डोनाल्ड ट्रम्प राष्ट्रपतिका रूपमा पराजित भएपछि उनका समर्थकले अमेरिकी संसद् भवन क्यापिटल हिल कब्जा गरिएको क्षण । तस्बिरः वाल स्ट्रिट जर्नल

प्रख्यात प्रकाशक सिमोन एन्ड सुस्टरले आफ्ना कर्मचारीहरूलाई बेलाबेलामा तालिम दिने गर्छ । जस्तो कि, पिछडा वर्ग वा लैंगिक अल्पसंख्यकका पुस्तकहरू प्रकाशनका लागि आए, तिनको मूल्याङ्कन कसरी गर्ने, तिनको प्रचार र व्यवस्थापन कसरी र कुन समुदायलाई लक्षित गरी निकाल्ने आदि ।

यस्तै तालिममध्ये एउटा जुम तालिममा केही कर्मचारीले अमेरिकी राष्ट्रपति ट्रम्प प्रशासनका उपराष्ट्रपति माइक पेन्सको नयाँ पुस्तकमाथि चर्को आलोचना भयो । कतिपय कर्मचारीले यो पुस्तक ननिकाल्न आन्दोलन नै गरेका थिए तर कम्पनीले तिनको आन्दोलनलाई सुनेको नसुन्यै गरेर अन्ततः निकाल्ने पक्षमा देखियो ।

पुस्तकका विरूद्धमा २०० भन्दा बढी कर्मचारीले हस्ताक्षर निकालेका थिए । सिमोन एन्ड सुस्टरको इतिहासमा कुनै एउटा विषयमा आफ्ना १४ प्रतिशत कर्मचारी एक जुट भएर जुलुसमा सहभागी भएको यो पहिलो घटना थियो । यति मात्र होइन, तिनको अभियानलाई कम्पनीबाहिरका ३ हजार ५ सय जनाले सहमति जनाएका थिए । जसमा प्रकाशन समूहसँग आबद्ध केही प्रख्यात लेखकहरूसमेत थिए ।

उपराष्ट्रपति माइक पेन्सले दुई भागको संस्मरण लेख्ने सम्झौता भएको थियो । तर उनको संस्मरणमा राष्ट्रपति डोनाल्ड ट्रम्पको पक्षमा, उनले गरेका गलत क्रियाकलापको बचाउ गर्ने आशंकाका कारण र त्यस्ता प्रवृत्तिलाई ठाउँ दिन नहुने भन्दै सो कार्यको विरोध जनाइएको थियो ।

कम्पनीका प्रमुख कार्यकारी जोनाथन कार्पले पुस्तक प्रकाशन नरोक्ने तर यसलाई केही पछि धकेल्ने योजना ल्याएका थिए । अनैतिक र अतिवादी राजनीतिज्ञलाई ठाउँ दिनु हुँदैन भन्नेमा कार्प सहमत त थिए र सोही अनुसार अमेरिकाको मिजोरी राज्यका रिपब्लिकन सिनेटर जोस हलीको संस्मरण ननिकाल्ने घोषणा पनि गरेका थिए तर माइक पेन्सको सन्दर्भमा भने कार्पले कुनै प्रतिक्रिया जनाएनन् । उनले पेन्सको पुस्तकविरूद्ध निस्किएको जुलुसलाई महत्त्व पनि दिएनन् । उनले भनेका थिए, ‘म केही कर्मचारीहरूको भावनाको कदर गर्छु तर कतिपय कुरामा पोलिटिकल्ली करेक्ट हुने नाममा रोकिने कामलाई भने प्रोत्साहन गर्न सक्दिनँ । सबै किसिमका विचार पस्कने ठाउँ प्रकाशन उद्योग हुनुपर्छ । र, ७ करोड ४० लाख भोट पाएर उपराष्ट्रपति भएका व्यक्तिलाई हामीले यत्तिकै उनका कुरा नसुनी पुस्तक प्रकाशन गर्नबाट वञ्चित गरिनु हुँदैन ।’

हुन पनि अमेरिकी गञ्जागोलको पछिल्लो इतिहासमा उपराष्ट्रपति पेन्सको उपस्थिति एउटा पठनीय विषय हुन्छ । अर्कोतर्फ कुनै एउटा निश्चित पार्टी वा विचारको पुस्तक नै नल्याउनु पनि अतिवादी विचार हुनसक्छ ।

राजनीतिक संस्मरण प्रकाशकहरूका लागि एउटा राम्रो बिक्री हुने विधा हो । यस्ता पुस्तकलाई उनीहरूले ‘टेन्टपोल बुक’ नामकरण गर्ने गर्छन् । अर्थात्, यस्ता किताबको उच्च माग हुन्छ । सन् २०२० मा किताबहरूको माग उच्च थियो । एनपिडी बुक स्क्यान नामक संस्थाले पुस्तक बिक्रीको तथ्याङ्क राख्ने गर्छ । उसको भनाइमा २०२० मा राजनीतिक पुस्तकहरूको बिक्री ६२% ले बढेको थियो । सिमोन एन्ड सुस्टर यसमा सबैभन्दा अगाडि थियो । प्रख्यात पत्रकार बब उडवार्ड, पूर्व सुरक्षा सल्लाहकार जोन बोल्टन, डोनाल्ड ट्रम्पकी भतिजी मेरी एल ट्रम्प लगायतका अन्यका पुस्तक निकै राम्रो बिक्री भएका थिए ।

पेन्सको पुस्तक नछाप्नुको दबाब चाहिँ ट्रम्पसँग जोडिएकत्र नाता नै हो । तर यही एउटा कारणले पेन्सको राजनीतिक तथा देशमाथिको लगानीलाई नजरअन्दाज गरिनु हुँदैन भन्ने केहीको भनाइ छ । यति मात्र होइन, पेन्सको किताब ननिस्कनु भनेको एउटा ब्लकबस्टर किताब गुमाउनु पनि हो ।

पछिल्लो समय अमेरिकामा कर्मचारीका आवाज बुलन्द हुन थालेका छन् । माइक्रोसफ्ट कम्पनीले राजनीतिक चन्दा दिने क्रममा गलत व्यक्तिमाथि दिएकामा चर्को विरोध कर्मचारीले गरेका थिए । जसका कारण माइक्रोसफ्टले अन्ततः २०२२ को चुनावमा इलेक्ट्रोरल कलेजको विरोध गर्नेहरूलाई चन्दा नदिने घोषणा गर्न बाध्य हुनुपर्यो ।

पछिल्लो समय राजनीतिक पार्टीलाई ठूला कम्पनीले दिने चन्दाको पारदर्शिताका बारेमा ठूलो आवाज उठिरहेका छन् । यस्तोमा कतिपय व्यवस्थापकले यस्ता कुरालाई सम्बोधन गर्न पनि खोजिरहेका छन् तर कतै निर्णायक कुरामा कर्मचारी माथि नपरून् भन्ने चिन्ता पनि उत्तिकै बढ्न थालेको छ ।

सन् २०२० को मे २८ मा जोनाथन कार्प सिमोन एन्ड सुस्टर कम्पनीको प्रमुख कार्यकारी भएर आएका थिए । तीन दिन पहिले काला जातिका जर्ज फ्लोइडको हत्या घटना घट्न पुग्यो । जसले ब्ल्याक लाइभ्स म्याटर आन्दोलन उत्कर्षमा पुग्यो । गएको महिना मात्र फ्लोइड हत्यामा दोषी देखिएका प्रहरी अधिकारी डेरेक चोभिन हिरासतमा छन् ।

सिमोन एन्ड सुस्टरले ब्ल्याक लाइभ्स म्याटर अभियानलाई सघाएको थियो । यसले दुई नयाँ जागिर खुला गर्यो । वर्कप्लेस कल्चर एन्ड डाइभरसिटी इनिसिएटिभ्स र मल्टिकल्चरल मार्केटिङ गरी दुई निर्देशक नियुक्त गर्यो । कम्पनीलाई अझ बढी विविधीकृत कर्मचारीयुक्त कम्पनी बनाउने घोषणासमेत गर्यो । प्रायः ठूला प्रकाशकले ध्यान नदिने ‘साना’ लेखक खासगरी काला, ल्याटिनो तथा लैंगिक अल्पसंख्यकका लेखकहरूमा यसले जोड दिने बताएको थियो ।

गएको अगस्त महिनामा प्रमुख कार्यकारी कार्पले जुममार्फत महिनामा एक चोटि बैठकसमेत बसालेका थिए । बैठकमा उनले कर्मचारीका जायज माग सुन्ने बताएका थिए र सोही बैठकमा कार्पले अमान्डा रिप्लेको उपन्यास हाई कन्फ्लिक्ट विवादकै कारण प्रकाशन गर्नबाट रोकिएको जनाएका थिए । तर यसको ठीक दुई महिनापछि सो उपन्यास बजारमा आयो ।

माइक पेन्स चाहिँ पछिल्लो विवादको कडी बनेका छन् । माइक पेन्सको संस्मरण निकाल्ने सन्दर्भमा जब प्रकाशक अघि बढे, त्यसका लागि दाना कनडीले यस पुस्तकको रेखदेख गर्ने कुरा अघि बढ्यो । दानाले यसअघि पुलित्जर पुरस्कार जितिसकेकी थिइन् र उनी न्युयोर्क टाइम्सकी राम्रा पत्रकारमध्येमा थिइन् ।हाल उनले सिमोन एन्ड सुस्टरको सम्पादकका रूपमा काम गरिरहेकी थिइन् ।

पुस्तक नै निकाल्ने भएपछि दानाले पेन्सलाई भेटिन् र अढाई घण्टा लामो कुराकानीमा दुवै सम्पादन, फ्याक्च चेकिङजस्ता कुरामा सहमतसमेत भएका थिए । पेन्सले आफ्नो संस्मरणमा आफ्ना कुरा राख्ने तर सम्पादकहरूले त्यसको फ्याक्ट चेकिङ गर्ने भइसकेपछि पुस्तक निकाल्ने कुरा तय भयो । कतिसम्म भने दानाले एउटा टिप्पणीसमेत बोकेकी थिइन्, जसमा काला जातिका मानिसहरूले पेन्सप्रति कस्तो धारणा राख्छन् भन्ने सर्भे गरिएको थियो । पेन्सलाई सो सर्भेमा देखिएका कुरामा कुनै आपत्ति थिएन । ‘म ती सबै कुरा किताबमा जवाफ दिनेछु,’ पेन्सले भनेका थिए ।

यसपछि अप्रिल ७ मा उनको पुस्तक निकाल्ने घोषणा भयो । यसको तीन सातापछि अप्रिल २६ मा लेखक क्लिफ नेस्टरफले सिमोन एन्ड सुस्टरले पेन्सको किताब निकालेर आफ्नो भावनामाथि खेलवाड गरेको टिप्पणी गरे । उनले कम्पनीबाट हिस्ट्री अफ कमेडी पुस्तक निकालेका छन् । उनले लिखित रूपमा गुनासो दर्ता गर्दै पेन्सको पुस्तक निकाल्नु भनेको नाफामा मात्र आँखा गाड्नु हो र यसले नैतिकता जस्ता कुराहरू पोलेर खाएको बुझिनेछ भनेका थिए ।

त्यसयता सिमोन एन्ड सुस्टर कम्पनीको पेन्स पुस्तकमाथि आपत्ति जनाउनेको संख्या क्रमशः बढ्न थाल्यो । कम्पनीका प्रमुख कार्यकारी कार्पले पेन्सका पुस्तकमा अल्पसंख्यकलाई हानि पुर्याउने कुनै पनि कुरा नराखिने, राखिएको भए तिनको सम्पादन गरिने भनी आश्वस्त पार्न खोजेका छन् ।

आन्दोलनमा सहभागी भएका एक कर्मचारी लुइसा सोलोमन भन्छिन्, ‘कसैले पनि पेन्सका कुरालाई रोक्नु भनेका छैनन् तर सिमोन एन्ड सुस्टरजस्तो कम्पनी, जसले पीडित वर्गका पक्षमा कुरा गर्छ, उसले पेन्सजस्ता अतिवादी धारणा बोक्नेका पुस्तक प्रकाशन गर्छ भने त्यो चाहिँ व्यापार हावी हुनु हो । यस्ताले नैतिक शिक्षा नदिएकै राम्रो ।’

त्यसो त पेन्सको पुस्तक निकाल्ने वा ननिकाल्ने भन्ने पक्षमा अधिकांश कर्मचारीले केही पनि बोलेका छैनन् । बाहिरी सहयोग भने धेरैको छ र ५ हजारभन्दा बढीको हस्ताक्षर कम्पनीमा बुझाइएको छ ।

सिमोन एन्ड सुस्टरको वरिष्ठ सम्पादक यादोन इजरायल भन्छन्, ‘कम्पनीले पेन्सको आत्मकथा छाप्नुलाई म सही निर्णय भन्ने ठान्छु किनभने इतिहासको विद्यार्थीको नाताले माइक पेन्स जुन ठाउँमा पुगे, जुन सूचनामा उनको पहुँच थियो, त्यो सूचनाबारे जान्ने अधिकार हामी सर्वसाधारणलाई हुनुपर्छ । उनका धारणा, सूचना र जानकारी कुनै एउटा कारणले सार्वजनिक हुनुबाट रोकिनु हुँदैन ।’