परिच्छेद -१०

नोभेम्बर १६ का दिन एकाबिहानै, देनिसोभको स्क्वाड्न, जसमा निकोलास रोस्तोभ सम्मिलित थियो र जो राजकुमार बग्रातिओनको कमानमा रात बिताएको ठाउँबाट सोझै युद्धमैदानतर्फ अगि बढ्यो र एक माइलको दुई खण्ड जति अन्य सैन्य दलको पछिपछि लागेपछि, राजमार्गमा रोकियो । रोस्तोभले कोजाकहरूलाई देख्यो त्यसपछि हुस्सारहरूको पहिलो र दोस्रो स्क्वाड्रनलाई देख्यो त्यसपछि पैदलसेनाका बटालियनहरू तोपखानाअगाडि बढेर गएको देख्यो र त्यसपछि उसले आफ्ना सहायक जर्नेलहरूलाई साथ लिएर जर्नेल बग्रातिओन र जर्नेल दोल्गोरूकोभ आफ्नो अगाडिबाट बढेको देख्यो । त्यो सम्पूर्ण भय, त्रास, जो उसले लडाइँ सुरु हुनुभन्दा पहिलेजस्तै अहिले फेरि महसुस गरिरहेको थियो, त्यो मानसिक सङ्घर्ष, जसले गर्दा उसले यो त्रासमाथि विजय प्राप्त गर्न सफल भएको थियो, एउटा असली हुस्सारका रूपमा यस लडाइँमा आफ्नो पराक्रम देखाउने उसका सपना चकनाचूर भएर गए । यस स्क्वाड्रनलाई जगेडामा राखिएको हुँदा रोस्तोभको मानसिकता दिनभरि उदास र दु:खी अवस्थामा रह्यो । बिहान नौ बजे उसले आफ्नो अगाडितिर गोलावर्षा भएको र हरे, हु्रे भनेर चिच्याएको सुन्यो र घाइतेहरूलाई बोकेर ल्याएको देख्यो (जाँ धेरै थिएनन्‌) र अन्त्यमा यस्तै सय जना जति हुस्सारहरूले घेरेर फ्रान्सेली घोडसवारहरूको एउटा सिङ्गो दललाई नै बन्दी बनाएर ल्याएको देख्यो । लडाइँ सायद समाप्त भएको थियो र सायद त्यति ठूलो लडाइँ भएको पनि थिएन तथापि हाम्रो पक्षले विजय प्राप्त गरेको थियो । युद्ध मैदानबाट फर्किरहेका सैनिकहरू र अफिसरहरूले हामीले गरेको सानदार विजय, विशाल सहरमा गरेको कब्जा र फरान्सेलीहरूको पूरै स्क्वाड्रनलाई समातेर बन्दी बनाएको विषयमा चर्चा गरिरहेका थिए । राती तुसारो परे पनि दिउँसो मस्तसँग घाम लागेको थियो र शरद क्रतुको त्यस दिनको मधुर चमक विजय-समाचारको अनुकूल थियो, जसको वर्णन युद्धमा भाग लिनेहरूका मुखबाट सुनेर मात्र होइन, रोस्तोभको नजिकबाट यताउति आउने जाने सैनिकहरू, अफिसरहरू, जर्नेलहरू र सहायक जर्नेलहरूको अनुहारमा प्रस्फुटित उल्लासयुक्त प्रकाशले पनि पुष्टि गर्थ्यो ।

निकोलास रोस्तोभको मन यसकारण झन्‌ दुखिरहेको थियो कि उसले लडाइँ हुनुभन्दा पहिले नै पछि हुनु पर्ने डरत्रासको यातना सहनु पर्यो र यति राम्रो त्यो दिन रर्थक अवस्थामा बसेर बिताउनु पर्यो ।

“आऊ, हामी दु:ख बिर्सनका लागि पिऔँ ।” ‘र’ शब्दको सही उच्चारण गर्न नसक्ने देनिसोभले सडक छेउमा रक्सीको एउटा बोतल र केही खाने कुरा लिँदै बसेर रोस्तोभलाई बोलायो ।

देनिसोभको यस क्यान्टिनमा खानपिन र गफ गर्दै अफिसरहरू जम्मा भए ।

“लौ त्यहाँ हेर, उनीहरूले एउटा अर्को मान्छे लिएर आइरहेछन्‌,” दुई जना कोजाकहरूले एउटा बन्दी फ्रान्सेली घोडसवारलाई पैदल हिडाउँदै ल्याएको दृश्यतिर सङ्केत गर्दै अफिसरहरूमध्ये एक जनाले भन्यो ।

एक जना अफिसर, बन्दीसँग बसेको एउटा राम्रो र ठूलो फ्रान्सेली घोडा लगाम समातेर ल्याइरहेको थियो ।

“त्यो घोडा हामीलाई बेच,” देनिसोभले चिच्याउँदै कोजाकहरूलाई भन्यो ।

“इच्छा लाग्छ भने किन्नुहोस्‌, हजूर……।”

अफिसरहरू उठेर कोजाकहरू र बन्दीका वरिपरि उभिए । उक्त फ्रान्सेली घोडसैनिक एउटा जवान अल्सेसियाली थियो, जो जर्मनेली लवजमा फ्रान्सेली भाषा बोल्थ्यो । ऊ आत्तिएर स्वाँस्वाँ गर्दै थियो । उसको अनुहार रातो भएको थियो । र कसैले फ्रान्सेली भाषा बोलेको सुन्नेबित्तिकै ऊ एकपछि अर्को अफिसरसँग बोल्न थाल्थ्यो । “उसलाई बन्दी बनाइने थिएन किनकि उसको यसमा केही दोष थिएन, बरु त्यो कर्पोरलको दोष थियो, जसले उसलाई घोडगाडीको पालकी लिन पठायो । तर उसले त्यहाँ रसियालीहरू छन्‌ भनेको थियो,” उसले भन्यो । प्रत्येक शब्दमा उसले मेरो सानो र प्यारो घोडालाई भने चोट नपुर्याउनु है भन्थ्यो । र घोडालाई प्रेमपूर्वक सुम्सुम्याउँथ्यो । उसलाई आफू कहाँ छु भन्ने कुरा थाहा नै थिएन । बन्दी बनाइएकोमा घरी उ क्षमादान माग्थ्यो भने घरी आफूलाई ठूला अफिसरहरूको अगाडि भएको अनुभव गर्दै सैनिक अनुशासन र उत्साह कायमै राख्थ्यो । उसले हाम्रो पार्श्वसैनिक दलमा त्यस्तो ताजापनको वातावरण ल्याइदियो, जो हाम्रो लागि नौलो अनुभव थियो ।

कोजाकहरूले सुनका बीस रुबलमा घोडा बेचे र घरबाट पैसा आइरहने हुँदा अफिसरहरूमध्ये सबभन्दा धनी रोस्तोभले उक्त घोडा किन्यो ।

“तर मेरो घोडालाई दु:ख नदिनू नि,” घोडा हस्तान्तरण गर्ने बेलामा उक्त मिजासिलो फ्रान्सेली अल्सेसियालीले रोस्तोभलाई भन्यो ।

रोस्तोभले पनि मुस्कुराउँदै उसलाई त्यस विषयमा आस्वस्त गरायो र रकम भुक्तानी गर्यो ।” कोजाकले ‘हेलो’ हेलो’ भन्दै बन्दीलाई अगाडि बढाउने हेतुले उसको हात समात्यो ।

‘सम्राट्, ! सम्राट् !” अचानक हुस्सारहरू चिच्याएको आवाज सुनियो ।

सबै कोलाहल गर्दै चल्मलाउन र भागाभाग गर्न लागे । रोस्तोभले आफूपछाडि घाटोमा टोएमा पेतो कल्की लगाएका थुप्रै घोडसवारहरू आउँदै गरेको देख्यो । एकै छिनमा सबै आफ्नोआफ्नो ठाउँमा बसेर पर्खन लागे ।

रोस्तोभलाई ऊ कसरी आफ्नो ठाउँमा पुगेर घोडा चढ्यो भन्ने कुरा थाहा नै भएन । लडाइँमा भाग लिन नपाएवापत लागेको पछुतो र चित्त दुखाई, आफूले चिन्ता गर्ने मानिसहरूकै बीचमा हुन पाउँदा, उसको मनबाट तत्काल हटेर गए । त्यस्तै प्रकारले उसको मनमा उठेका सम्पूर्ण विचारधाराहरू पनि तत्काल हराएर गए । सम्राट्को नजिक रहन पाएकोमा ऊ ज्यादै नै खुसी थियो । उसलाई सम्राटले यही सान्निध्य नै आज ब्यहोरेको सम्पूर्ण नोक्सानीको क्षतिपूर्ति हो भन्ने लागिरहेको थियो । ऊ त्यसरी नै खुसी भइरहेको थियो, जसरी धेरै दिनदेखि पर्खेको आफ्ना प्रेमिकालाई भेट्ने समय आउँदा कुनै प्रेमी खुसी हुन्छ । वरिपरि हेर्ने साहस नै नगरेर र वरिपरि हेर्दै नहेरेर दङ्गदास हुँदै ऊ आफ्नो अन्तर्ज्ञातमा पूर्ण रूपमा मख्ख थियो । र ऊ नजिक आइरहेको घोडचढी दलको घोडाका टापको आवाज सुनेर मात्र खुसी भएको होइन, बरु यसकारण खुसी भइरहेको थियो कि घोडचढी दल जति जति नजिक आउँथ्यो त्यति त्यति उसको चारैतिरका सबथोक झन्‌ बढी उज्ज्वल, झन्‌ हर्षमय, झन्‌ महत्त्वपूर्ण र झन्‌ रमाइलो भएर जान्थे । सूर्यको प्रकाश पनि घटाउने त्यो सौम्य, शान्त र तेजोमय किरणपुञ्ज जसै रोस्तोभको नजिक नजिक आयो, उसले आफैलाई त्यस किरणपुञ्जभित्र बन्द भएझैँ महसुस गर्यो, उसले सम्राट्को आवाज सुन्यो, त्यो दयालु, शान्त र सार्वभौम आवाज, जो अहिलेसम्म अत्यन्त निर्दोष र छलरहित थियो । रोस्तोभको मनको भावनाअनुसार त्यस बखत एउटा प्रचण्ड चकमन्नता छायो, जसभित्र सम्राटको आवाज गुन्जिरहेको थियो ।

“पाब्लोग्राद रेजिमेन्टका हुस्सारहरू हौ ?” सम्राट्‌ फ्रान्सेली भाषामा बोले ।
“जगेडाका हौँ हजूर !” एउटा आवाजले उत्तर दियो, जुन आवाज सम्राट्को ‘पाब्लोग्राद रेजिमेन्टका हुस्साहरू’ भन्ने शब्दका तुलनामा धेरै मानवीय थियो ।

सम्राट् रोस्तोभको नजिक आएर रोकिए । उनको अनुहार तीन दिन अगि निरीक्षणका समयमा भन्दा झन्‌ राम्रो भएको थियो । उनको अनुहार यस्तो खुसी र तारुण्य तथा जवानीको यस्तो सोझो झलकका साथ चम्किएको थियो कि त्यस अनुहारले चौध वर्षको पट्ठाको जस्तो उत्साह देखाउँथ्यो । हो, यो अनुहार सम्राट्‌ अलेक्जेण्डरको अनुहार थियो । स्क्वाड्नतर्फ सर्सर्ती नजर लगाउँदा लगाउँदै सम्राट्का आँखा रोस्तोभका आँखामाथि परे तर उनले दुई सेकेण्डभन्दा बढी हेरेनन्‌ । रोस्तोभको दिलमा कस्तो भूकम्प चलिरहेको छ भन्ने कुरा सम्राट्ले बुझे वा बुझेनन्‌ (रोस्तोभलाई यस्तो लाग्यो कि उनले सबै कुरा बुझे) उनका हल्का नीला आँखा दुई सेकेण्ड जति रोस्तोभको अनुहारमा गाडिए । उनको आँखाबाट एउटा प्रियकर र सुखद प्रकारको प्रकाश प्रकट भयो । त्यसपछि उत्तिखेरै उनले आँखीभौँ तन्काए, आफ्नो घोडालाई बायाँ खुट्टाको एडी लगाए र सर्पट दौडाउँदै अगाडितिर गए ।

तन्नेरी सम्राट्ले लडाइँमा उपूथित ह्रने आफ्नो प्रवल इच्छा दबाउन सकेनन् । उनका भारदारहरूले विरोध गर्दागर्दै पनि दिनको १२ बजे आफू संलग्न भएको फौजको तेस्रो पंक्ति छोडेर घोडालाई सर्पट दगुराउँदै रणशिरतर्फ लागे । हुस्सारहरूसँग पुग्नुभन्दा पहिले नै कैयौँ सहायक जर्नेलहरू उनीसँग बाटामा भेटिए, जसले उनलाई लडाइँमा सफलता प्राप्त भएको खुसीको खबर सुनाए ।

फ्रान्सेलीहरूको एउटा सिङ्गो स्क्वाड्रनलाई बन्दी बनाइएको यो लडाइँ, फ्रान्सेलीहरूमाथि प्राप्त गरेको सानदार विजयको प्रतिनिधि घटना थियो र त्यसकारण सम्राट् र पूरै सेना, खास गरी युद्धक्षेत्रमा बारुदबाट निस्केको धूवाँ नखुटेसम्मलाई यो विश्वास थियो कि फ्रान्सेलीहरू पराजित भइसकेका छन्‌ र उनीहरू नचाँहदा-नचाँहदै बाध्य भएर पछाडि हटिरहेका छन्‌ । सम्राट् अगाडि बढेपछि पाभ्लोग्राद रेजिमेन्टलाई अगाडि बढ्ने आदेश दिइयो । जर्मनीको एउटा सानो नगर विशाउमा रोस्तोभले सम्राट्लाई फेरि देख्यो । नगरका चोकहरूमा, जहाँ सम्राट् आउनुभन्दा पहिले भयङ्कर गोली चलेको थियो, केही घाइतेहरू थिए र केही मृतकका लाश पल्टिरहेका थिए । र तिनीहरूलाई उठाएर लैजाने समय नै मिलेको थिएन । आफ्ना सबै भारदारहरूद्वारा घेरिएका सम्राट्, निरीक्षण गर्दा चढेकोभन्दा अहिले अर्को घोडीमा चढेका थिए । (त्यो घोडीको पनि पुच्छर मर्दयाइएको थियो र रङ्ग पनि खैरो थियो) र एकातिर अलिकति झुकेर, बडो शोभायमान ढङ्गले सुनको कमानी भएको दूरबीन आँखैमा टाँसेर, उनले एउटा सैनिकलाई हेर्दै थिए, जो रगतको आहालमा मुछिएर घोप्टो र नाङ्गो मुन्टो लगाएर भुइँमा लडिरहेको थियो । त्यो घाइते सैनिक यति फोहोर, कुरूप र घिनलाग्दो थियो कि ऊसँग सम्राट्को सामीप्यताले रोस्तोभलाई क्षोभ लागिरहेको थियो ।

रोस्तोभले सम्राटको अलि कृप्रो परेको काँध असाध्यै जाडो भएजस्तो गरी कामेको सम्राट्को बायाँ खुट्टाले लगलगाउँदै घोडालाई एडी हान्न लाग्यो तर पनि तालिम प्राप्त त्यो घोडा केही थाहा नपाएजस्तो गरेर यताउति हेर्दै जहाँको तहीँ उभिइरह्यो । एक जना अफिसरले घोडाबाट उत्रेर उक्त घाइते सैनिकहरूलाई उचालेर त्यो बेला ल्याएको स्ट्रेचरमा राख्न लाग्यो । सैनिक नराम्रोसँग करायो ।

विस्तारै उठाऊ है, त्यसो गर्न सक्तैनौ भन्दै, सम्राट्ले मर्न लागेको सैनिकले यातनाले आफूलाई नै दुखेजस्तो महसुस गर्दै त्यहाँबाट घोडा अगाडि बढाए ।

रोस्तोभले सम्राट्का आँखाभरि आँसु टल्पलाएको देख्यो र उसले घोडा चढ्दाचढ्दै जार्तोरिस्कीलाई भनेका शब्द सुन्यो, “युद्ध कति भयानक चीज हुँदो रहेछ, कति विकराल हुँदो रहेछ !”

रणशिरको हाम्रो सेना विसाउभन्दा अगाडि, शत्रु सेनाको सामु खडा थियो, जो दिनभरि सानोतिनो झडप हुँदा पनि पछ्नाडि हटेर जान्थ्यो । रणशिरका सेनाप्रति सम्राट्का चार आभार प्रकट गरियो, पुरस्कार दिने प्रतिबद्धता प्रकट गरियो र उनीहरूलाई अरू दिनको भन्दा दोब्बर मात्रामा भोट्का उपलब्ध गराइयो । अगिल्लो रातीभन्दा आज झन्‌ ठूलो खुसी मनाउँदै, धुनी जगाएर सैनिकहरूले गीत गाए । त्यही रात देनिसोभले आफू मेजरमा पदोन्नति भएको अवसरमा उत्सव मनाइरहेको थियो र रोस्तोभ, जो धेरै रक्सी खाएर मातेको थियो, ले भोजको अन्त्यमा सम्राट्को स्वास्थ्यको कामना गर्ने प्रस्ताव राख्यो । “यो प्रस्ताव शासक सम्राट्को नाउँमा होइन, जस्तो कि औपचारिक भोजका बेलामा हुने गर्छ, तर यो प्रस्ताव त्यस्तो सम्राटको नाउँमा हुने छ, जो अत्यन्त दयालु, मोहनीशक्ति भएका र महान पुरुष हुनहुन्छ,” उसले भन्यो ।

“साथी हो, हामीले सम्राट्का नाउँमा र फ्रान्सेलीहरूको अवश्यम्भावी पराजयवापत पिऔँ,” रोस्तोभ झन्‌ जोस्सियो ।

“हामीहरू पहिले पनि डटेर लडेका हौँ र फ्रान्सेलीहरूको सातोपुल्लो उडाएका हौँ जस्तो सेनग्रावेनमा गरेका थियौँ भने अहिले त सम्राट् हामीहरूकै अगाडि हुनुहुन्छ । मैले धेरै पिएको हुँदा बढी बोलेँ हुँला तर मेरो मनमा लागेको कुरा यही नै हो र मलाई विश्वास छ तपाईंहरूले पनि यस्तै नै सोचिरहनुभएको होला त्यसैले आउनोस्‌ पिऔँ, खूब मज्जाले पिऔँ । सम्राट् अलेक्जेण्डर प्रथमका नाउँमा- हुररे !” उसले उद्गार व्यक्त गर्यो ।

“हुर्रे, अफिसरहरूको उत्साहित आवाज एकसाथ” गुन्जियो ।

यसैबीच रिसल्ला कप्तान क्रिस्टेन पनि बीस बर्षीय रोस्तोभको भन्दा झन्‌ इमान्दारी र जोसका साथ चिच्याउँदै उफ्र्यो ।

अफिसरहरूले गिलास रित्याएर तोडफोड गरेपछि किस्टेनले नयाँ गिलास भर्यो, एउटा कमिज र बिचिस मात्र लगायो र, हातमा गिलास लिएर सैनिकहरूको जयसूचक अग्नि धुनी तर्फ गयो । ऊ आफ्ना लामालामा सेता जुँगाको ताउ लगाउँदै, खुला कमिजबाट छातीका फुलेका रौँ देखाउँदै, र हात माथितिर उठाउँदै एउटा भव्य मुद्रामा धुनीको उज्यालोमा गएर उभियो ।

” हेर भाइ हो, यो हाम्रा सम्राटको नाउँमा र शत्रुको पराजयको खुसियालीमा,” ऊ एउटा बुढो हुस्सारको रूपमा भयङ्कर ठूलो आवाज निकालेर गर्ज्यो ।

हुस्साहरूले पनि उसको वरिपरि घेरिएर ठूल्ठूलो स्वरमा चिच्याउँदै, उसलाई साथ दिए ।

त्यस रात सबै लाखापाखा लागेपछि, देनिसोभले आफ्नो सानो सानो हातले, आफ्नो प्रिय पात्र रोस्तोभको काँधमा धाप मार्यो ।

“यहाँ प्रेम गर्ने पात्र कोही नभएको हुँदा तिमीले जारलाई नै प्रेम गर्न लाग्यौ,” उसले भन्यो ।

“देनिसोभ, यस कुरामा ठट्टा नगर,” रोस्तोभ करायो । “यो त हाम्रो साह्रै उच्चभावना हो” ज्यादै नै संवेदनशील र सुन्दर…..।”

“म मान्छु, मित्र, मलाई थाहा छ । म तिम्रो पवित्र भावनामा सहमत छु ।”

“होइन, तिमीले बुझेजस्तो लाग्दैन-।”

त्यसपछि रोस्तोभ उठ्यो र आगोको धुनितिर लाग्यो, उसले मर्न पाएको भए कति मजा हुन्थ्यो भन्ने कल्पना गर्यो । (हुन त उसले यस्तो कल्पना गर्ने साहस गर्न सक्तैनथ्यो) “सम्राट्को ज्यान बचाउन मर्ने होइन, मात्र सम्राट्को आँखाअगाडि मर्न ।” ऊ वास्तवमा सम्राट्प्रति आसक्त थियो । उसलाई रसियाली सेनाको श्रेष्ठताप्रति गौरव थियो र भविष्यमा पनि युद्धहरू जित्ने आकाङ्क्षा थियो । अस्टरलिजको लडाइँभन्दा पहिलेका स्मरणीय दिनहरूमा यस्तो कल्पना गर्ने मानिस रोस्तोभ मात्र एक्लो थिएन- रसियाली सेनाका नब्बे प्रतिशतभन्दा बढी मान्छे रोस्तोभजत्तिकै रसियाली सैन्यशक्ति र सम्राट्प्रति आसक्त र समर्पित थिए।