
आधा घण्टापछि मुकेश, अशोक र पिङ्की मेडम किनमेल सकेर मलबाट हातमा झोलाहरू लिएर बाहिर निस्के । मैले दौडेर गएर उनीहरूको झोला ल्याएर पछाडि डिक्कीमा राखेँ र हतार हतार ड्राइभरको सिटमा बसेँ र भव्य अपार्टमेन्ट बिल्डिङमा १३ औँ तलामा रहेको उनीहरूको नयाँ घरतिर लिएर गएँ । अपार्टमेन्ट बिल्डिङगको नाम बकिङघम टावर B ब्लक थियो । यो त्यस्तै अर्को ठूलो आवास कम्पनीले बनाएको बकिङ्घम टावर B ब्लक भन्ने महलकै छेउमा थियो | त्योभन्दा पर विन्डसोर म्यानर A ब्लक थियो । आँखाले भ्याउनेसम्म त्यहाँ यस्तै नयाँ, झलमलाउँदा अग्ला अङ्ग्रेजी नाम भएका भवनहरू थिए । यिनीहरूमध्ये बकिङघेम टावर B ब्लक उत्कृष्ट थियो । यसको भित्र ठूलो प्रतीक्षालय अनि लिफ्ट थियो–जसले हामी सबैलाई तेह्रौँ तल्लासम्म पुर्याउँथ्यो |
म आफूलाई चाहिँ अपार्टमेन्ट खासै मन परेन | पूरै अपार्टमेन्ट धनबादको भान्साजत्रो थियो । भित्र नरम सोफाहरू थिए र सोफाको माथिपट्टि भित्तामा ठूलो फ्रेममा कुकुरका फोटाहरू टाँगिएका थिए । भुँडीफोरले गाउँबाट कुकुरहरू हामीसँगै ल्याउन दिएको थिएन ।
म ती कुकुरहरूको फोटो पनि देखिसहन्नथेँ । त्यसैले म कोठामा हुँदा कार्पेटतिर हेरेर बसिरहन्थेँ । यसको फाइदा के थियो भने शिर झुकाएर बसेपछि पक्का नोकरजस्तो पनि देखिइन्थ्यो ।
“बलराम झोलाहरू तिमीलाई जहाँ मन लाग्छ त्यहीँ राख ।’
“होइन होइन । त्यहाँ टेबलको छेउमै राख । अन्त होइन ।” न्याउरीले भन्यो ।
झोला राखिसकेपछि केही सरसफाइको काम बाँकी छ कि भनेर म भान्सामा गएँ । अपार्टमेन्टको रेखदेख गर्ने एउटा भान्छे थियो तर ऊ अलि भावुक खालको थियो । मैले अघि नै भनिसकेको छु कि उनीहरूको ड्राइभर हुँदैनथ्यो । मात्र नोकर हुन्थ्यो जसले परिआए कार चलाउँथ्यो । कसैले नभने पनि मलाई थाहा थियो कि अपार्टमेन्टको हेरविचार गर्नु मेरो पनि काम हो । केही सरसफाइको काम भए गर्थे र मुकेशजीले “ल भयो जा । बिहान आठ बजे तयार बस्नू । यताउता गर्ने होइन नि, यो सहर हो, गाउँ होइन ।” नभनेसम्म हात दोबारेर ढोकामै उभिन्थेँ ।
अनि म लिफ्टबाट तल झर्थेँ, बाहिर निस्कन्थेँ अनि सबैभन्दा तल रहेको नोकरहरूको सुत्ने ठाउँमा जान्थे ।
तपाईँको देशमा भवनहरू कसरी बनाइन्छ, मलाई थाहा छैन, तर भारतमा त प्रत्येक अपार्टमेन्ट ब्लक, प्रत्येक घर, प्रत्येक होटलमा नोकर बस्ने छुट्टै ठाउँ बनाइन्छ । यो पछाडिपट्टि हुन, पनि सक्छ । बकिङ्घम टावर B ब्लकको जस्तै जमिनमुनि पनि हुन सक्छ । जहाँ गज्याङ्गमज्याङ्ग जोडिएका कोठाहरूमा ड्राइभरहरू, कुकहरू, झाडुवाला, कामदार महिलाहरू, सेफहरू थकाइ मार्छन्, पर्खिन्छन् र सुत्छन् । जब मालिकहरू हामीलाई बोलाउँथे, पूरै क्वार्टरभरि एउटा घण्टी बज्थ्यो । अनि हामी दौडेर कुन नम्बरको अपार्टमेन्टको नोकरलाई माथि बोलाइएको, हो बुझ्न कुन नम्बरको बत्ती बलेको हो हेर्न जान्थ्यौँ ।
मैले दुईतला भर्याङ झरेर नोकरको क्वार्टरको ढोका धकेलें। म भित्र पस्नेबित्तिकै सबै नोकहरू चिच्च्याउँदै मूर्च्छा परेर हाँस्न थाले ।
अरू सँगै बसेर सबैभन्दा चर्को त त्यही दुबीओठे हाँसिराथ्यो । मैले सोधेको सबै कुरा उसले अरू सबैलाई सुनाएछ । उनीहरूलाई त्यो खुबै रमाइलो लागेछ । एकएक गर्दै उनीहरू आएर मेरो कपाल चलाउँदै, धाप मार्दै भन्थे, “गाउँले मूर्ख, बिचरा !”
नोकरले अरू नोकरसँग अपशब्द नै बोल्नुपर्छ । हामीलाई यही सिकाइएको हुन्छ जसरी एलसेसन कुकुरलाई नचिनेको मान्छे टोक्न सिकाइन्छ । चिनेजानेकोलाई त हामी गाली नै गर्छौ |
त्यतिबेला नै मैले मनमा सोचेको कुरा अबदेखि यो दिल्लीमा कसैलाई नभन्ने निर्णय गरेँ । अरू जे भए पनि नोकरलाई चाहिँ नभन्ने ।
हामी आआफ्नो खाटमा सुत्न जाने बेलासम्म साँझदेखि रातिसम्म उनीहरूले मलाई गिज्याइरहे- घरी मेरो अनुहार, घरी नाक, घरी दाँत, घरी के मलाई थाहा छैन उनीहरूलाई के अनौठो लागेछ । मेरो पोसाकलाई पनि जिस्क्याए । सहरमा ड्राइभरको पोसाक हुँदैन । त्यो पोसाकमा म बाँदर जस्तो देखिएँ रे । त्यसैले मैले मैलो उनीहरूको जस्तै सर्ट र पाइन्ट फेरेँ तर पनि उनीहरूले रातभर गिज्याउन छोडेनन् ।
बिहान कोठा बढार्ने मान्छेलाई सोधेँ, “यहाँ कुनै एकान्त ठाउँ छैन ?”
“क्वाटरको पल्लोपट्टि एउटा खाली कोठा छ, तर कसैले मन पराउँदैन ।” उसले भन्यो । “एक्लै को बस्छ र ?”
त्यो डरलाग्दो कोठा रहेछ।
भुइँ प्लास्टर गरिनसकेको र सस्तो खालको रङको प्लास्टर गरेको अनि भित्तामा प्लास्टर गर्ने मान्छेको हातको डाम बसेको रहेछ । म पनि नअटाउने जस्तो पातलो बिस्तरा र माथि मच्छरदानी झुन्डेको रैछ । यो भए चल्छ ।
दोस्रो रात म पैलाको ठाउँ छोडेर त्यहीँ सुत्न गएँ । भुइँ बढारेँ, चारवटा भित्तामा काँटी ठोकेर झुल टागेँ र सुतेँ । मध्यरातमा पो बल्ल थाहा पाएँ कि त्यो झुल त्यहीँ किन छोडेको रैछ । हल्लाले म उठेँ । भित्ताभरि साङ्लैसाङ्ला । सायद तिनीहरू कुनै खनिज रसायन वा प्लास्टरमा रहेको चुनढुङ्गा खान आएका थिए | तिनीहरूले चपाइरहँदा लगातार आवाज आउने । जताततै भित्ताभरि तिनीहरूकै लामो लामो जुँगा हल्लिरहेको देखिन्थ्यो । केही साङ्लाहरू झुलमाथि हामफाले । सेतो झुलभित्रबाट तिनीहरुको कालो शरीर देखिन्थ्यो । एउटालाई मैले झुलभित्रै पोको पारेर कच्याककुचुक पारिदिएँ । अरू साङ्लाले वास्तै गरेनन् । झुलमा हाम फाल्दै जान्थे, मैले कच्याककुचुक पार्दै जान्थेँ । मैले सोचे- यो सहरमा बस्ने सबै यी साङ्लाजस्तै मूर्ख हुन्छन् । मलाई हाँसो उठ्यो अनि फेरि सुतेँ ।
बिहान ट्वाइलेट (जुन साझा थियो) जाँदा सबैले जिस्काएर भने- “साङ्लासँग कसरी रात बिताइस् त, ए ?”
मेरो सबैसँग एउटै कोठामा फेरि सुत्न जाने हो कि भन्ने सोचाइ जुन थियो, त्यसको अन्त्य भयो । साङ्लैसाङ्लाले भरिएको भए-पनि कोठा मेरो मात्रै थियो । कसैले त्यहाँ जिस्काउदैनथ्यो । एउटा बेफाइदा के थियो भने त्यहाँ घण्टीको आवाज सुनिँदैनथ्यो, तर मैले पछि थाहा पाएँ यो पनि यौटा फाइदै हो ।
बिहान, दिसा गर्न, मुख धुन, नुहाउन पालो कुरेर बसेर सबै काम सकेपछि म एक तलामाथि जाग्थेँ र होन्डा सिटी पार्किङ गरेको ठाउँमा पुग्थे । चिसो नरम कपडाले कारभित्र बाहिर पुरै पुछनुपथ्यों र ड्यासबोर्डभन्दा अलि माथि झुन्डेको धनकी देवी लक्ष्मीको मूर्ति छेउमा धूपबत्ती बालेर राख्नुपर्थ्यो । यसको दोहोरो फाइदा थियो । एक : रातमा भित्र छिरेका लामखुट्टेलाई भगाउने र दोस्रो : कारभित्र धर्मको बास्ना छर्ने । मैले ती नरम टल्किने छालाका सिटहरू र डायलहरू पुछेँ । तल राखिएको छालको चकटीहरू बाहिर निकालेर घुलो टकटक्याएँ । ड्यासबोर्डमा चुम्बक भएका कालीका मूर्ति अङ्कित तीनवटा स्टिकरहरू थिए । मैले रामप्रसादका सबै स्टिकरहरू फ्यालिदिएर तिनलाई राखेको थिएँ । सबै पुछेँ । एउटा डरलाग्दो देखिने जिब्रोबाहिर निकालेको कालीको मूर्ति पछि हेर्ने ऐनाको सिक्रीको छेउमा झुन्डिरहेको थियो | यसलाई लच्छिनको प्रतिमा मानिन्थ्यो । गाडी चल्दा यो तलमाथि हल्लेको मुँडीफोरलाई खुबै मन पर्थ्यो । मैले राक्षसरूपी प्रतिमालाई मुखमा हालें र टिलिक्क पारेर पुछेँ । अब बाँकी काम कारको पछि राखिने सानो बाकसमा टिस्यु पेपर छ कि छैन हेर्नु थियो । वास्तवमा यो बाकस कुटले बनेको थियो तर बुट्टा कुँदिएको, झिलझिले कागज टाँसिएको कुनै राजसी वस्तुजस्तो देखिन्थ्यो । नयाँ टिस्यु ल्याएँ र त्यसमा राखेँ । प्रत्येक पटक बाहिर जाँदा पिङ्की मेडमले दर्जनौँ टिस्युपेपर सिध्याउँथिन् र भन्थिन् दिल्ली साह्रै प्रदूषित छ । उनले च्यातिएको र कच्याककुचुक पारेको टिस्यु सबै त्यहीँ बाकसको छेउमा छोडेकी रैछन् । मैले सबै टिपेर बाहिर फाल्नु पर्यो ।
विद्युतीय घण्टी कार पार्कमै सुनियो । लबीबाट माइक्रोफोनमा कसैको आवाज आयो, “ड्राइभर, बलराम । कृपया कार लिएर गएर बकिङ्घम B ब्लकको गेटमा, खबर गर्नू ।”
अब मैले होन्डा सिटीमा बसेर बाहिर निस्केर सूर्यको पहिलो किरण देख्ने भएँ । मालिकहरू महँगो सुटमा ठाँटिएर; गेटमै उभिएर हाँस्दै गफिँदै थिए । जब उनीहरू कारमा बसे, न्याउरीले, भन्यो, “बलराम, काँग्रेस पार्टीको केन्द्रीय कार्यालय लिएर हिँड् । हामी अस्ति पनि गएको हो । तँलाई याद होला । मलाई आशा छ, आज त हराउँदैनस् !”
“आज म तपाईँलाई निरास पार्दिनँ । ढुक्क हुनुहोस् । दिल्लीको कार्यालय समयको भिड । कार, स्कुटर, मोटरसाइकल, टेम्पु, थोत्रा ट्याक्सी, थोरै ठाउँका लागि तँछाडमछाड । प्रदूषण यति धेरै छ कि मोटरसाइकल र स्कुटर चढ्ने सबैले रूमालले मुख छोपेका छन् । प्रत्येक रातो बत्तीमा रोकिँदा कालो: चस्मा र मास्क लगाएका मानिसको लाम यति देखिन्छ कि लाग्छ कि आज बिहान सहरका सबै मानिस बैङ्क लुट्न गएका रहेछन्, अहिले फर्कँदै छन् ।
मास्क लगाउनुको पछि राम्रो कारण रहेछ । तिनीहरू भन्छन् दिल्लीको हावा यति प्रेदूषित छ कि यसले मानिसको उमेर दसवर्ष घटाइदिन्छ । कारभित्र बस्नेले बाहिरको हावामा सास लिनै नपर्ने । साँच्चै हाम्रा लागि त चिसो, सफा, आनन्दको वातानुकूलित हावा । झ्यालको रङ्गीन सिसी बन्द गरेर धनी मानिसहरू कालो अन्डा जस्तो गाडीमा दिल्लीका सडकमा सुइकिन्छन् । घरिघरि त्यो अन्डा प्याट्ट खुल्छ । झ्यालबाट नाडीभरि सुनका चुरा भएका महिलाको हात बाहिर निस्कन्छ र रितो पिउने पानीको बोतल सडकमा फालिन्छ । सिसा फेरि माथि सर्छ र अन्डा पुनः बन्द हुन्छ ।
म मेरो विशेष अन्डालाई सहरको मुटुतिर लैजाँदै थिएँ । देब्रेपष्टि मैले राष्ट्रपति भवनको डोम देखेँ । त्यो ठाउँ, जहाँ यो देशको सबै महत्त्वपूर्ण कामहरू गरिन्छ । जब वायु प्रदूषण अति बढी हुन्छ त्यो भवन सडकबाट देखिँदैन, तर आज यो चम्किलो देखियो ।
दस मिनेटमा म काङ्ग्रेसको केन्द्रीय कार्यालमा पुगेँ । यो ठाउँ पत्ता लगाउन सजिलो छ, किनकि यसको बाहिरपट्टि सोनिया गान्धीको तस्बिर अङ्कित ठूला ठूला बोर्डहरू छन् ।
मैले कार रोकेँ र हतारहतार गएर अशोक र न्याउरीलाई ढोका खोलिदिएँ | बाहिर निस्केपछि अशोकले भने, “हामी आधा घण्टामा फर्किन्छौँ है ।”
म अलमल्ल परेँ । धनबादमा त उनीहरूले मलाई कति बेला फर्कने हो केही भन्दैनथे । हुन त यसको केही अर्थ छैन । उनीहरू दुई घण्टा या तीन घण्टापछि पनि आउन सक्थे । प्रस्टै छ उनीहरूले नचाहेर पनि यौटा आत्मीयता दर्साएका हुन्, किनकि हामी दिल्लीमा थियौँ, गाउँमा होइन ।
एउटा किसानहरूको समूह केन्द्रीय कार्यालयमा आयो, तर उनीहरूलाई पस्न दिइएन । उनीहरूले चर्कोचर्को स्वरमा -के के भने र गए । एउटा टिभीको भ्यान गेटमा आएर हर्न बजायो । उनीहरूलाई तुरून्तै भित्र जान दिइयो ।
मलाई हाई आयो । त्यो रातो जिब्रो भएको प्रतिमालाई प्याट्ट हिर्काएँ । त्यो : यताउता हल्लिरह्यो । मैले यताउता टाउको हल्लाएर त्यसैलाई हेरिरहे ।
मैले सोनिया गान्धीको ठूलो पोस्टरलाई हेरेँ । यस्तो लाग्थ्यो उनले एउटा हात उठाएर हल्लाउँदै मलाई अभिवादन गर्दै छिन् । मैले पनि अभिवादन फर्काए ।
फेरि हाइ गरेँ, आँखा चिम्लेर सिटमा लत्रक्क पल्टिएँ । एउटा आँखाले त्यो कालीको चुम्बकीय स्टिकरलाई हेरेँ । काली यौटा हेर्दै डर लाग्ने कालो शरीर भएकी, हातमा सानो तरबार लिएकी, मुण्डमाला लगाएकी देवी हुन् । मैले त्यो स्टिकर फेर्नुपर्ला कि भन्ने सोचेँ, किनकि उनी मेरी हजूरआमा जस्तै देखिन्थिन् ।
दुईघण्टा ढिलो गरी दाजुभाइ फर्किए ।
“बलराम अब हामी राष्ट्रपतिको निवास जाने हो । त्यो पहाडमाथि । ठाउँ त देखेको छ नि ?”
“हो हजूर मैले देखेको छु।”
यतिखेर मैले दिल्लीका हेर्न लायक धेरैजसो ठाउँहरू देखिसकेको थिएँ । मैले संसद् भवन, जन्तरमन्तर, कुतुबमिनार देखिसकेको थिएँ, तर यो सबैभन्दा महत्त्वपूर्ण ठाउँमा गएको थिइनँ । म उकालो बाटो हुँदै राइसिना हिलतिर लागेँ । प्रत्येक पटक रोकिँदा सुरक्षागार्डले गाडीको भित्र जाँच गर्थ्यो । अन्त्यमा मैले ठूलो डोम भएको राष्ट्रपति निवासको ठीक अगाडि गाडी रोकेँ ।
“बलराम गाडीमै बसेर पर्खिनू । हामी ३० मिनेटमा आउँछौँ ।”
पहिलो आधा घण्टा त मलाई कारबाट बाहिर निस्कनै डर लाग्यो । ढोका खोलें, बाहिर निस्केर चारैतिर हेरेँ । अनि सोचेँ मेरो चारैतिरका यी डोम र टावरको भित्र यो देशका सबै ठूला मानिस बसेका छन् | प्रधानमन्त्री, राष्ट्रपति, मन्त्रीहरू, प्रशासकहरू यहीँ बसेर छलफल गरिराख्या छन्, लेख्या छन्, कागज यताउता सारेका छन् । कोही भन्दै थियो, “त्यो बाँधलाई पचास करोड बजेट, बाफ रे ।” अर्को भन्दै थियो, “ठीक छ ल पाकिस्तानलाई ठोक्नू !”
मलाई त, “बलरामलाई नबिर्सनू है बलराम यहीँ छ ।” भन्दै चिच्च्याएर दगुर्न मन लागेको थियो ।
नचाहिँदो केही गरिएला र पक्राउ परिएला भन्ने डरले म कारभित्रै पसेँ ।
दुई दाजुभाइ भवनबाट बाहिर निस्कँदा अँध्यारो भइसकेको थियो । यौटा मोटो मान्छे उनीहरूसँगै आयो र उनीहरूसँग कार छेउ उभिएर एकछिन बोल्यो, हात मिलाई सकेपछि हामीलाई बिदाइ गर्यो ।
कार चढ्दा अशोकको अनुहार कालो रिसाएजस्तो थियो ।
न्याउरीले, “यौटा गल्ती नगरीकन घर लिएर हिँड् बुझिस् ?” भन्यो ।
‘हुन्छ हजूर ।’
उनीहरू चुपचाप बसे । म अलमल्ल परेँ | म राष्ट्रपतिको घरमा जाँदै,गरेको भए त झ्यालको सिसा तल झारेर बाटोमा हिँड्ने सबैले सुन्ने गरी भनिदिन्थेँ, “हेर है हाम्रो मालिक रिसाएका छन् ।”
“ए त्यो हेर त |”
“के त्यो ?”
“त्यो मूर्ति ।”
झ्यालबाट बाहिर हेरेको त मानिसहरूको समूह सहितको ठूलो ढलोटको मूर्ति देखेँ । यो यौटा प्रसिद्ध मूर्ति हो जुन तपाईँले दिल्लीमा पक्कै देख्नुहुन्छ । अगाडि लौरो टेकेका महात्मा गान्धी र पछि-पछि भारतका नागरिकहरू । यो अन्धकारदेखि उज्यालोसम्मको पैदल यात्राको नेतृत्व गान्धीले गरेका छन् ।
न्याउरीले छड्के नजरले मूर्तितिर हेर्यो ।
“यो के नौलो हो र ? मैले पैले पनि देखेकै हो ।”
“भर्खरै यौटा मन्त्रीलाई घुस ख्वाएर हामी गान्धीकै छेउबाट जाँदै छौ । यो पनि ठ्याँस्ने जोक त हो नि होइन त ?”
“तँ के त्यो तेरी स्वास्नी जस्तै बोलेको ?” न्याउरीले झर्किँदै भन्यो ।
“मलाई फोहोरी कसम खाने तरिका मन पर्दैन । यो हाम्रो परम्परामा निषेध छ ।”
अशोकको अनुहार रिसले यति रातो भाथ्यो कि बोली फुटिहाल्यो, “ठ्याँस्ने जोक, हाम्रो राजनीतिक प्रणाली । यस्तोलाई के भन्ने त ? म त मन लागुन्जेल भनिरहन्छु । ”
“भारतमा काम गर्न अलि जटिल छ, अशोक! बुझिस् ? यो अमेरिका होइन । तेरो मूल्याङ्कन अलि गोप्य राख् ।”



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१५ असार २०८३, सोमबार 








