साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

फिल्मी उपन्यासको बाढी

मुभी टाइ-इन उपन्यासको इतिहास लामो भए पनि पछिल्लो समय यसको लोकप्रियता अझ चुलिँदो छ

अमेरिकामा हरेक वर्ष एउटा मेला लाग्छ । यो मेलामा साइफाइ र कमिक्सका चरित्रहरू जीवन्त भएर आउँछन् । त्यहाँ नयाँ नयाँ घोषणा पनि हुन्छन् । जस्तो यस पटकको सी२इ२ मेलामा नयाँ कुरा थपियो । यसमा ‘स्टार वार्स’का पात्रहरूले अनेक कर्तब मात्र देखाएनन्, नयाँ कुरा पनि भयो ।

यो मेलामा स्टार वार्सका पात्रसँगै नयाँ फिल्मका उपन्यास पनि बिक्रीका लागि राखिएका थिए । प्रायः सिनेमाहरू त्यसको बन्ने गर्छन्, जुन पहिल्यै लेखिसकिएका हुन्छन् । त्यस्ता उपन्यासमाथि बनाइएका अधिकांश फिल्म हिट मात्र हुँदैनन्, समालोचक र समीक्षकहरूले पनि उत्तिनै रूचाएका हुन्छन् । तर यहाँ कुरा अलि उल्टो थियो । शुरूमा फिल्म बजारमा आएर हिट भइसकेपछि ती फिल्मका उपन्यासिका वा लघुउपन्यास आउनु अलि अनौठो नै हो । तर तिनलाई पनि फिल्मलाई झैँ पाठकहरूले मन पराइरहेको पाइएको थियो ।

साइफाइ मेलामा स्टार वार्सः द राइज अफ स्काइवाकरलाई धेरैले रूचाए । केही घण्टामा नै यस उपन्यासको सयौँ प्रति बिक्री भइसकेको थियो । लघुउपन्यास त बिक्री भयो तर कुरा यत्तिमा नै सकिएन । केही दिनमा नै उपन्यास पढेर ट्वीटर र फेसबुकमा यसमाथि ह्यासट्याग लेख्न थालियो । केही सातामै यो अमेरिकामा चर्चाको विषय बन्न थाल्यो । यो चर्चापछि पुनः उपन्यासको बिक्री बढ्न थाल्यो । सामाजिक सञ्जालमा पोस्टहरू आउन थाले- के रे ? पाल्पाटिन सम्राट के थिए अरे ? होल्डअन, ल्यान्डो कालरिसिनकी छोरी…को ?

bahulako diary small and inside post

यी कुरा किन उठिरहेका थिए भने फिल्ममा यस्ता साना कुराका स्पष्ट बताइएको थिएन । यस्ता सानासाना कुराको खुलासा पाठकहरूलाई एउटा आश्चर्यको उपहार बन्न पुग्यो । यसपछि त के थियो, फिल्मका फ्यानहरू यस्ता उपन्यासका प्रशंसकमा पनि परिणत हुन पुगे । के उसो भए फिल्मभन्दा उपन्यासिका राम्रा थिए ? अथवा उनीहरूको कल्पनाभन्दा फिल्म झूर भएका कारण उपन्यासिकाहरू रूचाइरहेका थिए ।

यसको उत्तम जवाफ के हुनसक्छ भने सानो समूहलाई लक्षित गर्दै एउटा समूहले सधैँभरि फिल्मलाई उपन्यासिका बनाइरह्यो । त्यो हिजो पनि थियो र आज पनि चलिरहेको छ । यस्ता उपन्यासहरू पटकथाकारले लेखिरहेका छैनन्, बरू चर्चामा आउन नसकेका तर उम्दा लेखनी भएका उपन्यासकारहरूले लेखिरहेका छन् र तिनले आफ्नो नाम पनि बनाइरहेका छन् र दाम पनि कमाइरहेका छन् ।

यसो हेर्दा चलनचल्तीको भन्दा फरक काम भइरहेको छैन त ?

केही समयअघि सोनिकः द हेजहग फिल्मलाई भिडियो गेम बनाइयो । भिडियोगेम हिट भएपछि यसलाई उपन्यासमा परिणत गरियो । पिक्सारले बनाएको एनिमेटेड फिल्म अनवार्डको पनि त्यस्तै गरियो । भिन डिजेलको एक्सन फिल्म ब्लडसट र विल स्मिथको जेमिनी म्यानले पनि उपन्यासको स्वरूप ग्रहण गरे । हुँदाहुँदा हरर फिल्म ह्याप्पी डेथ डे र यसको सिक्वललाई पनि उपन्यासीकरण गरियो ।

राइज अफ स्काइवाकरको उपन्यासीकरण कति मन पराइयो भने हार्ड कभर उपन्यासको बेस्ट सेलर सूचीमा नम्बर पाँचमा पर्यो । रोचक त कहाँनेर भइदियो भने सेप अफ वाटरको उपन्यासलाई पनि निकै रूचाइएको छ । ‘स्क्रिनप्लेलाई आधार बनाएर लेखिएका यस्ता उपन्यासले उजागर गरिदिने नयाँ नयाँ रहस्यपूर्ण कथाले उपन्यासलाई फिल्मभन्दा रोचक बनाइदिन्छन्, सेप अफ वाटरका निर्देशक गुलेरमो डेल टोरो भन्छन् ।

केहीले फिल्मको कथालाई उपन्यासीकरण गरेको कुरालाई भने रूचाउँदैनन् र यसलाई शुद्ध उपन्यास मान्न पनि तयार हुँदैनन् । यस्ता उपन्यासकारलाई ओरिजनल सर्जक नमान्नेको संख्या पनि उत्तिकै छ ।

तर हलिउडमा यस किसिमको परम्परा निकै पुरानो छ । चाहे फ्राइडे द थर्टिन्थ होस् या आर्नोल्ड स्वार्जनेगरको कमेडी जिङ्गल अल द वे, डा. सेउसको क्याट इन द ह्याटको १२८ पृष्ठ लामो उपन्यासिका होस्, तिनले त्यो बेला निकै तहल्का मच्चाएका थिए । यसको कारण के पनि थियो भने सिनेमा हलमा चल्थ्यो, त्यसको भिडियो चक्का वा डिभिडी आउन समय लाग्थ्यो । ती फिल्मभन्दा पहिले बरू त्यसका उपन्यासीकरण बजारमा आइपुग्थे । र, ती निकै हिट हुन्थे । मनोरञ्जनको नाममा टिभी, सिनेमा र किताब मात्र रहेको त्यो बेला फिल्ममाथि बनेका उपन्यासले राम्रै बजार पाउने गरेका थिए । टाइटन बुक्सका सिनियर एक्विजिसन्स एडिटर स्टिभ सफेल भन्छन्, ‘सन् ८० को दशकमा होम भिडियोले तहल्का मच्चाए पनि फिल्मी उपन्यासिकाको विधा भने हराएन । उत्तिकै लोकप्रिय भइरह्यो ।

खासमा फिल्मी उपन्यास लेखकलाई लेखक नै नगनिदिने भएकाले धेरैले यसलाई चित्त बुझाउँदैनन् । तर पनि संघर्ष गरिरहेका र खानै समस्या भइरहेका तर लेखनकला भएकाहरूका लागि यो उम्दा काम भएको यसमा संलग्नहरू बताउँछन् ।

यतिबेला राइज अफ स्काइवाकर उपन्यासिका लेखेकी राई कार्सन भन्छिन्, ‘मैले यो उपन्यास लेख्नुको मूल प्रेरणा बाल्यकालमा मलाई परेको प्रभाव नै हो । म १० वर्षको उमेरकी छँदा रिटर्न अफ जेडी उपन्यासिका पढेकी थिएँ । त्यो बेला मेरो परिवार ज्यादै गरिब थियो । फिल्म हेर्नु महँगो सोख थियो । साथीहरूले फिल्मको गफ गर्थे, त्यसको विकल्पमा मैले फिल्मको उपन्यास पढेर उनीहरूसँगै मच्चिएर गफ गर्थें ।’

कार्सनलाई उनकी आमाले पुस्तकालयबाट बेलाबेलामा फिल्मी उपन्यास ल्याइदिने गर्थिन् । तिनको सुन्दर लेखनी, सुपर स्पिडको कथाले अन्त्यसम्म तान्थ्यो । एउटै किताब उनी तीन पटकसम्म पढ्थिन् ।

यतिबेला फिल्मी उपन्यास लेखकका रूपमा उदाएका जेम्स कान ३६ वर्षको उमेरमा चिकित्सक थिए । जब उनलाई चिकित्सकीय कार्यबाट दिक्क लाग्न थाल्यो, साइन्स फिक्सनतर्फ उनको ध्यान केन्द्रित हुन थाल्यो । उनले एकादुई साइफाइ पनि लेखिसकेका थिए । उनको साइफाइ पढ्नेमध्येका एक स्टिभन स्पिलबर्ग पनि थिए । उनले आफ्नो साइफाइ उपन्यासमाथि फिल्म बनाइदिए हुन्थ्यो भनी अनुरोध गर्न पुगेका थिए तर उनले बनाएका इन्डियाना जोन्स, पोल्टेरजिस्ट, द गुनिजको उपन्यास बनाउने जिम्मा दिए । जब यो कुरा हलिउडमा फैलियो, जर्ज लुकासले जेडीको उपन्यास बनाउन उनैलाई जिम्मा दिए ।

कानले १२ फिल्मको एडप्टेसन गरिरसकेका छन् । ३७ वर्षअघि उनले रिटर्न अफ द जेडीको उपन्यास बनाएका थिए । त्यो उपन्यास न्युयोर्क बेस्टसेलरको नं. १ बन्न पुगेको थियो । नं. एक लेखकमा दर्ता भएपछि भने उनलाई यस विधामा उति रूचि जागेन । फिल्ममाथि उपन्यास लेख्नु भनेको उनलाई अरूले बनाएको बालुवाको महलमा अरू नै केही थपथाप गर्नु भएको महसुस हुन्छ । अरूकै खेलौना सापट लिएजस्तो उनलाई लाग्न थालेपछि उनले फिल्मी उपन्यासमाथि काम गर्न छाडेका हुन् ।

स्टार वार्सको प्रिक्वेल रिभेन्ज अफ द सिथ (२००५) लाई म्याथु स्टोभरले लेखेका थिए । उनले पनि एक दर्जन फिल्मी उपन्यास लेखेका छन् । उनले स्टार वार्स शृंखलामाथि लेखेको उपन्यास बेस्ट सेलर भएको छ । उनले यस्तो उपन्यास लेखनीलाई साथीको सामग्री सापट लिएर केही दिन आफूसँग राख्नुजस्तै भएको बताउँछन् । ‘आफूसँग हुञ्जेल तपाइँकै हो भन्ने भ्रम हुन्छ तर अन्त्यमा त यो अरूकै सिर्जना हो भन्ने महसुस गर्नु हुन्छ,’ उनले भने, ‘तर यो शैली साह्रै खराब चाहिँ होइन ।’

यस विधाको उपन्यास बबाल चल्छ, पैसा पनि कमाइन्छ भन्ने सोच ल्याउने व्यक्ति हुन् एलन डिन फोस्टर । उनलाई फिल्मको उपन्यासीकरणको गडफादर नै मानिन्छ । उनले एलियन फिल्मलाई जसरी उपन्यासमा ढाले, त्यसले उही कथा दोहोर्याएको भान हुन दिएका थिएनन् । अहिले ७३ वर्षका एलेन अमेरिकाको एरिजोनामा बस्ने गर्छन् । उनले एलियन मात्र होइन, ट्रान्सफर्मर, टर्मिनेटर, द थिङ, शुरूको क्लास अफ द टाइटन्सलाई उपन्यासमा परिणत गरेका थिए र ती सबै आफ्नो जमानाका हिट बन्न पुगेका थिए ।

हालै एलनको आत्मकथा बजारमा आएको छ, द डाइरेक्टर सुडह्याभ सट यु । जसमा उनले एउटा प्रवृत्तिमाथि चर्को व्यंग्य गरेका छन् । उनले भनेका छन्, ‘उपन्यासलाई एडप्टेड गरेर बनाइएको फिल्मलाई अस्कर पुरस्कार दिइन्छ, तर त्यही स्क्रिनप्लेलाई एडप्ट गरेर उपन्यास बनाउनेलाई भने हेयको दृष्टिले हेरिन्छ । जबकि त्यसका पाठक निकै ठूलो छ ।’

‘मैले फिल्मी उपन्यासीकरणलाई कहिल्यै पनि नराम्रो रूपमा लिइनँ । यो संसारमा पढ्दा आनन्द आउने र नआउने दुई किसिमका उपन्यास हुन्छ भन्ने मात्र मान्छु,’ उनले आत्मकथामा लेखेका छन् । उनले आफ्नो सिर्जना राम्रो हुनुको कारण खोतल्दै लेखेका छन्, ‘मैले एलियन लेख्दा मलाई कम्पनीले एलियन कस्ता हुन्छन् भनेर तस्बिर पनि हेर्न दिइएको थिएन । मैले आफ्नै कल्पनाशीलता प्रयोग गरेको थिएँ । गोडजिला पनि मैले सिनेमा हलमा गएर हेरिसकेपछि यस्तो रहेछ भन्ने थाहा पाएको हुँ । तर ती सबै सबै चिज निकै रूचाइए ।’

सुपरम्यानको म्यान अफ स्टिल उपन्यास लेख्दाको अनुभव लेखेका छन्, ‘मलाई केन्सास राज्यका खेत कस्ता हुन्छन् भन्ने थाहा थियो, डेली प्लानेट पत्रिकाको न्युजरूम कस्तो हुन्छ भन्ने थाहा थियो तर सुपरम्यानको जन्म भएको ठाउँ क्रिप्टोनियन अस्पतालको जन्माउने च्याम्बर कस्तो हुन्छ भन्ने त थाहा थिएन । त्यसलाई कल्पनाशीलता उपयोग नगरी हुँदैन । मैले जब वार्नर ब्रदर्स कम्पनीमा फोन गरेर क्रिप्टोनियन जन्माउने अस्पताल कस्ता हुन्छन् भनेर सोध्दा फिल्मको स्क्रिप्ट हेर भन्ने जवाफ दिइन्थ्यो । र, स्क्रिप्टमा कहिल्यै पनि त्यस्ता साना कुरा व्याख्या गरिएको हुँदैनथ्यो ।’

टिभीमा नियमित आउने स्टार ट्रेक र डार्क स्याडोज् जस्ता शृंखलाले जसो सर्वसाधारणको चासो ह्वात्त बढायो तर सबैसँग टिभी हुँदैनथ्यो, त्यसको पूर्ति ती कथानकमाथि बनेका उपन्यासिकाले ठाउँ लिन्थे ।

फिल्म इतिहासकार ग्रेडी हेन्ड्रिक्स भने उपन्यासीकरणको इतिहास निकै पुरानो रहेको बताउँछन् । उनले छापिएका सबैजसो उपन्यासीकरणहरूको समीक्षा पनि गरेका छन् । उनका अनुसार १७ औँ शताब्दीताका मञ्चन गरिने कयौँ नाटकहरूको उपन्यास बनाइएको थियो । उन्नाइसौँ शताब्दीसम्म आइपुग्दा यो निकै हिट विधा बनिसकेको थियो । न्युयोर्कमा हिट भएको नाटकका बारेमा जान्न सिकागोका पाठक निकै उत्सुक थिए । यही कुरालाई पुस्तक पसलेहरूले क्यास गर्ने गर्थे । त्यो बेलाको उपन्यासीकरण अहिलेको जस्तो थिएन । नाटकको कथा विस्तृत रूपमा हुन्थ्यो र बीचबीचमा नाटकका तस्बिरहरू हालिएका हुन्थे । ठीक यही कुरा सिनेमा शुरू हुन थालेपछि लागू गरियो । त्यो बेला यत्रतत्र सिनेमा घर हुँदैनथे । तिनको कमी फिल्मका उपन्यासले पूरा गरिदिन्थे ।

त्यसो त अहिलेको जस्तो सबैजसो हिट फिल्मका उपन्यासीकरण भने त्यो बेला हुँदैनथे । केही सीमित र छानिएका फिल्मको मात्र उपन्यास बन्थे । रेन्डम हाउसले सन् १९२२ ताका किङकङ फिल्मको उपन्यास छापेको थियो ।

सन् ७० को दशकमा आइपुग्दा पनि त्यस किसिमको उपन्यासीकरणले निकै ठूलो बजार लियो । टिभीमा नियमित आउने स्टार ट्रेक र डार्क स्याडोज् जस्ता शृंखलाले जसो सर्वसाधारणको चासो ह्वात्त बढायो तर सबैसँग टिभी हुँदैनथ्यो, त्यसको पूर्ति ती कथानकमाथि बनेका उपन्यासिकाले ठाउँ लिन्थे ।

झन् त्यो बेलाको सुपरहिट फिल्महरू एलियन, स्टार वार्स, इ.टी., ग्ल्याडिएटरजस्ता हिट फिल्म आए, यसको बजार ह्वात्तै बढ्यो । बजार मात्र बढेन, फ्यान फिक्सनको एउटा नयाँ विधा नै तयार भयो । फ्यान फिक्सन भन्नाले तपाईंलाई बच्चा बेलामा मन परेका फिल्म, कमिक्स, उपन्यासलाई आधार बनाएर लेखिएका नयाँ उपन्यासको विधा हो । पछि यसलाई व्यापार गर्ने एउटा राम्रै अस्त्र ठानेर प्रकाशक र फिल्म निर्माताहरूले आफ्नो ‘एक्सटेन्डेड युनिभर्स’ नै बनाए ।

फ्यान फिक्सनको उत्तम नमूना सन् १९६४ मा जेम्स बोन्ड शृंखलाका मूल लेखक इयान फ्लेमिङको मृत्युपछि निर्माण गरिएका नयाँ उपन्यास शृंखलालाई लिन सकिन्छ ।

कान भन्छन्, ‘मलाई फ्यान फिक्सन हुन्छ भन्ने थाहा थिएन तर बच्चैदेखि आफूले पढिरहेका कमिक्सलाई थोरै घुम्ती र मोड दिँदै नयाँ कथा लेख्थेँ । मुख्य पात्र चाहिँ हिट कमिक्सका पात्रहरू नै हुन्थे ।’

फ्यान फिक्सनको सबैभन्दा उत्तम नमूना क्राउस र जर्ज रोमेरोमा देख्न सकिन्छ । रोमेरोले नाइट अफ द लिभिङ डेड फिल्म बनाएका थिए । सन् २०१७ मा उनको देहान्त भएपछि क्राउसले ६ सय पृष्ठको थप सूचनालाई संकलन गरी नयाँ पुस्तक द लिभिङ डेड सहलेखन गरे । क्राउसले भनेका छन्, ‘जब मैले ६ सय पृष्ठका पाण्डुलिपि देखेँ, त्यसमा मिहिन तरिकाले नयाँ सूचना र पात्रहरू फेला पारेँ, यसलाई संसारसामु ल्याउनुपर्ने दायित्वबोध गरेँ । सोही दायित्वले फ्यान फिक्सनले नयाँ आयाम पायो ।

कार्सन भन्छिन्, ‘राइज अफ स्काइवाकर’ को स्क्रिप्ट पढेपछि केही चिजहरू थपथाप गर्नुपर्ने महसुस भयो । यसका लागि जब मैले जर्ज लुकाससँग तीन घण्टा छलफल गरेँ, मलाई आनन्द किन लाग्यो भने स्टार वार्सजस्तो ठाउँमा पनि आफ्नो सिर्जनशीलता देखाउन मिल्ने ठाउँ रहेछ !’

उनलाई पहिल्यै उपन्यासीकरण गरिसकेकाले पनि खासै गतिलो काम गर्न पाउँदिनौ होला भनेर उनको मन खिस्रिक्क पारिदिएका थिए । तर उनको कामले यतिबेला सराहना पाइरहेको छ ।

यस्तो कुरालाई महत्त्व दिनेमध्येका एक नाटककार हुन्, डेभिड रेबी । उनले सन् १९९५ मा सिन पेन अभिनित द क्रसिङ गार्डको उपन्यासीकरण गरेका थिए । उनको नजरमा फिल्मको उपन्यासीकरण सिर्जनशील लेखनजस्तै हो । रत्तिभर फरक छैन तर कामले बाँध्नु भने पर्छ ।

प्रकाशक टाइटनका साफेल भन्छन्, ‘अधिकांश उपन्यासीकरणको समस्या के हुन्छ भने तपाईंसँग उपन्यास लेखिसक्न बढीमा तीन महिना हुन्छ । हुन त फिल्म बनाउन उनीहरूले वर्षौं समय दिएका हुन्छन् तर उपन्यासीकरण गर्न भने केही साताको पनि समय दिँदैनन् । त्यसैले गतिला उपन्यासीकरण निस्कन नसकेका हुन् ।’ यसका पछाडि किताब एउटा सानो कमाउने माध्यम मात्र भएकाले पनि हो । यसलाई साहित्यिक मूल्यका रूपमा नहेरिने भएकाले पनि यस्तो समस्या आउने गरेको साफेल बताउँछन् ।

फोस्टरको भनाइ छ, ‘यस्ता उपन्यासीकरणको उपादेयता भनेको समुद्र किनारमा बेरिने टवेल, म्याक्डोनाल्डको कफी कपजस्तै हो । थोरै समयका लागि मात्र तिनको उपयोग हुन्छ । त्यसैले धेरैले महत्त्व दिँदैनन् ।’

संसारभरि नै मिडिया-टाइ-इन लेखकको संघ छ । म्याक्स एलेन कोलिन इन्टरनेसनल एसोसिएसन अफ मिडिया टाइ-इन राइटर्सका सहसंस्थापक हुन् । कोलिन्सले नाथन हेलर शृंखलाका थ्रिलर उपन्यासहरू लेखेका छन् । उनले द रोड टु पर्डिक्सन ग्राफिक उपन्यास पनि लेखेका छन् । जुन सोही फिल्मबाट उपन्यासीकरण गरिएको हो । कोलिन्स भन्छन्, ‘यस्ता उपन्यासीकरणका समस्या के हुन् भने तपाईंले दिनको १५ देखि २० पेज लेखिसिध्याउनै पर्छ । यस्तो काम गर्दा तपाईं मेसिनजस्तो बन्नुहुन्छ । त्यसैले पनि यसलाई खासै साहित्यिक काम मानिदैन ।’

यस्ता उपन्यास तयार पार्दा प्रायः फिल्मकर्मीहरू आफू गाँसिन रूचाउँदैनन् । जे गरे पनि लेखककै हातमा छाडिदिन्छन् । उनीहरूको लागि फिल्म महत्त्वको हुन्छ, उपन्यासीकरण खासै आकर्षणको विषय उनीहरूलाई लाग्दैन । अर्कोतर्फ आफ्ना फिल्मको बारेमा चासो राख्नुभन्दा बरू नयाँ कथा, नयाँ सिर्जना पढ्यो भने समयको सदुपयोग हुन्छ भन्ने सोच कतिपय निर्देशकको हुने गरेकाले पनि यो विधाले महत्त्व नपाएको हो । स्वयं निर्देशकले नै लेखकलाई नगनेपछि यसको इज्जत कसरी बढ्छ त ? भन्नेहरूको पनि कमी छैन ।

उपन्यासीकरणका किताब सम्पादन गर्ने एक जना आफ्नो नाम नखुलाउने शर्तमा भन्छन्, ‘यी उपन्यासको महत्त्व किन छ भने फिल्म ज्यादै क्लिष्ट र नबुझिने भए पनि उपन्यासमा ती कुरालाई सरल तरिकाले बुझाइएको हुन्छ । सायद यही कारणले यिनको लोकप्रियता जनस्तरमा उच्च छ ।’

फोस्टरले लेखेका छन्, ‘मलाई धेरैले मुखेञ्जी भनेका छन्, त्यो फिल्म जुन कुरामा आधारित हुन्छ, त्यसमा भन्दा तपाईंको किताबमा आधारित बनाएको भए फिल्म अझ गज्जबको हुन्थ्यो ।’

फोस्टरले भनेका छन्, ‘मेरो पहिलो फिल्म एउटा इटालेली थियो । टारजनको कथालाई मैले पोस्टरहरू हेरेर उपन्यासीकरण गरेको थिएँ । त्यसको उपन्यास बेच्ने अधिकार ब्यालेन्टाइन बुक्सले लिएको थियो । पछि जब उपन्यास बजारमा आयो, त्यसलाई हलिउडको स्टुडियो डिज्नेले त्यसको अधिकार लिएर फिल्मसमेत बनायो । खासमा उपन्यासीकरणको शक्ति यस्तो हुनुपर्छ ।’

(सिकागो ट्रिब्युन, आइतबार १२ अप्रिल २०२०)

प्रतिक्रिया
Loading...