
अनुभव सँगाल्ने सन्दुकजस्तो जीवनको गोरेटोमा सधैँ पारिजातको मगमग सुवास मात्र होइन, कहिलेकाहीँ यात्रीहरूले पँधेरो कीरोको जस्तै गन्ध पनि सुघ्नैपर्ने रहेछ ।
साउनको महिना अधिकांश आकाश खुल्ला थियो । क्षितिज छेउछाउबाट बादलका लप्काहरू गुजुल्टिंदै-गुजुल्टिंदै आएर घरी-घरी थरी-थरीका आकृतिहरू बनाएका देखिन्थे ।
जन्मस्थलहरू तीर्थस्थल जस्तै बन्न विवश छन् आजकल । अस्पतालका शैय्यालाई जन्मस्थल लेख्नुपर्ने विवशता बनेको छ । यसैका कारण नयाँ पुस्ता त त्यही मौकाबाट पनि वञ्चित हुँदै गएका छन् ।
कलेज बिदा हुँदा छुट्टी मान्न त्यही तीर्थस्थलमा पुगेको बेला, बालापनमा कुकुरमुन्टी खेल्दै रमाउने गरेको टोटेलो र गिदेरीको बुटामुनिको ठूलो गरो । त्यही गरोको दुबो पलाएको साँगुरो इच्लामा उभिएर बादलले प्रदर्शन गरेका तिनै विभिन्न शिल्पीहरू एकटकले नियालिरहेको थिएँ म एकदिन ।
बादलका शिल्पीले बनेका आकृतिहरू अजीव अजीवका देखिन्थे । कहिले कार्ल मार्क्सको मुखाकृति जस्तो । कहिले ली क्वान यूको अनुहारजस्तो । कहिले माओ त्सेतुङ्गको ललाटजस्तो । कहिले फेरि नेल्सन मण्डेलाको मुहार मण्डलजस्तो । कहिले आदम स्मिथको नाकजस्तो । कहिले राजा महेन्द्रको श्रीपेचजस्तो । कहिले वि.पी. कोइरालाको दाह्री जस्तो । अनि कहिले आफ्नै बाको कदजस्ता आकृतिहरू अनुभूत हुन्थे ।
भुगोलको सुदूर कुना-कन्दराहरू पनि कार्ल मार्क्स, लिङ्कन, जिन ज्याक रुसो, कलेरिज र सेक्सपियरहरू घाँस काट्दै होलान् । अरबको तातो हावामा गैंची हान्दै होलान् । कतै उक्साहटमा आगो झोस्दै होलान् । मेरो मथिङ्गलमा यस्तै विचित्रका चित्रहरू आइरहन्थे ।
स्वच्छन्द विचरण गरेको पन्छी । “के के न होला भनी छिरेको शहरी जीवनबाट वाक्क भएर, मेरो बालसखा सम्बत पनि लामो समयपछि गाउँ फर्क्यो—ठूलो र फराकिला हाँगाको पीपल बोटझैँ।” सो खबरले एक किसिमको रौनक छाएको थियो गाउँघर वरपर र मेरो मनमा पनि ।
“कान्छादाइ, गाउँमै इलम देखाउँछु र केही उद्यम गर्छु भन्दा सुको नपत्याउने समाज । लाहुर जाने भिसा लागेपछि कति चाहियो भन्छ ?” सम्बतसँगको भलाकुसारीमा उसले उठाएका कुरामा म पनि सोचमग्न हुन्थें ।
सुख दिने नाममा कर्पोरेट हाउसहरूको फन्दामा फसेर उपभोक्तामा परिणत भएका केटाकेटी लाहुर जान लालायित देखिन्छन्। लाहुरे भनेपछि छोरी दिन तँछाड-मछाड गर्ने बा–आमा पनि देख्दा म घोत्लिन्थें—स्वार्थी मान्छे हुन् कि समय नै स्वार्थी हुँदै गएको हो ?
—-
अजङ-अजङका ढुङ्गा फुटाउन घनको लाखौं चोट सहेर थिचिएको छिनोजस्तो बनेको भोगाइको कोदाली ! त्यही कोदालीले मार्सी खेतको इच्ला-कान्लासँगै खनिएको मन; गैरी खेतमा साहा लाएर हिलाउँदा-हिलाउँदै धाँजा फाटेर सिलाइएको मन; ईर्ष्याको कालो लप्कोले डढाएर श्याम-श्वेत बनेको त्यो इन्द्रेणी मन अनि हाँसी-हाँसी उपयोगिताबादको चुलेसीले छिया-छिया पारिएर आक्रोशका ज्वारभाटाहरू उछालिएर आउने यही मन । यस्तो मनलाई कुनै बाद वा दर्शन पढ्नुपर्ने जरूरत नै नहुँदो रहेछ । ठूलाबा त्यसरी नै नलेखिएका यावत दर्शनका व्यावहारिक दार्शनिक हुनुहुन्थ्यो ।
शरदको जूनजस्तै सफेद कथा बोकेका जिजीविषाका लागि कुनै लेपनको आवश्यकता नै नपर्दो रहेछ । ‘कि बच्चाले सत्य बोल्छ कि बूढोले’ भन्ने गर्छन् मान्छेहरू । मलाई त ठूलाबा पनि ठूलीआमा जस्तै सरल मिजासका र सत्यवादी लाग्थ्यो । जीवन चर्याका कथाहरू सुनाउँदा कुनै बौद्धिक चतुर्याइँको लिँडुल्को लाएर सम्याउनु पर्ने उबडखाबड र डल्लेँठोले फुटाउनुपर्ने डल्लाहरू थिएनन् ठूलाबाको घरमा । सबै कुरा छर्लङ्ग लाग्थ्यो ।
उ बेला कार्ल मार्क्स पढ्दा आधार संरचनाले उपरी संरचना तय गर्दछ भन्ने विचारले निकै छुन्थ्यो मलाई । तर ठूलाबाले जागीरे जीवनमा पार गरेका घुम्ती, काटेका नेटा र छिचोलेका कुइनेटा, खरको भारी उकालिएको डिल—यी सबैले उनलाई जीवनका दर्शन सिकाएका थिए । छ बीस तनखाले अघाउँजी खान–पिन र सालिन्दा दशैंमा एकजोर कपडाले घरव्यवहार चलाउने उनको नलेखिएको अर्थशास्त्र आदम स्मिथको भन्दा पनि तगडा थियो । छोरा-छोरीले पढून र केही गरुन् भन्ने थियो ठूलाबालाई । त्यही भएर घाँसपात बटुल्ने, कुँडो-फाँडो गर्ने र गोबर-भकारो सोहोर्ने जिम्मा पूरा ठूलाबाकै थियो । कहिलेकाहीँ ठूलाबा घरमा आउन ढिलो गर्दा ठूलीआमाले, ठूलाबाले भकारो सोहोर्दा लाउने कुमकुममा फाटेको पोलिष्टरको कमिज र मैलिएर काती परेको ढाकाटोपी लाएर दुहुन बस्नुहुन्थ्यो । भैंसीले थाहा पाई लात्ती उठाएर आपत्ति जनाउँथ्यो । कहिले बाल्टी मिल्क्याइदिन्थ्यो ।
हरसाल भैंसी बियाउँदा उत्सव आएजस्तै लाग्थ्यो हामीलाई । बिगौती पकाएर प्रसाद स्वरुप चाख्नलाई बाँड्ने कति मीठो चलन थियो । चाडबाडका मुखमा ब्याएको भैंसी त झन चीज हुन्थ्यो ।
टिको नलगाई शुरूको बिगौती चाख्न पाइन्थेन । ठूलीआमा र कान्छीआमाहरूले कचौरा भरी बिगौती दिँदा सम्बत र मेरो खुशीयालीको कुनै सीमा हुन्थेन ।
धेरै पछि थाहा भयो हामीले त पाडा-पाडीको अधिकार खोसेर पो हर्षोल्लास मनाएका रहेछौं । ती अबोध पाडा-पाडीलाई घर-गोठका कुनाकाप्चामा लुकाई-छिपाई हामीलाई दिनुहुन्थ्यो । अपराधी हामी नै भएका रहेछौं ।
—-
“अ रोलिङ स्टोन ग्यादर नो मस । ” सम्बत र म सँगै भएको देखे’सि ठूलाबाले यस्तै-यस्तै ज्ञानगुनका कुरा सुनाउने गर्नुहुन्थ्यो ।
चाउकी वरतिरको कटजुनी वनमा गाई चराउन जान्थ्यौं हामीहरू उ बेला । सम्बत र म खेल्दा-खेल्दै गाईले माथ्लाघरे माहिलाबाका बारीमा पसी गहुँ सोत्तर पारिसकेको हुन्थ्यो कहिले । भाउजू ठूलढुङ्गोमा आएर बेस्मारी गाली गर्थिन् । हामी भने सुनो-नसुनो गरी ओडारमा लुकेर बस्थ्यौं ।
स्कूलको बर्खे विदाका बखत एकदिन गाई चराउन गएको बेला दिउँसो भोक लागेर सबैजना मेलापात गएको मौका छोपी राहिँलीआमाको बारीमा पसी भर्खर कोसा लाग्दै गरेका बोडी जिलाएर, पाँजो पुर्याएर, बासी ठेला मकैसँग खाएको याद ताजै लाग्छ ।
“कान्छादाइ चोर त जे चोरे पनि चोर नै हुन्छ नि हैन र ?” भन्थ्यो सम्बतले निकै पछिसम्म ।
हुन पनि हो । जीवनमा एकपटक न एकपटक सबैजना चोर भएकै हुन्छन् भन्नेमा म पनि विश्वस्त भएको थिएँ । कोही मन चोर । कोही धन चोर । कोही घिउ चोर । कोही बीउ चोर । कोही काँक्रा चोर । कोही थाँक्रा चोर । कोही किताब चोर । कोही सम्लात चोर । कोही सन्दुक चोर । कोही कन्तुर चोर । कोही मोबाइल चोर । अनि कोही घडी चोर ।
—-
“बिहान काठमाडौंमा नास्ता खाएर साँझ क्यालिफोर्नियामा डिनर गर्न लालायित आजको नवपुस्ता । थातथलो र जरोकिलोसँगको आबद्धता टुटाएर टपक्क टिपेर शहरमा झारेर सामूहिकता र सँस्कार पुस्तान्तरण नगर्ने माउ पुस्ता । दोषी को ? सँस्कार नसिकेको र राष्ट्रप्रेम पढ्न न्यूरोडका गल्ली छाडेर न्यूयोर्क पुग्ने नयाँ पुस्ता कि माउ पुस्ता त कान्छादाइ ?”
एकदिन मुले गरो जोती घर फर्कें । कोदाको रोटी र भाँगोको छोप अर्नी खाँदै गर्दा मैले मेरो मनलाई नै बारम्बार सोधिराख्ने सामयिक प्रश्न सम्बतले पनि सोधेथ्यो । उसको प्रश्नले च्वास्स मर्म नै भेदन गरेको थियो मेरो ।
जहिल्यै असार पन्ध्र हुन्थ्यो हाम्रा ठूलाबालाई । अफिसमा पसे हतारो । घरमा पुगे चटारो । जुम्सो पद र सोझो देखे’सि सबैले आदेश दिइरहन्थे । घरमा आयो सधैँ चटारै । त्यही भएर होला ठूलाबाको ज्यान सिसाकलमजस्तो खिरिलो थियो स्लिम बन्न अनेक यत्न गरिरहनु नै नपर्ने खालको ।
—-
एक चिम्टी उज्यालोको मूल्य कति हुन्छ भन्ने कुरा चेलपार्क मसीको बोतलमा मट्टितेल भरी, बिर्को आँसीको चुच्चोले प्वाल पारी, आमाले बुनेको बाती हालेर बाल्ने टुकीले जनाउँथ्यो । अलिक पछि काँसको टुकी र लान्टिनको युग शुरू भएको थियो । बजारमा लान्टिन र टुकीहरू छयाप्छ्याप्ती किन्न पाइन्थे । मइन्टोल भने लाहुरेहरू भएका घरमा मात्र हुन्थे ।
भूगोलको एक सुदूर काप्चो । मध्याह्न नसकिँदै रूखको सिँयालले घामलाई ओझेल पार्ने पाखाबस्ती । बिजुली बत्ती पुगिसकेको थिएन । बिजुलीको पोल र तार गाड्ने बेलामा स्थानीय टाठाबाठाहरूले पाखो छ भनेर धेरैपछिसम्म पनि पोल गाड्न दिएका थिएनन् रे त्यो लुकेको स्वर्ग जस्तै बस्तीमा । ठूलाबाहरूले सुनाउनुहुन्थ्यो ।
टाठाबाठाहरू बढी नै बाठो बन्दै गए पछि, सार्वजनिक सुबिस्ताहरू आफ्नो र आफ्नाको हितमा मात्र प्रयोग गरेपछि, प्राप्त ओहदालाई बपौती सम्झने छुद्र सोच भएपछि नै विद्रोहको राँको बल्छ भन्नेमा सम्बत र म पनि विश्वस्त थियौं ।
ठूलाबा अफिसबाट घरमा आउँदा कहिले त झमक्कै साँझ परिसकेको हुन्थ्यो । झ्याउँकिरीहरू झ्याउँ-झ्याउँ गरिरहेका हुन्थे । कोकोहोलो हालेर उसले “बा हो…! ए बा…!” भन्दै घ्याँक्रो फुलाएर कुर्लंदा पनि ठूलाबाले “उई….” भनेको सुन्न मुस्किल हुन्थ्यो ।
ठूलाबाको घरको ढोका सामुन्नेको ज्यामिरको थाममा नेशनल प्यानासोनिक रेडियो झुन्डिरहन्थ्यो । हाम्रोमा रेडियो नहुँदा म पनि नारायण गोपाल, तारादेवी र लता मङ्गेसकरका गीतहरू, ‘मधुवन’ जस्ता गीति-कथा र हरेक शनिबार दिउँसो आउने नाटक सुन्न पुगेको हुन्थें ।
रेडियो नेपालमा प्रत्येक शुक्रबार “दिन–प्रतिदिन” कार्यक्रम बज्थ्यो । त्यो कार्यक्रम सुन्न सम्बतका कान्छामामाले कारगिलबाट छुट्टी आउँदा ल्याइदिएको एभ्रेडी लाइटका टाइगर ब्याट्री निकालेर रेडियोमा हालिन्थ्यो, फेरि सोही लाइटमा राखेर पिलिक–पिलिक बालिन्थ्यो । कीरो आउला कि भन्ने डरले ठूलीआमाले “जाओ त, परसम्म” भन्नुहुन्थ्यो, अनि सम्बत र म डाँडासम्म जान्थ्यौं ।
कहिलेकाहीँ अबेरसम्म नआएको वा कहिले आएर खाना खाइसकेको थाहा पाएपछि, बा–आमा र काका–काकीहरू पनि भेला हुन्थे । उनीहरू ठूलाबाको पिँढीमा, काठका ठेडीले बनाएको अग्राखको फलैँचामा, गुन्द्रीमाथि बसेर गफ गर्थे ।
बा–आमा, काका–काकी र सानिमा–सनबुवाहरू सबैले खाना खाइसकेपछि हामी भुराभुरीलाई काखामा च्यापेर राखिन्थ्यो । अनि कहिले कसैको छोराको बिहे, कसैको छोरीको बिहे, त कहिले पूजाआजाका कुरा गर्थे ।
त्यो चलन कति मीठो थियो ! यसरी सगोलमा बसेर गफिनु, विचार बाँड्नु साँच्चै आत्मीय लाग्थ्यो ।
हरेक घरको पिंढीमा पाहुनाको लागि र उच्चाटलाग्दो थकान दूर गर्न फलैँचा राखिन्थ्यो । त्यै फलैंचामा सबैजना बसेर दैन्नदिन हुने घर सल्लाह गरिन्थ्यो । ठूलाबाले “जस्तो स्कूल वा घरमा हुर्कियो उस्तै सोच हुन्छ हेर” भन्ने गर्नुहुन्थ्यो । मैले पढेको मार्क्सको विचारको चुरो त आखिर उही त रहेछ । अर्थशास्त्रका न्यू ग्रोथ थ्योरी भन्दा ठूलाबाकै विचार महान हुँदा रहेछन्; मार्क्स भन्दा ठूलो विद्वान त ठूलाबा र हाम्रा बाहरू नै हुनुहुँदो रहेछ भन्ने बुझ्न मलाई लामो समय लाग्यो ।
आफूले त्यागेर भएपनि समाजमा सबैलाई मिलाएर र जुटाएर राख्ने ध्याउन्नामा तन्मय भइरहने ठूलाबालाई समाजशास्त्र अध्ययनको जरूरत नै नपर्दोरहेछ । इम्यानुअल वालरस्टेनले सिकाएका सेन्टर, सेमी-पेरिफेरी र पेरिफेरी का कुरा पनि त्यस्तै न हुन् । ‘जता मल्को उतै ढल्को’ र ‘साना भुरालाई ठूला माछाले खान्छ’ भन्ने ठूलाबाले सुनाएको नेपाली उखानहरूका सारजस्तै ।
उता ज्याक्स डेरिडाले विनिर्माणवादको दर्शनमा भनेका कुराहरू पनि हाम्रा घर-घर, गाउँ-ठाउँ र टोल-टोलमा भोगेकै छौं । समाजमा पहिलेका सबै केन्द्र भत्किएका छन् ती वैचारिक हुन् या सांस्कृति, विकासका हुन् वा विनाशकै किन नहोउन् । ‘बा’का सपना र रहरहरूलाई लात हान्दै ‘बा’को विचार केन्द्र भत्काउन अचेल थरी-थरीका पुस्ताहरू बडो मग्न देखिन्छन् ।
कुकुरहरूको पनि आफ्नो घर, टोल र समाज हुँदोरहेछ । र त, वल्लो टोलको कुकुर पल्लो टोलमा पुग्दा पल्लो टोलका कुकुरहरूले हुर्मत लिन्छन् । हुर्मत लिने र कजाउने, बजाउने र रिझाउने मान्छेका आर्जित गुणहरू होलान् । यसका लागि स्यामुअल पी. हन्टिङ्टनको सभ्यता र संस्कृतिको द्वन्द्व नै किन पढिरहनुपर्दो रहेछ र !
यस्तै-यस्तै तानाबानामा मेरो मनमा विचारका सियोहरूले अनुभवका गह्राहरू उधिन्ने चेष्टा गरिरहन्थे ।
—-
कानो गाई खेदेर वन जाँदा बचपनमा सोफा सेट मानेर बस्ने गरेको तलातला मिलेको तले ढुङ्गो । कहिले कटुसका लोपा थिच्यो, कहिले पानी अमलाको चट्नी बनायो । छेउतिर दूधे मकै, अम्चुर, निबुवा, भोगटे र मेवा खान सम्लातमा पोको पारी ढिका नुन लगिन्थ्यो । हरियो खुर्सानी पिस्दा-पिस्दा सेतो भएको थियो ढुङ्गो । त्यसकै सिरान तलामा आफ्नै नाडीको सिरानी लाएर नीलो आकाश नियाल्दै लम्पसार पर्दै थिएँ एकदिन । सम्बत चर्को आवाज निकाल्दै टुप्लुक्क आइपुगेथ्यो ।
“ओ तोर्पे कान्छादाइ ! के छ यार तिम्रो खबर ?”
“के हुनु, सबै खबर बेखबर छन् यार !”
अस्ति राते र चम्रे गोरुसँगै बाख्रो चराउन जाँदा चुच्चे ढुङ्गोमा भेट भयो । आफ्ना ठूलाबाकै आदतका बारेमा र सम्हालेको जिम्मेवारीका कथा कुन्तुराहरू खोलें । झमक्कै साँझ पर्न आँटेको थियो र फेरि कुरा गरम्ला है भन्दै छुटिएका थियौं हामी दुई भाइ ।
गुमाए पछि मात्र कुनै चीज अनि मान्छेको महत्व बोध हुनेरहेछ । ठूलाबा मलाई पनि प्रेरणाका स्रोत र असल मिजासका खानी लाग्थ्यो । जहिल्यै “केही गर्नुपर्छ, पढ्नुपर्छ केटाओ” भनिरहनुहुन्थ्यो । आफन्तसँग कुनै क्लेश र आरिसको कुनै लेशको छनक मात्र पनि थिएन जुन आजकल घरभित्रैका सदस्यहरूमा समेत व्याप्त हुँदै गएको छ ।
इलमी हुनुहुन्थ्यो ठूलाबा । हाम्रा बाहरू बरु माथि चौरमा गफिन र समय कटाउन जानुहुन्थ्यो । ठूलाबा बिना काम कहीं कतै गएको देखिन्थेन । कहिले आँगनको डिलमा चकटीमा बसेर डोका, डाला, दाम्ला, नाम्ला र बरिया बुन्दै हुनुहुन्थ्यो; कहिले खडकेरीमा थुन्से, भकारी, चकटी, गग्रेटो, सेउ बुन्दै हुनुहुन्थ्यो । सेउमा खाप्न बनाएका कटुसका पातका लाफा त छानाभरि अहिले पनि देख्न पाइन्छ । ठूलाबाले बुनेका नेती, कुँडुलो र हार गाउँका घरैपिच्छे पुगेका हुन्थे जसरी ठूल्दाइले बनाएका मदानी र खैंजडी घर-घरमा हुन्थे ।
बडो मृदुभाषी, सहयोगी, सबैलाई सँगै माथि उठाउन खोज्ने, कसैलाई अन्याय नगर्ने तर अन्याय भएको पाएमा लाटो रिसले आगो हुने स्वभावका ठूलाबा परलोक भएको पनि चार वर्ष हुन लाग्यो ।
हरेक साल दशैंमा ठूलाबाको घरमा नपुगे के के छुटेको जस्तो हुन्थ्यो । साना-साना भनेर होला केटीलाई मात्र दक्षिणा दिने चलन भएपनि फलैंचाको गलैंचामाथि सगोलमा बसेर टीका लगाई ठूलाबा-ठूलीआमाले हामीलाई पनि ढ्याक दिनुहुन्थ्यो । नयाँ ढ्याक हात पर्दा खबै खुशी भइन्थ्यो ।
टीका लगाउँदा प्रेरणादायी आशिष दिनुहुन्थ्यो । ठूलीआमाहरूले “भन्ने जति ठूलाबाले भनिसक्नुभयो, शुभ होस्, मङ्गल होस्” भन्नुहुन्थ्यो ।
“विवेकको लिलाम गर्ने ठूलो मान्छे भन्दा असल मान्छे र देशलाई माया गर्ने सच्चा नागरिक बन्नू” भन्नुहुन्थ्यो ठूलाबाले । त्यो किन रहेछ भन्ने निकै पछि आएर मात्र बोध भयो मलाई ।
ठूलाबासँगको गजबको याद मसँग पनि थियो ।
एकदिनको कुरा हो । घरमा कोही थिएनन् । त्यै बेला मैले आमाको बाक्लो फलामे थुर्मी (बिहेको गर्धुवाका रूपमा ल्याएको) ले कुँडेमा जमेको कुराउनी कोतरेर मुखमा बुजो हाल्दै के थिएँ ठूलाबा कुश्माबाट टुप्लुक्क आइपुग्नुभएछ ।
“ओए स्याना के गर्दै छस् ?”
ठूलाबाले कुँडे कोरेर क्वार-क्वार पारेको आवाज सुनेर सोध्नुभएको थियो होला शायद । खङ्ग्रङ्ङ परेर म अक्क न बक्क भएको पनि अस्ति जस्तो मात्र लाग्छ ।
म त निकै ठूलो चोर भएछु कि भन्ने आत्मग्लानि भइरह्यो निकै पछिसम्म मलाई उसबखत ।
—-
कुल पूजामा पनि गाउँमा निकै रमाइलो हुन्थ्यो । टाढा-टाढाबाट नानाथरी कोसेली बोकेर आएका आफन्तहरू देख्दा निकै फुरुङ्ग परिन्थ्यो ।
असारको बेला कुलपूजाको प्रसाद भुटुवा र मासु भात खान पाइने लोभमा बलेवा ठूलीआमाको घरमा गएका थियौं । साँझमा लान्टिनको उज्यालोमा सबैजना गुन्द्रीमा पलेटी कसेर गफिँदै थियौं । ठूलीआमाले आफ्ना कहानी फुकाउँदै सुनाउनु भयो ।
बिहे गरेको चार पाँच वर्ष हुँदा पनि सन्तान नभए पछि जोरीपारीले अर्को बिहे गर्न उक्साएका थिए रे ठूलाबालाई । ठूलाबाले ठूलीआमाको माया र भविष्यको चित्र कस्तो दुरूह होला भन्ने दूरगामी सोचले भागी-भागी हिंडेको किस्सा सुन्दा हाम्रो मन पनि द्रबीभूत हुन्थ्यो । ठूलाबा साँच्चै ठूलाबा हुनुहुँदो रहेछ भन्ने विश्वास त्यही बेलादेखि झन झाङ्गिएर आएको थियो ।
प्राणपखेरु धान्ने एउटा कामको त्यान्द्रोमा झुन्डिएपछि दिन त घण्टा बिते जसरी उड्दारहेछन् समयको स्ट्रयाटोलन्च विमानमा चढेर ।
कहानी सुन्दै गर्दा निद्रादेवीको बात्सल्यले मेरा परेलाहरू टालिन खोज्थे ऊ भने “के को टाउको मात्र हल्लाई राखेको दाइ ? अँ पनि भन न यार !” भन्दै कथाको लहरो तन्काउँदै जान्थ्यो ।
“नौ कक्षामा पढ्दाको समय । कुवाको भ्यागुताजस्तै जीवनचर्या । निस्कनु, जानु, देख्नु र टेक्नु कहीँ थिएन । कान्छादाइ, दिदीको घर पाङ, माहिली सानिमाको घर पाठकथर, कान्छी सानिमाको घर रायडाँडा (ओख्ले) अनि मामाघर बिनामारे बाहेक ।”
मैले पनि आफूले फन्को हालेका भूगोलको फेरो सम्झें,आफ्ना बाल स्मृतिहरूको श्रृङ्खला याद गर्न थालें ।
सुरेली खेल्न डराउँदै सिकिरहेको उसको ज्यान, पहिलोपटक खरीको घाँस काट्न जाँदा जोखिममा पर्यो । माहिली आमाको घरमुनिको बारीको डिलमा ठिङ्ग उभिएको खरीको अग्लो रूखबाट खस्दा सम्बत अर्धचेत अवस्थामा पुगेको थियो । काका र पल्तिरका टिकाबहादुर कान्छाबाको पहलमा स्ट्रेचरको प्रबन्ध गरी नयाँपुलसम्म पुर्याइयो, त्यहाँबाट एम्बुलेन्समार्फत पोखरा लगियो ।
प्रेमप्रकाश मल्लले गाएको “पोखरा त साँच्चिकै पोखरा नै पो रै’छ” रेडियोमा सुनेर पोखरा घुम्ने कति मिठो बाल रहर साँचेको ऊ पहिलो पटक एम्बुलेन्समा अवतरण हुँदा कम्ती निरव बनेहोला मन उसबखत ।
हजुरबाहरूले रातबिरात खनीखोस्री गरी सम्याएका फोगटा भएको पुछारको खेतमा मकै एकोहोर्याउँदै गरेका अभिभावक र आफन्तहरूको तात्तातो प्रयास र गण्डकी क्षेत्रीय अस्पताल पोखराले पुनर्जन्म दिएको थियो उसलाई ।
“कान्छादाइ ! अहिले शहरमा हुर्काएका केटाकेटीलाई अमेरिका र अष्ट्रेलिया गएजस्तै लाग्थ्यो पोखराको नाम लिँदा र जाँदा मलाई ! थाहा छ तिमीलाई ?”
मैले टाउको हल्लाएर “अँ का अँ” मात्रै भन्दै गएको थिएँ ।
मलाई पनि थाहा थियो कि पल्तिरका माहिलाबाहरू तराई झर्दा बेचेको कानो गाई ठूलाबाले पालन पोषणको जिम्मा लिनुभएको थियो । बिचरा ! त्यो सानो गुनिलो र दुधालु गाई कता गहुँ खान गएछ कुन्नि यता आइजा भन्दा नटेरे पछि माहिलाबाले ढुङ्गाले हिर्काएर आँखैमा लाग्दा आँखै प्याट्टै फुटेर नदेख्ने भएको थियो । त्यसपछि उसको नामै कानो गाई बनेको थियो । कति माया लाग्दो थियो त्यो । लोती र जुरोमा स्नेहले मुसार्दा दङ्ग मानेर फुर्किन्थ्यो । मेरो पनि कपाल चाटिदिएर हङ्ककङ्गे लाहुरे काहिँलाको जेल लाएर लर्काएको जुल्फीजस्तै बनाइदिन्थ्यो ।
त्यो मिजासिलो र मायालु कानो गाईले पाएका झिल्के बहर उसका र मेरा बचपनका असली र नि:स्वार्थ साथी थिए । तिनले खेल्दा-खेल्दै रिसको झोकमा कहिल्यै टोकेनन्; कहिल्यै लगारेर लखेटेनन्; काँधमा हालेर न्याकेर फालेनन् र अग्लो डिलमा उभिएको बेला झुक्काएर तल्लो गरामा पछारेनन् ।
तर शहरमा भेटिएका नानाथरीका ‘बा’हरू घरबेटी बा, कार्यथलोका बाहरू, पसलका साहुबाहरू, मन्दिरका पण्डितबाहरू, मिनिबसका गुरुबाहरूले पाएसम्म वस्तुकरण गर्छन र सकेसम्म उपयोग गर्छन् । बलुबुताले भ्याएसम्म आफ्नै दुनो सोझ्याउँछन् ।
सबैभन्दा विवेकी भनिएको प्राणीले दिनानुदिन अविवेकी कर्महरू गर्दै गएको देख्दा मलाई पनि चिन्ता लाग्थ्यो ।
—-
स्कूलको विदा भयो कि हाम्रो तिखे र मार्चे गोरु लिएर चराउन ठूलारको वनमा जान्थ्यौं । सम्बले पनि झिल्के, तिल्के, राता र सुन्तले रङ्गका रहरलाग्दा र त्यो मायालु गाई चराउन आउँथ्यो । निधारमा सेतो टिका भएको त्यो रातो बहरसँग खेल्दै, रम्दै, उफ्रँदा भोकको पनि पत्तै हुन्थेन ।
ऊ आउँथ्यो र मलाई पनि निकै रमाइलो लाग्थ्यो । कहिलेकाहीँ मामाघर या छामाकोमा गएको बेला ऊ गाई चराउन आएन भने नियास्रो लाग्थ्यो । म पनि छिट्टै गोरु खेदेर घर फर्किंन्थें ।
वनको बीचमा अलिकति खाली चौरमा काँध थापेर ठिङ्ग उभिएर बसेको घोडेढुङ्गो । त्यही ढुङ्गोमा घोडचढी भएर बस्यो । पुठ्ठातिर फाटेर टालो हालेको जाङ्घेका खल्तीमा लुकी-लुकी ल्याएका सिरिम्ला बाँडीचुँडी मुकुरमुकुर पार्दाको मज्जा पनि अजीवकै हुन्थ्यो । त्यही ढुङ्गोमा बाले बलोमा ठोक्न भनी किनेका फलामका काँटी बाको आँखा छलेर खुसुक्क लगेर खोपेको नाम अझै पनि देख्न पाइन्छ ।
वन र बाटोमा भेटेजतिका ढुङ्गामा आफ्नो नाम खोपी शिलालेख बनाउँदाको प्रसन्नता पनि उधुमै गज्जबको हुन्थ्यो ।
सम्बतलाई पनि मलाई जस्तै जनावर र चराचुरुङ्गीका बचेरा-बचेरीहरू औधी मन पर्थे । उसको घरमा गए पछि कहिले कुकुरका छाउरा, कहिले बिराला, कहिले हाँसका टिउरा र कहिले कुखुराका माउचल्लाहरू हुन्थे ।
सम्बतका ठूल्दाजुले अहिले नाम फेरिएर सुन्दरबस्ती बनेको गाउँबाट ल्याएको कुकुरको छाउरोले लडेर खुट्टा भाँचेछ । दाजैले आमाको पटुकीको फेरो च्यातेर बाँधिदिएको याद मेरो मनमा अझै पनि ताजै छ । के भयो खै त्यो छाउरो सानैमा बित्यो र ठूलाबाले दाइभाइकै रहर पूरा गर्न फेरि अर्को पोटिलो छाउरो ल्याइदिनुभएको थियो ।
छाउरो हर्लक्कै बढ्दै गइरहेको थियो । ठूलीआमाले खाना पस्केर खान बोलाएपछि पहिले सिल्टेको कचौरामा कुकुरलाई भाग छुट्याई सम्बत खान बस्थ्यो । “काले” नामकरण गरिदएको त्यो छाउरो दैलोको सँघारमा टाउको टेकाई निकै ज्ञानी बनेर टुपुक्क बसेर कलो पर्खिरहन्थ्यो ।
आफ्नो पालो पनि आउँछ, पालोमा मालिकले खाना दिन्छन् भन्ने पूर्ण भरोसा गरेर धैर्यता सँगालेर बस्ने प्राणीमा मनुष्यभन्दा कुकुर नै सायद श्रेष्ठ लाग्छ मलाई ।
—-
समय, स्थान र परिवेश अनुसार कथा-कन्तुराहरू पनि अलग-अलग हुँदा रहेछन् ।
न मोबाइल फोन, न चिठी-पत्र, न भन्ने बित्तिकै भेटघाट र बातचित हुने । बच्चा-बच्ची नै मोबाइल जस्ता कहिले लोरी सुनाउँदै सँगै सुतायो । बालसखाहरूसँगको अबोध र निश्चल संसार अभूतपूर्व र अनुपम लाग्थ्यो । भेटघाट र देखादेख मात्रै पनि कम्ती आत्मीय लाग्थ्यो र ?
माइती बस्न आएका चेलीबेटी पुर्याउन जानुपर्ने चलन थियो । “देउपुरको जस्तो खेती र पाती, मधेसमा राम्रो दाङ, उराठैलाग्दो दुर्लुङको डाँडा मोहनी लाउनी पाङ” भन्ने लोकोक्ति सुनाइरहनुहुन्थ्यो ठूलीआमाले हामीलाई ।
पाङमा बिहे गरेर दिएकी उसकी दिदी पुर्याउन जान्थ्यो सम्बत कहिलेकाहीँ । मलाई पनि तल कहिले गौंडाको डिल, कहिले बिसौनासम्म भएपनि जाम भन्थ्यो र दुई भाइ दिदीसँग गफ्फिँदै नयाँ पुलसम्मै जान्थ्यौं । आँखा छलेर हिंडे पनि थाहा पाएर काले कुकुर स्वाँस्वाँ र फ्वाँफ्वाँ गर्दै हाम्रो सामु आउँदै जुरुक्क काँधमा अँगालिन खोज्थ्यो ।
दाँतमा सुन भर्ने र चिउँडोमा कालो कोठी खोप्ने चलनहरू थिए । सुनको दाँत भरेकी पुतली छामा र यमुका दिदी निकै मिल्ने साथी बनेका थिए ।
अर्भककी सैना चमेलीसँग यमुका दिदीले झोलामा बुट्टा भर्न सिकेकी थिइन् । टोपी, मखलर र झोला बुन्ने दिदीको इलमको थुप्रै व्यवसायिक सम्भावना थियो । दिदीकी सैना चमेली मार्फाको स्याउजस्ता राता-राता गाला भएकी खाइलाग्दी थिइन् । दिदी भने स्याटड्लर बल्बपेनको सुइरोजस्ती । तैपनि दुवैको मन खूबै मिल्थ्यो । चमेलीको कालो लामो केश बैँसले रोमाञ्चित पोटिला पुट्ठाबाट कुर्कच्चासम्म बयेली खेल्दै पुगेको देख्दा जोकोहीका चक्षु जोडी उनको त्यही केशसँगै बयेलिन खोज्थे ।
दिदीको घरमा एकरात कटाउँदा पनि काले कुकुर घर गयो कि गएन होला ? बाटोमा कतै किराले खायो कि ? भन्ने सुर्ताले सम्बत राति पनि झसङ्ग-झसङ्ग हुन्थ्यो । कतिबेला उज्यालो होला र कुदौला भन्ने हुट्हुटीले उसको मुहार मण्डल ढपक्कै ढाकेको महसूस गर्न सकिन्थ्यो ।
बिहान सखारै भालेको डाँकोसँगै हतार-हतार दिदीले जम्मा पारिदिएका दारिम र नासपातीका दाना बोकेर कुद्थ्यो । कुनाचौरको रमाइलो चौर हुँदै अम्चुरको बगान छिचोलेर सहश्रधारा पर भीरको पिपलबोटनेर भ्वाङ् परेको जमीन । त्यही भ्वाङ्बाट भूत निस्केर खाला पर्ने पिरलो । कुना-कुना च्यापेर टाउको लुकाउँदै घुँडा मारेर झर्दा कम्ती त्राहि त्राहि हुन्थ्यो र?
आमा र हजुरआमाले सुनाएका लामो दाह्रा भएका राक्षसको कथाले बालवयमा भरेको डर त्यो गहिरो भ्वाङ्ले साक्षात अनुभूत गराएको जस्तो हुन्थ्यो । त्यस्तो राक्षस त्यही भ्वाङमा लुक्छ भन्ने लागिरहन्थ्यो । त्यो भ्वाङ् छलेर अगाडि आउँदा आजलाई बचियो भनेर लामो सास फेर्न मन लाग्थ्यो ।
बुढ्यौलीका धर्साहरूले ढपक्कै घेरेर चाउरिएको मरिचजस्तो बनेको हजुरआमाको अनुहार । त्यही अनुहारसँग मिल्दो देखिने अनुहार परेका बाटो छेउका तिजुका हाँगामा झुण्डिएका ढेडु बाँदरहरूसँग तर्सिंदै बर्खे भेलले गाढा कालो सुसाउँदो कालीगङ्गा तरेर उकालो लाग्थ्यो । घर पुग्दा गन्ध थाहा पाएर ‘काले’ कुकुर कुन कुनाबाट फुत्त आउँथ्यो र बुर्कुसी मार्दै आएर झ्याप्प उफ्रेर अङ्गालो हाल्दै आँगनको वल्लो छेउ पल्लो छेउ कुद्थ्यो । कालेको खुशी देख्दा मेरो मन पनि विमुग्ध हुन्थ्यो ।
तिनताका सबैभन्दा रमाइलो पर्व नै तीज लाग्थ्यो । कुशे औंसीका दिन पारेर दिदी-बहिनी लिन जानुपर्थ्यो । यताका कोसेली झोलाभरि पोको पारेर उता, उताका कोसेली भरेर यता गर्दा पनि कम्ती रमणीय लाग्थेन । पाहुना बनेर मिठो-मिठो खान पाउँदाको खुशी मेलापात सकेर आएकी आमाको स्तनपानपछि फुर्केको बालसुलभ खुशीजस्तै लाग्थ्यो ।
तीजका दिन गच्छे अनुसारका लुगाफाटो र कसैले गलामा नौगेडी र तिलहरी, कसैले शिरमा चन्द्रमा त कसैले कानमा ढुङ्ग्री लाएर रातो सारीको सप्को हालेर टाट्ठिदै पैयुँपाटाको हुलाकघरमाथिको चौतारीमा दिदी-बहिनीहरू भेला हुन्थे । सुख-दु:खका बात मार्थे । अनि आफ्ना-आफ्ना विरह र वेदना तीजका भाकामा बुन्दै नाचगान गर्थे । माया दिदीले नेतृत्व गरेको समूहमा यस्ता गीतहरू गुञ्जन्थे-
“दश भाइ छोरा भए पनि एकै घरमा अटाउनी,
एउटी छोरी भए पनि डाँडै कटाउनी । ”
दिलु दिदीको समूहतिर लागे यस्ता गीत सुनिन्थे-
“दैली र मुनि काँकरीको बतिलो
टिपेर मैले खाइन बरिलै ।
पोहोर साल तीजमा दाजु लिन गएका
माइत आउन पाइन बरिलै । ।
माया दिदी र दिलु दिदीका विरहका गीत सुन्दा वरिपरि झुम्मिएका हामी श्रोताको मन समेत विह्वल बन्थे । रमाइलो बीचैमा सन्नाटा छाउँथ्यो ।
तीजलाई अचार बनाउन भनेर साँचेर राखिने एउटैले पानी डोको भरिने खालका पाकेर पहेंलपुर हुने कत्ला-कत्ला भएका काँक्राहरू कता हराए खै ? न हिउँदको सुक्खायामलाई भनेर तरकारी बनाउने काठका ठेकी न गुन्द्रुक कोचेर राख्ने ढुङ्ग्राहरू नै देख्न पाइन्छ । छाना र पेटीभरि सजिने झण्डै मान्छेको तौल बराबर हुने ती कुभिण्डा र कबेलीहरू कहाँ फल्दै होलान आजकल ?
“कान्छादाइ के सारो पात्तिएका हुन ओ यी दिदी-बहिनीहरू आजकल ?” उसले नमीठो मान्दै सोध्थ्यो ।
“भर्खरै स्वन्तन्त्रताको अभ्यास गर्दै गर्दा स्वतन्त्रताका सीमाहरूमा दख्खल पुर्याएको जस्तो देखिएको मात्र हो । समय आउँछ र सबै लयमा फर्किन्छन् नि भाइ धैर्य गर न ।” उसलाई शान्त पार्ने प्रयास गर्थें म ।
लाहुरबाट फर्केका उसका माहिला भिनाजु तीजको पञ्चमीको दिन सासु-ससुरा भेट्न आएका थिए । गाउँमा ‘तिहारको ज्वाईं र सराद्देको सालो उल्लू’ भन्ने कहावत व्याप्त थियो । जोरीपारीलाई पँधेरामा गफ गर्ने मेलो पुगेको थियो उसका भिनाजुलाई लिएर ।
उसका माहिला भिनाजुलाई भनेर ठूलाकान्छाबाले गाउँमा खसी काट्न लगाएर दुई बिला उठाएर घरमा ल्याएर भुटुवा र झोल बनाउन अर्हाउनुहुन्थ्यो । पकाइसकेपछि ठूलीकान्छीआमाले पित्तलको डल्ले लोटामा पानी राखिदिएर “ल खाम हजुर अब” भन्नुहुन्थ्यो ।
चौरासी व्यञ्जनको घेरो देख्दा भिनाजुले “के लठारो गरेको आमा ?” भन्नुहुन्थ्यो । तर लपालप खाएको देख्दा भित्रभित्र गदगद भएको बुझ्न गार्हो पर्थेन ।
भिनाजु पनि रङ्गिलो र उटपटाङपाराको हुनुह्न्थ्यो । “कति भयो भिनाजु विदेशबाट आएको ?” उसले के सोधेथ्यो ।
“आज पानी छोएको बाबु” भिनाजुले ठट्यौली पारामा भन्नुहुन्थ्यो ।
ज्वाइँ आएपछि सकेसम्म मेजमानी गर्नुपर्ने चलन थियो हाम्रोतिर । भिनाजुलाई खाना खानु अगाडि ठूलाकान्छाबाले टिको-टालो गरेर दक्षिणा राखेको खाम हातमा थम्याउनु हुन्थ्यो । भिनाजु स्वाँट्ट उठेर डिलमा घाम हेर्न गएझैं गरेर शौचालय छेउमा पुग्थे । अनि सुटुक्क कुना फर्केर खाम हेर्थे । हजारको नोट भेट्दाको सन्तृप्ति भिनाजुको भावभङ्गीबाट थाहा पाउन कत्ति मुस्किल पर्थेन ।
—-
ठूलाबाले छोरा-छोरीलाई अण्डा ख्वाएर तगडा बनाउन पल्लो रोका गाउँबाट अण्डा पार्ने वयका कहिले हाँस त कहिले कुखुराका कोरलीहरू ल्याएर पाल्नुभएको थियो । बाहुन गाउँमा बाहुनले कुखुरा पालेको विषयले धेरैको बर्मान्नो दुखेको थियो । गाउँलेहरूले ठूलाबाको परिवारलाई “कुखुरे बाहुन” को पगरी गुथाइदिएका थिए । तर पछि तिनै गाउँलेहरू अण्डा खोज्दै ठूलाबाको पिँढीमा आइपुगेको देख्थें म ।
ठूलाबा कति सम्म फराकिलो सोचको हुनुहुन्थ्यो कि ठूलीआमाले सिकुवा छेउको गारोबाट छेल पर्ने गरी लुकेर पकाएको ढिंडो भित्रै बसेर खाओ भन्नुहुन्थ्यो । तर ठूलाबाले खड्केरीमै मस्त पलेटी कसेर ओख्ले कान्छी छामाको घरबाट ल्याएको पोटिलो भाँगो, मसिना स्थानीय गोलभेंडा र अँलैचीको गाँज छेउमा झपुल्ल परेको पुदिनाको चटनीसँग डोब्दै स्वाप्प-स्वाप्प पार्नुहुन्थ्यो ।
खै कुन्नि भनेर त्यति जाती अन्न कोदोलाई किन हाम्रो दिमाख भुटिएको होला त्यतिबेला म सम्झिरहन्छु । अहिले त्यही कोदोको पिठो किन्न मान्छेहरू लामबद्ध भएको र ढिंडो खाएका तस्वीरहरू फेसबुकका वालहरूमा तामझामका साथ पोष्ट गरेको पाइन्छ । खै के भन्ने हो त्यतिबेला हामी आफै उत्पादन गर्थ्यौं कुअन्न र जुठो भनियो; जब आयात गरेर खाने भयौं उत्सव मनाउन थाल्यौं हामीहरू ।
—-
पछि-पछि झन-झन सजिलो होला भन्दै उकालिएको जीवनपथको ठाडो उकालो । डाँडाको बिसौनीमा आएर पछाडि फर्केर हेर्दा बालापन त साह्रै यादगार पो लाग्दो रहेछ ।
कक्षामा पछाडि बस्ने उटुङ्गयाहा केटा साथीहरूले पाइन्टको पेटीघरमा पुच्छर झुण्ड्याएर खिसिटिउरीको पात्र बनाउँथे कहिले । कहिले स्कुल जाने बाटोमा दुवैतिरका कोदोका नल बाँधेर खुट्टा अड्काएर लडाउँथे र गलल्ल हाँस्थे ।
एकपटक दशैंमा बाले नयाँ लुगा नकिन्दिए पछि मेरो पुरानै जाङ्घे रिखि दाइकोमा लगेर टालेर ल्याइदिनुभएको थियो । त्यही जाङ्घे लाएर डढेलाको डाँडोमा जाँदा पिङमा धस्रिएर टालो उप्किएपछि खुला हरियाली हेर्ने मौका पाएका पुट्ठाहरू हत्केलाले छोप्दै घरतिर भागेको थिएँ म । आमाले अनौठो मानेर सोध्नुभएको थियो ।
“किन छोपेर आ’छस् फिला छेरिस् कि क्या ओ ?”
दशैंलाई टालेको जाङ्घेको त्यो हालत देखे पछि बाले स्कूलको पोशाकसँग मिल्ने आकाशे रंगको कमिज र निलो जाङ्घे सिलाइदिनुभएको थियो । पछि त्यही जाङ्घे र कमिजले थुप्रै दशैं मनाइयो ।
—-
ठूलाबालाई सम्बतको बिहेको पिरलोले घच्घचाउँथ्यो सिडिओ अफिसमा नागरिकता बनाउन आएका कोरली नवयौवनाहरूको तीनपुस्ते सोध्ने र नालीबेली बुझ्ने गरेको कुरा पछिसम्म मलाई पनि सुनाउनु भएको थियो ।
सम्बतले आफ्नो बिहे आफै गर्छु हजुरहरूलाई सोधेर र बुझाएर गर्छु, पीर नलिनू भनिरहन्थ्यो । तर जस्तालाई तस्तै जोडी मिलाउनुपर्ने तनावले ठूलाबालाई छोडेको थिएन । ठूलाबाले बरु अन्य जात/समुदायकी भए पनि हुन्छ भन्नुहुन्थ्यो । पाखण्डीपन थिएन उहाँमा । क्षेत्रीपाल गाउँकी बैङलोरमा कम्प्युटर इञ्जिनियर पढेकी युवतीको प्रस्ताव ठूलाबा आफैले सम्बतलाई मेरै अगाडि पनि गर्नुभएको थियो ।
आफ्नो पालामा अधुरा रहेका सपनाहरू पूरा गर्न भगवानले दिएका प्रतिनिधि हुने भएर होला सन्तानको पिरलो र समुज्ज्वल भविश्यको मार्ग प्रदर्शन गर्ने हुटहुटीले प्राणपखेरु छन्जेल नछोड्दो रहेछ बा-आमालाई ।
—-
‘समय समयकी बात हे’ भन्ने कहावत अनायासै मथिङ्गलमा छाउँथ्यो ।
“बा हुँदाको आड, भरोस, जिम्मेदारीबाट बिमुक्त दुनियामा मन कम्ती हलुङ्गो हुँदो रहेछ र कान्छादाइ ?” आफ्ना रहर र सपनाहरू सन्तानलाई खुलस्त पार्न नपाउँदै भएको ठूलाबाको देहावसानले भावुक सम्बतले आफ्नो अनुभूति मलाई साझा गरेथ्यो ।
कुनै ठाउँमा डस्टरको धुलो उडाउँदै मास्टरी गर्दागर्दै सरकारी जागीरमा सिफारिस भई आफ्नो जिम्मेवारी बीचैमा छोडेर हिँड्नुपर्दा मन अमिलो र मुहार खिन्न बनाएका उत्तर टीन-एजका केटाकेटीहरू सम्झिएर नियास्रो मानेको सुनाउँदा ठूलाबाले उसलाई “छोरोले साना कुरामा नियास्रो मानेको सुहाउँदैन बाबु” भन्नुहुन्थ्यो ।
सम्बतको स्वभाव अलिक पिन्चे नै थियो । बालापनमा सँगै एकखुट्टे खेलेका दिदीबहिनीको कन्यादान दिई डोली अन्माउने बेला बेहुलीहरू “ए मेरी आमा, ए मेरा बाबा भन्दै…. हुँहुँ” भन्दै डाँको छोडेर रुन्थे । यसरी रुनु चलन नै बनेको थियो । बेहुली अन्माउँदा रुनु र कुल पूजामा बोकाले पानी हाल्दा पर्सिनुलाई शुभ भन्ने जनविश्वास थियो । ह्वाँह्वाँ बेहुली रोएको देख्दा ऊ पिलपिलाउँदै सुँक्कसुँक्क गर्थ्यो । कमिजका बाहुलाले पुछ्दै निस्कन्थ्यो ।
जब म जान्ने भएँ ठूलाबाले कसैको कुभलो गरेको, कुभलो चिताएको, भर्सेला परोस भनेको थाहा छैन । आफूले देखेसम्मका ठाउँमा, टेकेसम्मका घरमा, आफू पुगेका आफन्तहरूकोमा आफूले जानेका र बुझेका असल मार्ग दर्शन गरिरहनुहुन्थ्यो ।
जीवन भोगाइका अनेक घुम्ती र मोडहरू पार गरिसकेपछि बल्ल थाहा भयो कि आमाको सपनाको क्षितिज घरभित्र मात्र सीमित हुने रहेछ । ‘बा’ हरूको क्षितिज विशाल हुँदोरहेछ । परन्तु बात्सल्यमा आमा अतुलनीय हुन्छन् ।
—-
सम्बत र म सुसेली हाल्दै भाङ्ग्रे डोको बोकेर फुस्रे खोलामा घाँस काट्न गएका थियौं । कालो टालो हालेको स्कूलको ड्रेसको जाङ्घेको गोजीमा भाँगो र चिनी मोलेर लगेका थियौं । ठूलीआमाले भर्खरै कुटेको गुडुरा चामल पनि थियो हाम्रो साथमा । एक पसार निकालेर सम्बतलाई दिन लागेको के थिएँ नकुल पनि नाकेडाँडातिरबाट झुलुक्क झुल्किएको थियो । एक-एक पसार चामल तीन भाइले मुकुर-मुकुर पार्दै ‘बा’ र ठूलाबा’हरूकै प्रसङ्गमा जोडिन थाल्थ्यौं कहिले ।
“आफूले खद्दरको पतलुन लाएर छोराछोरीलाई जिन्सको पाइन्टमा टाँट्ठिएर हिंडेको देख्न चाहने बा, आफू खाई-नखाई हस्याङफस्याङ सवारीको सुविधा भए पनि पैदलै लुखुर-लुखर हिंडेर जागिर खाएपनि छोराछोरीले बुलेट र एभेन्जर किंवा स्कोर्पियो नै हाँकून् भन्ने अरु कोही हुनै नसक्दो रहेछ आमा-बा बाहेक । ”
भर्खर अर्चापेको दुई काँजे आँसीले काटेर झपुल्ला परेको एकोल्लो घाँसका पाँजा बटार्दै सम्बतले आफ्नो परिपक्क भोगाईको बोउचो फुकाउँदै गएको थियो ।
“कति धोकोहरू, भन्न पर्ने कति कुराहरू, पुस्तान्तरणका कति सवालहरू थिए । घरदेशी भए पनि परदेशी जस्तै भइयो कान्छादाइ वय हुँदासम्म । हजुरबाको पालादेखिका कथा-कहानीहरू, कति दस्तावेजहरू थिए होलान् जुन बालाई मात्र थाहा थिए अहिले मैले जान्न खोजेर के गर्नु ? अघिल्लो पुस्ताका ज्ञान हस्तान्तरण गर्ने नवीन पुस्ता साथमा छैन । न बाहरू नै रहँदा रहेछन् ।
न त साथमा भएकाले त्यस्ता ज्ञानगुनका कुरामा ध्यान दिन्छन् । हजुरबा-हजुरआमाहरू आफैमा वैद्य थिए । के विमार हुँदा के खाँदा निको हुन्छ भनी खोजी-खोजी घरमा तिनै वनस्पति लगाउँथे । सबैलाई सोधीखोजी गर्ने, चराचुरुङ्गीलाई पितृका नाममा भए पनि खाना-दाना चढाएपछि मात्र खाना खाने, पापको डर र पुण्यको भर थियो । आफ्नै बारीमा फलाएर खाने हजुरबा पुस्ता र त्यसलाई जगेर्ना गर्ने बा पुस्ता सकिए पछि के हालत हुनेहोला हाम्रो ? चिन्ता लाग्छ कान्छादाइ । भित्तामा झुण्ड्याइएको हजुरबा र बाका तस्वीरहरू हेरी मात्र रहन्छन् केही नबोल्दा रहेछन् । ”
उसको भनाइले भावसागरको निकै पिंधमा पुर्याउँथ्यो मलाई ।
मलाई पनि महसूस भइरहन्छ कि जुन रहरका लागि र जसलाई सुख दिउँला भनेर छोराछोरी सहर पस्छन् र अलिकति हैसियत बनाएर, साना तिना रिन तिर्न सक्षम बनी घर फिर्ने बेला हुन्छ, आफू सियालमा बसेर घाम दिने; आफ्नो पेट पटुकीले कसेर छोराछोरीलाई माम दिने र मनैदेखि खुशी बाँडौं भन्ने आफू दु:खमा हुँदा पनि सन्तानकै पिरलोमा रहने माता-पिताहरू पनि अस्ताउने हुन कि भन्ने पीर लागिरहने रहेछ ।
हिउँदमास डिल खेतको आलीमा बसेर तापेको सन्ध्याकालीन घाम ओर्लेर बेसी फाँटका गरामा पुग्दा आफू पनि पुगौं-पुगौं हुन्छ तर तल झर्दा घाम डाँडापारि पुगिसक्दो रहेछ ।
बाहरू पनि अनेक थरी हुने रहेछन् । सुसुराबा, गुरुबा, , घरबेटीबा, झाँक्रीबा, वैद्यबा, बडाबा, बाहुनबा, हाकिमबा, डाँडारे ठूलाबा यस्तै के के के के ! पछाडि ‘बा’ शब्द झुण्डिंदैमा सबै बाहरूले ‘बा’ को भूमिका निर्वाह नगर्दारहेछन् ।
कोही ‘बा’हरू मैं खाउँ मै लाउँ मात्र भन्ने, दोस्रो पुस्तालाई ‘बा’ बन्ने मौकै दिन नखोज्ने, अरूलाई रूखमा चढाउने र हाँगा काटिदिने, कोही ‘बा’ हरू धुरी चढाउने र मूल खाँबो लडाइदिने; आफू चढेर माथि पुग्ने र कोही अरू माथि पुग्लान कि भनेर लिस्नो निकालेर फालिदिने, ताक पर्दा मात्रै तिवारी नत्र गोतामे बन्ने ‘बा’हरू ! मौका पाउँदा साथ छिर्के दाउ हान्ने ‘बा’हरू ।
कतै चिची पनि पापा पनि हत्याउने र भण्डारमा हालीमुहाली गर्ने ‘बा’ हरू, पाप-पुण्यको पर्वाह नगर्ने तर उमेरले नेटो काट्न थालेपछि पाप मोचनका लागि चौमास व्रत बस्ने र दक्षिणा चढाउने सहर बजारमा भेटिएका जन्तरे-लखन्तरे ‘बा’ हरू र आफू नखाई-नखाई अरुलाई खुवाएर खुशी हुने ‘ठूलाबा’ को कुनै तुलनै हुन्थेन ।
खै ती “बा”हरूले आफूले पाएको आसन न सिंहको वंशको न चीलको परिवारको भन्ने किन नबुझेका होलान् भन्ने लागिरहन्थ्यो मलाई पनि ।
“असली ‘बा’ हरूले सन्ततिलाई स्वाभिमान, आत्मसम्मान र स्वालम्बन सिकाइरहन्छन् । आफूले पूरा गर्न नसकेका रहरहरू सन्तानबाट पूरा भएको हेर्न चाहन्छन् । शासन- प्रशासनको बागडोर सम्हाल्ने ‘बा’हरू भने अनेक तिकडम गर्छन्; सकेसम्म सबैलाई रैती बनाउन खोज्छन्; रामराज्यलाई आफ्नै साम्राज्य सोच्छन्; अरुले केही नबुझून र बुझेपनि बुझ पचाऊन भन्ठान्छन्; आफु किर्ना बनेर ढाडिएपछि मात्र अरुलाई पुरा छोडिदिन्छन् । कान्छादाइ यहाँ ठूला ‘बा’ हरू सबै ‘ठूलाबा’ जस्ता नहुँदा रहेछन् । ”
भाङ्ग्रे डोकोमा मुठो चढाउँदै भनेका सम्बतका कुराले मेरो मनमा च्वास्स घोचेथ्यो ।
“आफूलाई मात्र अवसरहरूको केन्द्रमा राख्ने, स्रोत र शक्तिको केन्द्रीकरणमा भोज मनाउने; आफ्नै अविछिन्न प्रभुत्व कायम राखिरहन लालायित, अधिकार छरौट र पुस्तान्तरण गर्नै नजानेका ती ठूला ‘बा’हरू, होनहार युवा मस्तिष्क र मसलहरू पलायन गराउने प्रधान कारक हुन् कान्छादाइ । ”
सम्बतको सामयिक विषयका कुरा सुन्दा कतै अन्तर्राष्ट्रिय हवाई मैदानमा लाग्ने गरेको लर्को यस्तै-यस्तै बिषादहरूको नतिजा हो कि भन्ने लागिरह्यो मलाई पनि ।
“कति ‘बा’हरूले कसै-कसैलाई मात्र काखी च्यापिरहँदा उम्रेका विभेदका पाटे सिउँडीहरूले कहिले र कुन दिन आफैलाई च्वास्स घोच्छन् र झस्किन्छन् थाहा हुँदैन कान्छादाइ । ”
उसको भनाइ घर-घर, गाउँ-गाउँ र सार्वजनिक अड्डाहरू जता पनि बग्रेल्ती देखिने व्यवहारका बाछिटाहरूको निष्कर्ष थियो भनेर बुझ्न मलाई कुनै कठिन पर्थेन ।
समान बीच भइरहने असमान व्यवहारले विद्रोहको ज्वार र आक्रोशको भुमरी नचाइदिन सक्छन् । त्यस्तै व्यवहारहरूले कति मानिस मानसिक रुपमा विक्षिप्त भएर उसको परिवारिक, सामाजिक व्यवहार र कार्यथलोको समग्र नतिजामा परेका असरहरूको लेखाजोखा गर्ने खै कसले हो भन्ने सोचेर म पनि सम्बतसँगै टोलाइरहेको थिएँ ।
उसले कान्छादाइ झकाएछ कि भन्ठानेर अलि ठूलो स्वरमा भन्यो ।
“कान्छादाइ गोठ-भकारो र दाउरा-घाँसको दैनिकी पूरा गरी खाइ-नखाइ गाँस टिपेर हतारिँदै कार्यालयमा पुग्दा माथ्ला पदमा पदासीनहरूको मन पोल्ने बचनहरू अनि कार्यालयमा व्याप्त जोत्ने गोरुको पुच्छर निमोठ्ने प्रवृत्तिले ‘ठूलाबा’ जस्ता कर्मशील र श्रमशील मानव पुँजीलाई मानसिक र शारीरिक रूपमा गलाएको होला है ?”
उसको कुराले मलाई निकै गम्भीर बनायो । मैले ठूलाबाले कहिलेकाँही ठूलीआमासँग खाना खाने बेला झर्केको र खाँदा-खाँदैको स्टिलको घोप्टेथाल हुर्याएर कच्याककुचुक पारेको सम्झें ।
त्यति शान्त स्वभावका ठूलाबाको घरमा त्यसरी फिलिङ्गो बल्नुका पछि यसरी झर्कनु कार्यथलोमा झेल्नुपर्ने तनावको परावर्तन पो रहेछ ! त्यही भएर होला ठूलाबाको ठूला र माहिला नातिहरू पनि स्वदेशमा नबस्ने निधो गरेका रहेछन् ।
कार्यथलोमा भएका असमान व्यहार, विभेद र कृपाहरूको माखेसाङ्गलोको सिकार ‘ठूलाबा’ पनि हुनुभएको रहेछ भन्ने कुरा सम्बतले जागीरे जीवनको पूवार्द्धमा आएर बल्ल थाहा पाएको थियो ।
“सीमित ल्याकत परीक्षण गर्ने परीक्षाको सांयोगिक खेलबाट माथि पुगेका र रुपियाँको प्रभावमा खुपिया पार्दै एकैछिनको तिरिमिरीमा भोट तानेर जितेर माथि पुगेका ‘बा’ हरू ठूला मान्छे कि जीवन सङ्घर्षलाई जित्ने ‘ठूलाबा’ ठूला त सम्बत ?” मैले सोधेको थिएँ उसलाई ।
“क्षणभङ्गुर पदको अहङ्कारको जङ्गे पिलर ढलेपछि के हालत हुन्छ होला भन्ने हेक्का नगरी हुँकार गर्ने बाहरू पनि त सम्झ न कान्छादाइ । देखेका छैनौ र कतै कसैले चिन्लान् र खिसि गर्लान् कि भनेर मास्कले नाक-मुख छोपेर निउरीमुन्टे ‘न’ बनेर हिँडेको?” उसले प्रतिप्रश्न गर्दै सुनायो ।
उसले अनेक थरीका ‘बा’ हरूको सचित्र वर्णन गर्दै गएथ्यो ।
“ओहदा लियो । साम, दाम, दण्ड र भेदका अनेक हतकण्डा अपनाई पदमै टिकिरहनै पर्ने । सोझा-सीधालाई उपयोग गर्नुसम्म गर्ने । जोत्न नसकेपछि बूढो गोरुलाई जङ्गलमा लगेर छोडिदिएजस्तै छाड्ने । स्वार्थका पोकाजस्ता बूढा ‘बा’हरू । अगाडि ललीपप देखाउने र भित्र-भित्र तरबारले गर्धन छिनाउने । बाहिर अभिभावक हुन कि जस्ता देखिने । तर क्षेत्रबाद, गोत्रबाद, मित्रबाद, कृपावाद, फरियाबाद र जरियाबादबाट ग्रस्त हुने । गोत्र, मित्र र भित्रको बिचित्र चित्र देखाउने ठूल्ठूला ‘बा’हरू । छोरीको स्वार्थले जबर्जस्त मन नमानी-नमानी ज्वाइँलाई ‘बाबु’ भन्ने ‘ससुराबा’हरू । पूजाविधि थाहा होस् वा नहोस् पहेंलो कछाड बाँध्ने र दक्षिणाको सौदाबाजी गर्ने ‘पण्डितबा’ हरू एउटा तुलोमा । अनि हरपल आफूले नजानेका पनि सिकोस, जानोस, आफुले नखाए पनि मिठै खाओस् र आफूभन्दा उच्च स्थानमा पुगोस्, यश र कीर्ति फैलाओस भन्ने आफ्ना ‘बा’ अर्को तुलोमा । स्वार्थले बाटोमा भेटिएका र ‘बा’ भनिएका ती ‘बा’हरूसँग “बा” तुलना गर्न खोज्नु आपराध हुन्छ कान्छादाइ ।”
उसको मार्मिक विश्लेषणले म समेत मर्माहत भएँ ।
—-
इन्टरनेटमा खोज्दा सारा चीज छिनको छिनमा भेटिए पछि आफूले चाहेका पनि भेटिहाल्नुपर्छ भन्ने अमेरिकी सपना र आइफोनको सम्मोहनमा परेका निकै अधीर र तरङ्गित भएको सँस्कार शून्य हुँदै गएको पुस्ता । अहङ्कारको हुँकार यत्रतत्र देख्न सकिन्थ्यो ।
सम्बतले मौलिक कला र संस्कृति नासिएको र मासिएको चिन्ता साझा गर्थ्यो मसँग । युट्युव र टिकटकजस्ता एप्सहरूको आगमनसँगै फैलिएको डिजिटल उपनिवेश र फेरिएका मान्छेका दैनिकीका प्रसङ्ग जोड्थ्यो ऊ बेला बेला ।
यस्तै इन्टरनेटको लतमा हामीलाई फसाएर कोठेरानी बनाइदिने र नवप्रवर्तन र सिर्जना शक्तिको तेजोबध भएको अनुभूति मलाई पनि भइरहन्थ्यो ।
“गोजीमा र कन्तुरमा पनि अलि पैसो राख्नुपर्छ । यस्ता प्रविधि त अरूका कब्जामा छन् । मोबाइलमा पैसा छ भनेर क्यार्नु । सबै बिगारे भने क्यार्छौ नून तेल किन्न नि नपाएर भोकभोकै मरिन्छ हे केटा हो ।” ठूलाबाले सम्झाउने गर्नुहुन्थ्यो ।
कोदो रोप्ने बेला एकदिन सम्बत पनि पर्म लाउन आएको थियो । आलु गरोमा ठूलाबासँगै कोदोको बिउ काड्दै गर्दा ठूलाबाले हामीलाई दुखेसो पोख्नुभएको थियो ।
“पहिला पहिला हामीले भकारीमा दुई-तीन बर्षलाई पुग्ने गरी धान राख्थ्यौं; आटीभरि मकैका झोतेला झुण्ड्याउँथ्यौं, घैंटाभरि चामल भर्थ्यौं; थुन्सेका थुन्से कोदो चुलाएर गोबरले टालेर साँच्थ्यौं; धुरी र छानाभरि कबेली र फुर्सेको लाइन हुन्थ्यो; डालोभरि मस्यौरा हुन्थे, ठेकीभरि सिन्की खाँदिएको हुन्थ्यो, हाफटिन भरि घिउ साँच्थ्यौं, दलिन बराबरका काँक्राका बीउ भित्ता-भित्तामा छ्यापेर जोगाउँथ्यौं । खै त तिमी तोरी लाहुरेहरूलाई केही मतलब छैन ! र्याप भन्या छ, हिपहप भन्या छ । खै रैथाने नश्ल र सँस्कार जोगाउने चासो ? लठुवाहरू !”
सम्बतले “बा आजकल त मोबाइलमा सबैथोक भइहाल्छ नि,” भन्थ्यो ।
“कसैको चासो र चिन्ता छैन आफ्ना कला संस्कृति र परम्पराहरू जगर्ना गर्ने । ऐतिहासिक तथा प्राचीन अभिलेखहरूलाई सुरक्षित गर्ने कसले त ख? यस्तो पाराले खै कहाँ पुर्याउने हो थाहा छ तँलाई सुनकैला ?” ठूलाबाको चिन्ता देखिन्थ्यो ।
“यस्ता विषयमा त ठूला-ठूला गाडी चढ्ने, तामझाम देखाउने र ठूल्ठूला बागडोर हातमा भएका बाहरूको पनि ध्यान जानुपर्ने हो कि ।” सम्बतले जवाफ फर्काउँथ्यो ।
—-
स्कुलबाट फर्किँदा पेटमा भोकको सारङ्गी रेट्दै हिँड्दा बाटोमा जे भेट्यो त्यही खाऊँजस्तै हुन्थ्यो । साथीहरूले धेरै टारीको बारीको डिलमा ठिङ्ग उभिएको रुपा दिदीको लप्सीका बोटमा ढुङ्गा हुर्र्याउँथे । मनरुपा दिदीले थाहा पाउँदासाथ आएर ‘‘रण्डीका छोराहरू ! अर्काका लौसीमा आँखा लाउँछौ, मेरो हेरी यो खाओ’’ भन्दै जामा फर्काउँदै तथानाम गाली गर्थिन् । केटाहरू सुनेर ठाडो पुच्छर लाएर कुलेलम ठोक्थे । म भने ढुङ्गा नहानेको भनेर लाटो बनेर छेउमा लुरुलुरु हिंड्दै हुन्थें ।
असार-साउनको बर्खे बिदा सकिएर भदौमा स्कुल खुल्थे । अर्भकका मगर काकाले डोकोभरि नासपाती ल्याएर स्कुल छेउको बान्नोमा बेच्न बस्थे । केटाहरू भने र्याल काड्दै गोलो बनाएर झुम्मिन्थे । के गर्नु किनौं भने गोजीमा सुको नहुने । अनि त नासपतीका गेडा ओल्टाई पल्टाई गर्थे । काकाले एउटालाई बेचेर पैसा गन्न लाग्दा केटाहरूले नासपाती टप्काइसकेर सुइँकुच्चा ठोकिसकेका हुन्थे । काका हेरेको हेर्यै हुन्थे ।
एकदिन म पनि हेमन, आकाश र क्षितिजको लहैलहैमा लागेर ठूलो दाना उठाएर भाग्न लागेको के थिएँ मगर काकाले च्याप्प कठालोमा समाउँदै नासपाती फिर्ता लिएको अहिले पनि ताजै लाग्छ । एक रुपियाँ गोटा पाइने ती नासपती किन्न नसक्ने हाम्रो गरिबी पनि महागरीब खालको थियो ।
सालिन्दा हिउँदमा कहिले कोलाको पोखरीनेर भवानीको पूजा हुन्थ्यो त कहिले गैरी खेतको सिरानमा रहेको ओडारमुनि साहिँला बाजेको पूजा गर्ने चलन थियो ।
साहिँलाबाजे पूज्न बाहरूसँगै हामीहरू सबैजना जुट्थ्यौं । घरघरबाट दुध, चामल चिनी घिउ लगेर चढाउनु पर्थ्यो ।
गाउँभरिको ठूलो ताउलो खोजेर पकाएको खीर र अहिले सहरमा चटामरी भनेर बेचिने चामलको रोटी चढाईसकेपछि साहिँलाबाजेको प्रतिरुप स्वरुप एकजना अविवाहित केटा अर्धनग्न भएर डिलमा राखेको टपरीको खीर र रोटी चोरेर भाग्नुपर्थ्यो । पछिबाट ठूलाकान्छाबा र गहिराघरे काकाहरूले खीर र रोटीको डल्लाले चोरलाई हिर्काउँथे । प्रहार ट्वाक्क पिठ्युँमा हुनुपर्थ्यो ।
साहिँलाबाजेलाई चढाएको टपरीको खीर र पिठ्युँमा टाँसिएको डल्लो दुवै चोर बन्ने केटालई बोनस हुन्थ्यो ।
कलाधर र लीलाधर काकाहरूले धोती फेरेर तामाको ठूलो ताउलामा लैना भैंसीको ताजा दुधमा पकाएको खीर आमाहरूले जोगीखाल्टाको वनबाट बटुलेर ल्याई खुटेका सालका पातका ताजा टपरीमा पस्किँदा मगमग्ती बसाउँथ्यो ।
साहिँलाबाजेको पूजामा महिलालाई बर्जित गरिएको थियो । मलाई भने त्यो किन होला भन्ने लागिरहन्थ्यो । कतै मेल सौभिनिज्मको कारण थियो कि?
नयाँ पुस्ता पैसा र प्रविधिकै मात्र पछि लागेर मौलिक कला, सँस्कृति र परम्पराहरूप्रति बेमतलबी बन्दै गएको थियो । मलाई पनि सुर्ता लाग्दै गएको थियो ।
फुस्रेखोलामा घाँस काट्दै जलुको टिपेर मुठो नपार्दै र नकुलले बनखट्टेले गोजी भरिसकेको थियो । झमक्क साँझ पर्न आँटेको बेला हामी पनि मुठा खापेका डोका बोकी काखीमा जलुको च्यापेर घरतिर उक्लियौं ।
घाँसको भारीसँग पुतलीखेतको अग्लो गौंडो उक्लिन कठिन थियो । नकुलले हात समाएर माथि तानेको थियो मलाई । गाउँमा त अझै पनि हात समाएर माथि तानिदिने मान्छेहरू छन् । निष्ठुरी शहरमा त खुट्टा तानेर लडाउनेहरूको बाहुल्य छ । अनि लाग्थ्यो बिदा अझै लामो भइदिए हुन्थ्यो ।
ठूलाबाले बुनेको केतुकीको बरियो हालेको नाम्लोले थाप्लोमा डोब बनाएको थियो । डिलमा डोको टेकाउँदै तालुमा नाम्लो सार्दै-सार्दै घर पुग्दा जुनकिरीले लुसिफेरिन चम्काउने बेला भइसकेको थियो ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

