निसानावाजहरूको छैठौँ रेजिमेन्टको आक्रमणले हाम्रो दायाँ किनारको सेनाले पछिहट्नु पर्ने अवस्था सुनिश्चित गरिदियो । मध्य भागमा तुसिनको बिर्सिएको तोपखानाले, जो सेनग्रावेन गाउँमा आगो लगाउन सफल भएको थियो, फ्रान्सेलीहरूलाई अगाडि बढ्नबाट रोक्यो । फ्रान्सेलीहरू हावाले गर्दा फैलिएको आगो निभाउँदै थिए र यसरी उनीहरूले हामीलाई पछाडि हट्ने अवसर दिइरहेका थिए । मध्य भागको सेना छिटोछिटो र हल्लाखल्ला गर्दै खाल्डोको पारिपट्टि हट्यो तर विभिन्न कम्पनी एउटैमा मिसिएन । तर हाम्रो बायाँ किनारको सेनामा, जसमा अजोभ र पोदोलस्कको पैदल सेना र पाब्लोग्रादका हुस्सारहरू थिए, लेन्सको नायकत्वमा रहेको फ्रान्सेलीहरूको उच्च दर्जाको सेनाले अगाडि र पछाडि दुवैतिरबाट लगातार आक्रमण गरिरहेको थियो, जसले गर्दा ठूलो अन्योल सिर्जना गरिदिएको थियो । बग्रातिओनले आफ्नो फौज तुरुन्तै पछाडि हटाउनु भन्ने आदेश दिएर जेरकोभलाई बायाँ किनारको जर्नेलसँग पठायो ।

जेरकोभले टाउकोको टोपीबाट हात पनि नचलाउँदै आफ्नो घोडा मोड्यो र सर्पट कुदायो । तर बग्रातिओनबाट छुट्टिनासाथ उसको दिमागले काम गरेन । उसले हिम्मत हार्यो । ऊ असाध्यै नराम्रोसँग आत्तियो र खतरायुक्त ठाउँतिर अगि बढेर जान सकेन ।

वायाँ किनारको सेनासँग पुगेपछि ऊ अगाडि बढेन, जहाँ गोली चलिरहेको थियो, बरु उसले जर्नेल र उसका अफिसरहरूलाई खोज्न लाग्यो, जुन ठाउँमा उनीहरू हुने सम्भावना नै थिएन । र, यसरी उसले बग्रातिओनको आदेश पुर्याएन ।

वरिष्ठताको क्रमानुसार बायाँ किनारको सेनाको कमाण्डर उही जर्नेल थियो, जसले ब्राउनाउनजिक कुतुजोभलाई आफ्नो रेजिमेन्टको परेड देखाएको थियो, जुन रेजिमेन्टमा दोलोखोभ पति सम्मिलित थियो । तर बायाँ किनारको पुच्छरको सेनाको कमान पाब्लोग्रादको रेजिमेन्ट कमाण्डरको हातमा थियो, जसमा रोस्तोभ थियो र दुवै कमाण्डरहरूका बीचमा भ्रम उत्पन्न भएको थियो । दुवै कमाण्डर आपसमा क्रुद्ध थिए र त्यस बखत, जब कि दायाँ किनारमा लडाइँ सुरु भइसकेको थियो र फ्रान्सेलीहरूले आक्रमण गरिरहेका थिए, यी दुबै कमाण्डर निरर्थक रूपमा एउटाले अर्कोलाई दोष दिँदै थिए । यसो गर्नुको मुख्य उद्देश्य एउटाले अर्कोलाई अपमान गर्नु नै थियो । पैदल र घोडसेनाको रेजिमेन्ट यस लडाइँको निमित्त तयार थिएन । सिपाहीदेखि जर्नेलसम्मका अफिसर कसैले पनि यो लडाइँ यति छिटो होला भनेर सोचेका थिएनन्‌ । त्यसकारण उनीहरू सबै शान्तिपूर्ण काममा व्यस्त थिए- घोडासेनाले घोडा चराइरहेका थिए भने पैदलसेना दाउरा बटुल्दै थिए ।

“ऊ मभन्दा ठूलो अफिसर हो,” रसियाली भाषा नजानी-नजानी बोल्दै हुस्सार घोडसेनाको जर्मनेली कर्नेल्ले आफूसँग आइरहेको सहयोगी अफिसरलाई रातो पिरो अनुहार गराउँदै भन्यो, “उसले जे चाहन्छ गर्न देऊ तर म मेरा हुस्सारहरूलाई वलिदान दिन चाहन्नँ… बादकहरू हो, पछाडि हट्ने विगुल बजाओ ।”

तर परिस्थिति बडो गम्भीर हुँदै गइरहेको थियो । दायाँ किनार र मध्यभागमा तोप र बन्दुकका आवाज गर्जिरहेका थिए, गोली चलिरहेका थिए, लान्नका फ्रान्सेली तिसानावाजहरूले लगाएको कोट जलघट्टको बाँध नाघेर गइरहेका देखिन्थे र उनीहरू बन्दुकको दुई निसान बराबरको दूरीमा लाम लागेर उभिइरहेका थिए । पैदल रेजिमेन्टको कर्नेल उछिट्टिदै आफ्नो घोडातिर गयो, घोडा चढ्यो र अत्यधिक रूपमा तनक्क तन्किएर पाब्लोग्रदको हुस्सार रेजिमेन्ट कमाण्डर भएतिर गयो । दुवै कमाण्डरले शिष्टतापूर्वक अभिवादन गर्दै र मनमा भएको द्रेषभाव लुकाउँदै एकआपसमा भेट गरे ।

“फेरि अब अर्को पटक कर्नेल म मेरा आधा मान्छेलाई जङ्गलमा छोड्न सक्तिनँ,” जर्नेलले भन्यो । “म तपाईंसँग अनुरोध गर्छु, म तपाईंसँग अनुनय विनय गर्छु, उसले फेरि दोहोर्याएर भन्यो, “तपाईं आफ्नो मोर्चा समाल्नुस्‌ र हमला गर्न तम्तयार भएर बस्नुस्‌ ।”

“म तपाईंसँग अनुरोध गर्छु कि तपाईंले अरूको काममा हस्तक्षेप नगर्नु होला,” जर्मनेली कर्नेलले जोसिदै रसियाली भाषामा भन्यो । “तपाईं घोडसैनिक भएको भए बल्ल…।”

“म घोडसैनिक होइन, कर्नेल, तर म रसियाँली कर्नेल अवश्य हुँ र यदि तपाईंलाई यो कुराको जानकारी छैन भने…।”

“मलाई राम्ररी थाहा छ हजूर,” एक्कासि रातोरातो अनुहार लगाउँदै जर्मर्नेली कर्नेलले घोडालाई एडी हान्यो र चिच्यायो । “के तपाईं मोर्चासम्म पुग्ने कृपा गर्नु हुन्छ र यो हेर्न चाहनु हुन्छ कि सैनिकको यस्तो स्थिति कुनै काम लाग्दैन ? म तपाईंको खुसीका लागि मेरा मान्छे नष्ट गर्न चाहँन्न ।”

“तपार्इ आफ्नो हैसियत बिर्सदै हुनुहुन्छ, कर्नेल ! म आफ्नो व्यक्तिगत खुसीका लागि यो कुरा गरिरहेको छैन र तपाईंलाई पनि यस विषयमा कूरा गर्ने छुट दिन सक्तिनँ, ।”

“जर्नेलले यस प्रकारको साहस प्रदर्शनको प्रतियोगितामा कर्नेलको चुनौती स्वीकार गर्दै छाती तन्कायो र घोडा चढ्यो । र, मोर्चाको अग्रभागतिर बढ्यो मानौं त्यही मोर्चाको नजिक पुगेपछि गोलीहरूको वर्षा खेप्दै, जो हुनु पर्ने निर्णय थियो, हुन गइरहेको होस्‌ । उनीहरू मोर्चाका अग्रभागमा पुगे । उनीहरूको टाउकोबाट केही गोली उडेर गए र उनीहरू पनि आफ्नो घोडा रोकेर शान्त हुँदै त्यहाँ उभिए । त्यस ठाउँबाट हेर्नेलायक खास केही कुरा थिएन किनेभने त्यही ठाउँबाट, जुन ठाउँमा उनीहरू पहिले उभिएका थिए, यो स्पष्ट थियो कि जङ्गल र खाल्डोमा घोडसेना केही गर्न सक्ने स्थितिमा थिएन । कुरो यो पनि थियो कि फ्रान्सेलीहरूले हाम्रो सेनालाई बायाँ किनारमा घेरामा हालेका थिए । जर्नेल र कर्नेल लड्न तयार भएका कुखुराका दुइटा भालेजस्तै एकदम कठोर र अर्थपूर्ण दृष्टिले एकआपसमा हेरिरहेका थिए । र, उसले उसलाई र उसले उसलाई हार स्वीकार गरेको लक्षण प्रकट गर्ला भनेर निरर्थक आशा गरिरहेका थिए । तर गजब के भयो भने उनीहरू दुवै आफू आफूले गरेको आशामा सफल भएनन्‌ । साँच्चै भन्ने हो भने उनीहरू दुवैको आपसमा केही वैमनस्यता थिएन तथापि दुवैले उसले हारेर युद्धमैदान परित्याग गर्यो भनेर देखाउन चाहन्नथे । त्यसै भएर सायद उनीहरू दुवै एकआपसको साहसको परीक्षा लिँदै अरू निकै बेरसम्म त्यहाँ उभिरहन्थे होला यदि त्यहीबेला उनीहरूको पछाडि बन्दुकहरू चलेको र मान्छेहरूले आत्तिदै कोलाहल मच्चाएको आवाज उनीहरूको ठीक पछाडि नसुनिँदो हो । फ्रान्सेलीहरूले जङ्गलबाट दाउरा खोजेर ल्याउने सैनिकहरूमाथि हमला गरेका थिए । त्यस बखत हुस्सार सैनिक पैदल सेनासँगै पछाडि हट्ने स्थितिमा थिएनन्‌ । फ्रान्सेलीहरूले उनीहरूलाई वायाँतर्फ हट्ने रेखाबाट अलग गरिदिएका थिए । यस्तो असुविधाजनक अवस्थामा हुँदाहुँदै पनि उनीहरूले जसरी भए पनि आफ्नो बाटो स्पष्ट गर्नका लागि दुस्मनमाथि हमला गर्नै पर्ने जरुरी थियो ।

जुन स्क्वाड्रनमा रोस्तोभ थियो, उक्त स्क्वाड्रनको सैनिकले घोडा चढ्न नपाउँदै शत्रुको सामना गर्नुपर्ने स्थिति आइपर्यो । पहिले एन्स पुलमा भएजस्तै यो स्क्वाड्न र दुस्मनको बीचमा केही र कोही थिएन । र, यदि केही थियो भने फेरि एक पटक जीवित र मृतकहरूका बीचको फरक छुट्टाउने एउटा रेखा थियो । सबैले यस रेखालाई आत्मसात गरिरहेका थिए र उनीहरूका अगाडि यही एउटा चुनौतीपूर्ण प्रश्न उपस्थित थियो कि उनीहरूले यस रेखालाई नाघेर जान सक्छन्‌ वा सक्तैनन्‌ र, यदि नाघेर जान सक्छन्‌ भने कसरी नाघेर जान्छन्‌ । वास्तवमा यस प्रश्नले उनीहरूलाई विह्वल बनाइरहेको थियो ।

कर्णेल आफ्नो घोडा चढेर हुस्सारहरूसमक्ष गयो र रिसाउँदै उनीहरूका अफिसरहरूले सोधेका प्रश्नको कुनै न कुनै रूपमा उत्तर दियो र आफ्नै मनखुसी गर्ने व्यक्तिले जस्तै, उनीहरूलाई कुनै एउटा आदेश दियो । कसैले पनि यसै हो भनेर भन्न सकेनन्‌ तर हमला गर्नै पर्छ भन्ने हल्ला स्क्वाड्रनभित्र फैलियो । हुस्सार सैनिकहरूलाई पंक्तिवद्ध भएर उभिने आदेश घनीभूत भयो र त्यसको लगत्तै पछाडि उनीहरूले आफ्नो आफ्नो तरबार दापबाट बाहिर निकालेको आवाज सुनियो तथापि त्यतिन्जेल कोही पनि चलमल गरेका थिएनन्‌ । बायाँ किनारका पैदल र घोडसेना दुवैले यो महसुस गरिरहेका थिए कि अब यस अवस्थामा के गर्ने के नगर्ने भन्ने विषयमा कमाण्डर स्वयं नै अन्यमनस्क अवस्थामा थियो र यस्तो अवस्थाको जानकारी सैनिकहरूले समेत राम्ररी पाएका थिए । “के गर्नु र, छिटोभन्दा छिटो भइदिए हुन्थ्यो,” रोस्तोभ आफ्नो मनमा यस्तो कुरा खेलाउँदै थियो र यस्तैमा उसले एकिन गर्यो कि उसले आफ्ना साथीहररूबाट सुनेबमोजिम दुस्मनमाथि आक्रमण गर्ने बेला आइसकेको छ । त्यसैले ऊ एकप्रकारको आनन्दको अनुभूति गर्दै थियो ।

“भगवानले साथ दिनु हुनेछ्, जवानहरू हो, अगाडि बढऊ,” देनिसोभको आवाज घन्क्यो । आफ्ना-आफ्ना घोडा चालसङ्गत रूपमा अगाडि बढाऊ ।”

सबभन्दा अगाडिको पंक्तिमा घोडाका पुट्ठाहरू हल्लिन थाले । रोस्तोभले घोडाको लगाम तान्यो र घोडा आफै सरासर अगाडि बढ्न लाग्यो ।

रोस्तोभले आफ्ना हुस्सारहरूको अग्रपक्ति दाहिनेतिर देखिरहेको थियो र त्यसको अलिपर एउटा कालो रेखा देखिइरहेको थियो, जो स्पष्ट थिएन । त्यसैले उसले त्यस पंक्तिलाई दुस्मनको पंक्ति ठान्थ्यो । गोलीहरू चलेको आवाज आइरहेको थियो तर केही टाढा ।

“छिटो- एकदम छिटो” आदेशात्मक आवाज आयो र रोस्तोभलाई यस्तो लाग्यो । कि सर्पट दौडदा उसको घोडाको चाल क्लान्त हुँदै गइरहेको थियो ।

उसले आफ्नो घोडाको चाल पहिलेदेखि नै अनुमान गरिरहेको थियो र उसको मन अत्यन्त प्रफुल्लित भइरहेको थियो । उसले आफ्नोसामु एउटा रूख देखेको थियो । सुरुमा यो रूख त्यो रेखाको मध्य भागमा थियो, जो त्यति डरलाग्दो देखिएको थियो । तर उसले त्यो रेखा नाघिसकेको थियो र त्यसैले त्यस्तो डरलाग्दो केही भएन बरु सबै कुरा बढीभन्दा बढी सन्तोषजनक र सजीव हुँदै गइरहेको थिए । “ओहो, मैले शत्रुलाई कसरी -काट्ने होला ?” आफ्नो तरबारको बीँड मुढीमा समाउँदै उसले मनमनमा सोच्यो ।

“स्यावास्‌…।” एउटा आवाजसमूह गुन्जियो । “मेरोअगाडि कोही आवोस्‌ त मात्र,” रोस्तोभले घोडालाई एडी मार्दै, उसलाई सर्पट दगुराउँदै र अरुलाई पछाडि पार्दै, मनमा सोच्दै थियो । अगाडितिर दुस्मन स्पष्ट रूपमा देखिएको थियो । अचानक कसैले भोजपत्रको कुचोले स्क्वाड्नमाथि बढारेजस्तो स्थिति देखा पर्यो । दुस्मनलाई काट्न आफ्नो तरबार उचाल्यो तर त्यही बखत उसको अगाडिबाट आफ्नो घोडा दौडाउँदै निकितेन्को ऊबाट ओझेल पर्यो र रोस्तोभले सपना देखेजस्तो महसुस गर्यो कि- ऊ असाधारण गतिमा अगाडि बढिरहेछ । तर ऊ ठाउँको ठाउँमा नै स्थिर भएर उभिएको छ । उसको पछाडिबाट उसले चिनेको हुस्सार बोन्दारचुक आफ्नो घोडा सर्पट दौडाउँदै उ नजिक आयो र उसलाई रिसाउँदै हेर्यो । बोन्दारचुकको घोडा तेज गतिमा एकातिर लाग्यो र त्यहाँबाट ओझेल पर्यो ।

“के भएको यस्तो ? म हिँड्डुल गरेको छैन कि कसो ? म लडेँ कि म सारिँए…हँ ?” रोस्तोभले आफूले आफैसँग सोध्यो र उत्निखेरै आफैलाई जवाफ दियो । शून्य मैदानको बीचमा ऊ अब एक्लै थियो । दौडिरहेका घोडा र हुस्सारहरूको पीठको ठाउँमा उसले आफ्नो अगाडि निश्चलभूमि र बाली काटेर रहेका ठुटासिवाय केही देखेन । उसका पाखुराबाट। तातोतातो। रगत बगरहेको। थियो । “होइन, म त घाइते भएछु र मेरो घोडा मरिसकेछ ।” घोडाले अगाडिको खुट्टा उचालेर उठ्ने प्रयास गर्यो तर नसकेर पछाडितिर पल्ट्यो । त्यस क्रममा घोडसवारका खुट्टा थिचिए । घोडाको टाउकोबाट रगत बगिरहेको थियो । र, उठ्न छट्पटाइरहेको थियो तर उठन सकिरहेको थिएन | रोस्तोभ पनि उठ्न खोज्यो तर ऊ पनि पल्ट्यो । उसको सैनिक झोला काठीमा अल्झ्यो | हाम्रा मान्छे कहाँ थिए र फ्रान्सेली मान्छेहरू कहाँ थिए, उसलाई केही थाहा थिएन । उसको नजिक अर्को मानिस कोही पनि थिएन ।

आफ्नो खुट्टा काठीबाट फुत्काएपछि ऊ उठ्यो । कहाँ र कुन दिशातिर थियो त्यो सीमारेखा, जुन रेखाले दुवै सेनालाई यति स्पष्टसँग छुट्याएको थियो ? उसले आफूले आफैलाई सोध्यो र कुनै उत्तर दिन सकेन । “मसँग कुनै नराम्रो घटना त घटेन ? के यस्तो परिस्थिति पनि आउन सक्छ ? सक्छ भने यस्तो परिस्थितिमा के गर्नु पर्छ ?” भुइँबाट उठ्दा-उठ्दै उसले आफूले आफैलाई सोध्यो र यो महसुस गर्यो कि उसको सुन्निएको देब्रे पाखुरामा कुनै फाल्तु बाह्य वस्तु झुण्डिरहेको छ । उसको नाडी आफ्नो नभएर अरू कसैको भएजस्तो लाग्थ्यो । उसले रगत देख्ने प्रयासस्वरूप निरर्थक रूपमा आफ्नो नाडी राम्ररी जाँचेर हेर्यो । “लौ, मान्छेहरू आउन लागे, खुसी हुँदैं उसले सोच्यो र केही मान्छे आफूतिर आउँदै गरेको देख्यो ।” “उनीहरूले मेरो सहयोग गर्ने छन्‌ ।” अचम्म खालको टोपी र नीलो रङको ठूलो फौजीकोट लगाएको गरुडको ठोडँजस्तो नाक भएको एउटा मान्छे, गर्मीले आत्तिदै ती मान्छेभन्दा अगाडिअगाडि दगुर्दै आइरहेको थियो । उसको पछाडि दुई जना र अरू थुप्रै मान्छेहरू पनि दगुर्दै आइरहेका थिए । तिनीहरूमध्ये एउटाले एउटा अचम्मको कुरा गर्यो तर रसियाली भाषामा होइन. । यी मानिसहरूमध्ये त्यस्तै किसिमको टोपी लगाएको सबभन्दा पछाडिको ताँतीमा एउटा रसियाली हुस्सार रसियाली हुस्सार उभिएको थियो । उनीहरूले उसको हात पकडेका थिए र उसको पछाडिपछाडि उसको घोडा डोर्याइरहेका थिए ।

“पक्का पनि हाम्रो मान्छे हुनु पर्छ । उसलाई बन्दी बनाइएको होला । हो, फरक पर्दैन । उनीहरूले मलाई पनि पक्रेर लग्न नसक्ने के कुरा भो र ? को हुन यी मान्छे ?” रोस्तोभले खूब सोच्यो । तर उसलाई आफ्नै आँखाप्रति विश्वास थिएन । “के उनीहरू फ्रान्सेली नै होइनन्‌ त ?” रोस्तोभले नजिकै आइरहेका फ्रान्सेलीहरूलाई ध्यानपूर्वक नियाल्यो यद्यपि केही छिन पहिले ऊ उनीहरूमाथि जाइलागेर तरबारले काटिदिने सुरमा घोडा सर्पट दौडाइरहेको थियो । तर उनीहरू आफ्नोनजिक आइपुग्दा ऊ यति भयभीत भयो कि उसलाई आफ्नै आँखाप्रति विश्वास लागेन । “को हुन्‌ उनीहरू ?” उनीहरू कित दगुरिरहेछन्‌ ? उनीहरू ममाथि नै आइलाग्ने त होइनन्‌ ? त्यसै हो भने किन ? मलाई मार्न ? मलाई नै मार्न, जसलाई सबैले यति माया गर्छन्‌ ? उसले आफूलाई आफ्नी आमा, आफ्नो परिवार र आफ्ना साथीभाइले गरेको माया सम्झ्यो । अनि उसलाई उनीहरूले मार्न आँटेको आशय होइन होलाजस्दो र असम्भवजस्तो पनि लाग्यो । “तर हुन सक्छ उनीहरुले मलाई मार्नै आँटेका होलान्‌ ।” ऊ दस सेकेन्डभन्दा बढी आफू उभिएको ठाउँबाट डेग चलेन । उसलाई आफ्नो यथार्थ स्थितिबारे केही थाहा भएन । गरुडको ठोँडजस्ता नाक हुने सबभन्दा अगाडिको फ्रान्सेली उसको यति नजिक आइपुगेको थियो कि उसको अनुहारको भाव कस्तो थियो भनेर स्पष्टसँग बुझ्न सकिन्थ्यो । अनि त्यो उत्तेजित र अपरिचित अनुहारवाला व्यक्तिले, जो उसलाई प्रहार गर्ने उद्देश्यले संगीन उठाउँदै सास रोकेर दगुर्दै ऊतर्फ आइरहेको थियो, रोस्तोभको सातोपुत्लो उडाइदियो । उसले हत्तपत्त आफ्नो पिस्तोल निकाल्यो तर गोली चलाउनुको सट्टा पिस्तोललाई उक्त फ्रान्सेलीतर्फ फ्याँकिदियो अनि ज्यान बचाउने उद्देश्यले भएभरको बल लगाएर झाडीतर्फ दगुर्यो । ऊ एन्सको पुल जलाउने बेलामा जस्तो सन्देह र द्वन्द्व अवस्था महसुस गरेर दगुरेको होइन तर उ सिकारी कुकुरहरूसँग डराएर दगुरेको खरायोझैँ भएर दगुरेको थियो । आफ्नो बल बैँस र सुखमय जीवनप्रतिको मोह नै उसको एक मात्र कारुणिक भावना उसको सम्पूर्ण शरीरको नसा-नसामा आच्छादित भएको थियो । ऊ केटाकेटीमा “छुने र समात्ने” खेल खेल्ने बेलाको जस्तै तेज गतिमा हलरेखा नाँघ्दै कतिखेर कतिखेर मात्र आफ्नो पहँलो, दयालु र तन्नेरी अनुहार पछाडितिर फर्काएर हेर्थ्यो र न्वारानको बल लगाएर मैदान पार गर्दै गइरहेको थियो । उसको शरीरभित्र त्रास र संत्रासको भाव प्रवाहित भइरहेको थियो । “होइन, पछाडि फर्केर नहेर्नु नै, जाति,” उसले सोच्यो । तर ददुर्दादगुर्दै झाडीनजिक पुगेपछि उसले फेरि एक पटक फर्केर हेर्यो । फ्रान्सेलीहरू पछाडि परेका थिए र उसले जसै पछाडि फर्केर हेर्थ्यो गरुडनाँके मान्छे दगुर्न छोडेर हिँड्न थालेको थियो । र, उसले पनि पछाडि फर्केर आफूभन्दा पछाडिको एक जना साथीलाई ठूलो स्वरमा केही कुरा भन्यो । रोस्तोभ रोकियो । “होइन, मैले केही गल्ती गरिरहेछु होला,” उसले सोच्यो । उनीहरूले मलाई मार्न चाहेका होइनन्‌ होला ।” तर उत्तिखेरै उसको देब्रेहात यसरी दुख्न लाग्यो मानौँ त्यसमा सत्तरी पाउण्डको भारी झुण्ड्याइ दिइएको होस्‌ । ऊ अब हिँडन नसक्ने भयो । उक्त गरुडनाँके पनि रोकियो । उसले निसाना लगाउन लाग्यो । रोस्तोभले आँखा बन्द गर्यो र ऊ भुइँमा घोप्टियो । एउटा गोली र त्यसपछि अर्को गोली सुईय गर्दै उसको कानकै छेउबाट गयो । उसले अब आफ्नो बचेखुचेको बल जम्मा गर्यो, दाहिने हातले देब्रे हात समात्यो र झाडीतर्फ दगुर्यो । झाडीहरूको पछाडि केही रसियाली निसानवाजहरू थिए ।