जसरी नेपाली भनेपछि वीर गोर्खालीको सन्तान भनेर विश्वले चिन्छ । जसरी नेपाली भनेपछि बुद्धको देशको मान्छे भनेर चिन्छ विश्वले । सगरमाथाको देशको मान्छे भनेर पनि नेपालीलाई नै चिन्छ विश्वले । इतिहासमा कहिल्यै पनि कसैको अधीनमा नरहेको देशका रूपमा पनि नेपाललाई चिन्छ विश्वले । यो त भयो हाम्रा पुर्खा र इतिहासले बनाएको पहिचान । समय क्रमसँगै लाखौँ नेपालीहरू रोजगारीको सिलसिलामा होस् अथवा पढाइ अथवा व्यापार व्यवसाय अथवा अन्य कुनै कारण विश्वका प्रायः मुलुकमा नेपाली पुगेका छन् । अन्य देशमा पुगेका नेपालीहरूको कथा व्यथा केकस्तो छ त्यो त म भन्न सक्दिनँ तर विगत ७/८ वर्षदेखि युएईमा बस्दै आएको नाताले यो अवधिमा मैले देखेका, सुनेका र सामाजिक सञ्जालमा आएका घटनाहरूलाई आधार मानेर यो लेख तयार पारिरहेको छु । हुन त लेख्नका लागि परदेशसँग जोडिएका अन्य थुप्रै कुराहरू छन् तर यसपटक भने जाँडसँग जोडिएका केही प्रतिनिधि घटना र त्यसले युएईमा नेपालीको बदलिँदै गएको परिचयका विषयमा लेखिरहेको छु । जाँड खानेहरूको विरोध गर्नु यो लेखको आशय पक्कै होइन । न त जाँडा खानु हुँदैन भन्ने सन्देश फैलानु नै हो । जाँड खानु नखानु त्यो मान्छेको व्यक्तिगत स्वतन्त्रता र इच्छाको कुरा हो । त्यसमा भाँजो हाल्ने म को र ? फेरि जाँड खानु हुँदैन भन्ने सन्देश फैलाएर आफूलाई महान् देखाउनु पनि छैन तर जाँडकै कारण अथवा भनौँ जाँड खाएकै कारण भएका घटना र त्यसले नेपाली र नेपालको पहिचानमा पार्दै लगेको असरका विषयमा केही लेख्ने कोसिस गर्दै छु ।
जसरी पहिले-पहिले नेपाली भन्नेबित्तिकै विदेशीको मस्तिष्कमा सगरमाथाको चित्र आउँथ्यो, बुद्धको चित्र आउँथ्यो । अहिले कुनै विदेशी नागरिकसामु “आइ एम नेपाली” भन्नेबित्तिकै उसको दिमागमा रोयल स्टेग, अफिसर्स च्वाइस, रेड हर्स, जोन बार लगायतका रक्सी र बियरका बोतलको चित्र आउँछ । अलिक स्यालरी धेरै थाप्ने नेपाली हो भन्ने उसले ठान्यो भने उसको दिमागमा भ्याट ६९, रेड लेभ, ब्लु लेबल देखा पर्छ । परदेशमा यस्तो माहोल बन्दै छ कि कुनै नेपालीले “म रक्सी पिउँदिनँ” भन्यो भने कसैले नपत्याउने अवस्था निर्माण हुँदै गइरहेको छ । “नेपाली ! नो ड्रिङ्किङ ? इट्स नट पोसिबल” भन्ने जवाफ आउँछ । फेरि नपत्याएपछि स्पष्टीकरण दिइराख्नु आवश्यक पनि हुँदैन । उसको दिमागमा यस्तै कुरोले डेरा जमाउँदै गएको छ त त्यसमा हामी के गर्न सक्छौँ र ? संसारमा हरेक कुराको अपवाद हुन्छ भन्ने कुरा फेरि सबैलाई थाहा नहुन पनि सक्छ । भिडमा जे देखियो अथवा भिडले जे देख्यो त्यही नै सत्य हो भन्ने परिपाटिमा हामी छौँ । जसरी युएईबाट हुन्डीमार्फत पैसा नपठाउने नेपाली पाउन गाह्रो हुन्छ त्यसै गरी रक्सी नपिउने नेपाली पाउन पनि गाह्रो हुँदै गएको छ । एक त हुन्डीमार्फत पैसा पठाएर राजस्व चुहावट गरिरहेका छन् भने अर्कातर्फ जाँडकै कारण उद्दण्ड मच्चाएर देशको बदनाम गरिरहेका छन् । यसरी आर्थिक र नैतिक रूपमा देशलाई घाटा लाउने काम भइरहेको छ हामी स्वाभिमानी भनिएको नेपालीबाट ।
कहिलेकाहीँ दिक्क लागेर त कहिलेकाहीँ मजाक गर्दै साथीहरूलाई मैले भन्ने गरेको छु, “यो जँड्याहारूको सङ्गत गर्नुभन्दा त एक्लै हिँड्नु ठिक छ ।” तर के गर्नु उनीहरूको सङ्गत नगरे म एक्लै हुन्छु । परदेशमा साह्रोगाह्रो हुँदा सहयोग गर्ने उनीहरू नै हुन्छन् । जाँड पिउँछन् भन्दैमा साथ छोडिहाल्न पनि कहाँ मिल्छ र ? फेरि म गैँडा पनि त होइन स्वभाव मिलेन भन्दैमा एक्लै हिँड्नलाई । यो ७/८ वर्षको युएई बसाइ र काम गर्ने सिलसिलामा सयौँ नेपालीहरूसँग चिनजान हुने मौका मिल्यो । तीमध्ये कति परममित्र भए । कति जना सँगसँगै काम गरियो । कति जनासँग एउटै कोठमा बसियो त कति जनासँग एउटै भाँडामा पकाएर खाना पनि खाइयो तर तीमध्ये जाँड नपिउने को-को थिए भनेर भन्नुपऱ्यो भने हातका औँलाले गन्ने गरी भेट्टाउन पनि मुस्किल हुन्छ । हुन त उनीहरूले जाँड खाएकै कारण अहिलेसम्म कोही साथीसँग झगडा गर्नुपरेको छैन र त्यो अवस्था नआउला पनि । त्यसो हुनुमा मेरो लचिलो स्वभावले पनि काम गरेको हुन सक्छ । अथवा भनौँ उनीहरूले जाँड खानु नखानुसँग मैले कहिल्यै सरोकार नराखिदिनुले पनि काम गरेको हुन सक्छ । सामान्यतया आफूलाई मन नपरेको कुरा अथवा आफूलाई ठिक नलागेको कुरा अरू कसैले मिठो मानेर खान्छ भने हामी त्यसको खिल्ली उडाउने गर्छौँ तर मेरो हकमा त्यो छैन । किनभने कतिपय अवस्थामा उनीहरूलाई ठिक नलागेका कुरा पनि म मज्जाले खाइरहेको हुन्छु । भनिन्छ, संसारमा कुनै पनि कुरा सही/गलत अथवा ठिक/बेठिक भन्ने नै हुँदैन । यो सब मान्छेको बुझाइमा फरक परेको मात्रै हो । यसकारण पनि कसैले रक्सी खानु/नखानु मेरो टाउको दुखाइको विषय कहिल्यै भएन र हुँदैन पनि तर रक्सीकै कारण व्यक्ति र राष्ट्रको पचिहानमा असर पुगिरहेको कुरा महसुस गरेर केही लेख्न मन लागेको मात्रै हो ।
घटना १ :
अहिले म कार्यरत कम्पनीमा आएको सुरुका केही दिनसम्म ट्रेनिङ चलिरहेको थियो । ट्रेनिङमा कम्पनीको नीतिनियम र युएईको महत्त्वपूर्ण कानुनबारे एक जना पाकिस्तानीले जानकारी गराइरहेको थियो । त्यो हलमा नेपालसहित भारत, पाकिस्तान, फिलिपिन्स, युगान्डा, मोरोक्को, सुडान लगायत गरी करिब २ सय जनाको उपस्थिति थियो । त्यसमा एक म पनि थिएँ । कम्पनीमा कुन-कुन देशका मान्छेले कसरी काम गर्छन्, गरिरहेका छन्, कुन देशका नागरिकको कस्तो-कस्तो विशेषता हुन्छ भन्ने कुरा पनि उसले गरिरहेको थियो । त्यही क्रममा उसले भन्यो, “यो कम्पनीको इतिहासदेखि अहिलेसम्मको रेकर्ड हेर्दा नेपाली जति इमानदार र कामप्रति जिम्मेवार भएर काम गर्ने अरू छैनन् । काम गर्ने मामलमा नेपालीहरू साह्रै मेहनती छन्, अपवादबाहेक । उनीहरू कामको कुरोमा कम्प्रमाइज गर्दैनन् । जस्तो ठाउँमा ड्युटी खटाए पनि केही नभनी गर्छन्, अपवादबाहेक । त्यसैले पनि यस कम्पनीमा तुलनात्मक रूपमा नेपालीहरूको सङ्ख्या धेरै छ ।”
यति सुन्दा बडो गर्व महसुस भइरहेको थियो । त्यसै त मेरो लामो नाक झन् लामो भइरहेको थियो । त्यसैमा उसले फेरि थप्दै भन्यो, “नेपालीहरूको सबै कुरा ठिक छ तर जाँड खाएपछि भने कुरो बिग्रिन्छ । जाँड खाने मामलामा नेपालीलाई सकिन्न । जसरी काम गर्ने कुरामा नेपाली अघि छन् त्यसैगरी जाँड खाने सवालमा पनि उनीहरू अघि नै छन् । यसको मतलब अरू देशकाले पिउँदैनन् भन्न खोजेको होइन, तर पिएपछि जुन किसिमको अभद्र व्यवहार नेपालीले देखाउँछन् त्यो किसिमको व्यवहार अरूमा कमै देख्न पाइन्छ । अरू बेला लुरुलुरु काम गर्ने नेपालीले मातेपछि भने कसैलाई टेर्नेवाला छैन । उस्तै परे कम्पनी नै आफ्नै बाउको हो झैँ गर्छन् ।” यत्ति भनेपछि अघि गर्वले फुलिएको मेरो नाकटको साइज सर्लक्कै घट्यो । छेवैमा बसेको पाकिस्तानीले हेऱ्यो र सोध्यो, “आप भि पिते हो ?” म मुसुक्क हाँसे मात्र ।
घटना २ :
हालसालैको कुरो हो, मैले काम गर्ने कम्पनीमै काम गर्ने त्यो पनि झापाकै साथी । उनको पनि जाँड खाएपछि उपद्रो गर्ने बानी रैछ । एक दिन जाँड खाएर ड्युटी गएछन् र ड्युटीमा उसको जिम्मेवारीमा रहेको एउटा सामान लोड गरेर राखेको गाडी कुदाएछन् । खासमा उसलाई ती गाडीहरूको रेखदेख गर्न राखिएको हो तर मातेको सुरमा सामानसहितको गाडी कुदाएछन् । एक त विनालाइसेन्स, त्यसमाथि रक्सी पिएर, त्यसमाथि झन् अर्काको सवारीसाधन । यति भएपछि युएई प्रहरीलाई के चाहियो र कारबाही गर्नलाई । गाडी कुदाइरहेकै समयमा प्रहरीले कसरी थाहा पायो र समात्यो त्यो त थाहा हुन सकेन तर ऊ समातिएर जेल पऱ्यो । जेल परेपछि घरमा खबर पुग्यो । उद्धारका लागि घरपरिवारले झापाली समाजमा खबर गरे । एउटै कम्पनी भएका कारण झापाली समजाले केकसो भएको हो बुझ्नका लागि मलाई भन्यो । मैले पनि आफ्नो क्षमताले भ्याएसम्म खोजी गरेँ । ऊ जेल परेको कुरा पक्का गरिदिएँ कारणसहित । जेल परेपछि फेरि हामी जेलबाहिर भएको मान्छेले त्यस्तो खास केही गर्न सक्ने पनि होइन । यति हो के कसो कारणले जेल परेको हो भन्ने खबर मात्रै हामीले परिवारमा पुऱ्यायौँ र अदालतको निर्णय नआएसम्मका लागि बस्न अनुरोध पनि गरियो ।
करिब ६ महिनाको जेलसजाय भोगेपछि प्रहरीले कम्पनीसँग टिकेट मगाएर हिरासतबाटै एयरपोर्ट पुऱ्याएर नेपाल पठाइदियो । यो ६ महिनाको अवधिमा परिवारमा केकस्तो तनाव भयो होला त्यसको फाल्टै कहानी बन्छ । फेरि ऊ कम्पनीमा आएको एक वर्ष मात्रै पूरा हुँदै थियो । त्यति नै बेला जेल पऱ्यो । ऊसँगै काम गर्ने साथीहरूका अनुसार कम्पनीमा आएको दिनदेखि नै जाँड खाने, मात्ने र झगडा गर्ने काम भइरहेकै थियो । मातेर उद्दण्ड मच्चाएकै कारण हरेक महिना ऊ जरिमानामा पनि परिरह्यो । ५/६ लाख तिरेर आउनु छ । मेनपावरलाई बुझाएको त्यो ५/६ लाख तिरिसकेकै छैन । यस्तो अवस्थामा त्यो ऋण कसरी तिरियो होला ? टाउकामा ऋणको भारी हुँदा पनि काँधमा जिम्मेवारी बोध नगर्ने नेपालीहरू पनि थुप्रै भेटिन्छन् परदेशमा । यो चाहिँ यस लेखमा उल्लेख भएका सबै घटनाहरूमध्ये सबैभन्दा पछिल्लो घटना हो । योभन्दाअघि पनि झापाकै एक जना साथी “ड्रिङ्क एन्ड ड्राइभ” मा करिब एक वर्ष जेलमा परे । घर जाने बेला प्लेन भाडा नभएर हामी केही साथीले सहयोग उठाएर उसको टिकट काटेर पठायौँ । प्रायः जेल परेको केसमा प्रहरीले जेलबाटै सिधै डिपोर्ट गर्छ । यो त भयो जाँड खाएर जेल परेको कुरा । घटना कतिसम्म भएको छ भने “म जेल परेँ, जेलबाट बाहिर निस्कन पैसा चाहियो, त्यताबाट पठाउनुपऱ्यो” भनेर घरबाट पैसा मगाएर जाँड खाने त्यो लेबलको जँड्याहा पनि भेटिए ।
घटना ३ :
केही समय पहिले ४/५ जना नेपाली एकैपटक टर्मिनेटमा परे । एउटै कारण थियो जाँड । उनीहरू चाहिँ कम्पनीको क्याम्पमा नभई ड्युटी गर्ने ठाउँतिरै बस्थे । दसैँका बेला थियो । साथीहरू मिलेर रुममै ल्याएर खसी काटे, रक्सी ल्याए आफ्नो हिसाबले दसैँ मनाए । त्यहाँसम्म त ठिकै थियो । रातभरि टन्न खाए । बिहान त ड्युटी जानैपऱ्यो । “तँ मातेको छस्, तेरो महान् चाड हो” भनेर कम्पनीले छुट्टी दिने कुरो पनि भएन । साथीहरू जाँडकै तालमा ड्युटी गए । सुपरभाइजर पाकिस्तानी, मातेको थाहा पाएपछि सोधखोज गरेछ । “पिया तो पिया, तुम्हारा बापका नही पिया” भन्ने जबाफ दिएछन् साथीहरूले पनि । त्यसपछि छिनभरमै कम्पनीको माथिल्लो तहसम्म पुग्यो, नेपाली मातेर बौलायो भन्ने कुरो । तत्कालै सबैलाई ड्युटीबाट निकालेर क्याम्प पठायो । एक महिनाभन्दा धेरै दिनसम्म विना काम, विनातलब उनीहरू कोठामै सुतिरहे । परदेशमा विनाकाम र विनातलब बस्नुजत्तिको पीडा अर्को हुँदैन । त्यो अवधिसम्म उनीहरू कसरी बसे होलान् त्यो आफ्नै ठाउँमा छ । त्यतिबेला पनि उनीहरूलाई बेलाबखत क्याम्पमा भेट्दा उनीहरूको हातमा कि चुरोट हुन्थ्यो कि उनीहरू मातेको भेटिन्थे ।
पैसा कमाउन आएको मान्छे अचानक घर फर्किनुपरेकाले पक्कै पनि पिर त पऱ्यो नै । अनि पिर परेपछि पिर कम गर्न फेरि जाँड खानु स्वाभाविक नै भयो । केही समयपछि सबै जनालाई एकैपटक नेपाल पठाइदियो । उनीहरू अन्त भाग्छन् भनेर कम्पनीले पनि सबैलाई एयरपोर्टसम्म लगिदियो र अब चाहिँ बाहिर आउन मिल्दैन भन्ने ठाउसम्म पुऱ्याएर छोडिदियो । जाँडकै कारण टर्मिनेटमा परेका अन्य घटना त थुप्रै देखिन्छन्, सुनिन्छन् तर यसरी सामूहिक टर्मिनेटका घटना चाहिँ बिरलै हुन्छन् । जाँडकै कारण टर्मिनेट हुनेहरूमा अरू देशका पनि भेटिन्छन् तर त्यो सङ्ख्या नेपालीहरूको तुलनामा निक्कै कम छ ।
घटना ४ :
म बसेको क्याम्पनजिकै भट्टी पसल छ । हुन त त्यहाँ अरू देशका मान्छे पनि रक्सी पिउन जान्छन् तर धेरै मात्रामा चाहिँ नेपाली नै हुन्छन् । रक्सीकै कारण त्यहाँ बेला-बेला झगडा पनि हुने गर्छ । कहिलेकाहीँ त छुरा हानाहान पनि भएको पाइन्छ । यसरी झगड गर्नेमा फेरि नेपाली नै अग्र स्थानमा भेटिन्छन् । उनीहरू रक्सी बेचेर पैसा कमाइरहेका छन् हामी बदनाम । स्यालरी आएको केही दिनसम्म धेरै नेपालीको वास त्यही भट्टी पसलमा हुन्छ । कतिपय साथीहरू यस्ता पनि छन् जसलाई स्यालरी आएको १०/१५ दिनसम्म कोठामा भेट्न गाह्रो हुन्छ । वासै बाहिर हुन्छ । त्यहाँ बसेर खानु उनीहरूको बाध्याता पनि हो । कम्पनीले गेटमा चेकिङ गर्ने भएका कारण कोठामा रक्सी ल्याएर पिउन त्यति सजिलो छैन । गेटको सेक्युरिटीले क्याम्पभित्र रक्सी ल्याएको थाहा पायो भने सिधै १ हजार दिराम जरिमाना तिराउँछ । त्यो भनेको अहिलेको रेटले नेपालको ३२ हजारभन्दा माथि । जम्मा कमाइ ३ हजार दिराम । त्यो सबै झन्झट झेल्नुभन्दा त्यही भट्टीमा बस्यो खायो अनि कोठा आयो । बाहिर मात्न पाइन्छ तर मातेर होहल्ला गरेको खण्डमा चाहिँ फेरि उही जरिमानाको भागीदार बन्नुपर्छ । पिएपछि होसहवास गुमाउनेहरूले त्यो जरिमाना के सम्झिनु ? मातेपछि धेरैको बानी हल्ला नगरी नहुने । रक्सी खाएर हल्ला गर्ने, झगडा गर्ने गरेकै कारण थुप्रै नेपालीले महिनैपिच्छे जरिमाना तिरिरहेका पनि छन् । जरिमाना खाए पनि रक्सी खान छोडेको चाहिँ कसैले छैन अहिलेसम्म ।
घटना ५ :
जाँड खाएर मातेपछि हरेकको बानी आआफ्नै हुन्छ । कसैलाई मातेपछि नाच्नुपर्छ, गाउनुपर्छ । कसैलाई मातेपछि जिउमा के सवार हुन्छ थाहा छैन सामान तोडफोड गर्नैपर्छ । कुनै न कुनै बिगार गर्नैपर्ने हुन्छ । कसैलाई मातेपछि लुगा फुकालेर हल्ला गर्दै हिँड्नुपर्छ । कसैले मातेपछि आफ्ना सारा दुःखपीडा सुनाउन थाल्छन् । कोही फेरि मातेपछि अहिलेसम्म कमाएका सबै सम्पत्ति विवरण सुनाउन थाल्छन । कसैको फेरि मातेपछि फोनमा घन्टौँ कुरा गर्ने बानी हुन्छ । कुरा चाहिँ कोसँग गर्छन् त्यो चाहिँ थाहा हुँदैन । अनि कसैको बानी मातेपछि श्रीमती अथवा गल्फ्रेन्डलाई फोन गर्ने अनि झगडा गर्ने । झगडा गरेपछि तनाव बढ्छ अनि तनाव बढ्यो भन्दै फेरि रक्सी सड्काउँछन् । कत्तिले फेरि मातेपछि आफ्ना सामान हराउँछन् । हरेकपटक मात्दा एउटा न एउटा सामान हराउने साथीहरू भेटिन्छन् । कसैको बानी मातेपछि सामाजिक सञ्जालमा अनेक कुरा लेख्ने र पोस्ट गर्ने । चाहिने पनि लेखेको छ । नचाहिने पनि लेखेको छ । मातेको सुरमा के-के लेखियो पत्तो हुन्न । बिहान होसमा आउँदा आफैँसँग रिस उठ्छ र पोस्ट डिलिट हुन्छ । त्यतिन्जेलमा कति जनाले स्क्रिन सर्ट गरेर कति जनाकोमा फर्डवार्ड गरिसकेका हुन्छन् थाहा हुँदैन । रक्सी पिएपछि हल्ला नगरी थपक्क सुत्ने त कमै मात्र साथी भेटेको छु परदेशमा । इटहरीका एक जना साथी थिए । ऊसँग करिब १५/१६ महिना एउटै रुमा बसियो तर ऊ मातेको छ भन्ने कुरा उसले भनेपछि मात्रै थाहा पाउँथे । मातेर त्यति शान्त बस्ने मान्छे कमै भेटिन्छन् ।
मोरङका एक जना साथी थिए । नमातेका बेला ऊ बडो इमानदार हुन्थ्यो । नियमित व्यायाम पनि गरिरहन्थ्यो फ्रेसमा भएका बेला । कतिपटक त मैसँग जिम हाउस पनि गएको छ । जिम गरेर अलिअलि ज्यान पनि बनेको थियो । सायद त्यही जिम गरेर निस्किएको शक्तिलाई उसले मातेपछि प्रयोग गर्थ्यो । ऊ मातेपछि कम्पनीमा कुनै न कुनै बिगार गरेकै हुन्थ्यो । कहिले बाथरुमको धार भत्काउने । कहिले किचेनमा गएर चुल्हा भत्काउने । कहिले ट्वाइलेटको प्यान भत्काउने । कहिले आफ्नै रुमका साथीसँग झगडा गर्ने । हरेकपटक ऊ मातेपछि बिगार गर्ने र जरिमानामा परिरहने । कत्तिपटक त कम्पनीले उसको ड्युटी लोकेसन पनि चेन्ज गरिदियो सुध्रिन्छ कि भनेर तर त्यसो भएन । अन्त्यमा केही सिप नगालेपछि जाँड खाएर बिगार गरेकै कारण कम्पनीले उसलाई टर्मिनेट गऱ्यो र घर पठाइदियो । अहिले के गर्दै छ कुन्नि अत्तोपत्तो छैन ।
घटना ६ :
साथीहरू कतिसम्म गर्छन् भने ५/६ जनासँगै जाँड खान बस्ने । अनि मातेपछि सबैका कुरा ठुला आउने । अनि आआफूमै झगडा गर्ने । सामान्यतया यस्तो बेला चाहिँ झगडाको विषयवस्तु देशको राजनीति बन्छ । देशको त्यही गलत राजनीतिक परिपाटिले गर्दा लाखौँ नेपालीले देश छोड्नुपरेको कुरालाई बिर्सेर तिनै नेताका लागि यहाँ साथी-साथीमा हानाहान गर्छन् । एकपटक त एमसिसी पास गर्ने कि नगर्ने भन्ने विषयमा झगडा परेर छुरा हानाहन नै भएछ । खाडीमा बसेर आफ्नो जवानी नै पास भइसकेको मतलब छैन, उनीहरूलाई एमसिसिको चिन्ता छ । दार्जीलिङको एउटा साथी थियो । ऊसहित अरू साथीहरू थिए जो उसका पिउने साथी थिए । एक दिन मातेपछि सँगै पिउन बसेका साथी-साथीमै भनाभन परेछ । साथी हो हात त हाल्नु भएन, फेरि रिस त छँदै छ । उसले साथीलाई पोख्न नसकेको रिस दराजमाथि पोख्ने हुँदा उसको दाहिने हातै बाँचियो र केही महिना ड्युटी पनि बन्द र जाँड खान पनि बन्द ।
घटना ७ :
झापाको अर्को साथी पनि थियो । जाँड खाएपछि मान्छे कुट्नुपर्ने बानी उसको चाहिँ । मातेपछि चिनेका नचिनेका मान्छेसँग निहुँ खोज्दै हिँड्ने । जिम गरेर ज्यान बनएका कारण पनि हुन सक्छ ऊसँग धेरै डराउँथे पनि । हेर्दै ज्याङ्गो । मातेपछि कसैलाई टेर्दैन थियो । मातेपछि उसलाई कसैले सम्झाउन सक्दैन थियो । मातेका बेला उसलाई सम्हाल्न सक्ने भनेको एउटा म र अर्को झापाकै अर्को साथी थियो । हामी दुईलाई चाहिँ जति माते पनि केही भन्दैन थियो र कहिल्यै भनेन पनि । एक दिन त्यसरी नै मातेर झगडा गर्न लाग्दा हामी दुईले रोक्न खोज्यौँ तर हामीलाई पनि पेल्न खोजेर कोठाबाहिर निस्किने प्रयास गरिरह्यो । हामी पनि के कम । कुनै पनि हालतमा बाहिर निस्किन दिएनौँ । अन्त्यमा अति भएपछि हामी दुई मिलेर बेडमा सुताएर उसैका लुगाले दुई हात र दुई खुट्टा बाँधेर खाटमा सुताएपछि भने अलिक शान्त भयो । त्यो रात उसको बाँधेकै अवस्थामा बित्यो । बिहान फेरि आफैँले खोलिदिएँ । पछि म त्यो कम्पनी छोडेर नेपाल गएँ ।
त्यसको केही समयपछि नै जाँड खाएर उसको अरू केटाहरूसँग झगडा परेछ । पछाडिबाट झुक्याएर अर्काले छुरा हानेछ । धन्न छुरा पाखुरामा परेछ । त्यो छुराको दाग अहिले पनि छँदै छ । त्यही झगडाका कारण साथी जेल पनि परेछ र जरिमाना पनि तिरेछ । उसले पछि मलाई भन्थ्यो, “तिमी गएपछि त मलाई सम्हाल्ने मान्छे नै भएन नि । म त जेल पनि परेँ । पहिले पो तिमी थियौ र ठुलो दुर्घटना हुन पाएको थिएन ।” अहिले पनि त्यो साथीसँग उस्तै घनिष्ट सम्बन्ध कायमै छ । बेलाबेला कुराकानी भएका बेला त्यो बाँधेर सुताएको कथा निकाल्छौँ र हाँस्छौँ मज्जाले । त्यो क्याम्पमा बसेका बेला हरेक दिन जसो एम्बुलेन्स र प्रहरीको गाडी आउँथ्यो क्याम्पमा । कारण जाँड खाएर हुने झगडा । त्यसमा फेरि झगडा गर्नेहरूमध्ये अधिकांश नेपाली नै हुन्थे ।
अन्त्यमा, वीर गोर्खाली भनेर चिनिएको नेपाली वीर जँड्याहा भनेर चिनिने अवस्था निर्माण हुँदै गएको छ । पुर्खाको वीरता सायद त्यही जाँड खाएका बेला सवार हुने हो कि ? परदेशमा विशेष गरी खाडी मुलुकमा सुतेकै ठाउँमा मृत्यु भएका थुप्रै घटनाहरू सुनिन्छन् । कत्ति त आफैँले देखिए पनि । सकुशल बेडमा पल्टिएको मान्छे बिहान लास भइसक्छ । यसो हुनुमा अनेक काराणहरू हुन सक्छन् । त्यसमा एउटा कारण जाँड हुन सक्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।