
अन्ना दोस्तोएभ्स्काया
एउटा साहित्यिक कार्यक्रममा भाग लिन अन्ना पुगेकी थिइन् । ३ अक्टोबर १८६६ को त्यो दिन सधैँझैँ ठीक ७ बजे पी.एम. ओल्खिनको लेखनीमाथि भाषण भइरहेको थियो । भाषण शुरू भइसकेको थिएन । भाषण सुन्ने अन्य धेरैमध्ये अन्ना पनि थिइन् । त्यही बेला उनका परिचित ओल्खिन आए र उनको छेउमा बसे ।
‘अन्ना ग्रिगोरिभ्ला, तिमीले डिक्टेसनमा कसैलाई सघाउन सक्छ्यौ ? लेख्न सघाउने कसैलाई खोजिदेऊ न भनेर एक जनाले हैरान पारिसके,’ ओल्खिनले एकै झमटमा भने ।
अन्नाको काम नै त्यही थियो । यसअघि पनि कतिपय कवि लेखकलाई उनले लेख्न सघाएकी थिइन् । त्यसैले भनिन्, ‘अरे, मेरो कामै त्यही हो । मलाई त कवि लेखकलाई सघाउन मज्जा नै लाग्छ नि ! तर मलाई डर के छ भने, म त्यस्तो पोख्त छैन । कतै उहाँले खोजेजस्तो काम गर्न नसकूँली !’
उनका साथी ओल्खिनले पूरै विश्वासका साथ भने, ‘त्यसको चिन्ता तिमी नगर, मैले जति भनेँ, त्योभन्दा बढी गर्नुपर्छ जस्तो मलाई लाग्दैन ।’
‘मैले कसका लागि काम गर्नु पर्ने हो ?’ अन्नाले सोधिन् ।
केहीबेरको मौनतापछि लामो श्वास फेर्दै उनले भने, ‘लेखक दोस्तोयव्स्कीका लागि ।’
अन्नालाई विश्वास नै लागेन । उनले पिलिक्क ओल्खिनतिर हेरिन् । दोस्तोयव्यस्कीका लागि काम गर्न उनी राजी भइन् ।
४ अक्टोबर १८६६ को दिन अन्नाका लागि महत्त्वपूर्ण थियो । त्यो दिन उनले दोस्तोयव्स्कीलाई भेटिन् ।
उनको घर अगाडि पुगेर अन्नाले घन्टी बजाइन् । एक जना वृद्धा भइनसेकी नोकर्नीले ढोका खोलिन् । प्रश्नसूचक अनुहारले उनले हेरेपछि अन्नाले भनिन्, ‘मलाई ओल्खिनले दोस्तोयव्स्कीसँग भेट्नू भनेका थिए ।’
नोकर्नीले बैठक कोठामा बसालिन् र भित्री गइन् । त्यसको दुई मिनेटमा नै फ्योदोर मिखाइलोविच दोस्तोयव्स्की आए र उनको निजी अध्ययन कक्षमा अन्नालाई लगे ।
केही सामान्य कुरापछि लेखकले रशियन हेराल्ड पत्रिकाका केही कुरा पढ्दै कति चाँडो लेख्न सक्दिरहिछ भनी जाँचे । लेखकले तीव्र स्वर र गतिमा बोल्न थाल्दा अन्नालाई लेख्न केही गाह्रो भयो । उनले बीचैमा रोकेर दोस्तोयव्स्कीलाई भनिन्, ‘सुस्तरी बोल्नु न, मलाई लेख्न गाह्रो भयो ।’
अन्ना अत्तालिएकी थिइन् । उनलाई लाग्यो, मैले राम्रोसँग काम गर्न सकिनँ तर फेरि लेखोट हेर्दा त्यति नराम्रो पनि उनलाई लागेन ।
दोस्तोयव्स्कीले अन्नालाई भने, ‘तिमी साँझ ८ बजे फेरि आउन सक्छ्यौ ?’

फ्योदोर दोस्तोयव्स्की
अन्नालाई रातिहुँदी फेरि आउन निकै गाह्रो थियो । र, पनि उनलाई दोस्तोयव्स्कीसँग संगत गर्नु थियो । यो काम उनका लागि महत्त्वको थियो । त्यसैले उनले भनिन्, ‘हुन्छ ।’
अप्ठेरोसँग हुन्छ भनेको सुनेर मुस्कुराउँदै दोस्तोयव्स्कीले भने, ‘ओल्खिनले मलाई सहयोग गर्न पुरूषको साटो महिलालाई पठाउन चाहेको बताउँदा मलाई एक हिसाबले खुशी नै लागेको थियो, किन थाहा छ ?’
‘किन ?’
‘केटाहरू अलि फटाहा हुन्छन्,’ अनुहारमा केही शरारती मुस्कान ल्याउँदै दोस्तोयव्स्कीले भने, ‘केटाहरू काम गर्दागर्दै केही पिउँ न भनेर मेरो महँगो रक्सीतिर लपलपाउँछन् । केटीहरू चाहिँ त्यस्तो गर्दा रहेनछन् !’
अन्नालाई बेस्कन हासूँ नलागेको होइन तर उनले आफ्नो हाँसो दबाउँदै भनिन्, ‘तपाईं ढुक्क हुनुस्, म रक्सी माग्दिनँ ।’
त्यही दिन साँझ आठ बजे अन्ना दोस्तोयव्स्कीको घर गइन् । अन्ना जुन कुर्सीमा बसिन्, त्यो छुँदै गर्दा उनलाई गर्व लाग्यो । यो महान् लेखकले यही कुर्सीमा बसेर क्राइम एन्ड पनिसमेन्ट लेखेको हो भन्ने सम्झँदा मात्र उनको आङ सिरिङ्ग भयो, गर्वले ।
अन्नालाई दोस्तोयव्स्कीबारे जान्ने इच्छा र उत्सुकता थियो । एक पटक त उनले कतिसम्म हतार गरिन् भने, कुरा हुँदै गर्दा दोस्तोयव्स्कीलाई दिइएको सजायका बारेमा नै सोधिदिइन् ।
प्रश्न सोध्नेबित्तिकै दोस्तोयव्स्की पुराना यादमा छिरे र बडो आत्मियताका साथ भने, ‘म आफ्ना साथी कैदीहरूसँग सेम्योनोवस्की परेड मैदानमा उभिएको थिएँ । पाँच मिनेटपछि नै हामीलाई गोली हान्ने तयारी भइरहेको थियो । हामीलाई मृत्युको तयारीका लागि पोशाक लगाउन दिइएको थियो र तीन लाइनमा उभ्याइएको थियो । मेरो नम्बर आठौँमा थियो ।’
केहीबेरको मौनतापछि अन्नासँग आँखामा आँखा जुधाउँदै दोस्तोयव्स्कीले भने, ‘ईश्वरलाई मात्र थाहा छ, त्यो बेला मेरो मनमा ज्यूँदै रहने कति चर्को र जबरजस्त इच्छा थियो । त्यो बेला मलाई मेरो जिन्दगी ज्यादै मूल्यवान् लागिरहेको थियो । मेरा सामुन्ने मेरो जीवनको पूरा अतीत खुला किताबजस्तो महसूस भइरहेको थियो । मलाई स्मृतिहरूले चिमोटिरहेका थिए । सोचिरहेको थिएँ कि मैले अहिलेसम्म मेरो जुन जीवन थियो, त्यसलाई मैले राम्रोसँग किन जिउन चाहिनँ ? किन यसलाई सदुपयोग गरिनँ । म जीवन पुनः बाँच्न चाहन्थेँ । एउटा लामो, ज्यादै लामो जीवन म बाँच्न चाहन्थेँ । अचानक मेरा केही साथीहरूलाई मुक्त गरियो । त्यही बेला एउटा घोषणा गरियो, ‘दोस्तोयव्स्की तिम्रो मृत्युदण्ड माफ गरिएको छ । तिमी अब तत्काल मर्ने छैनौ । त्यसको साटो अब तिमीलाई चार वर्षे कडा सजाय तोकिएको छ ।’
लामो श्वास फेर्दै दोस्तोयव्स्कीले भने, ‘मलाई अझै याद छ, त्यो बेला मेरो मनमा जिन्दगीभरिको खुशीले मेरो मन त्यसरी नै फुलेको थियो, जसरी एउटा फुकुण्डा हावाले भरिन्छ । त्यसपछि मलाई एलेक्जेयेभ नामक एउटा किल्लामा पठाइयो । त्यहाँ पुगेपछि मात्र म पक्का भएँ, म बाँचेकै रहेछु । मलाई साँच्चिकै मृत्युदण्डबाट माफी दिइएको रहेछ ।’
अन्नाले चुपचाप दोस्तोयव्स्कीको बयान सुनिरहेकी थिइन् । उनलाई यस्तो महसूस भयो, मानौँ उनको ढाड पसिनाले लपक्कै भिजिसक्यो । अन्नालाई त्यो वृद्धजस्तो कायाप्रति औधि मायाँ लागेर आयो । कति आत्मिय मान्छे छ यो ! के मात्र भोगेन यसले !
यसपछि दुवै जना डिक्टेसनमा लागिपरे । डिक्टेसन गराउने र सुन्ने क्रम जारी रह्यो । लेख्न लगाएका कुराहरू कयौँ पटक पढेर सुनाउन भन्थे उनले । झर्को नमानी अन्नाले काममा दत्तचित्तता देखाइरहिन् ।
भोलिपल्ट आफ्ना सारा निजी कामधन्दा सकेर उनी दोस्तोयव्स्कीकहाँ पुग्दा तोकेको समयभन्दा आधा घण्टा ढिला भइसकेको थियो । दोस्तोयव्स्की चाहिँ अन्ना नआउली भन्नेमा चिन्तित थिए । भेट हुनेबित्तिकै भनिहाले, ‘काम अलि कठिन छ, तिमीलाई मन परेन होला भन्ने सोचिरहेको थिएँ । अब मन परेन भने त तिमी नआउली भनेर मन मारिसकेको थिएँ ।’
अन्नाले केही बोलेर उनको कुरा काट्नुअघि नै फेरि उनले थपे, ‘मसँग तिम्रो ठेगाना पनि थिएन । थाहा भएको भए कसैलाई बुझ्न पठाउने थिएँ । ठेगाना नभएकाले मनमनै म अनेक कुरा सोचिरहेको थिएँ । हिजो हामी दुई जनाले गरेको मिहिनेतबाट म त निराश नै भएको थिएँ । तिमीलाई त्यो काम मन परेन र आइनौ पो भन्ने सोचिरहेको थिएँ ।’
अन्नाले त्यो बेला ढिला आएकामा माफी मागिन् र थपिन्, ‘मलाई आउनु थिएन भने त मैले जिम्मा लिएको काम अरूकै हातमा पठाइहाल्थेँ नि !’
‘म आत्तिनुको अर्को कारण चाहिँ, मैले १ नोभेम्बरसम्म यो उपन्यास पूरा गरेर प्रकाशकलाई दिनु नै छ । उपन्यास मोटो त छैन तर अहिलेसम्म मैले कुनै पनि तयारी गर्न सकिरहेको छैन… ।’
दोस्तोयव्स्कीको अनुहारमा बेचैनी थियो ।
अन्नालाई चासो लाग्यो, ‘किन यति चाँडो नि ?’
उनले लामो श्वास तान्दै भने, ‘मेरो दाइ मिखाइलले रेम्या पत्रिका सम्पादन गर्थे । पत्रिकाका लागि उनले निकै धेरै ऋण लिएका थिए । उनको मृत्युपछि त्यो सारा ऋण मेरो जिम्मामा आयो, पत्रिका पनि… ।’
ऋण जम्माजम्मी तीन हजार रूबल थियो तर यो रकम त्यो बेला निकै ठूलो थियो । यो रकम दिइँदा जस्तो कागज बनाइएको थियो, त्यो कागजका कारण ऋणीले दोस्तोयव्स्कीलाई दिनदिनै धम्की र तनाव दिइरहेको थियो । उसले जेल हाल्ने धम्कीसम्म दिइसकेको थियो । उनले यसको कुनै उपाय फेला पारिरहेका थिएनन् । निराशाको हदका बेला उनले प्रकाशक स्तेलोभ्स्कीले दोस्तोयव्स्कीलाई बोलाए । उनले तीन हजार रूबल दिने कुरामा रूचि देखाए तर त्यसका लागि तीन वटा उपन्यासको सम्झौता गर्ने वाचा चाहन्थे । दोस्तोयव्स्कीले त्यो बेला हतारोमा स्तेलोब्स्कीका सारा शर्त माने । त्यति मात्र होइन, उपन्यासको पहिलो खण्ड १ नोभेम्बर १८६६ सम्म दिनेछन् भन्ने कबुलियत पनि गरेका थिए । यदि उनले १ डिसेम्बरसम्म पनि बाँकीका खण्ड दिन सकेनन् भने उनले कुनै रोयल्टी नपाउने शर्तमा पनि कबुल गरेका थिए ।
दोस्तोयव्स्की मस्कोबाट फर्किंदा उनलाई लाग्यो, अब स्वास्थ्य त दिनदिनै बिग्रन थालेको छ । एकातिर स्वास्थ्य अर्कोतिर शर्तको दबाबका कारण नयाँ उपन्यास कसैगरी पनि पूरा गर्न सक्ने छैनन् । उनका तीन जना साथीहरू थिए । म्याकोभ, मिल्यकुोभ र दाल्गोमोस्त्येभले उनलाई थुम्थुम्याउँदै भने, ‘तँ चिन्ता नगर । हामी तीन जनाले तेरो कन्सेप्टअनुसार उपन्यासको रूपरेखा बनाउँछाैँ, त्यसलाई लेख्नेछाैँ र प्रकाशकलाई बुझाउने छाैँ । धेरै तनाव लिइस् भने तेरो स्वास्थ्य अझ बिग्रेला ।’ यसरी तीन जना साथीले एक एक भाग लेखेर उपन्यासलाई सही समयमा पूरा गर्ने योजनासमेत बुनिसकेका थिए ।
यो योजनालाई दोस्तोयव्स्कीले कसै गरी मानेनन् । आफ्ना आत्मिय साथीको कामलाई मेरो निजी काम कसरी भनूँला भनेर उनले त्यस्तो गर्न चाहेनन् । बरू त्यसको साटो प्रकाशकलाई हर्जाना तिरूँला भन्ने सोचिरहेका थिए । त्यही बेला उनका एक जना साथीले उनलाई डिक्सन गर्न एक जनालाई राख्ने सुझाव दिएका थिए । आफू लेख्ने हुति नभएको अवस्थामा आफू बोल्दै जाने र लेख्नेले खुरूखुरू टिप्दै पछि साफी गर्ने कुरा सुनाएपछि भने उनी त्यसमा सहमत भए ।
यही क्रममा अन्ना दोस्तोयव्स्कीकहाँ पुगेकी थिइन् । अन्ना हरेक दिन बिहान दोस्तोयव्स्कीको घर जान थालिन् । दोस्तोयव्स्कीको व्यवहार अन्नाप्रति नम्र र आत्मियतापूर्ण हुन थाल्यो । उनी अन्नालाई ‘सानी चरी’ वा कहिलेकाहीँ ‘प्यारी अन्ना ग्रिगोरिभ्ना’ भन्थे भने कहिलेकाहीँ ‘सानी परी’ भनी बोलाउँथे । यी सारा सम्बोधन अन्नालाई आफ्ना पितातुल्य लाग्थे ।
रहँदै बस्दै गर्दा अन्ना पनि दोस्तोयव्स्कीसँग खुलेर बोल्न थालिसकेकी थिइन् । त्यो बेला उनको मनमा एउटा महान् लेखकको दबदबालाई जितिसकेकी थिइन् र उनलाई कुनै परिचित बूढा मान्छेजस्तो व्यवहार गर्न थालिसकेकी थिइन् । सम्बन्ध कस्तो भने, अन्नाका लागि यी बूढा साथी हुन् कि भन्ने देखिन्थ्यो ।
बेलाबेलामा उनले दोस्तोयव्स्कीलाई पुराना कुरा कोट्याउँथिन् । उनले पनि खुलेर बताउँथे । त्यही बेला पहिलो प्रेमका बारेमा उनले खुलेर अन्नालाई बताएका थिए । प्रेम विवाहमा परिणत हुन सकेन र अर्को एउटा सम्बन्ध भने विवाहमा परिणत भएको अन्नाले थाहा पाइन् । उनलाई आफ्नी पहिलो प्रेमिका अन्ना करविन क्रूकोव्स्काया थिइन् । उनीसँग बिहे हुने पक्का भए पनि पछि उनले बिहे त्यागेका थिए । त्यसका लागि उनले जे जति जरिवाना तिर्नुपर्थ्यो, त्यो पनि तिरेका थिए ।
उनको जीवनमा आएकी अर्की महिला पत्नी मारिया मित्रिभ्ना इसायेवा थिइन् । उनको मृत्यु यी अन्नासँग भेट हुनुभन्दा तीन वर्षअघि नै भइसकेको थियो । अन्नाले हरेक दिन दोस्तोयव्स्कीको घरभित्र पस्दापस्दैको बैठक कोठामा तिनै मारियाको तस्वीर टाँगिएको देख्थिन् । मारियाको पहिलो विवाहबाट जन्मेको छोरो पनि दोस्तोयव्स्कीसँगै बस्थे । यी सबै कुरा थाहा पाउँदा अन्नालाई लाग्यो, यो मान्छेको हृदय कति फराक छ ! कति दुःख छ त्यो हृदयभित्र !
एक दिन अन्नाले सोधिन्, ‘फ्योदोर मिखाइलोविच, तपाईंसँग कुराकानी गर्दा जहिले पनि दुर्भाग्यकै बारेमा सुनाउनु हुन्छ । ती दुर्भाग्य मात्र कति सम्झनु ? जीवनमा कहिलेकाहीँ त खुशी पनि पाउनु भयो होला नि ?’
‘खुशी ? के हो त्यो भनेको ? तर मलाई खुशीको प्रतीक्षा छ,’ दोस्तोयव्स्कीले भनेका थिए, ‘खुशी पाउने अवस्था आयो भने म पनि नयाँ जीवन जिउँछु, खुशीयुक्त जीवन ।’
अन्नालाई लाग्यो, यो कस्तो मानिस हो, जो यति प्रभावशाली लेखक भइकन पनि आफ्नो आधाभन्दा बढी समय गुजार्दा पनि खुशी पाउन सकेन !
अचानक दोस्तोयव्स्कीले भने, ‘अब मसँग तीन वटा बाटा छन् । एक, म जेरूसलेम जाऊँ । त्यहाँ म मन्दिरमा बसूँ र असलपना साँचूँ । त्यही कुरा हृदयभरि बटुल्न केही समय बिताऊँ । अथवा, यूरोप जाऊँ र दिक्दारीको हदमा पुगुञ्ज्याल जुवा खेलूँ । अन्तिम चाहिँ, पारिवारिक जीवन बिताऊँ । कुनै असल व्यक्तिलाई छानूँ र ऊसँग बाँकी जीवन बिताऊँ । तिमी नै भन, म कुन बाटो रोजूँ !’
अन्ना अवाक् भइन् । उनले कसरी र के भनेर जवाफ दियून् । तापनि उनले भनिन्, ‘सारा कुरा छाडेर तपाईंले वैवाहिक जीवन बाँच्नूस्, त्यसैमा खुशी खोज्नूस् ।’
हल्का हाँस्दै दोस्तोयव्स्कीले भने, ‘उसो भए तिमी मेरो बिहे होस् भन्ने चाहन्छ्यौ ? म ४५ वर्षको पुगिसकेँ । मजस्तो बूढोसँग कसले पो बिहे गरोस् ?’
यसपछि केही सम्झेझैँ गरी दोस्तोयव्स्कीले भने, ‘साँच्ची, तिम्रो विचारमा मैले कस्ती स्त्री छान्नु पर्छ ? समझदार कि दयालु ?’
अन्नाले गम्भीर हुँदै भनिन्, ‘तपाईंजस्ता व्यक्तिका लागि समझदार नै उचित हुन्छ ।’

फ्योदोर दोस्तोयव्स्कीको टेबुल र कुर्सी
दोस्तोयव्स्कीलाई अन्नाको सुझाव मन परेन । उनले भने, ‘अहँ, यदि मैले ती दुईमध्ये एउटा छनोट गर्ने अवसर पाएँ भने म दयालु पत्नी नै छान्नेछु । मलाई सम्पूर्णतामा उसले प्रेम गरोस्, मजस्तो रोगीको मनोयोगका उपचार गरोस् र साथ देओस्, ध्यान देओस् ।’
केहीबेर काम हुन सकेन । बरू गाढा मौनता छायो । अन्नाले नजर जुधाउन सकिनन् । अवस्थालाई सामान्य बनाउन दोस्तोयव्स्कीले अन्नालाई सोधे, ‘तिमीले अहिलेसम्म किन बिहे नगरेकी ? बिहेका बारेमा तिम्रो के छ धारणा ?’
यो प्रश्न अन्नाका लागि अप्ठेरो थियो । केही समयदेखि केही व्यक्तिले उनको हात माग्न नआएका होइनन् । खासगरी दुई जना त उनलाई पनि मन परेका थिए ।
दोस्तोयव्स्कीको आँखामा आँखा जुधाउँदै अन्नाले भनिन्, ‘दुई जना भला पुरूष मलाई माग्न आएका थिए । ती असल पुरूषको म भलो नै चाहन्छु तर बिहेका बारेमा मेरो बेग्लै धारणा छ ।’
दोस्तोयव्स्कीले सोधे, ‘कस्तो धारणा ?’
अन्नाले भनिन्, ‘मलाई माग्न आएका ती भला व्यक्तिहरूलाई मैले मायाँ गर्न सक्दिनँ कि जस्तो लाग्यो । म आफूले मायाँ गर्ने व्यक्तिसँग बिहे गरूँ भन्ने चाहन्छु ।’
यो सुनेर दोस्तोयव्स्कीले भने, ‘तिमी त अनौठी रहिछौ ! कसैले मायाँका लागि मात्र बिहे गर्ला त ?’
अन्नाले केही जवाफ दिइनन् ।
यसपछि उनीहरू उपन्यासको काममा जुट्न थाले ।
बिहेको प्रश्नले अन्नालाई भित्रैसम्म चिमोट्न थाल्यो । यसो भनूँ, उनलाई दोस्तोयव्स्कीसँगको आत्मियता मन पर्न थालेको थियो । उनलाई घरमा यत्तिकै बस्नुभन्दा दोस्तोयव्स्कीकहाँ समय बिताउन मन पर्न थालेको थियो । उनलाई कुन बेला दोस्तोयव्स्कीकहाँ पुगूँ भन्ने लाग्न थालिसकेको थियो ।
अब त झन्, उनको काम सकिने अवस्थामा पुगेको थियो । यसपछि भने अन्नाको मुटु धड्किन थाल्यो । अब उनले के गर्लिन् ? मान्छेहरू काम सकियोस् भनेर कामना गर्थे, अन्ना चाहिँ काम सकिन लागेकामा चिन्तित हुन थालिन् । अब दोस्तोयव्स्कीसँग भेटेर अनेकन् कुरा सुन्ने अवसर पनि गुम्न थाल्यो भन्ने उनलाई लाग्न थाल्यो । यति राम्रो साथ अब चाँडै नै अतीतका स्मरण बन्नेछन् भन्ने कुराले अन्नालाई दुःख लाग्न थाल्यो ।
०००
एक दिन दोस्तोयव्स्कीले बहकिएका कुरा गर्न थाले । भने, ‘तिमीलाई थाहा छ अन्ना, म अचेल के सोच्न थालेको छु ?’
अन्नाले टाउको उठाएर प्रश्नसूचक अनुहारले हेरिन् ।
दोस्तोयव्स्कीले भने, ‘हामी दुवैले एकअर्कालाई साह्रै सहज हुने तरिकाले समय बितायौँ । हामीले दैनिक भेट्यौँ, जीवन्त कुराहरू गर्यौं । यी सारा कुरा एउटा आदत बन्ला भन्ने मैले सोचेको थिइनँ । उपन्यासको काम सकिएपछि हाम्रा यी कुरा र भेटघाट सकिएलान् भन्ने सोचेको पनि रहेनछु । म तिमीलाई ज्यादै सम्झनेछु । अब तिमीलाई कहाँ भेटूँला है ?’
दोस्तोयव्स्कीलाई त पछि अन्नाले फ्योदोर भनेर नाम किटेरै बोलाउन थालेकी थिइन् । उनले भनिन्, ‘फ्योदोर, काम सकिनेबित्तिकै भेट्नै नहुने भन्ने केही छ र ?’
‘तर कहाँ भेट्ने ?’ व्यग्र भएर दोस्तोयव्स्कीले सोधे ।
‘भेट्न त जहाँ पनि सकिन्छ नि,’ अन्नाको बोलीमा गम्भीरता थियो, ‘कुनै साथीभाइकहाँ वा कुनै नाट्यगृहमा वा जहीँ पनि घुम्न जान सकिहालिन्छ नि !’
‘तिमीलाई त थाहै छ, म प्रायः बाहिर घुम्न रूचाउँदिनँ,’ दोस्तोयव्स्कीले भने, ‘थिएटर त झनै मन पर्दैन । फेरि त्यस्तो ठाउँमा हामी गफिन पनि पाउँदैनौँ । बरू तिम्रो घरमा मलाई किन बोलाउँदिनौ ? तिम्रा घरका सदस्यसँग चिनाउँदिनौ ?’
अन्नाले छक्क परेर दोस्तोयव्स्कीलाई हेरिन्, भनिन्, ‘तपाईंजस्तो मान्छे हामीकहाँ आएको कसलाई पो मन नपर्ला ? आउनु न, हामी सबैलाई रमाइलो नै लाग्छ नि !’
‘उसो भए कहिले आउँ, तिमी नै भन,’ दोस्तोयव्स्कीले उत्सुकता देखाए ।
‘पहिले हामी उपन्यास सकौँ, त्यसपछि सल्लाह गरौँला,’ अन्नाले कुरा टुङ्ग्याइन् ।
०००
नोभेम्बर १ आउनै लागेको थियो । उपन्यासको प्रगति निकै अगाडि बढिसकेको थियो । दोस्तोयव्स्कीलाई प्रकाशकले हर्जाना तिराउन अनेक किसिमको बात नलागोस् भनेर चिन्तित थिए । अन्नाले यो कुरा घरमा पनि सुनाएकी थिइन् । अन्नाकी आमाले आफूले चिनेका एक जना वकिलसँग कुरा पनि गरेकी थिइन् । ती वकिलले सुझाव दिँदै भनेका थिए, ‘पाण्डुलिपि दिँदाका बेला प्रकाशकसँग प्राप्त भएको भनी दस्तखत लिनू । अथवा, कुनै प्रहरीलाई सँगै लानू र उसैका सामू हस्ताक्षर गराएर मात्र उपन्यासको पाण्डुलिपि लिनू ।’
यो कुरा अन्नाले दोस्तोयव्स्कीलाई सुनाएकी थिइन् ।
२९ अक्टोबरका दिन, दोस्तोयव्स्की र अन्ना उपन्यासको अन्तिम तयारी गरिरहेका थिए । २६ दिनमा नै यो उपन्यास तयार भएको थियो । ३० अक्टोबरको बिहान अन्नाले आफूले साफी गरेको पूरा उपन्यासको प्रति मिलाइन् । उपन्यासको पहिलो पृष्ठमा नाम लेखिएको थियो, द ग्याम्बलर (जुवारी) । मायाले उपन्यासको साफी प्रति सुम्सुम्याइन्, बोकिन् र दोस्तोयव्स्कीको घरतर्फ लागिन् । बिहान उनी घर पुग्दा दोस्तोयव्स्की भर्खर उठेका थिए । अन्नालाई देख्नेबित्तिकै उनको अनुहार उज्यालियो । उनले उपन्यासको साफी प्रति दिँदै भनिन्, ‘दोस्तोयव्स्की, लिनूस्, यो तपाईंको उम्दा उपन्यास र ४५ औं जन्मदिनको शुभकामना । तपाईंलाई मेरो जन्मदिनको उपहार यही भयो ।’
अन्ना जन्मदिनको शुभकामना भन्न मात्र बिहानै आएकी थिइन् । उपन्यासको पाण्डुलिपि दिएपछि उनी निस्कन हतारिन थालिन् । बाटो छेक्दै दोस्तोयव्स्कीले अन्नालाई भने, ‘उसो भए म तिम्रो घर कहिले आउँ त ?’
‘भोलिबाहेक जहिले आए पनि हुन्छ,’ अन्नाले भनिन्, ‘भोलि मेरी स्कूले साथीले बोलाएकी छ ।’
‘उसो भए पर्सि ?’ दोस्तोयव्स्कीले सोधे ।
‘पर्सि त मेरो कलेज जानु छ,’ अन्नाले टार्न खोजिन् ।
‘के उसो भए २ नोभेम्बरमा भेटौँ त ? कि के भन्छ्यौ ?
‘त्यो दिन पनि म थिएटर जाँदैछु,’ अन्नाले भेटघाट तन्काएकामा अप्ठेरो मानिरहेकी थिइन् । तापनि, भन्नु त थियो ।
‘हे ईश्वर ! कति व्यस्त मान्छे हो यो ? अन्ना ग्रिगोरिभ्ना, मलाई त अब तिमीले टार्न पो थालेको हो कि जस्तो लाग्न थाल्यो है । भेट्ने इच्छा छैन भने प्रष्ट भन है !’ बोलीमा दोस्तोयव्स्कीको केही दिक्कपना झल्कियो ।
अन्नाको मन भाँचियो । खासमा उनले त्यस्तो गर्न खोजेको त होइन तर यो एक महिना उनी पूर्ण रूपमा दोस्तोयव्स्कीमै यति व्यस्त भइन् कि उनको निजी जीवन पूरै अवरूद्ध हुन थालेको थियो । त्यसैको भरपाई गर्न खोजिरहेकी थिइन् । उनले भनिन्, ‘तपाईंले भन्न खोज्नु भएकोजस्तो त पक्कै होइन । तपाईंसँग भेटेर म खुशी हुन्छु । हामी विहीबार, ३ नोभेम्बरमा भेटूँ न । साँझ ७ बजे घरमा आउनु होला । म कुर्छु ।’
अन्तिम वाक्य बोल्दै गर्दा उनी मुस्कुराइन् ।
अन्नाले मुस्कुराउँदै गर्दा दोस्तोयव्स्कीले भने, ‘अहो, विहीबार पो ? यति लामो समय ? वास्तवमा म तिमीलाई यत्तिका दिन साँच्चिकै मिस गर्नेछु ।
दोस्तोयव्स्कीका ती शब्द अन्नाका लागि औपचारिकताभन्दा बढी लागेका थिएनन् ।
अब ३ नोभेम्बरमा आफूलाई मन पर्ने लेखक आउने भनेपछि अन्नाले घरमा तयारी थालिन् । बिहानैदेखि तयारी गरेकाले होला, उनलाई त्यो दिन निकै लामो लाग्यो । बल्लतल्ल साँझ ७ बज्यो । भित्ताको घडीले ठीक सात बजेको घण्ट ठोकेपछि अन्नाको बेचैनी अझ बढ्न थाल्यो । कुन बेला घरको ढोका ढक्ढकिएला भनेर उनी प्रतीक्षा गर्न थालिन् । ८ बजेपछि भने उनको धैर्य सकियो । उनी निराश भइन् ।
अन्नाको मनमा तुफान उठ्न थाल्यो । के दोस्तोयव्स्कीले भेट्न नचाहेका हुन् ?
(क्रमशः)
(सारिका वर्ष २१, अंक २९९ मा प्रकाशित अन्ना दोस्तोवयस्कायाको संस्मरणको नाटकीयकरण ।)



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२२ कार्तिक २०८२, शनिबार 










