यो वर्षको एमबिए ब्याचको पहिलो दिनको कक्षा । पहिलो दिन सधैँ मनमा एक प्रकारको उत्सुकता हुन्छ । कति विद्यार्थी छन्, कस्ता वा कुन पृष्ठभूमिका विद्यार्थी छन् । उनीहरूसँग के कस्तो अन्तरक्रिया गर्ने ? आदी प्रश्नहरू मनमा उब्जेका हुन्छन् । मनमा सधैँ एक किसिमको कौतूहल र उत्सुकता हुन्छ ।
यो शैक्षिक सत्रको पहिलो दिन । मेरो पहिलो पढाउने कक्षा । सधैँ झैँ म कक्षामा पसें । आफ्नो परिचय दिएँ । विश्वविद्यालयको बारेमा, कोर्सको बारेमा र अरू थुप्रै भन्नु पर्ने कुराहरू भनें । कक्षा कोठा नियालेँ, सधैँ झैँ यो वर्ष पनि विभिन्न देशबाट आएका विद्यार्थीहरूू थिए ।बहुभाषी, बहुसांस्कृति र अनेक पृष्ठभूमी भएका विद्यार्थीलाई पढाउनु र उनीहरूसँग समय बिताउनु मेरो लागि पनि निकै ठूलो भोगाइ र सिकाइ हो । खासमा मलाई यो वातावरण रमाइलो लाग्छ ।
मैले परिचय दिए पछि पालो आयो विद्यार्थीहरूले आफ्नो परिचय दिने । यसै क्रममा एकजना विद्यार्थी उठिन्, आफ्नो परिचय दिइन्, ‘मेरो नाम एलिना थापा, म नेपालबाट आएको ।’
मलाई खुसी लाग्यो र मैले थपें, ‘म पनि नेपालबाट आएको । तिम्रो कुन ठाउँ हो नेपालमा ?’
‘पोखरा’ ।
मैले भनें, ‘मलाई सबै भन्दा मन पर्ने ठाउँ हो पोखरा, मेरो सपनाको नगर हो त्यो ठाउँ ।’ उनी मख्ख परिन् । मैले देखें उनको अनुहारमा खुसीको बहार छायो ।
सबै विद्यार्थीले परिचय दिए पछि मैले पढाउन शुरु गरें । त्यो दिनको लागि मेरो काम सकियो । त्यसपछि म पढाउने शैक्षिक सामान प्याक गर्दै थिएँ, एलिना मेरो नजिक आइन् केही कुरा गर्न खोजे जस्तो गरी ।
मैले सोधें, ‘कहिले आएको तिमी बेलायत ? कस्तो लागेको छ बेलायतको बसाई? कहाँ बस्छौ तिमी?’ अरू विद्यार्थीलाई जस्तै मैले एलिनालाई पनि केही समस्या परे मलाई भन्नु भनें । मेरो कक्षाको चालिस विद्यार्थी मध्ये उनी एक्लो नेपाली विद्यार्थी थिइन् । त्यो दिनको संवाद सकियो । हामी आ-आफ्नो बाटो लाग्यौं ।
झन्डै पन्ध्र वर्ष भयो, मैले बेलायतको विश्वविद्यालयमा पढाएको । यो बीच मैले अहिलेसम्म करिब दश जना जति नेपाली विद्यार्थीहरूलाई पढाएँ । नेपाली विद्यार्थीलाई बेलायतमा पढाउन पाउँदा मनमा छुट्टै किसिमको आनन्द हुन्छ । उनीहरूसँग फरक किसिमको आत्मीयता हुन्छ । नेपाली विद्यार्थीहरूलाई भेट्दा र पढाउन पाउँदा आत्मा सन्तुष्टि हुन्छ । नेपाली माटो र मन यतै भेटिए जस्तो हुन्छ । शायद उनीहरूलाई पनि त्यस्तै किसिमको महसुस हुन्छ होला ।
स्वाभाविक छ, मैले पढाउने र मेरा विद्यार्थीहरूले पढ्ने काम निरन्तर जारी हुने नै भयो । यसै बिचमा एलिनाले पनि कक्षामा राम्रो गरिन । कक्षामा उनी राम्रा विद्यार्थीहरू मध्ये एक थिइन् । उनी विश्वविद्यालय नजिकै कतै डेरामा बस्थिन् । आंशिक समय काम गर्थिन् ।म उनको बसाइ, पढाइ र कामको बारेमा जानकार थिएँ । कुनै समस्या परेको बेला वा कुनै सुझाव चाहिएको बेला उनी मलाई सम्पर्क गर्थिन् । उनको गुरुको नाताले मैले उनलाई जागिर खोज्न र पढाइसँग सम्बन्धित अरू कुरामा रायसल्लाह दिएको थिएँ ।
त्यो वर्षको दशैं आयो । यहाँ उनी एक्लै बस्ने गर्थिन् । एलिना बस्ने वरपर नेपालीहरूको बसोबास नभएको र विदेशमा उनको पहिलो दशैं भएको हुनाले मलाई लाग्यो, एलिनालाई मेरो घरमा बोलाउनु पर्छ । त्यो दशैंको सप्ताहान्तमा मैले एलिनालाई मेरो घरमा निम्ता गरें । उनी पनि खुसी भइन् । दुई दिन बस्ने गरी उनी मेरो घर आइन् । मैले मेरी श्रीमती र मेरा छोराछोरीहरुलाई पनि उनी आउने कुरा पहिले नै भनेको थिएँ । उनीहरूले पनि एलिनालाई खुसी साथ स्वागत गरे ।
हामी चार जनाको परिवार र एलिना सँगै बसेर दशैं मानियो । हामी सबै सँगै तास खेलियो । मेरी श्रीमतीले बनाएको विभिन्न नेपाली परिकार खाइयो । दशैं भने पछि स्वाभाविक हो, टिका पनि लगाइयो । पारिवारिक माहौल थियो त्यो । एलिनाले पनि खुसी मानिन् । मेरी श्रीमतीलाई भान्सामा धेरै प्रकारका परिकार बनाउन र अतिथि सत्कारमा निकै रुचि छ । एलिनाको पनि खाना बनाउने र भान्सामा रमाउने बानी रहेछ । म झन् यो मामिलामा एक कदम अघि छु । फुर्सदको समयमा भान्सामा पस्ने, पकाउने र अरूलाई चखाउने मेरो पनि सोख हो । त्यति मात्रै हैन, बोल्ने कुरामा म एकदम बहिर्मुखी स्वभावको छु । एलिनाको बानी पनि त्यस्तै रहेछ ।
यही प्रसङ्गमा मेरी श्रीमतीले भनेकी थिइन्, ‘गुरु र चेलीको स्वभाव कति मिलेको ? दुवै उस्तै उस्तै ! भान्सामा काम गर्ने, गफ गर्ने र सबै कुरामा सक्रियता देखाउने ।’ म र एलिना दुवैले ‘हो मा हो’ मिलाउँदै हामी सँगै हाँसेका थियौं ।
दशैं सकियो । मेरो घरमा दशैं मनाउन पाएकोमा एलिना निकै खुसी भइन् र हामी सबैलाई धन्यवाद दिइन् । मैले पनि अभिभावकत्व प्रदान गर्दै एलिनालाई आफ्नो घर बोलाउन पाएकोमा म पनि खुसी नहुने कुरा भएन । मेरा विद्यालय जाने उमेरका दुवै छोरा र छोरीहरू पनि एलिनाको उपस्थिति र साथले खुसी भएका थिए । एलिना घर जाने बेलामा मेरो घरमा दशैंमा खिचेको फोटो उनको फेसबुकमा राख्ने अनुमति मागेकी थिइन् । मैले स्वीकृति दिए पछि उनले खिचेका फोटाहरू फेसबुकमा राखेको देखेको थिएँ । केही फोटाहरू मलाई र मेरी श्रीमतीलाई पनि ट्याग भएको रहेछन् ।
दशैं लगत्तै मेरो विश्वविद्यालयमा पढाउने दिन एलिनासँग मेरो भेट भयो । मेरो कक्षा सकिए पछि एलिनाले मसँग भेट्ने इच्छा प्रकट गरिन् । मैले पनि उनको अनुरोधलाई स्वीकार गरें । मैले उनलाई मेरो कार्य कक्षामा भेट्न आउन अनुरोध गरें । कक्षा सकिएपछि म सरासर मेरो कार्यकक्ष तिर लागें । त्यसको केही बेरमा एलिना पनि मेरो कार्यकक्षमा आइन् ।
उनको पढाइ सम्बन्धी केही कुराहरू भए । त्यसपछि सामान्य ब्यक्त्तिगत भलाकुसारी गरियो । उनले मलाई सोधिन्, ‘सर, हजुरले स्तुति थापा चिन्नुहुन्छ ?’
एकछिन म अकमक्क परें । ‘स्तुति’ यो नाम मेरो लागि परिचित नाम थियो । तर, स्तुति थापा मैले चिनेको नाम हैन । त्यसैले मैले सोधें, ‘स्तुति थापा ?’
‘हजुर हो, बिहे पहिले स्तुति बस्नेत, अहिले स्तुति थापा । बिहे पहिले बालाजु, काठमाडौंं बस्ने, अहिले पोखरा ।’ एलिनाले थपिन् ।
मैले भनें, ‘त्यसो भए म चिन्छु, पक्का चिन्छु स्तुतिलाई !’
मैले स्तुतिलाई कसरी बिर्सन सक्छु ? बिर्सूं पनि कसरी ? मेरो र उसको भेट नभएको धन्नै तीस वर्ष भए पनि स्तुतिसँगको मेरो सामीप्य एकदम अनुपम थियो । ऊसँग अन्तिम भेट मेरो मन मस्तिष्कमा अहिले पनि ताजा छ । जति भुलूँ भने पनि म सक्दिनँ । उसको र मेरो मित्रताको बारेमा जति लेखे पनि अपुग हुन्छ । उसको र मेरो सम्बन्धको बारेमा एउटा उपन्यास नै लेख्न सक्छु म । हो, एकदम राम्रो फिल्म तयार पार्न सक्छु म उसको र मेरो सम्बन्धको बारेमा ।
ऊ र म नेपालमा सँगै कलेज पढेको हो । कलेज पढ्दा ताका हामी घरबाट सँगै कलेज जाने र आउने गर्थ्यौं । ऊ मेरो नजिकको साथी थिई । ऊ मेरो आड र भरोसा पनि थिई । मेरो सुख दु:ख बाँड्ने, मन मिल्ने र मलाई विश्वास गर्ने साथी थिई ऊ । कुनै दिन विशेष समय र परिस्थितिले म र ऊसँगै कलेज जान वा आउन नसकेको दिन उराठ लाग्थ्यो । मन निराश हुन्थ्यो । मनमा अनेक कुराहरू खेल्थे । उतिबेला कसैले मलाई पढाइ ठूलो कि स्तुति ठूलो भन्ने प्रश्न सोधेको भए मैले पक्कै मेरो लागि स्तुति नै पहिलो प्राथमिकता हो वा ऊ नै ठूलो हो भन्ने उत्तर दिन्थे । म स्तुति प्रति त्यति बिघ्न एकोहोरो रूपमा लागेको थिएँ । मानूँ उसको नाम अनुसार म उसको स्तुतिमा लागेको थिएँ । हरेक कुराको लागि म स्तुतिलाई सघाउन तयार थिएँ ।
ऊ पनि मलाई उत्तिकै माया गर्थी । घरको सानो ठूलो कुरा सबै सुनाउँथी । मेरो लागि आफ्नै हातले स्विटर बुनेकी थिई । उसले बनाएको खाजा धेरै पटक खाएको छु । धेरै फिल्म हेरेका छौं सँगै । लाग्थ्यो, मेरो लागि ऊ र उसको लागि म एक अर्कोको परिपूरक नै थियौं । सँगै पढाइ, हिंडाइ र घुमफिर हाम्रो दिनचर्या थियो ।
एकदिन उसको बुवाले हामी दुईलाई बालाजु पार्कमा सँगै भेटेपछि भने, सँगै जीवन बिताउने हाम्रो भविष्यको योजनामा निकै ठूलो तगारो लाग्यो । त्यसको भोलि पल्ट नै उसको बुवाले स्तुतिलाई कलेज आउन दिनु भएन । उसको मिल्ने साथी काजललाई स्तुति र मेरो सम्बन्धको बारेमा थाहा थियो । काजलले नै मलाई यो सब कुरा भनेकी थिई । त्यसको करिब एक महिना भित्र स्तुतिको बिहे भएको थियो । यो बिचमा धेरै कुराहरू भए, त्यो कि स्तुतिलाई थाहा छ कि मलाई मात्रै । पूरै लेखे निकै लामो कहानी बन्छ ।
स्तुतिको बिहे भन्दा अघि काजलको सहयोगले मैले स्तुतिसँग झन्डै तीन घण्टा काजलको घरमा एक्लै भेट्ने मौका पाएको थिएँ । त्यो भेट नै स्तुतिसँगको मेरो अन्तिम भेट थियो । त्यो भेटमा जे भयो, सबै अहिले पनि मेरो मन र मुटुमा सबै ताजा छ । हामी सँगै रोयौं । एक अर्काको आँसु पुछ्यौं । हामी एक अर्काको अँगालोमा बाँधियौं । भाग्यलाई दोष दियौं । स्तुतिको परिवारलाई दोष दियौं । जे भने पनि म र स्तुतिसँग दोस्रो विकल्प थिएन । न म आत्मनिर्भर थिएँ त्यति ठूलो चुनौती थेग्ने, न हामी दुईसँग परिवारको खिलाफ जाने हिम्मत नै थियो ।
त्यो बेला हामी विगतको यादमा हाँस्यौ पनि । उसको काखमा म पल्टिएँ र ऊ मेरो काखमा पल्टी । त्यति मात्रै हैन हाम्रो मन, मुटु, आत्मा, शरीर र सबै कुरा एक अर्कोमा समाहित गर्यौ । वैध र अवैध सबै कुरा भए त्यहाँ । न उसले मलाई प्रश्न गरी, न मैले उसलाई कुनै प्रश्न गरें । न मैले मेरो भविष्य सम्झेँ, न उसले आफ्नो भविष्यको परिवार र अरू कुनै कुरा नै सम्झी । बस, स्तुति र म एक अर्कोको साथ र अँगालोमा हरायौं ।
त्यस पछि ऊ विवाहित भई । म भने पढाइको ध्यानमा महत्त्वाकाङ्क्षाको भारी बोकेर केही समय पछि स्नातकोत्तर गर्न बेलायततिर हानिएको थिएँ । बेलायतमा पिएचडी सम्मको अध्ययन पुरा गरियो । यतै जागिर शुरु भयो । अनि उसको जस्तै मेरो पनि बिहे भयो । घर, परिवार, जागिर, कमाइ आदि इत्यादिमा भुलियो । नेपाल सँगको नाता भावनात्मक रूपमा बलियो भए पनि भौतिक रूपमा कमजोर हुँदै गयो । मैले कहिलेकाहीँ सामाजिक सञ्जालमा स्तुतिको नाम र तस्बिर खोजे पनि कहीं कतै भेटिन । उति बेलाको कुरा हो, न हामीसँग सहज सञ्चारको माध्यम नै थियो निरन्तर सम्पर्क गर्न ।
अहिले एलिनाले स्तुति थापा को नाम लिए पछि मलाई अतीतको त्यो समय र त्यो दिनको ताजा याद आयो । एलिनाका अनुसार दशैंमा खिचिएको मेरो र मेरो परिवारसँगको फोटाहरू फेसबुकमा देखे पछि स्तुतिले मेरो र मेरो परिवारको बारेमा सोधेको रहिछन् । अनि म नै एलिनाको अहिलेको गुरु हुँ भन्ने थाहा पाएपछि स्तुतिले म उसको कलेजको साथी भनेर छोरीलाई चिनाएको रहिछन् ।
मैले एलिनालाई भनें, ‘स्तुति मेरो कलेजको अति मिल्ने साथी हो’ ।
एलिनाले भनिन्, ‘उहाँ मेरो ममी ।’
म एकदम छक्क परें । एलिनालाई मेरो आफ्नै छोरीको रूपमा देख्न थालें ।
सुनेको थिएँ, बिहे गरेको नौ महिनामा नै स्तुतिले छोरी पाएको थिइन । यी एलिना तिनै स्तुतिको पहिलो सन्तान थिइन् । यिनको अनुहार हेर्दै मैले मेरी श्रीमतीले भनेको सम्झेको थिएँ, ‘गुरु र चेलीको स्वभाव कति मिलेको ? दुवै उस्तै उस्तै ! भान्सामा काम गर्ने, गफ गर्ने र सबै कुरामा सक्रियता देखाउने ।’
आखिर मन नै हो, शंकाको सुविधा किन नलिने ? अतीतको माया र त्यो अन्तिम भेटको वैध र अवैध सबै काम कुरा सम्झेर अहिले म सोचमग्न छु । मलाई थाहा छ, यो कुराको उत्तर मसँग छैन, तरपनि यो कुरा म सोच्न भने मेरो जीवनभर छोड्ने छैन ।
मैले आशा गरेको छु, भविष्यमा यहाँ बेलायतमा एलिनाको अभिभावकत्व मैले लिनेछु र उनको माध्यमबाट एकदिन फेरि मेरी स्तुतिलाई भेट्ने छु । यति सम्म नसोचेको, भई त सक्यो भने के थाहा अरू नसोचेको कुरा पनि हुन असम्भव छैन । अर्थात्, स्तुतिसँग फेरि भेट हुन सम्भव छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।