परिच्छेद -३

पल्टन निरीक्षण गरेर फर्केपछि अस्ट्रियाली जर्नेललाई सँगै लिएर कुतुजोभ आफ्नो कोठामा गए र पार्श्ववर्तीलाई बोलाएँ । उसलाई यहाँ आइपुगेको सेनाको स्थिति र अग्रिम सेना सञ्चालन गरिरहेका सेनाप्रमुख डयुक फर्डिनान्डबाट प्राप्त भएका कागजपत्रहरू लिएर आउने आदेश दिए । आदेशबमोजिम आवश्यक कागजपत्रहरू लिएर आन्द्रेइ बोल्कोन्स्की कोठामा आयो । कुतुजोभ र होफक्रिग्सराथको अस्ट्रियाली सदस्य कुर्सीमा बसेर टेबुलमा पसारेको नक्सा हेर्दै थिए ।

“ओहो”…… बोलकिन्स्कीतर्फ दृष्टि दिँदै कुतुजोभले भने मानौँ यो शब्दद्वारा उसलाई पर्खने आदेश दिइरहेका हुन्‌ र उती फ्रान्सेली भाषामा बोल्न थाले ।

“म त यति मात्र भन्न सक्छु, जर्नेल साहेब,” कुतुजोभ यस्तो मधुर र लालित्यपूर्ण ध्वनिमा बोल्दै थिए कि कसैलाई पनि उनका ती शब्दहरू सुन्न कर लाग्थ्यो । यो स्पष्ट थियो कि कुतुजोभ आफैलाई पनि आफ्ना कुरा सुनेर आनन्द लागिरहेको होस्‌ । “म त यति भन्न सक्छु, जर्नेल साहेब, मैले चाहेर हुने भए सम्राट्‌ फ्रान्सिसको इच्छा उहिले नै पूरा भइसक्थ्यो । म धेरै पहिले नै गएर ड्युकसँग हात मिलाउने थिएँ । र म तपाईंलाई कसमका साथ यो विश्वास दिलाउँछु कि व्यक्तिगत रूपले आफ्नोभन्दा बढी सुझबुझ र योग्यता भएका जर्नेललाई – जसको अस्ट्रियामा कुनै कमी छैन – मेरा आफ्ना सेनाको जिम्मा लगाएर आफूलाई जिम्मेवारीबाट मुक्त गर्न पाउनु मेरो लागि बडो खुसीको कुरा हुने थियो । तर के गर्नु, जर्नेल, परिस्थितिले त्यसो भन्दो रहेनछ ।”

कुतुजोभ यस्तो किसिमले हाँसे मानौँ उनले भनिरहेका हुन्‌, “तपाईंलाई मेरो कुरा विश्वास नगर्ने पूरा अधिकार छ । त्यति मात्र होइन, मलाई त यस कुराले पनि केही फरक पर्दैन कि तपाईंले मेरो कुरामा विश्वास गर्नुहोस्‌ वा नगर्नुहोस्‌ । तर तपार्इले मलार्इ यस्तो भन्ने पर्याप्त कारणहरू छैनन्‌ र कुराको चुरो पनि यही नै हो ।”

अष्ट्रियाली जर्नेल असन्तुष्ट भएजस्तो देखियो तर कुतुभो कै भाषामा उत्तर दिनुभन्दा उसको अगाडि अर्को विकल्प थिएन ।

“बरु उल्टै,” आफ्ना चिप्ला खालका शब्दहरूसँग नमिल्ने लवजमा झर्किदै र रिसाउँदै उसले भन्यो, “बरु उल्टै हाम्रो साझा उद्देश्य प्राप्तिका लागि सम्राटले तपाईंको भूमिकाको उच्च मूल्याङ्कन गर्नु हुन्छ । तर हामीलाई यस्तो लाग्छ कि यति बेला हामीले गरेको ढिलासुस्तीले तेजस्वी रसियाली सेना र तिनका सेनापतिहरूलाई त्यो कीर्ति प्राप्त गर्नबाट वञ्चित गरिरहेछ, लडाइँमा जुन कीर्ति प्राप्त गर्न उनीहरू अभ्यस्त छन्” उसले पहिलेदेखि नै तयारी गरिरहेको वाक्य पूरा गर्यो ।

कुतुजोभ पनि के कम हुन्थे र । सो उनले पनि सममुस्कानका साथ शिर झुकाए ।

“तर महामहिम ड्युक फर्डिनान्डको अन्तिम पत्रको आधारमा मैले प्राप्त गरेको सम्मानले मलाई यो विश्वास पलाएको छ र म यो मान्छु कि जर्नेल माकजस्ता कुशल सहायकको सञ्चालनमा अस्ट्रियाली सेनाले निर्णायक बिजय पनि प्राप्त गरेको छ र उसलाई अब हाम्रो सहयोगको आवश्यकता पनि पर्दैन,” कुतुजोभले उत्तर दिए ।

जर्नेलको दिमाग खायो । हुन त अस्ट्रियाली सेना पराजित भएको कुनै निश्चित समाचार प्राप्त भएको थिएन तर यसलाई पुष्टि गर्ने खालका धेरै किसिमका हल्लाहरू चलेका थिए र कुतुजोभको मुखबाट निस्केको अस्ट्रियालीहरूले जिते भन्ने कुरा व्यङ्ग्यात्मक ठट्टा जस्तो लाग्थ्यो । तर कृतुजोभ आफूलाई यस्तो व्यङ्ग्य गर्ने अधिकार प्राप्त भएजस्तै गरेर मुस्कुराए । साँच्चै भन्ने हो भने जर्नेल माकको सेनाका तर्फबाट प्राप्त अन्तिम पत्रमा उसलाई विजय र रणनीतिका दृष्टिकोणबाट स्थिति धेरै अनुकूल भएको सूचना दिइएको थियो ।

“खै, त्यो पत्र मलाई देऊ त,” राजकुमार आन्द्रेइतर्फ फर्कदै कुतुजोभले भने । “लौ सुन्नु पर्यो,” व्यङ्ग्यात्मक मुस्कानका साथ उनले जर्मनेली भाषामा लेखिएको ड्युक फर्डिनाण्डको पत्र पढे :

“अहिले हामीसँग झण्डै सत्तरी हजार सैनिकहरूको केन्द्रित शक्ति उपलब्ध छ र दुस्मनले यदि लेक पार गरेर आउने दुस्साहस गर्यो भने हामी उसलाई पूर्ण रूपमा नष्ट गर्न समर्थ छौँ । र हामी उल्म प्रदेश जितिसकेका हुँदा डेन्युब नदीको दुवै तटमा आफ्नो आधिपत्य कायम राख्न समर्थ छौँ । यसको अर्थ यदि दुस्मनले लेक पार गरेर अगाडि बढ्न सकेन भने हामी कुनै पनि क्षणमा डेन्युब नदी .तरेर दुस्मनको सम्पूर्ण सञ्चारमाथि आक्रमण गर्न सक्छौँ र केही तल पुगेर नदी तरेर फेरि फर्केर आउन पनि सक्छौ र फेरि खुद दुस्मनले हाम्रा बफादार सैनिकहरूका विरुद्ध आफ्नो भएभरको शक्ति केन्द्रित गर्न खोज्यो भने हामी कुनै हालतमा पनि त्यो उद्देश्य सफल हुन दिने छैनौँ । यस प्रकार हामी ठूलो उत्साहका साथ त्यो समयको प्रतीक्षा गरिरहेका हुने छौँ, जब सम्राट अलेक्जेण्डरका रसियाली सेना सम्पूर्ण रूपमा तनमनसाथ लागेर तयार हुने छन्‌ र त्यसपछि सजिलैसँग दुस्मनको हालत खराब गर्न हाम्रो लागि सम्भव हुनेछ, जसको लागि ऊ योग्य छ ।”

यो अनुच्छेद, पढेपछि कुतुजोभले लामो सास फेरे र ध्यानपूर्वक र स्नेहपूर्वक होफ्क्रिग्सराथको सदस्यतर्फ हेरे ।

“तर, महामहिम समझदारीको यो नियम त तपाईंलाई थाहै होला, हामी खराबभन्दा खराब, अत्यन्त खराब अवस्था आइपरे पनि त्यसको सामना गर्न तयार भएर बस्नु पर्छ,” अस्ट्रियाली जर्नेल सम्भवतः अव ख्यालठट्टा गर्न छोडेर गम्भीरतापूर्वक कामकुरातिर लाग्नु पर्छ भन्ने आशय प्रकट गर्यो ।

चित्त नबुझेझैँ गर्दै जर्नेलले पार्श्ववर्ती बोल्कोन्स्कीतर्फ दृष्टि दिए ।

“माफ गर्नुहोला जर्नेल,” कुतुजोभले अष्ट्रियाली जर्नेलको कुरामा हस्तक्षेप गर्दै र आफू पनि राजकुमार आन्द्रेइतिर फर्कंदै उसलाई भने, “मेरो कुरा सुन भाइ, तिमीले कोज्लोभ्स्कीबाट हाम्रा गुप्तचरहरूले ल्याएको सम्पूर्ण सूचनाहरू सङ्कलन गर । यी दुइटा चिठी काउन्ट नोस्तित्जका हुन्‌, यो महामान्य सर्वप्रमुख ड्युक फर्डिनान्डको हो र त्यसबाहेक यी कागजपत्रहरू पनि राख,” राजकुमार आन्द्रेइलाई अरू कागजपत्रहरू पनि दिँदै उनले भने । यी सबैको निचोड स्वरूप फ्रान्सेली भाषामा एउटा स्मृति मुचुल्का तयार गर ताकि अष्ट्रियाली सेनाका बारेमा हामीलाई प्राप्त भएका सम्पूर्ण सूचनाहरू स्पष्ट हुन सकून्‌ र त्यो तयार भएपछि उहाँ महामहिमलाई दिनू ।”

राजकुमार आन्द्रेइले कुतुजोभका कुरा मात्र होइन उनले भन्न नपाएका र भन्न बाँकी भएका कुरा पनि बुझेर शिर झुकायो । उसले सम्पूर्ण कागजातहरू एकमुष्ठ पार्यो र दुवै जर्नेललाई अभिवादन गर्दै विस्तारै कार्पेटबाट चिप्लेर बाहिर निस्क्यो ।

हुन त राजकुमार आन्द्रेइले रसिया छोडेको धेरै भएको थिएन तथापि उ त्यस अवधिभर धेरै परिवर्तित भएको थियो । उसको अनुहारको भाव, अन्य गतिविधिहरू र हिँड्ने तरिकामा पनि पहिलेको जस्तो आलस्यता र सुस्तीको नाम निसाना थिएन । ऊ अहिले आफूले अन्य मानिसहरूप्रति कस्तो प्रभाव पार्न सक्छु भनेर सोच्ने तर महत्त्वपूर्ण काममा ज्यादै व्यस्त रहने मान्छेझैँ देखिन्थ्यो । उसको अनुहारमा उसका आसेपासेहरूका प्रति र आफैँप्रति पनि पूर्ण सन्तोषका रेखा देखिन्थे। उसको मुस्कान र हेराई एकदम आकर्षक र तेजिलो थियो ।

राजकुमार आन्द्रेइले कुतुजोभलाई पोलैण्डमा नै गएर भेटिसकेको थियो । कुतुजोभले उसलाई माया गरे, उनले उसलाई ध्यान दिनेछु भन्ने वचन दिए, अन्य सहयोगीहरूलाई भन्दा उसलाई धेरै महत्त्व दिए, उसलाई आफूसँगै भियनामा लिएर आए र उसलाई महत्त्वपूर्ण जिम्मेवारी पनि दिए । कुतुजोभले भियनाबाट राजकुमार आन्द्रेइको बाबु आफ्नो पुरानो साथीलाई एउटा चिठी लेखे । जुन चिठी यस्तो थियोः ‘

“तिम्रो छोरा अध्ययनशील, कर्तव्यपरायण र दृढ विचारधारा भएको केटा छ । उसमा ठूलै अफिसर बन्न सक्ने सम्भावनाहरू विद्यमान छन्‌ । यस्तो व्यक्तिलाई आफ्नो सहयोगीका रूपमा पाउँदा म आफैलाई भाग्यशाली ठानिरहेछु ।”

तिम्रो साथी कुतुजोभ ।

कुतुजोभको मुख्य सैनिक कार्यालय, उनका सहयोगी साथी र सम्पूर्ण सैनिक दस्तामा राजकुमार आन्द्रेइका बारेमा दुई किसिमका विचार पालेका व्यक्तिहरू थिए । हुन त ऊ पिटर्सबर्गमा छँदा माथिल्लो समाजमा पनि यस्तै थियो । थोरै मान्छेहरू आफूहरू र अरूहरूका तुलनामा पनि उसलाई विशेष प्रकारको व्यक्तित्वका रूपमा ग्रहण गर्थे । ऊ एक दिन अवश्य ठूलो मानिस हुनेछ भन्थे । उसका प्रत्येक कुरा सुन्थे, उसको हृदयदेखिनै प्रशंसा गर्थे र उसले जे जे गर्छ आफूहरूले पनि त्यही त्यही गर्थे । यस प्रकारका मानिसहरूसँग आन्द्रेइ पनि त्यस्तै मीठो र भद्र किसिमले प्रस्तुत हुन्थ्यो,। फेरि अर्को किसिमका मान्छेहरू पनि थिए जो उसलाई पटक्कै रुचाउँदैन थिए । उनीहरूका बिचारमा ऊ घमण्डी, निर्दयी र घिनलाग्दो मान्छे थियो । तर एउटा गजबको कुरा के छ भने आफूलाई नरुचाउने मान्छेहरूलाई ऊ राम्ररी चिन्थ्यो र उनीहरूसामु यस प्रकारले प्रस्तुत हुन्थ्यो कि उनीहरू ऊसँग त्यत्तिकै डराउँथे र उसलाई सकेसम्म आदर-सम्मान गर्न हानथाप गर्थे ।

कुतुजोभको कक्षबाट निस्केर राजकुमार आन्द्रेइ हातमा सम्बन्धित कागजहरू लिँदै आफ्नो साथी, कुतुजोभको अर्को सहयोगी कोजलोभ्स्की बसिरहेको प्रतीक्षाकक्षमा आयो । त्यस बखत कोजलोभ्स्की हातमा एउटा पुस्तक लिएर झ्यालमा बसिरहेको थियो ।

“राजकुमार, खास कुरा के छ, भन्नुपर्यो,” कोज्लोभ्स्कीले जिज्ञासा प्रकट गर्यो ।

“हामीहरू किन अगाडि बढिरहेका छैनौ, त्यस विषयमा स्पष्टिकरण दिनु पर्यो रे,”

“किन नि ?”

राजकुमार आन्द्रेइले कुम जुर्क्यायो ।

“जर्नेल माकको कूँनै समाचार छैन ?”

“छैन ।”

“यदि ऊ पराजित भइसकेको भए त अहिलेसम्म केही न केही खबर त आउनै पर्ने होइन र ?”

“त्यो त हो,” राजकुमार आन्द्रेइले भन्यो र बाहिर निस्कन ढोकातिर लाग्यो । तर ठीक त्यही बेला अपर्झट पछाडिबाट ढोका बन्द गर्दै, फरक कोट लगाएको एक जना अग्लो अष्ट्रियाली जर्नेल कोठाभित्र प्रवेश गर्यो । यो स्पष्ट थियो कि ऊ कुनै अर्कै ठाउँबाट आएको थियो । उसको शिरमाथि कालो पट्टी थियो र उसले गलामा बाँधेको गलबन्दीमा मारिया तेरिसाको (अस्ट्रियाको एउटा माथिल्लो दर्जाको पदक) पदक चित्न थियो । राजकुमार आन्द्रेइ झट्ट रोकियो ।

“प्रधान सेनापति कृतुजोभ कहाँ हुनुहुन्छ ?” आगन्तुक जर्नेलले कठोर शब्दमा जर्मनेली लवजमा बोल्दै सोध्यो, उसले दायाँबायाँ हेर्यो र सरासर कुतुजोभको कोठाको ढोकातिर बढ्यो ।

“प्रधान सेनापति व्यस्त हुनु हुन्छ,” कोज्लोभ्स्कीले छिटोछिटो अपरिचित जर्नेलतर्फ बढ्दै र ढोकातिर जाने बाटो रोक्दै भन्यो । “के भन्दिउँ तपाईको बारेमा अपरिचित जर्नेलले मझौला कदका कोजलोभ्स्कीलाई शिरदेखि पाउसम्म यस्तो तिरस्कारपूर्ण नजरले हेर्यो मानौं उसलाई यस्तो लाग्दैछ । कि उसलाई नचिन्ने मान्छे यहाँ हुनै सक्तैन ।

“प्रधान सेनापति व्यस्त हुनुहुन्छ”, शान्त हुँदै कोजलोभ्स्कीले फेरि भन्यो ।

जर्नेलको मुख अँध्यारो भयो । उसका ओंठ काँपे । उसले एउटा नोटबुक निकाल्यो, सिसाकलमले केही लेख्यो र पाना च्यातेर कोजलोभ्स्कीलाई दियो । त्यसपछि ऊ छिटोछिटो पाइला चाल्दै झ्यालतिर गयो र कुर्सीमा ढ्याम्म बस्दै त्यहाँ उपस्थित सबैका आँखामा यसरी हेर्यो मानौँ उसले सोधिरहेको होस्‌, “उनीहरूले मलाई किन हेरिरहेका छन्‌ ?” त्यसपछि उसले टाउको उठायो र केही भन्न खोजे जस्तो गरेर गर्दन फुलायो तर तुरुन्तै मन नलागी नलागी भूत्भुताउँदै अनौठो किसिमको आवाज निकाल्यो, जो तत्क्षण बन्द भयो । कृतुजोभको निजी कोठाको ढोका खुल्यो । उनी सँघारमा देखिए । शिरमा पट्टी बाँधेको जर्नेल कुनै खतराबाट बचेर भागेजस्तै आफ्ना पातला खुट्टाले लामालामा र छिटाछिटा पाइला सार्दै कुतुजोभसँग गयो ।

“तिमी अभागी माकलाई आफूअगाडि देखिरहेछौ,” उसले टुटेको आवाजमा भन्यो ।

सँघारमा उभिइरहेको कुतुजोभको अनुहार एकछिन त हेरेको हेर्यै निश्चल भयो । पानीको लहर उठेझैं उनको निधारमा चाउरीका रेखा उठे र उनको अनुहारमा फेरि शान्तिका भाव प्रकट भयो । उनले आदरपूर्वक शिर झुकाए, र आँखा बन्द गर्दै चुपचाप माकलाई अगाडि लगाएर कोठाभित्र प्रवेश गरेर आफैले ढोका बन्द गरे ।

अस्ट्रियालीहरू पराजित भए उल्ममा सम्पूर्ण सैनिकले आत्मसमर्पण गरे भनेर चलेको हल्ला पुर्याउन भनेर विभिन्न दिशातिर पठाइयो । अहिलेसम्म निष्कृय भएर बसेको रसियाली सेनाले तत्काल दुस्मनसँग भिड्नु पर्ने छ ।

मुख्य सैनिक कार्यालयका अफिसरहरूमध्ये राजकुमार आन्द्रेइ एउटा असाधारण प्रतिभा भएको व्यक्ति थियो, जसले युद्धको प्रगतिको बारे लेखाजोखा गरिरहन्थ्यो । जब उसले जर्नेल माकको अवस्था देख्यो र उसको मुखबाट पराजयको विवरण सुन्यो उसले बुझिहाल्यो कि आधा लडाइँ हारिसकियो । – उसले रसियाली सेनामाथि आइपर्ने अप्ठ्रयाराहरू पनि राम्ररी बुझ्यो र अब के गर्नुपर्छ र आफूले कस्तो भूमिका खेल्नु पर्छ भन्ने दृश्य पनि उसका आँखामा झलझली नाच्न थाल्यो । सेखीबाज अस्ट्रियाको मानमर्दन भएको सम्झदा र सुभोरोभपछि सायद एक हप्ताको समयभित्र पहिलो पटक फ्रान्सेलीहरू विरुद्ध युद्धमा प्रत्यक्ष भाग लिनु पर्ने स्थिति देखा परेको हुँदा इच्छा नहुँदा नहुँदै पनि ऊ खुसीले रनाहा पर्यो । ऊ बोनापार्टको खूबी देखी भयभीत थियो जो रसियाली सेनाको बहादुरीभन्दा धेरै शक्तिशाली सिद्ध हुन सक्थ्यो । तर उसले यो पनि चाहन्नथ्यो कि उसको नायक बोनापार्टको शिर झुकोस्‌ ।

यिनै विचारहरूबाट उत्तापित र उत्तेजित राजकुमार आन्द्रेइ सधैँझैं आफ्नो बाबुलाई चिठी लेख्न कोठातिर लाग्यो । दलानमा पुगेपछि उसँगसँगै एउटै कोठामा बस्ने देसबीत्स्की र ठट्टामस्करी गर्न खप्पिस जेरकोभसँग उसको भेट भयो । उनीहरू सदाझैँ हाँसिरहेका थिए ।

“तिमी किन उदास छौ ?” नेसवित्स्कीले राजकुमार आन्द्रेइको पहँलो अनुहार र चम्किलो आँखा देखेर भन्यो ।

“खुसी हुने कुरै केही छैन,” राजकुमार आन्द्रेइ बोल्कोन्स्कीले उत्तर दियो ।

जति बेला राजकुमार आन्द्रेइले नेस्भित्स्की र जेरकोभलाई भेटयो, त्यही बेला रसियाली सेनाको रसद व्यवस्थापन गर्न कृतुजोभको मुख्य सैनिक कार्यालयमा नियुक्त भएको अस्ट्रियाली जर्नेल स्त्राउख , होफक्रिग्सराथको सदस्य र गत रात मात्र आइपुगेको अर्को एक जना जर्नेल, दलानको अर्को छेउबाट यतैतिर आइरहेका थिए । चौडा दलानमा खुला ठाउँ प्रशस्त थियो । दुवै जर्नेल तीनै जना रसियाली अफिसरहरूलाई छोडेर सजिलैसँग अगाडि बढ्न सक्थे । तर जेरकोभले नेस्भित्स्कीलाई हातले एकातिर धक्याउँदै श्वासरहित आवाजमा भन्यो ।

“उहाँहरू आउँदै हुनुहुन्छ । उहाँहरू आउँदै हुनुहुन्छ । एकतिर छेउ लाग्नु पर्यो । उहाँहरूलाई बाटो छोडिदिनु पर्यो । कृपा गरेर बाटो छोडदिनु पर्यो ।”

दुवै जना जर्नेल यस्तो किसिमले आइरहेका थिए मानौँ उनीहरू मानसम्मान खाने फाल्तु औपचारिकताबाट आफूहरूलाई पृथक राख्न चाहन्थे । ठट्यौली जेरकोभको अनुहारमा अचानक प्रसन्तताको मूर्खतापूर्ण मुस्कान प्रस्फुटन भयो, जुन मुस्कान दबाउन उ असफल भएको थियो ।

“महामहिम,” अस्ट्रियाली जर्नेललाई सम्बोधन गर्दै अगाडि बढेर उसले जर्मनेली भाषामा भन्यो, “तपाईंलाई बधाई छ ।”

उसले शिर झुकायो र नाच सिक्न लागेको बच्चाहरूले झैँ विनाताल-सुर घरी एउटा घरी अर्को खुट्टा भुइँमा बजार्न थाल्यो ।

होफ्‌क्रिग्सराथको सदस्यसमेत भएको उक्त जर्नेलले जेरकोभलाई कडा नजरले हेर्यो तर उसको मूर्खतापूर्ण मुस्कानमा पनि गम्भीरताको लक्षण देखिएको हुँदा एकछिन त उ हेरेको हेर्यै भयो र उसका कुरा सुनेझैँ गरेर आफ्ना आँखा चिम्लिरह्यो ।

“म तपाईंलाई बधाई दिन्छु । जर्नेल माक सकुशल फर्केर आउनु भएको छ । टाउकोमा एउटा सामान्य चोट लागेको छ त्यत्ति हो,” मुस्कुराउँदै र आफ्नो टाउकोतिर सङ्केत गर्दै उसले थप्यो ।

जर्नेलले आँखा तर्यो, फनक्क अर्कोतिर फर्क्यो र त्यहाँबाट हिँड्यो ।

“कस्तो लण्ठू मानिस रहेछ,” केही पर पुगेपछि रिसाउँदै उसले भन्यो । हाँसो रोक्न नसकेर नेस्भित्स्कीले राजकुमार आन्द्रेइलाई झ्याम्म अङ्गालो मार्यो तर आन्द्रेइले झन्‌ पहेँलो अनुहार लगाउँदै रिसाएर उसलाई अलि परै धकेल्यो र जेरकोभतिर फर्क्यो ।

माकलाई देखेर उठेको झर्को, उसको पराजयको खबर र रसियाली सेनाले अब कस्तो स्थितिको सामान गर्नुपर्ने हो भन्ने सन्तप्त विचारले गर्दा ऊ आफूभित्रै आन्दोलित भएको अवस्थामा जेरकोभको असामयिक ठट्टाले क्रोधको रूप लिन पुग्यो ।

“हेर भार्इ, तिमी यदि जोकर नै बन्न चाहन्छौ भने,” सामान्य किसिमले तलको च्यापु कमाउदै तीखो स्वरमा उसले भन्यो, “त मलाई केही भन्नु छैन, म रोक्न सक्तिनँ तर आइन्दा मेराअगाडि यस्तो गाईजात्रा देखाउने धृष्टता गर्यौ भने, म तिमीलाई मानिससँग कसरी व्यवहार गर्नुपर्छ भन्ने पाठ सिकाउने छु ।”

नेस्भित्स्की र जेरकोभ दुबै जना राजकुमार आन्द्रेइ यसरी पड्केको देखेर ट्वाल्ल परेर उसलाई हेर्न थाले । उनीहरू एक शब्द बोल्न सकेनन्‌ ।

“मैले केही बिराएझैँ त लाग्दैन के भएछ होला ? मैले उनीहरूलाई बधाई मात्र दिएको हुँ,” जेरकोभले भन्यो ।

“म तिमीसँग जिस्किन लागेको होइन, चुप लाग है,” राजकुमार आन्द्रेइले चेतावनी दियो र नेस्भित्स्कीलाई हात समातेर तान्यो र जेरकोभलाई त्यहीँ छोडेर अन्तै गयो । जेरकोभ किकर्तव्यविमूढ भयो । “भइगो यार, छोड यस्ता कुरा,” नेस्भित्स्कीले राजकुमार आन्द्रेइलाई शान्त पार्दै भन्यो ।

“कस्तो कुरा गरेको ?” रिसको पारो अझै नघटेको राजकुमार आन्द्रेइ झन्‌ झोँक्कियो । “तिमीले यो बुझ कि हामीहरू फौजी अफिसर हौँ र हामी हाम्रो जार र देशको सेवामा समर्पित छौँ-। हाम्रो ध्येय साझा छ । सफल भयौँ भने हामीलाई खुसी लाग्छ र असफल भयौँ भने हामीलाई दु:ख लाग्छ । तर हामी भाडाका टट्टु त होइनौं नि -” मालिकलाई जेसुकै होस्‌ वास्तै नगर्ने । “हाम्रा चालिस हजार मान्छे मारिइसके । हामीलाई साथ दिने सेना नष्ट भइसक्यो । तर यस्तो अवस्थामा तिमीहरू ठट्टा गरेर बस्छौ ?,” आफ्नो विचारधारा प्रभावकारी हुन सक्ला भन्ने आशयले उसले फ्रान्सेली भाषामा भन्यो । “तिमीले साथी बनाएको यो जाबो केटो क्षम्य हुन सक्छ तर तिम्रो लागि यो क्षम्य हुन सक्तैन । तिम्रो लागि यो क्षम्य हुनै सक्तैन । तिमीलाई .यस्तो व्यवहार गर्न सुहाउँदै सुहाउँदैन । यस्तो गर्न यस्तै छाउराहरूलाई मात्र सुहाउँछ,” राजकुमार आन्द्रेइले यी शब्दहरू जेरकोभका कानसम्म पुगून्‌ भन्ने हेतुले छाउरा शब्दलाई फ्रान्सेली लवजमा उच्चारण गर्दै रसियाली भाषामा वाक्य पूरा गर्यो ।

राजकुमार आन्द्रेइ, जेरकोभले आफूलाई केही भन्छ कि भन्ने विचारले केही छिन चुप लागेर बस्यो । तर जेरकोभ पनि केही नबोलेर फनक्क फर्क्यो र दलानबाट बाहिर निस्क्यो ।