“तीज सकियो। तीज पछिका दिनमा चाडपर्व गाउँघर भित्रिन्छन्। वर्षादको पानी घट्दै जान्छ। खोला खोल्सामा पानी सङ्लो हुनथाल्छ। गोरेटो र गाईवस्तु हिँड्ने गल्लीमा हिलो सुक्दै जान्छ। कोदो रोप्ने बेला यो। भर्खर रोपाइँ सकिएका खेतमा धानको बेर्ना हरियो फिरेको हुन्छ। आलीमा रोपेको मास उम्रेको होला।”

दिलबहादुरको मानसपटलमा यो खाले चित्रहरू बन्ने गर्छन् समय अन्तरालमा।

बिहान कम्पनीको ड्युटी जानुअघि घर-गाउँको यादमा ऊ भावातीत भैरहेको थियो। कोठामा सँगै बस्ने अरू साथीहरू कामबाट आइपुगेका थिएनन्। मनमनै यादहरूमा  खेल्दै र ओठले सुसेला बजाउँदै  ऊ काममा जान सुस्त तयारी गर्दै थियो।

“दिलबहादुर, आज काममा नजाने तिमी ?” युधिर बस्नेत नाइट ड्युटी सकेर आइपुगे।

“जान्छु, किन नजाने र। आज अलि अल्छी जाग्यो। ”

दिलबहादुरले उमालेको पानी तुम्लेटमा हाल्यो, दिउँसोको खाजा पोको पार्‍यो र झोलामा राख्यो। भर्खर इस्त्री लगाएर राखेका कम्पनीकै वर्दी सुट झिकेर लगायो र बुटमा पालिस घस्न बस्यो।  सर्टको देब्रे बाउलामा थियो कम्पनी छाप: वोर्ल्ड सेकुरिटी सेर्विसेस।

“युधिर तिमीलाई खाना राखिदिएको छु है।” दिलबहादुरले विद्युत् चुलोमाथि भात र तरकारी छोपेर छाडेको थियो। दिलबहादुर यो काममा लागेको चार वर्ष भयो। वैदेशिक रोजगारमा पठाउने मानव श्रमशक्ति कम्पनीका ठेकेदारलाई साबिक दस्तुरभन्दा बढी पैसा बुझाएर ऊ यहाँ काम पाउन सफल भएको थियो। विगतमा छापामार युद्धमा लडाकु भएको फाइदा पायो उसले।

० ० ० ०

दिलबहादुर गाउँको स्कूलमा नौ कक्षामा पढ्थ्यो जुन बेला एकदिन साथीहरूसँग एकजना नेताको कुरा सुन्न खोल्सापारिको बाँसघारी गएको थियो। अर्को साल एस. एल. सी परीक्षाको तयारी गर्दै गर्दा गाउँबाट हराएका केही तन्नेरीहरू उसको घरमै आएका थिए।

“म त अहिले त्यो बाटो हिँड्न तयार छैन। मेरो माल्दाजु हराएको धेरै वर्ष भयो। उसको अहिलेसम्म अत्तोपत्तो छैन। म एस. एल. सी. को जाँच दिएर तपाईंहरूसँग भेट्न आउँछु।“

दिलबहादुरकी आमाले पकाइदिएका कोदोका रोटी र थेबेको अचारमा रमाएर ती गुप्तबासी साथीहरू फर्केका थिए।

आमाले सानो स्वरमा दिलबहादुरलाई सम्झाएकी थिइन् – “वर्षौं अघिदेखि मानिल्याएको राजा देउता, गाउँको भूत-प्रेत, रीति चलन ती अल्लारेले भनेको भरमा छोड्न सकिंदैन। लाटा निमुखा हामी गाउँलेका बलमा उनीहरू क्रान्ति गर्ने रे ?  कुरा ठिकैजस्तो लागे पनि तिनले लिएको बाटो ठीक लागेन है कान्छा, मलाई।”

एस. एल. सी. गरिसके पछि दिलबहादुर आमाको सहयोगी भएर घरमै बसेको थियो।  भदौको कुसे औंसी पछि मधेसतिरको अलि ठूलो बजार जान सहज हुन्थ्यो, बर्खे झरी कम भएकाले र साना खोल्सा खोला हिँडेर तर्न सक्ने भएपछि।  दिलबहादुर यस्तै एक दिन दशैंको सौदा किन्न मधेस झरेको हो। ऊ फेरि घर फर्केन। त्यसपछि … … … … …

दिलबहादुर थापा एरिया कमान्डर !   दिलबहादुर थापा छापामार रेडियो प्रसारण सञ्चालक  ! दिलबहादुरको कमाण्डले कुभिन्डे प्रहरी बिट कब्जा !  दिलबहादुरको बुद्धिमानी कारबाहीका कारण सैनिक सुरक्षा घेराबाट दश छापामार उम्कन सफल !

-यस्ता थिए छापामार युद्धको समाचार टुक्राहरू, दिलबहादुरकी आमाले सुनेकी।

आमाको मन हो – चिन्ताग्रस्त थियो, हुँडलिरहेको थियो।  छोरो घर फर्किने हो होइन, गहिरो पीडाबोध थियो।  त्रास र आश सँगसँगै।

थुप्रै लडाकु मारिएको, सैनिकले गाउँ पसेर घर घरमा खानतलासी गरेको र शंका गरेकालाई समातेर लगेको, छापामारले कति धनीमानीलाई अपहरण गरेको खबर उडिरहन्थ्यो हावामा। कति हुनेखानेले गाउँ छोडेर शहरमा डेरा लिएका थिए। जताततै उकुसमुकुसको वातावरण थियो।

एक रात दिलबहादुर घर आयो उसको टोली र हतियारसँग। उसले सान्त्वना दियो आमालाई,  “अब छिट्टै युद्ध सकिन्छ र देशमा शान्ति हुन्छ। त्यसपछि म घर आउँछु।“

० ० ० ०

मङ्सिरको धान थन्काएर चौध वर्षे मगर माइलो मधेशको बजार हेर्न हिँडेको, फर्केर घर गएन। पानीटंकीमा मुग्लान हिँडेका एक झुन्ड पहाडियासँग उसको भेट भयो।

“ओइ माइलो ! हन तँ पनि पो मुग्लान जाने विचार गरिस् क्या हो ?”  कतै चिनेजाने जस्तो स्वरले ऊ त्यता तानियो।  दोभान छेउका कालिकोटे जेठा रहेछन् उसले चिनेका।

“कोइलाखानी खुलेको छ रे मेघाले भन्ने ठाउँमा। पैसा कमाउन सकिन्छ रे, धान फल्ने खेत पाइन्छ रे कमाउन।” कोइलाखानीको पैसाको लोभले उसलाई पनि तान्यो। पहाडबाट मधेस पसेकाहरूसँगै मगर माइलो हानियो असम जाने रेलमा चढेर ।

दरभङ्गाको डागीहाटमा माइलाले पहाड घरबाट बोकील्याको मास कइया, कैंयाको  पल्लामा  जोख्यो;  जम्मा १२ के. जी भयो। उसले थाप्यो नाथे ३६ भा. रु। रेलको टिकटको दाम पचास रुपियाँ – तेजपुर ठूलो चाराली स्टेसनसम्म। पानीटंकी रेल्वे स्टेसनसम्म बसको भाडा तीन रुपियाँ।

पहाडमा गरीबी छ, खेत बारीको कमाइले वर्षभरि खान पुग्दैन। पैसाको मुख देख्ने बाटो छैन। फाटेका र टालेका लुगाले आङ ढाक्नु छ, जाडो गर्मी छल्नु छ। बजार टाढा छ, नून-तेल खान दुई दिन हिँडेर किन्न जानुपर्छ।

मगर माइलाले एक जोड पुराना गोल्डस्टार जुत्ता लगाएको थियो, जसलाई ठाउँ ठाउँ सिएर अड्याएको थियो।  बजार हिँड्ने बेला आमालाई खास केही भनेको थिएन। दश वर्षे भाइ र चालिस नाघेकी आमालाई छोड्ने र मुग्लान भासिने सोच ऊ भित्र कहिले पस्यो ऊ आफै जान्दैन।

एक कारण गरीबीको चक्र; अर्को – मुग्लान पसेर राम्रो लाउने, मीठो खाने,  रेल, मोटर र जहाज चढेर देश हेर्ने सपनाले पहाडका गाउँबाट तन्नेरीहरू निस्केको मगर माइलाले बेला बेला देखेको, बुझेको थियो।  यस पाली उसलाई पनि ठाँटबाँट लाहुरे जस्तो भएर  घर फर्कने धोको पूरा गर्ने सुर आयो र आँट गर्‍यो।  अरूले जस्तै उसले पनि कमाइ गर्छु र घरलाई  गरीबीबाट मुक्त  गराउँछु भन्ने कलिलो सपना रेल्वे स्टेसनमा रेल पर्खुन्जेल बसेको बेला देख्यो।

ठूलो चाराली स्टेसन पुग्दासम्म ती सात पहाडे प्राणीलाई समय कति पुग्यो थाहा थिएन। दुई दिन दुई रात रेल कुदेको उनीहरूलाई पत्तो भएन। झिसमिसेमा रेल रोकिँदा र टि टिले कराउँदा मात्र उनीहरूले थाहा पाए – ओर्लिने ठाउँ आइपुगेछ भनेर।

मगर माइलो कालिकोटे जेठाको सहारा खोज्थ्यो – कहाँ जाने, के खाने र कहाँ बस्ने बन्दोबस्त गर्न।

० ० ० ०

मेघालयका खसिया पहाडमा कोइलाखानी खुलेको सुनेका थिए कालिकोटे र मगर माइलाले।  तर त्यहाँ जाने जोरजाम नभएसम्म उनीहरू ब्रह्मपुत्र नदीको फाँटमा बसेका गोठमा गोठालो बस्न पाइन्छ कि भनेर सोधी हिंडे।  एक गोर्खालीले  उचित तनखा दिने र थिचोमिचो हुन नदिने कबोल गरेर राखे। दैव  भेटिएजस्तो भयो उनीहरूलाई। सत्तरी पुच्छर गाई र भैंसी रहेछन् उनका गोठमा।  गोठलाई त्यहाँ खुट्टी भन्दा रहेछन्।  उनीहरू खुट्टीवाला भए।

“माइला, अब यतै बसेर हामी पनि आफ्नै गोठ थाल्नु पर्छ। कोइलामा काम गर्न सकिँदैन होला । पैसाको मात्र के लोभ, ज्यानको पनि ख्याल गर्नुपर्छ। पछि घर फर्कँदा किन फुस्रो अनुहार लिएर जानु ?”

“हो नि जेठो काका। दही मोही खान पनि पाइने, मालिकको खटन पनि कम हुनेरहेछ यहाँ। गाई वस्तु चराउन र अघाउन त जानेकै छ नि।”

खुट्टीमा यसरी नै गाई-वस्तुको मायामा अल्झेर इमानदार गोर्खालीको चिनारी फिँजाए यिनले।

“एकतीस वर्ष बितेछन् यहाँ बसेको; घरजम यतै गरियो” मगर माइलो किच्च हाँसेर भन्दै थियो। बेलीबिस्तार लगायो उसले पहाड छोडेको कथा।

० ० ० ०

“मेरो छोरो पनि उतै गाको छ नि, तैंले भेटिनस् कान्छा ?” माइलो दाजुको कुरा सुनेर दिलबहादुरलाई छक्क लाग्यो।

“कहाँ भेटिन्छ हौ त्यति ठूलो देश र दुनियाँमा। फेरि कुन ठाउँ र कुन देश हो थाहा भए पो।”

“तिमी त यहाँबाट हिंडेपछि फर्केर आएनौ। सबै बिर्स्यौ। आमा यहाँ एक्लै हुनुभयो।” दिलबहादुरले थोरै गुनासो पोख्यो।

“गैसकेपछि अलिकति जोडजाम नगरी के मुख लिएर आउने। आमालाई पनि त केही दिन सक्नुपर्ने। बस्दाबस्दै उतै घरजम भयो।” मगर माइलाको स्पष्टीकरण।

“म आएको बेला तँ यहाँ थिइनस्। आमाले तेरो बारे सबै भन्नुभयो। बल्लतल्ल आमालाई भेट्न आइपुगेछु। त्यसपछि त मैले आमालाई देखिन।”

“तिमी बजार गएको दिन त मलाई पनि अलि अलि याद छ। बेलुका अबेलासम्म फर्केर नआएपछि गाउँबाट त्यो दिन बजार गएका अरू गाउँलेलाई सोध्न आमा र म राती पुल्ठो बालेर हिंडेका थियौं। चौतारे कान्छाले अलिकति सुइँको दिएपछि मात्र हामी घर आएर सुत्यौं।”

यी दुई दाजुभाइको झन्नै सैंतीस वर्ष पछि भेट सम्भव भएको थियो, गाउँका पुराना हेडमास्टरका कारण। यी दुईलाई फेसबुकको विद्युतीय तानोमा जोडिदिएका थिए हेडमास्टरले।

तिहार सकिने बित्तिकै दिलबहादुरले घर जाने छुट्टी हाल्यो र हवाईजहाजको टिकट किन्यो।

“तेरो माइलो दाजु गाउँ आएको छ। तँ छुट्टी मिलाएर आइहालेस्।” हेडमास्टरले दिलबहादुरलाई फोनमै हतारो लगाएका थिए।

गफ गर्दागर्दै बिहानको भाले बास्न थालेपछि मात्र उनीहरू बिझाएका आँखालाई आराम दिन केही छिन  ढल्के।

० ० ० ०

निष्कर्ष यस्तो आयो : भाइ दिलबहादुर कतारको कामलाई टुङ्गो लगाएर घर फर्किने र दाजु माइलोले आफ्नो असमको जायजेथा बेचेर गाउँमा जग्गा किन्ने र  सानो कृषि उद्योगमा लगानी गर्ने।

केन्टकी, संयुक्त राज्य अमेरिका