युद्ध र शान्ति

खण्ड-२, शृङ्खला १६

दायाँ किनारबाट बायाँ किनारसम्म पूरै चक्कर लगाएपछि राजकुमार आन्द्रेइले आफ्नो घोडा त्यो तोप समूहसम्म लग्यो, जहाँबाट स्टाफ अफिसरले भनेबमोजिम पूर्ण रूपमा सम्पूर्ण खुला क्षेत्र देख्न सकिन्थ्यो । त्यहाँ पुगेपछि ऊ घोडाबाट उत्रियो र तोपगाडीहरूबाट तल उतारिएका चारवटा तोपमध्ये अन्तिम तोपमा पुगेर रोकियो । त्यहाँ एउटा सेन्ट्रिले तोपअगाडि उभिएर पहरा दिइरहेको थियो । उक्त सेन्ट्री होसियारीपूर्वक तनक्क तन्किँदै अफिसरका अगाडि उभिन चाहन्थ्यो । तर राजकुमार आन्द्रेइका तर्फबाट यस्तो गर्नु पर्दैन भन्ने सङ्केत पाएपछि उसले फेरि आफ्नै किसिमको निरस ढङ्गबाट पहरा दिन सुरु गर्यो । तोपपछाडि उनीहरूका गाडी खडा थिए र त्यसको अलि परतिर घोडा बाँध्ने किला र तोप सैनिकहरूले बालेका अरिनधुनि बलिरहेका थिए । त्यसको बायाँतिर, सबभन्दा टाढाको तोपभन्दा केही नजिक बाँसका हाँगाबिगाले भर्खरभर्खर बनाएको छाप्रो थियो, जहाँबाट अफिसरहरूले उत्सुकतापूर्वक गफ मारिरहेको आवाज सुनिन्थ्यो ।

यो सत्य थियो, यहाँबाट पूरै रसियाली सेना र शत्रु सेनाको सम्पूर्ण अवस्थिति स्पष्ट रूपमा देख्न सकिन्थ्यो । तोपखानाको सिधा अगाडिपट्टिको क्षितिजमा शेनग्राबेन गाउँ देखिन्थ्यो । दायाँबायाँतिर बलेको आगोबाट निस्किरहेका धूवाँको बीचबाट फान्सेली सेनाको झुण्ड मजाले देख्न सकिन्थ्यो, जसको अधिकतम भाग सम्भवत: गाउँमा नै थियो । र पहाडको पछाडि नै थियो । गाउँको बायाँतिर उडिरहेको धूवाँमा तोपखानाजस्तो लाग्ने केही चीज देखिइरहेको थियो । तर त्यसलाई नाङ्गा आँखाले यसै हो भनेर भन्न सकिँदैन थियो अथवा यसै हो भनेर भन्न सम्भव नै थिएन । हाम्रो सेनाको दायाँ लस्कर धेरै ठूलो उकालोमा थियो, जो फ्रान्सेलीहरूको भन्दा बढी उँचाइमा थियो । अनि हाम्रो पैदल सेना पनि समानान्तर उचाइमा थियो र घोडसेना पनि यही उचाइँमा देखिइरहेको थियो । तुसिनको तोपखाना भएको मध्यभागमा, जहाँबाट राजकुमार आन्द्रेइले सेनाको स्थिति अवलोकन गरिरहेको थियो, हामीलाई शेनग्राबेन गाउँबाट छुट्टाउने सबभन्दा सजिलो, सबभन्दा सोझो र सबभन्दा सुविस्तापूर्ण आरोह-अवरोहहरू थिए । बायाँतिर जङ्गलनजिकै हाम्रो सेना रुख काटेर धुनि जगाएर बसिरहेको थियो । फ्रान्सेलीहरूको मोर्चा हाम्रोभन्दा धेरै विस्तृत थियो र यो स्पष्ट थियो कि उनीहरू दुवैतिरबाट हामीमाथि आक्रमण गर्न समर्थ थिए । हाम्रो सेनाको पछाडि एकदम ठाडो र गहिरो खाल्डो थियो, जसले गर्दा तोपसेना र घोडसेनालाई पछाडि फर्कन असाध्यै गाह्रो थियो । राजकुमार आन्द्रेइले एउटा नोटबुक निकाल्यो र एउटा तोपमाथि कुहिनो टेकाउँदै सेनाको स्थितिको मानचित्र कोर्न लाग्यो । उसले विशेष गरेर दुई ठाउँमा चिनो लगायो ।

बग्रातिओनको ध्यानाकृष्ट गर्ने उसको मुख्य आशय थियो । तोपखानामा नै केन्द्रिभुत हुने उसको पहिले विचार थियो र घोडसेनालाई उक्त खाल्डोमार्फत्‌ वैकल्पिक बाटोबाट लिएर जाने दोस्रो विचार थियो । निरन्तर रूपमा प्रधान सेनापतिको संगतमा रहनु, बृहत्तर रूपमा सेनाको गतिविधि तथा सामान्य आदेशहरूको पालना गर्नु र लगातार लडाइँ सम्बन्धमा ऐतिहासिक वर्णनको अध्ययन गर्नुको फलस्वरूप राजकुमार आन्द्रेइले नचाहँदा नचाहँदै पनि लडाइँले कुन दिशा पक्रन्छ भन्ने विषयमा मोटामोटी रूपमा एउटा निष्कर्ष निकाल्यो । उसको विचारमा -लडाइँसम्बन्धी मुख्य सम्भावनाहरू यस्ता थिए- “यदि शत्रुले दायाँतिरबाट आक्रमण. गर्यो भने,” उसले आफूले आफैसँग भन्यो, “किभको ग्रिनेडियर रेजिमेन्ट र पोदोलस्कका निसानावाज रेजिमेन्टले केन्द्रबाट जगेडा सेना नआइपुगुन्जेल आफ्नो अखाडामा सुरक्षासाथ जमेर बसिरहनु पर्नेछ । यस्तो अवस्थामा दुस्मनले हमला नै गरिहाले पनि घोडसेनाले सफलतापूर्वक प्रत्याक्रमण गर्न सक्नेछ । र, यदि दुस्मनले हाम्रो केन्द्रमा नै आक्रमण गर्यो भने हामीले केन्द्रका तोपखाना त्यो अग्लो ठाउँमा तैनाथ गरिदिने छौँ र यहाँबाट गोलाबारी गर्दै बायाँ किनारतर्फका सेनालाई पछाडि फर्काउने छौँ, र खुडकिला-खुड्किला बनाउँदै खाल्डोसम्म पछाडि.सर्नेछौँ,” उसको मनमा उठेका तर्कनाहरू यस्ता थिए । जुनबेलादेखि ऊ तोपनजिक उभिएको थियो, उसले छाप्राहरूबाट आइरहेका र अफिसरहरूले बोलेको आवाज स्पष्टसँग सुनिरहेको थियो, जस्तो कि सामान्यत: हुन्छ, उनीहरूको कुरा एक शब्द पनि उसले बुझेको थिएन । अचानक, छाप्रोबाट आएको एउटा स्वर सुनेर ऊ स्तम्भित भयो- उक्त स्वर यति मायालु थियो कि ऊ कान थापेर नसुनिरहन सकेन ।

“होइन, प्रिय मित्र,” राजकुमार आन्द्रेइले पूर्वपरिचित मान्छेको जस्तो लाग्ने कर्णप्रिय आवाज सुन्यो, “म भन्दै छु मृत्युपछि के हुन्छ भनेर बुझ्नसक्ने सम्भावना भएको भए हामीहरू कोही पनि मर्नदेखि डराउने थिएनौँ । कुरो यो हो, मेरो मित्र ।”

लगत्तै अलिक पाकोजस्तो लाग्ने दोस्रो आवाजले कुरा काट्दै भन्यो, “चाहे डराऊ, चाहे नडराऊ, मृत्युसँग बँचेर भाग्न सकिँदैन क्यारे ।”

“त्यस्तै हो, मृत्युसँग,, जो पनि डराउँछ ! ओहो, तिमी बुझक्कड मान्छेहरू,” दुवैका तर्क परिच्छेदन गर्दै तेस्रो मानिसले साहसी आवाजमा भन्यो । “वास्तवमा तिमी तोपसेनाहरू नै बुद्धिमान्‌ रहेछौ किनभने तिमीहरू कमसेकम भोट्का र खाजा, नास्ता पनि आफूहरूसँग लिएर जान सक्ने अवस्थामा छौँ नि ।”

त्यो साहसी आवाजको धनी, जो सम्भवतस प्यादा फौजको अफिसर -थियो, हाँस्न थाल्यो ।

“हो त, डर त जसलाई पनि लागिहाल्छ नि,” परिचितजस्तो लाग्ने पहिलो वक्ताले कुरा चालु गर्यो । “मृत्युपछि के होला, कसो होला भन्ने अस्पष्टता र अज्ञानताका कारण जो पनि डराउँछ तर सत्य र तथ्य पनि यही हो । भन्न त मरेपछि आत्मा स्वर्ग जान्छ भनिन्छ …तर हामी सबैलाई थाहा छ कि स्वर्ग छैन, र जे छ त्यो शून्य आकाश हो, जो छँदै छैन । छ त केवल एउटा वायुमण्डल एउटा वातावरण ।”

उक्त साहसी आवाजले फेरि त्यो तोपवाला अफिसरको कुरा काट्यो र भन्यो,

“आफ्नो जडिबुटीबाट बनाएको भोट्का चखाउ न तुसिन ।”

“ओहो, यो त जुत्ता नलगाई क्यान्टिनमा नाङ्गा खुट्टाले हिँड्ने उही कप्तान पो रहेछ” राजकुमार आन्द्रेइले सोच्यो । उसले उक्त स्वीकारयोग्य तथा दार्शनिक गफ छाँट्ने कप्तानलाई खुसी हुँदै चिन्यो ।

“ए, अलिकति जडिबुटीबाट बनाएको भोट्का भनेको ? भइहाल्छ नि,” तुसिनले भन्यो । तैपनि अर्को जन्मका बारेमा सोच्न …।” उसले आफ्नो कुरा पूरा गर्न पाएन, किनभने त्यही बेला हावाको गतिमा एउटा आवाज सुनियो- झन्‌भन्दा झन्‌ नजिक, झन्‌भन्दा झन्‌ छिटो र झन्‌भन्दा झन्‌ चर्को हुँदै त्यो आवाज काननजिकै आइपुग्यो र भन्नु पर्ने जरुरी कुरा पनि भन्न नपाउँदै तोपको एउटा गोला भयङ्कर ठूलो गर्जनका साथ वरिपरिको ढुङ्गा-माटो उडाउँदै छाप्रोको बगलमै आएर खस्यो । यसका प्रभावले गर्दा मानौँ धरतीमाता पनि आत्तिएर चिच्याइन्‌ ।

तुसिन पनि रातो-पहेँलो भए तापनि तीक्ष्ण र दयनीय अनुहार लगाउँदै मुखको मध्यभागमा सुल्फी च्यापेको अवस्थामा छाप्रोबाहिर निस्क्यो । उसको पछिपछि साहसी आवाजवाला बहादुर प्यादा फौजको अफिसर पनि निस्क्यो, जो आफ्नो कोटको टाँक लगाउँदै दगुरेर आफ्नो कम्पनीतर्फ लाग्यो ।