चिरबिर चिरबिर चराले गीत गाइरहेको थियो । जताततै कोलाहलै कोलाहल मच्चिइरहेको थियो । बटुवाहरू यताउता गर्दै थिए । घरको पालीमा परेवाका एक जोडीले गुँड बनाइरहेका थिए । मेरो आँखा भने अर्को गुँडमा रहेका बचेराहरू नियालिरहेका थिए । ती बचेराहरू भोक प्यासले तड्पिए झैँ मुख आँ आँ गरी पेट भर्न आफ्ना बाबुआमासँग गुहार माग्दै थिए ।

यसै क्रममा अचानक मेघ गर्जिँदै ठूलो पानी दर्किन थाल्यो । केही चराहरू आफ्नो गुँडतर्फ लाग्दै थिए, त केही चराहरू भिज्दै ओत लाग्न तीव्र गतिमा उड्दै थिए । केही बटुवाहरू पानीमा भिज्दै र दौडँदै आफ्ना घरतर्फ लाग्दै थिए भने केही मानिस छाताको सहारा लिँदै गफ गर्दै हिँडिरहेका थिए ।

कसैको यादमा टोलाइरहेका मेरा आँखा घरपारि रोकिएको एउटा बसतर्फ पुगेर अडिए । उक्त बसको अगाडि सिमलको भुवा झैँ केस भएकी, नीलो रङको सारी पहिरिएकी, पाउमा खैरो चप्पल र हातमा एउटा हरियो रङको झोला बोकेकी वृद्ध महिला उभिरहेकी थिइन् । उनको शिरदेखि पाउसम्म निथ्रुक्क भिजेको थियो । उनी साउदी मार्दै मतिर फर्केर कसैलाई बोलाउँदै थिइन् ।

त्यो दृश्य देखेपछि मैले यताउता फर्केर हेरेँ कतै केही कोही पनि देखिनँ । उनले अरू कसैलाई बोलाउँदै थिइन् या मलाई नै, त्यो पनि मैले ठम्याउन सकिनँ । म अलमलमा परेको देखेर हो कि उनी बिस्तारै म भएतिर आउँदै थिइन् । टाढैबाट पनि उनको अनुहार भने निराशा र थकानले भरिएको देखिन्थ्यो । ममा पनि उनी को होलिन् त भन्ने तर्कना उठ्न थाल्यो र बसेको ठाउँबाट उठेर अगाडि बढेँ ।

जति नजिक पुग्दै गएँ मलाई उनको अनुहार कतै परिचित भएको अनुभूति भयो । म अझै नजिक पुग्दै गएँ । नजिक पुग्दै गर्दा एकाएक मेरो ढुकढुकी बढ्यो । मन हडबडायो र भर्खरै ओभाउँदै गरेका परेला पुनः रसाउन थाले । कताकता मन चङ्गा भएझैँ लाग्यो । उनको चाउरी परेको ललाटमा उही मैले बाल्यकालमा निकालेर फालेको टिकी देखेँ । त्यसपछि मैले आफूलाई सम्हाल्न सकिनँ । शायद उनलाई पनि त्यस्तै भएको हुँदो हो । उनले मलाई आफूतिर तान्दै न्यानो र कसिलो अङ्कमाल गरिन् ।

खुशी त थिएँ तर आँखाबाट भने बलिन्द्र धारा बगिरह्यो ।

त्यसपछि उनले भनिन्, “नानी म तँलाई धेरै सम्झिरहन्छु, के तँलाई कहिल्यै मेरो याद आएन ?”

प्रत्युत्तर दिँदै मैले भनेँ, “किन नआउनु नि, म तपाईंको अभावमा सधैंजसो एकान्तमा टोलाइरहेकी हुन्थेँ । हरेक साँझ दियो बालेर म तपाईंकै प्रतीक्षामा रहिरहन्थेँ तर जाने बेला एकपटक भेट पनि नगरी तपाईं कसरी मलाई छोडेर जानुभयो ?”

उनले भनिन्, “म पनि त्यो रात तँलाई भेट्न धेरै नै तड्पिएकी थिएँ तर मलाई आफ्नै घर जानु थियो ।”

त्यसपछि मैले रुँदै भनेँ, “तर आज म तपाईंलाई जान दिन्न अब हामी पहिलेको जस्तै उज्यालो घर बनाएर बस्नुपर्छ ।”

उनले भनिन्, “म तँलाई लिन आएकी हुँ । हेर् त आज मसँग तेरो भाइ पनि आएको छ । हामी यही बसमा जानेछौँ ।”

उनी मेरो हात समाउँदै अघि बढिन् । साँच्चै नै बसको अगाडि सिटमा भाइ जस्तै अर्को कोही पनि बसेको थियो । उनले उक्त झोला बिसाएर भाइको सिटमा बसिन् । मलाई भने पछाडिको सिटमा बस्न आग्रह गरिन् । र भनिन्, “अब हामी सँगै बस्नुपर्छ ।”

त्यसपछि उनको साथमा बस्न नपाएकी म, उठेर मेरै सीटमा बस्नुहोस् भनेर रुन थालेँ । अकस्मात् उनको सीट बिस्तारै परपर सर्दै गयो । म भने हात दिँदै थिएँ तर सीट अझै पर… पर भाग्न थाल्यो अनि म चिच्याउन थालेँ ।  आ… मा…!

बिउँझिदा त म भुइँमा लडिरहेकी रहेछु ।