“साथीको लागि यो हात सलाम छ, दुस्मनको लागि यो हात फलाम छ” । महानायक राजेश हमालले बोलेको यो डाइलग विगत करिब तीन दशकदेखि आमनेपाली स्रोता दर्शकमाझ लोकप्रिय छ । हमाल जहाँ पुगे पनि  यो डाइलग नबोली धरै पाउँदैनन् । कहिले आफैँ बोल्छन त कहिले अरुको आग्रहमा । कसैले हमालको आवाज नक्कल गर्नु पर्यो भने पनि यही डाइलग प्रयोग गर्छन् । यति सर्वप्रिय डाइलग वि.सं. २०४९ सालमा बनेको नेपाली चलचित्र “पृथ्वी” को हो । जसका लेखक तथा निर्देशक हुन प्रकाश सायमि र यसै चलचित्रमार्फत सायमिले आफूलाई सफल निर्देशकको रुपमा नेपाली सिनेमामा चिनाउन सफल पनि हुनुभयो ।

प्रकाश सायमि- नेपाली कला, साहित्य, सङ्गीत र सञ्चार क्षेत्रमा रुचि राख्नेहरुका लागि एउटा चिरपरिचत नाम हो । यी चारै क्षेत्रको बारेमा ज्ञानको एउटा ठुलो भण्डार बोकेर हिँड्ने सायमिको बारेमा लेख्नु आफैँमा चुनौती हो भन्ने लाग्छ । जसका चलचित्र हेरेर, जसले बनाएका चलचित्रका गीतहरु सुनेर बाल्यकाल बित्यो, कुनै दिन उसको बारेमा यसरी लेख्ने अवसर मिल्ला भनेर त्यो वेला कहिल्यै सोचिएन पनि । नेपालको मात्रै नभएर विश्व कला, विश्व साहित्य, विश्व सङ्गीत र विश्व सञ्चारको बारेमा  मिहिन ढङ्गको अध्ययन र त्यही अनुसारको व्याख्या गर्न सक्ने सायमिको धेरै ओटा परिचय छन । कविता र गीतसङ्गीतमा रुचि राख्नेहरुका लागि उहाँ एक कवि तथा गीतकार हुनुहुन्छ । जसका केही कविता सङ्ग्रहका साथै करिब दुई सय गीत विभिन्न गायक गायिकाको आवाजमा रेकर्ड भएर बजारमा आइसकेका छन । सञ्चार र पत्रकारितालाई प्रेम गर्नेहरुका लागि उहाँ एक कुशल सञ्चारकर्मी हुनुहुन्छ । जसले वि.सं. २०५६ सालदेखि निरन्तर यसै क्षेत्रमा एउटा महत्त्वपूर्ण योगदान दिँदै आउनुभएको छ । विगत ७ वर्षदेखि उहाँले सञ्चालन गर्दै आउनुभएको रेडियो कार्यक्रम “अजर अमर गीतहरु” नेपाली रेडियो जगतकै सर्वाधिक रुचाइएको कार्यक्रमभित्र पर्दछ । उज्यालो नाइन्टी नेटवर्कबाट प्रसारण हुँदैआएको यस कार्यक्रमले यो लेख तयार पार्दासम्म ११ सय ७० औँ  शृङ्खला पार गरिसकेको छ । त्यसैगरी नेपाली सिनेमालाई माया गर्नेहरुले सायमिलाई एउटा सफल निर्देशकको रुपमा चिन्ने गर्छन । आजको बसाइमा उहाँका अन्य परिचयलाई छोपेर  चलचित्र यात्रासँग जोडिएका सायमिको जीवन यात्राको बारेमा केही लेख्ने दुस्साहस गरेको छु ।

माता लक्ष्मीदेवी मान्धर र पिता रन्तदास मानन्धरका चार सन्तानमध्ये माइलो सान्तानका रुपमा वि.सं. २०२४ साल चैत्र ०७ गते शुक्रबारका दिन काठमाण्डौको मोरिहिटीमा सायमिको जन्म भएको थियो । वि.सं. २०३८ सालमा एसएलसी दिएपछि उहाँले रत्न राज्य क्याम्पसमा पत्रकारिताको अध्ययन सुरु गर्नुभएको थियो । कारणवश प्राथमिक तहसम्मको शिक्षा काठमाण्डौ स्थित नख्खु जेलबाट लिनु भएका सायमिले पत्रकारितामा स्नातक र भारतको मुम्बईबाट स्क्रिप्ट राइटिङमा डिप्लोमासम्मको औपचारिक अध्ययन पूरा गर्नुभएको छ । कलेज पढ्ने क्रममै वि.सं. २०३९ सालमा आयोजित अन्तर कलेज हाँस्यव्यङ्ग्य प्रतियोगितामा उहाँले पहिलो पटक प्रहसन प्रस्तुत गर्नुभएको थियो । त्यस प्रहसनमा सायमिलाई उहाँकै सहपाठी अहिलेका चर्चित नेता र कुनै समय बिबिसी नेपाली सेवाको प्रमुख भएर पत्रकारितामा पनि महत्त्वपूर्ण योगदान दिनुभएका रमिन्द्र मिश्रले साथ दिनुभएको थियो । त्यो प्रहसनमा सायमि र मिश्रको प्रतिस्पर्धीको रुपमा अहिलेका अर्का चर्चित र वरिष्ठ हाँस्य कलाकार सन्तोष पन्त हुनुहुन्थ्यो । सायमि सम्झनुहुन्छ, “त्यो प्रहसनमा हाम्रो जोडी प्रथम अथवा दोस्रो हुनेवाला थियो तर भएन” । सायमिको कला क्षेत्रको पहिलो खुड्किलो त्यही थियो जहाँबाट उहाँले कला क्षेत्रको यात्रा अगाडि बढाउनु भएको थियो । त्यसपछि भने अन्य थुप्रै नाटकहरुमा काम गर्न थाल्नुभयो र रङ्गमञ्चको दुनियाँमा प्रवेश गर्नुभयो । उहाँले नाटक खेल्नु मात्रै भएन । लेखन र निर्देशनको पनि काम गर्नुभयो । बन्धित आकाश र बिपिन, ब्रस इजल र क्यानभास, जिन्दगी र  जिजिबिसा लगायत गरी दुई दर्जन बेसी नाटकमा उहाँले लेखन तथा निर्देशन गर्नु भएको छ । त्यसैगरी ताण्डप नृत्य र अजम्बरी भ्वाइलेन, इतिहास भित्रको इतिहास, कोलाज, युगको समाप्ति लगायत एक दर्जन नाटक र करिब ५ दर्जन रेडियो नाटकमासमेत उहाँले अभिनय गरिसक्नु भएको छ ।

डिजी शर्मा (युएई)

नाटक र प्रहसनमा अभिनय गर्ने क्रम चलिरहेकै थियो । त्यही वेला उहाँले काठामाण्डौस्थित होटल बज्रमा पनि काम गर्न थाल्नु भयो । जतिबेला उहाँ केवल १६ बर्षको हुनुहुन्थ्यो । त्यो होटलसँग जोडिएको रमाइलो कहानी छ जसले सायमिलाई भारतको मुम्बईसम्म पुर्यायो र हिन्दी फिल्मको सहायक निर्देशक बनायो । विगत सम्झिँदै सायमि भन्नुहुन्छ, “मैले काम गर्ने होटलमा हरेक वर्ष एक जना ग्राहक आउनुहुन्थ्यो । उहाँको भेषभुषा, उहाँको बोलाइ, उहाँको त्यो स्मार्टनेसले मलाई साह्रै आकर्षित गर्थ्यो । विशेषगरी उहाँको स्फूर्ति देखेर मलाई के लाग्थ्यो भने यो मान्छे कि त खेलाडी हुनुपर्छ या त चलचित्रकर्मी । हरेक वर्ष आउँदा उहाँलाई म झन्झन् जवान देख्थेँ । बिस्तारै थाहा भयो उहाँ त हलिउड फिल्म उद्योगको एक निर्देशक हुनुहुँदो रैछ” । त्यही निर्देशकको व्यक्तित्वबाट प्रभावित हुन पुग्नु भएका सायमिलाई पनि लाग्यो आफू पनि फिल्म क्षेत्रमा लाग्न पाए  यस्तै सानदारको जिन्दगी जिउन पाइन्थ्यो होला । यही सोचेर सयामीले ती हलिउड निर्देशकसँग निकट सम्बन्ध स्थापित गर्नु भयो र चलचित्र सम्बन्धी विविध ज्ञानका कुराहरु सिक्नु भयो । यसरी उहाँ अदृश्य रुपमा चलचित्रतर्फ आकर्षित हुन पुग्नु भयो ।

त्यो समयमा नेपालमा चलचित्र बनाउने निर्देशहरु निकै कम थिए । जस्तो प्रकाश थापा । जसले शाही नेपाल चलचित्र संस्थानबाट फिल्म बनाउनु हुन्थ्यो । त्यसैगरी चेतन कार्की र दार्जीलिङबाट आउनुभएका प्रताव सुब्बा । यी तीन जनाबाहेक त्यो बेला सक्रिय रुपमा नेपालमा चलचित्र बनाउने अरु निर्देशकहरु थिएनन् । त्यसपछिका दिनमा शम्भु प्रधान, तुलसी घिमिरे लगायत पनि देखा पर्नु भयो । तर त्यो बेलाको किशोर मन मस्तिष्कमा चलचित्रप्रति आकार्षित गर्ने खालको फिल्म बनाउन सक्ने निर्देशकको रुपमा सम्झिनु पर्दा सायमि मुम्बई शैलीका प्रणेता मानिनु हुने प्रकाश थापालाई सम्झिनु हुन्छ र उहाँमार्फत नै चलचित्रप्रतिको ठुलो आकर्षण उहाँले देख्नु भयो । यसरी चलचित्रप्रतिको आकर्षण बढ्दै गएपछि साममी एक जना साथीको साथमा मुम्बई हानिनु भयो यसैको बारेमा अध्ययन गर्न । यो सन् १९८५ को कुरा थियो । जतिबेला सायमि २० वर्षको हुनुहुन्थ्यो ।  मुम्बईस्थित “फिल्म एण्ड टेलिभिजन ईन्स्टिच्युट” मा अध्ययनका लागि आवेदन दिनुभयो । तर उहाँको आवेदन पास  हुन सकेन । पटक-पटक प्रयास गर्दा पनि सायमिलाई सो ईन्स्टिच्युटले पत्याएन र अध्ययनका लागि अनुमति दिएन । त्यही बेला सायमिलाई लाग्यो, “जहाँ म बारम्बार विफल भइरहेको छु, त्यो नै मेरो क्षेत्र अर्थात् भविश्य हो” यही सोचेर उहाँले आफ्नो कोसिस जारी राख्नु भयो तर उहाँ त्यहाँ सफल हुन सक्नुभएन । पछि उहाँले मुम्बईकै अर्को ईन्स्टिच्युटबाट स्क्रिप्ट राइटिङ र चलचित्र सम्बन्धी आभारभूत प्रशिक्षण (क्र्यास कोर्ष) गर्नुभयो । मुम्बईमा एउटा प्रसिद्ध थ्रिएटर संस्था थियो “इन्डियन पिपुल्स थ्रिएटर एसोसिएसन (इफ्टा)” जहाँ सायमिले रङ्गकर्मीको हैसियतमा काम गर्ने मौका पाउनु भयो । यो वि.सं. २०४२ सालतिरको कुरा हो । त्यहाँ काम गर्ने क्रममा उहाँले थुप्रै भारतीय कलाकारहरुलाई चिन्ने र चिनाउने मौका पाउनु भयो ।

मुम्बईमै रहेको वेला सायमिले “रुट्स फेसन स्टुडियो” मा पनि काम गर्नु भयो । त्यस स्टुडियोको काम भनेको सुटिङका क्रममा कलाकारहरुलाई चाहिने भेषभुषा सप्लाई गर्नु थियो । सायमिको काम थियो अर्डर अनुसारका लुगा सुटिङ स्पटसम्म पुर्याउनु । चलचित्रप्रति अधिक रुचि भएको मान्छेले त्यसकै भेषभुषा डिजाइन गर्ने संस्थामा काम पाउनु यसलाई दैवको संयोग नै मान्दा पनि हुन्छ । लुगा पुर्याउन जाने क्रममा सायमिले फिल्मका नायक नायिकादेखि निर्देशक र स्पट ब्वाइसम्मलाई देख्ने अवसर पाउनु भयो । कतिजनासँग त चिनजान पनि हुन पुग्यो ।  यसले पनि उहाँलाई चलचित्रप्रति थप आकर्षित गर्दै लग्यो ।

सन् १९८६ अर्थात् मुम्बई गएको एक वर्षपछि नै “पञ्चवटी” नामक हिन्दी फिल्ममार्फत सहायक निर्देशकको रुपमा सायमिले बलिउडमा प्रवेश पाउनु भयो । अहिले भन्दा त एक वर्ष मात्रै हो तर त्यो बेला उहाँलाई त्यो एक वर्ष ११ वर्ष जस्तो लागेको थियो । किन भने त्यो एक वर्षको अवधिमा उहाँले निक्कै हण्डर खाइसक्नुभएको थियो र जीवन गुजाराका लागि अनेक काम पनि गर्न भ्याउनु भयो ।  त्यो वेला सायमिसहित उदित नारायण झा, मुरलीधर, दीपा गहतराज, भारती गजमेर लगायतको एउटा टिम थियो जसले विज्ञापनहरुमा डबिङ गरेर आवाज दिने काम गर्थ्यो । सानो-सानो विज्ञापन । जस्तो साबुन, सरफ,  स्याम्फू लगायतको । त्यसमा कसैले गीत गाउने, कसैले डाइलग बोल्ने अनि कसैले हिन्दीमा बोलेको डाइलगलाई नेपालीमा अनुवाद गरेर बोल्ने । विज्ञापन बापतको पैसा चाहिँ विज्ञापन एजेन्सीले जिम्मा लिन्थ्यो र विज्ञापनमा काम गर्नेहरुलाई कामका आधारमा दिन्थ्यो । यसरी काम गर्ने क्रममा सायमिलाई दिक्क पनि लाग्न थाल्यो । “सानो-सानो काम गर्यो, पैसा ल्यायो, खायो बस्यो । पहिचान केही छैन” भन्ने लाग्न थाल्यो । ठिक त्यही समयमा आफ्नो टिमका उदित नारायण झाले आफ्नो गायनको यात्रा सुरु गर्नु भयो भने उता मुरलीधरले पनि रङ्गमञ्च र फिल्ममा अभिनय गर्न थालिसक्नु भएको थियो । यसरी सँगैका साथीहरुले आ-आफ्नो बाटो रोजेपछि सायमिलाई पनि आफ्नो बाटो खोज्न बाध्यता पर्यो । ठिक त्यही बेला सायमिलाई पनि बलिउडका प्रसिद्ध निर्देशक बासु भट्टाचार्यसँग काम गर्ने अवसर मिल्यो । बासु भट्टाचार्यले बनाएको हिन्दी फिल्म “पञ्चवटी” लाई नेपालीमा बनाउन सक्ने निर्देशकीय क्षमता भएको मान्छेको खोजी गर्ने क्रममा सायमिका साथी जो मुम्बई स्थित बिहार चोपडा स्टुडियोमा काम गर्नु हुन्थ्यो उहाँले सायमिलाई यसबारेमा जानकारी गराउनु भएको थियो । बासु भट्टाचार्यका थुप्रै फिल्म हेरिसक्नु भएका र उहाँका बारे थुप्रै चर्चा सुनिसक्नुभएका सायमिले त्यो प्रस्तावलाई अस्वीकार गर्ने कुरै भएन । हुन त ती साथीले पनि सुरुमा “नेपालीमा फिल्म बनाउन सक्ने निर्देशकीय क्षमता भएको कोही छ तपाईंको नजरमा” ? भनेर सायमिलाई नै सोध्नुभएको थियो । मुम्बईमा त्यो खालको मान्छे आफूबाहेक अर्को कोही छ जस्तो नलागेपछि सायमि आफैँले ती साथीलाई यो काम मै गर्छु भनेर भन्नुभएको थियो । यसरी बासु भट्टाचार्य मार्फत सायमिले सन् १९८६ मा हिन्दी फिल्ममा सहायक निर्देशको रुपमा काम गर्ने अवसर प्राप्त गर्नुभएको थियो । भट्टाचार्य  जस्तो भारतकै प्रसिद्ध निर्देशकसँग काम गर्न पाउनु सायमिको लागि एउटा ठुलो उर्जा र प्रमाणपत्र थियो । उहाँसँग काम गरेको अनुभव अलग्गै छ । भट्टाचार्यले आफ्नो फिल्ममा कोही पनि “स्टार” होइन, सबै कलाकार मात्र हो भन्ने गर्नुहुन्थ्यो । यसले पनि सायमिलाई उहाँप्रति धेरै प्रभावित बनायो । पञ्चवटीपछि उहाँले करिब आधा दर्जन हिन्दी फिल्ममा सहायक निर्देशको रुपमा रहेर काम गर्नु भयो ।

हिन्दी फिल्ममा काम गरिरहेकै बेला पनि सायमिलाई नेपाली फिल्ममा पनि काम गर्न पाए हुन्थ्यो जस्तो लागिरहन्थ्यो ।  त्यही वेला निर्देशक उग्येन छोपेल (जो भारतीय प्रसिद्ध कलाकार ड्यानी डेन्जोङ्ग्पाका भान्जा हुनुहुन्छ ) सँग संयोगबस भेट हुने अवसर जुर्यो । निर्देशक छोपेलले त्यतिबेला “साइनो”  फिल्म बनाउने तयारी गर्दैहुनुहुन्थ्यो । जसमा कथा लेखन उनै ड्यानीको थियो भने पटकथा र सम्वाद तुलसी घिमिरेले लेख्नु भएको थियो । हुन त त्यतिबेला त्यो फिल्मको नाम अर्कै राखिएको थियो । पछि मात्रै साइनो राखिएको हो । सोही फिल्मका लागि निर्देशक उग्येनलाई सम्वादहरु सम्पादन गर्न सक्ने सहायक निर्देशकको आवश्यकता परिरहेको थियो । “के खोज्छस कानो आँखो”  भने जस्तै सायमिले पनि उहाँको प्रस्तावलाई सहर्ष स्वीकार गर्नुभयो र “साइनो” मार्फत नेपाली फिल्ममा पनि सहायक निर्देशकको रुपमा प्रवेश गर्नुभयो । यो सन् १९८७ को कुरो थियो । साइनोको गीत रेकर्डिङदेखि नै फिल्ममा सायमिको भूमिका सुरु भयो । जसले गर्दा मुम्बईकै सबैभन्दा ठुलो स्टुडियो “वेस्टर आउटडोर्स स्टुडियो” चाहार्ने सपना पनि पूरा भयो उहाँको । उहाँ भन्नुहुन्छ, “मलाई लाग्छ त्यसपछि त्यो स्टुडियोमा कुनै पनि नेपाली फिल्मको गीत रेकर्डिङ भएन” ।

साइनोको गीत रेकर्डिङकै समयमा सायमिले सुप्रसिद्ध गायिका आशा भोस्लेलाई पहिलो पटक प्रत्यक्ष देख्ने अवसर पाउनु भयो । उदितनारायण झाको साथमा आशा भोस्लेले साइनोको लागि गीत गाउनु भयो “नयाँ-नयाँ सजाउँ है संसार” । साइनो फिल्मसँग जोडिएका थुप्रै रमाइला र रोचक प्रसंगहरु छन सायमिसँग । नेपालीमा लेखेको बुझ्न नसक्ने ड्यानी डेन्जोङ्ग्पालाई रोमनमा डाइलग लेखेर बोल्न सिकाएका दिनहरु पनि कम रोचक छैन सायमिको जीवनमा । जसको अनिभय हेरेर फिल्म क्षेत्रमा प्रवेश गरियो उसैलाई डाइलग बोल्न सिकाउँदा बेलाबेला लाज र अप्ठेरो पनि लाग्ने गर्थ्यो सायमिलाई । उहाँ भन्नु हुन्छ, “भोलि हुने सुटिङको सबै डाइलग अघिल्लो दिन नै ड्यानीलाई उहाँको कोठामै पुर्याइदिनु पर्थ्यो ” । त्यो पुर्याउन सायमि  आफैँ जानुहुन्थ्यो । त्यसपछि सायमिले तृष्णा, सपना, साङ्ग्रिला, पिरती लगायतका नेपाली फिल्ममा लेखन तथा सहायक निर्देशकको रुपमा काम गर्नु भयो ।

वि.सं. २०४९ सालमा नेपाली चलचित्र “पृथ्वी”मा पहिलो पटक निर्देशकको रुपमा काम गर्नु भएका सायमिले सिमाना, अवतार, रानीखोला, जमिन र हतियार जस्ता सफल नेपाली चलचित्र र एउटा मैथली “हंस चलाल प्रदेश”  गरी ७ ओटा चलचित्रमा लेखन तथा निर्देशन गरिसक्नु भएको छ । यो क्रममा सायमिले धेरै कलाकारहरूलाई फिल्ममा अवसर दिनुभयो । सायमिकै फिल्मबाट राजेश हमाल, धीरेन शाक्य, मेलिना मानन्धर, विक्रान्त बस्नेत, सिमान्त उदास, जल शाह, विपना थापा, लगायत थुप्रै कलाकारहरूले स्थापित हुने अवसर प्राप्त गर्नुभयो ।

साथै आजका सुविख्यात भारतीय गायक सोनु निगमको  नेपाली र हिन्दी चलचित्र  गायनको सुरुवात पनि सायमिकै लेखन तथा निर्देशनमा बनेको ‘सिमाना’ फिल्मबाट भएको थियो । रत्न शमशेर थापाको शब्द र शक्ति बल्लवको सङ्गीत रहेको सोही चलचित्रको कालजयी गीत “उकाली ओराली गर्दै” मा यिनै गायक सोनु निगमको आवाज रहेको छ । त्यतिमात्रै होइन गायक कुमार कान्छालाई चलचित्रमा भित्र्याउन पनि सायमिकै ठुलो भूमिका रहेको थियो । साइनो फिल्ममा कुसुम गजमेरको शब्द, रञ्जित गजमेरको सङ्गीत र उदितनारायण झाको आवाज रहेको “आमैले भन्थे धाराको पानी” बोलको गीतमा कुमार कान्छाले पनि केही लाइन गाउनु भएको छ । त्यो नै उहाँको पहिलो गायन थियो चलचित्रमा । त्यसबापत गायक कुमार कान्छाले ५ सय र उदितनारायण झाले १२ सय भारतीय रुपैयाँ पाउनु भएको थियो ।

फिल्म निर्माणको पुराना दिन सम्झिँदै सायमि सुनाउनु हुन्छ, त्यो बेला कलाकारहरुमा बृहत्  अनुशासन थियो । फिल्मको निर्देशक सुटिङ स्थलमा आउँदा कलाकारहरु आदरकासाथ उभिदिन्थे कक्षाकोठामा शिक्षक आउँदा विद्यार्थी उठेजस्तो । क्यामेराबाट खिचिसकेको कुनै दृश्य कुनै कलकारले हेर्नुपर्यो भने पनि निर्देशकको अनुमति लिनु पर्थ्यो र निर्देशक उमेरले सानै भए पनि ठुला कलाकारले पनि बडो सम्मान गर्थे । नेपाली रङ्गमञ्चका सबैभन्दा ठुला र पुराना पात्र तथा आजका थुप्रै कलाकारहरुका गुरु  हरिप्रसाद रिमालले समेत निर्देशकलाई आदर गर्ने गरेको सायमि सम्झनु हुन्छ । यी कुराहरु नेपाली चलचित्र क्षेत्रमा बिस्तारै हराउँदै गएको सायमिको अनुभव छ । जुन परिपाटी देखियो र जुन संस्कारबाट आफू आइयो त्यही शैली लागु गर्न खोज्दा कहिलेकाहीँ गाह्रो हुने उहाँ बताउनु हुन्छ । चलचित्रको मात्रै नभइ राजनीतिक कारणले पनि त्यो परिपाटी बिग्रिँदै गएको उहाँको बुझाइ छ ।

आजभन्दा करिब १ सय २६ वर्ष पहिले सुरु भएको विश्व चलचित्र क्षेत्रले विभिन्न समयमा विभिन्न रुप  धारण गर्दै आजको स्थितिमा आइपुगेको छ । चलचित्र सुरुमा आउँदा यसको भाषा, सम्वाद र रङ थिएन ।  यो एउटा नयाँ विधाको रुपमा उदाएको थियो । पछि बिस्तारै यसलाई भाषा, सम्वाद, कथा, पटकथा  सङ्गीत, ध्वनी लगायतको आवश्यकता पर्न थाल्यो र अहिले यो ६२ ओटा कलाको एउटा सङ्गम बन्न पुगेको छ । तर हाम्रो दुर्भाग्य के छ भने अहिले पनि हामीले सिनेमालाई सिनेमाको रुपमा हेर्न सकेका छैनौँ । सायमि थप्नु हुन्छ, सिनेमालाई हामीले साहित्यको एउटा अङ्गको रुपमा हेर्छौं । जसले गर्दा हामी सिनेमामा पनि साहित्य खोज्न थाल्छौँ । जुन गलत हो । साहित्यिक कृतिहरु पढेर पाठकले जुन किसिमको पात्रहरुको कल्पना गरेको हुन्छ त्यसमा निर्देशकले पाठकको कल्पनाभन्दा पर गएर पात्रहरु निर्माण गरिदिएको हुनसक्छ अथव गरिदियो भने लेखकको कल्पनाको हत्या हुन जान्छ । यस्तो परिस्थितिमा फिल्ममा साहित्य भएन भनेर आरोप लाउनु उचित नहुने उहाँको भनाइ छ । सन् १९५० को दशकमा फ्रान्सका चार जना निर्देशकहरुले फिल्ममा हामीलाई पनि केही भन्नु छ भनेर एउटा आन्दोलन सुरु गरे । त्यसबाट फिल्ममा एउटा नयाँ धारको सुरुवात हुन पुग्यो । त्यसपछि मात्रै चलचित्रमा कथा वाचक भनेको लेखक होइन निर्देशक हो भन्ने कुराको नयाँ अध्याय सुरु भएको थियो ।

साहित्य सिर्जनामा उत्कृष्ट सावित भइसकेको व्यक्ति चलचित्र लेखनमा आउँदा त्यो चलचित्र उत्कृष्ट बन्न सक्ने सम्भावना कत्तिको रहन्छ भन्ने सवालमा यसले ५० प्रतिशत मात्रै काम गर्ने सायमि बताउनु हुन्छ । लेखकमा प्रविधिको ज्ञानको अभाव हुन गएको खण्डमा उसले सफल चलचित्र बनाउन सक्ने सम्भावना पनि कम नै रहन्छ । लेखकीय कल्पना र निर्देशकीय कल्पना फरक पर्न सक्ने भएकोले साहित्य लेखन र चलचित्र निर्माणमा तालमेल नमिलेर समस्या आउन सक्छ । तर मूलरुपमा हेर्ने हो भने विश्वका धेरै राम्रा-राम्रा निर्देशकहरु अलिअलि लेखकको रुपमा पनि सफल भएर आएका छन । यसरी हेर्दा सायमिले निर्माण गरेका फिल्महरु उत्कृष्ट हुनुमा उहाँ साहित्यिक सर्जक हुनुले पनि महत्त्वपूर्ण भूमिका खेल्यो भन्दा फरक नपर्ला । फेरि पनि लेखकमा भएको ज्ञानको कति प्रतिशत चलचित्र निर्देशकले प्रयोग गर्ने हो भन्ने  कुरा मात्रै विचारणीय कुरा हो । नत्र भने निर्देशन आफैँमा एउटा छुट्टै विषय र एउटा अलग्गै कला हो । विश्वका कयौँ प्रसिद्ध रङ्गमञ्चका निर्देशकहरुले पनि राम्रो चलचित्र बनाउन नसकेका थुप्रै उदाहरणहरु छन । यसले के प्रष्ट्याउँछ भने चलचित्र भनेको एउटा अलग्गै विधा हो र अलग्गै भएकै कारण यसको एउटा अलग्गै महत्त्व पनि छ ।

नेपाली चलचित्रको इतिहासको कुरा गर्ने हो भने हाम्रोमा सन् १९५० पछि मात्रै चलचित्र निर्माणको क्रम सुरु भएको देखिन्छ । जब कि छिमेकी मूलुक भारतमा सन् १९१३ बाट नै चलचित्रहरु बन्न सुरु भइसकेका थिए । सुरुवाती चरणमा राणा परिवारका सदस्यहरु, सम्भ्रान्त परिवारका व्यक्तिहरुले मात्रै नेपाली चलचित्रमा लगानी गर्थे । यसको एउटै कारण थियो मुम्बईसँग उनीहरुको सिधा सम्पर्क हुन्थ्यो । तर ती निर्माताहरुको नेपालका लेखक र चलचित्रकर्मीहरुसँगै कुनै सम्बन्ध थिएन । जसले गर्दा त्यो समयमा नेपाली चलचित्र भारतमा लेखाउने चलन थियो । यसरी हिन्दीमा लेखिएको कथालाई नेपालीमा उल्था गरेर नेपाली निर्देशकहरुले चलचित्र निर्माण गर्ने परिपाटी रहिआएको थियो । यो त्यो बेलाको दूरदशा हो । नेपालमै पनि फिल्म लेख्न जान्ने कैयौँ मान्छेहरु थिए होलान तर त्यसको खोजी गरिएन । न त सरकारले कसैलाई चलचित्र अध्ययनका लागि बाहिर पठाउने काम नै गर्न सक्यो ।

सन् १९७१ मा सरकारले शाही नेपाल चलचित्र संस्थान स्थापना गरेपछि भने नेपाली चलचित्र निर्माणले थोरै गति लिएको देखिन्छ । तर यो संस्थान पनि केही मुट्ठीभर मान्छेको हातमा पर्यो । दरबार र त्यतिबेलाका व्यवस्था  निकट  हुनेहरुको हातमा गयो । जसले गर्दा त्यो बेला पनि सोचे अनुरुप नेपाली चलचित्रको विकास क्रमलाई बढाउन नसकिएको देखिन्छ । त्यतिबेला चलचित्रको अध्ययनका लागि भारतको पुणे ईन्स्टिच्युटबाट छात्रावृती  आउने गर्थ्यो । यसमा अनौठो कुरो के थियो भने चलचित्र  अध्ययनको छात्रावृती नेपाल वायु सेवा निगमको अधिनमा थियो । यस्तो अवस्थामा नेपाली चलचित्रको विकास कसरी हुन सक्थ्यो होला ? सायमि प्रश्न गर्नु हुन्छ । बिस्तारै नेपालमा टेलिभिजनको स्थापना भयो । तर त्यो पनि एक किसिमले एउटा समूहको हातमा थियो । सायमि भन्नुहुन्छ, “हामीलाई त कस्तो गाह्रो थियो भने हामी त ०३६ सालको आन्दोलनमा पनि सहभागी भएको मान्छे । पछि ०४६ सालमा पनि मुखमा कालो पट्टी बाँधेर तत्कालिन शाही शासनको विरुद्धमा जेल गएको मान्छे । हामी त टेलिभिजन भनेको अलिअलि सरकारमुखी जस्तो लाग्ने । त्यहाँ गइसकेपछि पञ्चायत व्यवस्थाको भक्त भइन्छ कि वा मण्डले भन्छन कि भन्ने डर हुन्थ्यो र त्यता जाने सोचै आएन । हाम्रो लागि त चलचित्रको पाठशाला भनेकै  मुम्बई थियो” ।

जतिबेला चलचित्र उद्योगमा संयुक्त लगानीको अवधारणामा भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्काको संयुक्त लगानीमा फिल्म बन्न थाले त्यो बेला नेपाली चलचित्र क्षेत्र एक किसिमले तवाह भएको सायमि बताउनु हुन्छ । त्यो बेला नेपाली कलाकार र लेखकहरुले अन्य देशका कलाकार र लेखकहरुसँग काम गर्नु पर्ने एक किसिमको बाध्यात्मक परिस्थिति थियो । त्यसमा पहिले नै अन्य भाषामा लेखिसकिएको फिल्मलाई नेपालीमा अनुवाद गर्नुबाहेक अर्को काम भएन । संयुक्त लगानीमा फिल्म बनाउने भनेपछि फिल्मले उठाउने विषयवस्तुदेखि लिएर त्यसको बजार पनि उनीहरुकै देशका सहर हुन्थे । काठमाण्डौ दोस्रो प्राथमिकतामा पर्थ्यो । एक किसिमले फिल्ममाथि सम्पूर्ण नियन्त्रण नै उनीहरुको हातमा हुन्थ्यो । त्यसकारण त्यो समयमा पनि  नेपाली फिल्मले गति लिन नसकेको उहाँ जिकिर गर्नुहुन्छ । तत्कालीन सूचना सहायक मन्त्री कमल थापाले चलचित्रमा अनुदान कर (सब्सिडी ट्याक्स) फिर्ता गर्ने सरकारी अवधारणा ल्याएपछि भने निजी क्षेत्रबाट पनि चलचित्र बन्नुपर्छ भन्ने जोस बढ्न थाल्यो । वि.सं. २०४७/४८ सालमा  यो नीति सुरु भएपछि नयाँ समयका निर्देशकहरु पनि मैदानमा देखा पर्न थाले र त्यो समयमा थुप्रै फिल्महरु बने । फिल्म बनेसँगै धेरैले फिल्म सम्बन्धी थुप्रै कुराहरुको ज्ञान पनि हाँसिल गर्ने मौका पाए । त्यो समयमा बनेका चलचित्रहरु प्राविधिक रुपले कमजोर देखिएला अहिलेको तुलनामा फेरि पनि त्यो समयका फिल्ममा जुन एउटा कलर संयोजन थियो त्यो अहिले पनि उत्तिकै उत्कृष्ट रहेको सायमिको बुझाइ छ । यसकारण पनि ०४८, ०४९ र ०५० को समयलाई नेपाली सिनेमाको सदाबहार युग हो भनेर भन्न रुचाउनु हुन्छ सायमि ।

नेपाली सिनेमाको बजार यस्तो बजार हो जहाँ अधिकांश भारतीय फिल्मले करोडौँ रकम लिएर जान्छन तर त्यही बजारमा अपवादबाहेक नेपाली फिल्मले आफ्नो लगानीसम्म उठाउने स्थिति रहन्न । यसो हुनुमा थुप्रै कारणहरु हुन सक्छन त्यो आफ्नो ठाउँमा छ तर यसको मुख्य दोषी नेपालका हलवालाहरु हुन् भनेर सायमि आरोप लगाउनु हुन्छ । जब राम्रा नेपाली फिल्म हलमा लाग्छन् वा लाग्ने तयारी गरिरहेका हुन्छन् ठिक त्यही समयमा राम्रा भनिएका भारतीय फिल्म ल्याएर जुधाउने परिपाटी अहिले पनि कायमै छ । एउटा फिल्म निर्माता कुनै बेला हल मालिक पनि बन्न पुग्छ । तर ऊ हल मालिक बनिसकेपछि पनि उसले हिन्दी फिल्मलाई नै प्राथमिकता दिने गरेको तितो यथार्थ हामीसँग छ । नेपालमा हिन्दी फिल्मको बजार र दबाब पनि तुलनात्मक रुपमा धेरै भएका कारणले पनि नेपाली फिल्मको लगानी सधैँ जोखिममा रहने गर्छ । भारतकै दक्षिण भारत प्रान्त बाहेक अन्य प्रान्तका फिल्मले मूलधारको हिन्दी फिल्मसँग प्रतिस्पर्धा गर्न नसकिरहेको अवस्थामा नेपाली फिल्मको हालत के होला ? सायमि प्रश्न गर्नुहुन्छ । भारतीय फिल्म उद्योग बिस्तारै माथि गएको मात्रै होइन एक्कासी माथि गएको देखिन्छ । तर नेपाली फिल्म उद्योग भने बिस्तारै माथि जाने, फेरि खस्किने, फेरि माथि जाने क्रम चलिरहेकोले पनि यसले एउटा गतिलो रफ्तार लिन नसकेको हो । नेपाली चलचित्र क्षेत्रमा थुप्रै कुराहरु परिवर्तन भए पनि, आर्थिक रुपले सम्पन्नता हाँसिल गरे पनि अझै  हाम्रो फिल्मको सौन्दर्य पक्ष कमजोर नै रहेको सायमि स्वीकार गर्नु हुन्छ । ठुला कलाकारले मात्र फिल्म चल्छ भन्ने एउटा भ्रम हाम्रा निर्माताहरुमा अझै पनि देखिन्छ । एउटा दूरदृष्टि भएको दिगदर्शक निर्देशक र उसको विचार परिपक्वताले नै फिल्म राम्रो बन्छ भन्ने कुरा हामीले बुझ्न बाँकी नै छ । किन भने एउटा निर्देशक स्वप्नदर्शी मात्रै नभएर एउटा भावी द्रष्टा पनि हो । यी तमाम कुराका बाबजुद पनि नेपाली फिल्म उद्योगले कुनै न कुनै दिन एउटा गतिलो रफ्तार लिनेछ भन्ने कुरामा सायमि विश्वास व्यक्त गर्नुहुन्छ ।

“सगरमाथा साहित्य प्रतिष्ठान” र “साहित्यपोस्ट” को फेसबुक पेज तथा यूट्युब च्यानल “ए एस ईन्टरटेन्मेन्ट”  मार्फत हरेक बिहीबार नेपाली समय साँझ ८ बजे प्रसारण हुँदैआएको कार्यक्रम ” स्रष्टा र सिर्जना” मा गरिएको कुराकानीमा आधारित ।