भागः १५

मोटरको सयर गराउँछु । अनि त्यहाँबाट फर्केर संगसंगै खाजा खाऔंला ! ” केटो मेरो आवाज सुनेर झसंग भयो। उ सीढीबाट तल ओर्लियो र ट्रकको पाउदानीमा गोडा राखेर माथि चढ्यो । आश्चर्य मान्दै उसले आफ्ना आँखा पूरै खोलिराखेको थियो। उसले सुस्तरी सोध्यो- “काका, मँरो नाउँ भान्या भनेर कसरी थाहा पायनु भो ? अनि उ विस्फारित नजरले मतिर हेर्दै मेरो जवाफ पर्खेर बस्यो। मैले तुरून्त जवाफ दिइ पनि हाले – हेर्‌, बाबु ! म यस्तो मान्छे हुँ जसलाई थाहा नभएको कुरै केही छैन यस संसारमा ! ”

केटो फनक्क घुमेर दायाँतर्फ आयो। मैले ढोका खोलेर उसलाई आफ्नो सीटको बगलमा बस्न दिएँ र हामी तुरून्तै रवाना भै पनि हाल्यौं। केटो ज्यादै हँसिलो लाग्यो मलाई, तर उ एकाएक चूप लाग्यो र विचारमग्न भयो। उ आफ्ना लामा लामा परेला भित्रबाट बेला बेलामा मतिर पुलुक्क हेर्थ्यो र लामो सुस्केरा हाल्थ्यो। यति सानो फुच्चे केटोले पत्ति सुस्केरा हाल्न जानिसकेको थियो। के यो पनि कहीं हुन सक्ने कुरो हो र? मैले उसलाई सोधें -“भान्या , तेरा बा कहाँ छन्‌, हँ? ” उसले ज्यादै नै मसिनो स्वरमा जवाफ दियो – “ मोर्चामा मारिए ! ” “आमा नि आमा ?” “ आमा हामी रेलगाडीमा जाँदै थियौं, बम खसेर आमा पनि मरिन्‌ ! ” “ रेलगाडीमा कहाँबाट तिमीहरू जाँदै थियौ नि ?” थाहा छैन, केही पनि थाहा छैन । के त यहाँ तेरा कोही आफन्त छैनन्‌ ? ”-“यहँ, कोही पनि छैनन्‌ !” “राति कहाँ सुत्छस्‌ नि त ?”-“जहाँ पनि सुत्छु !”

तातो आँसु उस्लिएर पौखिएला जस्तै हुन थाल्यो मभित्र । मैले तुरून्त नै फैसला गरेँ हामीले एक्ला एक्लै विपद भोग्नु पर्ने के छ र ! म यसैलाई नै आफ्नो छोरो तुल्याउँछु…।’ बस्‌ यस्तो विचार फुर्नासाथै मेरो मन पनि चंगा भयो र हृदयमा उज्यालो छायो । म उसतर्फ अलिकति यसो निहरिएँ र बिस्तारै सोधेँ- “थाहा छ, भान्या, म को हुँ ? उसले लामो सास फेर्दै सोध्यो- “को?” मैले पहिले झैं नै बिस्तारै जवाफ दिएँ-“तिरो बा हुँ म !

त्यसपछि के भयो त्यो त ईश्वरलाई नै थाहा हौला ! भान्याले मेरो गलामा अँगालो हाल्यो र मेरा गाला, ओठ र निधार चुम्न थाल्यो । अनि उ धोबी चराले जस्तै चिरचिर गर्दै सुरिलो स्वरमा कराउन थाल्यो- “प्यारा बा ! मलाई थाहा थियो ! तपाईंले थ्रवश्य मलाई खोजेर फेला पार्नु हुने छ भन्ने कुरा म जान्दथेँ। जसरी भए पनि मलाई खोजेरै छोड्नु हुने छ भन्ने पनि मलाई पक्का थियो। म कहिलेदेखि तपाईंको बाटो हेर्दै थिएँ र तपाईंले जरूर भेट्टाउनु हुने छ भन्ने पनि जान्दथेँ।” उ मेरो जीउमा टाँसिएको थियो र हावाको झोक्काले पात फिरफिर गरे झैं काँपिरहेको ‘थियो । मेरो आँखा पनि धमिलिए र मलाई पनि कम्प छुट्न थाल्यो । मेरा हातहरु थरथर काँपिरहेका थिए…। कसरी मैले हैण्डिल छोडेनछु ? अहिले सम्झँदा नै जीउ जिरिंग हुन्छ ! तैपनि मोटर त सडकबाट तल खसिहाल्यो र इन्जिन चल्न पनि बन्द भयो। आँखा अगिल्तिर धमिलो पर्दा नहटुन्जेल त सलाई गाडी चलाउन समेत डर लागिरहेको थियो, कतै कसैलाई किचिदिने त होइन भनेर ! हामी यसरी पाँच मिनेट जति त्यहीं नै बसिरह्यौं। मेरो छोरो चाहि भए भरको बल लगाएर मलाई अँगालेर बसेको थियो । उ एकदमै चूप लागिरहेको थियो र बीच बीचमा माल्लै झसंग झसंग हुन्थ्यो। मैले दाहिने हातले उसलाई अंकमाल गरेँ, बिस्तारै आफ्नो छातीमा लगाएँ, अनि बायाँ हातले हैण्डिल घुमाउँदै आफ्नो डेरातिर फर्किएँ । त्यसपछि मलाई अन्नभण्डारसम्म जान्ने होशै भएन । अन्नभण्डारको कुरै मैले भुसुक्क बिर्सिदिएँ ।

डेराको ढोकैनेर मैले मोटर रोके । आफ्नो नयाँ छोरालाई उठाएर अँगालो मार्दै म कोठाभित्र पसेँ। उ मेरो गर्दनमा जसरी शुरूमा झुण्डिएको थियो त्यसरी नै अहिलेसम्म पनि झुण्डि नै रहेको थियो। यति मात्रै कहाँ हौँ र ? उसले आफ्नो गाला पनि मेरो दाह्री उम्रेको गालामा टाँसिराखेको थियो र त्यसरी नै टाँस्सिएर बसेको थियो। यसै हालतमा मैले उसलाई बोकेर डेरामा ल्याएको थिएँ। मेरा घरपति र उनकी पत्नी दुबै जना घरमा थिए त्यस बेला। मैले उनीहरूलाई आँखाले इशारा गरेँ र रमाउँदै भने – “ आफ्नो प्यारो भान्यालाई आाखिर खोजेर भेट्टाइ नै हालें मैले ! हामी दुबै अब संगसंगै, रहने छौं। ” बालबच्चा घरमा कोही पनि नभएका भेरा मित-दम्पतिले तुरून्त नै सारा कुरा बुझिहाले र हस्याङ-फस्याङ गर्दै यता-उता दौडधूप गर्न थाले। मैले भने आफ्नो छोरोलाई आफ्नो जीउबाट अलग्याउनै सकिरहेको थिइनँ । आखिर जसोतसो गरेर फकाएँ-फुलाएँ। मैले उसको हात साबुनले धोइदिएँ र उसलाई खाना खाने टेबुलनेर एउटा मेचमा बसालिदिएँ । घरपट्टिनीले चाहिँ एक रिकापीभरि बन्दाको घुष उस्को अगाडि राखिदिइन्‌ । उसले तुरून्त न सुप सफाचट पारिदिएको देख्ता उनको आँखामा आँसु टलपल टलपल भरिएर आएको थियो। उनी चुलोनजीकै उभिएर लुकाको सप्कोले आँसु पुछ्दै थिइन्‌ । जब मेरो भान्याले उनलाई रोइरहेकी देख्यो , त्यत्तिखेर नै उ तुरून्त दौडर उनको छेउमा पुग्यो र जम्फरको किनारा तान्दै सोध्न लाग्यो काकी किन रूनु हुन्छ तपाइँ ? बाले मलाई चिया खाना नजिकै भेट्टाउनु भयो। यसमा त सबैले खुशी मान्नु पर्ने हो । तर तपाई भने रून पो थाल्नु भयो ! ” तर घरपट्टिनी भने झन्‌ सुँक्क सुँक्क गरेर रून थालिन्‌ र उनको आँखाबाट आँसुको बलिन्द्र धारा छुट्न लाग्यो। उनी यसरी रोइन्‌ कि उनको जीउको सारा कपडा नै आँसुले निथ्थ्रुक्क भिज्यो।

खाना खाइसकेपछि मैले भान्यालाई नाउको पसलमा लिएर गएँ र उसको रौं कटाउन लगाएँ। अनि डेरामा फर्केर मैले उसलाई आफैले आरीमा नुहाइदिएँ र सफा चद्दरले उसलाई चारैतिरबाट बेरबार गरिदिएँ। त्यसपछि उसले मेरो गर्दनमा हातले अंगालो हाल्यो र मेरै छातीमा टाँस्सिएर निदायो । मैले उसलाई हिफाजतपूर्वेक खाटमा सुताइदिएँ। अनि ट्रक हाँकेर अन्नागार पुगें र अनाज त्यहीँ खन्याइदिए। तुरून्तै ट्रक डिपोमा पुर्याएर म दौडेर बजारमा पुगें। त्यहाँ मैले आफ्नो छोरोको निम्ति जीनको एउटा पैन्ट, एउटा कमीज, चप्पल एक जोर बेतको चोयाबाट बनेको एउटा टोप पनि किनेँ । यी सबै चीजबीजहरू न त साइज मिल्ने किसिमका थिए , न त असल खालका नै थिए । पैन्ट देखेर त घरपट्टिनीले मलाई डाँटिन्‌ पनि – “ शायद , तपाईंको मगज नै ठीक ठाउँमा छैन । यस्तो गर्मीमा पनि बच्चालाई जीनको पैन्ट लगाउन दिने हो ! ” यत्तिकैमा उनले लुगा सिउने मशीन टेबुलमाथि राखिन्‌ सन्दुकमा कपडा खोजखाज गरिन्‌ र त्यहाँबाट दुई टुक्रा कपडा झिकिन् । एक घण्टा जति पनि समय बित्न नपाउदै उनले मैले देख्दादेख्दै मेरो भान्याको लागि एउटा सूती पतलून र एउटा सेतो कमीज सिएर तयार पारिदिइन्‌ । राति मैले उसलाई आफ्नै साथमा सुताएँ र कति वर्षपछि बल्ल पहिलो पटक मस्तसँग निदाएँ । तर राति म चार पल्ट जति ब्युँझिएहुँला । मेरो छोरो बिस्तार-बिस्तार सास फेर्दै थियो र पातहरूको मुन्तिर बास बसेका भँगेरा जस्तै गरेर मेरो काखी …….

क्रमश…..