“सर म यहाँ केही बेर भुल्छु । सर जाने कि पर्खने ?” सरिताले एउटा मोडमा आएपछि भनिन् ।

म दोधारमा परेँ । ‘ध्रुव, सरितालाई सँगै ल्याइज है, बीचमा कतै नछोडेस्, आज केटा पक्ष हेर्न आउनेवाला छन् ।’  छिमेकी दिनेशले बिहान भनेको कुरा सम्झँदै मैले भनेँ, “हुन्छ, म पर्खन्छु । यहाँ पार्किङ छैन तिमी जाने ठाउँमा पार्किङ भए म त्यतै पर्खन्छु नि त ।”

उनले केही सोचिन् र ‘हुन्छ, सँगै जाऔँ’ भनी  स्कूटीमा बस्दै गल्लीभित्रको बाटो देखाउन थालिन् । केही बेरमा हामी एउटा कम्पाउन्डभित्र प्रवेश गर्‍यौँ । मेरो कक्षा बन् गर्नेहरू पनि टाउको निहुराउँदै यहीँ भेटिए । केही मैले नचिनेका पनि थिए ।  मलाई एउटा कुर्सीमा राखेर उनीहरूले अलमल नगरी आफ्नो अभ्यास थाले । उनीहरूले पालैपालो यसरी भन्दै गए :

“कुरा अलिक पुरानै हो । हाम्रा बुढा हजुरबा सत्ताका जमिन्दार थिए । उनले आफ्ना मान्छेहरू लगाएर प्रशस्त सम्पत्ति जोडे । काँगडादेखि टिस्टासम्मको सबै सेरोफेरो जम्मै मेरो बनाए ।  त्यहाँ राम्ररी हैकम जमाउन नपाउँदै छिमेकी गोरे जिमीदारसँग उनको खटपट शुरू भयो । गोरे  पनि  कम्ती मापाको थिएन । ऊ त झन् सात समुद्र पारिबाट सबैको जमिन्दारी खोस्दै आफ्नो बनाउँदै आएको थियो । उसले हजुरबाको जमिन्दारीमा आँखा मात्र लगाएन त्यसलाई धमाधम आफ्नो कब्जामा पार्दै लान थाल्यो । ऊसँग नयाँ नयाँ हतियार थिए । खुकुरीको भरमा मात्र उससँग कति दिन लड्न सकिन्थ्यो र !  त्यसैले बुढा हजुरबा जति सक्यो चाँडै मिलोमतो गरी ‘सर्वनाशे समुत्पन्ने अर्धम् त्यजति पण्डितः’ को सिद्धान्त अपनाउन बाध्य भए । सुगौलीमा सन्धि गरे । त्यसको परिणाम मनमनै मुमुरिँदै काली नदीभन्दा पश्चिम र कोशीभन्दा पूर्वको जमीन छाड्न बाध्य भए । संसारमारा गोरे पछि यहाँको जमिन्दारी छोड्न विवश त भयो तर त्यो जमीन, उम्केको माछो ! के हात लाग्थ्यो ! ऊ गए पनि रैथानेले आफ्नो बनाई मात्र हालेन बेला बेलामा साँध मिच्ने पनि गर्दै आएको छ ।…”  

“…त्यसो त बुढा हजुरबाका भित्रीनीपट्टिका सन्तानको लेखाजोखा नै छैन अरे । तर विवाहिताबाट जन्मेका तीन जना हजुरबाका सन्तानले अहिले डाँडाकाँडा ढाकेको छ । बुढा हजुरबाले आफ्ना सन्तानलाई अंश दिन साह्रै कन्जुस्याइँ गरे । हजुरबाभन्दा पनि उनका मतियारहरू अझ कडा भएर निस्किए । उनीहरूले सत्तासीन बुढा हजुरबालाई नै मुट्ठीको माखो बनाए । त्यसैले बुढा हजुरबा र जेठा हजुरबा मिलेर मतियारलाई  सात सालमा पाखा लगाई छाडे । यसरी सहयोग गरी सत्ता फर्काएकामा खुशी भई बुढा हजुरबाले जेठा हजुरबालाई केही जग्गा दिए । उनी खुशी भए । उनको फुर्ती नै चर्को भयो तापनि  उनले बेला बेलामा अंशको लागि किचकिच गर्न भने छाडेनन् । पन्ध्र सालमा त सत्तासीन बुढा हजुरबालाई आच्छु आच्छु नै खेलाए । बुढा हजुरबालाई चौपट्टै रिस उठेछ । उनको पालो ‘तँलाई त म सत्ताको सिन्काको सुतरी पनि दिन्नँ’ भनेर सत्र सालमा जेठा हजुरबालाई घरबाटै निकालाबास गरिदिए । छ सालमा जन्मेका माइला हजुरबाले पनि बुढा हजुरबाको यस रवैयाको खासै विरोध गर्न सकेनन् ।…”

“…जेठा हजुरबालाई सत्ता सम्पत्तिबाट बेदखल गरेपछि बुढा हजुरबा कानमा तेल हालेर आनन्दले चैन गरेर बसे ।  निकालाबास भएका जेठा हजुरबाले बेला बेलामा अंशका लागि खैखबर त पठाउँथे तर बुढाको कानमा बतास लागे पो !  यति बेलासम्म त माइला हजुरबा पनि जवान भइसकेका थिए । उनले पनि अंशका लागि पटक पटक बुढा हजुरबालाई दबाब दिन थाले पनि उनी एकलैको जोड पुगिरहेको थिएन ।

यसबीच तेत्तीस सालमा जेठा हजुरबा आफ्नो घर छाडेर अर्काको घरमा कति बस्नु ! जे भए पनि आफ्नै घर जान्छु भनी फर्के । सत्तासीन बुढा हजुरबा र उनका नयाँ मतियारलाई भने यो कुरा पचिरहेको थिएन । अब जेठा र माइला हजुरबा मिले । किनकि दुवैको पीडा एउटै थियो । छत्तिस सालमा दुवै मिलेर बुढा हजुरबासँग सत्ताको अंशका लागि सङ्घर्ष गरे । मुद्दा हाले । जन अदालतमा मुद्दा चल्यो । नयाँ मतियारहरूको चलखेलले दुवै हजुरबाले मुद्दा हारे तापनि उनीहरू चुप लागेर भने बसेनन् । पटक पटक आफ्नो अधिकारका लागि सङ्घर्ष गर्दै रहे । छयालिस सालमा दुवै मिलेर आफ्नो अधिकारका लागि ठूलै सङ्घर्ष गरे । उनीहरूलाई छिमेकीहरूले पनि साथ दिए । बल्ल आएर बुढा हजुरबा उनीहरूलाई केही सम्पत्ति अर्थात् सत्ताको अधिकार दिन बाध्य भए । दुवै हजुरबाले चित्त बुझाए ।…”

“…यसबिच कान्छा हजुरबा पनि जवान भइसकेका थिए । उनले जेठा र माइलाले पाएको सत्ताको अधिकारमा चित्त बुझाएनन् । उनले विद्रोह गर्ने सुर कसे । त्यसैले उनी जङ्गल पसे र त्यहीँ विद्रोहका लागि दश वर्षसम्म तयारी गरे । यो कुरा थाहा पाएका जेठा र माइला हजुरबाले उनलाई घर फर्काउने प्रशस्त प्रयत्न गरे तर उनी मानेनन् । उल्टै जेठा र माइलालाई धम्क्याउन थालेकाले जेठा हजुरबाले उनको टाउकाको मूल्य नै तोकिदिए । बुढा हजुरबा भने कान्छोप्रति त्यति असहिष्णु देखिएनन् । यसबिच सत्तासीन बुढा हजुरबाका सकल परिवार षडयन्त्रमा परी मारिएकाले अबको हालीमुहाली उनको कान्छो भाइमा आइपुग्यो । उनी दाइभन्दा अझ कठोर बने । दाइले छयालिस सालमा दिएका अधिकारहरू पनि खोस्न उद्धत भए । परिणामतः तीनै जना हजुरबाहरू मिल्न बाध्य भए । त्रिसट्ठी सालमा यी तिनै जना मिलेर बुढा हजुरबाका विरुद्ध खनिए । बुढा हजुरबा पराजित भए ।  बिचरा त्यत्रो वर्षदेखि हैकम चलाउँदै आएका बुढा हजुरबाको लहरो घरबाट निकालियो । उनीहरू मरे सरह भए । …”

“…अब बल्ल आएर हजुरबाहरूलाई सबै अधिकार प्राप्त भयो  अर्थात् सत्ताको अंश पाए । उनीहरूले मिलीजुली यसको सञ्चालन र उपयोग गर्नका लागि त्रिहत्तर सालमा एउटा विधि बनाए । यसअनुसार सबै जनताले जसलाई अनुमति दिन्छ उसले पाँच वर्षसम्म उपयोग गर्न पाउने नियम बन्यो  । जनताले भने एउटैले मात्र पाँच वर्षसम्म हालीमुहाली गर्ने अनुमति दिएन । परिणामतः सबैले मिलेर यसको  उपयोग गर्नुपर्ने भयो ।

सत्ताको स्वाद चाखेपछि हाम्रा हजुरबाहरू दिनप्रतिदिन स्वार्थी बन्दै गए । कहिले जेठा र कान्छा मिलेर माइलालाई सताउने कहिले कान्छा र माइला मिलेर जेठालाई सताउने र कहिले दुवै मिलेर कान्छालाई पाखा पार्ने गर्न थाले । तीनओटै हजुरबाका प्रशस्त छोराछारी र नाति नातिनाहरू छन् । ‘बा अब बुढो हुनुभयो । हामीलाई अधिकार दिनुहोस् हामी घर चलाउँछौँ’ भनेर छोराछोरीले कत्ति भन्दा पनि उनीहरूको कानमा बतास लागेको छैन । उल्टो “तिमीहरू नकराओ । कसले भन्यो म बुढो भएँ । म नमरुन्जेल यो सत्ता छोड्दिनँ” पो भन्छन् !  जेठा हजुरबालाई गगनबाहरूले कति गनगन गरे । सुने पो !  माइला हजुरबा त झन् घामट !  एकपल्ट ‘सत्तरी वर्ष पुगेपछि छाड्छु’ भनेका अहिले त “कहाँ छाड्छु, अझै खान्छु” पो भन्छन् बा !  त्यति मात्र कहाँ हो र ! जसले छाड्न जोडबल गर्छ उसकै पत्ता साफ गरिदिन्छन् !  कान्छा हजुरबा त झन् कठोर । जङ्गल पसेदेखि अहिलेसम्म पनि पहिलोका पहिलो । जनार्दन काकाहरूले जति कराए पनि एक कानले सुन्यो अर्को कानले उडाइदियो सकियो ।…”

” …हो, यो सत्ता अधिकारको पैतृक सम्पत्ति वा अंश अझै हजुरबा पुस्तामै छ ! बा पुस्तामा कहिले आउने ! अनि हामी नाति पुस्तामा कहिले ! त्यसैले बिरक्तिएर कति नाति नातिना त मुगलान भासिइसके । कति त नफर्कने गरेर उतै बसिसके । हामी यहाँ बसेकालाई दिनको भोक न रातको निद्रा भएको छ । हजुरबाका सत्ताको लोभ, स्वार्थीपन र सौख देखेर हामी छाती पिट्न बाध्य छौँ । नातिनातिनालाई मुखमा माड लाग्न नदिई आफू मात्र सत्ताको स्वादिलो स्वाद हसुर्ने ! आफ्नो मात्र दुनो सोझ्याउने ! पनि कहीँ कसैको हजुरबा हुन सक्छ !  सबै नाति, पनाति पुस्ता यही पीडाबाट आक्रान्त छ, विक्षिप्त छ र त जन्मन्छ यो ‘विद्रोही जेन्ज‘ ।…”अन्त्यमा सरिताले भनिन् । यसपछि सबै मिली  २-४ पल्ट  अभ्यास गरेपछि सरिता साथीहरूसँग बिदा भइन् । म पनि सँगै निस्केँ ।

‘सर आउने सेप्टेम्बर आठमा माइतीघरमा हामी जेन्जीहरूको भ्रष्टाचार विरुद्ध प्रोटेस्टको कार्यक्रम छ । त्यहाँ उपस्थित जेन्जी साथीहरूलाई हामीले यो सुनाउनु छ । त्यसैले आज भेटिएर अभ्यास गरेका ।’ बाटामा सरिताले कुरा अझ स्पष्ट पारिन् । हामी करिब एक घण्टापछि आआफ्ना घरमा भित्रियौँ ।

सेप्टेम्बर आठमा कलेजबाट घर फर्कन बाटो बन्द भएका कारण सम्भव नभएकाले म बानेश्वरको साथीको घरमा छिरेँ । बाटामा जेन्जीहरूको नाराबाजीसहितको भीड बाक्लो थियो । सशस्त्र प्रहरीबल हातहतियार सहित सुरक्षा घेरामा तैनाथ थिए । मैले देखेँ मेरा कलेजका विद्यार्थीहरू सबैभन्दा अगाडि थिए । अचानक ढ्याङ, ढ्याङ, ढ्याङ गोली चल्यो । मैले देखेँ उनीहरू त्यहीँ ढले सदाका लागि । म किंकर्तव्यविमूढ भएर हेरी नै रहेँ, अपलक हेरी नै रहेँ ।