जर्मनेली दार्शनिक रुदोल्फ किस्टोफ युकेन जनवरी ५, १८४६ मा जर्मनीको उरिच शहरमा जन्मेका थिए । उनका
बाबु अम्मो बेकर युकेन हुलाक कार्यालयमा सेवारत थिए । उनी पाँच वर्षका हुँदा उनका बाबुको मृत्यु भएकाले उनलाई आमा इदा मारिआले रेखदेख गरी हुर्काइन् । उनी आफ्ना आमा बाबुका एकमात्र सन्तान थिए । बाल्यकालमा उनले स्थानीय उरिच शहरमा नै अध्ययन गरेका थिए । युकेनले सन् १८६३ देखि १८६६ सम्म गोटिङ्गेन युनिभर्सिटीमा उच्च शिक्षा प्राप्त गरी सन् १८६६ मा क्लासिकल फिलोसफी र प्राचिन इतिहासमा पी.एच.डीको डिग्री लिएका थिए । पाँच वर्षसम्म हुसुम र प्रयाङ्कफर्टमा स्कुल शिक्षक भई काम गरेपछि उनले स्विटजरल्याण्डको बासेल युनिभर्सिटीमा दर्शनशास्त्रको प्राध्यापक पदमा नियुक्ति पाए । त्यहाँ उनको सुप्रसिद्ध दार्शनिकसँग सङ्गत भयो । सन् १८७४ सम्म त्यहाँ काम गरेपछि उनी जेना युनिभर्सिटीतिर सरे र पहिलेकै पदमा काम गर्न लागे । सन् १८७८ मा उनको दर्शन सम्बन्धी कृति वर्तमान दार्शनिक विचारधाराको आधारभूत अवधारणा (The Fundamental Concepts of Modern Philosophic Thoughts) प्रकाशित भयो । यस पुस्तकको प्रकाशनपछि उनी प्रसिद्ध हुँदै गए । त्यसैबेला उनकी आमाको देहान्त भएको थियो ।
सन् १८८२ मा उनले इरेने पास्व नाउँकी युवतीसँग विवाह गरे । ती युवतीकी आमा एथेन्सकी प्रसिद्ध पुरातत्वविद् अलरिखकी छोरी थिइन् । यस विवाहबाट वैज्ञानिक र इतिहासकारका बिचमा युकेन परिचित भए । युकेन दम्पत्तिका दुई छोरा र एक छोरी भए। जेठो छोरा अर्थशास्त्री भए भने कान्छो छोरा वैज्ञानिक भए । सन् १९२० मा अवकास नलिउन्जेल उनले जेना युनिभर्सिटीमा नै काम गरे । हार्भाड र न्युयोर्क युनिभर्सिटीको निमन्त्रणामा उनले आमन्त्रित तथा मानार्थ प्राध्यापक समेत भएर काम गरे ।
उनले आधुनिक दर्शन र मानव जीवन सम्बन्धी विभिन्न पुस्तक लेखे । उनका कृत्तिले आध्यात्मिक उच्चताद्वारा नैतिक आदर्श विकास गर्ने प्रेरणा दिन्छन् । आदर्शवाद र जडवादको प्रसङ्गमा जीवनका विभिन्न स्वरूपको वर्णन गर्दै उनी आध्यात्मिक उच्चतामा पुग्ने आदर्शवादको व्याख्या गर्दछन् । निम्नलिखित उनका केही प्रख्यात दार्शनिक पुस्तक हुन्ः
१. धर्मको सत्यता (The Truth of Religion), २ के हामी अझै ईशाई भइरहन सक्छौँ ? (Can We Still be Christians ?), ३ ईशाई धर्म र नयाँ आदर्शवाद (Christianity and the New Idealism), ४ जीवनको अर्थ र मूल्य (The Meaning and Value of Life), ५. नीतिशास्त्र र आधुनिक विचार (Ethics and Modern Thoughts), ६ सिद्धान्तको इतिहास (History of Dogmas) २७. धर्म र जीवन (Religion and Life) |
इमानदारीपूर्वक गरिएको सत्यको अनुसन्धान कार्यका लागि जर्मनेली दार्शनिक युकेनलाई सन् १९०८ को साहित्यतर्फको नोबेल पुरस्कार प्रदान गरिएको थियो ।
१५ सेप्टेम्बर १९२६ मा जर्मनीको जेनामा ८० वर्षको उमेरमा उनको देहान्त भयो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२९ जेष्ठ २०८३, शुक्रबार 










