२७
अदालतको कोठाबाट निस्केर हेर्दा सडकमा रात परिसकेको देखेर आमा जिल्ल परिन् । मूल सडकमा बत्तीहरू झलमलाइरहेका थिए । आकाशमा ताराहरू चम्कँदै थिए । अदालत भवनअगाडि मान्छेहरूको भीड जम्मा हुँदै थियो । चिसो हावामा हिउँ चरमराएको, युवकहरूले कुरा गरेका आवाज सुनिन्थ्यो । खैरो रङको काने टोपी लगाएको एक जना मानिसले सिजोभतिर हेर्दै सोध्यो –
“के सजाय दिए त ?”
“निर्वासन ।”
“सबैलाई ?”
“धन्यवाद !”
यति भनेर त्यो मान्छे हिँड्यो ।
“देख्यौ ?” – सिजोभले भन्यो – “मान्छेहरू कति चाख लिँदैछन् … ।”
एक्कासि दस–बाह्र जना युवायुवतीहरूले उनीहरूलाई घेरे । उनीहरूले बडो जोड जोडले जोसपूर्वक कुरा गरेका सुनेर अरू मान्छेहरू पनि त्यही सानो भीडतिर तानिएँ । आमा र सिजोभ थामिए । युवायुवतीहरूले अभियुक्तहरूले के सजाय पाए, उनीहरूले कस्तो व्यवहार गरे, क–कसले बोल्यो र के– के भन्यो सबै कुरा थाहा पाउन चाहे । यी सबै प्रश्नहरू कति हार्दिकतासाथ सोधिँदै थिए भने आमाले बडो खुसीसाथ सबै प्रश्नहरूको जवाफ दिइन् ।
“महानुभाव हो ! उहाँ पाभेल भ्लासोभकी आमा हुनुहुन्छ !” – कसैले भन्यो र तुरुन्तै चारैतिर सन्नाटा फैलियो ।
“म तपाईँसँग हात मिलाउन चाहन्छु !”
कसैले आफ्नो मजबुत हातले आमाका औँलाहरू थिच्दै उत्तेजित स्वरमा भन्यो – “तपाईँको छोराको साहस हामी सबैका लागि एक आदर्श बनेको छ … ।”
“रुसी मजदुरवर्ग जिन्दाबाद !” – कसैले जोडले नारा लगायो ।
हल्ला बढ्दै थियो, मान्छेहरू झन्झन् चर्को स्वरमा कुरा गर्दै थिए – कहिले यता नरा लगाएको सुनिन्थ्यो त कहिले उता । मान्छेहरू चारैतिरबाट दौडँदै आइरहेका थिए । सिजोभ र आमाको वरिपरि भीड बढ्दै थियो । पुलिसहरू सिटी बजाउँदै थिए, तर उनीहरूको सिटीले नाराको यो आवाज दबाउन सकेन । सिजोभ हाँस्दै थियो । आमालाई यी सबै कुरा कुनै मीठो सपनाजस्तो लागिरहेको थियो । उनका आँखामा हर्षको आँसु थियो । थकाइले गर्दा उनका खुट्टा दुख्दै थिए, तर हर्षले उम्लिरहेको उनको हृदयमा त्यो अनुभूति त्यत्तिकै स्पष्ट रूपमा प्रतिबिम्बित हुँदै थियो, जस्तो तलाउको निर्मल सतहमा कसैका छाया देखिन्छ । नजिकै उभिएको व्यक्तिले स्पष्ट तर रोषपूर्ण स्वरमा भन्यो –
“साथीहरू, जुन राक्षसले सम्पूर्ण रूसो जनतालाई निल्दै छ, आज त्यसैले आफ्नो लोभी मुखभित्र फेरि … ।”
“आमा, आऊ अब हामी पनि हिँडौँ !” – सिजोभले भन्यो ।
त्यस बेला कताबाट हो सासा टुप्लुक्क देखा परिन् । उनले आमालाई डोर्याउँदै सडकको अर्को पेटीमा लगिन् र भनिन् –
“अहिले मारपिट, धडपकड सुरु हुन थाल्छ । तपाई घरै जानु भए बेस हुन्छ । त्यसो भए निर्वासनको सजाय सुनाए ? साइबेरिया पठाउने भए ?”
“हो !”
“उसले कस्तो भाषण गर्यो त ? हुन त मलाई आफैँलाई थाहा छ । ऊ सबैभन्दा दृढ र सबैभन्दा सादा छ, फेरि सबैभन्दा कठोर पनि । उसको स्वभाव निकै कोमल र संवेदनशील छ, तर ऊ आफ्ना यी भावनाहरू कसैलाई देखाउन चाहँदैन ।”
सासका यी प्रेमपूर्ण शब्दहरू सुनेर, जुन उनले त्यति उत्साहपूर्वक सानो स्वरमा भनेकी थिएँ, आमा शान्त भइन् । उनले आफ्नो शरीरमा एक नयाँ शक्तिको सञ्चार भएको अनुभव गरिन् ।
“त्यसो भए तिमी कहिले उसकहाँ जान्छ्यौ त ?” – आमाले सासाको हात दबाउँदै बडो मायालु स्वरमा सोधिन् ।
“मेरो काम आफ्नो हातमा लिन सक्ने कुनै मान्छे देखा पर्नासाथ हिँडिहाल्छु ।” – केटीले ठुलो आत्मविश्वाससहित अघिल्तिर हेर्दै भनिन् – कुरा के हो भन छिटै मलाई पनि सजाय सुनाउँदैछन् । हुन सक्छ, उनीहरूले मलाई पनि साइबेरिया नै पठाउनेछन् । त्यसो भएको खण्डमा मलाई पनि ऊ बसेकै ठाउँमा पठाइयोस् भन्ने माग गर्नेछु ।”
पछाडिबाट सिजोभको स्वर सुनियो –
“त्यसो भए उसलाई मेरो तर्फबाट नमस्कार भनिदिनुहोला । भन्नुहोला, सिजोभसँग भेट भएको थियो, उसले बुझिहाल्नेछ । म फ्योदोर माजिनको काका हुँ … ।”
सासाले पछाडि फर्केर उसतिर आफ्नो हात बढाउँदै भनिन् –
“म फ्योदोरलाई राम्ररी चिन्छु । मेरो नाम सासा हो ।”
“बुबाको नाम के हो नि ?”
सासाले उसतिर हेर्दै जवाफ दिइन् –
“मेरा बुबा छैनन् ।”
“स्वर्गीय हुनु भो ?”
“होइन जिउँदै छन् !” – केटीले उत्तेजित हुँदै जवाफ दिइन् । केटीको स्वरमा जिद्दी र दृढताको भावना देखा पर्यो, त्यही हठिलो भावना उनको अनुहारमा पनि प्रतिबिम्बित हुँदै थियो ।
“जमिनदार हो मेरा बाबु । गाउँको हाकिम पनि उही छ, किसानहरूलाई लुट्ने गर्छ … ।”
“ए !” – सिजोभले अलि अकमकिँदै भन्यो । ऊ केटीसँगसँगै हिँड्दै थियो र बिचबिचमा उनलाई हेर्दै जान्थ्यो ।
“लौ त आमा, म पनि हिँडे !” – उसले भन्यो – “म अब देब्रेतिर लाग्छु । लौ त छोरी, हिँडे ! आफ्ना बाबुप्रति यति कठोर हुनु पनि ठिक छैन, हुन त यो तिम्रो आफ्नो व्यक्तिगत कुरा हो, तैपनि … ।”
“यदि तपाईँको छोरा बेकम्मा भइदिएको भए, अर्काको बिगाड गर्दै हिँड्ने भइदिए, तपाई उसलाई घृणा गर्नुहुन्छ भने – अनि के भन्नुहुन्थ्यो त ?” – सासाले उत्तेजित हुँदै सोधिन् ।
“हो, म पनि त्यस्तै गर्थे होला !” – बूढाले अकमकिँदै जवाफ दियो ।
“त्यसो भए तपाईँका लागि इन्साफ छोराभन्दा प्यारो रहेछ, मलाई पनि बाबुभन्दा इन्साफ नै प्यारो लाग्छ … ।”
सिजोभ टाउको हल्लाउँदै मुस्कुरायो र एकछिनपछि सुस्केरा हाल्दै भन्यो –
“हँ, हँ ! तिमीसित कुरा गरेर जित्न सकिन्न । सधैँ यस्तै जिद्दीवाला हुने हो भने तिमी बूढाहरूलाई पनि मात गरिहाल्छ्यौ, निकै जोसिली रहिछ्यौ ! … लौ त हिँडे, भगवान्ले तिम्रो भलो गरुन् ! तर जे होस् मान्छेहरूप्रति अलि बढी दयालु भइदिए कस्तो होला हँ ? लौ निलोभ्ना ! पोभलसँग भेट भयो भनिदिनू । उसको भाषण सुनेका थिएँ, सबै कुरा त बुझ्न सकिन्न, कहिलेकाहीँ डर पनि लागेर आउँथ्यो, तर भन्नू भाषण चाहिँ उसको राम्रो लाग्यो । ”
उसले आफ्नो टोपी अलि उठाएर नमस्कार गर्यो र बिस्तारै मोडतिर लाग्यो ।
“निकै असल मान्छेजस्तो छ ! – सासाले आफ्ना ठुलठुला आँखाले बूढातिर मुस्कुराएर भनिन् ।
आमाले देखिन्, आज सासाको अनुहारमा सधैँजस्तो बढी कोमलता र मधुरता छ ।
घर पुगेपछि दुवै जना कौचमा एक–दोस्रासँग टाँसिएर बसे र सासा कसरी पाभेल भएको ठाउँमा जाने हो भन्नेबारे योजना बनाउन थाले । वातावरण शान्त थियो । सासा आफ्ना ठुलठुला स्वप्निल आँखाले टाढा शून्यमा हेर्दै थिइन् । उनको फिका अनुहारमा शान्त चिन्तनको भावना थियो ।
“तिमीहरूको बच्चा जन्मेपछि म पनि आउँला, बच्चाहरूको स्याहारसुसार गर्न आउँछु । अनि त के र, त्यहाँ हाम्रो जिन्दगी यहाँसम्म के काम होला र ! पाभेलले कुनै न कुनै काम भेट्टाइहाल्नेछ । हात उसका गजबका छन् … ।”
सासाले प्रश्न सूचक दृष्टिले आमातिर हेर्दै भनिन् –
“तपाई अहिल्यै जान चाहनुहुन्न र ?”
“के काम लाग्न सक्छु र त्यहाँ ?” – आमाले सुस्केरा हाल्दै भनिन् – “केही भएर भाग्नुपर्यो भने बाधा मात्र बनिदिन्छु, फेरि सायद नै उसले मान्ला … ।”
सासाले टाउको हल्लाउँदै आफ्नो सहमति जनाइन् ।
“हो, ठिक भन्नुभो, मान्दैन ऊ ।”
“फेरि यहाँ मेरो आफ्नै काम पनि त छ !” – आमाले किञ्चित गर्वसहित भनिन् ।
“हो !” – सासाले केही सोच्दै जवाफ दिइन् – “यो राम्रो कुरा हो … ।”
एक्कासि उनले यसरी आफ्नो हात हल्लाइन्, मानौँ केही कुरा फ्याँक्दै छिन् र एकदम सामान्य तरिकाले सानो स्वरमा भनिन् –
“ऊ त्यहाँ धेरै टिक्ने छैन । त्यहाँबाट भागिहाल्नेछ … ।”
“अनि तिमी नि ? … बच्चा जन्म्यो भने के गर्छ्यौ त ?”
“हेरौँला । उसले मेरो वास्ता गरेर बस्नु हुन्न । फेरि म आफैँ पनि उसको बाटोमा बाधा बन्न चाहन्नँ । ऊसँग छुट्टिएर बस्न मलाई गाह्रो पर्नेछ, तर म सहनेछु । होइन, होइन । म कदापि उसको बाटामा बाधा बन्दिनँ !”
आमालाई थाहा थियो, सासा जे जति कुरा गर्दै छिन्, त्यो सबै पूरा गर्ने क्षमता उनी राख्छिन् र यो कुरा सोचेर आमालाई केटीमाथि बडो माया लागेर आयो । सासालाई अँगालो मार्दै आमाले भनिन् –
“छोरी, तिमीले धेरै दुःख सहनुपर्नेछ !”
सासा बिस्तारै मुस्कुराइन् र आमासँग टाँस्सिएर उभिइन् ।
त्यत्तिकैमा निकोलाइ आइपुग्यो । ऊ निकै थकित र चिन्तित देखिन्थ्यो ।
“लौ, सासा, मौका छउन्जेल यहाँबाट निस्किहाल !” – उसले कोट फुकाल्दै भन्यो – “दुई जना जासुसहरू बिहानैदेखि मेरो पछि लागेका छन् । कति खुल्लमखुल्ला पिछा गर्दै छन् भने समातिउँला जस्तो लाग्छ । यस्तो कुरामा अहिलेसम्म मेरो अन्तस्करणले कहिल्यै धोका दिएको छैन । अवश्य केही गडबडी हुनुपर्छ । अँ, यो पोभेलको भाषण, यो भाषण छाप्ने निर्णय भएको छ । यो ल्द्मिलाकहाँ पुर्याइदिनू र भन्नू, सकेसम्म छिटो छापिदेओस् । पेलागेया निलोभ्ना, पोभलले खुब राम्रो भाषण गरेको रहेछ … ! सासा, जासुसहरूसँग होसियार रहनु है … ।”
उसले कुरा गर्दै चिसाले कक्रिएका आफ्ना हात जोडजोडले रगड्न थाल्यो । फेरि टेबुलतिर लाग्यो र घर्राहरू खोल्दै भटाभट कागजपत्रहरू निकाल्न थाल्यो । ऊ केही कागज च्यात्दै जान्थ्यो त केही अलग छुट्टाएर राख्थ्यो । अहिले ऊ निकै चिन्तित देखिन्थ्यो ।
“कति भयो र मैले यो टेबुल सफा गरेको, फेरि जस्तातस्तै टम्म भरिइसक्यो ! कहाँबाट आउँदा रहेछन् यी कागजपत्रहरू पनि, धत्तेरि ! पेलागेया निलोभ्ना, मेरो विचारमा तपाई पनि यहाँ राती बास नबस्नुभए बेस हुनेछ, कस्तो लाग्छ ? यो सबै तमासा हेर्न केही मजा आउँदैन । फेरि कहीँ तपाईँलाई पनि गिरफ्तार नगरिहालून् । पाभेलको भाषण बाँड्न तपाईँले यताउता जाने आवश्यकता पर्न सक्छ … ।”
“मलाई समातेर गर्छन् नै के र उनीहरूले ?” – आमाले भनिन् ।
निकोलाइले आफ्नो हात हल्लाउँदै दृढतापूर्वक भन्यो –
“म यस्तो खतरा टाढैबाट चाल पाइहाल्छु । फेरि मलाई लुद्मिलालाई पनि त मद्दत गर्न सक्नुहुन्छ नि ! बेकारमा खतरा उठाएर फाइदा नै के छ र … ।”
छोराको भाषण छाप्न आफूले पनि मद्दत गर्न सक्छु भन्ने कुरा सोचेर आमालाई धेरै खुसी लाग्यो ।
“त्यस्तै हो भने म जान्छु ।” – उनले भनिन् ।
एकछिन पछि उनले फेरि दृढतापूर्वक भनिन् –
“ईश्वरको कृपाले अब मलाई कुनै पनि कुराको डर लाग्न छाडिसकेको छ !” – आफ्नो यो कुरा सुनेर आमा आफैँलाई आश्चर्य लाग्न थाल्यो ।
“ठिक छ !” – निकोलाइले आमातिर नहेरीकनै भन्यो – “तर, तर यो बताउनोस्, तपाईँले मेरो सुटकेस र लुगाफाटाहरू कता लुकाउनुभएको छ ? तपाईँले कसरी पूरा घर आफ्नो कब्जामा पारिसक्नुभएको छ भने म बिचरो आफ्नो व्यक्तिगत सम्पत्तिसम्म प्रयोग गर्ने सम्भावनाबाट वञ्चित भैसकेको छु ।”
सासा चुपचाप अगेनामा ती कागजहरू जलाउँदै खरानी कोइलासँग मिसाउँदै थिइन् ।
“सासा, अब तिमी जाऊ !” – निकोलाइले उनीतिर आफ्नो हात बढाउँदै भन्यो – “लौ त, बिदा ! यदि कुनै गतिलो किताब देखा पर्यो भने पठाउन नबिर्सनू । बिदा, प्रिय साथी ! सावधान रहनू … ।”
“निकै लामो सजाय देलान्जस्तो छ कि ?” – सासाले सोधिन् ।
“के थाहा र ! मेरो विरुद्ध केही न केही त अवश्यै हुनुपर्छ । पेलागेया निलोभ्ना, तपाई पनि सासासँगै जानुभए कस्तो होला ? जासुसहरूलाई एकै चोटि दुई जनाको पिछा गर्न गाह्रो पर्छ ।”
“हुन्छ !” – आमाले जवाफ दिइन् – “अहिल्यै लुगा लाएर हिँडिहाल्छु … ।”
उनले बडो गौरले निकोलाइलाई हेरिन् तर उसमा कुनै फरक आएको थिएन, खालि उसको अनुहारमा सधैँ जुन कोमलता र मृदुताको भावना रहन्थ्यो, त्यसमा चिन्ताको हलुको बादल देखिन्थ्यो । उसको व्यवहारमा कुनै हडबडाहट थिए । त्यस व्यक्तिको अनुहारमा, जो आमाका लागि अरू परिचित मानिसहरूभन्दा धेरै नजिकको बन्न गएको थियो, उत्तेजनाको कुनै चिन्ह थिएन । उसले सधैँ सबैलाई ध्यान दिने गरेको थियो, सबैप्रति एकैनासको मृद व्यवहार गर्थ्यो । सधैँ शान्त, गम्भीर र एक्लो देखिन्थ्यो । अहिले पनि ऊ सबैका लागि त्यस्तै थियो, जस्तो सधैँ हुने गर्थ्यो – ऊ त्यस्तो व्यक्ति, जसको आफ्नै एक गोप्य आन्तरिक जीवन अरूको भन्दा एक पाइलाअगाडि नै थियो । आमालाई थाहा थियो, निकोलाइ आफ्नो र आमाको आत्मामा एक प्रकारको सामीप्य भेट्टाउँथ्यो र आमाको हृदयमा उसप्रति प्रेमको एउटा त्यस्तो भावना थियो, कसले अझ कुनै निश्चित रूप लिइसकेको थिएन । अहिले उनको हृदयमा निकोलाइका लागि जुन वेदना थियो त्यो असह्य थियो त्यो भावना देखाएको खण्डमा निकोलाइ अझ बढी अलमलिनेछ, हुन सक्छ अलि हडबडाउने समेत छ र सधैँजस्तो अलि हास्यास्पद पनि देखिनेछ । आमा चाहँदैनथिन्, ऊ अहिले त्यस्तो देखियोस् । जब आमा कोठामा फर्किन्, उनले देखिन् निकोलाइ सासाको हात समातेर उभिएको छ ।
“धेरै राम्रो ! मलाई विश्वास छ, यो कुरा तिमीहरू दुवै जनाका लागि धेरै राम्रो हुनेछ ।” – ऊ भन्दै थियो – “अलिकति व्यक्तिगत सुखले कसैलाई हानि पुर्याउँदैन । पेलागेया निलोभ्ना, तपाई तयार हुनुभो ?”
निकोलाइ आफ्नो चस्मा ठिक पार्दै मुस्कुरायो र आमाको नजिक आयो ।
“लौ त बिदा ! लाग्छ तीन–चार महिनाका लागि हुन सक्छ छ महिना नै होला ! ५ महिना जिन्दगीमा धेरै लामो अवधि हो … आफ्नो हेरविचार गर्नुहोला । लौ आउनोस्, बिदा हुनुभन्दा अगाडि एकपल्ट अङ्कमाल गरौँ … ।”
त्यो दुब्लो पातलो मान्छेले आफ्नो बलिया हातले आमालाई अङ्कमाल गर्यो र उनका आँखामा हेर्दै मुस्कुरायो ।
“लाग्छ, मैले तपाईँसँग प्रेम गर्न थालेको छु ।” – उसले हाँस्दै भन्यो – “यसरी तपाईँलाई अङ्कमाल गरेर उभिएको छ … ।”
आमाले केही नबोली उसको निधार र गालामा म्वाइँ खाइन्, तर उनका हात काँप्दै थिए । उसले नदेओस् भनेर उनले झट्ट आफ्नो हात हटाइन् ।
“भोलि विशेष सावधान रहनुहोला । बिहानतिर कुनै केटालाई यहाँ हेर्न पठाउनुहोला, लुद्मिलाकहाँ एउटा केटो बस्छ, उसैलाई पठाउनुहोला । लौ त कमरेडहरू, बिदा ! बिदा, सबै ठिक हुन्छ … !”
बाहिर निस्किसकेपछि सासाले बिस्तारै आमालाई भनिन् –
“यस मान्छेलाई भोलि मृत्युको सामना गर्नुपर्यो भने पति यत्तिकै सिधासादा तरिकाले जानेछ । हुन सक्छ अलि बढी हतारो गर्ला, त्यत्तिकै हो ! अनि जब मृत्युले उसको अनुहार ताकिरहेको हुन्छ त्यस बेला पनि खालि आफ्नो चस्मा ठिक पार्नेछ र ‘गजब छ !’ भन्नेछ, अनि चुपचाप मृत्युको मुखभित्र पस्नेछ !”
“मलाई बडो माया लाग्छ उसको !” – आमाले बिस्तारै भनिन् ।
“म चकित अवश्य पर्छु त्यो मान्छे देखेर । तर खोइ, माया त गर्दिनँ जस्तो लाग्छ ! मेरो हृदयमा उसप्रति ठुलो आदरको भाव छ ! मलाई लाग्छ, ऊ मान्छे निकै रुखो छ । हुन त निकै दयावान् छ र कहिलेकाहीँ धेरै कोमल पनि देखिन्छ, तर यी सबै कुरामा कता हो कता मानव भावनाको कमी भएजस्तो लाग्छ … मलाई लाग्छ, कसैले हाम्रो पिछा गर्दै छ । यहाँबाट हामी छुट्टाछुट्टै गए बेस हुनेछ । जासुसले तपाईँको पिछा गर्दै छ जस्तो लागे लुदमिलाकहाँ एकै चोटि नपस्नुहोला ।”
“हो, मलाई थाहा छ !” – आमाले भनिन् ।
“होइन, तपाई जाँदै नजानुहोला । त्यसो भए मकहाँ आउनुहोला ।” – सासाले अनुरोधपूर्ण स्वरमा भनिन् – “लौ त, नमस्कार !”
उनी हतार हतार फर्किन् र जताबाट आएकी थिइन्, त्यतै लागिन् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२८ जेष्ठ २०८३, बिहीबार 









