
“प्रजातन्त्रको ट्रेन छुटिसक्यो |
रातो बत्ती बलिसक्यो |
समाजवादको सुविधासम्पन्न डिब्बामा आराम गर्नुहोस्
… … … … … … … … …
हामीलाई भोट दिनुहोस् | विकास जाबो त चुड्किको भरमा गर्छौँ । गरिबी धपाउँछौँ । हिजो पञ्चायतले तीस वर्ष खायो । अब हामीले यो देशलाई मात्र दश वर्षमा सिङ्गापुर बनाउँछौँ । सडक धुने पानी, बिजुली, नयाँ नयाँ कल कारखाना ………….”
भिडले तालीको पर्रा छुटायो ।
खुसीको शङ्खनाद सिट्ठी बजाइए !
“रोजगारी नहुनेलाई रोजगारी
घरबार नहुनेलाई घरबार …
नेता ताराप्रसाद हाई हाई !
नेता ताराप्रसाद हाई हाई !!
………..चोर बाई बाई !!!
………..चोर बाई बाई !!!!।
सिठी बज्यो , मान्छेहरू उफ्रिए उनको जदुगरीय करिस्मा |

डा रामहरि पौड्याल
समतामुलक समाज ! कानुनको राज्य !! राजादेखि रङ्कसम्म सबैलाई बराबरी ।
उनी अजै हौसिंदै भन्दै गए –
बिपीले यसो भन्नु हुन्थ्यो –
देशको एक मुठी माटो छोएर ……
योजना आयोगमा गरीब किसानको फोटो राखेर …….
पुष्पलाल कमरेड त्यसो भन्नुहुन्थ्यो –
सर्वहाराको अधिनायकवाद …….
विभेदको अन्त्य ……… ।”
समाजवादी नेता ताराप्रसादले जोडदार भाषण गरे ।
बिर्खेले जोडले ताली पिट्यो उसका हत्केलाहरू हप्ताभरि राता भैरहे दुखेर बल्किरहे । उसलाई त्यसको कुनै पर्वाह थिएन । ऊ एउटा पार्टीको इमान्दार सिपाही थियो र थियो एउटा जुझारु क्रान्तिकारी ।
बिर्खेजस्ता युवाहरू अहोरात्र खटे चुनावभरि तारा प्रसादलाई जिताउन । परिवर्तनको सपना साँचेर दुनियाँले भोट दिए ताराप्रसाद सांसद र मन्त्री बने ।
आफ्नो कलेजको पढाइ सकेर जागिरको चक्करमा घनचक्कर मारेर थाकेपछि अन्त्यमा मन्त्री क्वाटरमा पुगेको बिर्खे त्यसदिन दङ्ग पऱ्यो । कलेजमा आफूलाई अर्को समूहबाट ढुङ्गा हान्ने उसको प्रतिद्वन्द्वी ऊभन्दा पहिले मन्त्री क्वाटरमा पुगेको थियो । पालो कुरिरहेको उसलाई ती आफ्ना पार्टीका मन्त्रीले बाल दिएनन् । बरु त्यही ढुङ्गा हान्ने विरोधीलाई ससम्मान भित्र लगे । यो अनपेक्षित व्यवहार देखेर ऊ ट्वाल्ल परिरह्यो । जागिर उसैले पायो । बढुवा टन्न पैसा पेलेर अर्कैले उछुट्टायो ।
करोड असुल्ने सर्तमा ठेक्का चरीले उडायो ।
बुथ लुटेर धेरै ठाउँमा पार्टीलाई माथि उठाउने युवा सङ्गठनको घैँटे मन्त्री बन्यो मनोनित कोटामा ।
भान्जालाई जियम, सालीलाई पिए ।
अन्डर म्याट्रिक चाटुकार हर्के दुई करोड बुझाएर विमान कम्पनीको जियम ।
बिएमा सत्रचोटि फेल भएर राजनीतिमा लागेको दामदेवले बिजुली अड्डाको महाप्रबन्धक पड्कायो ।
“कसरी मैले सबैलाई जागिर खुवाउन सक्छु ?”
मन्त्रीले टन्न हकारेर पठाए उसलाई त्यस दिन ।
विगत दुई दशकमा देशले ठुलो फड्को माऱ्यो । राजनैतिक परिवर्तन – प्रजातन्त्र , गणतन्त्र , समावेशिता, उदार अर्थतन्त्र , खुला अर्थव्यवस्था , सबै सबै प्रयोगमा आए । विगत चौबिस वर्षमा मुलुकले २१ वटा प्रधानमन्त्री बेहोऱ्यो । सरकारी स्वमित्वका संस्थाहरू निजीकरण गरिए । राजनीतिक नियुक्तिको कुचक्रले बाँचेका केही संस्थाहरूलाई सेतो हात्ती बनाएर दुनो गाई बनाइयो । कर्मचारी भर्ना । आ-आफ्ना पार्टीपिच्छेका भातृसंस्थाहरू खोलिए । तिनको काम मजदुर हक हित कम र पार्टीका पुङ्ग न पुक्षरका मान्छेहरूको दलाली गर्नु बढी भैरह्यो ।
गणतन्त्र र लोकतन्त्रका दुई दशक सरकार बनाउने गिराउने खेलमै सकिए । विगत आठ वर्षदेखि संविधानको खेतीमा देश यसरी रल्लिएको छ । जातीयता, साम्प्रदायिकताको घोडा चढेर आफ्नो प्रान्तको मुख्यमन्त्री बन्ने खेलमा जनतालाई झुक्काइरहेका छन् । सबैलाई राज्य दिन्छौँ –
स्वतन्त्र मधेश प्रदेश !
लिम्बुवान !!
खुम्बुवान !!
थारुवान !!!
मगरात !!!!
नेवा प्रदेश !!!!!
हामीलाई भोट दिनुहोस् । आफ्नो राज्य आफैँ छान्नुहोस् । यो मुलुक अब सिङ्गो हुन सक्तैन । बहुन, क्षत्रीहरूको कब्जाबाट राज्य अब शोषित ,पीडित , सीमान्त र दलितहरूको हातमा फर्काउँछौ | मुक्तिको यो लडाइँमा हामीलाई साथ दिनुहोस ।
प्रचण्डशैलीमा भाषण गर्दै बाम नेता मिसाइलले टुँडिखेल थर्काए । सोझा जनताले ताली बर्साए । नेता हुनु त यस्तो पो !
त्यतिले पुगेन अर्का थरीले अर्को फर्मुला झिके ! राजतन्त्र फर्काउने सपना देखे । धर्मभीरु नेपाली जनताको सेन्टिमेटमाथि खेले र भने हिन्दूराष्ट्र हुनुपर्छ ! क्रिस्चियन पश्चिमाहरूको पैसा खाएर मुलुकलाई धर्म निरपेक्ष बनाइयो । राष्ट्रको कुनै धर्म हुँदैन भन्ने कमरेडहरू देशको विभाजन भने जत्तिकै नाममा हुनुपर्ने राग अलापी रहेका छन् ।
हिजो भ्रष्टाचारमा जेल गएकाहरू आज यही धर्माको सहारा लिएर गुमेको आफ्नो राजनैतिक साख फर्काउने मनसुबामा छन् । हामी जनता भेडा हौँ तिनै कुजातका बेमौसमका गोटी बनेका छौँ । गोली खाएका छौँ । गोलीको मूल्य पचास लाख पुगेको छ आन्दोलनको नयाँ फर्मुला ।
जनता बेकुब बनेपछि के लाग्छ ?
सुइय सुस्केरा हाल्यो बिर्खेले !
लासको राजनीति , बन्दको खेल, साम्प्रदायिकताको आगो यसरी सल्किँदै छ कि देश टुक्र्याउने धम्की दिनेहरूलाई एउटा स्पष्टीकरणसमेत सोध्न नसक्ने लाचार छाया बनेका छन् देशका ठुला पार्टीहरू ।
आगो लगाइएको छ , यातायात जलाइएको छ , एम्बुलेन्समा ढुङ्गा ठोकिएको छ । बन्द एउटा पर्व हो नेपालीको विगत पाँच वर्षमा १५० दिन बन्द मनाइएको तथ्याङ्क ।
खोइ नेपाली हुँ भन्ने भावना ?
देश मिचिँदा चुइँक्क नबोल्नेहरू परदेश विभाजनमा एउटा देशको सानो ठाउँ यता उता हुँदा यात्रु बसमा आगो लगाउँछन् । बाहुनका घर आगो लगाउने भाषण गर्छन् | पहाडेलाई मधेशबाट खेद्ने उर्दी सुनाइन्छ ।
स्वायत्त कर्णाली !
अखण्ड सुदूरपश्चिम !!
प्रदेशको राजधानी – भरतपुर ! सुर्खेत !! नेपालगञ्ज !!! प्रदेशको बाँड फाडमा आफ्नो भोलिको राजनैतिक भविष्य के हुने ? सबैलाई आ-आफ्नै चिन्ता छ | समग्र देश बन्ने बनाउने खोइ मुद्दा हामीसँग ?
बिर्खे एक्लै बोलिरह्यो आफ्नो मनको पिर ।
कालापानी , लिपुलेक देश चिथोरिएको छ । देश मिचिएको छ । कोही माइका लाल बोल्न सक्तैनन् छिमेकीसँग । लाइन लागेर दिल्ली दौडाहामा छन् आशीर्वाद थाप्न ।
दुईवटा एम्बुलेन्स , छोरालाई स्कलरसिप र सुरुङ्ग मार्गको ठेक्का , पन्चेश्वर , अरुण तेस्रो सबैको निर्माण ठेक्का । बुट सिस्टम ! पैसा नउठे देशले भर्ने सर्तमा विदेशीलाई देश भाडामा चलाउन दिने सर्त । आफ्नो राजनैतिक भविष्य सुनिश्चित गर्ने सही छाप ठोकेर फर्किँदा एयरपोर्टमा क्रान्तिकारी भाषण ठोक्ने चरित्र हाबी भैरहेको छ । देशको एयरपोर्ट र देशका ठुला हाइड्रो पावर र ठुला सडक सञ्जाल भाडामा लगाउन हामी लागि रहेका थियौँ । सरोगेट कन्ट्रीबाट अब सरोगेट मदरको देशमा रूपान्तरित भएका छौँ ।
आऊ बच्चा बनाऊ भाडामा छन् आमाहरू ।
आऊ देश बनाऊ भाडामा छ देश ।
बिक्रीमा छ देश ।
सरोगेट कन्ट्री !
सरोगेट मदरको देश !!
लागेको गर | लागेको उठाऊ | थोरै सहयोग गरेजस्तो गर एउटा हातले र उठाऊ अर्को हातले सकेको देश खोक्रो बनाउने गरी ।
हामीलाई छिटो कुद्नु छु । विकासको फड्को मार्नु छ । राजनीतिको छलाङ मार्न देश भाडामा छ । भूकम्प प्रतिरोधात्मक प्रविधि । फेरि कहिल्यै नढल्ने धरहरा उठाउनु छ | चालिस लाख युवाले खाडीमा पसिना बगाएका छन् काम र प्रविधि नपाएर । लाखौँ होनाहार बौद्धिक मान्छेहरू पलायन भएका छन् देशको दुर्गति देखेर । अझै हामी आफ्नो देश आफैँ बनाउन होइन भाडामा सुम्पन अन्ताराष्ट्रिय दाता सम्मेलन गरिरहेका छौँ र मागिरहेका छौँ भिख एक माना चामल र एउटा त्रिपाल पाएर दङ्ग छौँ | कोही त्यही त्रिपाल लुकाउन र कुम्ल्यौन उदात्त छौँ ।
बिर्खे रातो भयो उसका रौँहरू ठाडा भएर आए देशको बेथिति देखेर ।
खाने बानी परेकालाई देश दुख्दो रहेनछ । यत्रो महाविपत्तिमा पनि । क्रान्तिकारी भाषणमा जनता भड्काउने कला रहेछ | उल्लु हामी नै हौँ । चटकीले नचाएझैँ सबै सबैले हामीलाई नचाए । टुँडिखेल भराए | भेँडै बनाए पटक पटक । जुन सुकैले ढ्वाङ्ग फुके पनि हामी जिन्दावाद ! मुर्दावाद !! रूपान्तरित भैरह्यौ युगौँदेखि । काङ्ग्रेस, एमाले , एमाओवादी , राप्रपा , कस-कसले घुमाएनन् हामीलाई ?
जात, धर्म, प्रदेश सबै सबैको गोटी हामी भैरह्यौ | हाम्रो भऱ्याङ्ग चढेर ती सत्तासीन भैरहे हामीलाई दासता थोपरिरहे | खोइ काहाँ आयो परिवर्तन ?
स्वार्थ नमिल्दा पार्टीहरू फोरिए | स्वार्थ मिल्दा जोडिए | देश बनाउन किन मिल्दैन यो स्वार्थ ?
बिर्खे झन्डै चिच्च्यायो !
आयो परिवर्तन तिनका परिवारमा | तिनका चाकडहरूकोमा | हिजो हवाई चप्पल लाउनेहरू आज फाइभस्टार होटल नभई वार्तामा नबस्ने भए | अलिसान बङ्ग्लाका अधिपति भए | तिनका छोराहरू नव युवराजमा बदलिए | तिनलाई कानूनले छुने कुरै भएन | बचेनन् कसैका श्रीमती | बचेन कसैको नारी अस्मिता | हिजो बुर्जुवा शिक्षा बहिष्कार गरियो | आज देशमा शिक्षाको व्यापार चलेको छ | नयाँ मेडिकल कलेज , नयाँ इन्जिनियरिङ्ग कलेजको सम्बन्धन दिने नाममा हुने भ्रष्टाचार रोक्न कति गोविन्दहरूको अनसन चलिरहेको छ यो मुलुकमा ? माथेमा प्रतिवेदनले जिस्क्याइरहेको छ सबैलाई |
शिक्षा आयोग बन्यो करोड खर्च गरेर ६ मैना लगाएर विज्ञहरूले प्रतिवेदन तयार गरे सरकारले २ वर्षसम्म लुकायो उसको बिजनेस नचल्ने भो प्राइभेट स्कुल कलेज सबैमा कमरेडहरूको सेयर छ।
उखु किसान रोइ रहेका छन् हरेक वर्ष माइतीघरमा आएर
किसन रोइरहेका छन् मल नपाएर।
जनता कोरोनले आक्रान्त छन् मरिरहेका छन् साधारण भेन्टिलेटर नपाएर।
नेताहरू भ्रष्टाचारमा लिप्त छन् अन्ताराष्ट्रिय प्रतिवेदनले भनिसक्यो।
जनता जनार्दनले दिएको दुई तिहाइ बहुमत पचेन रातोदिन पद र प्रतिष्ठाको लडाइँ
अन्ततः देश मध्यावधिमा पुग्यो तीन वर्ष नहुँदै ।
हाय गणतन्त्र ! हाय समाजवाद !!
सरोगेट देश यतिखेर दुखिरहेको छ मात्र बिर्खेलाई | बिदेशमा छ | देश जलिरहेको छ | ऊ केही गर्न सकिरहेको छैन | बेथिति विसङ्गतिको यो पराकाष्ठाको अन्त्य कहिले ? उसको मनमा खेलिरहने यो यक्ष प्रश्नको जबाफ पर्खिरहेको छ | पर्खिरहेको छ ।
भरतपुर १२ / १९३, वसन्त चोक, चितवन
सम्प्रति: संयुक्त अधिराज्य बेलायत



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२१ कार्तिक २०८२, शुक्रबार 










