जोस गबाटिस जम्मा ९ वर्षको छँदा उनलाई संसारका सबै जीवित प्राणीहरूको नामकोश बनाउने जाँगर चल्यो । उनले यसका लागि शुरू गरे, समुद्र किनारका प्राणीहरूको नाम र तिनको जीवनशैली लेखेर । खासगरी सिल नामक प्राणी र जेली फिस उनको रूचिको विषय थियो ।

किताब शुरू गरेको दुई दशकपछि ३० वर्षको उमेरमा सारा प्राणीहरूको इन्साइक्लोपेडिया बनाएर सकेका छन् । उनको प्राणी कोशको अन्तिम विषय चिम्पान्जी लेखिसकेपछि उनको इन्साइक्लोपेडिया पुस्तकका रूपमा तयार भएको छ ।

दक्षिणी लन्डनमा बसेर जलवायु पत्रकारिता गरिरहेका उनका सुन्दर लेखहरू न्यु साइन्टिस्ट लगायतका पत्रिकाहरूमा नियमित पढ्न पाइन्छ ।

उनले किताबको नाम ९ वर्षको उमेरमा नै जुराएका थिए । किताबको नाम छ, जोसेज बुक अफ एनिमल । यसमा उनले प्राणी, उसको परिचय त लेखे नै तस्बिर (स्केच) पनि आफैँ बनाएका छन् ।

जब पुस्तक तयार भयो, यसमा उनले कम्प्युटरको प्रयोग गरेका छैनन् र अरूलाई देखाउँदा शुरूमा नै भन्ने गर्छन्, मेरो हस्तलिखित अक्षरहरू उति राम्रा छैनन् । बुझ्नु भएन भने मलाई माफ गर्नुहोला ।

उनले आफ्नो प्राणी जगतको खोज पूरा भएको हालै ट्विटरबाट घोषणा गरेका हुन् । शुरूमा उनले प्राणीशास्त्रहरूका धेरै किताबहरूबाट धेरै कुराहरूको नक्कल गरेको र ती पुस्तकहरूबाट व्यापक रूपमा प्रभावित भएको पनि स्वीकार गरेका छन् ।

११८ पृष्ठको यस पुस्तकमा ६ भागमा विभाजन गरिएको उनले बताएका छन् । ढाड नभएका (इन्भर्टिब्रेट्स), माछाजन्य, उभयचर (एम्फिबियन), घस्रेर हिँड्ने (रेप्टाइल्स), चराहरू (बर्ड्स) तथा स्तनधारी जनावर (म्यामल्स) गरी विविध शीर्षकमा पुस्तकका पाठहरू छुट्याइएको छ ।

यसमा विभिन्न प्राणीहरूका बारेमा टिप्पणी तथा विविध टर्मिनोलजीहरूसमेत लेखिएको छ । किताबको सुन्दर पक्ष चाहिँ यसको इन्डेक्स रहेको जोस बताउँछन् किनभने सो विषयमा भविष्यमा कसैलाई जान्ने इच्छा हुँदा इन्डेक्सले अझ विस्तृत रूपमा बुझ्न सघाउ पुर्याउने उनको विश्वास छ ।

जोस बेलायतको अक्सफोर्डसायरको पश्चिममा हुर्किए । यो किताब नौ वर्षको उमेरमा शुरू गरेको भए पनि उनले खोजीमा कुनै बेला पनि स्थगन गर्नेबारे सोचेनन् । सबैभन्दा व्यस्त त उनी आफ्नो किशोरकालमा थिए र पनि किताब पूरा गर्ने ध्याउन्न उनले आफ्नो व्यस्ततालाई समेत जिते ।

उनी विश्वविद्यालयमा पढ्दाताका भने किताबमाथि काम गर्न नसकेको बताएका छन् । र, जब कोभिड १९ का कारण सबै कुरा ठप्प भयो, उनले २०२० को अप्रिलदेखि यसमा पुनः काम थाले ।

उनले ट्विटरमा भनेका छन्, बाल्यकालमा हामीलाई जे कुराको सोख जाग्छ, त्यसलाई हामीले हल्का रूपमा लिनु हुन्न । मैले पनि आफ्नो त्यो बचकाना व्यवहारलाई गम्भीर रूपमा नै लिएँ । र, आज त्यसलाई पूरा गर्न सकेँ । जब यो पुस्तक पूरा भयो, बच्चा बेलामा हुने उत्साह, खुसी र उमङ्ग अहिले महसुस गरिरहेको छु । कोही छाप्न चाहन्छ भने म सघाउन तयार छु ।

उनको सो ट्विटर टिप्पणीमा धेरै जनाले आफ्नो बाल्यकालको सोखहरू सम्झिएका छन् र उनको यो सफलतामा खुसी व्यक्त गरेका छन् ।