अमेरिकी गायिका डली पार्टोनले उमेर घर्कंदै जाँदा उपन्यासकारका रुपमा पहिचान बनाउने भएकी छन् । उनले ‘रन रोज रन’ उपन्यास आउँदो वर्ष मार्च ७ मा बजारमा ल्याउने पक्का भएको छ । उनको यो उपन्यासलाई पेइन्गुइन रेन्डम हाउसले बजारमा ल्याउने भएको हो ।
आफ्नो समयमा अन्तर्राष्ट्रिय गायिकाको छवि बनाएकी डलीले केही संस्मरणात्मक पुस्तकहरूसमेत नलेखेकी भने होइनन् । सन् १९६७ मा उनको पहिलो गीतिएल्बम हेल्लो, आम् डली बजारमा आएको थियो । शुरूमै यो एल्बम १०० मिलियन प्रति संसारभर बिक्री भएर सबैलाई चकित पारिदिएको थियो । उनले जीवनभर ११ वटा ग्रामी अवार्ड जितेकी छन् । उनले तीन हजार गीतमा संगीत भरेकी छन् । उनलाई यस पटक भने उपन्यास नै लेख्ने हुटहुटी चल्यो ।
यसका लागि उनले एउटा गतिलो सहलेखक छानेकी छन् । जेम्स प्याटर्सन थ्रिलर लेखकका रुपमा बहुचर्चित नाम हो । उनका हालसम्म सबै उपन्यासहरु गरेर ३०० मिलियनभन्दा बढी बिक्री भइसकेका छन् । उनका कयौँ उपन्यास फिल्म तथा टेलिभिजन शृंखलाका रुपमा अनुदित भइसकेका छन् ।
त्यसो त तीन वर्षअघि मात्र उनले नौलो प्रयोग गरे । उनले अमेरिकी राष्ट्रपति बिल क्लिन्टनलाई समेत उपन्यासकार बनाए । यसपाला गायिकालाई उपन्यासकार बनाउँदैछन् ।
डली जति चर्चित छिन्, उनका गीतहरुलाई लिएर उति नै उदार भन भएकी दाता पनि हुन् । उनले कोरोनाभाइरसको महामारीका बेलामा मोडेर्ना कम्पनीलाई खोप बनाउन आश्चर्यलाग्दो गरी रकम दान गरेकी थिइन् ।
कन्ट्री पप विधामा अन्तर्राष्ट्रिय स्तरमै नाम बनाएकी डलीको उपन्यासमा खास के विषयमा हो त ? उनले द गार्डियन पत्रिकालाई भनिन्, ‘यो एउटी युवतीको गायिका बन्ने सपनामाथि लेखिएको उपन्यास हो । अमेरिकाको नासभिलबाट संगीतमा आफ्नो करियर बनाउने सपनाका साथ ठूलो सहरमा छिर्ने युवतीले कस्ता संघर्षका बीच नाम कमाउँछे, त्यसैमा आधारित यो उपन्यास हुनेछ ।’
यो उपन्यासको सबैभन्दा रोचक पक्ष चाहिँ उपन्याससँगै गीति एल्बम पनि पाठकले हात पार्नेछन् । एल्बममा १२ वटा गीत सुमधुर आवाजका साथ घन्कने छन् । जुन जुन बेला उपन्यासमा गीत, धुन र आवाजको आवश्यकता पाठकले महसुस गर्छन्, ठीक त्यही बेलाका लागि डलीले १२ गीत रेकर्ड गराएकी हुन् । यता उपन्यासमा पाठकले ती गीतका शब्द पढ्न पाउने छन् ।
प्याटर्सन भन्छन्, ‘डलीसँग काम गर्न पाउनु मेरो अहोभाग्य हो । हामीले सँगै लेख्दा खुब रमाइलो गर्यौं । गति सुन्दै उपन्यास पढ्यो भने पाठकले नयाँ अनुभूति गर्नेछन् ।’
गएको वर्ष मात्र डलीको ‘सङटेलरः माई लाइफ इन लिरिक’ शीर्षकको संस्मरण बजारमा आएको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।