मूल: रस्किन वण्ड

अनुवादः गोविन्द गिरी प्रेरणा

 

हैन, (अरुणले भन्यो, जस्तो कि हामी रातको खाना पर्खिरहेका थियौं) म मेरो छिमेकीको श्रीमतीसँग प्रेममा फसेको थिइन । यो त्यस्तो किसिमको कथा होइन ।

यति भन्ठान, लीला एकदम आकर्षक स्वास्नीमान्छे थिइन् । तिनी सुन्दरी वा राम्री अवश्य थिइनन् । तर तिनको जीउ मिलेको थियो । सोह्र वर्षे किशोरीको झैं तिनको जीउ सर्लक्क परेको थियो । तिनी सधैं तेल लगाएर बिहान बेलुकी नुहाउँथिन् । हिउँदको घाममा तिनको शरीरको छाला टलक्क टल्किन्थ्यो । तिनको ओठ सधैं पानले रातै हुन्थ्यो तर दाँत भने चमकदार सेतो नै थियो ।

म उनीभन्दा पाँच वर्ष कान्छो थिएँ । उनी मलाई भाइ भन्थिन् । उनको लोग्ने उनीभन्दा आठ वर्ष जेठो चालीस वर्षको थियो, भन्सार र अन्तः शुल्कमा काम गर्थ्यो, जँड्याहा थियो र कालो काम समेत गर्थ्यो र प्रायः जसो घरबाहिर यात्रामै बिताउँदथ्यो । यस्तो सधैंको अनुपस्थितिमा उनको लोग्ने उनीप्रति वफादार छैन भन्ने उनले बुझेकी थिइन् । तर उनी भने त्यस्ती थिइनन् र तिनको समय सानो छोरा चन्द्र‌को स्याहार सुसार मै बित्दथ्यो ।

म त्यो फुच्चेको त्यति वास्ता गर्दैनथें । त्यो निकै खराब थियो र मलाई आफ्नो काममा लागेको वेला दुःख दिने र वाधा पुर्‍याउनै उसलाई आनन्द आउँथ्यो । ऊ सोधपुछ विना नै मेरो कोठामा पस्थ्यो, दराजका किताबहरू खोसल्थ्यो र मेरा कोही पाहुना आएका छन् भने उनीहरूको अनुहार र हाउभाउको नक्कल गरेर बेइज्जती गरिदिन्थ्यो ।

लीला प्रायः एक्ली भएकी बेला मलाई बरन्डामा बस्न भन्थिन् र गफ गर्थिन् । दिनभरिको कामपछि हुक्का तानेर क्षणिक मनोरञ्जन गर्थिन् । हुक्का तान्ने बानी उनले आग्रा नजिकको आफ्नो गाउँबाट सिकेकी थिइन् र त्यो बानी छाड्न उनले मानिनन् । उनी गफ गर्न रुचाउँथिन् र म एउटा राम्रो श्रोता थिएँ र छिट्टै उनले  मन पराइन् ।  सत्य त्यो थियो- म  छब्बीस वर्षको थिएँ र अझै म अविवाहित थिएँ । त्यसैले कहिल्यै पनि तिनलाई आश्चर्यचकित तुल्याउन छाडेकी थिइन ।

उनी आफैले मेरो बिहाको जिम्मेवारी लिएकी र त्यति मेरै भएको थिएन । मैले यस प्रकारको कुराको विरोध गर्नु ठीक ठानिनँ । मैले आफूलाई अविवाहित नै बस्न रुचाएको र बिहा गर्न सामर्थ्य नै नभएको भन्दा उनले पत्याइनन् । एउटी स्वास्नी हरेक पुरुषको सह‌योगको लागि आवश्यक पर्छ – उनको यस्तो सोचाइ थियो । एउटी स्वास्नीले गर्दा घरको खर्च कम हुन्छ । म खाना कहाँ खान्छु ? अवश्य नै होटेलमा । त्यसको लागि मैले महिनाको कमसेकम साठी रुपैयाँ खर्च गर्नुपर्छ शुद्ध शाकाहारी खाना मात्र खाए पनि । तर मसँग एउटी साधारण घरेलु श्रीमती छे भने त उसैले खाना बनाउँछे अनि त्यति रुपैयाँले दुवैलाई मजाले खान पुग्छ ।

लीलाले मेरो कमिज सुमसुम्याइन्, मेरो एउटा टाँक झरेको थियो र कलर खुम्चिएको  थियो । उनले मेरो पहेंलो अनुहारमा हेरिन् र भनिन्- “यदि मलाई हेरचाह गर्ने ‘कोही’ हुँदैन भने म छिटै कैयन् रोगको शिकार बन्न बेर छैन । हुक्का तानेर फुरुरु धूवाँ छाड्‌दै उनले घोषणै गरिन् – मलाई एउटी जवान युवतीको खाँचो छ, जुन आग्रा नजिकैको कुनै गाउँको होस् ।“

“यदि मैले तपाईंजस्तै पाएँ भने,” मैले लजाउँदै भनें -“मलाई बिहा गर्न कुनै आपत्ति छैन ।”

उनी मेरो कुराले खुशी देखिइन् र दुःखी पनि । “उमेर पुगेकी आइमाई बिहा गर्नुहुन्न,” उनले सल्लाह दिइन्, “जीवनका हरेक पक्षमा आफूभन्दा अनुभवी स्वास्नी विहे गर्नुहुन्न । यो सब जिम्मा मलाई देऊ । म तिमीलाई सुहाउने दुलही खोजिदिन्छु ।

यसलाई लीलाले गम्भीरतापूर्वक लिन्नन् होला भनेर मैले उनलाई खुशी तुल्याउन यी सब कुरामा मन्जुरी देखाएँ । तर दुई दिन पछि उनले एउटा घरमा जानको लागि साथ दिन भनिन्- टुहुरी बालिकाको निम्ति । म छक्क परें । मैले उनको यो योजनासँग सहमति जनाइनँ ।

“के ममाथि तिम्रो विश्वास छैन ?” उनले भनिन्- “तिमीले मजस्तै आइमाई मन पराउँछु भनेका हैनौ र ! म दश वर्षअघि कस्ती थिएँ जान्न सक्दिन र !”

“म तपाईं अहिले जस्तो हुनुहुन्छ त्यस्तै मन पराउँछु ?” मैले भनें, “दश वर्ष अघिकी तपाईं जस्तो होइन !”

“निश्चय नै हामी तिमीलाई सबभन्दा पहिला केटी देखाउने प्रबन्ध गर्नेछौं ।”

“तपाईंले बुझ्नु भएन,” मैले विरोध गरें, “मेरो मतलब यो होइन कि कसैलाई विहे गर्नुअघि नै प्रेम गरूँ । जान्दछु तपाईं राम्री केटी रोज्न सक्नुहुन्छ र म साँच्चै नै जुन घरेलु र साधारण छे उसलाई मन पराउँछु जसले एम.ए.पढेकी र मनोविज्ञमा अनर्स गरेकी होस् । कुरा यति हो म यी सबको लागि तयार छैन । म अझै एकदुई वर्ष स्वतन्त्र रहन चाहन्छु । म बन्धनमा पर्न चाहन्न । खुलस्त भन्ने हो भने म कुनै उत्तरदायित्व चाहन्न ।”

“एउटा सानो उत्तर‌दायित्वले तिमीलाई मान्छे बनाउँछ ।” लीलाले भनिन् । तर मलाई अनाथालय जान वाध्य तुल्याइनन् । यो कुरा केही दिनसम्म त्यत्तिकै रह्यो ।

मलाई लागिरहेथ्यो लीलाले आफूलाई यस कुरामा सन्तु‌लित तुल्याइसकेकी थिइन् कि मानौं तिनी दुनियाँमा कुनै मान्छेलाई एक्लो छाड्‌दिनन् । र एकदिन बिहानै उनले मेरो नाकैमा ठेसिने गरी आँखा अगाडि अखबार ल्याएर देखाइन् ।

“ल हेर यहाँ,” उनले भनिन्, “के भन्ठान्या तिमीले ? मैले एउटा अचम्मको कुरा गरें ।”

उनले मलाई छक्क तुल्याउन सफल भएकी थिइन् । उनले मेहन्दी लगाए‌को चोरी औंलाले एउटा वैवाहिक विज्ञापन देखाइन् ।

“अविवाहित पत्रकार । उमेर पच्चीस । आकर्षक पत्नीको खोजीमा छ जो घरेलु कार्यमा निपुण होस् । जाति, धर्मको बन्धन छैन…”

मैले मान्नै पर्यो – लीलाले एउटा राम्रो काम गरिन् । र केही दिनमै चिठीको ओइरो लाग्न थाल्यो – विशेष गरी केटोका बाबु आमाहरू र सम्बन्धितहरूको । प्रायः सबै बाबुआमाले म कति कमाउँछु – त्यो जान्न चाहेका थिए । त्यसै बेला तिनीहरूले आफ्नो र आफ्ना नातेदारहरूको उच्च ओहदाको धाक देखाइरहेका थिए । केही आमाबाबुले आफ्ना छोरीका फोटा पनि संलग्न गरेका थिए । ती राम्रा थिए यद्यपि तिनलाई सकभर राम्रो पार्न खोजिएको देखिन्थ्यो ।

मैले फोटाहरूको रुचि लिएरै अध्ययन गरें । शायद बिहा त्यति खराब प्रस्ताव थिएन । मैले ती मध्ये तीनवटा फोटा छानें र लीलालाई देखाएँ ।

म छक्क परें । तिनले तीनवटै फोटा रुचाइनन् । तीनवटा मध्ये एउटाको अनुहार ठीक थिएन, एउटी टि.बि. लागेकी जस्ती छ र एउटी चाहिं उत्ताउली देखिन्छे भनेर । लीलाले निश्चतापूर्वक सोचिन् – विज्ञापन गर्ने सम्पूर्ण विचार नै गल्ती थियो । उनी दुखित थिइन् – उनले नै यो सब वेडा उठाएकी थिइन् र प्रत्युत्तरहरू प्रायः तिनीहरूबाट आएको थियो जो भाग्यका शिकारी थिए । तर मसँग भाग्य नै थिएन ।

त्यसैले हामीले सबै चिठीहरू नष्ट गर्‍यौँ । मैले केही फोटा राख्न  चाहेको थिएँ तर लीलाले त्यसलाई पनि बाँकी राखिनन् ।

अनि केही समयसम्म मेरो बिहा गर्ने कुनै कोशिश भएन ।

लीला र म सधैं भेट गर्थ्यौं तर हामी अरू नै विषयका कुरा गर्थ्यौं । कहिलेकाहीं साँझमा उनी मलाई आफू सामुन्ने खटियामा बसाउँथिन् र हुक्का तान्दै उनको गाउँ र परिवारको कथा भन्न थाल्थिन् । म एउटा अल्लारे केटोको रूपमा प्रयोग भैहेको थिएँ ।

यी सबको अन्त्य लीलाको लोग्नेको मृत्युपछि भयो । उसलाई एउटा रक्सी कम्पनीको मालिकले थुप्रै तिर्नु पर्ने अन्तःशुल्क तिर्नुको बदला अन्तःशुल्कको मानिसलाई नै गोलीले उडाइदिएर छुटकारा पाउन खोजेको थियो । यसको अर्थ यो थियो- अब लीलाले आवास गृह छाड्‌नुपर्ने भयो र आग्रा नजिकैको आफ्नो गाउँमा फर्किनुपर्ने भयो । उनले छोराको स्कूलको परीक्षा नसकिउन्जेल पर्खिन् र सबै सामान गुन्टा कसिन् अनि तेश्रो दर्जाको दुई वटा टिकट लिइन् – आग्राको लागि ।

मैले बुझेसम्म केही कुराले उनलाई दुःख भइरहेथ्यो र जब म स्टेशनमा बिदाइको लागि गएँ, मैले अनुभव गरें त्यो के थियो । उनलाई मेरै अविवाहित अवस्थाप्रति चिन्ता थियो ।

“मेरो गाउँमा” उनले भनिन्- “एउटी राम्री केटी छ, मेरो टाढाको नाता पर्ने । म तिनका बाबुआमासँग कुरा गर्छु ।”

र मैले कुनै यस्तो कुरा भनें जुन मैले भन्न यस क्षणसम्म कहिल्यै आँट गरेको थिइनँ । त्यो कहिल्यै पनि – त्यो क्षणसम्म मेरो मगजमा घुसेको थिएन र म लीलाभन्दा कम आश्चर्यचकित भइन जब मेरो मुखबाट यस्तो वाक्य निस्क्यो – “किन तपाईं मसँग बिहा गर्नुहुन्न ?”

अरुणले कुरा टुङ्‌‌ग्याउने समय नै पाएको थिएन, यस्तो रोचक क्षणमा खाना आइपुग्यो ।

तर वास्तवमा खानाले नै कथाको अन्त्य गराएको थियो । खाना उसकी श्रीमतीले ल्याएकी थिई- एउटी अत्यन्त राम्री आइमाई, बलियो देखिने र जीउ मिलेकी, त्यो लीला मात्र हुन सक्थी । र केही मिनेटपछि चन्द्रू, अरुणको झड्‌केलो छोरो घर भित्र छिर्‍यो ।

अरुणले आफ्नो श्रीमतीसँग मेरो परिचय गरायो र हामीले औपचारिकता निभायौं ।

“तर किन तपाईंको साथीले आफूसँग श्रीमती लिएर नआएको ?”

“श्रीमती ? ऊ त अझै अविवाहित छ ।”

र त्यसपछि उसले आफ्नो श्रीमतीको बद‌लिएको भाव निरीक्षण गर्‍यो र एउटा गम्भीर सरोकार रहेको पायो अनि तुरुन्तै कुराकानीको विषय बदल्यो ।