सिमोन द वुभाँ र जाँ पाल सात्र अघोषित श्रीमान्-श्रीमती थिए । वुभाँ प्रख्यात महिलावादी अभियन्ता थिइन् भने सात्रले दार्शनिकको परिचय कमाएका थिए । दुवैले बिहे गरेका थिएनन् तर सँगै बस्थे । दुवैले कसैलाई पनि कज्याउन खोजेनन् ।

जब सात्रले संसारभर ख्याति बटुल्दै जान थाले वुभाँले १९५४ ताका एउटा उपन्यास लेखेकी थिइन् । २१ वर्षको उमेरमा मृत्युवरण गरेकी स्कुलेजीवनकी सहपाठी जाजासँगको मित्रतालाई आधार बनाएर लेखिएको सो उपन्यास जसै सकियो, उनले सात्रलाई पढेर सुझाव दिन आग्रह गरेकी थिइन् । सात्रले उपन्यास रद्दी भएको प्रतिक्रिया दिएपछि वुभाँले प्रकाशन नगरी त्यत्तिकै राखेकी थिइन् ।

वुभाँको मृत्युको तीन दशकपछि भने फ्रान्सेली भाषामा लेखिएको ‘द इनसेपरेबल’ उपन्यास प्रकाशन हुने भएको छ । फ्रान्सेली प्रकाशन गृह एडिसन्स डि हर्नले यसलाई बजारमा ल्याउने भएको हो ।

वुभाँले गोद लिएकी छोरी सिल्भी ले बोन डि वुभाँले प्रकाशनको अनुमति दिएपछि यसलाई बजारमा ल्याउने तयारी गरिएको प्रकाशन संस्थाका निर्देशक लरेन्स टाकुले बताएकी छन् ।

लरेन्सले द टाइम्स पत्रिकासँग भनिन्, ‘जब तपाईंले उपन्यास पढ्नु हुनेछ, सात्रजस्ता मानिसले किन यस्तो राम्रो उपन्यासलाई रद्दी भनेर प्रतिक्रिया दिए होलान् भनेर सोच्न तपाईं बाध्य हुनुहुनेछ ।’

वुभाँको प्रख्यात पुस्तक ‘द सेकेन्ड सेक्स’ बजारमा आएको पाँच वर्षपछि यो उपन्यास लेखेकी थिइन् । यो उपन्यास लेख्दै गर्दा उनको ‘द सेकेन्ड सेक्स’लाई क्याथोलिक धर्मावलम्बीहरूले प्रतिबन्ध लगाएका थिए । पुस्तकमा उनले गर्भपतनको वकालत गरेको भन्दै परम्परावादी क्याथोलिकहरूले पुस्तकमाथि प्रतिबन्ध लगाएका थिए ।
‘अनसेपरेबल’ उपन्यास ज्यादै निजी कुराको गन्थन भएको महसुस गरेका बेला सात्रले पनि उति राम्रो प्रतिक्रिया नदिएकाले उनले थन्क्याएको लरेन्स बताउँछिन् । उनले भनिन्, ‘सात्रबाट उनी साह्रै प्रभावित भएकाले यो उपन्यास प्रकाशन हुनबाट वञ्चित रह्यो ।’

सन् १९८६ मा वुभाँको निधनपछि उनका सारा सिर्जनाको रेखदेख उनकी छोरी सिल्भीको जिम्मा आएपछि उनले पुस्तक प्रकाशनको चाँजो मिलाएकी हुन् । उपन्यासमा वुभाँको बालापन र नारीवादी बन्न प्रेरित गरेका घटनाक्रमहरूबारे लेखिएको छोरी सिल्भीले बताएकी छन् ।

जाजा र सिमोनको भेट पेरिसस्थित स्कुल पढ्दा भएको थियो । त्यो बेला उनी ९ वर्षकी थिइन् । जाजाको छोटो जीवनकालमा दुई पटक प्रेममा परेकी थिइन् । एक पटक आफ्नै नजिकको नातेदार दाइसँग र अर्को पटक विश्वविद्यालय अध्ययन गर्दा । ती दुवैसँग उनले घरजम गर्ने सपना पूरा गर्न सकिनन् । उनको परिवार ज्यादै कट्टर भएकाले दुवै प्रेमलाई अस्वीकार गरेका थिए ।

जाजालाई उपन्यासमा एन्ड्री नाम दिएकी छन् । पछिल्लो प्रेम भुलाउनका लागि अभिभावकहरूले उनलाई लन्डन लैजाँदा त्यहीँ बिरामी परेकी थिइन् । २२ वर्ष पुग्नु ठीकअघि उनको देहान्त भएको थियो ।

सिल्भी भन्छिन्, ‘जाजाको मृत्यु स्वाभाविक थियो तर कारण भने समाजको वर्जना थियो । त्यसैले यो एक किसिमको हत्या नै हो । समाजको रीतिरिवाजका नाममा एउटी कलिली युवतीको हत्या थियो त्यो । त्यसैले मेरी आमाले उहाँलाई साहित्यमा अमर बनाउने प्रण गर्नु भएको थियो ।’

जाजाको मृत्युले सिमोन द वुभाँलाई कति धेरै झक्झक्याएको थियो भने उनले ‘मेमोरिज् अफ अ ड्युटिफुल डटर’ शीर्षकको आत्मकथामा पनि उदाहरणका रूपमा पेस गरेकी छन् ।

सिल्भीसँग सिमोनको भेट स्कुल पढाउँदाताका भएको थियो । त्यसको दुई दशकपछि सिमोनले सिल्भीलाई छोरी बनाएकी थिइन् । उनी छोरी भएयता वुभाँका अप्रकाशित कयौँ डायरीहरू समेत प्रकाशन गरिसकेकी छन् ।

नयाँ उपन्यासले पनि वुभाँका अन्य कृतिले झैँ चर्चा पाउने अपेक्षा सिल्भीले गरेकी छन् । उपन्यास फ्रान्सेली भाषामा भएकाले अंग्रेजीमा प्रकाशन हुन समय लाग्ने प्रकाशक लरेन्सको भनाइ छ ।