उसको नीलो आँखा हसनतिर तेर्सियो । “अफगानिस्तान पास्तुनहरूको देश हो | सधैँ छ र भोलि पनि रहनेछ । हामी पक्का अफगानी हौँ, शुद्ध अफगानी, यो जस्तो नेप्टे होइन । यसका मान्छेले हाम्रो मातृभूमि, हाम्रो राष्ट्रलाई अशुद्ध पारेका छन्‌ | हाम्रो रगत फोहर पारेका छन्‌ ।” उसले बडो ठाँटले हात हल्लाएर बडारेको जस्तो इसारा गर्यो | “म भन्छु अफगानिस्तान भनेको पास्तुनहरूको हो । मेरो योजना यही हो ।”

असिफले फेरि मतिर हेर्यो । ऊ भर्खरै मीठो सपना देखेर ब्यूझेको मान्छे जस्तो देखिन्थ्यो । “हिटलरको लागि यो ढिलो भइसक्यो ।” ऊ भन्दै गयो, “तर हाम्रा लागि होइन ।”

उसले जीनको पछाडिको खल्तीमा केही छाम्यो । “राजाले गर्नलाई (quwat) हिम्मत नगरेको काम अब म राष्ट्रपतिलाई गर्न लगाउने छु । ती सबै फोहोरी(Kaseef) हजाराहरूबाटं अफगानिस्तानलाई मुक्त गराउने काम ।”

आफ्नै कामेको स्वरप्रति घृणा गर्दै भनेँ, “असिफ हामीलाई जान देर | हामीले तिम्रो केही बिगारेको छैनौं ।

“होइन तैँले मेरो पारो चढाएको छस्‌”, उसले भन्यो । उसले खल्तीबाट फुत्त केही निकालेको देखेपछि मेरो मुटु चिसो भयो | हो त त्यही स्टीलको चुच्चे औँठी घाममा टल्कियो । “तैँले मलाई साह्रै रिस उठाएको छस्‌ । वास्तवमा यो हजाराले भन्दा तैँले बढी रिस उठाएको छस्‌ । तँ यो सँग खेल्न, बोल्न कसरी सकेको, यसलाई छुन दिन कसरी सकेको ?” घृणा भरिएको स्वरमा भन्यो | बली र कमालले सहमतिमा टाउको हल्लाए र गर्जिए | असिफले टाउको हल्लायो । निधार खुम्च्यायो । अनि जब बोल्यो उसको आवाज पनि हेराइजस्तै अलमल्ल थियो । “तैँले यसलाई साथी भन्न कसरी सकेको हौँ ?’

‘तर ऊ मेरो साथी होइन ।’ झन्डै मुखबाट फुत्केको । ‘ऊ त मेरो नोकर हो ! के मैले साँच्चिकै यस्तो सोचेको थिएँ त ? पक्कै थिइनँ । अहँ थिइनँ । म हसनसँग साथीको भन्दा पनि राम्रो व्यवहार गर्थे । आफ्नै भाइजस्तै ठान्थे, तर यदि त्यसो हो भने जब बाबाका साथीहरू आफ्ना छोराछोरीहरू लिएर हामीहरूकहाँ आउँदा किन म हसनलाई हामीहरूसँगै खेलाउन ,सक्तिनँ ? किन म हसनसँग वरिपरि कोही मान्छे नहुँदा मात्र खेल्थे ?

असिफले पित्तलको चुच्चे औँठी लगायो । मलाई खाउँला जस्तो गरी हेर्यो | “अमीर समस्याको कारण त हो । यदि तँ र तेरो बाउजस्तो मूर्खले यी मान्छेहरूलाई घरभित्र नछिराउने हो भने अहिले नै हामी यिनीहरूबाट मुक्त हुन्थ्यौँ । तिनीहरू आफ्नै ठाउँ हजारातमा गएर सडथे। अफगानीस्तानका लागि तँ कलंक हो ।”

मैले उसका बौलाएका आँखा हेरेँ र देखेँ ऊ साच्चै भन्दै थियो । ऊ साँच्चै मलाई चोट पुर्याउन चाहन्थ्यो । मुठ्ठी उचालेर मतिर जाइलाग्यो ।

मेरोपछि केही सल्बलायो । कर्के आँखाले हेर्दा देखेँ हसन छिट्टो निहुरियो र जुरुक्क उठ्यो | असिफको नजर मेरो पछि पर्यो र आश्चर्यले ठूलो भयो । मेरो पछाडि के भैराखेको थियो भन्ने देखेपछि कमाल र अलीको अनुहारमा पनि आश्चर्य भाव झल्कियो ।

पछि फर्किँदा हसनको गुलेलीसँग मेरो आमने सामने भयो । हसनले गुलेली सकेसम्म तन्काएको रहेछ । गुलेलीको कानमा ओखरजत्रो ढुङ्गा थियो । हसनले सीधै असिफको अनुहारमा निशाना साँधिरह्यो । रबर तन्काउँदा बल परेर उसको हात काम्यो र निधारमा चिट्चिट्‌ पसिना छुट्यो ।

“कृपया हामीलाई छोडिदिनोस्‌, अगा” भद्दा स्वरमा हसनले भन्यो । उसले असिफलाई “अगा” भनेर सम्बोधन गर्यो । मैले एकैछिन सोचेँ कि सधैँभरि दिमागमा पदीय पदीय मर्यादाको ख्याल गरेर जिउन कस्तो हुँदो हो ?

असिफले दाह्रा किट्यो । “त्यो तल राख त, ए खाते हजारा ।”

“कृपया हामीलाई छाडिदिनोस्‌, अगा”, हसन बोल्यो ।

असिफले मुसुक्क गर्दै भन्यो, “सायद तैँले देखिनस्‌, हामीहरू तीनजना छौँ र तिमीहरू दुईजना ।”

“के मतलब को इसारामा हसनले कुम हल्लायो | बाहिरको कुनै पनि मान्छेसँग हसन डराएजस्तो देखिँदैनथ्यो । हसनको अनुहार नै मेरो पुरानो सम्झनाहरू थिए र म उसको अनुहारमा आउने सामान्य परिवर्तन र अनुहारमा आउने प्रत्येक तरङ र उज्यालो जान्दथेँ । मैले देखेँ, ऊ डराएको थियो । एकदमै डराएको ।

“तपाईंले भनेको ठीकै हो, अगा, तर तपाईंले सायद देख्नु भएन मेरो हातमा गुलेली छ । अलिकति अगाडि बढ्नुभयो भने अब तपाईंको नाम असिफ ‘कान टोकुवा” बाट परिवर्तन भएर “कानो असिफ’ हुनेछ किनभने यो ढुङ्गाले तपाईंको देव्रे आँखा ताकेको छ । उसले मन भित्र डर लुकेको भएपनि यो यति निडर भएर भन्यो कि मैले पनि बल गरेरै सुन्न पर्यो ।

असिफले मुख बिगार्यो । बलि र कमालले अचम्म मान्दै मुखामुख गरे । कसैले उनीहरूको भगवानलाई चुनौति दिएको थियो । उसको मानहानी गरेको थियो । र, खपिनसक्नु त के भने त्यो व्यक्ति एउटा सुईखुट्टे हजारा थियो । असिफले गुलेलीको ढुंगो सीधा हसनलाई हेर्यो । उसले हसनको अनुहार नियालेर हेर्यो । हसनको अनुहारमा उसले जे देख्यो त्यसबाट ऊ विश्वस्त भयो कि हसन साँच्चै आफ्नो कदमप्रति गम्भीर छ र उसले डरले उठाएको मुड्की तल झार्यो ।

“तैँले मलाई चिन्याछस्‌, हजारा ?” गम्भीर स्वरमा असिफ बोल्यो ।

म धैर्यवान मानिस हुँ । यो यत्तिमै सकिँदैन, मेरो कुरा मान । उ मतिर फर्केर भन्यो, “तेरा लागि पनि यो यत्तिमै सकिएको छैन, अमीर । कुनै दिन म तँलाई मसँग एक्लै भिड्न बाध्य पार्ने छु ।’ असिफ एक कदम पछि सर्यो । उसका चेलाहरू पछि लागे ।

“तेरो हजाराले आज ठूलो भूल गर्यो, अमीर ।” उसले भन्यो । अनि उनीहरू फर्के र बाटो लागे । उनीहरू पहाडबाट तल झरेर गए र एउटा पर्खालमा छेलिए । मैले हेरेर बसेँ ।

“हसनले कामिरहेको दुवै हातले गुलेली कम्मरमा घुसार्न खोज्दै थियो । उसको मुख एकातिर बाउँडिए जस्तो भयो जुन ढुक्क हुँदाको मुस्कान भन्ने बुझिन्थ्यो।

सुर्वालको ठुना बाँध्न उसलाई पाँचपटक कोशिश गर्नपर्यो । आज काल निम्त्याइयो भन्ने चिन्ता र अब पक्कै पनि असिफ र उसको साथीले हामी हिड्ने बाटोको प्रत्येक मोडमा धराप थाप्नेछन्‌ भन्ने डरले हामी घर जाँदा एक आपसमा त्यति धेरै बोलेनौँ । उनीहरूले त्यसो गरेनन्‌ र त्यसले हामीलाई अलिकति राहत दिनु पर्थ्यौ तर दिएन, कत्ति पनि दिएन |

अर्को दुई बर्षसम्म काबुलमा सबैको ओठमा “आर्थिक विकास र सुधार शब्दहरू नाचिरह्यो । संवैधानिक राजतन्त्रलाई गणतन्त्रले विस्थापित गरियो र त्यसको नेतृत्व राष्ट्रपतिले गरेका थिए | एकैछिन पूनर्जीवन र उद्देश्य देशैभरि छायो । मानिसहरू महिला अधिकार र नयाँ प्रविधिको कुरा गर्थे ।

नयाँ नेता काबुलको राज दरबार (अर्ग) मा बस्थे तापनि धेरैजसो भागमा जीवन (पहिला जस्तै) यथास्थितिमै चलिरह्यो । मानिसहरू शनिबारदेखि बिहिबारसम्म काममा जान्थे र पिकनिक गर्नलाई शुक्रबार घार्घा तालको किनारको पार्कमा पघमानको बगैँचामा जम्मा हुन्थे । यात्रुहरूले भरिएका रडीचङ्गी बसहरू काबुलका साँगुरा गल्लीहरूमा गुड्थे । पछाडिको बम्परमा दुईतिर गोडा झारेर बसेको खलासीले मोटो काबुली स्वरमा ड्राइभरलाई दिशा निर्देशन गर्थ्यो । पवित्र रमादान सकिएपछि तीन दिनसम्म मानाइने ईदमा काबुलीहरू राम्रो नयाँ लुगामा ठाँटिएर आफ्नो आफन्त र परिवारजनसँग भेटघाट गर्थे । मानिसहरू अङ्गालो मारेर एक आपसमा चुम्बन गर्ने र “इद मुवारक’ वा “ह्याप्पी इद’ भन्दै शुभकामना आदानप्रदान गर्थे । बच्चाहरू उपहारहरू खोल्थे उमालेर रङ लगाएका अण्डासँग खेल्थे ।

आउँदो साल १९७४ को जाडोको सुरूमै जति बेला हसन र म आँगनमै हिउँको किल्ला बनाउँदै खेलिरहेका थियौँ, अलीले हसनलाई भित्र बोलाए । ‘हसन, अगा साहेब तिमीसँग केही कुरा गर्न खोज्नुभएको छ ।’ काखीमुनि हात राखेर, मुखबाट बाफ निकाल्दै उनी अगाडिको ढोकाछेक उभिइरहेका थिए ।

हसन र मैले मुस्कान साट्यौँ । दिनभरि उहाँले कति बेला बोलाउने हो भनेर हामी कुरी बसेका थियौँ | त्यो दिन हसनको जन्मदिन थियो | ‘बुबा कुरा के हो तपाईंलाई थाहा छ ? हामीलाई नभन्ने ?’ हसनले सोध्यो । उसको आँखा चम्किलो हुँदै थियो

खोइ के हो भन्दै अलीले भने, “अगा साहेबले मलाई केही पनि भन्नुभएको छैन |

“ह्या, अली भन न ।” मैले कर गरेँ | “के चित्रकलाको पुस्तक हो ? नयाँ पेस्तोल पनि हुन सक्छ, हगि ?”

हसन जस्तै अली पनि ढाँट्न सक्दैनथे । प्रत्येक बर्ष हसन र मेरो जन्मदिनमा बाबाले के किन्नुभएको छ भन्ने कुरा अलीले थाहा नपाएजस्तो गर्थे । प्रत्येक बर्ष उनको आँखाले धोका दिन्थ्यो र हामीले उनलाई फस्ल्याङ्ग-फुस्लुङ्ग पारेर त्यो थाहा पाउँथ्यौं, तर यसपालि चाहिँ यस्तो लाग्थ्यो उनी सत्य कुरा गर्दै थिए ।

बाबाले हसनको जन्मदिन कहिल्यै पनि बिर्सनु हुन्नथ्यो । अली वर्ष त उहाँले तरसनलाई उपहार के दिऊँ भनेर सोध्ने गर्नुहुन्थ्यो तर पछि छोडिदिजुभयो, किनभने हसन जहिले पनि कुनै उपहारको माग गर्न डराउँथ्यो, लजाउँथ्यो । एक साल उहाँले उसलाई जापानी खेलौना ट्रक किनिदिनुभयो र अर्को वर्ष बेट्रीले चल्ने रेल र त्यसंको लिकको सेट । अघिल्लो वर्ष बाबाले हसनलाई क्लिन्ट इस्टवुडले ‘द गुड, द ब्याड र द अग्ली’ फिलिममा लगाएको जस्तो काउवाई ह्याट दिएर छक्क पारिदिनुभयो । त्यो फिलीम हामीलाई सबैभन्दा मन पर्ने ‘द म्यागनीफिसेन्ट सेभेन’ भन्दा पनि मन परेको थियो | त्यो हिउँदभरि हसन र मैले त्यो ह्याट पालैपालो लगायौँ, र हिउँको डल्लोले हानाहान गर्दै हिउँको ढिस्कोहरू चढ्दा त्यो फिलिमको गीत घोक्रो सुक्ने गरी गाउँथ्यौं ।

अगाडिको ढोकामा पुगेपछि पञ्जा र हिउँले सेतै भएको वुट जुत्ता खोल्थ्यौँ । ओसारामा झर्दा बाबा एकजना खैरो सुट र टाई लगाएको तालु खुइले, पुड्को एक जुना इन्डिएन मानिससँग फलामे चुलोको छेउमा आगो तापेर बस्नुभएको थियो |

“हसन” मुसुक्क हाँस्दै मायालु स्वरमा हसनलाई बोलाउनुभयो । “ल भेट तेरो जन्मदिनको उपहारसँग’ । हसन र मैले मुखमुख गर्यौँ । कुनै उपहार बेरेको पोको त देखिएन । झोला छैन । खेलौना पनि छैन | अली हाम्रो अगाडि उभिइरहे अनि बाबा त्यही झ्याउरे भारतीय मान्छेसँग बसिरहनुभयो जो हेर्दा गणितको शिक्षक जस्तो लाग्थ्यो । त्यो खैरो सुटवाला भारतीयले हसनलाई हात दिँदै भन्यो, “मेरो नाम डा. कुमार । तिमीसँग भेट्दा म खुसी छु ।’ जिब्रो लर्बराउँदै भद्दा हिन्दी स्वरमा फारसीमा बोल्यो ।

“सलाम अल्लायाकुम’ मन नलाई नलाई हसनले भन्यो । उसले आदर पूर्वक शिर झुकायो, तर उसका आँखाले पछि उभिरहेको बाबु अलीलाई खोज्दै थिए । अली नजिकिए र हसनको कुममा हात अड्याए । सशंकित र त्रसित हसनका आँखासँग बाबाका आँखा जुधे । “मैले डा. कुमारलाई दिल्लीबाट बोलाएको छु | डा. कुमार प्लास्टिक सर्जन हुनुहुन्छ ।” बाबाले भन्नुभयो । “त्यो भनेको के हो ? तिमीलाई थाहा छ ?” त्यो भारतीय डा. कुमारले भने ।

‘थाहा छैन’ को इसारामा हसनले टाउको हल्लायो । सहयोगका लागि ऊ मतिर फर्कियो, मैले पनि ‘थाहा छैन’ को संकेत गर्दै कुम हल्लाएँ । मैले बुझेको त के भने सर्जनकोमा जाने भनेको त एपेन्डिसाइटिस हुँदा मात्र हो । मलाई यो थाहा थियो, किनभने अघिल्लो बर्ष मेरो एकजना सहपाठी त्यसकै कारण मरेको थियो र हाम्रो शिक्षकले भनेका थिए कि उसलाई सर्जनसँग भेटाउन ढिलो भएको थियो । हामीले अलीलाई हेर्यौँ, तर अली के सोच्दैछन्‌ बुझ्न झन्‌ गाह्रो काम हुन्थ्यो । उनका आँखाहरू सदा झैँ उत्सुक थिए, तर अली भद्र ।

“अँ मेरो काम भनेको शरीरमा केही कुरा जोडजाड गर्ने हो । कहिले काहीँ अनुहार पनि ।” डा. ले भने |

‘ए हो ?’ भन्दै हसनले डा. लाई, बाबालाई र अलीलाई पालैपालो हेर्यो । उसले आफ्नो खुँडे ओठ छाम्यो र फेरि भन्यो, “ए हो ?”

“मलाई थाहा छ यो अनौँठो उपहार हो ।” बाबाले भन्नुभयो ।

“तैंले त यो सोचेकै थिइनस्‌ होला, तर यो उपहार तँलाई सदाका लागि हुनेछ ।”

“ए हो ?” हसनले भन्यो । उसले ओठ चाट्यो, घाँटी सफा गर्यो र भन्यो,

“अगा, साहेब के यो —के यो ………..।”

“त्यो मामुली कुरा हो ।” डा. ले भने । “तिमीलाई कत्ति पनि दुख्दैन । म तिमीलाई एउटा औषधि दिन्छु अनि केही पनि थाहै हुँदैन ।’

“ए हो ?’ हसनले भन्यो । सन्तोषको सास लिँदै मस्कियो । ,थोरै भए पनि सन्तोष लिँदै भन्यो, अगा साहेब म डराएको होइन, मात्र म । हसनलाई मूर्ख बनाइएको हुन सक्थ्यो, तर मैले कुरा बुझेको थिएँ । मलाई थाहा थियो कि डाक्टरले दुख्दैन भनेको त मान्छे नआत्तियोस्‌ भनेर हो । अघिल्लो बर्ष मेरो लिङ्गछेदन, (circumcision) गरेको सम्झिँदा मेरो सातो जान्थ्यो । डाक्टरले मलाई पनि यस्तै गरी केही पनि हुँदैन भनेको थियो । अलिकति पनि दुख्दैन भनेको थियो | जब,राती अबेर नदुख्ने औषधिको असर सकियो यस्तो लाग्थ्यो मेरो लिङ्गमा कसैले बलेको कोइलाले डामेको छ । बाबाले मेरो लिङ्गछेदन गराउन म किन दश बर्ष नहुञ्जेलसम्म कुरेर बस्नुभयो, यो मेरो बुझाइभन्दा बाहिर थियो र यसका लागि म उहाँलाई कहिल्यै पनि माफी दिन सक्दिनँ ।

मलाई लाग्यो यदि मेरो पनि कतै दागसाग भैदिएको भए म पनि बाबाको सहानुभूति पाउँथे । यो त अन्याय नै भयो । हसनले बाबाको माया पाउन केही पनि गरेको थिएन । ऊ त खालि त्यही खुँडै ओठ लिएर जन्मेको थियो ।

अपरेशन सफल भयो | पहिलो पटक जब ब्याण्डेज (पट्टि) फुकाइयो हामी सबै अलिकति झस्कियौँ, तर डा. कुमारको निर्देशन अनुसार हाँसो थाम्यौँ । यो सजिलो थिएन, किनकि हसनको माथिल्लो ओठ घिनलाग्दो गरी सुनिएको थियो, आलो मासु जस्तो थियो | जब नर्सले हसनलाई ऐना दिइन्‌, मलाई लाग्यो हसन तर्सेर रूने छ । अलीले ऐना समातिदिए र हसनले बडो सोचमग्न भएर ऐनामा हेर्यो । नसुनिने आवाजमा उसले केही भन्यो, तर मैले बुझिनँ । मैले उसकै मुखमा कान थापेँ । उसले फेरि सुस्तरी भन्यो,

“तासाकोर ।” तपाईंलाई धन्यवाद ।
उसको ओठ बाङ्गियो अनि त्यतिखेर मैले बल्ल बुझेँ ऊ के गरिराखेको थियो । ऊ मुस्कुराउँदै थियो जसरी ऊ आमाको पेटबाट निस्कँदा गरेको थियो ।

सुनिन छाड्यो र लामो समयपछि घाउ सन्चो भयो । छिट्टै माथिल्लो ओठमा गुलाबी रङको बाङ्गो टेढो धर्को मात्र बस्यो । अर्को हिउँदमा त हल्का दाग मात्रै बाँकी रह्यो । यो आइरोनिक थियो किनभने त्यही हिउँददेखि हसन मुस्कुराउन नै छाड्यो ।