अक्सफोर्ड युनिभर्सिटी प्रेसले लेखक तथा फिलोसफीका प्राध्यापक एलेक्स बार्नलाई लैंगिकताबारे सरल भाषामा बुझाउने किताब लेख्न आग्रह गर्यो ।
बेलायतमा जन्मी, हुर्की अमेरिकामा प्राध्यापन गरिरहेका बार्नले ट्रबल विद जेन्डरः सेक्स फ्याक्ट्स, जेन्डर फिक्सन शीर्षकको किताब लेख्न सहमत भए । जब उनले किताब लेखिसकेर प्रकाशकलाई पाण्डुलिपि जिम्मा लगाए, प्रकाशक अक्सफोर्डले पुस्तक ‘गम्भीर प्रकृति अथवा लैंगिकताका बारेमा पर्याप्त सम्मान नदिएको’ भन्दै छाप्न अस्वीकार गर्यो ।
त्यसपछि उनले अर्को प्रकाशक खोज्न थाले । उनलाई लाग्यो, अक्सफोर्डले दिएको प्रतिक्रिया भन्नु किताब छाप्न अस्वीकार जनाउनु हो । किताबमा यो यो परिवर्तन गर्नू भनिएको थिएन ।
‘अचेल लैंगिकताबारे छलफल गर्नु खतरनाक हुँदै जान थालेको छ,’ द टाइम्स पत्रिकासँग कुरा गर्दै बार्नले भने, ‘तपाईंले अहिले चल्तीका मान्छे वा चल्तीका लैंगिकताका कुराबाहेक अन्य कुरा गर्न थाल्नुभयो भने तपाईंलाई सिध्याइदिन्छन् । ट्रान्सहरू हिजोआज रेडियोक्टिभ (खतरनाक) हुन थालेका छन् र किन यस्तो हुन थाल्यो, त्यो मैले बुझ्न सकेको छैन ।’
६३ वर्षीय बार्नलाई सन् २०१८ देखि लैंगिकतामाथि गम्भीर भएर सोच्न मन लागेको हो । उनले म्यासाचुसेट्स इन्टिच्युट अफ टेक्नोलजीमा २४ वर्षयता
प्राध्यापन गरिरहेका छन् ।
सन् २०२० मा उनले ‘आर वुमेन एडल्ट ह्युमन फिमेल्स ?’ शीर्षकको खोजमूलक पत्र लेखेका थिए । उनले यस विषयमा ६ वटा विभिन्न तर्क दिई महिला हुनु र स्त्री हुनुमा के फरक छ भन्ने व्याख्या गरेका थिए । आलोचकहरूले ‘वयस्क मानव अपुरूष’का रूपमा महिलालाई उभ्याउनु भनेको पुरूष बराबर उभ्याउनु हो भनिरहेका थिए । महिला र पुरूषबीच बराबरी नहुने र महिलालाई अपुरूष भनिनुपर्ने र यसो गर्दा बराबरीको सम्मान दिइने उनीहरूको तर्क थियो । यसो गर्दा ट्रान्सहरूले पनि न्याय पाउने उनीहरूको भनाइ थियो ।
बार्न भन्छन्, ‘त्यो बेला मेरो पेपर (अध्ययन प्रतिवेदन)लाई धेरैले ‘आँधि’को संज्ञा दिएका थिए । ट्रान्सजेन्डरलाई कस्तो व्यवहार गरिनुपर्छ र जैविक रूपमा मान्छे के हो भन्ने अध्ययन बिल्कुल फरक कुरा हुन् ।’
अक्सफोर्डले दिएको जिम्मेवारीअनुसार उनले २०२१ देखि ट्रबल विद जेन्डर लेख्न थालेका थिए । जब पुस्तकलाई प्रकाशकले जिम्मेवारी दिएका सम्पादकले पढ्न थाले, उनले पुस्तकमा धेरै समस्या देखे । खासगरी ‘महिलालाई वयस्क मानव अपुरूष जाति’ भनिनुपर्ने जस्ता कुरा राखे ।
यसले उनको चिन्ता ह्वात्त बढायो ।
बार्नले एक लाख शब्दभन्दा बढीको किताब बुझाएका थिए । त्यो बेला उनले किताबमा गर्नुपर्ने शाब्दिक परिवर्तनहरूमा आफूलाई कुनै आपत्ति नहुने बताएका थिए । तर त्यसको एक महिनामा नै अक्सफोर्डले पुस्तक नछाप्ने निर्णय भएको जवाफ दियो । अक्सफोर्डले सम्मानजनक तरिकाले लैंगिक विषयलाई नछोइएको र पर्याप्त गम्भीरता नदेखिएको बताएको थियो । त्यसको जवाफमा बार्नले १६ हजार शब्दको इन्डनोट र बिब्लियोग्राफीलाई देखाएका थिए । सानोतिनो अध्ययनले हल्काफुल्का तरिकाले आफूले किताब नलेखेको उनको तर्क थियो ।
रोचक त के छ भने लैंगिक अभियन्ताहरूले चलाउने विकिपेडिया शैलीको वेबसाइट ट्रान्सजेन्डर म्यापमा उनी र उनकी पत्नी क्यारोल हुभेनलाई ट्रान्सविरोधीका रूपमा उल्लेख गरिएको छ । यस्तोमा आफूहरूलाई शक्तिशाली समूहले किनारा लगाएको उनले बुझेका छन् ।
त्यसो त अमेरिकामा प्रकाशक फेला पार्न अप्ठेरो पनि छैन । अक्सफोर्डले छाप्नु एउटा इज्जतको कुरा त हो तर उसले अस्वीकृत गरेका कृति हाताहात छाप्नेहरू पनि छन् । उनको पुस्तकलाई आउँदो अक्टोबर २७ मा पोलिटी नामक संस्थाले प्रकाशन गर्ने भएको छ । पोलिटीले भने यस पुस्तकले अचेल चल्तीमा रहेको नयाँ लैंगिक क्रान्तिलाई ऐना देखाउने काम गर्ने बताएको छ ।
यता संसारकै ठूलो युनिभर्सिटी प्रकाशकका रूपमा परिचित अक्सफोर्ड युनभर्सिटी प्रेसले भने आफूहरू अनुसन्धानात्मक पुस्तकको प्रकाशक भएका कारण यसले कुनै विशेष व्यक्तिका धारणा, विश्वासलाई नछाप्ने भन्दै पाण्डुलिपिलाई गम्भीर अध्येताहरूलाई पियर-रिभ्यु गरेपछि मात्र प्रकाशन गर्ने गरेको बताएको छ । आफ्ना प्रकाशनहरू साँघुरो घेराका धारणा नसमेट्ने बरू यसले विविध आयामका दृष्टिहरूमा काम गर्ने बताएको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२८ जेष्ठ २०८३, बिहीबार 










