साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

म्याक्सिम गोर्कीकाे “आमा” शृङ्खला ३८

Chovar Blues Mobile Size

भाग २

 

साँझतिर निकोलाइ घर फर्क्यो । बेलुकीको खाना खाँदै सोफियाले उनीहरुलाई हाँस्दै बताइन् – कसरी उनले निर्वासनबाट भागेर आएको मान्छेलाई लुक्न मद्दत गरेकी थिइन्, कसरी उनलाई जासुसी पुलिसको डरले सताएको थियो र हरेक मान्छेलाई शङ्काको दृष्टिले हेर्न थालेकी थिइन्, त्यो भागेर आएको मान्छे कस्तो हास्यास्पद व्यवहार गर्दै थियो … । आमाले सोफियाको आवाजमा त्यही गर्वको झलक पाइन् जुन कुनै कठिन काम सकाइसकेपछि त्यस कामबारे बताइरहेको मजदुरको आवाजमा भेट्टाइन्छ ।

अहिले सोफियाले इस्पाती रङको हलुका, चौडा फ्रक लगाएकी थिइन् । यस पहिरनले गर्दा उनी अझ अग्ली देखिन्थिन् र उनका आँखा पनि अझ काला लाग्थे । उनको चालमा पनि बढी गम्भीरता देखिन्थ्यो ।

“सोफिया, तिम्रा लागि एउटा अर्को काम छ ।” – खाना खाइसकेपछि निकोलाइले भन्यो – “हामी किसानहरुका लागि एउटा अखबार निकाल्ने तरखरमा छौं भन्ने कुरा मैले तिमीलाई बताएको थिएँ । तर यता धेरै मान्छेहरु गिरफ्तार भएकाले त्यस व्यक्तिसँग सम्बन्ध राख्न सकिएको छैन, जसले यी अखबारहरु बाँड्ने काम जिम्मा लिनुपथ्र्यो । त्यस व्यक्तिलाई पत्ता लाउन पेलागेया निलोभ्नाले मद्दत गर्नुहुनेछ । तिमीले उहाँसँग गाउँ गएर सकेसम्म छिटो त्यो मान्छे पत्ता लगाउनुपर्‍यो ।”

sagarmani mobile size

“ठीक छ ।” – सोफियाले चुरोट पिउँदै भनिन् – “जाने होइन त पेलागेया निलोभ्ना ?”

“हो, किन नजानु र … ।”

“टाढा छ ?”

“लगभग पचास माइलजति होला … ।”

“ठीक छ … । लौ त अब म एकछिन पियानो बजाउँछु । पेलागेया निलोभ्ना, तपाई एकछिन मेरो सङ्गीत सहन सक्नुहुन्छ ?”

“मेरो पीर नगर्नोस्, ठान्नोस् म यहाँ छैन !” – कौचको एउटा कुनामा बस्दै आमाले भनिन् । दिदीभाइ उनीतिर कुनै ध्यान दिइरहेका छैनन् जस्तो लाग्थ्यो, तर उनीहरु चालै नपाइने गरी उनलार्य पनि आफ्नो वार्तालापमा सम्मिलित गराउने कोसिस गर्दै थिए ।

“निकोलाइ सुन, यो ग्रीग हो । मैले आजै लिएर आएकी … झ्याल बन्द गर त ।”

उनले स्वरलिपि खोलेर आफ्ना अगाडि राखिन् र बायाँ हातले पियानो बजाउन सुरु गरिन् । पियानोका तारहरु झन्कन थाले र एक हलुको सुस्केरासहित अर्को स्वर पियानोको गुन्जायमान आवाजसँग आफ्नो आवाज मिलाउँदै गाउन थाल्यो । उनका दाहिने हातका औंलाहरुमुनिबाट सुनको घण्टी बजेजस्तो आवाज आउन थाल्यो । मन्द स्वरको गहन पृष्ठभूमिमा यो सुनौलो सुर भयभीत चराहरुको बगालजस्तै फटफटाउँदै यताउता दौडिरहेको थियो ।

सुरुमा आमालाई त्यस सङ्गीतले प्रभाव पारेन । सङ्गीतको प्रवाह उनका लागि आवाजहरुको जमघट मात्र थियो । त्यस जटिल सङ्गीतको धुन टिप्न उनी असमर्थ थिइन् । अर्धनिद्रावस्थामा उनी निकोलाइतिर हेर्दै थिइन्, जो कौचको अर्को छेउमा खुट्टा खुम्च्याएर बसेको थियो । अब आमा सोफियाको गम्भीर अनुहारमा एकटकले हेर्दै थिइन्, आमाको दृष्टि सोफियाको सुनौलो कपालमा पर्‍यो । सोफियाको टाउको र काँधमा आफ्नो न्यानो ज्योति फैलाउँदै सूर्यको किरण पियानोका पर्दाहरुमा पर्थे र उनका औंलाहरुसँग लुकामारी खेल्थे । सङ्गीत बिस्तारै कोठाको वातावरणमा फैलिँदै थियो र आमाले चालै नपाउने गरी उनको हृदय घचघच्याउन थाल्यो ।

किन हो अतीतको अन्धकारमय खाडलमा एक चिरविस्मृत गहन वेदनाले कोल्टे फेर्न थाल्यो र एक कटु स्पष्टतासहित फेरि ताजा हुन थाल्यो ।

एक दिन उनको लोग्ने राती धेरै अबेला रक्सीले चूर भएर घर फर्केको थियो । उसे आमाको हात समातेर बिछ्यौनाबाट घिसार्दै भुइँमा हुत्याइदियो र त्यसपछि पिठ्यूँमा एक लात हिर्कायो ।

“निस्की राँडी यहाँबाट ! वाक्क लागिसकिस् तँ !”

उसको मारबाट बच्नका लागि आमाले आफ्नो दुई वर्षको बच्चालाई काखमा बोकिन् र बेस्सरी छातीमा च्यापिन्, अनि घुँडाले टेकेर भुइँमा बसिन् । बच्चा हातखुट्टा चलाउँदै रोइरहेको थियो । उसको नाङ्गो भयभीत शरीर तातो थियो ।

“निस्की !” – मिखाइल चिल्लाउँदै थियो ।

उनी जरुक्क उठिन् र भान्साकोठातिर दौडिन् । एउटा स्वीटर टिपिन् र बच्चालाई सलमा बेरेर नाङ्गा खुट्टा, राती लाउने लुगा मात्र लगाएकी उनी घरबाट निस्किन् । उनी न रोइन् नै, न त कुनै गुनासो नै गरिन् । मे महिना थियो, रात अझ चिसै थियो । सडकको चिसो धुलो उनको पाइतालामा टाँसिन्थ्यो र खुट्टाका औंलाहरुबीच घुस्थ्यो । बच्चा हातखुट्टा हल्लाएर रुँदै थियो । आमाले बच्चालाई बेस्सरी छातीमा च्यापिन् र ब्याकुल भएर सडकमा दौड्दै अगाडि बढिन् । उनी हिँड्दै बच्चालाई शान्त पार्ने कोसिस गर्दै थिइन् –

“ओ ओ ओ … !”

उज्यालो हुन थालिसकेको थियो । उनलार्य डर पनि लागिरहेको थियो र लाज पनि । कहीँ यस अर्धनग्न अवस्थामा कसैले सडकमा नभेट्टाओस्, उनी धापछेउको अल्पवयस्क अस्परुखमूनि गएर बसिन् । उनी यसरी धेरैबेरसम्म आँखा काडेर अन्धकारमा हेर्दै त्यहाँ बसिरहिन् र निदाउन थालेको बच्चा र स्वयम् आफ्नो हृदयको व्यथा शान्त पार्न निरन्तर एकै सुरमा गुनगुनाउन थालिन्, “ओ–ओ–ओ … !”

अचानक एउटा कालो चरो उड्दै नजिकैबाट पार भयो । आमा तर्सेर उभिइन् र जाडाले काँप्दै घर फर्किन् – यसरी उनी फेरि पिटाइ र अपमानको चिरपरिचित भयङ्कर वातावरणमा फर्केकी थिइन् … ।

सङ्गीतको अन्तिम सुर सुनियो र फेरि एक उदास चिसो सुस्केरासहित त्यो सङ्गीत शान्त भयो ।

सोफियाले आफ्नो भायति फर्केर बिस्तारै सोधिन् – “मन पर्‍यो ?”

“असाध्यै !” अचानक निद्राबाट ब्युँझेको मान्छेजस्तो झस्किँदै उसले भन्यो – “असाध्यै मन पर्‍यो … ।”

आमाको हृदयमा ती दुःखद स्मृतिहरुको प्रतिध्वनि अझै पनि काँप्दै थियो र उनको चेतनाको सिमान्त प्रदेशमा यस्तो विचार देखा पर्‍यो – “यस्ता पनि मान्छेहरु हुन्छन्, जो मित्रता र शान्तिको वातावरणमा मिलीजुली बस्छन्, आपसमा कहिल्यै गाली गर्दैनन् र रक्सी पिएर मात्तिँदैनन्, एक टुक्रा रोटीका लागि झगडा गर्दैनन् … । त्यस अन्धकारपूर्ण जीवनमा मान्छेहरुभन्दा बिलकुल अर्कै तरिकाले बस्छन् … ।”

सोफियाले चुरोट सल्काइन् । उनी असाध्यै धेरै चुरोट पिउँथिन् । कति धेरै भने सायद कहिल्यै उनको हातबाट चुरोट छुट्दैनथ्यो ।

“यो मेरो कोस्त्याको सबैभन्दा मन पर्ने धुन हो !” – उनले भनिन् र लामो सास फेर्दै फेरि पियानोको पर्दामा औंला राखिन् । एक कोमल, उदास धुन सुनियो – “उसलाई पियानो बजाएर सुनाउँदा मलाई धेरै खुसी लाग्थ्यो । कति अनुभूतिशील थियो ऊ, जुनसुकै कुराले पनि उसको हृदयलार्य प्रभावित तुलयाउँथ्यो । उसको हृदय भावनाले भरिएको थियो … ।”

“आफ्नो लोग्नेबारे सोच्दै छिन् सायद ।” – आमाले मनमनै सोचिन् – “फेरि मुस्कुराइरहेकी छिन् … ।”

“कति सुखी थिएँ म त्यस व्यक्तसित … ।” – सोफियाले गहन ममताको भावावेशमा मन्द स्वरमा भनिन् – “उसलाई जिन्दगीको रहस्य थाहा थियो … ।”

“हो !” – निकोलाइले आफ्नो दाह्री मुसार्दै सहमति जनायो – “उसको आत्मा सङ्गीतले भरिएको थियो … !”

सोफियाले भर्खरै सल्काएको चुरोट एकातिर हुत्याइन् र आमातिर फर्कदै सोधिन् – “तपाईलाई मेरो यो हल्लीखल्लीले वाक्क त पारेन ?”

आफ्नो आन्तरिक पीडा लुकाउन असमर्थ भएकी आमाले भनिन् – “तपाई मेरो वास्ता नगर्नोस् । म केही बुझ्दिनँ । बसेर सुन्छु र आफ्नो ज्रिन्दगीबारे सोच्न थाल्छु ।”

“होइन, तपाईले बुझ्नैपर्छ !” – सोफियाले भनिन् – “हरेक आइमाईले सङ्गीतको मिठास बुझ्नैपर्छ, विशेषतः त्यसबेला जब उनको हृदय उदास हुन्छ … ।”

उनले जोडले आफ्ना औंलाहरुले पियानोका पर्दाहरु थिचिन् र पियानोबाट यस किसिमको चिच्याहट निस्क्यो मानौं कसैले भयानक समाचार सुनाउँदै छ । साँच्चैको भयङ्कर वेदनाले मात्र यस्तो हृदयविदारक करुण चित्कार निकाल्न सक्छ । फेरि अचानक यौवनको जोशले भरिएको भयतुर स्वर गुँन्जियो र तुरुन्तै कतै गायब भयो । फेरि एकपलट बडो जोडले करुण चित्कार सुनियो, जुन आवाजमा बाँकी सबै कुरा डुब्यो । यस्तो भान हुन्थयो मानौं कुनै भयङ्कर विपद नजिक आउँदै छ तर यस आवाजले करुणा नभएर रोषको भावना पैदा गथ्र्यो ।

फेरि सङ्गीतको सबल, सुमधुर धुन सुनियो । कति विनय, कति आकर्षण थियो त्यस गीतमा !

यी मान्छेहरुलाई कुनै ममतापूर्ण करा भन्न आमाको हृदय बेचैन भयो । उनलाई सङ्गीतको नशाले छोप्दै थियो । उनी मुस्कुराइन् । उनी यी दिदीभाइलार्य मद्दत गर्न सक्छिन् भन्ने करामा आमालाई विश्वास थियो ।

उनले चारैतिर हेरिन् – होइन उनी के गर्न सक्छिन् र ? आमा बिस्तारै उठिन् र भान्साकोठामा गएर सामोभार बसालिन् ।

तर यी मान्छेहरुका लागि केही काम लाग्ने कुरा गर्ने उनको तीव्र इच्छा पूरा भएको थिएन र चिया खन्याउँदै उनले लज्जित मुस्कानसहित भनिन् – “हामी, त्यस अन्धकारमय जीवनमा बस्ने मान्छेहरु सबै कुरा अनुभव गर्न सक्छौं तर हामी आफ्नो भावना शब्दमा व्यक्त गर्न सक्दैनौं, हामीलाई लाज लाग्छ । हामी बुझ्छौं तर केही भन्न सक्दैनौं । अनि अक्सर आफ्नो यसै लज्जाले गर्दा हामीलाई आफ्नै विचारहरुमाथि रिस उठ्छ । जिन्दगीले हामीलाई चारैतिरबाट घोचिरहेको हुन्छ, दबाइरहेको हुन्छ, हामी शान्ति चाहन्छौं तर हाम्रा विचारहरुले हामीलाई शान्ति दिँदैनन् ।”

निकोलाइ आफ्नो चस्मा पुछ्दै आमाको कुरा सुनिरहेको थियो । सोफियाका ठूलाठूला आँखा आश्चर्यले फैलिएका थिए । उनले चुरोट पनि पिउन बिर्सिन्, हातको चुरोट निभ्न थालिसकेको थियो । उनी अझै पनि पियानोअगाडि नै बसेकी थिइन् तर उनको शरीर निकोलाइतिर फर्केको थियो । उनी बीचबीचमा आफ्नो दाहिने हातले पियानोका पर्दाहरु बिस्तारै सुन्थिन् । पियोनोको कोमल स्वर आमाको हृदयबाट निस्किरहेका ती सीधासादा शब्दहरुमा बिलाउँथे, जसद्वारा उनी आफ्नो भावना व्यक्त गर्न चाहन्थिन् ।

“अहिले त म आफूबारे, अरु मान्छेहरुबारे केही कुरा भन्न सक्ने भएकी छु, किनभने कराहरु बुझ्न थालेकी छु, दाँजेर हेर्न सक्छु । तर पहिले त दाँजेर हेर्ने कुनै कुरै थिएन । हाम्रो मजदुर जीवनमा सबै मान्छे एकैनासले बस्छन् । तर अहिले जब म हेर्न थाल्छु कसरी अरु मान्छेहरु बस्दा रहेछन् र आफ्नो पुरानो जीवनसँग दाँजेर हेर्छु तब मुटु पोल्न थाल्छ !”

उनले स्वर सानो पार्दै फेरि भन्न थालिन् – “हुन सक्छ, मलाई ठीक तरिकाले करा गर्न आउँदैन । हुन सक्छ, तपाईहरुलाई यी सबै कुरा बताइरहने कुनै आवश्यकता छैन, किनभने तपाईहरु आफैंलाई सबै कुरा थाहा छ … ।”

आमाको स्वर रुन्चे हुन थाल्यो तर उनले मुस्कुराउँदै भनिन् – “म तपाईहरुका अगाडि आफ्नो हृदय खोलेर राखिदिन चाहन्छु । म चाहन्छु तपाईहरुलाई थाहा होस् तपाईहरुको सुख र भलाइको मलाई कति चाहना छ !”

“हामीलाई थाहा छ !” – निकोलाइले बिस्तारै भन्यो ।

यस्तो लाग्थ्यो, उनी आफ्नो मनमा लागेका सबै कुरा उनीहरुका अगाडि खोलेर राखिदिन चाहन्थिन् । उनी ती सब कुरा बताउँदै थिइन्, जुन उनका लागि नौलो र अत्यन्त महत्वपूर्ण थिए । उनले आफ्नो त्स दयनीय जीवनबारे बताइन् र कसरी उनले सबै कुरा चुपचाप सहँदै आएकी थिइन् भन्ने कुरा पनि बताइन् । उनको स्वरमा क्षोभको भावना थिएन तर व्यङ्ग्यको एक झलक अवश्य थियो । उनले आफ्नो विगत जीवनका निरस दुःखपूर्ण दिनहरुको समस्त भेद उनीहरुका अगाडि खोलिदिइन् । उनले बताइन्, कतिपल्ट लोग्नेले उनलाई कुटेको थियो । उनलाई आफैंलाई आश्चर्य लाग्दै थियो, किन उनले जीवनमा यति धेरै पिटाइ खाइन् ? किन त्यो पिटाइ रोक्न उनी असमर्थ थिइन् … ?

दुवैजना चुपचाप उनको यो कथा सुन्दै थिए । आमाको यस सामान्य कथापछाडि एक गूढ अर्थ लुकेको थियो । यो कथा एक त्यस्तो व्यक्तिको थियो जोसँग जनावरजस्तो व्यवहार गरिएको थियो र जसले लामो अवधिसम्म चुपचाप आफ्नो यो अवस्था स्वीकार गरेर बसेको थियो । यस्तो लाग्थ्यो, मानौं आमाको मुखबाट हजारौं मान्छेहरु बोलदैछन् । उनको जीवनमा जेजति पनि घटनाहरु घटेका थिए ती अत्यन्त सामान्य र दैनिक कुरा थिए – त्यतिकै सामान्य बेरङ्गी, जति यस पृथ्वीमा बस्ने अधिकांश मानिसहरुको जिन्दगी छ – त्यसैले उनको जीवनकथा एक प्रतीक बनेको थियो । निकोलाइ आफ्नो कुहिनो टेबुलमा अडाएर, हत्केलाले टाउको समातेर, आँखा खुम्च्याउँदै आफ्नो चस्मा पछाडिबाट एकटकले आमालाई हेर्दै थियो । सोफिया आफ्नो मेचमा अडेस लगाएर बसेकी थिइन् र आमाको यो करुण कथा सुनेर बीचबीचमा टाउको हल्लाउँदै झस्कन्थिन् । उनको अनुहार पातलो र फिका देखिन्थ्यो, उनी चरोट पनि पिइरहेकी थिइनन् ।

“एकपल्ट मलाई पनि आफू असाध्यै अभागी लागेको थियो । यस्तो लागेको थियो, मानौं म सपनामा हिँड्दै छु ।” – सोफियाले आँखा झुकाउँदै शान्त स्वरमा भनिन् – “त्यसबेला म धेरै टाढाको एउटा सानो बस्तीमा आफ्नो निर्वासनकाल बिताउँदै थिएँ । केही काम थिएन, सोच्ने कुरा पनि केही थिएन, आफैंबारे सोच्नेबाहेक अर्को उपाय थिएन । जसरी भए पनि मलाई समय कााट्नु थियो र मैले आफ्ना सबै यातनाहरु सम्झन थालेँ । सम्झेँ, कसरी बुबासँग झगडा पर्‍यो ? बुबालार्य म धेरै माया गर्थे । म स्कुलबाट निकालिएँ । मेरो अपमान गरे । सम्झेँ – कसरी जेल परेँ, कसरी मेरो नजिकका साथीले मलार्य धोका दिए, लोग्ने समातिए । सम्झेँ – कसरी म फेरि जेल परेँ र निर्वासित भएँ, अनि लोग्नेको देहावसान ! यी सबै कुरा सम्झँदा मलाई लाग्थ्यो म नै संसारको सबभन्दा दुःखी मान्छे हुँ । तर पेलागेया निलोभ्ना, मैले जिन्दगीभर सहेको यातनाको दस गुना बढी यातना पनि तपाईले आफ्नो जीवनको एक महिनाभित्र सहनुभएको यातना जति छैन … । यस्तो यातना तपाईले बर्षानुवर्ष सहँदै आउनुभयो … । कहाँबाट आउँदो रहेछ मान्छेमा यातना सहने यत्रो शक्ति ?”

“बानी पर्दो रहेछ ।” – आमाले लामो सास फेर्दै भनिन् ।

“मलाई लाग्थ्यो, म जिन्दगीसँग परिचित छु ।” – निकोलाइले विचारमग्न हुँदै भन्यो – “तर जब किताबमा लेखिएको जीवनसँग होइन, मेरा टुक्राटुक्री अनुभवहरुका आधारमा अनुमानित जीवनसँग होइन, यी यसरी साक्षत् जीवनसँग मेरो मुठभोट हुन्छ त मलाई डर लाग्न थाल्छ । जिन्दगीका सानासाना कुराहरु पनि कति भयङ्कर हुँदा रहेछन् । तिनै महत्वहीन मिनेटहरु, जसको जोडले अनन्त वर्षहरु बनेका हुन्छन् … ।”

उनीहरु त्यस अन्धकारमय जीवनको प्रत्येक पक्षबारे विचार गर्दै धेरै बेरसम्म कुरा गरेर बसिरहे । आमा अतीतको सम्झनामा झन्झन् डुब्दै गइन् । विस्मृतिको गहिराइबाट निस्कँदै ती सबै अपमानहरु उनका अगाडि एकएक गर्दै नाच्न थाले । उनको सम्पूर्ण यौवनलाई नै एक मूक नरक बनाइदिएका थिए ।

“म गफ गर्‍यागर्‍यै छु, तपाईहरुको चाहिँ सुत्ने बेला भैसक्यो !” – उनले अन्त्यमा भनिन् – “कुरा जति गरे पनि सकिँदैन … ।”

दिदीलाई दुवै चुपचाप उनीसँग बिदा भए । आमालाई लाग्यो, बिदा हुँदा निकोलाइ सधैंभन्दा बढी झुक्दै छ र बढी प्रेमसाथ उनीसँग हात मिलाउँदै छ । सोफियाले आमालाई कोठासम्म पुर्‍याउन आइन् । ढोकाअगाडि थामिँदै सोफियाले भनिन् – “लौ, अब सुत्नोस्, राम्ररी आराम गर्नोस् !”

उनको स्वरमा गजबको न्यानोपना थियो र उनी आफ्ना कोमल, दयालु आँखाले बडो प्रेमपूर्वक आमालाई हेर्दै थिइन् ।

आमाले आफ्ना दुवै हातले बेस्सरी सोफियाको हात समाउँदै भनिन् – “धेरैधेरै धन्यवाद छ, तपाईलाई … !”

लेखक परिचय

म्याक्सिम गोर्की रूसका प्रख्यात साहित्यकार हुन् । उनको आमा उपन्यास संसार प्रख्यात मानिन्छ । यसबाहेक उनका छोटा कथाहरू पनि उत्तिकै प्रख्यात छन् ।

प्रतिक्रिया
Loading...