विसर्ग (ः) को उच्चारण आधा ह (ह्) जस्तै हुन्छ । संस्कृतभाषाका साथै नेपाली भाषामा समेत यसको आफ्नै महत्त्व छ तर यसको प्रयोगका सन्दर्भमा प्रयोगकर्ता द्विविधामा परेको देखिन्छ । यस लेखमा विसर्गको सामान्य नियम र प्रयोगसम्बन्धी सामान्य जानकारी दिने प्रयत्न गरिएको छ । १. विसर्गका सामान्यतया तीन रूप हुन्छन् । ती हुन्; ः, र् तथा स् । विसर्ग (ः) भन्दा पर कख-चछ-टठ-तथ-पफ+श-ष-स (यसलाई वर्णवर्गको पहिलो र दोस्रो अक्षर+श, ष, स भनेर सजिलै सम्झिन सकिन्छ) भएमा र् हुँदैन । कि त विसर्ग (ः) नै हुन्छ कि त श्, ष्, स् मा परिणत हुन्छ । यीबाहेक अरूमा र् हुन सक्छ । उदाहरणका लागि :- – पुनः (र्) + जीवन = पुनर्जीवन (शुद्ध) – पुनः (र्) + स्थापना = पुनःस्थापना वा पुनस्स्थापना (दुवै हुने) । (शुद्ध) तर पुनर्स्थापना हुँदैन । -पुनःसंरचना (शुद्ध) पुनर्संरचना (अशुद्ध) -अन्तःशुल्क (शुद्ध) अन्तर्शुल्क (अशुद्ध) अन्य शुद्ध (पुनर् सँग सम्बन्धित) -पुनर्निर्माण, पुनर्वास, पुनर्लेखन आदि -पुनरुत्थान (पुनर्+उत्थान) -पुनरुत्पादन (पुनर्+उत्पादन) -पुनरवलोकन (पुनर्+अवलोकन) -पुनरागमन (पुनर्+आगमन) शब्दको मध्यमा विसर्ग हुने अन्य केही शब्द -दु:ख, -निःशब्द, -अन्तःकरण, -दुःशासन आदि । २. शब्दका अन्तमा अः भएमा सन्धिका क्रममा ओकार हुने अवस्था शब्दका अन्तमा अः छ र त्यसलगत्तै “कख-चछ-टठ-तथ-पफ+श-ष-स” वर्णमध्ये कुनै एक वर्ण वा अक्षर छ भने त्यस अवस्थामा बाहेक अन्य वर्ण भएमा ओकारमा परिणत हुन्छ । उदाहरणका लागि :- मनः + दशा = मनोदशा मनः + विज्ञान = मनोविज्ञान मनः+ रथ = मनोरथ त्यस्तै रजोगुण (रजः+गुण) आदि । ३. शब्दका अन्तमा अः लगत्तै “कख-चछ-टठ-तथ-पफ+श-ष-स” मध्ये कुनै एक वर्ण भएमा ओकार हुँदैन । उदाहरणका लागि :- – मनः+क्रान्ति = मनःक्रान्ति (मनोक्रान्ति जबर्जस्ती बनाइएको शब्द हो ।) – अन्तः + करण = अन्तःकरण – मनः + कामना = मनःकामना (मनोकामना अशुद्ध) तर मनकामना मन्दिरको नाम नेपालीमा रूढ (प्रसिद्ध) भइसकेकाले सोही शब्द (मनकामना) प्रयोग गर्नु अन्यथा नहोला । – मनः + स्थिति = मनःस्थिति तर नेपालीमा मनस्थिति रूढ भइसकेको देखिन्छ । ४. विसर्गका रूपमा प्रयोग हुने वर्ण (र् र स्) अन्तमा एक्लै आएमा विसर्ग (ः) नै लेख्नुपर्दछ । उदाहरणका लागि :- पुनर् = पुनः अन्तर् = अन्तः अन्ततस् = अन्ततः स्वतस् = स्वतः क्रमशस् = क्रमशः त्यस्तै प्रायः, प्रायशः, अतः आदि । ५. नेपाली भाषामा प्रयोग हुने केही शब्दमा विसर्ग प्रयोग हुने गरेको देखिन्छ । उदाहरणका लागि :- – छिः (छ्या भन्ने अर्थमा) = छिः ! कस्तो फोहोरी मान्छे ! – उः (कुनै वस्तुलाई इङ्गित गरेर देखाउँदा बोलिने शब्द) = उः त्यही मान्छे हो, जसले हिजो मेरो अस्मिता बचाइदिएको थियो । उः त्यहाँ हेर त, तिम्री आमा आउँदै छिन् । |
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।