सानै उमेरदेखि बालसाहित्य ज्यादै रूचाउने क्रिस्टिन वटनले रोआल्ड डाल पनि पढ्दै आइरहेकी थिइन् । डालका केही पुस्तक पढेपछि भने उनलाई लाग्यो- यी साहित्यमा हिंसाको मात्रा बढी भएको छ । यस्ता साहित्यबाट बालबालिकाले हिंसा सिक्दैनन् र ?
यस्ता कुरा दिमागमा बढ्दै गएपछि उनले २० वर्षको उमेरमा मन परेका लेखक डाललाई सोही जिज्ञासा लेखी पठाइन् । बाल साहित्यमा लेखिएका जुनसुकै कुराले बालबालिकाको दिमागलाई भ्रष्ट बनाउँदैन त ?
डालले सो प्रश्नको जवाफ उनको निधनको केही समयअघि लेखी पठाएका थिए । सो प्रश्नको उत्तर यसअघि कतै पनि प्रकाशित नभएको सार्वजनिक गर्ने ती महिला क्रिस्टिन वटनले बताएकी छन् । उनी हाल एउटा पुस्तकालयमा लाइब्रेरियनको पदमा कार्यरत छिन् ।
डालले यस्ता प्रश्नको विरलै उत्तर दिने गर्थे तर यो प्रश्नमाथि उनलाई घोत्लिन बाध्य पार्यो । त्यसैले जवाफका रूपमा लेखे- ‘जुनसुकै बाल साहित्यको कन्टेन्ट त्यति ठूलो कुरा होइन, जति त्यसले प्रभाव पार्छ । त्यसले उनीहरूलाई
डोर्याउँछ । त्यसमा मग्न बनाउँछ । यही मग्नता, यही मुग्धताले उनीहरू त्यस साहित्यप्रति हुरूक्क हुन्छन् । पढिएका कुराबाट प्रेरित भएर हिंसा हुने होइन । हिंसा प्रवृत्तिगत कुरा हुन् । सबै पढाकूले पढेका कुरा लागू गर्दैनन् । सबै व्यक्तिमा उही स्तरको सोच हुँदैन । उही स्तरको प्रभाव पनि पर्दैन । त्यसैले हिंसात्मक विषयका साहित्य पढेर कसैले हिंसा गर्दैन । नत्र त हिंसात्मक साहित्य पढ्ने हरकोही अपराधी हुनुपर्ने हो, पढेअनुसारकै अपराध गर्दै हिँड्नुपर्ने हो । बरू के चाहिँ हो भने गम्भीर किसिमले पढ्नेहरू नपढ्नेभन्दा स्मार्ट हुन्छन् । उनीहरूलाई कुनै पनि विषयवस्तुको गहिरो जानकारी हुन्छ । त्यसैले साहित्य पठनमा रूचि भएका बालबालिकाहरूले पछिका जीवनमा धेरै राम्रो काम गर्ने सम्भावना ज्यादा हुन्छ ।’
२० वर्षको उमेरमा क्रिस्टिन साहित्य र भाषाविज्ञान पढिरहेकी थिइन् । त्यसैले उनको मनमा अपराध साहित्य र पाठकको आपराधिक मनलाई उच्काउने तत्त्व त बन्दैन भन्ने मनमा जिज्ञासा पलाएको थियो । त्यसैगरी बालबालिकाले पढ्ने विषयवस्तुमा जब आपराधिक कुराहरू हुन्छन् र तिनलाई पढ्छन्, उनीहरूमा आपराधिक मनोविज्ञान बढेर पो जाला कि ?
डालको यो उत्तर समेटिएको चिठ्ठीका बारेमा सार्वजनिक रूपमा थाहा हुनुको कारण चाहिँ क्रिस्टिनले यसलाई डाक बढाबढमा राख्नु हो । हान्सन्स अक्सनर्सले यसलाई बेच्ने अधिकार प्राप्त गरेको छ ।
यसको शुरूवाती मूल्य ८ सय पाउन्ड राखिएको छ र आउँदो जुन महिनामा यसको डाक बढाबढ हुने बताइएको छ ।
साहित्यकार डालले जीवनभर आफ्नो साहित्यमा कुनै पनि किसिमको सन्देश नघुसाउने बताउँदै आएका थिए । उनी आफूले बालबालिकाको मनोरञ्जनका लागि साहित्य लेखिरहेकोमा जोड दिने गर्थे । उनले मनोरञ्जनमा जोड दिनुको कारण चाहिँ एक पटक किताबमा छिरेपछि उनीहरू त्यसको लतमा परून् भन्ने चाहन्थे । त्यसैले आफ्ना पुस्तकमा फेन्टासीको मात्रा बढी हुने उनको धारणा थियो ।
डाक बढाबढ कम्पनी हान्सन्सका कार्यकारी जिम स्पेन्सर भन्छन्, ‘डालको यो चिठ्ठीले उनको सिर्जनशीलता र शिल्पका बारेमा गहिरो ज्ञान दिएको छ ।’
डालका सबैभन्दा बढी बिक्री भएका १० बाल पुस्तक
१. चार्ली एन्ड द चकलेट फ्याक्ट्री
२. द बिएफजी
३. जर्जेज् मार्वलस मेडिसिन
४. माटिल्डा
५. जेम्स एन्ड द जायन्ट पिच
६. द विचेज्
७. ड्यानी द च्याम्पियन अफ द वर्ल्ड
८. फन्ट्यास्टिक मि. फक्स
९. द म्याजिक फिङ्गर
१०. द ट्विट्स
यो सूची अमाजन डट युकेले हरेक वर्ष हुने पुस्तकहरूको बिक्रीका आधारमा तयार पारेको हो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।