
एडिनबर्ग विश्वविद्यालयले हरेक वर्ष प्रदान गर्ने १० हजार पाउन्ड रकमको साहित्य पुरस्कारको छोटो सूची जारी गरेको छ ।
सय वर्षभन्दा बढी अघि सन् १९१९ मा यो पुरस्कारको स्थापना गरिएको थियो ।
आख्यान र जीवनी विधाका लागि प्रदान गरिने जेम्स टेइट ब्ल्याक प्राइज वर्षभरि प्रकाशित पुस्तकहरूका लागि दिने गरिन्छ ।
विजेताको नामावली आउँदो अगस्त महिनामा घोषणा गरिने द टाइम्स पत्रिकाले लेखेको छ ।
यो अवार्ड बेलायतका प्रमुख पुरस्कारमध्येमा गनिइन्छ । पुरस्कारलाई साहित्यका स्कलर, विद्यार्थी तथा विश्वविद्यालयका बोर्डले संयुक्त रूपमा निर्णय गर्ने गर्दछन् ।
पुस्तकको छोटो सूचीमा यस पटक चार पुस्तक छानिएका छन् । फिक्सन (आख्यान) विधामा डिमा एल्जायातको एलिगेटर एन्ड अदर स्टोरिज, जेनिफर नानसुबुगा माकुम्बीको द फर्स्ट वुमन, लिडिया मिलेटको अ चिल्ड्रेन्स बाइबल तथा सोला भन रेनहोल्डको लोटे परेका छन् ।
यसैगरी जीवनी विधाका लागि केट लुलागरको द वारियर, द भोयेजर एन्ड द आटिस्टः थ्री लाइभ्स इन एन एज अफ एम्पायर, डोरिन नि ग्रिफाको अ गोस्ट इन द थ्रोट, सुधीर हजारी सिंहको ब्ल्याक स्पार्टाकसः द इपिक लाइफ अफ टसेन्ट लुभर्चर तथा रेबेका सल्निटको रिकलेक्सन अफ माइ नन एक्जिस्टेन्स परेका छन् ।
आख्यानतर्फका प्रमुख निर्णायक डा. बेन्जामिन बेटम्यानले छानिएका यी आख्यान उत्कृष्ट आङ्ल साहित्यका साँच्चिकै मिठा उपहार भएको बयान दिएका छन् ।
जीवनी विधाका निर्णायक डा. सिमोन कुकले जीवनी विधाका एक से एक पुस्तक छानिएर आएको टिप्पणी गरेका छन् ।
पुरस्कारको सबैभन्दा रोचक पक्ष के छ भने यस पटकको पुस्तक नामांकनमा एक जना मात्र पुरूष छोटो सूचीमा परेका छन् ।
पुरस्कृत प्रत्येक पुस्तकले १०-१० हजार पाउन्ड नगद हात पार्ने छन् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२८ जेष्ठ २०८३, बिहीबार 










