मानिस हिँडेर, दौडेर, घिस्रेर, पौडेर अथवा पैयाँ (चक्का) गुडाएर अघि बढ्छन् । उनीहरूले जे गरे पनि उनीहरूको शरीरले सधैं भूमिलाई छोएको हुन्छ । कोही मानिस दौडेर हावामा उड्छ, तर केही क्षणका लागि मात्र । त्यसपछि त ऊ भुइँमा फर्कनै पर्छ ।

यो कुरा सबै जीव-जनावरमा लागू हुन्छ भन्ने छैन । चराचुरुङ्गी र केही कीरा पनि उड्न सक्छन् । तिनीहरूको शरीरमा भएको पखेटाले हावालाई हुँडलेर, धकेलेर तिनीहरू उड्छन् । तिनीहरू जसै उड्छन्, जसरी हामी जमिनमा रहँदा हामीलाई लड्न नदिई उभ्याइरहन्छ त्यसरी नै हावाले उनीहरूलाई सन्तुलनमा राखिरहन्छ ।

उड्दा जत्तिको मज्जा केमा आउला र ? हामीले उड्न पाउने हो भने कति स्वतन्त्र भएको महसुस गर्छौ होला। पहाड र अग्ला ठाउँमा हिँड्नु नपरे, नदीमा पौडनु नपरे अथवा हिलोमा पाइला फोहोर नपार्नु परे कति जाति हुन्थ्यो होला । स्वच्छ हावामा जहाँसुकै जान पाए कति आनन्द हुन्थ्यो होला ! मलाई पक्का विश्वास छ, आफ्‌ना दुईवटा हात फैलाएर उड्न पाए कति जाती हुन्थ्यो होला भनेर तपाईंले पक्कै पनि सोच्नुभएको होला ! त्यसो गर्न पाए कति मज्जा हुन्थ्यो, हगि ?

प्राचीनकालदेखि नै मानिसलाई यस किसिमको सोच आउँथ्यो र उनीहरू सोच्थे चरा चुरुङ्गीजस्तै उड्न पाए कति जाती हुन्थ्यो । त्यसैले त उनीहरूले उडेका कैयौं कथाहरू बनाए । उनीहरूले यस्ता चमत्कारी दरी/चकटी/गुन्द्री वा कालिनको कल्पना गरेका थिए, जसमा त्यो केही मन्त्र बोल्नासाथ उड्न सक्थ्यो । प्राचीनकालदेखि नै उड्ने घोडाको कथा बनाएका थिए, जसले आफूले चाहेको ठाउँमा तीव्र गतिमा पुऱ्याउन सक्थ्यो ।

सबैभन्दा पुरानो कथा २६ सय वर्षअघि प्राचीन युनानीहरूले बनाएका थिए । उनीहरूले एउटा चतुर आविष्कारक डेडलस र उसको छोरो इकारसको कथा बनाएका थिए । उनीहरू दुवै क्रेट नजिकैको एउटा द्वीपमा कैद गरिएका थिए । त्यस द्वीपबाट बाहिर निस्कनका लागि उनीहरूसँग कुनै नाउ थिएन ।

त्यसैले डेडलसले छोरो इकारस र आफू कैदमुक्त हुनका लागि एउटा पखेटा बनायो । त्यसका लागि उसले काठको एउटा हलुका ढाँचा बनायो । त्यसमा मैन पोत्यो र मैनमा चराचुरु‌ङ्गीका प्वाँख टाँस्यो । ती प्वाँखलाई तलमाथि हल्लाउँदा हावामा उचालिन्थ्यो र उड्न सकिन्थ्यो । यसरी बाबुछोरा त्यस कैदबाट उम्कन त्यही औजार प्रयोग गरेर उड्न थाले ।

आविष्कारक बाबु डेडलस त्यस द्वीपबाट करिब ८०५ किलोमिटर टाढा उडेर सिसली पुग्यो, तर इकारसलाई उड्न यति मज्जा लाग्यो कि माथिमाथि उड्दै जान थाल्यो । डेडलसले छोरा इकारसलाई भनेको थियो, ‘बाबु, यसमा उड्न रमाइलो हुन्छ, तर उड्न रमाइलो हुन्छ भन्दैमा तिमी कहिल्यै पनि धेरै माथि नजानू । समुद्रमा रहँदा धेरै तलतल पनि नउड्नू । धेरै माथि उड्यौ भने घामले यस औजारमा टाँसेको मैन पग्लन्छ र तिम्रो पखेटाले काम गर्न छाडी तल झर्नेछौ । अनि धेरै तल पनि नजानू किनभने धेरै तल हावाको चाप निकै कम हुने कारण उड्न व्यवधान उत्पन्न हुनेछ र तिमी समुद्रमा डुब्नेछौ ।’

डेडलसको कुरालाई इकारसले ध्यान दिएर सुनेन । ऊ उड्दाउड्दा धेरै माथि र बादलमाथि पुग्यो । सूर्य चरक्क चर्किएका कारणले पखेटामा लगाइएको मैन पग्लन थाल्यो । मैन पग्लिएका कारण त्यसमा टाँसिएका प्वाँखहरू पनि एकएक गर्दै झर्न थाले । अन्ततः पखेटामा एउटा पनि प्वाँख नरहेपछि र त्यसले हावाको वेग रोक्न नसकेपछि इकारस माथिबाट ढुन्मुनिँदै झयो । यसरी आफ्‌नो बाबुको कुरा नमान्दा इकारसले ज्यान गुमाउनुपयो ।

यो कथा साँच्चिकै असम्भव कथा हो । यसमा कुनै शङ्का छैन । पखेटा लगाएर मात्र कोही उड्न सक्तैन । चाहे त्यसमा चराचुरुङ्गीका प्वाँख नै किन नजोडिएको होस् । उडाउने महत्त्वपूर्ण चिज भनेको मांसपेशीहरू हुन् । ती मांसपेशीलाई अति तगडा शक्ति र तीव्रताका साथ तलमाथि फटफटाउनुपर्छ, अनि मात्र उड्न सकिन्छ । हामीजस्तो मांसपेशी भएका प्राणी बढीमा २२ केजीको भयो भने मात्र उड्न सक्छ । कुनै पनि मानिस पखेटा हल्लाएर आफ्‌नो मांसपेशीको सहयोगले उड्न सक्तैन । कुनै घोडाका लागि त यसो गर्नु अझ कठीन हुन्छ । त्यसैले पनि हामीले कथाकहानीमा सुन्ने गरेको वायुपङ्खी घोडाको कथा बालबालिकालाई भुलाउन सुनाइएको मात्र हो । यसमा कुनै वास्तविकता छैन ।

भारतीय उपमहाद्वीपमा चल्तीमा रहेका कतिपय कथामा भने देउताहरू उड्ने रथमा चढ्‌ने, वायुपङ्खी घोडामा एक ठाउँबाट अर्को ठाउँमा पुग्ने कथा प्रशस्त छन् । सबैभन्दा रोचक चाहिँ रावणको पुष्पक विमानको चर्चा हुने गर्छ ।

के उसो भए कुनै व्यक्तिले कुनै प्रकारको रथमा धेरै पक्षीहरूलाई बाँधेर उड्न सम्भव छैन त ? यस्तो अवस्थामा हरेक चराले आफ्‌नो वजनभन्दा थोरै बढी मात्र उठाउन सक्छ । सन् १६६० मा फ्रान्सिस गडविन नामक एक अङ्ग्रेज लेखकले ‘द म्यान इन द मून’ नामक कथा लेखेका थिए । यस कथाअनुसार एउटा रथमा धेरै हाँस बाँधियो । ती हाँस हावामा उड्न थाले । तिनले रथ र रथमा बसेको मानिसलाई उडाएर चन्द्रमासम्म पुऱ्याइदिए । वास्तविकतामा भने कसैले पनि कहिल्यै रथमा चराचुरुङ्गी बाँधेर त्यहाँ पुग्ने उपाय अवलम्बन गरेन ।

फ्रान्सिस गडविनले सो पुस्तक लेखेको डेढ सय वर्षपछि मानिसले जमिनबाट माथि उड्ने तरिका खोजी छाडे । त्यो न त चमत्कार थियो, न जादू-टुना थियो, न त चराले जस्तो आफ्‌नो हात हल्लाएर हावामा झुण्डिने कुरा नै थियो ।

फ्रान्सेली नागरिक जोस्फे मोन्टगोल्फिर र उसको भाइ एटिएन सानैदेखि उड्ने र उडाउने कुरामा ध्यान दिन्थे । एकपटक उनीहरू बसेको घरनजिकै आगलागी भयो । घरबाट निस्केको धुँवासँग हलुका चिजहरू पनि धुँवासँगै माथिमाथि उडेका देखे । उनीहरूको चासो अझ बढ्यो र सोच्न थाले- धुँवाले आफूसँगै हलुका चिजलाई पनि माथि उठाउन सक्दो रहेछ ! उनीहरूलाई के लाग्यो भने तातो हावा चिसो हावाभन्दा हलुका (अर्थात् कम घनत्व भएको) हुँदो रहेछ । यसको अर्थ हो, तातो हावा चिसो ठाउँमा माथितिर उड्छ । यो त एउटा काठको टुक्रा पानीमा नडुबेजस्तो भयो ।

पाँच जुन १७८३ मा फ्रान्सको सहर अनोनेमा ती दाजुभाइले एउटा ठूलो कपडाको थैली बनाए र त्यसमा तातो हावा भरे । तातो हावा भरिएको हुनाले कपडाको थैली माथितिर तैरिन थाल्यो । कपडाको थैली अलि भारी भए पनि हावामा उड्न थाल्यो । यो करिब १० मिनेटसम्म उडिरह्यो र साढे दुई किलोमिटर टाढासम्म हावामा अडिरह्यो । अनि जसै थैलीमा भएको तातो हावा क्रमशः चिस्सिन थाल्यो, थैली बिस्तारै जमिनमा ओर्लियो ।

यस प्रदर्शनीबाट यी दाजुभाइ असाध्य खुसी भए र जोशिए । यसपछि त उनीहरूले फ्रान्सको राजधानी पेरिसमा यस्तै प्रदर्शनी गरे । हावामा कुनै थैलो उड्छ अरे भन्ने खबर सुनेर मान्छे त्यो उड्ने थैली हेर्न ओइरिए । करिब तीन लाख मानिसहरू थैली उडेको हेर्न भेला भए । यसपटक थैली ९.६ किलोमिटरसम्म हावामा उडिरह्यो ।

त्यही बेला एउटा ज्यादै हलुको ग्याँसको खोजी भइसकेको थियो । जसलाई हाइड्रोजन नाम राखिएको थियो । यो त तातो हावाभन्दा पनि निकै कम घनत्व भएको ग्यास थियो । ज्याक्स चार्ल्स नामक फ्रान्सेली वैज्ञानिकले ती दाजुभाइलाई सुझाव दिए, तिमीहरूको यस थैलीमा तातो हावाको साटो हाइड्रोजन हाल । त्यसो भयो भने यो अझै लामो समयसम्म हावामा उडिरहन सक्छ ।’

दाजुभाइले वैज्ञानिक ज्याक्सको कुरा माने । उनीहरूले अब थैलीमा हाइड्रोजन ग्याँस हाले । यति मात्र होइन, थैलीलाई एउटा डोकोजस्तो बनाइयो, जहाँ केही मानिसहरू पनि बस्न सक्थे । अब उड्ने डोको तयार भयो । सन् १८०० को सुरुमा धेरै मानिसहरू यस किसिमको उड्ने डोकोमा घुम्न निस्किए । अब त यस्तो हुन थाल्यो कि मानिसहरू कैयौं किलोमिटरसम्म उड्ने डोकोमा बसेर यात्रा गर्न सक्थे ।

यस किसिमको उड्ने टोकरीको एउटा समस्या थियो । जता हावा चल्यो, उतै बगाएर लैजान सक्ने अवस्था थियो । मानिसहरूको दिमागमा कल्पनाशीलताले ठाउँ लिन थाल्यो । यस्ता टोकरीसँग कुनै इन्जिन लगाइदियो र त्यस इन्जिनसँगै एउटा प्रोपेलर (हावालाई फ्याँक्ने घुम्ने पङ्खा) लाई चलाइदियो भने कति मज्जा हुन्थ्यो ! तीव्र गतिमा घुम्ने यस पङ्खाले टोकरीलाई हावाको कुनै पनि दिशामा लैजान सक्थ्यो । एउटा पानी जहाजमा लगाइएको पङ्खाका कारण प्रोपेलरकै माध्यमबाट दायाँबायाँ लैजान सकिन्थ्यो, सोहीअनुसार यस किसिमको प्रोपेलर लगाइएको फुकुण्डा डिरिजिबल हुन्थ्यो अर्थात् फुकुण्डालाई जुनसुकै दिशामा पनि लैजान सकिन्थ्यो ।

यस किसिमको पहिलो डिजिरिबल एउटा जर्मन नागरिक काउन्ट फर्डिनेन्ड भान जेपलिनले बनाएका थिए । उनले उड्ने टोकरीलाई एउटा लामो सिगार या बरफको आकार खोलमा राखे । यसो गर्नुको कारण चाहिँ हावालाई सहजै काट्न सकोस् भन्ने थियो ।

यो खोल हलुको धातु आल्मुनियमबाट बनाइएको थियो । सन् १९०० को जुलाई महिनामा पहिलो डिरिजिबल उडाइयो । यसलाई हावाको सहयोगले उडाएको थियो । अब मानिसहरू आफ्‌नो मन परेको दिशामा उड्न सक्थे ।

यसपछिका ४० वर्षसम्म डिरिजिबलले राम्रो विकास गर्दै गए ।

ती अझै स्तरीय, राम्रा र आकर्षक बन्न थाले । यसको सबैभन्दा ठूलो समस्या चाहिँ हाइड्रोजन ग्याँस थियो । यो ग्याँस खतरनाक थियो । हाइड्रोजन अति ज्वलनशील ग्यास भएकाले जुनसुकै बेला विष्फोट हुने र दुर्घटनामा मानिसहरूको ज्यान जान सक्थ्यो । यस किसिमको यानमा हाइड्रोजनको साटो अर्को हलुको ग्याँस हिलियम प्रयोग गर्न सकिने खोज हुन थाल्यो । हिलियम हाइड्रोजन जति राम्ररी उडाउन त सक्दैनथ्यो, तर यो हाइड्रोजन ग्याँस जति प्रज्ज्वलनशील नभएकाले आगो लाग्ने सम्भावना भने रहँदैनथ्यो । यस किसिमका डिरिजिबल तीव्र गतिमा उड्न सक्तैनथे । ती त्यति सशक्त पनि थिएनन् । अचानक आँधी आयो भने यस किसिमका डिरिजिबल कच्याककुचुक हुन्थे र यात्रु दुर्घटनामा पर्थे ।

मानिसका मनमा अझै पनि उडानले एउटा बेग्लै सनसनी मच्चाइरहेको थियो । हुन त केही चिज अझै पनि हावामा उडिरहेका थिए । हावामा उड्नका लागि ती वस्तुहरू अति घनत्व भएको हुनुपर्थ्यो । चङ्गा हावाभन्दा बढी घनत्वयुक्त भएकाले तैरिने गर्छ । किनभने यसले हावाका लागि एउटा ठूलो क्षेत्रफलयुक्त सतह बनाउँछ । उसो भए मानौँ, एउटा ठूलो च‌ङ्गा बनाइयो भने र त्यसमा मानिसलाई बाँधिदियो भने के होला ?

यस किसिमको कल्पनाका कारण ग्लाइर बन्न थाले । पानीमा तैरिनका लागि जसरी नाउ बनाउन हलुका काठ प्रयोग गरिन्थ्यो, उसै गरी हलुका काठका टुक्रालाई पखेटाजस्तो बनाइयो । यस्ता ग्लाइडर यति ठूलो बनाइयो कि त्यसमा एक जना मानिस उड्न सक्थ्यो । ती ग्लाइडरलाई निकै अग्लो ठाउँबाट तल झारिन्थ्यो र हावाको दबाबका कारण ती ग्लाइडर माथि निकैबेरसम्म उडिरहन्थे । यस किसिमको प्रयोग युरोपमा निकै लोकप्रिय भयो । सन् १८९० सम्म आइपुग्दा त त्यहाँ ग्लाइडरहरूको प्रयोग निकै लोकप्रिय भइसकेका थिए ।

सुरुका ग्लाइडरहरू हावाको थैलीजस्तै हावा बग्ने दिशातिर मात्र लैजान सकिन्थ्यो । यसपछि मानिसले कल्पना गर्न थाले, हामीले यस किसिमका ग्लाइडरमा एउटा इन्जिन लगायौं भने के होला ? यसको पङ्खा घुम्थ्यो र जेपलिनले ग्याँसको टोकरी उडाएर मनलाग्दी ठाउँमा लगेजस्तै यसलाई पनि लैजान पाए कति मज्जा हुन्थ्यो ?

संयुक्त राज्य अमेरिकाको ओहायो राज्यस्थित डेटनमा दुई जना साइकल निर्माता अर्विल राइट र उनका भाइ विल्बरले यस किसिमको प्रयास गर्ने ठाने । उनीहरूले हावाको भरपूर फाइदा उठाउने किसिमको ग्लाइडर बनाए र यसमा मोटारको बिजुलीबाट चल्ने इन्जिन जडान गरे। यो इन्जिन निकै हलुको थियो ।

सन् १९०३ डिसेम्बर १७ मा अमेरिकाको नर्थ क्यारोलिना राज्यको किटीहक नामक स्थानमा अर्विल राइटले मोटरबाट चल्ने ग्लाइडर चलाएर देखाए । यो अहिलेको हवाईजहाजको पुर्खा थियो । यो हवाईजहाज एक मिनेटसम्म हावामा उडिरह्यो । एक मिनेटभित्रै यसले करिब २६० मिटर यात्रा गर्यो । तर छोटो अवधिसम्म हावामा कावा खाएको यो यन्त्रले के देखायो भने मेसिनजडित एउटा यान बनाउन सकिन्छ, जसद्वारा हावामा यात्रा गर्न सकिन्छ ।

यसपछि त उम्दा इन्जिन र ठूला आकारका हवाईजहाज बन्न थाले । यी हवाईजहाजहरू एकसेएक तीव्र गतिमा उड्न थाले । हवाईजहाज जति तीव्र गतिमा उड्छ, उति नै बढी हावा त्यसको पङ्खाका कारण फ्याँक्छ र जतिसुकै भारी भए पनि यो यान हावामा उडिरहन सक्छ । सन् १९०८ मा अर्विल राइट हावामा एक घण्टासम्म यानमा अडिरह्यो । अर्को वर्ष अर्थात् सन् १९०९ मा एउटा जहाज इङ्ग्लिस च्यानल पार हुने गरी उडाइयो । यसपछि भएको पहिलो विश्वयुद्धमा त जहाजहरू आकाशमा लड्नभिड्न थाले । सन् १९२७ मा अमेरिकी चार्ल्स ए. लिन्डबर्गले एटलान्टिक महासागर पार गर्दै न्युयोर्क-पेरिस यान उडाए । उनलाई न्युयोर्कबाट पेरिस आइपुग्न ३३ घण्टा लाग्यो । हिजोआज त हवाईजहाज यति ठूला र तीव्र गतिमा दौडने भइसके कि लाखौं मानिस यसमा ओहोरदोहोर गर्ने र सयौं मानिसलाई एउटै यानले बोक्ने भइसक्यो । केही वायुयान त १६०० किलोमिटर प्रतिघण्टा र त्योभन्दा बढी तीव्र गतिले उड्न सक्ने भएका छन् । हिजोआज अमेरिका र युरोप तीन घण्टाभन्दा कम समयमै आउनजान सकिने भएको छ । वायुयानको प्रगतिका कारण हिजोआज डिरिजिबल लोप भइसकेको छ । तर साधारण ग्याँसको थैली (बेलुन) लाई हिजोआज पनि पृथ्वीको सतहभन्दा निकै माथि उडाउने क्रम रोकिएको छैन । खासगरी पृथ्वीको सतहभन्दा निकै माथि हावाको स्तर अध्ययन गर्न यस्ता बेलुनको प्रयोग हुने गरेको छ । हलुका पातला प्लास्टिकका फुकुन्डालाई पृथ्वीको सतहभन्दा ५० किलोमिटरभन्दा माथिसम्म उडाउन सकिन्छ ।

(अच्युत कोइरालाको पुस्तक ‘अन्तरिक्षको खोज’बाट)