ब्यारी स्क्यानेल

जेनरेटिभ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले प्रतिलिपि अधिकार (कपिराइट) सम्बन्धी दुई जटिल समस्याहरू उठाएको छ। पहिलो हो, एआई मोडेलहरूको प्रशिक्षणमा प्रयोग गरिएका कार्यहरूको लागि मुआब्जाको व्यापक रूपमा चर्चा भएको प्रश्न। दोस्रो, जसलाई अहिलेसम्म त्यत्ति ध्यान दिइएको छैन, त्यो एआईले उत्पादन गर्ने कार्यसँग सम्बन्धित छ। प्रतिलिपि अधिकार लेखकहरूमा हुन्छ । तर, मानव लेखक नभएको कार्यबाट सिर्जित सिर्जनाको अधिकार कोसँग हुन्छ ?

अमेरिकाले अहिलेसम्मको लागि सबैभन्दा स्पष्ट रेखा तानेको छ। सन् २०२३ मा, अमेरिकी कपिराइट कार्यालयले ग्राफिक उपन्यास ‘जरिया अफ द डन’ लाई प्रतिलिपि अधिकार सुरक्षा प्रदान गर्यो, तर एआईद्वारा जेनरेट गरिएका कुनै पनि छविहरूको सुरक्षा दिएन । मानवद्वारा लिखित पाठ र व्यवस्थापन मात्र सुरक्षित गरेको छ । अझ निर्णायक रूपमा, गएको मार्च महिनामा एक संघीय अपील अदालतले एआईद्वारा जेनरेट गरिएको सुन्दर, बैजनी र हरियो कलाकृति “अ रिसेन्ट एन्ट्रेन्स टु प्याराडाइज” लाई प्रतिलिपि अधिकार सुरक्षा दिइन्न भन्यो । किनभने सिर्जनाहरू “पहिलो त मान्छेले बनाएको वा लेखिएको” हुनुपर्छ। सन्देश स्पष्ट छ: एआई प्रोम्प्टहरू, जति सुसज्जित भए तापनि, लेखकीय स्वामित्वको लागि पर्याप्त हुने छैन ।

चीनले भने विपरीत बाटो लिएको छ । सन् २०२३ मा, बेइजिङ इन्टरनेट अदालतले एआईद्वारा जेनरेट गरिएका छविहरूले प्रतिलिपि अधिकार सुरक्षा प्राप्त गर्न सक्ने निर्णय गर्यो । उसको तर्क थियो, प्रोम्प्टहरू चयन गर्ने र आउटपुटहरू परिष्कृत गर्नेमा प्रयोगकर्ताको बौद्धिक लगानी हुन्छ । त्यो लगानी सुरक्षित हुनुपर्छ ।

अहिलेसम्म, यूके र आयरल्याण्डले एउटा मध्यम तरिका अपनाएको छ । युके र आयरल्याण्डले “कम्प्युटर-जेनरेटेड काम”लाई प्रतिलिपि अधिकार सुरक्षा दिएको छ । तर यो सुरक्षा अस्थिर आधारमा हुन सक्छ। गएको वर्ष मात्र यूके सरकारले एउटा सल्लाह गर्दै त्यस्तो सुरक्षा हटाउने हो कि भनी सोधेको थियो। आयरल्याण्डको एआई सल्लाहकार परिषद्ले पनि त्यस्तै सिफारिस गरेको छ।

कानूनी ढाँचाहरूमा वैश्विक भिन्नताले व्यवसायहरूका लागि समस्या सिर्जना गर्न सक्छ। एउटै एआईद्वारा जेनरेट गरिएको सामग्री बेइजिङमा कानूनी रूपमा संरक्षित बौद्धिक सम्पत्ति हुन सक्छ, जबकि बोस्टनमा सार्वजनिक डोमेनमा रहन सक्छ। यसको मतलब, अमेरिकामा एआईले बनाएको जिङ्गल वा मार्केटिङ कपी, सिद्धान्ततः, जो कसैले प्रयोग गर्न सक्छ।

यो मुद्दा केवल आफ्नो कामको लागि एआई प्रयोग गर्ने लेखकहरू, ग्राफिक कलाकारहरू र संगीतकारहरूलाई मात्र प्रभावित गर्दैन। यदि तपाईंको व्यवसाय सफ्टवेयर सिर्जना गर्ने हो भने, तपाईं अझ बढी जोखिममा हुन सक्नुहुन्छ। अमेरिका र अन्य अधिकार क्षेत्रहरूमा, एआईद्वारा जेनरेट गरिएका कुनै पनि व्यक्तिगत कोड लाइनहरू संरक्षित हुने छैनन्, यदि सम्पूर्ण सफ्टवेयर उत्पादन संरक्षित भए तापनि। यसले कर्पोरेट लेनदेनहरूलाई प्रभावित गर्ने सम्भावना छ, जहाँ सम्झौताहरू कम्पनीले वास्तवमा केको मालिकाना हक राख्छ भन्नेमा केन्द्रित हुन्छन्।

कर्मचारीहरू र बाह्य ठेकेदारहरूसँगको सम्झौताहरू पनि यही श्रेणीमा पर्दछन्। धेरैजसोमा यस्तो व्यवस्था हुन्छ कि कर्मचारी वा ठेकेदारद्वारा जेनरेट गरिएको कुनै पनि प्रतिलिपि अधिकार सामग्री कम्पनीलाई हस्तान्तरण गरिन्छ। तर तपाईंले अहिले अस्तित्वमा नभएको कुरो हस्तान्तरण गर्न सक्नुहुन्न।

एआई जस्तो नयाँ प्रविधि प्रयोग गर्नबाट कर्मचारीहरू र ठेकेदारहरूलाई रोक लगाउनु उचित हुँदैन । यस्तो रोक हस्तलिखित काम माग्नु जत्तिकै पुरातनवादी हुनेछ।

वकिलहरूले वैकल्पिक समाधानहरू खोज्नु आवश्यक छ। उदाहरणका लागि, यदि एआईद्वारा जेनरेट गरिएको कोड प्रतिलिपि अधिकारद्वारा संरक्षित छैन भने, त्यसपछि नयाँ सम्झौताहरू तयार गर्नु पर्छ ।

म आयरल्याण्डको एआई सल्लाहकार परिषद्को सदस्य हुँ । यो परिषद्ले पछिल्लो समय सरकारलाई केही एआईद्वारा जेनरेट गरिएका कार्यहरूको लागि सीमित प्रकारको बौद्धिक सम्पत्ति सुरक्षा शुरू गर्न सिफारिस गरेको छ । त्यसो त सर्जक समुदायले भने यसप्रति असहमति देखाएको छ । खासमा भन्ने हो भने एउटै मात्र देशले आफ्ना लागि मात्र यस्तो नीति लागू गर्न गाह्रो हुनेछ।

भिक्टोरियन-युगका प्रतिलिपि अधिकार नियमहरू धेरै मात्रामा रचना गर्ने, कोड गर्ने र सिर्जना गर्ने मेसिनहरूको भारमा ध्वस्त भएका छन्। गेटी इमेजेज र द न्यूयोर्क टाइम्स जस्ता संस्थाबाट एआई कम्पनीहरू विरुद्धको मुद्दाहरू अस्तित्वमा रहेका कार्यहरूको दोहनमा केन्द्रित छन्। एआईद्वारा बनाइएको सामग्रीको स्वामित्व अदालतहरूमा धेरै हदसम्म परीक्षण भएको छैन। तर त्यो चाँडै बदलिन सक्छ।

एआईले लेखकत्वलाई पुनर्निर्माण गरिरहेको छ। यस्तो बदलावका बीच सर्जक जीवित रहन केही सम्झौताहरू पुनर्लेखन गर्नु, बौद्धिक सम्पत्ति रणनीतिहरू पुनर्गठन गर्नु र व्यापार गोप्य र गोपनीयताको माध्यमबाट सुरक्षा निर्माण गर्नु आवश्यक छ ।

(लेखक आयरल्याण्डको एआई सल्लाहकार परिषद्का सदस्य हुन् ।)