राती सुत्नुअघि सबै केटाकेटी जम्मा हुन्थे र चुलो, मजेरीमा बस्थे अनि मनमा जे आयो त्यही विषयमा गफ गर्थे । साँझको बेला ढोकाबाट आउने मधूरो बत्तीको उज्यालोले कोठालाई कुनै मायालोकमा परिणत गरिदिन्थ्यो । घरको हरेक कुनाबाट मौनताका छाया उडेर आउँथे र उनीहरू बीच भुमरी खेल्दथे । र उनीहरूकहाँ अनौठा अनौठा कथाहरू पठाउँथे ।
उनीहरू अक्सर ती कुराहरू गर्थे जसले उनीहरूको दिमागलाई पिरोलिरहेको हुन्थ्यो । तर उनीहरूको दिमागमा सूर्यको उज्यालो, प्रेम र उमेदले भरिएका भावनाहरू नै बढी आउँथे । ‘उनीहरूका लागि भविष्य एउटा सुखद र लामो छुट्टी बराबर थियो । क्रिसमसदेखि इस्टर बीचको छुट्टीमा कुनै व्यवधान थिएन । उनीहरू यस्ता शब्द बडबडाउँथे जुन मुस्किलले मात्र बुझ्न सकिन्थ्यो । उनीहरूको कुनै पनि कथाको कुनै पनि अन्त थिएन । कैयौं पल्ट त ती चार केटाकेटीहरू एकले अर्काको कुरा सुन्न पछि नलागेर एकै पटक चिच्याउँथे तर यस्तो भए पनि उनीहरू एक अर्कासँग झर्कंदैनथे ।
उनीहरू सबै त्यति बेला साँझको धमिलो आलोकमा कुनै अज्ञात दिशातर्फ चूपचाप हेरिरहन्थे जहाँ एक प्रकारको अलौकिक सुन्दरता प्रष्टसँग देखिन्थ्यो । हरेक शब्द राम्रोसँग सुनिन्थ्यो । उनीहरूको हरेक कथाको स्पष्ट र जीवन्त अनुहार प्रष्टिन्थ्यो । उनीहरूका हरेक कथा एउटा स्पष्ट र अर्थपूर्ण अन्तसम्म पुग्दथ्यो ।
मधुरो उज्यालोमा ती चारै केटाकेटीका अनुहार एक अर्कासँग घुलमिल हुन्थ्यो । तिनीहरू मध्ये सबभन्दा कान्छो ‘तान्चोक’ को हो र जेठो दश वर्षको ‘लोजका’ कुन हो छुट्टिंदैनथ्यो । ती सबका अनुहार दुब्ला, लामा थिए र ठूला ठूला आँखा झिम्किरहेका हुन्थे ।
त्यस साँझ त्यो रहस्यमय आलोकमाथि एउटा कालो र हिंस्रक पन्जाको छाप घुम्न थाल्यो जसको कुनै आकार थिएन । निश्चित अत्तोपत्तो पनि थिएन कि पन्जा कतातिर जाँदैछ । त्यस पन्जाले ती केटाकेटीहरूको सुखद बिदाहरू, कथाहरू र रहस्यमय कुराहरूलाई निर्ममतापूर्वक अँचेट्न थाल्यो । शहरबाट खबर आएको थियो – उनीहरूका बा लडाइँको मैदानमा गएका छन् । दुश्मनका डरलाग्दा टुँडोले उनका सबै रगत चुस्दैछन् ।
उनीहरूका अगाडि त्यति वेला ती नितान्त अपरिचित, नयाँ र खतरनाक छायाहरू नाच्न थाले । ती उनीहरूका सामु प्रकट भएका थिए – लामा, अग्ला र भयावह । कुनै अनुहार छैन, आँखा छैन, मुख छैन । यी छायाहरूलाई चर्च वरिपरिका जीवनसँग कुनै सम्बन्ध थिएन । रमाइलो चन्द्रमाको उज्यालोसँग पनि थिएन । उनीहरूको कथासँग पनि ती भयावह छायाको सम्बन्ध थिएन ।
त्यो एउटा मृत भावना चियो – भाव शून्य ! संज्ञाहीन ! त्यसमा हर्ष अथवा विषाद क्यै थिएन । क्यै पनि थिएन । किनभने तिनका आँखा थिएनन् जसले ती दुर्गम छायामा दुर्घटनाको अर्थ लगाउन सकून् । तिनका बोली थिएनन् कि ती घटनाका शब्दमा बयान गर्न सकून् । एउटा आशंकाको सम्मुख परेर ती केटाकेटीको विचारमा गह्रुँगोपन र मृत्यु समान डरले अँचेट्न थाल्यो जस्तो कि कुनै ठूलो कालो पर्खालसँग ठोक्किएर चुपचाप उभिएका होउन् निश्चल ।
“बा कहिले फर्कनु होला ?” तोन्चेकले विस्मयपूर्वक सोध्यो ।
लोजकाले उसतिर रिसाहा आँखाले हेर्यो र भन्यो – “बा त मरिसक्नु भयो, कसरी फर्केर आउँछन् ?”
त्यहाँ सबैका बीच धेरै बेरसम्म एउटा मौनता व्याप्त भयो । ती सब त्यो कालो पर्खाल सामुन्ने निरीहतापूर्वक बसिरहेका थिए जसको पारि केही पनि देखिंदैनथ्यो ।
“म पनि भर्ती हुन जान्छु ।” सात वर्षको मातीज अचानक बोल्यो, मानौं उसले भन्नलाई एउटा राम्रो कुरा पाएको छ र बीचैमा भन्न जरूरी छ ।
“तिमी धेरै साना छौ ।” चार वर्षको तोन्चेकले दबेको तर धोद्रो स्वरमा आफ्नो असहमति प्रकट गर्यो ।
मिल्का उनीहरूमा सबैभन्दा दुब्ली र बिरामी केटी थिई, आफ्नो आमाको पछ्यौरी ओडेकी थिई जो एउटी मुसी झैं देखिन्थी, उसले थाकेकी गम्भीर आवाजले भनी – “लडाइँ के हो ? मातिच मलाई त्यसको कथा सुनाऊ न !”
“लडाइँ ?” मातिचले भन्यो, “लडाइँमा मानिसहरू एक अर्कालाई चक्कुले हमला गर्छन् । एकले अर्कालाई तरबारले काट्छन् । बन्दुकले एकले अर्कालाई गोली हान्छन् । जसले जति धेरै मान्छेलाई मार्छ, उसलाई राम्रो मान्छन् । कसैले पनि तिमीलाई क्यै भन्दैनन् । किनभने लडाइँमा यी सब हुन्छन्- यसैलाई लडाइँ भन्छन् !”
“तर उनीहरू एक अर्कालाई किन मार्छन् ?” मिल्काले सोधी ।
“राजाका लागि !” मातिनले जवाफ दियो । यो सुनेर सबै चूप लागे । तब उनीहरूका निद्राले लट्ठ भएका आँखा सामुन्ने एउटा धमिलो तर अत्यन्त ठूलो अनुहार देखियो । त्यसबाट हल्का उज्यालो निस्किरहेको थियो । तर त्यो अनुहार निकै नै डरलाग्दो थियो । तिनीहरू हलचल नगरी चूपचाप बसिरहे । उनीहरू मुश्किलले सास फेरिरहेका थिए । चर्चको बेन्चमा उनीहरू जसरी सास नफेरे झैं बस्थे त्यसरी नै घरको चुलामा उनीहरू बसिरहेका थिए ।
मातिचले केही बेरसम्म सोचविचार गरिरह्यो, फेरि उसले मौनताको पर्दा च्यात्दै भन्यो, “म पनि लडाइँमा जान्छु, दुश्मनसँग लड्न ।”
“दुश्मन भन्या के हुन्छ ? के त्यसको टाउकोमा सिङ हुन्छ ?” मिल्काले फेरि आफ्नो पातलो र कमजोर आवाजमा सोधी ।
“अनि के त ? सिङ नभए तिनीहरू कसरी दुश्मन हुन्छन् ?” तोन्चेकले रिसाएर तर गम्भीरतापूर्वक आफ्नी दिदीको प्रश्नको जवाफ दियो । मातिचलाई पनि यसको ठीक ठीक जवाफ थाहा थिएन । “म दुश्मनको सिङ हुन्छ भन्ने कुरा मान्दिनँ” उसले रोकिंदै रोकिंदै बिस्तारै तोन्चेदको कुराको विरोध गर्यो ।
“अँ त नि, तिनका टाउकामा कसरी सिङ हुन्छन् ? तिनीहरू पनि हामी जस्तै मान्छे त हुन् नि ।“ लोजकाले बीचैमा भन्यो, “तर एउटा कुरा सुन, तिनीहरूको आत्मा चैं हुँदैन ।”
निकै बेरको मौनतापछि तोन्चेकले भन्यो, “तर लडाइँमा मान्छे कसरी ढल्छन् ? यसरी पछाडिपट्टि ?” र उसले पछाडिपट्टि ढले जस्तो अभिनय गर्यो ।
“तिनीहरू उसलाई मारी नै दिन्छन् ?” मातिचले चिसो आवाजमा भन्यो ।
“बाले मलाई एउटा बन्दुक ल्याइदिन्छु भन्नु भा’थ्यो ।”
“तर अब कसरी ल्याउन सक्नुहुन्छ ? उहाँ त मरिसक्नु भयो ।” लोजकाले तुरुन्तै उसको कुरा काट्दै भन्यो ।
“त्यसो भए तिनीहरूले बालाई मारे त ? उहाँ मर्नुभयो ?”
“अँ बा मर्नुभयो !”
केटाकेटीका सिपीका झैं खुलेको र चौडा आँखाबाट मौनता चुहिन थाल्यो । उनीहरूले अँध्यारोमा आँखा गाडेर नजाने के हेर्ने प्रयास गरे । एउटा त्यस्तो चीज जुन उनीहरूको मनमस्तिष्कको क्षमताभन्दा टाढाको कुरा थियो ।
अस्ताउन लागेको सूर्यको अन्तिम किरणहरू अँध्यारोको हत्या गर्दै थियो । वातावरण एकदम शान्त थियो । केवल गाईगोठबाट सुँकसुँकाइरहेको आवाज आइरहेका थिए । त्यो शायद ती केटाकेटीका तरुनी आमाका सुँकसुकाइ थियो जो गाई गोठमा गाईलाई दानापानी दिन गएकी थिइन् ।
घरबाहिर केटाकेटीका बाजेबज्यै एउटा बेन्चमा निश्चल बसेका थिए । दुई वृद्ध आकृतिहरू एक अर्कासँग निहुरेर बेन्चमा जडवत् बसिरहेका थिए । उनीहरूले एक अर्काको हात बेस्सरी समातेका थिए । उनीहरूले वर्षौंदेखि यस्तो गरेका थिएनन् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
१६ माघ २०८२, शुक्रबार 







