खण्ड ३

                                                                            परिच्छेद -१६

आफ्ना सहायक अफिसरहरूका साथ कुतुजोभ घोडा बढाउँदै बन्दुकधारी सिपाहीहरूको पछिपछि लागे । लस्करको पछाडि लागेर    आधा माइल जति पर पुगेपछि एउटा उजाड र अलपत्र अवस्थामा ठिङ्ग उभिएको एउटा घरमा उनी रोकिए । सायद त्यो घर कुनै बखत धर्मशाला थियो होला । त्यो घरमा पुगेपछि बाटो छुट्टिएर दुइटा भयो । दुवै बाटो पहाडबाट ओरालो लाग्थे र दुवै बाटोबाट सैनिकहरू तलतिर ओर्लिरहेका थिए ।

कुहिरो हराउन लागेको थियो र दुस्मनको सेना एक डेढ माइल जति टाढा, अगाडिको डाँडामा देखिन थालिसकेका थियो । बायाँपट्टिको मैदानमा चलिरहेको गोलाबारी झन्‌ राम्रोसँग देखिन थालेको थियो । कुतुजोभ टक्क रोकिएर अष्ट्रियाली जर्नेलसँग केही कुरा गर्दै थिए । उनीहरूभन्दा अलि पछाडि, उनीहरूलाई हेरिरहेको राजकुमार आन्द्रेइ एउटा दूरबीन माग्न एक जना सहायक अफिसरतर्फ फर्क्यो ।

“हरेर, हेर !” टाढाको सेनातिर नभएर आफ्नै अगाडितिर हेर्दै त्यस अफिसरले भन्यो- “यिनीहरू फ्रान्सेली हुन्‌ ।”

दुवै जर्नेल र सहायक अफिसर आपसमा दूरबीन खोसाखोस गर्न थाले । एक्कासि उनीहरूको अनुहारको स्वाभाविक भाव एउटा आतङ्कको भावमा परिणत भयो । फ्रान्सेलीहरू दुई-अढाइ माइल टाढा होलान्‌ भन्ने अडकल गरिएको थियो तर उनीहरू अप्रत्यासित रूपमा हाम्रो आँखैअगाडि देखिए ।

“यिनीहरू दुस्मन नै हुन्‌ त ?”…….. होइनन्‌, हुन्‌, तिनीहरूलाई राम्रोसँग चिन…. पक्का पनि उनीहरू नै हुन्‌ तर यो कसरी हुन सक्छ ?” विभिन्न मान्छेका मुखबाट विभिन्न थरीका तर्कवितर्क प्रस्तुत भए ।

कुतुजोभ उभिइरहेको ठाउँबाट पाँच सय पाइला जति पर मैदानको बायाँपट्टि राजकुमार आन्द्रेइले उनीहरूलाई नाङ्गो आँखाले स्पष्ट देख्यो । फ्रान्सेलीहरूको एउटा ठूलो लस्कर अपसेरोनको बटालियनतर्फ बढिरहेको थियो ।

“निर्णायक क्षणजस्तो छ ! अब बल्ल मेरो पालो आयो,” राजकुमार आन्द्रेइले
सोच्यो र घोडा बढाउँदै कुतुजोभसमक्ष पुग्यो ।

“अपसेरोनको बटालियनलाई रोक्नै पर्छ हजूर,” उसले चिच्याइचिच्याई भन्यो । तर ठीक त्यही बेला आगोको एउटा मुस्लो उठेर वरिपरिको आकाशै ढाक्यो । एकदम नजिकै गोलाबारी भइरहेको आवाज सुनियो । र, राजकुमार आन्द्रेइभन्दा दुई पाइला पर कसैको डराइरहेको तर भद्रतापूर्वक कराइरहेको आवाज सुनियो, “भाइ हो, तिमीहरूले यो सम्झ कि अब सम्पूर्ण खेल खतम भयो ।” यो आवाज एउटा आदेशजस्तो सावित भयो, सुनेर सबै भागाभाग गर्न थाले ।

एकदम अत्तालिएको भीड बृहत्तर सङ्ख्यामा भागाभाग गर्दै थियो, जहाँ पाँच मिनेट पहिले सैनिकहरू सम्राट्हरूका अगाडिबाट अगि बढिरहेका थिए । त्यस भीडलाई नियन्त्रण गर्न असम्भव मात्र होइन, त्यस भीडको धक्काधक्कीबाट आफै ज्यान जोगाउन पनि सम्भव थिएन । बोल्कोन्स्कीले कुतुजोभको सम्पर्कमा रहिरहने प्रयास गप्यो र चारैतिर हेर्दै आफ्नोअगाडि भइरहेको अवस्थालाई बुझ्न नसकेर आत्तियो । रिसले चूर भएर रातोपीरो अनुहार लगाएको तथा अकै मान्छेजस्तै भएको नेस्भित्कीले तुरुन्तै नभाग्ने हो भने उनी पक्राउमा पर्ने छन्‌ भनेर कुतुजोभलाई सुनाइरहेको थियो तर कुतुजोभ एक डेग चलेनन्‌ र नेस्भित्स्कीलाई जवाफै नदिई खल्तीवाट एउटा रुमाल निकाले । उनका गालाबाट रगत चुहिरहेको थियो । राजकुमार आन्द्रेइ जसोतसो उनी भएको ठाउँमा पुग्यो ।

“तपाईंलाई घाक लाग्यो ? घाइते हुनुभयो ?” आफ्नो कामिरहेको तल्लो च्यापु
बल्लबल्ल नियन्त्रण गर्दै उसले सोध्यो ।

“घाउ यहाँ होइन, उ त्यहाँ लागेको छ,” कुतुजोभले चोट लागेको गाला रूमालले दबाउँदै भागाभाग गरिरहेका सैनिकहरूतर्फ इशारा गर्दै भने ।

“उनीहरूलाई रोक !” उनले झर्किँदै भने र फेरि उत्तिखेरै सायद उनीहरूलाई रोक्न असम्भव ठानेर होला, आफ्नो घोडालाई एडी हाने र दाहिनेतर्फ लागे ।

उनी दगुरादगुर गरिरहेको सैनिकहरूको एउटा भीडमा परे र उक्त भीडले उनलाई समेत धकेल्दै आफूहरूसँगै लग्यो ।

पछाडितिर भागिरहेको सेनाको भीड यति ठूलो थियो कि त्यस भीडमा परेपछि त्यसबाट बाहिर निस्कन मुस्किल थियो । एक जना सेना चिच्यायो, “अगाडि बढ, किन रोकिएको ? त्यही ठाउँमा अर्को सेनाले चारैतिर हेर्दै हावामा गोली चलायो । तेस्रो चाहिँले कुतुजोभ चढेको घोडालाई हान्न थाल्यो । ठूलो प्रयत्नपछि त्यस मानव सागरबाट बायाँतिर निस्कन सफल भएपछि कुतुजोभले आधा जति बचेका आफ्ना अनुचरगणका सदस्यहरू साथमा लिएर त्यहाँबाट नजिकै तोप पड्केको आवाज आएतिर आफ्नो घोडा बढाए । भगौडाहरूका भीडबाट आफूलाई बल्लतल्ल बचाएर निस्केपछि कुतुजोभनजिक रहने प्रयास गरिरहेको राजकुमार आन्द्रेइले पहाडको ओरालोतिर उडिरहेको धूवाँबीच एउटा रसियाली तोपसमूह अझै तोप पड्काउँदै गइरहेको देख्यो र फ्रान्सेलीहरू पनि उसैतिर दगुर्दै बढिरहेका थिए । अगाडि बढेर पैदल सेनाको बचाउ गर्न पनि नसक्ने र भागाभाग गरिरहेको भीडसँग पछाडि हट्न पनि नसक्ने अवस्थामा एउटा रसियाली पैदल सेना पहाडको टुप्पोमा खडा थियो । घोडामाथि चढेको यो रेजिमेन्ट त्यस रेजिमेन्टबाट छुट्टिएर कुतुजोभसामु आयो । कृतुजोभको गणमा अरू जम्मा चार जना मान्छे मात्र बाँकी थिए । उनीहरू सबैको अनुहार फुङ्ग उडेको थियो र उनीहरू सबै चुपचाप लागेर आपसमा हेराहेर गर्दै थिए ।

“यी दुष्ट नामर्दहरूलाई रोक,” भागिरहेका सैनिकहरूतर्फ इशारा गर्दै फुलेको सासमा कुतुजोभले रेजिमेन्ट कमाण्डरलाई भने । तर त्यही क्षण उनका यिनै शब्दहरू वापत दण्डस्वरूप सानासाना चराहरूको बथानका रूपमा रेजिमेन्ट र कुतुजोभका गणमाथि गोलीहरूको वर्षा भयो ।

फ्रान्सेलीहरूले तोपखानामा हमला गरिरहेका थिए र कुतुजोभलाई देखेर उनीमाथि पनि गोली वर्षाइरहेका थिए । गोली लागेर रेजिमेन्ट कमाण्डर आफ्नो गोडा समात्दै थला पग्यो, कैयौँ सैनिकहरूको ज्यान गयो र एक जना सेकेण्ड लप्टनले समाइरहेको झण्डा हातबाट खसाल्यो । झण्डा लटपटिँदै झप्यो र नजिकै उभिइरहेका सिपाहीहरूको बन्दुकमा गएर अड्कियो । सैनिकहरूले कसैको आदेश विना गोली चलाउन लागे ।

उफ्‌; .:.:.उफ्…… गर्दै कुतुजोभ कराउन थाले । उनले यताउति हेरे र बोल्कोन्स्कीसँग कानेखुसी गरे । बुढेसकालको दुर्बल चेतनाका कारण उनको स्वर कामिरहेको थियो । लथालिङ्ग भएको आफ्नो फौज र दुस्मनको फौजतर्फ इसारा गर्दै उनले बोल्कोन्स्कीलाई “यो के भइरहेछ ?” भनेर सोधे ।

तर कुतुजोभले कुरा टुङ्ग्याउन नपाउँदै राजकुमार आन्द्रेइ लाज र रिसका कारण आँखाभरि आँसु लिएर घोडाबाट उफ्रेर तल झप्यो र झण्डा भएतिर दगुर्दै गयो ।

“भाइ हो, अगाडि बढ, हिम्मत नहार,” केटाकेटीहरूको जस्तो तीखो स्वरमा ऊ चिच्यायो ।

“अब आयो, मेरो पालो,” राजकुमार आन्द्रेइले झण्डाको डण्डा पक्रिँदै र आफूतर्फ प्रहार गरिएको गोलीको आवाज सुनेर प्रसन्न हुँदै, मनमनमा सोच्यो- “कैयौँ सिपाहीहरू मरिसके ।”

“ हुर्रे” भनेर चिच्याउँदै झण्डाको गरुङ्गो डण्डा बलियोसँग हातमा समातेर
सम्पूर्ण बटालियन यसै गरी आफ्नो पछाडि आउलान्‌ भन्ने आशा गर्दै ऊ अगाडिअगाडि दगुर्यो ।

वास्तवमा केही पाइला एक्लै हिँड्यो । तर एकै छिनपछि एउटा सिपाही उसको पछाडि त्यसपछि फेरि अर्को, फेरि अर्को गर्दै र “हुर्रे” भनेर चिच्याउँदै सम्पूर्ण बटालिएन अगाडि बढ्न लाग्यो र उसलाई पनि उछिन्यो । बटालिउनको एउटा सार्जेन्टले दगुर्दै गएर राजकुमार आन्द्रेइका हातमा हल्लिरहेको झण्डा आफ्नो लियो तर उ तत्काल मारियो । राजकुमार आन्द्रेइले झण्डा फेरि समात्यो र डण्डको साहायताले तान्दै बटालियन सँगसँगै दगुन्यो । अगाडितिर उसले हाम्रा तोपधारी सैनिकलाई फेला पार्यो, उनीहरू कोही लडाइँ गरिरहेका थिए भने कोही हातका बन्दुक छाडेर ऊसँगै लागिरहेका थिए । उसले फ्रान्सेली पैदल सेनापतिहरूलाई देख्यो, जसले तोपगाडी तान्ने घोडा हत्याउँदै थिए र तोपका मुख मोड्दै थिए । राजकुमार आन्द्रेइ र बटालियन तोपहरूबाट मात्र बीस पाइला टाढा थिए । राजकुमार आन्द्रेइले आफ्नो टाउको र कानमाथि लगातार रूपमा सनसनाउँदै उडिरहेका गोलीका आवाज सुनिरहेको थियो र उसको दायाँ र बायाँ ऐया-ऐया भन्दै सिपाहीहरू भुइँमाथि पल्टँदै थिए तर उसले उनीहरूमाथि दृष्टि दिएन । उसले त आफ्नोअगाडि तोपखानामा, जे भइरहेको छ, त्यो मात्र आँखा गाडेर हेरिरहेको थियो । उसले रातो कपाल भएको एक जना तोपचालकलाई स्पष्ट देखिरहेको थियो, जसले लगाएको फौजी टोपी च्यातिएको थियो । उसले तोप सफा गर्ने लामो बुस आफूतिर तानिरहेको थियो भने फ्रान्सेली सिपाहीले त्यसलाई आफूतिर तानिरहेको थियो । राजकुमार आन्द्रेइले यी दुवै जना सिपाहीको हडबडाइरहेको तथा रिसले मुर्मुरिइरहेको अनुहार स्पष्ट रूपमा देखिरहेको थियो । ती सिपाहीहरूलाई आफूले
के गरिरहेछौँ भन्ने केही थाहा थिएन ।

“उनीहरू के गरिरहेका होलान्‌ ?” उनीहरूतर्फ हेर्दै राजकुमार आन्द्रेइले सोच्यो । हतियारविहीन त्यो रातो कपाल भएको बन्दुकधारी फ्रान्सेली किन आफ्नो ज्यान बचाउन भाग्दैन ? सैनिकले उसलाई किन नमारेको होला ? रातो कपालवाला धेरै टाढा भाग्न पाउने छैन जब कि त्यो फ्रान्सेलीले आफूसँग बन्दुक छ भनेर थाहा पाउनेछ र उसलाई तत्काल सिध्याउने छ………….. ”

त्यत्तिकैमा अर्को एक जना फ्रान्सेली सैनिक, बन्दुक सोझ्याउँदै सङ्घर्षरत ती दुई जना सिपाहीहरूतर्फ दगुरेर आयो । सायद उसले रातो कपाल भएको हाम्रो सिपाहीलाई मार्ने छ, तर त्यो विचरालाई आफू मर्दैछु भन्ने थाहा छैन, जेहोस्‌ त्यसको निर्णय हुँन बाँकी नै छ । तर राजकुमार ‘आन्द्रेइले त्यसको परिणाम हेर्न भ्याएन । उसलाई यस्तो लाग्यो कि आफ्नो नजिकैको एउटा सिपाहीले उसको टाउकोमा एउटा ठूलो बज्ज प्रहार गर्यो। दुख्न त त्यति धेरै दुखेन तर के भयो भने त्यस प्रहारको दुखाइले उसको ध्यान खल्बलायो र उसले जुन दृश्य हेरिरहेथ्यो, त्यो नै उसको मानसपटलबाट हरायो ।

“यो के भयो हँ ? म पछारिन लागेँ कि कसो ? मेरौँ गोडाले ठाउँ छोडिरहेका छन्‌,” उसले सोच्यो र डङ्रङ्ग उत्तानो पल्ट्यो । उसले फ्रान्सेलीहरूसँग हाम्रा तोप सैनिकहरूको सङ्घर्षको परिणाम कस्तो भयो होला भन्ने सोचेर आँखा खोल्यो । उसले रातो कपाल भएको तोपचालक मारियो होला कि जिउँदै होला भन्ने सोच्यो र तोपहरू फ्रान्सेलीहरूको कब्जामा परे होलान्‌ कि बचेका होलान्‌ भनेर पनि खूब सोच्यो तर उसले केही पनि देखेन । उसको आँखाअगाडि, वरिपरि र माथि एउटा शून्य आकाश मात्र थियो- उदात्त र अग्लो आकाश, त्यो आकाश निर्मल थिएन तर अनन्त थियो, जहाँ बादलका सेता टुक्राहरू सलल-सलल बग्दै मडारिइरहेका थिए । कति शान्त र कति गम्भीर रहेछ- म दगुरिरहेको अवस्थासँग त्यसलाई, तुलना गर्नै मिल्दैन । हामीहरू चिच्याउँदै र लडाइँ गर्दै भागिरहेको अवस्थासँग तुलना गर्नै मिल्दैन, न त तोप हात लगाउन दुईतिरबाट एक-आपसमा तानातान गर्ने त्यो भयभीत र क्रुद्द हाम्रो र फ्रान्सेलीहरूको सिपाहीसँग तुलना गर्न मिल्छ । त्यो अनन्त र उच्च आकाशका बादलहरू कति भिन्न ढङ्गमा विचरण गरिरहेछन्‌ । मैले त्यो विशाल आकाशलाई यसअगि किन देख्न सकिनँ होला ? यो अन्तिम घडीमा आएर त्यसलाई देख्दा मलाई कति खुसी लागिरहेछ ! हो, वास्तवमा यहाँ सबथोक व्यर्थ छ, सबथोक कृत्रिम र झूटो छ तर त्यो अनन्त आकाश भने युगयुगसम्म शाश्वत र सत्य रहने छ । यस ब्रम्हाण्डमा अरू केही छैन, केही पनि छैन मात्र त्यो अनन्त आकाश । तर त्यो विशाल र अनन्त आकाशको अस्तित्व नरहे पनि शान्ति र नीरवताको अस्तित्व रहिरहने छ । त्यसको लागि भगवानलाई धन्यवाद छ !