डोरोथी पार्कर

सन् १९६७ सम्म आइपुग्दा साहित्यकार तथा समालोचक डोरोथी पार्करले पुस्तक लेखेर कुस्त कमाइन् । उनका नाममा केही कविता संग्रह, आख्यान र केही समालोचना पनि थिए । साहित्यको त्यो खजाना उनले मृत्युअघि त्यस समयका मानव अधिकारवादी अभियन्ता मार्टिन लुथर किङ जुनियरका नाममा गरिदिएकी थिइन् । तर पार्करको निधनको ठीक १० महिनामा किङ जुनियरलाई गोली हानी हत्या गरियो । त्यसपछि डोरोथीले मार्टिनको नाममा गरिदिएको सम्पत्ति त्यत्तिकै रहिरहेको थियो ।

किङ जुनियरको नाममा एउटी साहित्यकारले गरिदिएको सम्पत्तिनामालाई लिएर सोधिँदा उनले भनेका थिए, ‘म कुनै डोरोथीलाई चिन्दिनँ, हामीबीच सायदै भेट भएको थियो होला !’

एकातिर डोरोथी सन्तानविहीन थिइन् र जसको नाममा सम्पत्ति गरिदिएकी थिइन्, उनको पनि हत्या भएपछि किङ जुनियरको नाममा भएका सारा सम्पत्ति सिभिल राइट्स अर्गनाइजेसनका नाममा संरक्षण गरियो । यसरी डोरोथीको सम्पत्ति पनि सो संस्थामा संरक्षित रहन पुग्यो ।

यतिबेला सो संस्थालाई सबैभन्दा ठूलो समस्या डोरोथीका सारा चिजबिज कहाँ राख्ने भन्ने छ । किनभने हालै सिभिल राइट्स अर्गनाइजेसनको कार्यालय न्युयोर्क सहरबाट राजधानी वासिङ्टन डिसी सार्ने तयारी हुँदै गर्दा डोरोथी समर्थक केहीले भने उनी पक्का न्युयोर्कर भएका कारण उनका सारा सामग्री वासिङ्टन डिसी पुरयाइनु नहुने तर्क गरिरहेका छन् । उनका पक्षधरको भनाइ छ, ‘उनले त आफ्ना सबै चिजबिजको संरक्षण यही सहरमा होस् भनेर संस्थालाई जिम्मा लगाएकी थिइन् तर ती सामान वासिङ्टन डिसी पुर्याइन्छ भन्ने उनलाई लागेको भए जिम्मा नदिन पनि सक्थिन्।’

खासगरी एक समय हिट हुँदा उनलाई हलिउडबाट पटकथा लेखनका लागि अनुरोध गरिँदा उनले त्यस्ता प्रस्तावलाई अस्वीकार गरेकी थिइन् ।

डोरोथीका जीवनी लेखक जोन किट्स भन्छन्, ‘न्युयोर्क उनको पहिलो र अन्तिम प्रेम थियो । उनी त्यहीँ जन्मिइन् र त्यहीँ बितिन् । उनलाई अन्त कतै जान मन पनि भएन र कसैले प्रस्ताव राख्दा पूरै गाली खाएर फर्कन्थ्यो ।’

‘त्यसैले उनका सरसामग्रीलाई तलमाथि गर्नु उनको इच्छाविपरीत हुन जान्छ,’ किट्सको भनाइ छ ।

यस विषयमा भने अझै कुनै निर्णय नगरिसकेको संस्थाले जनाएको छ ।