उनी असाध्यै उदार हृदयकी नारी थिइन् । सानामा पनि उनलाई गाउँघरमा “लच्छिनकी नानी” भन्थे रे छरछिमेकीहरूले । उनले कोहीअगाडि हाँसीमात्र दिइन् भने पनि त्यो भेटिने मान्छेले “आज मेरो राम्रो साइत हुने भो । ” भन्थे रे । हुन पनि उनी पछिसम्म नै त्यस्तै मिजासिली र दयालु स्वभावकी थिइन् ।

उसको सोह्र वर्षकै उमेरमा विवाह भएको थियो । प्रेम विवाह भनौँ वा मन पराइको विवाह ।

उनी आफ्नो नयाँ जीवनको थालनीमा आफ्ना आमा, भाइ,बहिनी, अर्थात् परिवारलाई छाडेर सात समुद्रपारी पुगिन् । बाबाको मृत्यु भइसकेको थियो । निम्न वर्गकै परिवारमा जन्मेकी उनको दुःख र अभावमै उसको आफ्नो शैशवकाल र यौवनकाल बितेको थियो । सङ्घर्ष र दुःखसँग पूर्ण परिचित थिइन् उनी ।

विवाह बन्धनमा बाँधिएर त गइन्  उनी ठुलो सहरमा । ब्रिटिस लाहुरेकी जीवन सँगिनी भएर । सायद खान, लाउँन दुःख पक्कै भएन । आफू पनि भर्खरै सोह्र, सत्रको कल्कलाउँदो उमेरले धपक्क बलेकी । दुःख र अभावको खाडलबाट एक्कासी निस्किएर रङ्गीन संसारमा पुग्नु उसका निम्ति  सुनौलो प्राप्ति नै थियो तर अफ्सोच! उसको दयालु र कोमल हृदय आफ्नो प्राप्तिमा मात्र कहाँ सन्तुष्ट र खुसी हुन सक्थ्यो र ?

जति मिठो खाना खान बस्यो आफ्ना मसिना भाइ, बहिनीको झझल्कोले खाँदै गरेको गाँस घाँटीमै अड्केजस्तो हुन्थ्यो रे । आफूले राम्रो लुगा लाउँदा पनि सन्तानको नाङ्गो आङ्ग सम्झिन्थिन् रे । कतै घुम्न, डुल्न गयो । टाढा कतैबाट आफ्ना मसिना भाइ, बहिनीले बोलाएकोजस्तो भान हुन्थ्यो रे ।

पुग्न त पुगिन् नौलो रमाइलो देशमा अनि  एउटी ब्रिटिस आर्मीकी स्वास्नी हुनुमा आनन्दै थियो । नि

आचार्य प्रभा

जि जीवनका लागि त उनलाई ढुक्क थियो नै होला सायद तर उनी आफ्नो स्वार्थ र आफ्नो व्यक्तिगत आनन्दमा मात्र रमाउँन कहाँ सक्थिन् ? स्वभाव नै उसको दयालु र कोमल हृदयकी भएकीले आफू जति नै परिपूर्ण अवस्थामा भए पनि उनलाई खाएको, नखाएको एउटै हुन्थ्यो रे । जतिसुकै मनोरम दुनियाँमा भुलिए पनि उसको मनमा कहिल्यै खुसीको दियो बल्दैनथ्यो थियो रे ।

निकै वर्षको हङकङ बसाइपछि उनीहरू रिटायर्ड भएर स्वदेश (गाउँ )फर्किए । आफ्नै गाउँ, घर वातावरणमा समय गुज्रिइरहेको थियो । सन्तान पनि तीनजना भइसकेका थिए तर आफ्नो सन्तान हुनुभन्दा अगाडि नै आफ्नो कान्छो भाइ जो बालकमै टुहुरो बनेको थियो । छोरा बनाएर पल्टनमै लगेका थिए सात वर्षकै उमेरमा ।

जसोतसो समयको पङ्खसँगै उसको परिवारको दिनचर्या चलिरहेको थियो । छोराछोरीहरू पनि हुर्कँदै गइरहेका थिए । जब हाइस्कुल सकेर उनीहरू कलेज पढ्न तयार बने । उनीहरूकै पढाइका लागि भनेर उक्त दम्पतिले काठमाडौँ बस्ने निर्णय गरेर काठमाडौँ बसाइँ सरे । उनी त दयालु र स्वच्छ मनकी थिइन् नै । उसको श्रीमान् पनि अति सोझा र दयालु स्वभावकै थिए । ब्रिटिस आर्मीमा कलिलै उमेरमा भर्ती लागेकाले उनी पनि निस्कलङ्क, निष्कपट थिए । उनलाई आफ्नो सैनिकी जीवनको इमान्दारिताबाहेक अरू छक्का, पन्जा आउँदैनथ्यो । पल्टनमा पनि उनी शिक्षित र बौद्धिक वर्गमै गनिन्थे रे तर त्यही हो । जहाँ चाकडी, चाप्लुसी र हात मोलाइको नाटक हुन्न , त्यहाँ सोझा र इमान्दारको केही लाग्दैन त्यसैले पनि उसको श्रीमान्को क्याप्टनमै रिटायर्ड भएको थियो ।

सोझो, इमान्दारिताले पनि पल्टनको जागिरले उनीहरूले सम्पत्ति भने राम्रो कमाएका थिए । ठाउँ ठाउँमा जग्गा जमिन जोडेका थिए । त्यो दम्पतीबिच राम्रो सम्बन्ध कायम थियो । कहिले झगडा, मनमुटाव भन्ने सुनिँदैन थियो । जे होस् पारिवारिक गाडी राम्ररी चलिरहेको थिए । दुवैजना सहयोगी र दया, धर्म गर्ने भएका कारण गाउँ,समाजमा सबैले रुचाउँथे उनीहरूलाई । उनीहरूबिच पनि प्रेम, सद्भाव थियो । दुवैतर्फीको परिवारलाई माया,सहयोग गर्न लोग्ने, स्वास्नी तत्पर थिए ।

उनीहरू काठमाडौँ आएर जग्गा किनेर घर बनाए । छोरा/छोरीहरू पढ्न थाले । जीवनको गाडी राम्रोसँग चलिरहेको थियो । कमाको पैसाबाट नै गुजारा चलिरहेको थियो । पेन्सिनले घर चलिरहेको थियो तर कमाको पैसा कैलेसम्म रहिरहन्छ र ? फेरि श्रीमान् अर्को देशतिर जागिरको शिलशिलामा लागे । विदेश जानुको विकल्पबाहेक उनीहरूजस्ता सोझा, इमान्दारसँग अरू के हुन्थ्यो र ? काठमाडौँ बसे पनि बाँच्नलाई कि पार्टीको झोले बन्नुपऱ्यो कि त नेताको दाहिने हात हुनुपऱ्यो । कि त राम्रो जागिर हुनुपऱ्यो कि त त्यस्तै कमाउ धन्दामा लाग्नुपऱ्यो तर बिचरा यौवनकालदेखि इमान्दारिताको बुट बजार्ने त्यो पनि विदेशमा त्यस्ताले के जान्नु ? कमाउने विभिन्न उपायहरू । आफ्नो देशभित्रको कमाउ धन्दाको छल्छामको प्रक्रिया । श्रीमती पनि उस्तै अन्जान र इमान्दार । बस् उनले जानेको भनेको साखा, सन्तान, इष्टमित्रलाई माया गर्नु र सहयोग गर्नु अनि सोझोपनले गृहस्थी चलाउनु । ।

आजभोली गर्दागर्दै काठमाडौँ बसेको पनि निकै समय बित्न थाल्यो । छोराछोरीहरू पढ्दै,बढ्दै गए । उनीहरू पनि बाबा/आमाजस्तै सोझा र इमान्दार निस्के । काठमाडौँ बसाइ भएकाले उनीहरूको घरमा पाहाड, मधेश जहाँ तँहीबाट आउँने जानेको धुइरो लाग्न थाल्यो । दिनहुँ पाहुना नभएको दिन हुँदैनथ्यो । श्रीमतीको काम नै आएकाहरूलाई पकाउँनु, खुवाउँनु बाहेक अन्य केही काम थिएन । आफूले नचिनेकाहरू पनि कहाँ कहाँ पाहाडबाट विदेश जाने भनेर बाजे, बोजु, काका, काकीको साइनो लाएर घरभरि थुप्रिन्थे । त्यतिका मान्छेहरू घरभरी थुप्रिँदा पनि कहिले उसको मुखबाट उफ्…! भन्ने शब्दसम्म निस्कँदैनथ्यो । कोही त बाहिर जाने प्रोसेसका लागि आएर काम नबनिन्जेलसम्म छ /सात महिनासम्म पनि बस्तथे । आफ्नो सन्तानहरूमध्ये कतिलाई आफूसँग राखेर पनि पढाए । कतिलाई विदेश जानलाई आफूले लगानी गरेर पनि पठाए । भनौँ उनीहरू यो आधुनिक युगको बुद्ध नै थिए परिवार नै ।

समयले कोल्टे फेर्दै गयो । काठमाडौँको स्वार्थी हावापानीले उनीहरूलाई कहिल्यै छोएन । उनीहरूमा कहिल्यै परिवर्तन आएन । कतिन्जेल विदेशको नोकरी गर्ने ? भनेर श्रीमान् पनि फर्केर काठमाडौँ आए । काठमाडौँको बसाइ त्यही पनि पाहुनापातको ओइरो । धान्न गाह्रो हुन थालिसकेको थियो । कहिले पनि उनीहरूको मुखबाट कसैलाई नराम्रो वचन र व्यवहार भएन । आउनेहरूलाई जहिल्यै स्वागत नै गरे । कहिल्यै कसैलाई पनि दुर्व्यवहार र तिरष्कार नगरेकाले  त्यो घरमा आउँने जानेको लस्कर चलिरह्यो नै । यतिसम्म कि सुत्ने ठाउँ नपुगेर छतमा पनि आएका पाहुनाहरू सुत्दथे । उनीहरूको सोझोपन र इमान्दरिताको फाइदा आफ्ना /पराई /चिनेजानेका सबैले उठाए तर उनीहरूले कहिल्यै मान्छेहरूको स्वार्थीपन चिन्न सकेनन् । विडम्बना ! यो नै उनीहरूका लागि अभिशाप बन्यो ।

आखिर सङ्गत न हो । त्यस्ता सोझा इमान्दार परिवार अरूको खेलबाट भित्रभित्रै फाट्न थाल्यो । श्रीमान्,श्रीमती दुवैमा चलाखीपन नहुनाले बाहिरकाले भरपुर फाइदा उठाए । छोरा/छोरीहरू पनि अन्जान नै थिए त्यतिन्जेलसम्म । श्रीमान् बाहिरको सङ्गतले आफैँमा व्यस्त बने । उनीहरू दुई दम्पतीबिच कहिले पनि दोषारोपण या कुनै किसिमको रोकटोक हुँदैनथ्यो । श्रीमती त आफ्नै घर र साखा, सन्तान भनेरै आफ्नो दिनचर्या बिताउँने गर्थिन् । उनलाई कहिले आफ्नो श्रीमान्प्रति गुनासो,चियो,चर्चा भएन । कहिले श्रीमान्का कार्यलाई प्रतिकार गरिनन् । बस् सोझी, सहृदयी थिइन् । सबलाई आफूझैँ ठान्नु उसको स्वभाव थियो ।

जसोतसो काठमाडौँको बसाइमा उनीहरू एकापसको सम्बन्धमा अडिएरै बसेका थिए । भाग्यवश फेरि आफ्नो हङकङको आइडीमार्फत हङकङ नै फर्किएर बस्ने मौका पाए । उनीहरू हङकङ फर्केर गइन्जेलसम्म चलिरहेको सम्बन्धमा केही आँच आइसकेको थियो र कमाएको सम्पत्तिमा पनि ह्रास आइसकेको थियो । हङकङ फर्केपश्चात् फेरि उनीहरूकोजीवन चर्या राम्ररी नै बित्न थाल्यो सायद ।

काठमाडौँ बसुन्जेल भने साइनो लाएर आउनेहरूको उद्धार गर्दागर्दै आफ्नो सर्वस्व गइसकेको थियो । चिनेजानेकाले नै पनि श्रीमान्लाई कति मुद्दा मामलामा फसाए । किनकि ती अन्जान आँखाहरूले कहिल्यै पनि स्वार्थी र ठग प्रवृत्ति चिन्न सकेनन् र कतिपय परिबन्दमा उसको श्रीमान् फसे पनि । त्यो सब अरूप्रति को अन्धविश्वास र भरोसा थियो ।

सब परिवार हङकङ बस्दै आए पनि श्रीमान् भने नेपाल आवत/जावत गरिरहन्थे । आफ्नो परिवारको अनुपस्थितिमा जस्तै चलाख र बाठा पुरुषहरू पनि बाटो बिराउँछन् भने उनी त ठहरिए सोझा र इमान्दार सैनिक । काठमाडौँका केही स्वार्थी, चलाख र द्वैत चरित्र भएका सङ्गतहरूसँग घुलमिल हुन पुगे । त्यसतश्चात् आफूसँग भएको इमान्दारिता पनि बन्धक पर्दै गयो उसको । उसको स्वच्छपनमा धुमिल रङ्ग घोलिन पुग्यो । त्यसपश्चात् त एउटा घर तहसनहस हुन कति समय लाग्थ्यो र ? जे नहुनु थियो हुँदै गयो ।

उता उनी (श्रीमती )आफ्ना छोराछोरीहरूसँग हङकङमा आफ्नो दैनिकी गुजार्न थालिन् । कारण उसको नाति, नातिनी पनि भइसकेका थिए । एउटी आमाको मन त्यही पनि कोमल हृदयकी उनी, आफ्ना छोरा, छोरीलाई तातो खोले भए पनि पकाएर खान दिन पाए आमाको मन सन्तुष्ट हुन्छ भन्ने मनमा लाग्यो सायद । उनी छोराछोरी रुँगेर उतै बस्न थालिन् । उनी आफ्नो श्रीमान्प्रति विश्वस्त पनि थिइन् । किनकि चालिसौँ वर्ष बिताइसकेको श्रीमान् त्यस्ता नीच व्यवहार र चरित्र भएकाहरूसँग फसेर आफ्नो निजि जीवन बिर्सन्छन् भन्ने उनलाई के थाहा ? उनी पनि कहिलेकाहीँ आउँने जाने गर्थिन् नेपाल ।

यसरी एउटा स्वच्छ छवि भएको घर, परिवार अरूकै हातको खेलौना बनेर नाँच्न थाल्यो । सबैलाई सहयोग, माया गरेर उभिएको एक जोडीको सम्बन्ध भित्रभित्रै मक्किन थाल्यो तर पनि उनीहरूबिच कहिल्यै झगडा, मनमुटाव भने भएको कसैले देखेनन् किनकि उनीहरूबिच त्यस्तो कटुता कहिल्यै हुन्नथ्यो तर अफसोच! उनीहरूको सम्बन्धको तगारो श्रीमतीको आफ्नो श्रीमान्प्रतीको अन्धो विश्वास र श्रीमान् पनि आफ्नी श्रीमतीप्रति कहिले रिसराग नगर्ने र कटु वचन नगर्ने भएकाले एकार्काको कोमल मन र अटल विश्वासले अन्त्यमा नदीको दुई किनार बन्न बाध्य गऱ्यो । अन्त्यमा त्यस्ता सोझा, इमान्दार श्रीमान्ले पत्तो नदिई अर्कै घरजम बसाइसकेछन् काठमाडौँमा । उनी भने बेपर्वाह श्रीमान्प्रति विश्वस्त बनेर परदेशमा छोराछोरी, नातिनातिनासँग समय काटिरहेकी थिइन् । यसरी आफ्नो माटो छाडेर विदेशमा बस्नु पनि छुट्टै कथा/व्यथा थियो सायद ।

केही वर्षपछि उनी फेरि नेपाल आइन् । आफ्नो घर व्यवहार मिलाउन र हेर्न तर अफसोच! दैवको इच्छा उनीप्रति अझ क्रूर बन्यो । उनी भयावह रोगको सङ्क्रमणमा परिन् । त्यस्तो रोगी ज्यान लिएर विदेशमा बस्नु कठिन थियो । छोराछोरी आ-आफ्नो काम कर्तव्यमा व्यस्त थिए । त्यसैले उनी काठमाडौँ घरमै बसिन् आफ्नो उपचारार्थ । त्यस्तो रोगले गाँज्दा पनि उनी सकारात्मक थिइन् । म पक्कै निको हुन्छु भन्ने आत्माविश्वास बोकेर उनी जीवन र रोगसँग सङ्घर्ष गरिरहेकी थिइन् । आफ्नो श्रीमान् भने अब परायाजस्तै भइसकेका थिए । उनी अर्कै देश भासिसकेका थिए ।

तर पनि उनी मनको एक कुनामा आफ्नो श्रीमान्को पर्खाइमा बाँचेकी थिइन् । उसको साथमा उसलाई हेर्ने आफ्नो भदै थियो जसको बाबालाई उनीहरूले सात वर्षकै उमेरमा छोरा बनाएर लगेका थिए । आखिरमा दुःख र एक्लोपनमा तिनैको साथ पाए । छोराछोरीहरूले पनि आफ्नी आमालाई कुनै किसिमको कमी हुन दिएकै थिएनन् । आफूहरू विदेशमा रोजगार गरेर पनि आमाको हर इच्छाहरू पूर्ण गरिरहेका थिए ।

जस्तै भएपनि एउटी महिलालाई आफ्नो सिउँदोको सिन्दुर खोसिएको कहाँ चित्त बुझ्छ र ? उनी रातदिन मर्माहत बन्दै गइन् । उनी यत्ति विश्वासमा डुबेकी थिइन् कि आफ्नो श्रीमान्को सही खबर भन्नेहरू, आफ्नै सँग पनि विरोधी बनिन् । उनलाई विश्वास नै थिएन कि आफ्नो श्रीमान्ले त्यसरी लत्याउँछन् भनेर तर सोचे विपरीत भयो । उनी दिनप्रतिदिन क्षतविक्षत हुँदै गइन् । काठमाडौँमा सँगै हुँदा पनि अनेकौँ समस्याहरू झेल्नुपऱ्यो । कारण अरूलाई दया, माया गर्ने हुँदा तिनीहरूले नै उल्टै आफ्नो श्रीमान्लाई फसाएर अनेकौँ जालझेलमा पारिदिए । जब ती समस्याहरूबाट पार भए तब श्रीमान्को नियतमा खोट लाग्न थाल्यो तर पनि उनी आफ्नो श्रीमान्प्रति विश्वस्त नै बनेकी थिइन् ।

जब उनले यथार्थ कुरा थाहा पाइन् धेरै ढिला भइसकेको थियो । उसको श्रीमान्की अर्कीबाट छोरा जन्मिसकेको थियो । उसको श्रीमान् विदेशमै बस्ने गर्थे । कहिलेकाहीँ आउँदा पनि पत्तो नदिई आफ्नी कान्छीसँग बसेर विदेश फर्किन्थे । श्रीमान्को त्यस्तो व्यवहार हुँदा अझै पनि अन्तिममा मेरो बुढा मसँगै आउँछ भन्ने आश बोकेर बाँचेकी थिइन् । मनमा अति चोट भए पनि कहिल्यै हरेस खाइनन् उनले । घरमा एक्लै हुँदा पनि हतास भइनन् । छोरा/छोरीहरू हङकङबाट आउँने जाने गरिरहन्थे । उनी आफ्ना सन्तानसँग सन्तुष्ट थिए । छोरा /छोरीले पनि आफ्नी आमालाई सुखसँग राखेका थिए तर पनि आफ्नो श्रीमान्ले त्यसरी चटक्कै माया मारेर हिँड्दा उसको मनमा  भित्री पीडा त थियो होला तर उनले कहिल्यै अरूलाई निराश बनेर देखाइनन् ।

यसरी एउटा अबोध नारी जीवन चलिरहेको थियो । चालिसौँ वर्षको लोग्नेको साथ बिनाकारण छुटेको थियो । जो जतिलाई उनले दया, माया सहयोग गरिन् आखिरमा ती सब वैरी बने । यस्तै पीडा र छट्पटीमा बाँच्तै  पनि उनले पछिबाट रक्सी सेवन गर्न थालिछन् । उनको मन बुझाउँने साधन नै केवल नशा बन्न थाल्यो । त्यहीमाथि दुवै मृगौला ड्यामेज भइसकेका थिए । आफ्ना छोराछोरीले औषधी पानीमा कुनै किसिमको कमी हुन दिएका थिएनन् । उनी भन्ने गर्थिन् ।-“मलाई मेरो छोराछोरीले पैसाले बँचाएका छन् । म तगडा छु । म हत्तपत्त मर्दिनँ । मलाई नानीहरूले आमा तँपाई नमर्नु है । तँपाई मर्नुभो भने त हामी एक्लो हुन्छौँ भन्छन् ।” भनेर सधैँ अरूलाई सुनाउँथिन् रे ।

जसोतसो मृगौला घाइते बनेर भए पनि उनी पाँच /छ वर्ष बाँचिन् । आफूलाई कहिल्यै कमजोर ठानिनन् ।-“मैले मेरो छोराछोरीका लागि पनि बाँच्नुपर्छ ।” भनेर उनी भन्ने गर्थिन् तर घाइते अङ्गले सधैँ कहाँ साथ दिन्छ र ? अन्तमा उनी थलिँदै गइन् । हप्तामा एकपल्टसम्म हाम्रो फोनमा कुरा हुन्थ्यो । उनी आफू तगडा भएकै भन्ने गर्थिन् । मैले फोनमा स्वास्थ्यका बारेमा चिन्ता पोख्ता -” मर्दिनँ हौ यतिछिट्टै सुर्ता नगर “भन्ने मान्छे फोनमा कुरा हुनै छाड्यो । एकदिन मैले कल गरेँ । हेल्लोसम्म भनिन् ।-“म बोल्न सक्दिनँ ।” भनेर फोन राखिन् । त्यसपछी त हाम्रो कुरा हुनै छाड्यो । उनी निकै थलिछिन् ।

आफू सक्षम भइन्जेल र सबैलाई सहयोग गरिन्जेल उसको घरमा भतेर पाक्ने गर्थ्यो । मान्छेको आवत, जावतको भिड लाग्थ्यो तर जब उनी एक्लो परिन् ती भिड लाग्ने जमातहरूको छायासम्म पर्न छाड्यो । आफ्नो श्रीमान्पट्टिकाहरूले सम्झनै छाडे  ।अन्त्यमा उनी सिकिस्त भएर हस्पिटलमा बीस /बाइस दिन राख्ता राख्तै उनी मुर्चल मुढाझैँ बनिछिन् । होस नभए पनि आँखाबाट आँसु झारी रहन्थिन् रे । बोली नआए पनि रोइरहन्थिन् रे । अब भने उनले जीवनसँग हारिसकेकी थिइन् क्यारे तर अफ्सोच अर्धमुर्च्छित अवस्थामा रुनुको अर्थ आफ्नो श्रीमान्को पर्खाइ रहेछ । बेलामा बेलामा श्रीमान्लाई पुकार्थिन् रे ।

एकदिन अचानक दिदीको छोरीबाट खबर आयो ।-“अब आमाको बाँच्ने आशा छैन रे ।”डाक्टरले सबैलाई खबर गर्नू भनेको छ भनेर । उनी अर्धमुर्च्छित अवस्थामै थिइन् रे । त्यस्तो खबर सुनेपछि मन भक्कानियो । उनीको बोली सुन्न नपाउनाको पीडाले मन रोयो किनकि उनी त हामी सबैकी आमा थिइन् । दया धर्मकी खानी थिइन् । सधैँ साहसी कुरा गर्ने । हामी सबैलाई आड, भरोशा, सान्त्वना दिने । एकदिनको फोनको कुराकानीमा -“मैले यो जुनीमा त सबैलाई धर्म गरेकी थिएँ । धर्म गर्ने मान्छेलाई यस्तो दुःख हुँदो रहेछ । यो कुन जुनीको पाप भोग्दैछु म ?”भनिन् । त्योबेला भने म पनि अति रोएँ । किनकि कहिल्यै हिम्मत नहार्ने मान्छे अब चाहिँ हरेस खान थालिछिन् भनेर ।

उनी अर्धमुर्च्छित नै भएको खबर थियो अघिल्लो दिनमात्र तर भोलिपल्ट अचानक दिदीकी छोरीले भिडिओ च्याट गरी । हस्पिटलबाट नै गरेकी रहिछ । बेड नम्बर ६०५ मा उनी अर्धमुर्च्छित अवस्थामा नै थिइन् क्यारे । खै !हामीलाई खोजिन् कि क्या हो ? नानीहरूले भन्दै थिए -“आमा हेर्नुहोस् त अन्टी ।वहाँलाई के भन्ने मन छ भन्नु ।” भन्दा त्यस्तो अर्धमुर्च्छित मान्छेले आँखा पनि राम्रो नखोली ।-“ए ……..हाउ आर यु ?के गर्दैछौ ?लभ यु,लभ यु “भन्ने वाक्य लर्बरिएको जिब्रोबाट निकालिन् र नसक्ने अवस्थामै आँखा बन्द गरिन् । त्यसको भोलिपल्ट नै प्राण त्याग गरिछिन् । कस्तो आश्चर्य ?त्यतिका दिनसम्म बोली बन्द भएको । होस नरहेको मृत्युको सम्मुख पुगेर पनि त्यति वाक्य निस्केपश्चात् प्राणपखेरु उड्नु । सायद उनको हामीलाई भेट्ने चाहना पनि अधुरै रह्यो होला । आफ्नो पतिदेवलाई त भेट्न मुस्किल नै पऱ्यो । अझै पनि म उनको अन्तिम वाक्य सम्झेर विक्षिप्त बन्छु र त्यो म्यासेन्जरको भिडिओ बारम्बार खोलेर हेर्छु ।

मान्छेको मृत्युपर्यन्त अनेकौँ इच्छा हुँदो रहेछ । उनको पनि आफ्नो सन्तान भेट्ने इच्छामा सास अल्झिरहेको थियो । त्यति बोलेपश्चात् उनी बिदा भइन् । उनको, हाम्रो भेट्ने चाहना अधुरो नै रह्यो । अझै म त्यो अन्तिम वाक्य र उनको रोदनमय कारुणिक दृश्य सम्झेर मर्माहत बन्छु । यति कथा सुनाएर मेरी साथी अश्रुपूर्ण आँखा लिएर बिदा भइन् । म पनि ऊनको आफ्नै दिदीको कथा, व्यथा सुनेर आँसुले लुछुप्प भइछु । मलाई त्यो एउटा पूर्ण सिनेमा हेरेझैँ लाग्यो । अन्त्यमा ऊनले गोरेटो नकाटुन्जेलसम्म मैले उसनलाई हेरिरहेँ, हेरिरहेँ ।

 

अमेरिका