चकमन्न औंसीको रात, नौ बजेको छ । टाढा कतै कुकुर भुकेको मधुर आवाज आइरहेको छ । ट्वाङ्ग ! ज्ञानराजको मोबाइलमा म्यासेजको घण्टी बज्छ । ज्ञानराज कसले म्यासेज गरेछ यो बेला भन्ने सोंच्दै, म्यासेज हेर्ने कि नहेर्ने हुँदै यसो फोन उठाएर हेर्छ । म्यासेज होइन फेसबूकमा ‘फ्रेन्ड रिक्वेस्ट’ रहेछ । सरु प्रधान लेखिएको छ रिक्वेस्टकर्ताको नाम । ज्ञानराज यसो सोच्छ । सरु प्रधान भन्ने त मेरो चिनजानको कोही पनि छैन । को रहेछ त यो नाम गरेको महिला भनेर ज्ञानराज सरुको ‘प्रोफाइल’ हेर्न थाल्छ । अनि पो ज्ञानराज झसङ्ग हुन्छ, सरिताले ‘सरु’ नाम राखेर फेसबूक आइडी खोलिछे । ‘रिक्वेस्ट’ ‘ऐक्सेप्ट’ गर्ने कि नगर्ने हुँदै हातमा मोबाइल लिएर ज्ञानराज एउटा सपना जस्तै आफ्नो सुदूर विगतमा डुब्छ…।

‘सरितासँग मेरो भेट भोजपुरको टुँडिखेलमुनि गैरोको जनसेवा माध्यमिक विद्यालयमा भएको हो । म उबेला गाउँबाट सभापति बडाबा’को घर आएँ । बिहान बेलुकी काम सघाउने अनि दिउँसो विद्यालय जाने भनेर बडाबा’ले ६ कक्षामा भर्ना गरिदिनु भयो । त्यसपछि मैले सरितालाई देखेको, भेटेको हो ।

म कक्षागत साथीहरू भन्दा शारीरिक रूपमा अलि ठूलो थिएँ । कारण मैले गाउँमा पाँच कक्षासम्म पढेर छाडेको पनि तीन वर्ष भइसकेको थियो । मेरो गाउँको विद्यालयमा त्यतिसम्म मात्र पढाइ हुन्थ्यो । त्यसपछि माथिल्लो कक्षा पढ्न कि त छिनामखु वा दावाँ वा सदरमुकामको हाईस्कूल जानुपर्थ्यो । सो गर्न घरको अवस्था प्रतिकुल थियो । म पढ्न चाहन्थें तर सबै ढोका बन्द थिए । मेरो बुवा बितेको पनि तीन वर्ष भएथ्यो । एकजना दिदीपछिको म । अन्य तीन जना भाइ र एक बहिनीलाई जनीबनी गर्दै पाल्नु पर्ने । म दिदीलाई सघाउँदै त्यसैमा व्यस्त भएँ । पढाइ मेरो लागि मृगतृष्णा भो ।

गाउँका युवाहरू सधैंजसो तास खेल्थे । खेल्दा रक्सीसँग भालेको मासुको सितन खान्थे । कहिलेकाहीं यसो फुर्सद निकालेर म पनि तास हेर्न पुग्थें । उनीहरूको अराउपठाउमा सहयोग पनि गर्थें । उनीहरूको खान्की पनि खान पाउँथें । मनारेञ्जन पनि हुन्थ्यो । एकचोटी… तिहारको छेक थियो, गाउँमा भाले पाइएन । तासे समूहले मलाई भाले र रक्सी किन्न पारी दावाँ गाउँको बलौटे बजार पठाए । म रिमचिम गाउँको वारिटोलबाट हरर ओरालो झरेर पिखुवाखोलाको बाँसको फड्के तरेर दावाँ वाछालाको उकालो हुँदै बलौटे बजार पुगेँ ।

त्यहाँ एक हूल मानिसहरू डाइस (लंगुरबुर्जा) खेल्दै रहेछन् । म पनि यसो हेर्न भनी बसें । खेल निक्कै रोमाञ्चक ढङ्गले चल्दै थियो । बच्चा, जवान, बूढा सबै मच्चीमच्ची आ–आफ्ना दाउ बोलाउँथे । उनको दाउमा परे उफ्रन्थे, रमाउँथे । उनको खुशी थामी नसक्नुको थियो । त्यो हेरेर मलाई पनि खेलूँ खेलूँ लाग्यो । यसो विचार गरें, ‘जहाँ इच्छा त्यहाँ उपाय’ भने झैँ मैले जुक्ति निकालें । भाले र रक्सी किन्न ल्याएको पैसाले अलिअलि खेल्छु हारे पनि अलि कमको भाले किन्छु कसलाई थाहा हुन्छ र ? जिते त गज्जब नै होला भन्ने सोच्दै म पनि अन्य समूहका मानिस सरह दाउहरूमा पैसा राख्न थालें ।

केही समय त जित्दै थिएँ, पछि–पछि हार्दै गएँ । जति पैसा हार्दै गएँ फर्काउनलाई अलि बढी–बढी रकम राख्न थालें । मेरो दाउ पर्दै परेन । अन्तमा सबै पैसा हारें । अब भने मेरो बिजोग हुने भो । गाउँ फर्कूं भाले र रक्सी नलगे केटाहरूले मारी हाल्छन् । जाऊँ कहाँ जाऊँ, जाने ठाउँ छैन ।

जे त होला अब सदरमुकाम भोजपुर बजार जान्छु । कतै साहुकामा जे काम पाए पनि गर्छु भन्ने सोच्दै भोजपुरतिर लागें । म दावाँको छोटीपसल, दोहोरीपसल, ढोँडेपाटी, शेराखोला, बोखिम, देउराली हुँदै भोजपुर बजार त पुगेँ तर जाने कहाँ, बस्ने कहाँ थाहा छैन । तिहारको बेला, देउसी टोलीहरू देउसी खेल्दै बजारैभरी हिंडिरहेथे । म पनि उनै एकसँग मिसिएर यताउता हिंडिरहें । जब राती देउसी सकियो सबै आ–आफ्नो घर गए । म भने बजारबीच भन्ज्याङमा रहेको पाटीमा त्यतिकै निदाएछु ।

जब बिहान भो, बजार आफै व्यस्त थियो । म भने भन्ज्याङ–टुँडिखेल–डाँडागाउँ–भोटेपसल ओहोरदोहोर गरिरहें । जब भोक र थकाइले चूर भएँ, एउटा घरको पेटीमा निदाएछु । त्यतिकैमा घरको मूलकी कतैबाट आउँदा देखेछन् । किशोर अवस्थामा प्रवेश गर्दै गरेको ठिटो, खाली खुट्टा, फाटेको टालेको लुगा लगाएको, कलेटी परेका ओंठ, निन्याउरो । घरमूलकीलाई दया लागेछ । अनि उठाएर बान्तवा राई भाषामा सोधे:

– अई, आम खिम खाडा (ओई, तिम्रो घर कहाँ हो) ?

– रिमचिम (रिमचिम गाउँ हो) ।

– खाना साङको छा (तिमी कस्को छोरा हौ) ?

– केत्लाक ओ (केत्लाक ¬(गाउँले नाम) को) ।

– अनि खात्नी खात्याङको (अनि कहाँ हिंडेको त) ?

– कोइसी (घुम्न ) ।

– कोक चा हे माआङको (खाना खायौ कि छैन) ?

– माआङ (छैन) ।

यति सोधनी गरेपछि वहाँले मलाई घर बाहिरको भर्‍याङबाट एक तला माथि लैजानु भयो । अनि बडीआमालाई यसलाई खाना देऊ, भोकै छ भनेपछि खाना दिनुभो । अनि ‘यहीं सघाउ र बस’ भन्नुभएपछि बडाबा’कोमा मेरो बसाइँ शुरू भयो । त्यसपछि बिहान–बेलुकी पानी ल्याउने, भाँडा माझ्ने, लुगा धुने काम गर्न थालें अनि दिउँसो पढ्न विद्यालय जान थालेपछि हो सरितालाई मैले भेटेको ।

उता सरिता पनि घरमा दाजुभाइ दिदीबहिनी धेरै भएकाले भोजपुर देउराली मामाघरमा बसेर त्यहीँ स्कूलमा पढ्दी रहेछिन् । त्यसैले पनि होला उनी पनि आफ्ना साथीहरूको बीचमा केही ठूली देखिन्थिन् । पढाइलेखाइ, खेलकूद, कविता लेखन, गीत गायनमा म अब्बल थिएँ । सरिता पनि उस्तै बेजोड थिई । एक किसिम हाम्रो अदृश्य प्रतिस्पर्धा थियो । त्यसैले उसका साथीहरूले मेरो नामसँग जोडेर जिस्काउँदा रहेछन् । मलाई पनि उनी राम्री लाग्थिन् । कहिलेकाहीं शुक्रवार स्कूल छुट्टी भएपछि घर जाँदा सँगसँगै दावाँसम्म जान्थ्यौं । अनि म अरू दुई घण्टा हिंडेर मेरो गाउँ रिमचिम पुग्थें ।

यस्तैमा एकदिन बडाबा’ले – ‘धनकुटा उत्तरपानीमा छात्रवृत्तिमा जेटिए पढ्ने खुलेको छ । खान, बस्न र पढ्न पाइन्छ, जाऊ’ भन्नुभएपछि मैले आवेदन फारम भरेर बुझाएँ । नभन्दै केही महीनापछि म पूर्ण छात्रवृत्तिमा पढ्नका लागि छानिएँ । र पढ्न धनकुटातिर लागेँ । त्यसपछि सरितासँगको मित्रताको धागो चुँडियो ।

केही वर्षपछि म बिदामा घर आउँदै थिएँ । सधै| झैं ढोँडेपाटी चौतारामा बिसाएर बाटोमुनिको धारोमा पानी खाएर आराम गर्दै थिएँ । तलबाट एक युवती घाँसको भारी बोकेर आउँदै थिइन् । नजीक आएपछि थाहा भो सरिता रहिछे ।

मलाई देख्ने बित्तिकै ‘अबुई कस्तो मुर्दार’ भन्दै भारी बिसाई । अनि छक्क परी । म पनि के भन्ने के भन्ने भएँ । ‘यतिका वर्ष कहाँ गा’को थियौ ? लाहुरे भयौ कि ? कि कोइला खानीतिर गयौ भन्ने लाग्दै थियो । भेट हुनु रै’छ मुर्दार ।’ भन्दै सरिताले मनको भँडास पोखिन् । मैले आफ्नो सबै ‘अपडेट’ दिएँ । र सो कुरा नभनी हिंडेकोमा क्षमा याचना पनि गरें । अनि दुई दिनपछि शनिवारको दिन धनकुटा फर्कने कुरा पनि भनें । उनी पनि सोही दिन यहीँ चौतारामा भेटेर भोजपुर बजारसँगै जाने कुरामा सहमत भइन् । मलाई उनको घर लान कर गर्दै थिइन् । म हतारमा भएकोले नजाने भनेपछि हामी शनिवार भेट्ने बाचाका साथ छुट्टियौं ।

योजना अनुसार म रिमचिम वारिटोलबाट शनिवार बिहानै हिंडें भोजपुरको लागि । नभन्दै सरिता पर्खेर बसेकी रहिछे ढोंडेपाटी चौतारामा । हामी एकअर्काले भेट्ने बाचा पूरा गरेकोमा खुशी भयौं । अनि कुरा गर्दै पहेंलपुर धानका तरेलीहरू बीचबाट बनेको ढुंग्यान सिँढीहरूको मूल बाटैबाटो ओरालो झरेर शेराखोलाको झोलुङ्गे पुल तर्यौं र उकालो काटेर खमारेको चौतारामा बस्यौँ ।

उसले चाम्रे र उसिनेको अण्डा रातो हुनेगरी डामेर ल्याएकी रहिछे, खायौँ । अनि मसँगै ढेसिन्दै पारि दावाँतिर देखाएर ‘ऊ त्यो खेत माथिको रूख निरको घर त हो मेरो, अस्ति जाऔं भन्दा मानेनौ’ भनिन् ।

‘पछि कति जानुछ कति, अहिले के को हतार भनेर नगएको’ भनेँ ।

उसले खै गरी । मैले उसको जीउडाल नियालेर हेरें । उसको हात र केस खेलाएँ । अधरमा चुम्मा खाएँ । ‘छि मान्छेले देखे भने के भन्छन्’ भन्दै ऊ अलग्गिई । यसरी हामी दावाँबाट भोजपुर हिंडेको पनि वर्षौं भएछ । भोजपुर पुगेपछि ऊ देउराली मामाघर पसी । म बडाबा’कोमा गएँ । दिउँसो फेरि शनिबारे हाटमा भेट्यौँ । ऊ मामाको छोरी उसकी बहिनीसँग आएकी रहिछ । सँगै हाट घुम्यौँ । चिया, सेलरोटी र आलुदमको खाजा खायौँ अनि छुट्टिने बेलामा चिठ्ठी लेखालेख गर्ने भनेर ठेगाना साटासाट गर्यौं र छुट्टियौं । त्यसको भोलिपल्ट म खाली बहकिन्दो मन लिएर पहारपानी, दुङमा, मानेडाँडा हुँदै अँधेरीघाटको बाटो भएर धनकुटाको उत्तरपानीतर्फ लागें ।

म उत्तरपानी आएपछि हाम्रो पत्राचार शुरू भयो । मेरो जेटिएको अन्तिम तथा प्रयोगात्मक परीक्षा पनि सकियो । म विशिष्ट श्रेणीमा उत्तीर्ण भएँ । जागीर खोज्ने क्रममा लोकसेवा दिएको पास भएँ । मेरो तेह्रथुमको कृषि विकास कार्यालयमा ‘पोस्टिङ’ भयो । यतिकैमा उनले पनि एसएलसी दोस्रो श्रेणीमा उत्तीर्ण गरेको कुरा लेखिन् । अनि कहाँ पढ्ने, के पढ्ने सल्लाह मागिन् । ‘एजुकेशन’ पढ्ने भए धनकुटा आउनु भनेर सल्लाह दिएँ । सोही अनुसार योजना बन्यो । तर पछि कुन्नि के मिलेन ऊ भोजपुर नै पढ्न थालिन् ‘आर्ट्स’ लिएर । त्यसपछि भने हाम्रो चिठ्ठीपत्र आदानप्रदान बन्द भो ।

सरकारी जागीर दुई वर्ष खाएपछि मैले पुनः दुई बर्से जेटी पढ्न सेवाकालीन छात्रवृत्ति पाएँ र पुनः उत्तरपानीमा पढ्न थालें । सो बीचमा एक चोटि घर जाँदा म उसलाई खोज्न उनको मामाघर भोजपुर देउराली गएँ । उनको बहिनीले ‘दिदीको बिहे भा’को एक वर्ष भो, संखुवासभाको मान्छेसँग । अहिले उतै बस्नुहुन्छ’ भनेपछि म रन्थनिएँ ।

कस्तो निष्ठुरी एकचोटी खबर त गर्नुपर्छ नि भन्ने सोचें तर के गर्नु ? हुने कुरा भै सकेको थियो । मैले जेटी कोर्स पनि पास गरें अनि जागीरकै क्रममा धरानको एक सुशिल युवतीसँग विवाह गरें । दुई मायालु छोरीहरू भए । जागीरको क्रममा गोरखा, धादिङ हुँदै हाल काठमाडौंमा छु ।

यसरी धेरै पानी कोशीमा बगिसके पछिको ‘फ्रेन्ड रिक्वेस्ट’ हो यो । ‘ऐक्सेप्ट’ गर्ने कि नगर्ने ? ‘ऐक्सेप्ट’ गरे पनि के कुरा गर्ने ? हुँदै जे होस् उनले सम्झेछिन् भन्ने सोंच्दै ‘ऐक्सेप्ट’को बटन थिच्छु । उताबाट ‘थ्याङक्यु’ लेखेर ‘लभ साइन’ आउँछ । अनि हाम्रो ‘च्याट’ शुरू हुन्छ ।

‘सन्चै हुनुहुन्छ ?’

‘सन्चै छु । तिमीलाई कस्तो छ ?’

‘ठीकै छु, बाँचेकै छु ।’

‘अचम्म…कसरी सम्झियौ त ?’

‘मनमा बसेको मान्छेलाई सम्झिन्न त ?’

‘अहिले कहाँ छौ ?’

‘भोजपुर, माइत आ’को छु तिहारमा ।’

‘कहाँ बस्छौ, के गर्छौ नि ?’

‘संखुवासभातिर बस्छु । शिक्षक छु ।’

‘बूढा के गर्छ नि ?’

‘ऊ पनि शिक्षक नै छ ।’

‘छोराछोरी कति भए ?’

‘एक छोरी, एक छोरा । छोरी पोखरामा नर्स छे । छोरा काठमाडौंमा इन्जिनियरिङ पढ्दै छ ।’

‘अनि तपाईं चाहिं कहाँ हुनुहुन्छ नि ?’

‘म पनि भोजपुरमै छु । गाउँमा ।’

‘भेट्ने होइन ?’

‘अब के भेटाइ भो र निष्ठुरी । ल भेटौं भने पनि भेटौं रे । भेटेर के भन्ने ? के गर्ने ?’

‘कुरा गर्ने । अँगालो हालाहाल गर्ने । चाटाचाट गर्ने । पहिला बाँकी रहेको सबै गर्ने… ।’

‘मर्ने बेला हरियो काँक्रो ।’

‘म त अब फ्री । बूढा पनि वाक्क, म पनि वाक्क । नयाँ बूढाबूढीमा मज्जा आउँछ नि… ।’

‘कस्तो छिल्लिएकी ?’

‘अनि के त ? मन परेको मान्छेसँग कुरा गर्नै नपाउने ? भेट्नै नपाउने ? खोइ मेरो स्वतन्त्रता…?’

‘हम्…..’

‘तिम्रो फोन नं. देऊ त ।’

‘९८०१८…….’

‘तपाईंको नि ?’

‘९८५१०…….’

‘फोन गर्दा उठाउनू नि ।’

‘बिहे गर्दा सम्झेको थियौ र ?’

‘के गर्नु बाध्यतासँग जुध्न सकिनँ । भेटेर भन्छु ल ! गुड नाइट….।’

‘गुड नाइट….।’

ज्ञानराज अचम्मको उल्झनमा पर्‍यो । योसँग भेट्ने कि नभेट्ने यो उमेरमा ? भेटेर उसले भनेसरी गर्ने हो भने के हुने ? यतिका वर्ष अरूसँग बितायौं । सांसारिक जिम्मेवारीहरू निभायौं । ‘पहिले त एक हुन सकेनौं, एकबारको जुनी हो अब चाहिं बाँचुञ्जेलसम्म सँगसँगै बसौं’ भनी भने के गर्ने ? ज्ञानराज बडो  दोधारमा पर्‍यो । उसले आफ्नो घरपरिवार, काम, इज्जत, इमान सम्झ्यो । उसलाई धेरैबेर निद्रा परेन । यता पल्टियो, उता पल्टियो । रातको दुई बजेतिर कसोकसो गर्दा झ्याप्प निदाएछ ।

बिहान उठ्दा माथि ट्याम्के डाँडामा झलमल्ल घाम लागेको थियो । तल पिखुवा बगिरहेथ्यो, स्वाँ… गर्दै निरन्तर….।