week 22

परिच्छेद २२

बैठक कोठा र राजकुमारीको कोठामा यस्तो कुरा चलिरहेको बेला (पियेरे जसलाई बोलाइएको थियो) र अन्ना मिखायलोभ्ना (जसले पियेरेलाई साथ दिन जरुरी ठानेकी थिई) चढेको बग्गी काउन्ट बेजुकोभको घरको हातामा आइपुग्न लागेको थियो । झ्यालहरूको तल बिछ्य्याइएको परालमा जब बग्गीका पाङ्ग्रा विस्तारै अगि बढ्दै थिए अन्ना मिखायलोभ्ना पियेरेलाई सान्त्वनास्वरूप केही भन्दै उतिर फर्की । पियेरे बग्गीभित्र एउटा, कुनामा निदाइरहेको थियो । उसले पियेरेलाई उठाई । पियेरे पनि उठ्यो र बग्गीबाट ओर्लदै अन्ना मिखायलोभ्नाको पछि लाग्यो । त्यसबखत उसले मर्ने बखतमा आफूलाई पर्खिरहेका आफ्नो बाबुसँग हुन गइरहेको कुराकांनीका विषयमा सोचिरहेको थियो । तर बग्गी घरको अगाडिको ढोकामा नगएर पछाडिको ढोकामा पुगेर अडिएको उसले थाहा पायो । जब ऊ बग्गीको पाउदानमा टेकेर भुइँमा ओर्लदै थियो, दोकानदारहरूले जस्ता लुगा लगाएका दुई जना मानिस ढोकाबाट दगुर्दै गएर भित्ताको आडमा लुके । त्यस्ता अरू पनि थुप्रै मान्छे त्यसै गरी दगुर्दै घरको ढोकाको दुवैतिरका भित्ताका आडमा गएर त्यसै गरी लुकेको देख्यो । तर अन्ना मिखायलोभ्ना, गाडीवान र त्यहाँ भएका नोकरले उनीहरूलाई देखेर पनि कुनै वास्ता गरेनन्‌ । “ठीकै भयो” पियेरेले निष्कर्ष निकाल्योर ऊ, अन्ना मिखायलोभ्नाको पछिपछि लाग्यो । अन्ना मिखायलोभ्ना आफ्नो पछिपछि आइरहेको पियेरेलाई बोलाउँदै हतारहतार गरेर मधुरो बत्ती बलेको ढुङ्गाको साँगुरो भर्याङ चढी । पियेरेले काउन्टेसँग जानै पर्ने आवश्यकता किन पर्यो र त्यो पनि पछाडिको भर्याङबाट किन जान पर्यो भन्ने कुरा बुझेको थिएन । तथापि अन्ना मिखायलोभ्नाको आश्वासन र, उसले हतारोमा गरेको मूल्याङ्कनले गर्दा उसले यस्तो गर्नै पर्ने निष्कर्ष निकाल्यो ।

उनीहरू भर्याङको आधा बीचमा पुग्दा, हातमा बाल्टी लिएका केही मान्छेहरूले, जो बुट बजार्दै उनीहरूका अगाडिबाट दगुर्दै तलतिर झर्दै थिए, झण्डै उनीहरूलाई तल खसालेनन्‌ । ती मान्छेहरू पियेरे र अन्ना मिखायलोभ्नालाई बाटो छोड्दा भित्तामा टाँस्सिएका थिए र उनीहरूलाई देखेर उनीहरूले अलिकति पनि आश्चर्य प्रकट गरेनन्‌ ।

“राजकुमारीहरूको कोठामा जाने बाटो यही हो ?” अन्ना मिखायलोभ्नाले तिनीहरूमध्ये एक जनासँग सोधी ।

“हो म्याडम, बायाँतिरको ढोकाबाट जानुस्‌,” अब यहाँ जे गरे पनि हुन्छ भने जस्तो गरेर आँटिलो र ठूलो आवाजमा एक जना नोकरले जवाफ दियो ।

“सायद काउन्टले मलाई बोलाएकै होइनन्‌ होला,” भर्याङ चढेर माथि पुगिसकेपछि पियेरेले भन्यो । “बरु म आफ्नै कोठामा जाउँ कि ।”

अन्ना मिखायलोभ्ना थामिई र पियेरे आफूसँग नआइपुगुञ्जेल उसलाई पर्खी ।

“ओहो, प्रिय मित्र,” त्यो बिहान आफ्नो छोरालाई सम्झाएजस्तै उसले पियेरेका हात समाएर उसलाई पनि त्यसै गरी सम्झाउँदै भनी, मलाई विश्वास गर मेरो दुःख पनि तिम्रोभन्दा कम छैन तर तिमी मर्दका छोरा हौ ।”

“साँच्चै हो, त्यसो भए म नजाउँ त ?” आफ्नो चश्माभित्रबाट दयालु आँखाले हेर्दै पियेरेले सोध्यो ।

“ओहो, मेरो प्यारो मित्र ! तिमीसँग गरिएका ज्यादतीहरूलाई बिर्स र यो सोच कि उनी तिमीलाई जन्म दिने बाबु हुन्‌ ……र विचरा उनी अहिले मृत्युसँग लडिरहेका छन्‌” उसले लामो सास फेरी । “मैले त तिमीलाई पहिले देखिनै मेरो आफ्नै छोरालाई जस्तो माया गरेकी छु । तिमीले मलाई विश्वास गर, पियेरे विश्वास गर । म तिम्रो हितलाई कुनै हालतमा बिर्सने छैन ।”

य पियेरेले एक शब्द पनि बुझेन । उसलाई पहिलेभन्दा पनि धेरै मात्रामा यस्तो लाग्यो कि यो सब कुरा यस्तै किसिमले हुनु पर्ने रहेछ । अनि ऊ चुपचाप लागेर खुरुखुरु अन्ना मिखायलोभ्नाको पछि लाग्यो जो ढोका खोल्न लागेकी थिई ।

यो ढोकाबाट पछाडिको प्रवेश कक्षमा ,पुगिन्थ्यो । राजकुमारीहरूको एउटा बुढो नोकर्‌ मोजा बुनेर बसिरहेको थियो । पियेरे घरको यो भागमा कहिल्यै आएको थिएन । यहाँ यी कोठाहरू-छन्‌ भन्ने पनि उसलाई थाहा थिएन । अन्ना मिखायलोभ्नाले किस्तीमा सुराही राखेर छिटोछिटो अंगाडि बढिरहेकी नोकर्नीलाई मेरी प्यारी र मेरी मायालु भन्दै उसँग राजकुमारीहरूको स्वास्थ्यका बारेमा सोधपुछ गरी र पियेरेलाई ढुङ्गा बिछ्याएको मटानबाट अगाडि लिएर गई । ,बायाँपट्टिको पहिलो ढोकाबाट राजकुमारीहरूको कोठामा पुगिन्थ्यो ।, सुराही लिएर जाने नोकर्नीले हतारमा ढोका बन्द गर्न बिर्सेकी थिई । (त्यस समय त्यो घरमा हरेक कुरा हतारमा गरिँदै थियो) पियेरे र अन्ना मिखायलोभ्नाले नचाहँदा-नचाहँदै पनि यस कोठाभित्र दृष्टि दिए, जहाँ जेठी राजकुमारी र राजकुमार भासिली बसेर आपसमा कुराकानी गर्दै थिए । यिनीहरूलाई जाँदै गरेको देखेर राजकुमार भासिली झस्कँदै पछाडि हट्यो । राजकुमारी उफ्रिँदै उठी र उसले रिसले आँखा नदेखेर भएभरको बल लगाउँदै ढ्याम्म ढोका लगाई ।

राजकुमारीको यो प्रतिक्रिया सधैँको जस्तो शान्त स्वभावअनुरूप थिएन र राजकुमार भासिलीको अनुहारमा झल्केको भय उसको स्वाभाविक तुजुकदेखि यति बाहिर थियो कि पियेरे अक्क न बक्क भयो र चश्माबाट आफ्नो पथप्रदर्शकलाई प्रश्नसूचक दृष्टिले हेर्यो । अन्ना मिखायलोभ्नाले कुनै किसिमको विस्मय प्रकट गरिन । ऊ खालि मन्दमन्द मुस्कुराई र लामो साह फेरी । मानौं, उसले यो भन्दा अरू कुनै कुराको अपेक्षा गरेकी थिइन ।

“मेरो प्रिय मित्र, नामर्द मात्र नहोऊ । तिम्रो हितको रक्षा गर्ने म भएँ,” उसले पियेरेको प्रश्नसूचक दृष्टिको उत्तर यसरी दिई र पहिलेभन्दा पनि तेज गतिमा मटानतिर अगाडि बढाई ।

पियेरेले यो सब के भएको हो बुझ्न सकेन र “उसको हितको रक्षा गर्ने म भएँ” भन्ने वाक्यको अर्थ उसले झन्‌ कम बुझ्यो । तर यी सबै कुराहरू हुनै पर्थ्यो भन्ने निष्कर्ष भने उसले अवश्य निकाल्यो । मटान पार गरेर उनीहरू दुवै जना काउन्टको बैठकसँग जोडिएको मधुरो बत्ती बलिरहेको ठूलो कोठाभित्र प्रवेश गरे । यो ती चिसा र शान्दार कोठाहरूमध्ये एउटा कोठा थियो, जसमा पियेरे अगाडिको मुख्य प्रवेश कक्षतिरबाट आउने गर्थ्यो । तर यस कोठामा पनि एउटा पानी नभएको नुहाउने टव मात्र थियो र कार्पेटभरि जताततै छताल्लुल्ल पानी पोखिएको थियो । धूपदानी लिएको एउटा डेकोन (पादरी) र खुट्टाका औँलाका भरमा हिँडिरहेको एक जना नोकरसँग उनीहरूको जम्काभेट भयो तर उनीहरू दुवैले यिनीहरू दुवैलाई वास्तै नगरेर अगाडि बढे । पियेरे र अन्ना मिखायलोभ्ना स्वागतकक्षमा प्रवेश गरे, जसको दुइटा इटालियाली झ्याल शीतल बगैँचातर्फ खुल्थे र, जसमा क्याथरिन महान्‌को बृहत्‌ वक्षस्थल भएको पूर्ण कदको छविचित्र टाँगिएको थियो । यो स्वागतकक्षको पियेरेलाई राम्रो जानकारी थियो । उनै मानिसहरू झण्डै पहिलेकै जस्तो अवस्थितिमा यहाँ बसेर आपसमा कानेखुसी गर्दै थिए । दु:ख र पीडाले लस्त भएकी र पहेँलो अनुहार लाएकी अन्ना मिखायलोभ्ना र उसको पछिपछि आइरहेको मोटो र हृष्टपुष्ट पियेरे प्रवेश गरेपछि सबै मौन भए र उनीहरूलाई हेर्न लागे ।

अन्ना मिखायलोभ्नाको अनुहारमा झल्केको चेतनाले यस्तो आभास दिइरहेथ्यो मानौँ निर्णायक घडी आइपुगिसकेको छ । पियेरेलाई एकदम आफूसँग नजिक राखेर अन्ना मिखायलोभ्ना पिटर्सबर्गकी एउटी कुशल व्यवहारिक महिलाजस्तै आज बिहानको । भन्दा पनि ठूलो साहस देखाउँदै कोठामा प्रवेश गरी । उसलाई यस्तो लागिरहेथ्यो मानौ मृत्युशैयामा पल्टेका काउन्टले भेट्न खोजेको व्यक्तिलाई आफूसँग ल्याएकी हुँदा उसलाई कसैले छेक्न सक्ने छैन । बैठकमा बसेका सबैलाई छिटोछिटो हेर्दै र काउन्टको पादरीलाई पनि त्यहाँ देखेपछि नझुकिकन अलिअलि ढल्कँदै तर अचानक सानी हुँदै ऊ लस्केर पादरीसमक्ष पुगी र उसले सम्मानपूर्वक पहिले एउटाको र त्यसपछि अर्को पादरीको आशीर्वाद ग्रहण गरी ।

“भगवानका कृपाले हामीहरू समयमै आइपुग्यौं,” उसले एक जना पादरीसँग भनी, “हामी नातेदारहरू सबै ठूलो चिन्तामा थियौँ । यो तन्नेरी केटो काउन्टको छोरा हो,” उसले झन्‌ नरम हुँदै भनी । “कस्तो भयङ्कर डरलाग्दो क्षण हो ।”

यति भनेर ऊ डाक्टरसमक्ष गई ।

“डाक्टर साहेब,” उसले भनी, “यो तन्नेरी केटो काउन्टको छोरा हो ।” “काउन्टको बाँच्ने आशा छ कि छैन?”

डाक्टरले छिटोछिटो माथितिर हेर्यो र बोल्दै नबोली आफ्नो कुम जुर्क्यायो। अन्ना मिखायलोभ्नाले पनि उही गतिमा आफ्नो कुम जुर्क्याई र आफ्ना आँखा छोपेर माथितिर हेरी, लामो सास फेरी र डाक्टरबाट हटेर पियेरेसँग आई । उसले विशेष आदर र स्नेहपूर्ण तर उदास आवाजमा पियेरेलाई सम्बोधन गरी :

“भगवानलाई विश्वास गर । उसले पियेरेलाई भनी र यहाँ बसेर मलाई पर्ख भन्दै एउटा सानो सोफा देखाई । र त्यसपछि विस्तारै ऊ ढोकातिर बढी, जहाँ सबैका नजर गडेका थिए । र ऊ भित्र छिरेपछि कर्याक्क आवाज गर्दै ढोका बन्द भयो ।

सबै कुरा निर्धक्कसँग आफ्नो पथप्रदर्शिकाको आदेशानुसार गर्ने विचार गरेको पियेरे उसले देखाएको त्यो सानो सोफातिर बढ्यो । अन्ना मिखायलोभ्ना काउन्टको कोठाभित्र पस्नेबित्तिकै पियेरेले यस्तो महसुस गर्यो कि बैठककोठामा उपस्थित सबै मानिसहरू उत्सुकता र सहानुभूतिभन्दा पनि फरक किसिमले प्रति नजर लगाइरहेछन्‌ । उसले देख्यो उनीहरू एक प्रकारको डर र चापलुसीको दृष्टिले पनि उसलाई हेर्दै आपसमा कानेखुसी गरिरहेछन्‌ । ऊप्रति यस्तो आदर गरिएको उसले यसअगि कहिल्यै अनुभव गरेको थिएन । पुरोहितहरूसँग कुरा गरिरहेकी एउटी अपरिचित महिला जुरुक्क उठी र आफू बसेको कुर्सीमा उसलाई बस्न अनुरोध गरी । सैनिक प्रशासकको पार्श्ववर्तीले उसको हातबाट खसेको पन्जा भुइँबाट उठाएर उसलाई दियो । उ डाक्टरहरूको समीपबाट हिँड्दा उप्रति सम्मान प्रकट गर्दै उनीहरू चुपचाप लागे र उसलाई बाटो दिन एक छेउतिर हटे । पहिले त पियेरेले उक्त महिलालाई दु:ख होला भन्ने ठानेर अर्को ठाउँमा गएर बस्ने विचार गर्यो । र पन्जा पनि आफैले उठाउने विचार गर्यो र डाक्टरहरूको नजिक हुँदै त्यहाँबाट निस्कन खोज्यो जो त्यसै पनि उसको बाटोमा आएका थिएनन्‌ । तर तत्काल उसले यस्तो गर्नु अशिष्टता प्रकट गर्नुजंस्तै हुन्छ भन्ने सोच्यो । उसले सोच्यो कि आजको रात ऊ सबैको सामु एक किसिमको डरलाग्दो र अपूर्व आचार प्रदर्शन गर्नु पर्ने व्यक्ति हो किनभने सबैले उसबाट यही अपेक्षा, गरिरहेका छन्‌ र त्यसैले उसले सबै सेवाप्रदायकहरूको सेवा स्वीकार, गर्नै पर्दछ । उसले चुपचाप लागेर सैनिक प्रशासकको पार्श्ववर्तीको हातबाट पन्जा लियो र मिश्र देशको मूर्तिजस्तै सोझो अङ्गविन्यासमा आफ्ना लामालामा पाखुरा घुँडामाथि टेकाएर उक्त महिलाले खालि गरिदिएको कुर्सीमा गएर बस्यो । र मनमनमा सबै थोक यस्तै हुनु पर्छ भन्ने सोच्यो । र उसले यस्तो सोच्यो आफ्नो बुद्धिले काम नगरेर आफ्ना उपदेशक तथा निर्देशकहरूले जे जे भन्छन्‌ त्यही त्यही गर्नु पर्दछ ।

दुई मिनेट पनि भएको थिएन राजकुमार भासिली सानसँग टाउको ठाडो पार्दै, बैठक कोठाभित्र प्रवेश गर्यो । उसले छातीमा तीनवटा तारा जडेको ओभरकोट लगाएको थियो । बिहानदेखिको धपेडीले गर्दा ऊ गलेको थियो । यता उति आँखा लगाउँदै पियेरेलार्इ देखेपछि उनले पहिलेको भन्दा आफ्नो आँखा ठूल्ठूला पारे । उनी पियेरेसँग गए, उसको हात समात्यो (जो यसअगि उसले यस्तो कहिल्यै गरेको थिएन), र तलतिर, तान्यो मानौँ उनले यो जान्न चाहेका थिए कि पियेरे यहाँ कत्तिको बलियो भएर आएको छ ।

“हिम्मत चाहिन्छ भाइ, हिम्मत गर । उहाँले तिमीलाई बोलाउनु भन्नु भएको छ र यो राम्रै कुरा हो,” यति भन्दै ऊ त्यहाँबाट हिँड्न लाग्यो ।

तर पियेरेले यो सोध्न जरुरी, ठान्यो “उहाँलाई अहिले कस्तो छ?” र ऊ सशंकित भयो, मर्न लागेका बुढा मानिसलाई “काउन्ट” भनेर सम्बोधन गर्न उचित हन्छ वा हुँदैन उसले केही भन्न सकेन र, बाबु भनेर सम्बोधन गर्न पनि उसलाई लाज लाग्यो ।

“आधा घन्टाअगि उहाँलाई फैरि मुटु हान्यो । तर हिम्मत नहार भाइ, धैर्यले काम लिनु पर्छ ।”

पियेरेको दिमाग अहिले यति भर्माएको थियो । “हान्नु” शब्दलाई उसले कुनै चिजले प्रहार गर्नु भन्ने अर्थमा लगायो । उसले एकदम आत्तिँदै राजकुमार भासिलीलाई हेर्यो । र एकछिनपछि बल्ल उसले हान्नु भनेको मुटुको रोग रहेछ भन्ने बुझ्यो । राजकुमार भासिलीले हिँड्दाहिँड्दै डाक्टर लोरेनलाई केही भन्यो र औँलाका बलमा हिँड्दै कोठाभित्र पस्यो । यो चालमा ऊ राम्ररी हिँड्न सकेन । यसरी हिँड्दा प्रत्येक पाइलामा उसको पूरै शरीर बाँउडिन्थ्यो । जेठी राजकुमारी उसको पछि लागी त्यसपछि केही पादरी, पुरोहितहरू र केही नोकरचाकरहरू पनि काउन्टको कोठाभित्र पसे । यस कोठाको ढोका पछाडिबाट एउटा सानोसानो आवाज, आएको सुनियो र अन्त्यमा पहिलेजस्तै पहेँलो तर कर्तव्यपालन गर्न दृढ सङ्कल्पित अनुहारका साथ अन्ना मिखायलोभ्ना दगुर्दै आई र विस्तारै पियेरेको हात समातेर भनी : “भगवानको दया अनन्त र असीम छ । तेल लगाउने संस्कार सुरु हुन लागेकोछ । ल आऊ, हामीहरू पनि जाऔँ ।” नरम नरम कार्पेटमा टेक्दै पियेरे काउन्टको कोठाभित्र पस्यो र उसले त्यो अपरिचित महिला, सैनिक, प्रशासकको पार्श्ववर्ती र केही नोकरहरू पनि आफ्नो पछिपछि आएर भित्र छिरेको देख्यो मानौँ अबदेखि त्यस कोठाभित्र पस्न कसैले पनि प्रवेशाज्ञा लिनु पर्ने आवश्यकता छैन ।