(प्रसिद्ध अमेरिकी साप्ताहिक पत्रिका पिपुल मा वेडिङ राइटरका रूपमा कार्यरत एश्लिन रोबिनेटले लेखेको मन छुने कथा ! यो सत्यकथा परीकथामा वर्णित घटनाहरूसित मिल्दोजुल्दो छ । इन्जोय रिडिङ !)
प्रस्तोता : Ashlyn Robinette
उल्थाकार : ससांग लामा
यस वर्षको क्रिस्मसेली माहौल प्रेममय थियो । चाडबाडको रौनकलाई आधिकारिक रूपमा स्वागत गर्न, डिसेम्बर ४ का दिन न्यूयोर्क शहरमा ५०,००० रङ्गीचङ्गी बत्तीहरू र स्वारोभ्स्की (Swarovski) क्रिस्टल ताराले सजिएको ७४ फिट अग्लो रकफेलर सेन्टर क्रिसमस ट्री प्रज्वलित गरियो । दीप प्रज्वलन समारोह लगत्तै, एक जोडीका लागि भने यो प्रसिद्ध स्थान, त्यो भीमकाय (Norway Spruce) ‘नर्वे स्प्रुस’ को फेदमा आफ्नो प्रेम प्रस्ताव राख्ने एउटा जादू र रोमान्टिक अवसर बन्यो ।
साँझ करीब ८ बजेतिर, ३२ वर्षीय फिलिप चो ले ६ वर्षदेखि सम्बन्धमा रहेकी २९ वर्षीया प्रेमिका हेदर न्गुयेनलाई सोच्दै नसोचेको एउटा निकै सुन्दर सर्प्राइज दिँदै विवाहको प्रस्ताव राखे ।
यो सुन्दर क्षणभन्दा केही समय अगाडि, सिनेमा विज्ञापन क्षेत्रमा कार्यरत, पूर्व फ्लाईट एटेन्डेन्ट, हेदर, आफ्ना पुराना सहकर्मी साथीहरूलाई भेट्न थाइल्यान्ड गएकी थिइन् । यात्राकै दौडान, फिलिपले उनलाई मेसेज पठाउँदै उनी फर्किएपछि एउटा ‘रोमान्टिक डेट’मा लैजाने इच्छा व्यक्त गरे र त्यस हप्ताको समय उनकै लागि छुट्याउन आग्रह गरे ।
“मैले भनेँ, ‘हुन्छ नि, प्रिय !’ र अमेरिका नफर्कुन्जेल अरू केही सोच्दै सोचिनँ,” हेदर सम्झिन्छिन्, “मैले त सदा झैं केवल एउटा मीठो र मायालु डेटिङ होला भन्ने सोचेकी थिएँ ।“
प्रस्ताव राख्ने त्यो विशेष साँझ आइपुग्यो । फिलिपले हेदरलाई न्यानो लुगा लगाउन त भने, तर अरू कुनै पनि योजना सुनाएनन्, सबै कुरा एउटा सुन्दर सर्प्राइजकै रूपमा गोप्य राखे ।
“छुट्टीको समय भएकाले सडकको जाममा पर्दा हामी केही ढिलो भइसकेका थियौं । हामी हजारौँको भीडलाई छिचोल्दै ‘आइस रिंक’ तर्फ अघि बढिरहेका थियौँ ।” हेदर भन्दै गइन्, “मानिसहरूको बाक्लो भीडमा कुम र कुहिनो ठोकाउँदै रिंकतिर जाँदै गर्दा बल्ल मैले चाल पाएँ—हामी त आइस स्केटिङ गर्न पो लागेका रहेछौँ !”
“हामीले आइस स्केटिङ गरेको करीब ४० मिनेट जति मात्र भएको थियो, अचानक रिंकमा नयाँ बरफ थप्नका लागि सबैलाई त्यहाँबाट बाहिर निस्कन सूचित गरियो ।”
“सबैजना स्केटिङ रिंकबाट बाहिरिँदै थिए । ‘एउटा फोटो खिच्न मिल्छ ?’ फिलिप (फिल) ले त्यहाँका एक कर्मचारीलाई सोधे । ती मनकारी कर्मचारीले फिलको हातबाट उसको सेलफोन लिएर भटाभट फोटो लिइदिए । स्केटिङ् रिंकमा बाँकी रहने हामी मात्र थियौँ,” हेदर भन्छिन्, “मैले केही हडबडाउँदै फिललाई भनेँ, ‘प्रिय ! हामी पनि रिंकबाट निस्कने बेला भयो हामी मात्र बाँकी छौँ ।’ निस्की भन्नुभन्दा अगाडि नै निस्केको राम्रो होला भनेर म मनमनै डराइरहेकी थिएँ, तर ती कर्मचारीले तस्वीर खिचिरहे, त्यसैले हामी पनि हाँस्दै पोज दिइरह्यौँ ।”
अचानक, त्यस जोडीमाथि चहकिलो प्रकाश ओइरियो र हेदरको मनपर्ने गीत, टेलर स्विफ्टको ‘Enchanted’ गुञ्जिन थाल्यो ।
“फिलले मलाई आफूतिर तान्यो, उसको आँखामा आँसु छचल्किरहेको थियो र शरीर अलिअलि काम्दै थियो (चिसोले हो कि भावुक भएर हो),” हेदर भन्छिन्, “जब वरपरका हजारौँ मानिसलाई छिचोल्दै गीतको बोल ‘And it was enchanting to meet you…’ ठूलो स्वरमा गुञ्जियो, फिलले एकातिर इशारा गर्यो । त्यहाँ ‘के तिमी मसँग विवाह गर्छौ ?’ (WILL YOU MARRY ME?) लेखिएका विशाल साइनबोर्डहरू झललल देखा परे।“
“म रिंकको बीचमा अक्क न बक्क परेर चौतर्फी नियाले पछि मात्र थाहा पाएँ—त्यो त साउथ क्यारोलिनाबाट आएका मेरा परिवार, साथीभाइ र न्यू योर्कका प्रियजनहरू पो रहेछन्, जसले प्रत्येक अक्षरलाई प्रेमपूर्वक थामिरहेका थिए !”
यो अविस्मरणीय प्रस्तावको लागि फिलले झन्डै दुई महिना लगाएर योजना बुनेका थिए । यसमा घण्टौंको समन्वय, अनगिन्ती गोप्य यात्राहरू, र खर्च जोगाउन एक वर्षसम्म साथीभाइसँगका रमाइला जमघटहरूको त्याग सामेल थियो । रकफेलर सेन्टरको त्यो प्रसिद्ध ‘आइस रिंक’लाई मात्र पाँच मिनेटका लागि भाडामा लिन फिलले १,६५० डलर खर्च गरेका थिए ।
उनले रिंकको ‘स्पेशल मोमेन्ट्स’ (विशेष पल) स्केटिङ प्याकेज रोजेका थिए, जसमा दुई वटा क्लासिक भीआईपी स्केटिङ टिकट (स्केट भाडासहित) र प्रस्ताव राख्ने समयमा आफ्नो रोजाइको गीत बजाउन पाउने सुविधा समावेश थियो ।
सम्भवतः सबैभन्दा विशेष कुरा के थियो भने, फिलले यो सुखद क्षणको साक्षी बन्न उनीहरूका २७ जना साथीभाइ र परिवारलाई निमन्त्रणा गरेका थिए । उनीहरूका धेरैजसो प्रियजनहरू साउथ क्यारोलिनाबाट उडेर आएका थिए, जहाँ हेदर जन्मिन् र हुर्किइन् ।
“जब मैले यो कुरा थाहा पाएँ, म भावविभोर भएँ,” भविष्यकी दुलही हेदर भन्छिन्, “मलाई राम्ररी थाहा छ, उनीहरू यहाँ आइपुग्न आफ्ना सारा काम छोडेर आएका थिए ।”
आफ्नो एउटा घुँडा टेकेर फिलले आफ्नी प्रेमिकाको हात थाम्यो र अत्यन्तै सुझबुझपूर्ण, हृदय पगाल्ने र मन छुने एउटा यस्तो मन्तव्य दिए जुन हेदरले सधैँभरि सम्झिरहनेछिन् । त्यस प्रेमिल अभिव्यक्तिमा उनकी स्वर्गीय हजुरआमा (हाल्मेओनी)ले दिनुभएको प्रेमको अनमोल ज्ञान पनि समावेश थियो ।
यो सुनेर हेदरका आँखाबाट खुशीका आँसु बग्न थाले ।
“‘मसित विवाह गर्छौ ?’ भन्ने शब्द, फिलले पूरा गर्न पायो कि पाएन, त्यसअघि नै मैले आफ्नो भित्री आत्मादेखि ठूलो स्वरमा (YESSS!!) भनेर चिच्याएँ। मेरो हृदय फुट्ला जस्तो भइरहेको थियो, एकैसाथ वर्षा र विस्फोट भएको अनुभूति भैरहेको थियो,” – हैदरले भन्दै गइन् ।
“भीडले तालीको गडगडाहटले साथ दियो र टेलर स्विफ्टको गीत (Enchanted) को मुख्य भाग गुञ्जियो । त्यो समय साँच्चै अद्भुत थियो ।” उनी थप्छिन्, “हामी दुई जनाले एकार्कालाई थामेर बेस्मारी म्वाइँ खायौं, डिज्नी राजकुमारीले जस्तै, मैले आफ्नो एउटा खुट्टा माथि उचाल्न भ्याएँ । म यति सारो अचम्मित, आश्चर्यचकित र भावविभोर भएको थिएँ कि, मलाई अझै पनि यो सबै एउटा सपना जस्तै लागिरहेको छ ।”
त्यसपछि, जोडीलाई धेरैले बधाई र शुभकामना दिए । आगामी छ महिनाभित्र न्यूयोर्क सिटी हलमा भागेर विवाह (elope) गर्ने र साथीहरूसँग रमाइलो फोटोसुट गर्ने सोचमा छन् फिलिप चो र हेदर न्गुयेन । अनि एक वर्षपछि, दक्षिण क्यारोलिनामा, भव्य तरिकाले भियतनामी-कोरियन फ्युजन सहितको आधुनिक विवाह समारोह र भोज गर्ने सोच बनाइरहेका छन् यी जोडीले ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२८ जेष्ठ २०८३, बिहीबार 







