
ओशोको आत्मकथाः स्वर्णिम बालापन
सत्र ९ः जे. कृष्णमूर्ति मेरो विरोधी बने
समय पछाडि फर्कन सक्तैन तर मन फर्कन सक्छ । कहिल्यै केही नबिर्सने मन, एउटा यस्तो व्यक्तिलाई दिनु, जो स्वयं आफू शान्तिको स्थितिमा पुगेको छ साथै अरुलाई पनि मुक्ति पाउनका लागि केही बताइरहेको छ भने त्यो कति व्यर्थ छ !
जहाँसम्म मेरो मनका बारेमा जे कुरा छ– याद राख्नू, मेरो मन म होइनँ– यो त त्यो यन्त्रजस्तो छ, जुन यहाँ प्रयोग गरिरहिएको छ । मेरो मन भन्नुको अर्थ त एउटा मेसिन मात्र हो, तर एउटा राम्रो मेसिन हो, जुन यस्तो व्यक्तिलाई दिइएको छ, जसलाई उसले फ्याँकिदिन्छ । त्यसैले म भन्छु, यो कति व्यर्थको कुरा हो !
तर मलाई कारण थाहा छ । जबसम्म तिमीसँग असल मन छैन, त्यतिञ्जेल यसलाई फ्याँक्ने कुरा तिमीले बुझ्न सक्तैनौ । जीवन विरोधाभासहरूले भरिएको छ । यो कुनै नराम्रो कुरा होइन । यसैले त जीवनलाई अझ बढी रङ्गीन बनाएको छ ।
स्त्री र पुरुषलाई दुई अलग व्यक्ति हुनु कुनै आवश्यकता थिएन । उनीहरू अमिबाजस्तै हुन सक्थे । तिमीले देवराजलाई सोध्न सक्छौ । अमिबा न त स्त्री हो, न त पुरुष, ऊ त एउटै हो । ऊ मुक्तानन्द र अन्य मूर्खानन्दजस्तै हो, ब्रह्मचारी । तर प्रजनन गर्ने यसको आफ्नै तरिका छ । संसारका सबै डाक्टरहरूलाई हैरान बनाइराखेको छ यसले । यसले खाना मात्र खाइरहन्छ, मोटो थुलथुले हुन्छ र एउटा खास सीमामा पुगेपछि अमिबा दुई भागमा बाँडिन्छ । यो नै यसको प्रजनन विधि हो । यो नै सही ब्रह्मचर्य हो ।
स्त्री र पुरुष पनि अमिबाझैँ एक हुन सक्थे । त्यो मात्र प्रजनन हुन्थ्यो तर कुनै काव्य हुन्थेन । निश्चित नै कुनै संघर्ष पनि हुँदैनथ्यो, न त टाउको दुखाई, न आपसको कुनै लडाईं झगडा ! तर जुन काव्यको जन्म भयो, त्यो यति मूल्यवान छ कि सबै संघर्ष, सबै टाउको दुखाई, सबै दिक्क लगाउने कुरा र झगडा उचित हुन पुग्छ ।
अहिले पनि म नूरजहाँको गीत सुनिरहेको थिएँ…‘त्यो गुनासो जो हामीबीच थियो, त्यसलाई शायद तिमीले भुल्यौ होला, तर मैले भुलेकी छैन । मलाई अहिले पनि हल्काहल्का याद छँदैछ । ती शब्द जुन तिमीले मलाई भनेका थियौ, ती शायद तिमीलाई बिल्कुल याद नहोला, तर मात्र तिनको याद मेरो आशाका लागि पर्याप्त छ । त्यो प्रेम जुन हामी दुईमा थियो… ।’
‘त्यो करार (स्वीकृति)… त्यो प्रेम ।’ करार शब्द प्रेमभन्दा बढी गहिरो छ । यसलाई त्यो अनन्य प्रेमको भाव भन्नु बढी राम्रो हुनेछ ।
‘र, त्यो बाटो म र तिमीमा थियो… ।’ र, त्यो बाटो, त्यो मार्ग ममा र तिमीमा थियो… बाटो.. कहिलेकाहीँ मात्र जब हृदय खुल्छ, त्यो बेला एउटा बाटो बन्छ, अनि मात्र संवाद हुन पाउँछ नत्र त केवल कुराकानी मात्र हुन्छ । मानिसहरू कुरा त गर्छन् तर कसैले सुन्दैनन् । उनीहरू एकअर्कासँग कामको कुरा गर्छन् तर उनीहरूबीच एउटा खालीपन हुन्छ, खुसीको कुनै फूल फक्रँदैन त्यहाँ ।
‘त्यो बाटो, त्यो मार्ग र त्यो करार (स्वीकृति)– त्यो अनन्य प्रेम– शायद तिमीले त्यसलाई बिर्सियौ होला तर मलाई याद छ । म बिर्सन सक्तिनँ, एक पटक तिमीले मलाई भनेका थियौ, तिमी संसारकी रानी हौ, सबैभन्दा सुन्दर स्त्री हौ । शायद अब त तिमीले मलाई चिन्न पनि नसक्लाऊ…।’
वस्तु बदलिन्छ, प्रेम बदलिन्छ, शरीर बदलिन्छ– परिवर्तित हुनु अस्तित्वको आधारभूत स्वभाव हो, निरन्तर सबै परिवर्तन भइरहन्छ । तिम्रो यो कोठामा आउनुभन्दा पहिले म त्यो गीत सुन्छु किनभने मलाई बालापनदेखि नै यो निकै प्रिय छ । म सोच्छु, कतै यो गीतले मेरा केही स्मृतिलाई उक्साइदियोस् । र, साँच्चै यसले ती यादलाई ह्वाङ्ग बनाइदिन्छ ।
हिजो मैले तिमीहरूलाई जैन मुनि र मबीच घटेको त्यो घटनाका बारेमा भनिरहेको थिएँ । त्यो कहानी त्यहीँ सकिएन । किनभने अर्को दिन फेरि ऊ आफ्नो भोजन भिक्षाका लागि मेरो हजुरबुवाको घर आउनु थियो । तिमीहरूका लागि यो बुझ्नु अलि गाह्रो होला, जब त्यो मुनि त्यति रिसाएर हाम्रो घरबाट निस्किएको थियो भने उसले किन फेरि आउनु पर्यो त ? मैले यसका सन्दर्भमा तिमीहरूलाई भन्नुपर्छ । जैन मुनि केवल जैन परिवारसँग मात्र भिक्षा लिन सक्छ अन्य कुनै परिवारसँग सक्तैन । र, उसको दुर्भाग्य, त्यो सानो गाउँमा केवल हाम्रो परिवार मात्र जैन परिवार थियो । आफ्नो भोजनका लागि ऊ अन्त कतै जान पनि सक्तैनथ्यो । हुन त ऊ कहीँ अन्तै जान रुचाउँदो हो तर यो उसको धार्मिक नियमविरुद्धको कुरा थियो । त्यसैले नचाहँदा नचाहँदै पनि ऊ विवशतापूर्वक अर्को दिन हाम्रो घर आयो ।
म र मेरी हजुरआमा, दुवै जना माथि प्रतीक्षा गरिरहेका थियौँ, झ्यालबाट हेरिरहेका थियौँ, किनभने हामीलाई थाहा थियो, उसले आउनै पर्छ । मेरी हजुरआमाले मलाई भन्नुभयो, ‘हेर त, उनी आउँदैछन् । अब आज तिमीले उनलाई के सोध्ने त ?’
मैले भनेँ, ‘मलाई थाहा छैन । पहिले कम्तीमा उसलाई खाना खान दिऊँ । त्यसपछि आफ्नो पुरानो प्रथाका अनुसार उसले यो परिवार तथा अन्य भेला भएका मानिसलाई उपदेश दिनेछ । अनि सोचौँला, सोधौँला ।’
जैन मुनिले भोजनपछि धन्यवाद स्वरुप घरमा भएका मानिसलाई उपदेश दिन्छ । मैले हजुरआमालाई भनेँँ, ‘चिन्ता नलिनू, पहिले उसलाई बोल्न दिनुस् । त्यसपछि म सोध्नका लागि केही न केही पत्ता लगाउँछु ।’
मुनिले अत्यन्त सावधानीपूर्वक र संक्षेपमा बोल्यो । साधारणतः यति संक्षेपमा उनीहरू बोल्दैनन् । तर तिमी चाहे बोल या नबोल, यदि कसैले प्रश्न सोध्न चाह्यो भने सोध्न सक्छ नै । उसले तिम्रो मौनताका बारेमा प्रश्न सोध्न सक्छ । त्यो मुनिले अस्तित्वको सौन्दर्यका बारेमा बोलिरहेको थियो । उसले सोच्यो, शायद यसमा कुनै प्रश्न उठ्ने छैन र उसले कुनै झन्झट बेहोर्नुपर्ने छैन । तर उसले त्यसका बारेमा बोल्यो, झन्झट त शुरु भइहाल्यो । म उभिएँ । मेरी हजुरआमा कोठाको सबैभन्दा पछाडि हुनुहुन्थ्यो र हाँसिरहनु भएको थियो– म अहिले पनि उहाँको हाँसो सुन्न सक्छु । मैले त्यो मुनिलाई सोधेँ, ‘यो सुन्दर संसारको सिर्जना कसले गर्यो होला ?’
जैनले परमात्मालाई मान्दैनन् । पश्चिमी क्रिस्चियन विचारधाराका मानिसका लागि यो बुझ्नु ज्यादै गाह्रो कुरा हो कि कुनै धर्मले परमात्मामाथि नै विश्वास गर्दैन । जैन धर्म ईसाई धर्मभन्दा बढी परिष्कृत छ, अलि ऊँचो छ, कम्तीमा उसले परमात्मा, होली घोस्ट र सारा बकवास कुरामा विश्वास गर्दैन । तिमी मान या नमान, जैन धर्म नास्तिक धर्म हो किनभने नास्तिक हुँदाहुँदै पनि धार्मिक हुनु विरोधाभासपूर्ण लाग्छ । जैन धर्म शुद्ध नैतिकता हो, यसमा कुनै परमात्मा हुँदैन ।
त्यसैले जब मैले जैन मुनिलाई सोधेँ, ‘यो सौन्दर्य कसले सिर्जना गर्यो ?’ म जे कुरामा पक्का थिएँ, उसले त्यही जवाफ दियो, ‘कसैले होइन ।’
म यही कुराको प्रतीक्षामा थिएँ । मैले भनेँ, ‘यस्तो सौन्दर्य ‘कसैले होइन’ले बनाउन सक्तछ ?’
उसले भन्यो, ‘कृपया मलाई गलत नबुझ ।’ यस पटक उसले पूरा तयारी गरेर आएको थियो । त्यसैले केही आश्वस्त देखिन्थ्यो । उसले भन्यो, ‘कृपया मलाई गलत नबुझ । ‘कसैले होइन’ भन्नुको तात्पर्य ‘कुनै विशेष’सँग होइन ।’
तिमीहरूलाई ‘एलिस थ्रु दि लुकिङ ग्लास’ भन्ने कथा याद होला । रानीले एलिसलाई सोध्छे, ‘यहाँ आउँदा तिमीले मलाई भेट्न आइरहेको कोही भेटिएको थियो ?’
एलिसको जवाफ थियो, ‘मैले कोही भेटिनँ ।’
रानी चिन्तित देखिन्छे र भन्छे, ‘आश्चर्य छ, उसो भए ‘नो बडी’ तिमीभन्दा पहिले आउनु पर्ने थियो तर ऊ अहिलेसम्म आइपुगेन ।’
एलिस एक अंग्रेज महिलाझैँ भित्रभित्रै हाँसी तर उसको अनुहार गम्भीर नै देखियो र उसले भनी, ‘महोदया, ‘नो बडी’ त कोही पनि होइन ।’
रानीले भनी, ‘हो, मलाई थाहा छ, ‘नो बडी’ कोही पनि होइन तर उसले यति ढिला किन गरिरहेको हो ? ‘नो बडी’ तिमीभन्दा ढिलो हिँड्छ कि क्या हो !’
एलिस तनावमा आएर भन्छे, ‘मभन्दा तीव्र कोही पनि हिँड्न सक्तैन ।’
त्यसपछि रानीले भन्छे, ‘यो त अझ बढी अनौठो कुरा भयो । यदि ‘कोही पनि (नो बडी)’ तिमीभन्दा तीव्र गतिमा हिँड्छ भने अहिलेसम्म किन आइपुगेन त ?’
यसपछि बल्ल एलिसलाई आफ्नो गल्ती थाहा हुन्छ तर यतिञ्जेल धेरै ढिला भइसकेको थियो । उसले दोहोर्याएर भनी, ‘महोदया, ‘नो बडी’ कोही पनि होइन ।’
रानीले उत्तर दिई, ‘हो, मलाई थाहा छ, ‘नो बडी’ कोही पनि होइन । तर प्रश्न त के हो भनी अहिलेसम्म त्यो किन आएन ?’
मैले जैन मुनिसँग भनेँ, ‘मलाई थाहा छ, ‘कोही होइन’ कोही पनि होइन तर तपाईंले अस्तित्वको यति प्रशंसा, यति सराहना गरिरहनुभएको छ कि मलाई नै आश्चर्य भइरहेको छ । किनभने जैनहरूले यस्तो गर्दैनन् । यस्तो लाग्छ, हिजोको अनुभवका कारण तपाईंले आफ्नो शैली नै बदल्नुभयो । तपाईंले आफ्नो चाल, आफ्नो नीति बदल्न सक्नुहुन्छ तर तपाईंले मलाई बदल्न सक्नुहुन्न । म फेरि सोध्छु, यदि यो जगत्लाई कसैले पनि बनाएको होइन भने बन्यो चाहिँ कसरी त ?’
उसले यताउति हेर्यो । सबै जना चुपचाप थिए । तर मेरी हजुरआमा भने ठूलो स्वरले हाँसिरहनु भएको थियो । मुनिले मलाई सोधे, ‘यो कसरी बन्यो भन्ने तिमीलाई थाहा छ त ?’
मैले भनेँ, ‘यो सधैँदेखि यहीँ छ । यो कहीँबाट आउनु या बन्नुपर्ने आवश्यकता नै छैन ।’
आज पनि म पैँतालीस वर्षपछि त्यो वाक्यलाई पुष्टि गर्न सक्छु । बुद्धत्व र त्यसपछि न–बुद्धत्वपछि, यति सबै पढेपछि र त्यसलाई पूर्णतः बिर्सिसकेपछि, ‘जो छ’ त्यसलाई जानेर अनि फेरि उसतर्फ ध्यान नदिई म अहिले पनि त्यो सानो बच्चाजस्तै भन्नु सक्छु, विश्व सदाझैँ यहीँ छ । यसलाई सिर्जना गर्नु या कहीँकतैबाट ल्याउनु या आउनु आवश्यक छैन । यो यहीँ छ ।
जैन मुनि तेस्रो दिन आएन । ऊ हाम्रो गाउँबाट अर्को गाउँ गयो जहाँ जैन परिवार बस्थ्यो । तर मैले उनलाई श्रद्धाञ्जली अर्पित गर्नुपर्छ । नजानिँदो तरिकाले उसले एउटा सानो बालकलाई सत्यको यात्रामा हिँडायो । त्यो बेलादेखि मैले नजाने कति मानिससँग त्यही प्रश्न सोधेँ र त्यही अज्ञानसँग सामना भयो मेरो । मैले कुनै उत्तर पाउन सकिनँ । ठूलाठूला विद्वान, पण्डित, ज्ञानी र महात्मा– जसलाई हजारौँ मानिसले पूजा गर्छन्– र फेरि पनि एउटा बालकले सोचेको साधारण प्रश्नको उत्तर दिन सकेनन् ।
सत्य त के हो भने कुनै पनि मूलभूत प्रश्नको उत्तर कहिल्यै दिन सकिएन । र म भन्छु, कुनै पनि मूलभूत प्रश्नको उत्तर कहिल्यै दिन सकिने पनि छैन । किनभने जब तिमी मूलभूत प्रश्नमा आउँछौ, त्यसको एक मात्र उत्तर हुन्छ, मात्र मौन– कुनै पण्डित, साधु या महात्माको मूर्खतापूर्ण मौन होइन, बरु तिम्रो आफ्नो मौन । अरुको मौन होइन, बरु त्यो मौन जुन तिमीभित्र विकसित हुन्छ । त्यो बाहेक अरु कुनै उत्तर नै छैन । त्यो मौन जुन तिमीभित्र विकसित हुन्छ, त्यो तिम्रो उत्तर त हो नै, साथमा उनीहरूको पनि उत्तर हो, जो प्रेमपूर्वक तिम्रो मौनमा सम्मिलित हुन्छन् । नत्र त तिमीबाहेक अरु कसैको लागि उत्तर हुने छैन ।
यो जगतमा यस्ता धेरै जना मौनमा पुगेका मानिस जन्मिए, जो अरुलाई कुनै सहायता गर्न सकेनन् । जैन तिनलाई अरिहन्त भन्छन् र बौद्ध तिनलाई अर्हत भन्छन् । दुवै शब्दको एउटै अर्थ हो । केवल भाषाको सानो अन्तर मात्र छ । एउटा प्राकृत हो, अर्को चाहिँ पाली । यी दुवै मिल्ने छिमेकी भाषा हुन् । दुवैमा कुनै ठूलो अन्तर छैन । तिमी आफैँले देख्न सक्छौ, अरिहन्त र अर्हत, दुवै एउटैजस्तो शब्द छन् ।
अरिहन्त र अर्हत त धेरै जन्मिए तर जब उनीहरूले उत्तर फेला पारे, र पनि त्यसको घोषणासम्म गर्न सकेनन् । जबसम्म तिमी त्यसको घोषणा गर्न योग्य हुँदैनौ, घरको छतबाट घोषणा गर्न सक्दैनौ भने त्यतिञ्जेल तिम्रो उत्तरको कुनै मूल्य हुने छैन । भिडमा, जहाँ सबै जना प्रश्नले भरिएका हुन्छन्, त्यहाँ दिइने उत्तर एउटा व्यक्तिको उत्तर हुन्छ । चाँडै नै अरिहन्तको मृत्युका साथ उसको मौन पनि समाप्त हुन जान्छ । ऊ यसरी हराउँछ, जसरी पानीमा कसैले लेखेको होस् । तिमीले लेख्न सक्छौ, तिमी पानीमा केही लेख्न सक्छौ तर तिमीले लेख्न पनि सक्ने छैनौ, लेखिएको हराउनेछ ।
असली सद्गुरु जान्ने मात्र होइन, उसले लाखौँ मानिसलाई त्यो जान्न सहयोग पनि गर्छ । उसको ज्ञान निजी हुँदैन । ऊ सबैका लागि खुला हुन्छ । ऊ सबैका लागि उपलब्ध हुन्छ, जो त्यसलाई ग्रहण गर्नका लागि तयार हुन्छ । मैले उत्तर जानेँ । प्रश्न त मसँग हजारौँ वर्षदेखि, कयौँ जन्मदेखि, कयौँ शरीरका साथ हिँडिरहेको थियो तर यतिबेला पहिलो पटक उत्तर घटित भएको छ । यो किन भयो भने म निरन्तर, बिना कुनै परिणाम, कुनै भयका साथ प्रश्न सोधिरहन्छु, सोधिरहेको छु ।
म यी प्रसंग किन सम्झरहेको छु भने तिमीहरूलाई भन्न सकूँ, जबसम्म कसैले सोध्दैन र सबैलाई समग्रताका साथ सोधिँदैन, आफैँलाई सोध्न कठिन हुन्छ । जब कसैलाई सबै ढोकाबाट बाहिर निकालिन्छ, जब सबै ढोका बन्द हुन्छन्, अनि अन्त्यमा हामी आफूभित्र छिर्छौं । र, त्यहीँ उत्तर हुन्छ । त्यो लेखिएको हुँदैन । तिमीले कुनै बाइबल, कुनै तोरा, कुनै कुरान, कुनै गीता, कुनै धम्मपद या ताओ तह किङ पाउने छैनौ । अँहँ, तिमीले त्यहाँ केही पनि लेखिएको फेला पार्ने छैनौ । त्यहाँ तिमीले कसैलाई फेला पार्ने छैनौ– न त परमात्मा, न कुनै परमपिता, जो मुस्कुराऊन् र तिम्रो ढाड थप्थपाउँदै भनून्, ‘स्याब्बास छोरा ! तिमी घर आइपुग्यौ । म तिम्रा सबै पाप क्षमा गरिदिन्छु ।’ अँहँ, त्यहाँ तिमीले कसैलाई फेला पार्ने छैनौ । त्यहाँ तिमीले पाउनेछौ अद्भुत मौन, परम मौन– यति सघन कि त्यसलाई अहिल्यै छोऊँ लाग्ने… एउटी सुन्दर स्त्रीझैँ । त्यसलाई सुन्दर स्त्रीझैँ अनुभव गर्न सकिन्छ र त्यो केवल मौन हो र ज्यादै सघन, स्पर्शनीय ।
जब जैन मुनि त्यो गाउँबाट भाग्यो, हामी कयौँ दिनसम्म हाँसिरह्यौँ र खासगरी म र मेरी हजुरआमा । उहाँ कति बच्चाजस्ती हुनुहुन्थ्यो ! त्यो बेला उहाँ पचास वर्षकी हुनुहुन्थ्यो होला तर उत्साह र प्रफुल्लतामा बिल्कुल बच्चाजस्तै हुनुहुन्थ्यो । उहाँ मसँग हाँस्नुभयो र उहाँले मलाई भन्नुभयो, ‘तिमीले ठीक गर्यौ ।’
अहिले पनि म त्यो भाग्दै गरेको जैन मुनिको पिठ्यूँ देख्न सक्नुहुन्छ । जैन मुनि सुन्दर हुँदैनन् । हुनै सक्तैनन् । किनभने तिनका सारा दृष्टिकोण नै कुरुप छ । उसको पिठ्यूँ पनि कुरुप थियो ।
मैले सधैँ सौन्दर्यलाई प्रेम गरेँ, जहाँ कहीँ सौन्दर्य देखियो– तारामा, मनुष्यका शरीरमा, फूलहरूमा, या पक्षीको उडानमा– जहाँकहीँ देखियो, मैले प्रेम गरेँ । म सौन्दर्यको बिनाकुनै लाज शरम उपासक हुँ । किनभने मेरो बुझाइमा सौन्दर्यको प्रेम नगरी कुनै सत्यलाई कसैले कसरी पाउँछ होला भन्ने म बुझ्न सक्तिनँ । सत्यको दिशामा सौन्दर्य एउटा बाटो हो । बाटो अनि लक्ष्य दुई हुँदैनन्, अन्ततः बाटो नै लक्ष्यमा परिणत हुन पुग्छ । पहिलो कदम नै अन्तिम कदम पनि हो ।
त्यो सामना– अँ, यही शब्द सही हुन्छ– जैन मुनिसँग मेरो जुन सामना भयो, त्यसबाट हजारौँ मानिससँग सामना हुने कुराको शुरुवात भयो– जैन, हिन्दु, मुसलमान, ईसाई । मानिसहरूसँग राम्रो बहस गर्नका लागि म जे पनि गर्न तयार थिएँ ।
तिमीहरूलाई विश्वास नलाग्ला, सत्ताइस वर्षको उमेरमा, म पहिले नै बुद्ध भइसकेको थिएँ– मैले सुन्नत गराएँ, सूफीमतमा प्रवेश पाउनका लागि भनेर मात्र । त्यहाँ मानिसहरूले सुन्नत नगरी कुनै व्यक्तिलाई स्वीकार गर्दैनथे । मैले भनेँ, ‘ठीक छ, सुन्नत गर ! यो शरीर त आखिर नष्ट नै हुने हो र तिमीले केवल सानो छालालाई काट्ने हौ । काट, तर म सुफी स्कुलमा प्रवेश चाहन्छु ।’
कतिसम्म भने उनीहरूलाई मेरो यो कुरामा विश्वास पनि भइरहेको थिएन । मैले भनेँ, मलाई विश्वास गर । म तयार छु । तर पछि जब मैले तर्क गर्न थालेँ, उनीहरूले त्यसपछि भने, ‘सुन्नत गर्नका लागि तिमी तुरुन्त तयार भयौ र अब हामी जे पनि भनिरहेका छौँ, त्यसलाई स्वीकार गर्न चाहिँ तयार छैनौ ।’
मैले भनेँ, ‘यो नै मेरो तरिका हो । अनावश्यक र गौण कुरालाई म स्वीकार गर्न सधैँ तयार छु तर सारभूत र महत्त्वपूर्ण कुराका लागि म अडिन्छु, त्यसका लागि कसैले पनि मलाई स्वीकार गराउन सक्तैन ।’
यसपछि निश्चित नै उनीहरूले आफ्नो तथाकथित सूफीमतबाट मलाई निकाला गर्नुपर्यो । तर मैले उनीहरूलाई भनेँ, ‘मलाई निकालेर तिमीहरूले संसारलाई आफू नक्कली सूफी भएको सिद्ध गरिदियौ । तिमीहरूले एक मात्र असली सूफीलाई निकालिरहेका छौ । सत्य त के भने म चाहिँ तिमीहरू सबैलाई निष्कासित गर्छु ।’
हैरान भएर उनीहरूले एकअर्कालाई हेरे तर यही सत्य हो ।
म सत्य जान्नका लागि उनीहरूकहाँ छिरेको थिइनँ । त्यो त म पहिले नै जान्दथेँ । उसो भए म किन त्यहाँ प्रविष्ट गरेँ ? मात्र राम्रो संगतका साथ तर्क गर्नका लागि । बालापनदेखि नै मलाई तर्क गर्न बडा मजा आउँछ । राम्रो तर्क गर्नका लागि म जे पनि गर्न सक्छु । तर तर्क गर्नका लागि राम्रो वातावगरण पाउनु कति गाह्रो छ ! म यो पहिलो पटक स्वीकार गरिरहेको छु– मैले सूफीमतमा प्रवेश गरेँ र ती मूर्खलाई पनि सुन्नत गर्न दिएँ । उनीहरूले सुन्नत पनि यति पुरातन ढङ्गले गरे कि मलाई छ महिनासम्म दुखिरह्यो तर मैले त्यसको परवाह गरिनँ । सूफीमतलाई भित्रैदेखि जान्ने मेरो रुचि थियो । अफसोस, मेरो पूरा जीवनमा कुनै पनि साँचो सूफी मैले पाउन सकिनँ । तर यो त सूफीहरूका लागि पनि राम्रो भएन । मैले त कुनै साँचो ईसाई या साँचो हसिद पनि पाइनँ ।
जे. कृष्णमूर्तिले भेट्नका लागि मलाई बम्बई बोलाएका थिए । जो व्यक्ति सन्देश लिएर आएका थिए, उनी हामी दुवै जनाका साथी थिए र उनको नाम थियो, परमानन्द । मैले उनलाई भनेँ, ‘परमानन्द फर्किएर जानोस् र कृष्णमूर्तिसँग भन्नुहोस्, उहाँ मलाई भेट्न चाहनुहुन्छ भने उहाँ मकहाँ आउनुपर्छ । यो नै उचित हुन्छ ।’
परमानन्दले भने, ‘तर उहाँ त तपाईंभन्दा कयौँ वर्ष ठूलो हुनुहुन्छ ।’
मैले भनेँ, ‘तपाईं उहाँका तर्फबाट उत्तर नदिनोस् । यदि उहाँले मभन्दा ठूलो हुनुहुन्छ भन्नुभयो भने त म त्यहाँ जानु नै बेकार छ । किनभने जागरण न त ठूलो हुनसक्छ न सानो । यो त सधैँ एउटैजस्तो हुन्छ– सधैँ नूतन, सनातन ।’
उनी गए र कहिल्यै पनि फर्किएर आएनन् किनभने कृष्णमूर्तिजस्ता वयोवृद्ध व्यक्ति मसँग भेट्न कसरी आउन सक्थे ? र पनि उनी मसँग भेट्न चाहन्थे । यो बडो रोचक कुरा हो, होइन त ? म उनीसँग कहिल्यै पनि भेट्न चाहन्न थिएँ । नत्र त म उनीकहाँ गइसकेको हुन्थेँ होला । उनी मसँग भेट्न चाहन्थे र पनि म उनीकहाँ जाऊँ भन्ने चाहन्थे । तिमीहरूले यो त थोरै ज्यादती नै थियो भनी मान्नुपर्छ । परमानन्द उत्तर लिएर कहिल्यै पनि आएनन् । अर्को पटक जब उनी आए, त्यो बेला मैले सोधेँ, ‘के भयो ?’
उनले भने, ‘कृष्णमूर्ति ज्यादै रिसाउनुभयो, यति रिसाउनुभयो कि मैले दोहोर्याएर फेरि कहिल्यै सोध्ने आँट गरिनँ ।’
उनी मसँग भेट्न चाहन्थे । उनीसँग भेटेर मलाई पनि खुसी लाग्ने थियो तर मलाई कहिल्यै पनि साना कारणले कसैकहाँ जान मन पर्दैन । भलै ती जे. कृष्णमूर्ति नै किन नहोऊन् । उनी जे भन्छन्, मलाई ती प्रिय छन् । उनी जस्ता छन्, मलाई बहुतै प्रिय लाग्छन् । तर मलाई कहिल्यै पनि भेट्न इच्छा भएन– कम्तीमा मैले कसैलाई पनि उनीसँग भेट्न चाहन्छु भनेर सुनाएको छैन । उनको इच्छा थियो, उनी मलाई भेट्न चाहन्थे र पनि उनीकहाँ जाऊँ भन्ने चाहन्थे । मलाई यो कुरा मन पर्दैन र म शायदै उनीकहाँ कहिल्यै जाऔँला !
यस कारण उनको मनमा मेराप्रति विरोधी भाव जन्मियो । त्यो बेलादेखि उनी मेराविरुद्ध बोलिरहन्छन् । जब मेरा कुनै संन्यासीलाई उनी देख्छन्, उनी साँढेजस्तो व्यवहार गर्छन् । तिमीले जब कुनै साँढेलाई रातो झण्डा देखाउँछौ, के हुन्छ ? तिमीहरूलाई थाहा नै होला । ठीक त्यही हुन्छ, जब उनले मेरा कुनै संन्यासीले रातो कपडामा देख्छन् । रिसले पागल हुन्छन् । म त के भन्छु भने अघिल्लो जन्ममा उनी अवश्य पनि साँढे थिए होलान्, त्यसैले रातो रङसँग आफ्नो दुस्मनी बिर्सिएका छैनन् ।
यो त्यही बेला शुरु भएको थियो, जब मैले उनीसँग भेट्न जान अस्वीकार गरेँ । त्योभन्दा पहिले उनले मेरा विरुद्धमा कहिल्यै बोलेका थिएनन् । जहाँसम्म मेरो प्रश्न छ, म स्वतन्त्र मानिस हुँ । बिना कुनै झञ्झट म जे सुकैको पक्ष लिएर बोल्न सक्छु र तुरुन्त त्यही श्वासमा त्यसको विरोध पनि गर्न सक्छु । मलाई सबै किसिमका असंगति र विरोधाभास प्रिय लाग्छन् ।
जे. कृष्णमूर्ति मेरो विरोधमा छन्, तर म भन्छु, म उनको विरोधमा छैन । म अझै उनलाई प्रेम गर्छु । उनी बिसौँ शताब्दीका सबैभन्दा सुन्दर व्यक्ति हुन् । उनीसँग तुलना गर्न सकिने कुनै जीवित व्यक्ति म देख्दिनँ । तर उनको पनि एउटा सीमा छ र त्यही सीमा उनको बाधा बनेको छ । सीमा के भने, उनी अति बौद्धिक हुने कोसिस गर्छन् । यदि माथि उठ्नु छ भने, यदि शब्दहरू र संख्याहरूलाई छाडिदिनु पर्छ, नत्र भने यो सम्भव छैन ।
कृष्णमूर्तिले यसबाट पार हुनुपर्छ । तर उनी भिक्टोरियाको समयको बौद्धिकतामा बाँधिए । उनको बौद्धिकता आधुनिक पनि छैन, एक शताब्दी पुरानो छ, भिक्टोरियाको समयको । उनी भन्छन्, उनले उपनिषद, गीता या कुरानलाई पढेनन् र त्यो उनको सौभाग्य हो । उसो भए उनी के गरिरहन्छन् ? म भन्छु, उनी घटिया जासुसी उपन्यास पढ्छन् । कृपा गरेर कसैलाई यो नभन्नू, नत्र त उनले आफ्नो टाउको भित्तामा ठोक्न थाल्छन् । मलाई उनको टाउकोको चिन्ता छैन, मलाई त भित्ताको चिन्ता छ । जहाँसम्म उनको टाउकोको प्रश्न छ, विगत पचास वर्षभन्दा बढी समयदेखि उनको टाउकोमा माइग्रेन छ । यो त मेरो उमेरभन्दा पनि बढी समय भयो । माइग्रेनको पीडा असह्य हुन्छ । आफ्नो डायरीमा उनले लेखेका छन्, पीडाका कारण कयौँ पटक उनी आफ्नो टाउको भित्तामा ठोक्न चाहन्थे । अँ, मलाई भित्ताको चिन्ता छ ।
उनलाई माइग्रेनको पीडा किन हुन्छ ? ज्यादै बुद्धिवादिताका कारण अरु केही पनि कारण छैन । यो मेरो कुर्सी बनाउने आशीषको जस्तो, उसलाई पनि माइग्रेनको पीडा छ तर उसको यो पीडा शारीरिक छ । जे. कृष्णमूर्तिको माइग्रेन आध्यात्मिक छ । उनी अत्यन्त बुद्धिमान छन् । उनका कुरा सुनेर नै टाउको दुख्न थाल्छ । जे. कृष्णमूर्तिको प्रवचनलाई सुनेर तिम्रो टाउको दुख्न थालेन भने यसको अर्थ हो, या त तिमी सम्बुद्ध हौ या तिमीसँग टाउको नै छैन । पछिल्लो सम्भावना बढी छ । पहिलो कारण त थोरै गाह्रो नै छ ।
आशीषको माइग्रेनको उपचार हुनसक्छ तर कृष्णमूर्तिको माइग्रेन उपचारविहीन छ । तर अब उपचारको आवश्यकता पनि छैन किनभने अब त उनलाई यसको बानी परिसक्यो र यो कष्ट सहँदासहँदै उनी बूढो भइसके । अब त यो उनको पत्नीजस्तो भइसक्यो । यदि उनको माइग्रेन हटाइयो भने विधुरजस्तो हुनेछन्, एक्लै पर्नेछन् । यस्तो नगर्नू । माइग्रेनका साथ उनको विवाह भएको छ र यी दुवै एक साथ मर्नेछन् ।
अँ त म भन्दैथेँ, दिगम्बर जैन मुनिसँग मेरो जुन पहिलो सामना भयो, त्यसैबाट धेरै तथाकथित साधु र महात्माका साथ सामना गर्ने मेरो सिलसिला शुरु भयो । ती सबैलाई बुद्धिवादको रोग छ र म तिनलाई घिसारेर ठोस धरातलमा ल्याउनका लागि जन्मिएको थिएँ । तर उनीहरूलाई बुझ्झकी बनाउन गाह्रो छ, शायद उनीहरू केही बुझ्न नै चाहँदैनन् किनभने उनीहरूलाई डर छ । शायद बुझाइबिना नै रहनुमा तिनलाई फाइदा छ ।
तिनलाई धार्मिक मानिसझैँ आदर गरिन्छ । मेरा लागि त ती गोबर गणेश मात्र हुन् । गोबरको मलाई किन सम्झना भयो भने यो मात्र एउटा नन–एलर्जिक चिज हो, हैन त देवराज ?
मेरी हजुरआमा ठेट भारतीय स्त्री हुनुहुन्न थियो । उहाँका लागि त पश्चिम पनि थोरै कम विदेशी हुँदो हो । उहाँ पूर्णतः अशिक्षित हुनुहुन्थ्यो । शायद त्यसैले उहाँ ज्यादै दूरदर्शी हुनुहुन्थ्यो । शायद उहाँ ममा केही देख्न सक्नुहुन्थ्यो, जसका बारेमा म त्यो बेला बिल्कुल अञ्जान थिएँ । शायद त्यसैले उहाँ मलाई यति धेरै प्रेम गर्नुहुन्थ्यो ।… म भन्न सक्तिनँ… अब उहाँ जीवित हुनुहुन्न । एउटा कुरा चाहिँ म जान्दछु, आफ्ना पतिको मृत्युपछि उहाँ गाउँ कहिल्यै फर्किनु भएन । उहाँ मेरा पिताको गाउँमा नै बस्नुभयो । मैले उहाँलाई त्यहीँ छाड्नुपर्यो । तर जब म फर्किएर गएँ, मैले उहाँलाई पटक–पटक सोध्थेँ, ‘हजुरआमा हामी त्यो गाउँ फेरि फर्कन सक्छौँ ?’
उहाँले सधैँ भन्नुभयो, ‘के गर्न जानु ? तिमी यहाँ छौ ।’
ती तीन शब्द, सिधा सरल शब्द संगीतझैँ मभित्र गुञ्जिरहन्छन्– ‘तिमी यहाँ छौ ।’ म पनि तिमीसँग पनि यही भन्छु । … उहाँले मलाई बहुतै प्रेम गर्नुहुन्थ्यो… र तिमीलाई थाहा छ, कसैले पनि तिमीलाई मभन्दा बढी प्रेम गर्न सक्तैन ।
यो सुन्दर छ ।
तिमी ‘यहाँ’ कहिले पनि आएनौ ।
काश, मैले तिमीलाई पनि यो वृहद् अवकाशमा निमन्त्रित गर्न सक्थेँ ! ‘अहिले’ (वर्तमान) ज्यादै सुन्दर अवकाश हो । म अहिले पनि उहाँको हाँसो सुन्न सक्छु । हे परमात्मा यस्तो कुनै रसायन छैन, जसले मलाई उहाँको हाँसो सुन्नबाट रोक्न सकोस् ?
म पागल भएँ भनेर नसोच्नू । म त पहिलेदेखि नै पागल हुँ । तिम्रो पागलपन र मेरो पागलपन, यी बिल्कुलै फरक छन् भन्ने तिमीहरूले देख्छौ ?
लेखेर राख । रसपुटिन पनि ज्यूँदो हुन्थ्यो भने संन्यासी हुन्थ्यो । मेरो भनाइको अर्थ, ऊ पनि संन्यासी बन्थ्यो । मलाई जो सुकैले, कुनै अपवादले छल्न सक्तैन । म त्यस्तो मानिस हुँ, जो मृत्युका बेला पनि भन्नेछ, बस्, आजका लागि यत्ति नै !



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

