बेस्ट सेलर पुस्तक ‘बिकमिङ’को बिक्री बढाउनका लागि देशभरिका ३४ शहरमा हिँडेकी पूर्व अमेरिकी प्रथम महिला मिसेल ओबामाको सो यात्रा अब डकुमेन्ट्री फिल्मका रूपमा आएको छ । उनको सो डकुमेन्ट्रीलाई नेटफ्लिक्सले मे महिनाको पहिलो साता रिलिज गरेको हो ।
सन् २०१८ मा बजारमा आएको मिसेलको संस्मरणात्मक पुस्तक ‘बिकमिङ’ बजारमा आएको केही समयमै बेस्ट सेलरको हैसियत बनाएको थियो । पुस्तकले अमेरिकामा मात्र नभएर संसारभरि नै बिक्रीको कीर्तिमान बनाएको थियो । पुस्तक प्रकाशनको ६ महिनामा नै एक करोडभन्दा बढी बिक्री थियो ।
पुस्तक प्रवर्द्धनका लागि सन् २०१९ मा मिसेल ओबामाले अमेरिकाका विभिन्न शहरहरूको यात्रा गरेकी थिइन् । उनी जहाँ जहाँ गइन्, जो सित भेटिन्, ती सबै गतिविधिलाई डकुमेन्ट्री छायाँकार नाडिया हलग्रेनले खिचेकी थिइन् ।
‘बिकमिङ’ डकुमेन्ट्रीमा पुस्तकमा झैँ मिसेलको बालापन र हुर्काई, विवाह र परिवार तथा उनको ह्वाइट हाउस बसाइका बारेमा टिप्पणी गरेकी छन् ।
बाराक र मिसेलले नेटफ्लिक्ससँग सम्झौता गरी यसअघि दुई वटा वृत्तचित्रसमेत बनाइसकेका छन् । उनीहरूको निर्माण कम्पनी हाइयर ग्राउन्ड प्रोडक्सन्सले बनाएको ‘अमेरिकन फ्याक्ट्री’ले २०१९ को बेस्ट डकुमेन्ट्रीतर्फ ओस्कार अवार्ड हात पारेको थियो । हालै यही कम्पनीले बनाएको ‘क्रिप क्याम्पः अ डिएबिलिटी रिभोल्युसन’ले पनि राम्रै प्रतिक्रिया पाएको थियो ।
‘बिकमिङ’ डकुमेन्ट्रीले पनि राम्रो दर्शक पाउने अपेक्षा गरिएको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

