“ए ! सुष्मा त्यो गुलाबको फूल त ओइलाइसकेछ । किन पानी हालेर फूलदानीमा नराखेकी ? कति मिठो कलर रहेछ । पानी हालेर राख्यौ भने त्यसको आयु अझै लम्बिन्छ । नीराले उत्सुकता जनाई ।”

“मलाई त्यो गुलाबको आयु लम्ब्याउने रहर छैन ओइलाए ओइलाओस् ।” सुष्माको निरसमय प्रतिउत्तर आयो ।

“अरे ! कस्तो कुरा गरेकी ? गुलाबको फूललाई पनि यस्तो तिरस्कार गर्ने मान्छे त आजै पहिलो पटक देखें । पहिला त खुब मन पराउँथिस् फूल ।” नीराको आश्चर्यमय प्रश्न अझ थपियो ।

वातावरण केहीबेर सन्नाटामय बन्यो । नीरालाई चित्तै बुझेन र उसले फेरि निन्याउरो बन्दै सोधी, “के भो सुष्मा तँलाई ? किन आज यस्तो नकारात्मक कुरा गर्छेस् ? गुलाब फूल त प्रेमको प्रतीक हो । त्यही पनि यो समय  प्रेम दिवसको समय हो । पक्कै पनि तँलाई यो कसैले प्रेमको प्रतीक दिएको हुनु पर्छ । किन प्रेमको प्रतीकलाई बहिष्कार गर्छेस् ?”

सुष्माले व्यङ्ग्यात्मक मुस्कान छर्दै भनी, “नीरा ! गुलाबलाई माध्यम बनाएर उसको हत्या गर्दै मायाको ढोंग रच्ने हजारौं पाइन्छन् अचेल । हो त्यसैले मलाई त्यस्तो ढोंगी प्रेमलाई ग्रहण गरेर गुलाब सजाउने रहर छैन । जसरी त्यो गुलाब ओइलाइरहेछ नि ! त्यो प्रेम पनि उसरी ओइलाइरहेछ । मलाई कसैले प्रेम गर्छ भने हृदयमा सजाओस् न कि गुलाबको फूलमा ।”

“किन यस्तो कुरा गरेकी तैंले सुष्मा ? मैले त धीरजले प्रेमले दिएको गुलाब सजाएर फूलदानीमा राखेकी छु ।”

“त्यसैले त मैले त्यो गुलाबलाई ओइलाउन छाडी दिएकी हुँ । किनकि एउटै मनबाट दुवैजनालाई दिएको प्रेम कसरी चोखो र अटल हुन्छ ? धीरजले हामी द्वयलाई एकै पटक रातो गुलाब दिएर प्रेम प्रस्ताव राखेकोले मैले तिरस्कार गरेकी हुँ ।” सुष्माले भनी ।

नीराले किङ्कर्तव्यविमूढ बन्दै सोधी, “कसरी थाहा भो तँलाई ?”

“मैले धीरजले कसैसँग फोनमा ठट्टा गर्दै कुरा गरेको सुनेकी थिएँ ।”