खण्ड- २
परिच्छेद २
“उहाँ आउँदैहुनुहुन्छ,” त्यहीबेला एउटा सङ्केत सम्प्रेषक चिच्यायो ।
पल्टन कमाण्डरको अनुहारमा लाली चढेर आयो । उ दौडदै घोडा भएतिर गयो, कामिरहेको हातले रिकाव समात्यो, काठी कस्यो र घोडा चढ्यो । आफूलाई तनक्क सोझ्यायो, तरबार निकाल्यो र अनुहारमा प्रसन्नता र दृढताको भाव प्रकट गर्दै एकतिर मुख खोल्यो र चिच्याउँदै आदेश दिन तयार भयो । पल्टन उड्नको लागि पखेँटा फट्फटाउन लागेको चराझैँ फुर्फरियो र स्थिर भयो ।
“होसियार । पल्टन कमाण्डर मुटु नै हल्लाउने गरी गर्ज्यौ । यो गर्जन आफ्नो लागि सुखद, पल्टनको लागि कठोर र नजिक आइपुग्न लागेका सेनापतिप्रति अभिवादनको द्योतक थियो ।
दुवै, किनारमा रुख उभिएका चौडा र कच्चा सडकमा एउटा ठूलो र हल्का नीलो रङको भियनाको बग्गी अगाडि बढ्दै आइरहेको थियो । छ वटा घोडा नारिएको उक्त बग्गी छिटोछिटो दगुर्दा चक्काहरूबाट चुई चुईं गर्दै आवाज आइरहेको थियो । बग्गी पछाडि प्रधान सेनापतिका अनुचरगण र अङ्गरक्षक थिए । कुतजोभसँगै अस्ट्रियाको जर्नेल बसेको थियो । एसियाली सैनिकहरूको कालो बर्दीका माझ सेतो बर्दी लगाएको उक्त जर्नेल हेर्नलायकको थियो । अन्तत: त्यो- बग्गी पल्टन भए ठाउँमा आएर रोकियो । कुतुजोभ र अस्ट्रियाली जर्नेलले आपसमा साउती गर्दै केही कुरा गरे । कुतुजोभ मुस्कुराए । र उनको भीमकाय शरीरले बग्गीबाट तल,ओर्लिएर भुइँमा टेक्दा उनलाई एक टक लगाएर हेरिरहेको त्यो दुई हजार सैनिकको अस्तित्व शून्य बराबर लाग्थयो।
आदेश गुन्जायमान भयो । पल्टनले कौतूहलताका साथ सलामी अर्पण गर्यो । त्यो गहिरो र मृत नीरवतामा प्रधान सेनापतिको मसिनो आवाज सुनियो । यता पल्टनको पनि एकमुष्ठ आवाज गुन्जियो- “हाम्रा प्रधान सेनापति चिरायु रहुन् ।” फेरि एकछिन वातावरण शान्त भयो । पल्टनले चलखेल गर्दासम्म कुतुजोभ एकै ठाउँमा उभिइरहे । र त्यसपछि सेतो बैदी लगायको अष्टियालि जर्नेल र आफ्नो अनुचरदल लिएर हिँड्दै उनी सैनिकहरूको माझमा पुगेर मिसिए ।
पल्टन कमाण्डरले आँखा गाडेर अति दास्यताको भाव प्रकट गर्दै प्रधान सेनापतिलाई समाली दिएको र एक प्रकारको मानसिक भयले ग्रस्त पाइलाको सन्तुलन पनि बल्लबल्ल कायम गर्दै सिपाहीहरूका बीचबाट प्रधान सेनापतिको हरेक शब्द र गतिविधिमा अन्धभक्त भएर फुर्किएको तरिका देख्दा ऊ एउटा कुशल सेना व्यवस्थापक नभएर मातहतमा बसेर माथिल्लो तहले लाए-अह्वाएको काम मात्र राम्ररी गर्ने अफिसर हो भन्ने प्रष्ट हुन्थ्यो । तर उसकै कडा आचरण र कठोर प्रयासका कारण यसैबेला ब्राउनाउ पुग्ने अरू पल्टनभन्दा यो पल्टन धेरै राम्रो अवस्थामा थियो । पछाडि छोडिने र बिरामी हुने जम्मा २१७ जना मात्र थिए । बुटजुत्ताबाहेक हरेक कुराको व्यवस्था राम्रो थियो ।
कुतुजोभ सैनिकहरूको निरीक्षण गर्दै थिए । उनी घरीघरी यसो उभिएर तुर्केली युद्धमा चिनेका केही अफिसरहरूसँग थोरथोरै कुरा गर्थे र घरीघरी सिपाहीहरूसँग पनि कुरा गरी टोपल्थे । सिपाहीहरूले लगाएका बुटजुत्ता देखेर दु:खी हुँदै उनले धेरै पटक टाउको हल्लाउँदै अस्ट्रियाली जर्नेलतर्फ फर्केर यस्तो सङ्केत गरे मानौँ उनले यसबारे कसैलाई दोष दिन चाहन्नन् तर सिपाहीहरूको खुट्टामा प्वाल परेको जुत्ता नदेखेझैँ गरेर बस्न पनि सक्तैनन् ।
यस्तो अवस्थामा पल्टन कमाण्डर पल्टनका सम्बन्धमा प्रधान सेनापतिका शब्दहरू सुन्न बिर्सिएला भन्ने डरले कान थाप्दै हरेक पटक प्रधान सेनापति छेउ पुग्थ्यो । कृतजोभका पछाडि उनका दलका बीस जना मानिस सुस्तसुस्त बोलेका शब्दहरू पनि राम्ररी सुन्न सकिने गरी आइरहेका थिए । उनीहरू आपसमा कुरा गर्दै घरी आफै आफै हाँस्थे । प्रधान सेनापतिको सबभन्दा नजिक एक जना खाइहाल्दो सुन्दर पार्श्ववर्ती थियो । ऊ राजकुमार बोल्कोन्स्की थियो । उसको छेउमा उसको साथी नेस्भित्स्की थियो । अग्लो खालको त्यो अफिसर एकदम मोटो, सुन्दर, हँसिलो अनुहार र चन्चल आँखा भएको व्यक्ति थियो । ऊ आफूसँगसँगै आइरहेको एक जना कालो वर्णको हुस्सार सेनाको अफिसर, आफ्नो मुस्कुराइरहेको आँखाको स्थिर भावमा अलिकता पनि परिवर्तन नल्याई, बडो गम्भीर मुद्रामा पल्टन कमाण्डरको पीठतिर हेरिरहन्थ्यो र उसको सम्पूर्ण गतिविधि नक्कल गर्थ्यो । जति पटक पल्टन कमाण्डर डराएजस्तो भएर अगाडितिर झुक्थ्यो ऊ पनि त्यति नै पटक त्यस्तै किसिमले डराएजस्तो गरेर अगाडितिर झुक्थ्यो । नेस्भित्स्की बेस्सरी हाँस्दै अरूहरूलाई पनि तमासा हेर्न कृहिनाले घच्च्याउँथ्यो ।
कुतुजोभ हजारौँ आँखाका अगाडिबाट विस्तारैविस्तारै र शिथिल अवस्थामा अगाडि बढिरहेका थिए । र यी हजारौँ आँखाहरू पनि आफ्नो प्रधान सेनापतिको अनुकरण गर्दै खाल्डोबाट बाहिर निस्किरहेको थियो । तेस्रो कम्पनीमा पुगेपछि उनी एक्कासि रोकिए । उनका दलका मान्छेहरूले उनी यसरी रोकिएलान् भन्ने सोचेका थिएनन् । त्यसकारण
। उनीहरू सधैँ उनको नजिकै आए ।
“ओहो, तिमोखिन,” प्रधान सेनापतिले रातो नाक भएको कप्तानलाई चिने दोलोखोभले नीलो कोट लगाएवापत झपाराई खाएको थियो ।
पल्टन कमाण्डरले झपार्दा तिमोखिन जसरी तनक्क तन्केर सिधा उभिएको थियो त्यसरी नै तन्केर उभिन कसैलाई पनि सम्भव होला भनेर कसैले सोच्न सक्तैनथ्यो । तर प्रधान सेनापतिले सम्बोधन गर्दा ऊ यति धेरै तन्कियो कि यदि उसले अरू केही समय उसलाई यसरी हेरेको भए उसले यसप्रकारको तन्काई सहन गर्न सक्तैन्थ्यो जस्तो लाग्थ्यो । अतः यो स्थितिलाई मनन गरेर र उसको भलाई सोचेर कुतुजोभले आफ्नो मुन्टो अर्कोतिर फर्काए । फुक्क फुकेको र घाउ लागेको हुँदा खत बसेको अनुहारमा सितिमिति नदेखिने मुस्कान झलक्क देखियो ।
“यो अर्को इस्माइल कमाण्डर हो, बडो बहादुर छ । तिमी उसँग सन्तुष्ट छौ ? कृतुजोभले सोधे ।
आफू स्वयम् ऐनामा प्रतिबिम्बित भए जस्तो गरी आफ्नो देखासिकी गरिरहेको हुस्सार सेनाको अफिसरको स्थिति थाहा नपाएको पल्टन कमाण्डर झस्कँदै अगाडि बढ्यो र उसले उत्तर दियो, “म धेरै खुसी छु, हजूर ।”
“हामीहरू सबैमा केही न केही कमजोरी अवश्य छ,” कुतुजोभले मुस्कुराउँदै र अगाडि बढ्दै भने । “यसलाई मादक पदार्थ असाध्यै प्यारो लाग्दो रहेछ ।”
यसको दोष आफूमाथि आइलाग्ला भनेर पल्टन कमाण्डर डराइरहेको थियो । त्यसैले ऊ केही नबोली बस्यो । त्यसैबेला हुस्सार सेनाको अफिसरले भित्रतिर पेट दबाएको रातो नाकवाला कप्तानको अनुहारमा हेर्यो र उसको भावभङ्गिमा र अनुहारको यति राम्रोसँग नक्कलबाजी गर्यो कि नेस्भित्स्कीले हाँसो रोक्न सकेन । कृतुजोभले यसो मुन्टो फर्काएर हेरे । यो स्पष्ट थियो कि हुस्सार सेनाको अफिसर आफ्नो अनुहार जस्तो चाह्यो त्यस्तै बनाउन सक्थ्यो । कुतुजोभले फर्केर हेर्न नभ्याउँदै हुस्सार अफिसरले पल्टन कमाण्डरको देखासिकी गरिसकेपछि आफ्नो अनुहार एकदम गम्भीर, आदरपूर्ण र साखुल्ले बनाइसकेको थियो ।
तेस्रो कम्पनी अन्तिम थियो । कृतुजोभ कुनै कुरा सम्झन लागे जस्तो गरी विचार गर्न लागे । उनको साथमा आएको दलमध्ये राजकुमार आन्द्रेइ अगाडि बढेर उनलाई फ्रान्सेली भाषामा केही कुरा भन्न लाग्यो :-
“तपाईंले मलाई यस पल्टनमा अफिसरबाट सिपाहीमा झारिएको दोलोखोभका बारेमा सम्झाउन भन्नुभएको थियो ।”
“दोलोखोभ कहाँ छ ?,” कुतुजोभले सोधे ।
अहिले खैरो रङको ठूलो कोट लगाइरहेको दोलोखोभले आफूलाई बोलाउने आदेश पर्खिएन । सुनौला केश, निर्मल र नीला आँखा भएको सफासुग्घर सेनाको पंक्तिबाट निस्केर तुरुन्तै अगाडि प्रस्तुत भयो उसले प्रधान सेनापतिलाई सलामी अर्पण गर्यो ।
“तिम्रो केही गुनासो-छ ?” कुतुजोभले सामान्य रूपमा आँखा तर्दै सोधे ।
“ऊ दोलोखोभ हो,” राजकुमार आन्द्रेइले बतायो ।
“ए !” कुतुजोभले भने । “यसबाट तिमीले एउटा ठूलो पाठ पढ्यौ होला भन्ने मैले आशा गरेको छु । अनुशासित भएर सैनिक कर्तव्य पालन गर । सम्राट् दयालु हुनुहुन्छ । तिमीले राम्रो काम गर्यौ भने म तिम्रो सिफारिस गर्न बिर्सने छैन ।”
दोलोखोभका निर्मल र नीला आँखाले प्रधान सेनापतिलाई पनि त्यसरी नै हेरे जुन साहसका साथ पल्टन कमाण्डरलाई हेरेका थिए । र त्यस बखतको वातावरण यति भावुक भएको थियो, मानौँ त्यसले पुरानो परम्परालाई पूर्ण रूपमा तोडिरहेछ, जुन परम्परा प्रधान सेनापति र सैनिकका बीचमा एउटा दूरी बनेर बसेको थियो ।
“महामान्यवर, तपाईंसँग एउटा प्रार्थना गर्छु,” उसले आफ्नो गुन्जायमान, दृढ र स्थिर आवाजमा भन्यो । “तपाईंका सामु मेरो भूल सुधार गर्ने र सम्राट् र रसियाप्रति आफ्नो अटल निष्ठा सिद्ध गर्ने अवसर पाउन म हजार विन्ती गर्छु ।”
कुतुजोभले मुख फर्काए । उनको अनुहार र आँखामा त्यही मुस्कान र चमक देखियो, जो कप्तान तिमोखिनसँग मुख फर्काउँदा देखिएको थियो । उनले यसरी मुख बड्ग्याए मानौँ दोलोखेभले भनेका र भन्न सक्ने सबै कुराहरू उनलाई पहिले नै थाहा थियो भन्न खोजेका हुन्। उनलाई यस विषयमा ठुलो चिन्ता थियो र उनले यस्तो कहिल्यै पनि चिताएका थिएनन् । उनी फनक्क फर्केर बग्गी भएतिर गए ।
पल्टन कम्पनी-कम्पनीमा विभक्त भयो र ब्राउनाउ नजिक आफ्नो शिविरतर्फ लाग्यो जहाँ उनीहरूले बुटजुत्ता र लत्ताकपडा पाउने र लामो हिँडाइपछि थकाइ मार्न पनि पाउने अपेक्षा गरेका थिए ।
“मसँग नरिसाङ, प्रोखोर इग्नातिच !” पल्टन कमाण्डरले तेस्रो कम्पनीतर्फ घोडा बढाउँदै अगाडिअगाडि गइरहेको कप्तान तिमोखिनसँग गएर भन्यो । “पल्टनको सफल निरीक्षण भएपछि पल्टन कमाण्डरको अनुहार अति प्रसन्न देखिन्थ्यो । के गर्ने, सम्राट्को सेवा गर्नै पर्यो……… कहिलेकाँही त परेड खेलिरहेका बेलामा पनि धैर्य धारण गर्न सकिँदैन…….. तिमीलाई मेरो बानी थाहै छ, सबभन्दा पहिले माफी साग्ने म नै हुन्छु……. बडासाहेव धेरै नै खुसी भएर गएका छन् ।” र, त्यति भनेर उसले कम्पनी कमाण्डरतर्फ हात बढायो ।
“त्यसो नभन्नुस् जर्नेल साहेब म, त्यो पनि तपाईंसँग रिसाऊँ ?” कप्तानले मुस्कुराउँदै जवाफ दियो । उसको अनुहारमा लाली चढेर आयो । मुस्कुराउँदा अगाडिका दुइटा दाँत झरेका गिँजा देखिए । इस्माइलको लडाइँमा दुस्मनले बन्दुकको कुन्दाले हानेर उसका दाँत झारिदिएको थियो ।
“र, दोलोखोभलाई भन्देऊ कि म उसलाई बिर्सने छैन – ऊ ढुक्क भएर बसे हुन्छ । तर उसको व्यवहार र चालचलन अहिले कस्तो छ, उस्तै होकि ? मलाई त्यो पनि मोटामोटी रूपमा बताऊ ।”
“ड्युटीमा त ऊ पक्का छ, एकदम ठीक छ हजूर तर उसको चालचलनका बारेमा म यसै भन्न सक्तिनँ…….” तिमोखिनले भन्यो ।
“त्यही त मैले जान्न खोजेको,” पल्टन कमाण्डरले फेरि भन्यो ।
“उसको व्यवहार दिनैपिच्छे फरक हुन्छ,” कप्तानले जवाफ दियो । “एक दिन एक्दम समझदार, अति सभ्य र शालीन हुन्छ भने अर्को दिन एउटा जङ्गली जनावर जस्तो हुन्छ । पोलैण्डमा त उसले एउटा यहुदीलाई झण्डै मारेको ।”
“साँच्चै हो,” पल्टन कमाण्डरले भन्यो । जे भए तापनि अप्ठ्यारोमा परेका तन्नेरी मानिसलाई हामीहरूले दया-माया गर्नै पर्छ । तिमीलाई थाहै होला, उसको सम्बन्ध ठुल्ठुला व्यक्तिहरूसँग छ । त्यसै भएर पनि ……. तिमी-हामीले…………।”
“जो आज्ञा, हजूर,” तिमोखिनले जवाफ दियो र मुस्कुराउँदै कमाण्डरको कुराको आशय आफूले बुझेको प्रष्ट गर्यो ।
“ठीक छ, ठीक छ ।”
पल्टन कमाण्डर घोडामा गयो, दोलोखोभलाई सैनिकहरूका बीचमा खोज्यो र उसलाई भन्यो : “पहिलो अवसर आउनेबित्तिकै…… तिम्रो पद फिर्ता पाउने छौ,” उसले दोलोखोभलाई भन्यो ।
दोलोखोभले टाउको घुमाएर हेर्यो, कुनै जवाफ दिएन र ब्यङ्गग्यपूर्वक मुस्कुराउँदै अनुहारको भावभङ्गिमा पनि परिवर्तन गरेन ।
“लौ, लौ, एकदम ठीक छ,” पल्टन कमाण्डरले भन्दै गयो । “सैनिकहरूलाई मेरो तर्फबाट एकएक गिलास भोड्का पिलाइदिनू,” सबैले सुन्ने गरी उसले भन्यो । “म तिमीहरू सबैलाई धन्यवाद दिन्छु । भगवानको जो मर्जी,” त्यति भन्दै ऊ घोडा अगाडि बढाएर अर्को कम्पनीतर्फ गयो ।
“यो मान्नै पर्छ कि हाकिम साहेब एकदम असल मानिस रहेछन् । उनको मातहतमा रहेर राम्रोसँग काम गर्न सकिन्छ,” तिमोखिनले आफूनजिकै हिँडिरहेको एक जना तल्लो पदको अफिसरलाई भन्यो ।
“एक शब्दमा भनौँ भने द्विलदार व्यक्ति,” तल्लो तहको अफिसरले हाँस्दै भन्यो । (पल्टन कमाण्डरलाई दिलको राजा भनिन्थ्यो)
निरीक्षण भएपछि अफिसरहरूको अनुहारमा आएको खुसीले तल्लो तहका सैनिकहरूलाई समेत प्रभाव पार्यो । कम्पनी उत्सुकतापूर्वक अगाडि बढ्दै थियो । चारैतिरबाट सैनिकहरूले कुराकानी गरेको आवाज आइरहेको थियो ।
“कुतुजोभ एउटा आँखाको अन्धा छन् भनेर कसले भन्न सक्छ ?”
“त्यो त भएकै कुरा हो नि, किन भन्न नसक्नु ।”
“होइन साथी, तिम्रो-हाम्रो आँखाभन्दा उनको आँखा तेजिलो छ । बुटदेखि लिएर खुट्टामा बाँधेको फित्ता-पट्टिसम्म उनले सबैथोक सूक्ष्म रूपमा नियालेर हेरे ।”
“उनले मेरो खुट्टातिर हेर्दा त बुझ्यौ साथी,…. अरे …….मलाई लाग्थ्यो…… ”
“र उनीसँग आएको अष्टियालीि जर्नेल थियो नि, उसको अनुहार चक दलेजस्तो थियो – चामलको पीठोभैँ सेतो । मलाई त हामीहरूले बन्दुकलाई घोटी घोटी टल्काएजस्तै उसलार्इ घोटी घोटी सेतो गराएझैँ लाग्यो ।”
“सुन न फेदेशोन, लडार्इँ कहिले सुरु गर्ने भनेर उनले केही भनेनन् ? तिमी त उनीसँगै थियौ । बोनापार्ट पति ब्राउनाउमा नै थियो भन्छन् सबैले ।”
“बोनापार्ट ब्राउनाउमा छ रे ! वाहियात कुरा । यो त मूर्खहरूले मात्र भन्छन् । तिमीले अरू के के सुन्ने हौ थाहा छैन । अष्ट्रियालीहरू अहिले रिसाएका छन् । अष्ट्रियालीहरूले उनीहरूलाई दबाएर राखेका छन् । जब उनीहरू दब्छन् बोनापार्टसँग लडाइँ सुरु हुन्छ । बोनापार्ट ब्राउनाउमा छ भनेर तिमीले एक किसिमले ठीकै भन्यौ । त्यसैले तिमी उल्लू बनेको कुरा पक्का हो । कुरा राम्रोसँग सुन्नु-बुझ्नु पर्थ्यो कि………।”
“यी क्वाटर मास्टरहरू कस्ता राक्षस हुन् । हेर त, पाँचौँ कम्पनी त गाउँतिर बढिसकेछ । हामी क्वाटरमा पुग्नुभन्दा पहिले उनीहरूले रोटी पकाइसकेका हुन्छन् ।”
“ए राक्षस मलाई एउटा बिस्कुट दे न ।”
“तैँले हिजो मलाई तमाखु दिएको थिइस् र ? उही कुरा त हो नि साथी, कुरा बुझिस् । भै गो खैर, ला त ।”
“यहीँ बास बस्न जाती होला जस्तो छ । नत्र फेरि अर्को चार माइल भोकभोकै हिँड्नु पर्न सक्छ ।”
“जर्मनेलीहरूले सवारी दिँदा त क्या मजा भाथ्यो हगि । बसीबसी हिँड्न पाइने ।”
“यहाँका मान्छे त एकदम गरिब जस्ता छन् । त्यहाँ त सबै पोलेण्डबासी जस्ता देखिन्थे सबै रसियाली साम्राज्यभित्रैका थिए तर यहाँ त जताततै जर्मनेलीहरू मात्र छन् ।”
“गाउनेहरू जति सबै अगाडि आउनू” कप्तानको आदेश आयो ।
त्यो आदेशबमोजिम सैनिकहरूका विभिन्न पंक्तिबाट बीस जना जति सिपाहीहरू दगुर्दै अगाडि आए । टोली नेता ढोलकवादक गायकहरूतर्फ फर्कदै सैनिकहरूले गाउने एउटा गीत गाउन सुरु गर्यो । गीतका सुरुका शब्द यस्ता थिए – “बिहानी भयो – सूर्य उदाए” र अन्तिम शब्द यस्ता थिए – “कीर्ति फैलिने छ हाम्रो पिता कामेन्स्की जिन्दावाद ।” यो गानाको सुरुआत टर्कीमा भएको थियो र अहिले भने कामेन्स्कीको ठाउँमा कुतुजोभको नाउँ राखेर गाइँदै थियो ।
सैनिक अदवका साथ गाएर यो गीत सिद्धिएपछि, कुनै चीज भुइँमा खसाले जस्तै हात तलतिर झटकार्दै चालिस बयालिस वर्षको जस्तो देखिने दुब्लो, पातलो र सुन्दर ढोलकवादकले सैनिक गायकहरूलाई कडा नजरले हेर्यो र आँखा र मुख बिगार्यो । उसले एकछिनपछि सबैका आँखा आफूमाथि केन्द्रित छन् भन्ने लागेपछि कुनै अदृश्य र बहुमूल्य वस्तु दुवै हातले उचालेर आफ्नो शिरमाथि राखेर केहीछिन उक्त वस्तुलाई त्यस्तै अवस्थामा रहन दिए जस्तै गर्यो, अचानक जोडसँग तलतिर खसाली दियो र फेरि गाउन सुरु गर्यो :
“मेरो प्यारो वनस्थली मेरो प्यारो यो वनस्थली………..-1”
“मेरो प्यारो नयाँ वनस्थली…………….. ” बीस जनाको समूहले यो गीत गाउन लाग्ने र काठको चम्चाजस्तो दाता बजाबजाउनेवाला सैनिक फौजी सामानको भारी बोकीबोकी उफ्रेर अगाडि आयो र काँध हल्लाउँदै उक्त काठका चम्चाले कसैलाई तर्साएजस्तै गरेर कम्पनीतर्फ पीठ फर्काउँदै अगाडिअगाडि हिँड्न थाल्यो । सैनिकहरू गीतको लयसँगै हातको ताल दिन्थे; लामालामा पाइला चाल्थे र आफूआफूमा मिलेर पाइला अगाडि बढाउँथे । कम्पनीको पछाडि बग्गीको चक्काको आवाज, कमानीको चुइँचुईँ र घोडाका टापको आवाज सुनिन्थ्यो । कुतुजोभ आफ्नो दलबलसहित सहर फर्किरहेका थिए । उनले सैनिकहरू स्वतन्त्रपूर्वक अगाडि बढ्दै जाउन् भन्ने सङ्केत गरे । उनी र उनका दलका सबै सदस्यहरूको अनुहारमा गीतका तालमा नाच्दै र खुसी हुँदै फुर्तीसाथ उफ्रिरहेका सैनिकहरू अगाडि बढिरहेको देखे । प्रसन्नताको रेखा झल्किन्थ्यो । बग्गी अगाडि निक्लिरहेको दाहिने लहरको दोस्रो पंक्तिमा नीला आँखावाला सैनिक, दोलोखोभमाथि अनायास ध्यान आकर्षित हुन्थ्यो, जो विशेष सान र साहसका साथ गीतको लयसँगै मिलाएर पाइला चालिरहेको , थियो र घोडा चढेका र बग्गीमा बसेका अफिसरहरूलाई यसरी हेरिरहेथ्यो मानौँ ती सबैलाई देखेर उसलाई दया लागिरहेको थियो, जो यति बेला कम्पनीका साथ हिँडेरहेका थिएनन् । पल्टन कमाण्डरको नक्कल गरिरहेको ‘कृतुजोभको दलको हुस्सार सैनिक अफिसर बग्गी पछाडि पर्यो र आफ्नो घोडा दोलोखोभसँग लिएर गयो ।
जेरकोभ नामक यो हुस्सार सैनिक अफिसर कुनै बेला पिटर्सबर्गका ती उइण्ड व्यक्तिमध्ये एउटा थियो जसको नेता दोलोखोभ थियो । सैनिकका रूपमा विदेशमा दोलोखोभसँग उसको भेट भयो र उसले दोलोखोभलाई नचिने जस्तो गर्न उचित ठान्यो । तर अफिसरबाट झारेर सैनिक बनाइएको दोलोखोभसँग कृतुजोभको वार्ता भएको देखेपछि उसले पुरानो साथीको हैसियतमा सँग खुसी प्रकट गर्दै उसलाई सम्बोधन गर्यो ।
“तिमीलाई कस्तो छ प्रिय साथी ?,” गानाको आवाजका बीच आफ्नो घोडाको चाललाई सैनिकहरूको चालअनुरूप बनाउँदै उसले भन्यो ।
“मलाई कस्तो छ भनेको ?, म त्यस्तै छु जस्तो म देखिएको छु,” दोलोखोभले शीत उत्तर दियो ।
खुसी र उत्साहले भरिएको त्यो जीवन्त गीतमा जेरकोभले सोधेको खुला प्रश्न र दोलोखोभले जानीजानी दिएको उत्तरले एउटा विशेष खालको आस्वाद प्रदान गरेको थियो ।
“अनि, अन्य अफिसरहरूसँगको सम्बन्ध कस्तो छ नि ?,” जेरकोभले अर्को प्रश्न सोध्यो ।
“सबै ठीक छ, मान्छेहरू बेसै छन् । तिमी मुख्य सैनिक कार्यालयमा कसरी घुस्न आयौ ?”
“पठाइ दिए, आउनै पर्यो । अहिले ड्युटीमा छु ।” दुवै जना चुप लागे ।
“उनले आकाशमा बाज उडाइन्,” गीतका यी शब्दहरूले नचाहँदा नचाहँदै पनि पफुल्लाता र उत्लासका भावना सिर्जित गरिरहेका थिए । दुई जना साथीले गीत नबजिरहेको अवस्थामा कुरा गरेका भए उनीहरूको कुराको मोडले अर्कै रूप लिने थियो ।
“अस्ट्रियालीहरूलाई पराजित गरियो भनेको के साँच्चै हो ?,” दोलोखोभले सोध्यो ।
“उनीहरूले साँच्चै हो भन्छन् । असली कुरा त भगवानलाई नै थाहा होला ।”
“म एकदम खुसी छु,” गीतको शब्दार्थअनुरूप दोलोखोभले संक्षिप्त र स्पष्ट रूपमा जवाफ दियो ।
“कुनै बेला साँझतिर आउनू तास-सास खेलौँला,” जेरकोभले भन्यो ।
“किन हो, थुप्रै पैसा छ कि कसो ?”
“आऊ न आऊ ।”
“म त आउन सक्तिनँ । मैले किरिया खाएको छु । मेरो गुमेको पद बहाली नहुन्जेल रक्सी पनि खान्नँ र जुवा पनि खेल्दिनँ ।”
“भइगो भो, तिम्रो यो गफ त कसैसँग झगडा नहुन्जेलसम्म मात्र हो ।”
“हेर्दै जाऊ ।”
दुवै जना फेरि चुप लागे ।
“कुनै बेला कुनै किसिमको सहयोगको आवश्यकता पर्यो भने आउनू नि । मुख्य सैनिक कार्यालय हो – जे पनि गर्न सकिन्छ,” जेरकोभले भन्यो ।
दोलोखोभ ब्यङ्ग्यपूर्वक मुस्कुरायो ।
“ठीकै छ, तिमीले कुनै किसिमको चिन्ता नगर । मलाई चाहिएको, कुरा म मागेर लिन्नँ , आफै खोसेर लिन्छु ।”
“हुन्छ, हुन्छ, मैले त त्यत्तिकै…” नरिसाऊ ।
“मैले पनि त्यत्तिकै….” नरिसाऊ ।
“नमस्ते ।”
“नमस्ते ।”
माथि, माथि, बादलमाथि धेरै टाढा
मेरो मातृभूमितिर ………
त्यो बाज उड्यो उड्यो त्यो बाज…।
जेरकोभले घोडालाई छडी हान्यो । घोडा सन्कियो । घोडालाई दायाँ अथवा बायाँ कुन चाहिँ खुट्टा पहिले अगाडि बढाउने भन्ने थाहा भएन । तीन पटकसम्म बुरुकबुरुक उफ्र्यो अनि स्थिर भयो । अनि गीतको तालका साथ सर्पट दगुर्दै कम्पनीलाई धेरै पछाडि छोडेर बग्गी भएका ठाउँमा पुग्यो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२८ जेष्ठ २०८३, बिहीबार 









