काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाले जेष्ठ नागरिक वयका पुरुष साहित्यकारहरूसँगको अन्तर्क्रिया तथा रचना वाचन कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। नगरपालिकाको हात्तीगौँडास्थित कार्यालय भवनमा आयोजित कार्यक्रममा २७ जना साहित्यकारहरूको सहभागिता रहेको थियो।

कार्यक्रम नगरपालिकाकी उपप्रमुख तथा स्वयम् कवि अनिता लामाको विशेष पहल र सक्रियतामा सम्पन्न भएको हो। कार्यक्रममा सहभागी भएर सम्बोधन गर्दै उपप्रमुख लामाले आफू शब्द र भावनासँग गहिरो सम्बन्ध राख्ने व्यक्ति भएको उल्लेख गर्दै भाषा, साहित्य, कला र संस्कृतिको प्रवर्धनमा साहित्यकारहरूको महत्वपूर्ण भूमिका रहेको बताउनुभयाे । उहाँले भन्नुभयाे, “जनप्रतिनिधि भएपछि कविलाई छोप्दो रहेछ, आज उकुसमुकुस पोख्ने अवसर पाउँदा हर्षित छु।”

यसअघि नगरपालिकाले जेष्ठ महिला साहित्यकारहरूसँगको भेटघाट पनि गरिसकेको जानकारी दिँदै उहाँले साहित्य, कला र संस्कृतिको प्रवर्द्धनका लागि चालु आर्थिक वर्षमा १ करोड ५० लाख रुपैयाँको बजेट विनियोजन गरिएको जानकारी दिनुभयाे। साथै, भविष्यमा पनि विविध साहित्यिक तथा सांस्कृतिक कार्यक्रमहरूलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयाे।

कार्यक्रममा  कविहरू रामबहादुर पहाडी, मोहन दुवाल, मुकुन्द शर्मा, नरेन्द्र बहादुर श्रेष्ठ, वियोगी बुढाथोकी, राम विनय, कृष्ण बाउसे, जय छाङ्छा, किशोर पहाडी, सुभाषचन्द्र पौडेल ‘भीमफेदीया’, हरिवंश किराँत, डा. कृष्ण सुवेदी, तोयनाथ तिवारी, प्रदीप प्रधान, रघुनाथ पण्डित, गणेश राम लाछी, बुद्धिराज पाण्डे, गोविन्दप्रसाद आत्रेय, शाक्य सुरेन, ओमप्रसाद कोइराला, गणेश मिश्र तथा अनिता लामाले आ–आफ्ना रचना प्रस्तुत गर्नुभएकाे थियाे।

कार्यक्रममा नगरपालिकाका अधिकृत कर्मचारी सत्यराज जोशी, जनप्रतिनिधिहरू गणेश मिश्र र विकास तामाङ लामाले मन्तव्य राख्दै यस्ता कार्यक्रमले नगरभित्र साहित्यिक चेतना र सम्मानको वातावरण बनाउने धारणा व्यक्त गर्नुभयाे ।

कार्यक्रम सुरु हुनुअघि चिया–नास्ताको व्यवस्था गरिएको थियो भने सहभागी साहित्यकारहरूलाई डायरी, यातायात खर्च तथा भगवान बुढानीलकण्ठको प्रतिमाको मायाको चिनो प्रदान गरिएको थियो।