बेलायतबाट प्रकाशन हुने तथा संसारकै प्रख्यात पत्रिका फाइनान्सियल टाइम्स दैनिक पत्रिकाको संयोजनमा वितरण गरिने बिजनेस बुक अफ दि इयर २०२२ को लामो सूची जारी गरिएको छ । आज १६ अगस्तका दिन अखबारले आफ्नो सातौँ पृष्ठमा पूरा पृष्ठभरि विज्ञापन गर्दै लामो सूची जारी गरेको बताएको हो ।
सूचीमा १५ वटा पुस्तक छानिएका छन् । यीमध्येबाट ६ वटा अन्तिम तथा छोटो सूची जारी गरिनेछ । ती ६ मध्येबाट एउटालाई बिजनेस बुक अफ दि इयर २०२२ बाट सम्मानित गरिनेछ । छोटो सूचीलाई भने आउँदो सेप्टेम्बर २२ का दिन घोषणा गरिने अखबारले जनाएको छ ।
लामो सूचीमा परेका पुस्तकहरूमा केट बिङ्घाम र टिम हेम्सको द लङ सट रहेको छ । यस पुस्तकले कोभिड १९ को उपचारका लागि बेलायतमा भ्याक्सिन बनाउने दौड कस्तो थियो, यसमा कुन कुन कम्पनी लागिपरेका थिए र त्यसको परिणाम कस्तो रह्यो भन्नेबारे मिहिन रूपमा केलाइएको छ ।
यस्तै बटलर टु द वर्ल्ड पुस्तकमा धनकुबेरहरू, कर छल्नेहरू, अपराधी तथा भ्रष्ट राजनीतिज्ञहरूका लागि बेलायत कसरी नोकर बनिरहेको छ भन्नेबारे ओलिभर बुलोफको पुस्तकले बताएको छ ।
यसैगरी म्याथ्यु क्याम्पबेल र किट चेलेलले लेखेको डेड इन द वाटर पुस्तकले संसारकै सबैभन्दा गुप्त उद्योगमा चलिरहेको हत्या र ठगीका बारेमा उजागर गरेको छ ।
यस्तै ब्याजदरको वास्तविक कथामाथि इडवार्ड चान्सलरले लेखेको द प्राइस अफ टाइम पनि सूचीमा परेको छ ।
लुलु चेनले लेखेको चीनको प्रख्यात प्रविधि कम्पनी टान्सेन्ट र चीनको प्रविधिमाथिको महत्त्वाकांक्षाको पुस्तक इन्फ्लुएन्स एम्पायर सूचीमा राखिएको छ ।
टाइलर कोवेन र ड्यानियल ग्रसले लेखेको ट्यालेन्टः हाउ टु आइडेन्टीफाई इनर्जाइजर्स, क्रिएटिभ्स, एन्ड विनर्स अराउन्ड द वर्ल्ड, विलियम डि. कोहनले लेखेको अमेरिकाको प्रख्यात कम्पनी जेनरल इलेक्ट्रिकको उत्थान र पतनको कथा पावर फेलर पनि सूचीमा परेका छन् ।
अर्को एउटा रोचक पुस्तक पनि सूचीमा परेको छ । जे. ब्राडफोर्ड डिलङद्वारा लिखित बीसौँ शताब्दीको आर्थिक इतिहास स्लाउचिङ टुवार्ड्स युटोपिया, क्याथरिन जजलिखित डाइरेक्टः द राइज अफ द मिडलम्यान इकोनमी एन्ड द पावर अफ गोइङ टु द सोर्स यो सूचीमा अटाएको छ ।
गेरी गर्स्टलद्वारा लिखित द राइज एन्ड फल अफ द नियोलिबरल अर्डरः अमेरिका एन्ड द वर्ल्ड इन द फ्रि मार्केट एरा, सेबास्टियन मालाबाईद्वारा लिखित द पावर लः भेन्चर क्यापिटल एन्ड द आर्ट अफ डिसरप्सन पनि यो सूचीमा छन् ।
क्रिस मिलरको चिप वारः द फाइट फर द वर्ल्ड्स मोस्ट क्रिटिकल टेक्नोलजी, पिटर रोबिन्सनको फ्लाइङ ब्लाइन्डः द ७३७ म्याक्स ट्राजेडी एन्ड द फल अफ बोइङ, हेलेन थम्पसनको डिसअर्डरः हार्ड टाइम्स इन द ट्वेन्टीफस्ट सेन्चुरी पनि सूचीमा परेका छन् । गेइया भिन्सको नोम्याड सेन्चुरीः हाउ टु सरभाइभ द क्लाइमेट अपहिभल पनि सूचीमा छ ।
यो सूचीबाट छानिएका ६ मध्येबाट ५ डिसेम्बरमा विजेता घोषित गरिनेछ । विजेता पुस्तकले ३० हजार स्टर्लिङ पाउन्ड रकम पाउने छ भने छोटो सूचीको छनोटमा परेका प्रत्येक पुस्तकले १० हजार पाउण्ड प्राप्त गर्नेछन् ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।