्दपूर्वक बाँच्दछ, जब ऊ सत्य साधनाद्वारा स्वयंका चित्तमा छिपेका संस्कारका जराहरुलाई नष्ट गरी स्वयंभित्र छिपेको परमशान्ति, परमआनन्द आदिको मूल श्रोतसम्म पुग्न सक्दछ । भगवान् बुद्धले यो जगतका मानिसहरुको लागि चित्तका संस्कारहरुको जरापूर्ण रुपमा नष्ट गरी साधारण शान्ति होइन परम शान्ति, क्षणिक सुख होइन परम अविनाशी सुख, क्षणभंगूर आनन्द होइन, सतत् परम आनन्द प्राप्त गर्ने साधना विधि सिकाउनु भएको छ । यो कालातीत साधना विधिद्वार कुनै पनि युगमा मानिस सुखपूर्वक बाँच्न सक्दछ ।
भगवान् बुद्धको व्यक्तित्व र ज्ञानबारे धेरै पुस्तकहरु लेखिसक्नु भएको छ ? ती पुस्तकहरुका बारेमा छोटकरीमा भनिदिनु भए हुन्थ्यो ।
मैले हालसम्म गौतम बुद्धसँग जोडिएका तीन महत्वपूर्ण पुस्तकहरु प्रकाशनमा ल्याएको छु । यी पुस्तकहरु निम्न प्रकारका छन् ।
धर्मचक्र प्रवर्तन सुत्त— यो सुत्त भगवान बुद्धको निर्वाण पश्चातको प्रथम धर्म देशना वा उपदेश हो । जब भगवान बुद्धले झण्डै ६ वर्षसम्मको अनेकन प्रकरका साधनाहरुको असफलता पश्चात स्वप्रयासद्वारा विपश्यना साधना विधि पत्ता लगाएर निर्वाण प्राप्त गर्नुभयो, तत्पश्चात भगवानले यो जगतका मोक्षअभिलाषी साधकहरुको लागि प्रदान गर्नुभएको यो सुत्तमा भगवानले चार आर्य सत्य र आर्य अष्टाङ्ग साधना विधि (विपश्यना)को गहन व्याख्या गर्नुभएको छ ।
महासत्तिपट्ठान सुत्त— भगवान बुद्धको समयमा पनि निर्वाण एक अत्यन्त दुरूह प्राप्ति थियो । अरबौँ साधकहरुमा मात्र १—२ असाधारण साधकले मात्र यो मोक्षको अमृत पदलाई प्राप्त गर्दथे । अत्यन्त उच्च स्तरका साधकहरु, गुरु आदि हरु वर्षौंवर्षको साधना पश्चात पनि निर्वाणलाई प्राप्त गर्न असमर्थ नै रहन्थे । जब भगवानले निर्वाण प्राप्त गरेको खबर चारै तर्फ विद्युत गतिमा फैलियो, तत्पश्चात वर्षौंवर्ष सम्म अनेकन् साधनाहरुमा साधनारत रहँदा पनि निर्वाण प्राप्त गर्न असफल उच्च स्तरका साधकहरु भगवान बुद्धलाई खोज्दै आए । यी साधकहरु भगवानका अमृत वचनहरु सुन्न भगवानलाई पछ्याइरहन्थे । महासत्तिपट्ठान सुत्त भगवानले यीनै उच्चस्तरका साधकहरुलाई प्रदान गर्नुभएको मोक्ष साधना विधि व्याख्या हो । भगवान बुद्धले त्रिपिटकका विभिन्न सुत्तहरुमा मोक्ष साधना विधिको व्याख्या गर्नुभएको छ, तर जुन गहन तर पूर्णता, सरलता र स्पष्टतापूर्वक मोक्ष साधना विधिको व्याख्या महासत्तिपट्ठान सुत्तमा गर्नुभएको छ, त्यो व्याख्या भगवानका अन्य सुत्तहरुमा पनि गरिएको पाइन्न । वेद, उपनिषद् अदिको सार गीता भए झैँ भगवानकाे त्रिपिटकका मोक्ष साधनाको सार महासत्तिपट्ठान सुत्तलाई मान्न सकिन्छ ।
विपश्यना साधना — विपश्यना साधना (आर्य अष्टाङ्ग मार्ग साधना) भगवानले आठ वटा साधनाहरुलाई संयोजन गरेर बनाउनु भएको यो जगतको एक सत्य, पूर्ण र असाधारण प्रकृतिको साधना हो । यो पुस्तकमा मैले भगवान बुद्धको यही विपश्यना साधना विधिसँग जोडिएका सैद्धान्तिक पक्षहरु, साधनाका पक्षहरु, प्रश्नहरु आदिको गहन व्याख्या गरेको छु । विपश्यना साधना कसरी चरणबद्ध रुपमा गरिन्छ भन्ने साधना प्रक्रियाको व्याख्या पनि गरेको छु ।
भगवान बुद्धबारे अझै के के लेख्ने विचारमा हुनुहुन्छ ?
स्वयंको प्रामाणिक निर्वाण पश्चात भगवानले यो जगतलाई ८४००० सुत्तहरुमा अनेकन अमूल्य ज्ञान दिनुभएको छ । भगवानका यी ८४००० सुत्तहरु केही त्यस्ता असाधारण सुत्तहरु पनि छन्, जहाँ भगवान बुद्धले निर्वाण साधनाविधिको गहन व्याख्या गर्नुभएको छ । सत्य मोक्ष साधना विधि नै पहिल्याउन असम्भव वा पूरक, आंशिक, अपूर्ण, भ्रामक, मिथ्या आदि प्रकृतिका साधनाहरुको साम्राज्य रहेको यो संसारमा भगवानका यी निर्वाण साधना विधिको गहन व्याख्या गरिएका यी सुत्तहरुको असाधारण महत्व छ । भगवानका गहन निर्वाण साधना विधिहरुलाई प्रकाश पार्ने क्रममा मैले धर्मचक्र प्रर्वतन सुत्त, महासत्तिपट्ठान सुत्त आदि जस्ता पुस्तकहरु प्रकाशनमा ल्याइसकेको छु । यदि मलाई समयले साथ दियो भने भगवान बुद्धले निर्वाण साधना विधिका गहन व्याख्या गरिएका अन्य सुत्तहरु माथि पनि अध्ययन गरी सरल भाषामा यी सुत्तहरुलाई प्रकाश पार्न इच्छुक छु ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।


र यो पनि पढ्नुहोस्...
